रारा पछ्याइरहेका एक्ला पाइला

सुनसान जंगलमा घण्टौंसम्म मौन एक सैनिक किन मेरो साथ हिँडे ? हरेकपल्ट मैले एक्लै पाइला चाल्दै जाँदा बाटो किन बन्दै जान्छ ? समय हरपल भनिरहन्छ, ‘तँ पाइला चाल्, म लड्न दिन्नँ ।’

मंसिर २२, २०८१

शिक्षा रिसाल

Rara is following the lonely footsteps

काठमाडौँ — हामी त कहिले काठमाडौं जान पाउँला र ! ‘मौका मिल्यो भने तपाईं मुगु जानुहोला है ! रारा धेरै राम्रो छ,’ भारतको देवप्रयागबाट छुट्टिने बेला भेटिएका मुगुका आमाजू–बुहारी सीता र सुखनदीले भनेका थिए । त्यसपछि मैले मनमनै अठोट गरेकी थिएँ— एकपटक रारा त अवश्य पुग्छु ।

त्यसको ठ्याक्कै ६ महिनापछि म राराको किनारमा उभिएँ । सल्ला रुखहरूको पछाडिबाट देखिने रारा तालको पहिलो दृश्यले मेरो मन ढक्क फुल्यो । एउटा सुन्दर पेन्टिङ जस्तै ।

‘वाह !’ 

नीलो आकाश, हिमशृंखला अनि अनेक रंग फेरिरहने रारा । मानौं प्रकृतिले आफ्नो सबैभन्दा अमूल्य गहना यहीं लुकाएर राखेको छ । रारा ताल त्यही गहना हो ।

यहाँ एक्लै पुग्ने मेरो साहस हो या पागलपन— थाहा थिएन । यत्ति थाहा छ— मेरो नसा–नसा खुसीले मस्तमगन भएर नाचिरहेका थिए । रारासँग मलाई धेरै गफ गर्नु थियो । स्पर्श गर्नु थियो । आफ्नो थाातथलो छाडेर परदेशी भूमिमा पसिना बगाइरहेका सीता र सुखनदीको सम्झना रारालाई दिनु थियो । उनीहरूसँग भेट नभएको भए म रारा कहिले आइपुग्थें होला ? जीवनमा एक न एक पटक त पुग्थें, तर के सीता र सुखनदीको आफ्नो माया मसँगै आइपुग्थ्यो होला ?

‘नानी एउटा राम्रो फोटो निकालिदिनू न । हामी यता उभिन्छौं ।’

करिब ७० वर्षका एक अंकलले दुइटा झोला मिलीचौरको एक छेउमा राखे र आफ्नी श्रीमतीलाई फोटो खिच्न हातले इसारा गर्दै बोलाए । उनीहरूलाई कता–कता देखेजस्तो लाग्यो ।

ओहो ! यी अंकल–आन्टी त केही बेरअघि ताल्चाबाट मसँगै जिपमा आएका थिए ।

‘ल, दुवैजना एक–अर्कालाई हेरेर हाँस्नू । म राम्रो फोटो निकालिदिन्छु ।’

फोटो सेसनका दौरान उनीहरू कतिबेला अप्ठ्यारो मान्थे, कतिबेला लजाउँथे ।

‘अंकल, आन्टीलाई हग गर्नुस् न ।’

अंकल त हौसिन्थे, आन्टी भने गाला रातो पारेर लजाउँदै भन्थिन्, ‘ह्या नानी, पर्दैन के त्यस्तो ।’ 

साँझ पर्न थालिसकेको थियो । लाइट कम भएर फोटो राम्रो आउन मुस्किल थियो, तर पनि मैले रारालाई पृष्ठभूमिमा राखेर ती प्रेमिल जोडीको यादगार फोटो खिचिदिएँ । आजकल फोटो प्रिन्ट गर्ने चलन त छैन, तर कतै फेसबुकको भित्तामा हाले भने र वर्षौंपछि पनि जुकरबर्गले सम्झाइदिए भने सायद मलाई पनि उनीहरूले सम्झिनेछन् । कसैको स्मृतिमा झुल्कन पाउनु कति सुन्दर हुन्छ है ?

२०८० सालको दसैं सकियो । तिहार आउन अझै केही दिन बाँकी थियो । ‘यही त हो नि मौका’ भन्दै मैले काठमान्डूबाट नेपालगन्जसम्म प्लेनको टिकट काटें ।

कलेज हुँदा सँगै पढेकी साथी निरु नेपालगन्जमा थिई । त्यहीं घरगृहस्थी र व्यवसाय गरेर बसेकी छ । उसैको घरमा एक रात बास बस्ने योजना बनाएँ । कलेज सकिएपछि ऊसँग फेरि भेट भएको थिएन । एक दशकपछि राँझा विमानस्थलमा ऊसँग पहिलो पटक भेट भयो । उसको त छोरा नै १० वर्षको भइसकेछ । यत्तिका वर्ष कुराकानी नगरी एकैचोटि घरमा बस्न र खान जान सक्ने आँट कमैमा हुन्छ । उसले सल्लाह र सुझाव दिइरही, ‘कति घुम्छेस् के तँ ? यसो भ्लगहरू पनि बना न । भिडियो बनाएर युट्युबमा हाल् ।’

यो बुद्धि नआएको पनि होइन, तर डिजिटल क्रियटर बन्न ठूलै कन्फिडेन्स चाहिन्छ । त्यही पनि आजकल डिजिटल क्रियटरको बिगबिगी छ । हरेक ३ घरमध्ये एक घरमा हुन्छन् डिजिटल क्रियटर । पैसा पनि टन्न कमाइन्छ रे ! मौका मिले त्यता पनि लागिएला, तर मेरो अहिलेको योजना रारालाई अघाउन्जेल हेर्नु थियो । सीता र सुखनदीको स्नेह रारालाई समर्पण गर्नु थियो ।

सबैभन्दा मुख्य काम नेपालगन्जबाट ताल्चाको टिकट लिनु थियो । त्यस दिन ताल्चा जाने तारा एयर र सीता एयर रहेछन् । सीता त बिहानै उडेछ । तारा एयरको टिकट पाइन्छ कि भन्ने आशा भयो । यतिसम्म झमेला होला भन्ने त मैले कल्पना पनि गरेकी थिइनँ ।

Rara is following the lonely footstepsतस्बिरहरू : आरके अदिप्त गिरी

बरु आजकल कुनै राजनीतिक दलको टिकट पाइएला, तर दुर्गम भेगमा जाने प्लेनको टिकट पाइन्न । धेरै बेरको मौखिक कुस्ताकुस्ती, बाझाबाझ र भौतिक ठेलमठेलपछि बल्लबल्ल एउटा टिकट हात लाग्यो । बोर्डिङ पास पनि पाएँ । तर, प्लेन नचढुन्जेलसम्म म ताल्चा पुग्ने टुंगो थिएन । प्लेन उड्ने हो कि होइन— अर्को आपत् । तर, अन्ततः प्लेन उड्यो । मेरो मन त मभन्दा पहिल्यै उडेर रारा पुगिसकेको थियो ।

‘हजुर रारा जान लाग्नुभएको हो ?,’ टिकुरे प्लेनको टिकट लिने बेला सँगसँगै ठेलमठेल गर्दै गर्दा एक हँसिली बहिनीले सोधेकी थिइन् । 

‘हजुर हो,’ मैले छोटो उत्तर दिएकी थिएँ ।

‘यहाँ त सधैं यस्तै हो दिदी । गाह्रो हुन्छ टिकट पाउनँ,’ उनले स्पष्ट पार्न खोजेकी थिइन् । गफैगफमा उनले भनिन्, ‘म त घर जान लागेको दिदी तिहार मनाउन । काठमान्डुमा बस्छु ।’ 

‘काठमान्डुमा पढ्दै ?,’ मैले सोधें । 

‘म नेपाली टिममा फुटबल खेल्छु दिदी । मेरो नाम पूर्णिमा हमाल हो ।’

हँसिली, सबैलाई सहयोग गर्दै सबैसँग बोल्दै हिँडेकी बहिनी त नेपाली महिला फुटबल खेलाडी पो रहिछन् । मेरो मन गद्गद् भयो ।

‘ओहो । कति टिकुरे प्लेन !’

प्लेन देख्नेबित्तिकै सुरुमा दिमागमा आएको सोच नै यही हो । झन् मुखमा सुपारी चपाउँदै पाइलट ककपिटमा चढेको देखेपछि त अचम्मै परें । हाँसो पनि उठ्यो । कता–कता डर पनि लाग्यो । पाइलट ककपिटमा बसे अनि ढ्याम्म प्लेनको ढोका लगाए । ड्राइभरले ट्रकको ढोका तानेजस्तै देखियो । मेरो सिट ठ्याक्कै ककपिटको पछाडि ।

१५ जनालाई बोकेर टिकुरे प्लेनको कम्पास नेपालगन्जबाट ताल्चातिर सोझियो । ट्विनअटर चढिसकेकाहरूले भनेका थिए, ‘बेस्सरी हल्लाउँछ है, सात्तो जान्छ ।’

जिन्दगी हत्केलामा राखेर हिँड्ने भनेको सायद यही होला । प्लेनका १५ जना जिन्दगी हत्केलामा राखेर उडिरहेका थियौं ।

प्लेन बेस्सरी हल्लाउँदा लाग्थ्यो— गयो, अब ठोक्कियो पहाडमा ।

बच्चाहरू च्याँच्याँ गरेर रोइरहेका थिए । मेरा लागि त एड्भेन्चर भयो, तर मनमनै सोचें— यहाँका बासिन्दाका लागि त यो सधैंको दुःस्वप्न हो ।

Rara is following the lonely footstepsताल्चा एयरपोर्टमा १ बजे विमान अवतरण गरेपछि शरीरमा पुनः आत्मा फर्किएझैं लाग्यो । ठूलो कालचक्रबाट बाँचेर आएँझैं लाग्यो । वरपर ठूला–ठूला पहाड अनि बीचमा ताल्चाको यो सानो धावनमार्ग । विमानबाट ओर्लिनेबित्तिकै सरर चिसो हावाले छोयो । विज्ञान भन्छ— हावाको स्वाद हुँदैन । गलत भन्छ । स्वाद लिन जान्नुपर्छ । मुगुको हावा धेरै मीठो छ । 

‘यी पहाडहरू त हिउँले सेताम्मे हुन्छन् होला है हिउँदमा ?,’ पूर्णिमातिर फर्किएर सोधें ।

‘हो दिदी, पूरै हिउँले ढाक्छ नि, एयरपोर्ट नै बन्द हुन्छ,’ उनले भनिन् ।

मैले एक–दुइटा फोटो खिचिक्क पारें ।

पूर्णिमाले आफ्नो झोला लिँदै भनिन्, ‘दिदी आज एक्लै किन जानुहुन्छ ? बरु हाम्रो घर जाऊँ न । त्यही‌ बसौंला । भोलि बिहानतिर रारा जानुहोला ।’

उनको त्यो मधुर हार्दिकता म कहिल्यै बिर्सिन्नँ ।

‘हैन ठीकै छ । फेरि–फेरि भेटौंला नि,’ मैले उनको आग्रह टाल्दै एउटा सेल्फी खिचें ।

‘दिदी, तपाईं पुग्दा साँझ पर्छ होला । जनावरको अलि डर हुन्छ हिँडेर जाने बाटोमा । बरु जिपमा जानू न । मिलीचौरसम्म लैजान्छ ।’

आफ्नो गाउँठाउँका बारेमा उनलाई भन्दा बढी मलाई के थाहा हुन्थ्यो होला र ! मैले उनको कुरा लुसुक्क मानें ।

एकजना यात्रु नपुगेर जिप हिँड्न अन्कनाइरहेको रहेछ । म जिपनजिक पुगेपछि अरू बाँकी सात जना पनि दंग परे ।

कच्ची सडकमा धुलो उडाउँदै म चढेको जिप मिलीचौरतिर हुइँकियो । पूर्णिमाको जिप गमगढीतिर । 

त्यही जिपमा भेटिएका थिए फोटो खिच्न आग्रह गर्ने बूढा अंकल–आन्टी । बुटवलबाट बस, जिप चढ्दै ६ दिन लगाएर मिलीचौर पुगेका रहेछन् । त्यसैले पो थकाइले ग्रस्त देखिएका रहेछन् ।

फोटोसेसनपछि ती अंकलले भनेका थिए, ‘थाहा छ नानी, रारा त बिहे गरेपछि आउने प्लान थियो, ४० वर्षअघि ।’ 

‘ओहो ! हो र ? बधाई छ तपाईंहरूलाई । ४० वर्षपछि भए पनि आइपुग्नुभयो,’ मैले उत्साहित हुँदै भनें ।

‘कति गाह्रो गरेर आइयो, नकुरा गर्नुस्,’ उनले लामो सास तान्दै भने, ‘नेपाल घुम्ने भनेको त उमेर छँदै रै’छ ।’

उनका आँखा गडिएर भित्रै पुगेका थिए । छाला पनि फुङ्ग उडेको जस्तो । कर्णालीको चिसोले होला, दुवैको अनुहार हप्प फुलेको थियो । न खानाको ठेगान न निद्राको । यात्रा गर्न पनि सोचेजस्तो सजिलो कहाँ छ र !

रारा आइपुगेर किनारमा क्याम्प फायर नगरे त रारा आ’को मतलब नै भएन नि !

पहिलो साँझ थुप्रै ग्रुप भेटिए । कोही परिवार, कोही जोडी, कसैका अफिसियल रिफ्रेसमेन्ट, कोही देख्दै सुगर ड्याडी र सुगर बेबी जस्ता । ती सबै आ–आफ्नो धुनमा मस्तमौलाना थिए । कोही नाच्दै थिए, केही आगो ताप्दै थिए । म पालैपालो सबै ग्रुपमा मिसिन्थें, आगो ताप्थें अनि उनीहरूका गफ सुन्थें । मेरो बारेमा उनीहरूले सोध्दा हरेक ग्रुपमा फरक–फरक जवाफ दिन्थें ।

एउटा ग्रुपबाट गितारको स्ट्रिङसहित मीठो स्वर गुन्जियो, ‘केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ ।’ 

मैले लामो सास फेरें अनि गुन्गुनाएँ, ‘आऊ नाचौं अँध्यारोमा जुनकीरी नाचे जस्तै ।’

बिहान ७ बजे कसैले मेरो ढोका ढक्ढक्यायो ।

दुइटा झोला बोकेका, टोपी र मफलरले अनुहार पूरै ढाकेका उही अंकल थिए । 

‘स्वास्थ्यले साथ दिएन नानी, हामी त फर्किन लागेको,’ आन्टीले घाँटी बसेको आवाजमा भनिन्, ‘स्वास्थ्यको ख्याल राखेर घुम्नू है नानी ।’ उनले मेरो गाला थप्थपाइन् ।

उनको भावमा अपनत्वको न्यानो थियो, तर हात तातो रापझैं रन्किरहेको थियो । उनलाई रातभरि ज्वरो आएछ ।

ती अंकल र आन्टी झोला बोकेर होटलबाट बाहिरिए । डुंगा भेट्टाउन राराको किनारैकिनार हिँडे । मैले काठको बरन्डाबाट निकै बेरसम्म उनीहरूलाई हेरिरहें ।

उनीहरूले रारा किनारमा बसेर प्रेमिल भलाकुसारी गर्नै पाएनन् । जीवनका तानाबानाले एक–अर्कालाई टाढा बनाएका विरह फुकाउनै पाएनन् । केही समय सापटी लिएर उन्मुक्त हाँस्न पाएनन् । बालबच्च्चाको जिम्मेवारी, जागिर, बिहे— सबै सकाएर ‘आज रारा आइपुग्यौं’ भन्दै मुस्काउन पाएनन् । ४० वर्षको दौरानमा कति रिस उठ्यो होला, कति चित्त दुख्यो होला, कति सपना र चाहना पूरा भएनन् होला । स्वास्थ्यले साथ दिन्थ्यो त सबै फ्ल्यासब्याकमा आफ्नो जीवन नियाल्दै एक–अर्काको हात समाउँथे अनि धन्य हुन्थे होलान् । तर, मिलीचौरमा रारालाई पृष्ठभूमि बनाएका चार–पाँचवटा फोटो मोबाइलमा बोकेर उनीहरू फर्किए । 

Rara is following the lonely footsteps‘बूढाबूढीको रारा पुग्ने पुरानो सपना पूरा भए पनि बूढो शरीरलाई स्वास्थ्यले साथ नदिएपछि केही नलाग्दो रहेछ,’ फर्किने बेला अंकलले भनेका थिए ।

ती अंकलको कुरा सुनेर लाग्यो— कठिन यात्राले सबैभन्दा सुन्दर गन्तव्यमा त पुर्‍याउँछ तर गन्तव्यमा पुगेर रम्न, झुम्न र त्यहीं भुल्न दिँदैन । त्यो पीडाले बेग्लै छटपटी दिन्छ ।

केही वर्षपछि सायद उनीहरू र मेरो स्मृतिमा राराको कथा बेग्लै हुनेछ । तर, रारा सधैं यस्तै सपना बनेर बगिरहनेछ ।

मेरो फोनमा थोप्पो चार्ज थिएन । पावर बैंक पनि मनजस्तै रित्तो थियो । काठमान्डु फर्किने टिकट पनि काटेकी थिइनँ । ताल्चा नगई काठमान्डु फर्किन सम्भव छैन, जसरी पनि ताल्चा पुग्नै पर्छ । लोडसेडिङको कहरले यता पनि छोडेन । सल्लेरीदेखि मुर्मासम्मै बत्ती गएछ । कतिबेला आउने हो, ठेगान थिएन ।

‘पख्नुस् है, कोही ताल्चा जाने आयो भने उनीहरूसँगै पठाइदिउँला,’ सैन्य चेकपोस्टमा नाम र नम्बर टिपाउँदै गर्दा एक सैनिकले भने ।

‘मलाई त जसरी पनि आज ताल्चा पुग्नैपर्छ । मेरो त भोलि बिहानै काठमान्डुको फ्लाइट छ,’ मैले बिन्ती बिसाएँ ।

‘भोलि बिहान फ्लाइट भएको मान्छे, अलि चाँडै फर्किनु पर्दैन ? एक्लै–एक्लै हिँड्ने हो ?,’ उनले आपत्ति जनाए ।

म झनक्क भएँ, ‘अरे ! म आफ्नै देशमा एक्लै हिँड्न नपाउनु ?’

भन्न त चाहन्थें, तर आफूलाई सम्हालेर अरू नै केही भनें, ‘आजकल कत्ति सोलो ट्राभलहरू हिँडिराखेका हुन्छन् त ।’

‘हो, सोलो भन्छन् तर तीन–चार जना हुन्छन् । त्यस्तोलाई हामी रोक्दैनौं । तर, तपाईंचाहिँ काठमान्डुदेखि यति टाढा एक्लै आउने हो त ?’

‘तपाईंहरूले एक्लै हिँड्न, डुल्न, संसार बुझ्न खोज्ने महिलालाई नेपाल सुरक्षित छ है भन्ने सन्देश पो दिनुपर्छ । यस्तो वातावरण बनाइदिनुस् न । ठाउँ–ठाउँमा चेकपोस्ट राख्नुस् । बोर्डमा हेल्पलाइन नम्बर राख्नुस् । जंगली जनावरको खतरा ठाउँ आउँदै छ भन्ने सावधानीवाला बोर्ड राख्नुस् न,’ निकैबेर सम्हालिँदा सम्हालिँदै मेरो सोफोकेसन यहाँनेर पोखियो, ‘प्रहरी, सेनाको काम त वातावरण सुरक्षित र सहज बनाइदिने होला नि । केटी मान्छे भएर एक्लै–एक्लै हिँडेर आउने हो ? भन्दै हप्काउने हो र ?’

यो बहस चल्दै गर्दा उनीभन्दा सिनियर आइपुगे र सोधे, ‘के भइराको हो ?’

जुनियरले सबै अपडेट दिएपछि उनले मलाई सरसर्ती हेर्दै भने, ‘किन एक्लै आउनुभएको ? साथी थिएनन् ?’ 

मेरा साथी नभएका होइनन् । तर मेरो समय मिल्दा साथीहरूको मिल्दैन । साथी कुरेर बस्दा जिन्दगी सकिन्छ, उनीहरूको काम सकिँदैन ।

यही भन्न मन थियो, तर पनि भन्न जरुरी लागेन । मैले टाउको मात्रै हल्लाएँ ।

मेरो ढिपीअघि उनीहरूको केही लागेन । एक जनाले भने, ‘ठीक छ, त्यसो भए म जान्छु तपाईंलाई ताल्चा पुर्‍याउन ।’

यो मेरा लागि अर्को चुनौती थियो । म अन्कनाएँ । 

‘हजुरको सुरक्षाकै लागि हो के म्याम । चितुवाको डर हुन्छ,’ यतिबेला उनी केही झर्किए जस्तो लाग्यो । 

अब धेरै बहस गरेर काम थिएन । साँझ पर्न लागिसकेको थियो । न मोबाइलमा चार्ज थियो, न गाउँभरि बत्ती । मसँग अर्को विकल्प थिएन । ती सैनिकले मेरो ट्रेकिङ झोला भिरे । उनी बडीगार्ड जस्तै मेरो एक कदम पछि हिँडिरहे । मनमनै सोचें— मेरो सुरक्षाको कत्रो चासो ? 

‘एकछिन बसेर हेर्न मन लाग्यो भने बस्नुहोला,’ केही बेर हिँडेपछि उनले भने, ‘रारा यो रुटबाट झनै राम्रो देखिन्छ ।’

त्यो रुटको रारा देखेर म जति लाइभ भइरहेकी थिएँ, उनको भावभंगिमा त्यत्ति नै डेड थियो । 

रारा किनारैकिनार हिँडेको साढे दुई घण्टापछि एउटा उकालो आइपुग्यो । ‘अब उकालोबाट जंगलको बाटो सुरु हुन्छ । ताल देखिँदैन । एकछिन बस्न मन लागे बस्नुस्, रारालाई धीत मरुन्जेल हेर्नुस्, म तपाईंलाई उता पर पर्खिन्छु ।’

दुई दिनमा मैले र राराले बनाएको सम्बन्ध सायद उनले बुझिसकेका थिए वा मलाई उनले बुझिसकेका थिए ।

सूर्यास्तको समय हुँदै थियो । राराको रंग परिवर्तन भइरहेको थियो । कहिले गुलाबी, कहिले नीलो, कहिले बैजनी, कहिले हरियो, अनि डुब्दै गरेको सूर्यास्तको रंग । त्यो अद्भुत दृश्यले मलाई भित्रभित्रै उकुसमुकुस भइरह्यो । खुसीको उकुसमुकुस या विरहको उकुसमुकुस ? रुन मन लाग्यो । कराउन मन लाग्यो । तर, रारा भने मुस्कुराइरह्यो । सूर्य डुब्दै गयो ।

रारालाई पहिलो पटक देख्दा र अन्तिम पटक बिदाइ गर्दा सायद हरेक मान्छे केही समयका लागि शून्य हुन्छ । म पनि भएँ । तालको हरेक रंगमा मेरो मन मस्तिष्क चुर्लुम्म डुब्यो । मैले आफ्नै जीवनकथा सरसर्ती राराको छालमा महसुस गरें । आफ्नो जीवनको अनमोल समय र मेरो अस्तित्वको केही अंश त्यहीं छोडेर म उकालो बाटो लागें ।

कुनै मूर्तिजस्तै उभिइरहेका थिए ती सैनिक, जो घण्टौंदेखि मसँगै हिँडिरहेका थिए ।

एक घण्टा उकालो हिँडेपछि केही घोडा र यात्रु पनि देखिन थाले । उनले मेरो नाम सोधेका थिएनन्, न मैले सोधेकी थिएँ ।

अन्य केही यात्रु देखेपछि लाग्यो— उनलाई धेरै दुःख दिनु हुँदैन ।

‘अब म यहाँबाट एक्लै जान्छु । तपाईं क्याम्प फर्किनुस् ल ?’

‘हस्,’ उनले यति नै भने । 

लाग्यो— मेरो ठाउँमा कोही अरू एक्लै भएको भए उनी आउँथे वा आउँथेनन् ?

उनी फर्किएपछि एकसरो माया पनि उनकै पछि लागेर हिँड्यो । म आफ्नो झोला बोकेर ओरालो झरें ।

‘बाटो नछोडी जानुहोला हैै, बीचमा यताउता नभुल्नुहोला,’ उनी उकालो लाग्दै गर्दा परबाटै चिच्याए ।

‘हस्, हस् । तपाईं पनि राम्रोसँग फर्किनुस् ल,’ म पनि ओरालो लाग्दै चिच्याएँ ।

उनको र मेरो साथ त्यहीं टुंगियो । केही पाइला हिँडेपछि पछाडि फर्किएर हेरें । त्यो घुम्तीमा फेरि कोही देखिएन । 

मसँग नेपालगन्ज फर्किने प्लेनको टिकट थिएन । ताल्चा एयरपोर्टको नजिकै ढुंगा, काठ र जस्ताले बनाएको सानो घर थियो अनि सानो होटल । मलाई खै किन, त्यो आँगनले तान्यो । साउनीको नाम थियो, जयदेवी ।

‘एक्लै आउनुभएको ?’

‘हो ।’

जयदेवी दिदीको आँखामा चमक देखियो । उनले आफ्नी छोरीलाई बोलाउँदै भनिन्, ‘हेर त दीक्षा, दिदी एक्लै घुम्न निस्कनुहुन्छ रे । तिमी यो दिदी जस्तै हुनू नि ।’

‘नेपालगन्जसम्म त एक्लै जान दिनू न पहिला,’ सात कक्षामा पढ्ने दीक्षाले आमालाई जिस्काउँदै जवाफ फर्काई ।

मैले तीन दिनदेखि नुहाउन पाएकी थिइनँ । सायद जिउबाट ठुसठुस गन्ध आइरहेको थियो । जयदेवी दिदीले नुहाउनलाई तातो पानी तताइदिइन् । दीक्षाले उसिनेको आलु र टिमुर, गोलभेंडाको अचार दिइन् । म नुहाइधुवाइ गरी आलु र अचार खाँदै उनको आँगनमा घाम तापेर बसें ।

टिकट नपाएपछि म दुई दिन ताल्चामै फसें । यो बसाइमा दीक्षा, पुष्पा अनि उनीहरूका साथीसँग मेरो खुब जम्यो । उनीहरू अनेक प्रश्न सोध्थे, ‘दिदी, किन एक्लै घुम्न आउनुभएको ? रारा कस्तो छ ? काठमान्डु कस्तो छ ?’

८ वर्षकी पुष्पा हुम्लाबाट फुपूको घर आएकी रहिछ । अलि हाइपरएक्टिभ थिई । घरिघरि अल्लु अर्जुनको एक्टिङ गर्थी, ‘पुष्पा झुकेगा नहीं ...।’

दुई दिनको बीचमा ताल्चा गाउँभरि हल्ला भइसकेछ, ‘काठमान्डुबाट एक्लै रारा गएकी केटी प्लेनको टिकट नपाएर ताल्चामा अड्केकी छ ।’

ताल्चामा सबैले मलाई चिनिसकेका रहेछन् । केही–केहीले त मेरो नाम पनि थाहा पाइसकेका थिए । प्रहरी, विमानस्थलका कर्मचारी, सेना सबै जयदेवी दिदीको आँगनमा चिया खान आउँथे । मलाई टिकट पाइने अनेक उपाय सुझाउँथे ।

कोही भन्थे, ‘विमानको सरलाई भन्नुस् ।’

कोही भन्थे, ‘टावर हाकिमले मिलाइदिन सक्छन् ।’

कोही सुझाउँथे, ‘एयरपोर्ट इन्जिनियरको सिफारिस चाहिन्छ ।’

उनीहरूको कुरा सुनेर जयदेवी दिदीले मलाई भनेकी थिइन्, ‘यहाँ कति गाह्रो छ टिकट पाउन । कुरुक्षेत्रमा महाभारत लडेजत्तिकै । कुरुक्षेत्रको महाभारत त १८ दिनमा सकिएको थियो । हाम्रो महाभारत त अझै १८० वर्षसम्म पनि यस्तै हुनेछ ।’

मजस्तै काठमान्डुका अरू तीन जना पनि तीन दिनदेखि ताल्चामै थिए, टिकट नपाएर ।

‘मेरो नाममा पनि एउटा टिकट आउँछ, म तपाईंलाई जसरी पनि मिलाइदिन्छु,’ जयदेवी दिदीले यति भनेपछि म फुरुङ्ग भएँ ।

ठूलै कष्टपछि भोलिपल्टको टिकट पाएँ । बल्ल–बल्ल समिट एयरले मलाई एउटा टिकट दियो । त्यसपछि ढुक्क भएर म ताल्चा बजार घुम्न निस्किएँ । सानो गाउँ, मनोरञ्जनका लागि गर्ने कुरा केही पनि छैनन् । गाउँका एक हूल लोग्नेमान्छेहरू तास खेलिरहेका, अर्को हूल क्यारेम बोर्डमा मस्त । उनीहरूका श्रीमती कोखामा बच्चा च्यापेर श्रीमान्को साथमा उभिएका । कसले जित्छ, कसले हार्छ, पैसाको हिसाबकिताब गरिरहेका । हुटिङ गरिरहेका । गाउँघरमा यस्तो दृश्य नौलो होइन, तर पनि म सोचमग्न भइरहेकी थिएँ । 

मलाई मौन देखेर दीक्षाले भनी, ‘यहाँ त सधैं यस्तै हो दिदी । अहिले दसैं–तिहार भएर अलि बढी भएको ।’

जयदेवी दिदीको आँगनबाट आकाश सफा देखिएको छ । यति धेरै चम्किला र सुन्दर तारा मैले अन्तिम पटक कहिले देखेकी थिएँ, स्पष्ट याद छैन ।

समयले सधैं केही न केही सिकाउँछ । मुगु भ्रमणले मलाई धेरै कुरा सिकायो । अबचाहिँ जिन्दगीलाई बुझें भनेर गमक्क फुल्न थाल्दा समयले अर्को घुयात्रो हानेर मेरो घमण्ड निस्तेज पारिदिन्छ र भन्छ, ‘तँलाई केही पनि थाहा छैन ।’

अनि फेरि म अवाक् भएर उभिन्छु, बिल्कुलै उत्तरहीन । अनि लाग्छ— सबै कुरा थाहा पाउन जरुरी नै छैन रहेछ । ‘यु डु नट निड टु नो एभ्रिथिङ ।’

जरुरी लागेन बुझ्न कि केहीबेर मात्र भेटिएका अञ्जान सीता र सुखनदीलाई सम्झिँदै किन मेरा पाइला रारातिर लम्किए ? सुनसान जंगलमा घण्टौंसम्म मौन एक सैनिक किन मेरो साथ हिँडे ? जरुरी लागेन बुझ्न कि हरेकपल्ट मैले पाइला चाल्दै जाँदा बाटो किन बन्दै जान्छ ? लाग्छ— समय हरपल भनिरहन्छ, ‘तँ पाइला त चाल्, म लड्न दिन्नँ ।’

जूनजस्तै हँसिली पूर्णिमालाई कुनै दिन म राष्ट्रिय फुटबल टिममा देशको नाम चम्काइरहेको देख्नेछु । अनि गर्वका साथ भन्नेछु, ‘उनलाई मैले रारा जाँदा भेटेकी थिएँ । हामी एउटै प्लेनमा थियौं ।’

जयदेवी दिदीको आँगनमा खाएको उसिनेको आलु र अचारको स्वाद मैले संसारको कुनै कुनामा पनि पाउनेछैन । अनि त्यही आँगनबाट साँझमा देखिएका ती चम्किला ताराले मेरो बाटोमा सधैं उज्यालो छर्नेछन् । मेरो सुरक्षाका लागि हिँडेका ती सैनिक अब कहिल्यै भेटिने छैनन् । बुटवलका ती अंकल–आन्टी सायद कहिल्यै आफ्नो उमेरका साथीभाइलाई रारा जाने सुझाव दिने छैनन् । 

एक वर्षपछि ती पलहरू सम्झिँदा लाग्छ— एक वर्षमा कति धेरै कुरा बदलिने रहेछन् । अर्को मन सोच्छु— खै के बदलियो ? आकाश उही छ । धर्ती उही छ । रारा उही छ । तारा उही छन् । बदलिएको त समयमात्रै हो, कथाका पात्र मात्रै हुन् । मुगुको माटोमा टेकेका मेरा पाइलाहरू त मेटिए होलान्, तर आत्मामा कोरिएका स्मृतिका छाप उस्तै आलै छन् । ती मेटिएका पाइलाले मलाई झक्झकाइरहन्छन्— ‘तँ अर्को पाइला चाल्, बाटो आफैं बन्दै जान्छ ।’

शिक्षा रिसाल पत्रकार हुन् ।

Link copied successfully