आँसुमा डुबेको सारङ्गी

फिल्मको कथा पूरापुर नौलो होइन, यो हाम्रै गाउँघरको व्यथा हो, बेवास्ता गरिएका सीमान्तकृत कथाहरूको प्रतिनिधि धुन हो ।

मंसिर १, २०८१

गुरुङ सुशान्त

Sarangi in tears

सिनेमा–घरहरूमा अश्रुपूरित दर्शकको भीडबीच ‘पूर्णबहादुरको सारङ्गी’ ले बटुलेको प्रशंसा र पैसाको बजारशास्त्रका बारेमा आजै व्याख्या गरिहाल्नु हतारो भइजाला ।

हुन त, मसलेदार फिल्महरूले पनि घच्चीको व्यापार गरेको विगत हामीसँग छँदै छ । त्यस विगतको पृष्ठभूमिमा नेपाली समाजको आम मनोविज्ञान र सिनेमा ‘साक्षरता’ का पाटा पनि पक्कै छन् । तर, नेपाली सिनेमाप्रति दर्शकको अपार आकर्षण उर्लिएको यो ऐतिहासिक मोडको प्रमुख कारण त ‘पूर्णबहादुरको सारङ्गी’ नै हो । 

‘पूर्णबहादुरको सारङ्गी’ अर्थात् हाम्रै समाजको कथा र गाथा ! थाहै छ, कथा बलियो हुँदाहुँदै पनि महत्त्वपूर्ण पाटो सिनेमाका लागि दृश्यभाषा मजबुत हुनुपर्छ, जसका लागि सैद्धान्तिक र प्रायोगिक पक्षदेखि सामूहिक लगन तथा संयोजन चुस्त हुनुपर्छ । चुस्त–दुरुस्त उत्रन सक्नु नै ‘पूर्णबहादुरको सारङ्गी’ को सबलता हो । 

आज पनि कतिपय बौद्धिकहरू सिनेमालाई कलाको प्रवर्गमा राख्न अस्वीकार गर्दै भन्छन्– ‘फिल्म कला हुन सक्दैन । कारण, यसले वास्तविक तथ्यलाई यान्त्रिक ढंगले पुनः प्रस्तुत मात्रै गर्छ ।’ सिनेमालाई चित्रकलाको सादृश्यमा राखेर विश्लेषण गर्ने यसखाले विचारधाराको म्याद त गुज्रिएको छ नै, नेपाली सिनेपरम्परामै पनि कलात्मकताका उच्चतम उदाहरणहरू पाउन सक्छौं । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली सिनेमाहरूले निरन्तर सहभागिता जनाउनुले पनि आशावादी हुने द्वार खुलाएको छ । पछिल्लो समय अपवादबाहेक नेपाली दर्शकले मनोरञ्जनका नाममा गीत र ‘फाइट’ को संख्या गनेर सूत्रबद्ध सिनेमा बनाउने धारलाई लगभग बेवास्ता गर्दै जाने क्रम जारी छ । ‘साम्बाला’, ‘गाउँ आएको बाटो’, ‘घरज्वाइँ’, ‘जारी’, ‘द रेड सुटकेस’, ‘हल्कारा’ जस्ता पछिल्ला सिनेमाले पाएको सकारात्मक समीक्षाले बताउँछ कि दर्शकहरूले नयाँ स्वाद खोजिरहेका छन् । प्रश्न उब्जिन्छ, त्यो नयाँ स्वाद के हो ? सम्भावित उत्तर सरल छ– रैथाने कथा, नयाँ दृश्यभाषा र शैलीमा आफ्नै मिठास । हाम्रो जस्तो बहुसांस्कृतिक समाजमा कथाको दुःख छैन, बरु दुःखका अनन्त कथा छन् । यसको बलियो उदाहरण हो– ‘पूर्णबहादुरको सारङ्गी’ ।

यस सिनेमाको कथा पूरापुर नौलो होइन, हाम्रै गाउँघरको व्यथा हो । बेवास्ता गरिएका सीमान्तकृत कथाहरूको प्रतिनिधि धुन हो । कथानकको संरचना पनि आदि, मध्य र अन्त्यकै परम्परागत शैलीमा बुनिएको छ । तर, मसलेदार सिनेमाहरूमा खडा गरिने ‘हिरोइज्म’ का लागि बाँडिने नौरंगी आदर्श र समाज परिवर्तनको ‘ठेक्का’ लिने गर्जनभन्दा फरक स्वादको सपना छ, पूर्णबहादुरको । उनको सपना सामाजिक ‘हैसियत’ भन्दा उपल्लो होला, तर उत्पात होइन । गरिब दलितको घरमा सन्तानका लागि साँचिने सपना कस्तो हुन्छ ? सप्रसंग व्याख्याबिना सिनेमाकै गीत अघि सारौं– ‘इस्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो/पढाइलेखाइ ठूलो मान्छे बनाउने रहर, गाउँमै बित्यो आफ्नो जीवन, पुगोस् छोरा सहर/बाउबाजेको पालादेखि यो सारङ्गी रेटेर नै चलिराछ जिन्दगी, जानिनँ मैले नि योभन्दा अरू त, छोराले चाहिँ अब नहिँडोस् मागी/भुइँसम्मै टेकें मैले, तिमी टेक्नू धुरी/पाखुरीमा तागत रहेसम्म बोकिहिँड्छु, हालेर काँधेकुरी ।’ 

यही सपनाको पछि–पछि दौडँदा पूर्णबहादुरको जीवनरूपी सारङ्गीले सिर्जना गरेको संघर्षगाथाबाट नै यस सिनेमाको जन्म भएको छ । दुई दशकअघि प्रकाशित एक तथ्यांकअनुसार, एसएलसी उत्तीर्ण गर्ने गन्धर्वहरू जम्मा ६ दर्जन मात्रै थिए । अतः लेखक तथा पटकथाकारले काव्यिक कल्पना र सिर्जनात्मक संगीतका केही धुन पुनः सिर्जन गरे पनि मुख्य कथा यथार्थभूमिमै उभिएको छ । यस सिनेमाको कथाले त अझै पञ्चायतकालीन परिवेशबाट पालुवा हालेको हुनाले तत्कालीन गाउँघरको दृश्यांकनमा सकस परेको प्रस्ट देखिन्छ । कतिपय दृश्यहरू इतिहासचेत संयोजनका दृष्टिबाट हेर्दा खजमजिएको भान हुन्छ । तर, सम्पूर्ण सिनेमाको बहावलाई संगीतको लयात्मक तारले बाँधेको छ । र, गन्धर्व समुदायको संघर्षगान भएका कारण पनि संगीत पक्ष बलियो हुनु अत्यावश्यक थियो ।

गन्धर्वहरू सारङ्गी बजाउन मात्रै होइन, सारङ्गी बनाउन पनि पोख्त हुन्छन् । तर, सारङ्गीको तार बनाउन चाहिने मिहिन सीपलाई हाम्रो समाजले कहिल्यै ज्ञानको दर्जा दिएन । त्यस समुदायको रैथाने संस्कार–संस्कृतिमा रहेको जीवन्त ज्ञानपरम्परालाई हेयभाव राखेकै कारण समग्र समाजले क्षति व्यहोर्नुपरेको छ । यसको संकेत पूर्णबहादुरको गला बसेकोदेखि सारङ्गी बेच्नुपरेको दृश्यसम्मले प्रतीकात्मक रूपमा बोलेको छ । समग्रमा यस सिनेमालाई गन्धर्व–ब्लुज मान्न सकिन्छ ।

‘पूर्णबहादुरको सारङ्गी’ लाई अरू सिनेमासँग दाँजेर सिनेमाटोग्राफीका दृष्टिले अब्बल भनियो भने अतिशयोक्ति हुन जान्छ । तर, यस सिनेमाले हाम्रो समाजको स्तरीकरणमा गन्धर्व समुदाय कहाँ पर्छ भन्ने प्रश्नमाथि समाजशास्त्रीय घोत्ल्याइँका लागि एक पटक हामी सबैलाई झक्झक्याउँछ । र, खासगरी यो फिल्म सहरिया नयाँ पुस्तालाई गन्धर्व समुदायको इतिहास बुझ्न सघाउने आँखीझ्याल हो । नेपाली समाजभित्र बलियो जरा गाडेर बसेको जातव्यवस्थाको सोपानक्रमले दिएको पीडाको आंशिक प्रकटीकरण ‘पूर्णबहादुरको सारङ्गी’ हो भने दर्शकले बगाएको आँसु त्यस पीडाप्रतिको सहानुभूति । तर, समाजलाई अगाडि बढाउन सहानुभूतिले मात्रै अर्थ राख्दैन । नेपालको जीवित सांस्कृतिक सम्पदामध्येको गन्धर्व समुदायलाई राज्यले बेवास्ता गरेकै कारण आज त्यस समुदायको ज्ञान विलुप्त हुने मोडमा छ । संगीत संस्कृतिका जीवित संवाहक मानिने गर्न्धवहरू राज्यले इतिहासदेखि अंगीकार गरेको जातव्यवस्थाका कारण आज पनि तिरस्कार र बहिष्करणको सिकार भएका छन् । गन्धर्व समुदायसँग भएको कला र गलाकै कारण आज नेपालले विश्वसंगीतको रंगमञ्चमा गर्विलो पहिचानसहित उभिन सक्नुपर्थ्यो । 

खासमा राज्य र शासकहरूले स्वार्थवश बेला–बखतमा गन्धर्वहरूलाई शोषण र प्रयोग दुवै गरे । र, काम सकिएपछि सम्बन्धित समुदायलाई राज्यले परिचयहीनताको बलेसीमा मिल्काइदिए, जसका कारण आज पनि उनीहरू ‘टीठलाग्दो’ देखिने गरी निरीह छन् । श्रम र ज्ञानलाई हेयभाव राख्ने राज्यको रवैयाले गन्धर्वहरूलाई जातव्यवस्थामा हुलिदिएर ‘अछुत’ बनाएपछि उनीहरूको विरहगानको शृंखला अविच्छिन्न चलिरहेको छ ।

पौराणिक सन्दर्भहरूले बताएअनुसार गन्धर्वहरू सोझा गन्धर्वऋषिका सन्तान भए पनि चम्बु ऋषिहरूका षड्यन्त्रमा परी ‘अछुत’ बनाइएका हुन् । हिजोको राज्यसत्ताले दलितहरूलाई सम्पत्तिको अधिकारबाट वञ्चित गरिदिएपछि गन्धर्वहरू हेपिएर ‘गाइने’ नामले चिनिए र ‘मगन्ते’ बनाइए । अनुदानरूपी ‘दान–दक्षिणा’ बाट अर्थतन्त्र धानेको सत्ताले समेत आफ्नै जनतालाई ‘मगन्ते’ देख्नु विडम्बनापूर्ण परिदृश्य हो । गन्धर्व समुदायको योगदान नेपाली समाजमा चानचुने छैन । खासमा उनीहरू संगीतशास्त्रका गुरु हुन् अर्थात्, एक किसिमले ‘आँसुसंगीतज्ञ’ हुन् । उनीहरू बाह्रै महिना गीत गाउने मात्रै होइन, अकस्मात् हुने घटनालाई नौलो र रोचक ढंगले लयबद्ध गरी तुरुन्तै गाउन सक्छन् । जन्मजातजस्तै गायक रहेका गन्धर्वहरू हिजो प्रविधि र आमसञ्चारका सहजता नभएको बखत समाचारवाहकका भूमिकामा डुल्थे । गाउँघर डुलेर कर्खा र गाथा गाउँदै हिँड्दा मौखिक इतिहासलाई जगेर्ना गर्ने काममा सहयोगी देखिएका उनीहरूले हिजोको राज्य विस्तारदेखि राज्य–राज्यबीचको लडाइँमा आम मानिसलाई देशका लागि लड्न उत्प्रेरित पनि गर्दथे । जनसांख्यिक हिसाबले न्यून रहेका गन्धर्व समुदायबारे सरदार भीमबहादुर पाँडेको शब्द–सापटीमा भन्ने हो भने, ‘त्यस बखत नेपाली राष्ट्रियताको दियो गाउँघरमा निभ्न नदिने खास श्रेय यदि नेपालमा कसैलाई छ भने त्यही बिचरो सुकुम्बासी छातीकोरा गाइनेलाई नै छ । उहिले गाइनेले मगन्ताका भेषमा गाउँगाउँ, घरघर, हाटबजारमा आफ्ना सारङ्गीमा स्वर मिलाएर नेपालीका पुर्खाहरूले पौरख गरेको कर्खा सुनाउँदै हिँड्थ्यो ।’ पृथ्वीनारायण, बहादुर शाह, अमरसिंह, बलभद्र कुँवरदेखि जंगबहादुरजस्ता शासककै किन नहोस्, इतिहासलाई उनीहरूले पुस्तादरपुस्ता जोगाउँदै ल्याए । पृथ्वीनारायण शाहको राज्यविस्तारमा सघाउने मनिराम गाइनेदेखि गणतान्त्रिक आन्दोलनमा गीत गाउने रुविन गन्धर्वहरूले तत्कालीन राज्यदेखि परिवर्तनकारी आन्दोलनसम्मलाई आफ्नो गच्छेअनुसार भरथेग गरेका थिए । आन्दोलन र लडाइँहरूमा संस्कृतिकर्मी र संगीतको मनोवैज्ञानिक प्रभाव कति पर्छ भन्ने त सर्वविदितै छ । 

लडाइँबाट फर्केका लाहुरेलाई गाउँघरका कथा भन्नेदेखि लाहुरेले लडेका लडाइँका कथा गाउँघरमा सारङ्गीबाटै सुनाउने गन्धर्वहरूले हाम्रो लोकसंगीतलाई रैथानेपनसहित जगेर्ना गरिआएको भए पनि त्यस समुदायलाई दलनमा पिस्ने काम गरेर इतिहासमा ‘नकाम’ भएकै हो । हिजोको गलत कदमलाई सच्याउने मौका राज्यसँग अझै छ । तर, शासकहरू विवेक र नीतिविहीन भएर ‘खोलो तर्‍यो, लौरो बिर्स्यो’ को यात्रामा छन् । शासकको हृदय कठोर भएकै परिणाम आज जनता ‘पूर्णबहादुरको सारङ्गी’ हेरेर आँसुले रुमाल भिजाउँदै छन् । फेरि पनि साँचो कुरा– आँसु समाधान होइन, सहानुभूति मात्रै हो ।

यस सिनेमामा प्रायः कलाकारले आफ्नो पात्रतामा निखार ल्याउन भरपूर कोसिस गरेकै छन् र लामो समयदेखि अभिनयमै पौडिरहेका माओत्से गुरुङ, भोला सापकोटा, बुद्धि तामाङ, देशभक्त खनालजस्ता कलाकारले न्याय गरेका छन् । मुकुन भुसाल, अन्जना बराइली, प्रकाश सपुत, स्वयम् केसी, सरिता साहले निर्वाह गरेको पात्रता उत्तिकै महत्त्वपूर्ण छ । उही धरातलमा उभिएका निम्न वर्गीय पात्रहरूबीचको आत्मीयता र ईर्ष्याको द्वन्द्वात्मक भावलाई पूर्णबहादुर र वीरेको पात्रताले सहजै बोकेको छ । आवरणमा ‘क्रान्तिकारी’ को बर्सादी ओढेर भित्रभित्रै जब्बर जात–व्यवस्थाको ‘जनै’ भिर्ने पठित ढोंगीहरूको प्रतिनिधित्व गर्ने मास्टरले हाम्रो समाजको एक तह मुकुन्डो उतारिदिएको छ । 

यस सिनेमाको केन्द्रीय पात्र पूर्णबहादुरलाई कलाकार विजय बरालले न्याय गर्न सक्छन् भनी निर्णय गर्न सक्ने खुबी र बराललाई पहिलो पटक मुख्य भूमिकामा राख्ने आँटले सरोज पौडेलको निर्देशकीय कौशलको अब्बलता पुष्टि गर्छ । बरालले चरित्र निर्वाहका लागि खर्चेको मिहिनेत लोभलाग्दो छ । हुन त, विजय बराल नेपाली नाटक र सिनेमाका लागि नयाँ अनुहार होइन । १७ वर्षदेखि नाटकमा काम गरिरहेका उनी मण्डला थिएटरका खम्बामध्येका एक हुन् नै । र, १२ वर्षदेखि सिनेमामा निरन्तर काम गरिरहेका उनले निर्देशक रामबाबु गुरुङ, उपेन्द्र सुब्बा र कलाकार दयाहाङ राईको समूहमा गरेको अभिनय स्मरणीय हुँदाहुँदै पनि सहायक पात्रमा सीमित थिए । नाटक नहेरेका दर्शकमाझ पर्दामा आफूलाई निखारिएका कलाकार साबित गर्ने पहिलो मौकालाई उनले भरपूर सदुपयोग गरे र धेरै हदसम्म सफल पनि भए । र, बजारमा अहिले सर्वाधिक दर्शक रुवाउने कलाकारको उपमा पनि पाए । 

नाटक र सिनेमामा अब्बल अभिनय गरिसकेका विजयलाई पूर्णबहादुरको पात्रतामा उत्रनु एक किसिमको चुनौती थियो । कारण– एकातिर उनी तराईको ब्राह्मण परिवारमा हुर्किएका व्यक्ति भएकाले पश्चिमेली भाषिकामा कठिनाइ थियो भने अर्कातिर गन्धर्वको भूमिका निभाउनु भनेको सारङ्गी समात्नु मात्रै थिएन । त्यसमाथि एउटै पात्रको वयस्क, अधबैंसे र वृद्धसम्मको त्रिआयामिक चरणको भूमिका निर्वाह गर्नु चानचुने मिहिनेतले सम्भव थिएन । बरालका अनुसार, यस पात्रलाई बुझ्नका लागि उनले गन्धर्व संस्कृतिको अध्ययन त गरे नै, ठमेलमा गएर गन्धर्व समुदायकै व्यक्तिसँगै सारङ्गी बजाउन सिके । सायद सारङ्गीको रेटाइसँगै गन्धर्व समुदायको सामूहिक मनोविज्ञान पनि बुझ्ने कोसिस गरे । भिन्न–भिन्न सांस्कृतिक इतिहास बोकेका व्यक्तिहरूको सोच्ने तरिकादेखि व्यवहारसम्म भिन्न हुने भएकाले यसखाले उठबसले ‘लघु गुरुकुल’ को काम गर्‍यो होला । निखारताको अपेक्षा रहे पनि एकै पात्रको उमेरगत भिन्नतासहितको शारीरिक भाषा, मनोविज्ञान र बोलीको उतारचढावसम्म विजयले सक्दो न्याय गरेका छन् । लाग्छ– विजय बरालका लागि पूर्णबहादुरको पात्रता उनको अभिनय यात्राकै सार्थक घुम्ती हुनेछ । डेढ दशकभन्दा लामो अभिनय साधनाले निखारिएका विजयले मुख्य भूमिकालाई दमदार बनाएपछि ‘नायक’ सम्बन्धी भत्किँदै आएको पुरातन परिभाषाको भाष्यमा फेरि अर्को ठूलो धक्का लागेको छ । यदि नायकत्व हुन्छ भने व्यक्तिको छाला, रङ, उचाइ, स्वर, नाच आदिमा नभई उसले बाँचेको पात्रतामा हुन्छ भन्ने नयाँ धार बन्दो परिवेशमा पूर्णबहादुरको चरित्रसहित विजय बरालले थप एक तह स्थापत्य खडा गरिदिएका छन् । यसका निम्ति उनी बधाईका पात्र भएका छन् ।

‘जिन्दावाद र मुर्दावाद’ नभट्याईकन पनि साहित्य र सिनेमाले राजनीति गर्न सक्छ भन्ने उदाहरण ‘पूर्णबहादुरको सारङ्गी’ ले थप पुष्टि गरेको छ । यस सिनेमाले परोक्ष भनेको छ– नेपाली समाजको वर्ग निर्माण जातव्यवस्थामा आधारित छ, जातव्यवस्थाको सोपानतन्त्र गलत छ र त्यस्तो तन्त्र भत्काएर हाम्रो मौलिक कला–संस्कृतिमा रहेका ज्ञानपरम्परालाई जोगाउन सक्नुपर्छ । त्यसका निम्ति ‘पूर्णबहादुरको सारङ्गी’ मा पोखिएको सहानुभूतिलाई जातव्यवस्थाको समूल अन्त्य गर्ने जनमतमा बदल्ने विचारसहितको नेतृत्वको खाँचो छ ।

गुरुङ

Link copied successfully