‘अल्झेछ क्यारे पछ्यौरी’ को समाजशास्त्र

बेलको ठुटामा दिनभरि काग कराइरहेको मार्मिक वर्णनले गीतमा बहिनी तिहारको टीकामा नआएको विरहको सटीक चित्रण गर्छ ।

मंसिर २२, २०८१

अभय श्रेष्ठ

Sociology of 'Aljhech Kare Pachauri'

काठमाडौँ — अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामाबल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा

नारायण गोपालको यो गीत मलाई मुखाग्र छ । उनका सयौं गीतमध्ये मलाई यही सबैभन्दा बढी मन पर्छ । त्यसका तीन कारण छन्– एक, भूपि शेरचन रचित यस गीतका शब्द बेजोड कलात्मक र जीवन्त छन् । दुई, भूपिका शब्दको सौन्दर्यलाई नारायण गोपालले आफ्नो अनुपम गला र कलाले उचाइ दिएका छन् । तीन, समाजशास्त्रीय दृष्टिले पनि यो गीत ठिकठाक छ । 

नारायण गोपालका गीत धेरैलाई मन पर्छन् । मलाई पनि मन पर्छ । कलाका दृष्टिले उनका हरेकजसो गीत उत्कृष्ट छन् । म एक जना ‘उत्कृष्ट बाथरुम सिंगर’ हुँ । त्यसैले बाथरुममा म यो गीत खुब गुनगुनाउँछु । यस गीतमा एक जना जनजाति समुदायबाट आएका कविले खस–आर्य समुदायको संस्कृति, भावना र संवेदनालाई त्यो अतल गहिराइमा पुगेर पक्रेका छन् जति स्वयं खस–आर्य समुदायकै गीतकारले पक्रन सकेका छैनन् ।

तिज र चेली

महिलाको अस्मिता र स्वतन्त्रतालाई लिएर तिजका बारेमा धेरै प्रश्न उठाउन सकिन्छ, यो बेग्लै कुरा हो । तर, भुल्न नसकिने कुरा के हो भने यस चाडसँग खस–आर्य समुदायका माइती र चेलीको गहिरो भावनात्मक सम्बन्ध छ । जति नै गरिब भए पनि तिजको व्रत बस्ने अघिल्लो दिन माइतीले चेलीलाई निम्त्याएर दरमा प्रेमपूर्वक मिठो–मसिनो खुवाउँछन् ।

माइतीले निम्तो दिएन भने छोरीचेलीले आफूलाई असहाय र अपहेलित ठान्छन् अनि माइतीसँग तिनको मन कुँडिन थाल्छ । आफूले निम्तो दिँदा र लिन जाँदा पनि छोरीचेली आएनन् भने माइती खिन्न र दुःखी हुन्छ । आफू गरिब भएकाले चेली र उसका परिवारले नगनेको भन्दै मन कुँड्याउन थाल्छन् । अहिले त महिनौं अघिदेखि दर खाने चलन आयो, यो बेग्लै प्रसंग भयो । तर, म आफ्नो छरछिमेकमा तिजको अघिल्लो दिन दर खान भेला भएका खस–आर्य चेलीहरूको उत्साह, खुसी र फुक्काफाल चञ्चलता देखेर दंग पर्छु । ती हाम्रो समुदायका महिलालाई समेत बोलाएर सप्रेम दर खुवाउँछन् । लुगाफाटो र चुरा उपहार दिन्छन् ।

गीतको स्थायी सुन्दा छोरीको विवाह पूर्वी नेपाल वा सीमापारि दार्जिलिङतिर धनी परिवारमा भएको भेउ पाइन्छ । भूपि शेरचनले सायद त्यतैकतै कुनै माइतीको व्यथा टिपेर यो गीत लेखेका होलान् । चियाको बुटामा पछ्यौरी अड्कने र कलिलो खुट्टामा सुनको काँडा बल्झिने विम्ब श्रोताको कल्पनामा सदृश्य उपस्थित हुन्छ ।

पहिलो प्रसंगले चेलीको व्यस्तता र दोस्रोले धन वा सुनले हिँड्ने पाइला छेकेको संकेत गर्छन् । पहिलो अन्तरामा छोरी आउलिन् भनेर बूढी आमै दोबाटोसम्म बाटो हेर्न गएकी, तर धनी भएकीले छोरीले माइतीलाई बिर्सियो कि भन्दै सल्लाझैं सुसाएर आमाले मन कुँड्याएकी छन् । छोरीचेली जति नै धनी होऊन्, ठूलाबडा भइजाऊन्, माइतीले तिनलाई सधैं सक्दो मिठोमसिनो खुवाइरहन, कोसेली पठाइरहन, माया र आसिक दिइरहन पाऊँ भन्ठान्छ । 

दसैं र चेली

दसैं खस–आर्य समुदायको सबैभन्दा ठूलो चाड हो । अरू बेला भोकै बस्नुपरे पनि, ऋणै लिएर पनि यो बेला मिठो मसिनो खाने र राम्रो लगाउनु इज्जतको सवाल मानिन्छ । लंगुर–बुर्जा र पिङ खेल्ने अनि मान्यजनको हातबाट टीका लगाएर दक्षिणा बटुल्ने बेग्लै उत्साह बालबालिका र किशोर–किशोरीमा हुन्छ ।

यता त्यही बेला नेवारहरूको मोहनी नखमा छोरीचेलीलाई बोलाएर मोहनी (माटोको कपनीमा जमाइएको ध्वाँसो) निधारमा लगाइदिने अनि तिनको फुर्सदमा फेरि नखते (भोज) बोलाउनुपर्ने हुन्छ । खस–आर्य समुदायमा भने दसैंमा टीका लगाउन निम्तो दिनु पर्दैन, मान्यजनकहाँ धाएर आफैं टीका थाप्न जानुपर्ने हुन्छ ।

जुठो, सुतक केही परेको छैन र बिनाकारण टीका थाप्न पुगेन भने त्यसपछि विवाह, व्रतबन्ध र चाडपर्वमा आउजाउ नै बन्द हुने खतरा आइलाग्छ । त्यसकारण दसैंमा खस–आर्य चेलीहरू बाबुआमा र मान्यजनकहाँ टीका थाप्न कसैगरी पुग्ने प्रयास गर्छन् । बाबुआमा र मामा–माइजू पनि छोरी वा भान्जाभान्जी कहिले आउलान् भनेर बाटो हेरेर बसिरहेका हुन्छन् ।

गीतको दोस्रो अन्तरामा एउटा यस्तो बाबुको चित्र आउँछ, जो आफ्नो अन्तिम कालको दसैंमा छोरीलाई टीका लगाइदिन र आसिक दिन नपाएकोमा दुःखी छन् । अर्को दसैंसम्म आफू बाँच्दिनँ भन्ने उनलाई लाग्दो हो । उनी कामना गर्छन्, त्यही आँसु मुछिएको टीका प्रवासस्थित छोरीको ठेगानामा पठाइदिऊँ ।

तिहार र चेली

तिहार दाजु–बहिनी वा दिदी–भाइबीच संवेदना गाँसिएको चाड हो । खस–आर्य समुदायले काग, कुकुर, गाई, गोरु र भाइ गरी पाँच दिन तिहार मनाउँछन् । (नेवार समुदायले भने लक्ष्मीपूजा, म्हःपूजा (शरीर पूजा) र किजापूजा (भाइपूजा) मात्र मनाउँछन् । तीन दिन मात्र मनाउने हुनाले यसलाई उनीहरू स्वन्ति नखः (तीनदिने चाड) भन्छन् ।) खस–आर्यका पाँच वटा तिहारमध्ये सबैभन्दा महत्त्वपूर्ण हो, भाइटीका ।

यसमा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउन पाउनुलाई अहोभाग्य ठान्छन् भने दिदीबहिनी पनि दाजुभाइलाई टीका लगाइदिन पाएकोमा आफूलाई धन्य ठान्छन् । दुवैले एकअर्काको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् । टीका लगाउँदैमा कसैको दीर्घायु हुन्छ वा स्वास्थ्य राम्रो हुन्छ र भन्ने सवाल पनि कतिपयले उठाएको सुनिन्छ । तर, यो भौतिकभन्दा बढी संवेदनाको विषय हो । 

खस–आर्य समुदायमा तिहारमा टीका लगाइदिन माइती आउन निम्ता दिने वा आफैं दिदी वा बहिनीकहाँ पुग्ने सूचना दिनुपर्ने हुन्छ । यसरी निम्तो दिनु अनिवार्य मानिन्छ । दाजुभाइले निम्तो नदिए वा निम्तो पाएर पनि उचित कारणबिना दिदीबहिनी नआए सम्बन्ध नै टुट्ने खतरा हुन्छ । गीतको अन्तिम अन्तराले तिहारमा बहिनी आउलिन् र टीका लगाइदेलिन् भन्ने आसमा बसेका दाजुहरूको चित्रण छ । तर, बेलको ठुटामा दिनभरि काग कराइरहेको मार्मिक वर्णनले बहिनी नआएको असीम विरहको सटीक चित्रण गर्छ ।

चेलीको व्यथा

गीतका अन्तराहरू सुन्दा माइती पक्षको संवेदनाले हामीलाई विह्वल बनाउँछ । तर, चेलीको दुःख स्थायीमै राम्ररी प्रकट भइसकेको छ । त्यसले संकेत गर्छ, छोरीको विवाह धनी परिवारमा भएको छ । तल एउटा अन्तरामा उसको विवाह प्रवासमा वा विदेशी भूमिमा भएको वा श्रीमान्को रोजगारीका कारण प्रवासिनु परेको अनुमान गर्न सकिन्छ ।

मननीय के छ भने चेलीहरू जति धनी परिवारमा विवाहित हुन्छन्, त्यति नै ती बन्धित हुन्छन् । तिनलाई सुनै सुनले झपक्क पारिएला, तर त्यही तिनका पाइलामा काँडा बनिदिन्छ । गरिब परिवारमा विवाहित हुँदा अर्थ आर्जन गर्ने भार तिनका पनि थाप्लामा पर्छ र ती किञ्चित बाहिरी दुनियाँको सम्पर्कमा पुग्छन् अनि थोरै भए पनि स्वतन्त्र हुन्छन् । धनी परिवारमा त ती पक्का आदर्श बुहारीका रूपमा बन्धित हुन्छन् ।

यो बन्धन खस–आर्य समुदायमा अझै चर्को हुन्छ । ती साडी र सुनले सजिएर दिनभरि सासू, ससुरा, नन्द, देवर, छोराछोरी, पाहुनाको खातिरदारी गर्न, पूजापाठ भ्याउन, सासूससुराको पूजापाठको सरजाम जुटाउन, दूध, पानी, बिजुलीको बिल तिर्न र अन्त्यमा लखतरान शरीर लिएर रात 

अबेरसम्म ‘पति–परमेश्वर’ को प्रतीक्षा गर्न बाध्य हुन्छन् । अनि तिनले तिज, दसैं र तिहारमा समेत माइती जाने स्वतन्त्रता कहाँ पाउँछन् ?

अभय श्रेष्ठ श्रेष्ठ साहित्यकार हुन् ।

Link copied successfully