पूर्णबहादुरको सारङ्गीको अपूर्ण कथा 

जनकवि केशरी धर्मराज थापासाग चीन पुगेर खिमबहादुर गन्धर्वले माओत्से तुङलाई सारङ्गीको धुन सुनाएका थिए

मंसिर १, २०८१

दीपक परियार

Purna Bahadur's Incomplete Story of Sarangi

कार्यालयको मूल ढोकाबाट छिर्नेबित्तिकै पोखरा महानगरपालिकाको सरसफाइ शाखामा भेटिन्छन्, हर्कबहादुर गायक (गन्धर्व) । तीस वर्ष जागिरे जीवन बिताएका उनले सारङ्गी सिकेनन् । शाखा अधिकृत भइसक्दा उमेरले ५५ टेकेका उनलाई अचेल महसुस हुन्छ, ‘सारङ्गी नसिकेर गल्ती गरेछु ।’ 

पोखरा झलकमान गन्धर्वको सहर हो । पोखरा सारङ्गीको सहर हो । सहरमा चलिरहेछ ‘पूर्णबहादुर सारङ्गी’ । अहिलेसम्म यो फिल्मले हिसाबकिताबका ‘रेकर्ड’ हरू तोडिसकेको छ । फिल्मले रुवाउँछ, हसाउँछ, जीवनसँग जोड्छ । यथार्थको नजिक पुर्‍याउँछ । पर्दाभित्रका पात्रमा आफू भेटिन्छ । फिल्मको धर्म ‘पूर्णबहादुरको सारङ्गी’ ले पूरा गरेको छ । फिल्म गन्धर्व समुदायको वास्तविकतासँग कति नजिक छ ? यो गन्धर्व–बुबाको संघर्षको कथा हो कि एक बुबाको ? दुर्गाबहादुरको दमाहा, बिर्खबहादुरको बाँसुरी वा सूर्यबहादुरको शङ्ख भएको भए फिल्मको व्यापारमा केही फरक पर्थ्यो ? 

झलकमानकै जन्मस्थल पोखराको बाटुलेचौरमा छ– गन्धर्व समुदायको बस्ती । बाटुलेचौरका हर्कबहादुर आफ्नो टोलका आफन्त बटुलेर ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न हल पुगे । एकपल्ट हेरेर मन बुझेन, श्रीमतीसँग दोस्रोपल्ट पनि हेरे । फिल्म हेर्दा आफ्नै बुबाले गरेको दुःख सम्झिएर हर्कबहादुर पटक–पटक भक्कानिए । ‘मैले स्कुल पढ्दा बुबाआमाले गरेको दुःख देखेको छु । आफूले पनि दुःख भोगेको छु । बुबाले सारङ्गी बजाउँदै घरघर डुलेर ल्याएको चामल, पिठो खाएर विद्यालय गएको छु,’ उनले भने, ‘पढाइ खर्च व्यहोर्न नसकेर बुबाले आफूले भात खाने चरेसको थाल बन्धकी राख्नुभएको छ ।’

बुबा दानबहादुरले सारङ्गी बजाएर, आमा कृष्णमायाले माछा मारेर उनलाई पढाए । पुराना दिन झलझली सम्झिएर हर्कबहादुरले पूर्णबहादुरमा आफ्नै बुबाको अनुहार देखे । ‘रुन्न’ भन्दाभन्दै रोए । ‘मैले बुबाले जडौरी ल्याइदिएकै कपडा लगाएको छु । स्कुलमा लगाउने पोसाक नीलो सर्ट र कालो पाइन्ट थियो । बुबाले दसैंमा किनिदिनुहुन्थ्यो । दसैंको नयाँ लुगा पनि त्यही थियो, स्कुल ड्रेस पनि त्यही थियो,’ उनी भावुक सुनिए । 

हलो क्रान्तिका अभियन्ता पण्डित मुक्तिराम तिमिल्सिना बाटुलेचौरकै हुन् । उनले वि.सं. २००१ मा हलो जोतेर ‘ब्राह्मणले हलो जोत्नु हुँदैन’ भन्ने परम्परा तोड्दै क्रान्ति गरेका थिए, जो शैक्षिक र सामाजिक जागरणका पनि अभियन्ता थिए । उनको छुवाछूतको विरोधमा लेखेको ‘को अछूत ?’ कृति तत्कालीन समयमा प्रतिबन्धमा परेको थियो । उनकै अगुवाइमा वि.सं. २००४ मा बाटुलेचौरमा विन्ध्यवासिनी मावि खुल्यो । तिमिल्सिनाले गन्धर्व बस्तीमा पुगेर सबैलाई ‘पढ्नुपर्छ’ भने । 

हर्कबहादुरका बुबाले त्यही स्कुलबाट मेट्रिक पास गरे । उनले पनि त्यहीं पढे । ‘तिमीहरू पढ्नुपर्छ भनेर पहिलेदेखि नै भन्नुहुन्थ्यो । गुरुहरूले पनि पढ्न हुँदैन कहिल्यै भन्नुभएन । पढ्ने कुरामा हेला भइएन । कतिपय छात्रवृत्ति पाएर पढ्यौं,’ उनले भने, ‘बुबाले पनि आफ्ना सबै सन्तानलाई पढाउँछु भनेर लाग्नुभयो ।’ त्यसबेला उनका तीन भाइले नै एसएलसी उत्तीर्ण गरे । माइलो भाइ मनबहादुर जेटीए उत्तीर्ण गरेर अहिले विदेशमा छन्, कान्छो भाइ भीम विन्ध्यवासिनीमा लेखापाल छन् । 

उनको बुबाको पुस्तामा सारङ्गी बजाउँदै गाउँघर डुलेर अन्न ल्याउने, अन्न बेचेर गुजारा चलाउनेबाहेक अन्य विकल्प थिएन । खेती–किसानी गर्न प्रशस्त जग्गाजमिन थिएन । आफ्नो कला र गलालाई सरस्वतीको सीप ठानेर अन्य पेसा अँगाल्न पनि सकेनन् । गन्धर्वहरू पृथ्वीनारायण शाहको पालादेखिका वीरगाथा ‘कर्खा’ मा सुनाउँथे । विभिन्न अपराधसँग सम्बन्धित गीत ‘घटना’ मा गाउँथे, जो सूचनाको संवाहक थिए । 

उनको पालामा दलितले दोकानमा चिया पिउँदा आफैं गिलास धुनुपर्थ्यो । उनी गिलास धुनुपर्छ भनेर चिया नै खाँदैनथे । विद्यालयको तलपट्टि चिया दोकान थियो । एकपल्ट साथीसँग चिया पिउन जाँदा पसलेले उनको गिलास छुट्याएर राख्दिए । उनकी आमालाई बोलाएर माझ्न लगाए । त्यस दिनदेखि उनले चिया दोकानमा चिया पिउन छोडे । 

जातसँग जोडेर हेलाहोंचो गरेको देखेपछि उनले सारङ्गी भिरेनन्, बरु बाँसुरी सिके । पोखराकै ड्यामसाइडमा रहेका होटल क्रिस्टल, होटल ड्रागनमा बाँसुरी बजाए । पोखराको पुछारमा रहेको ड्यामसाइड र शिरमा रहेको बाटुलेचौर उनी हिँडेरै ओहोरदोहोर गर्थे । एसएलसी उत्तीर्ण गरेपछि पृथ्वीनारायण क्याम्पसमा कानुन पढे । ‘त्यतिबेलाको अवस्थामा गन्धर्व भनेपछि छुवाछूत गर्ने, हेयको दृष्टिकोणले हेर्ने चलन थियो,’ उनले भने, ‘आफैंले कानुन पल्टाएर विभेदविरुद्ध बोल्न सक्छु भन्ने भित्री इच्छाले कानुन पढें ।’ 

यो पुस्तासम्म आइपुग्दा बाटुलेचौरका गन्धर्वको सारङ्गीभन्दा जागिरतिर आकर्षण बढ्यो । तत्कालीन पोखरा नगरपालिकामा धेरैजनाले सरसफाइदेखि प्रशासनसम्म जागिर पाए । पोखरामा मणिपाल अस्पताल खुल्यो । अन्य शिक्षण अस्पताल पनि खुल्न थालेपछि ती अस्पतालको सरसफाइ शाखामा गन्धर्वले जागिर पाउन थाले । त्यसै क्रममा हर्कबहादुर नगरपालिकामा जोडिए । उनले अब छोराछोरी पढाउन, उनीहरूलाई हुर्काउन सारङ्गी भिर्नुपरेन । ‘मेरो छोराछोरीलाई पढ्ने बेलामा गाह्रो भएन । मैले मागेर हिँड्नुपरेको उनीहरूले देखेनन् । किनकि म जागिरतिर लागें,’ उनी भन्छन्, ‘मैले कति दुःख गरेको छु, मेरै मनलाई थाहा हुने भयो । उनीहरू फिल्म हेरेर भावुक भए, तर मैलेजस्तै महसुस उनीहरूले गर्न पाएनन् ।’ उनको छोरा विवेक गायक अध्ययनलाई निरन्तरता दिँदै ब्यान्डमा आबद्ध भए । गन्धर्व समुदायका युवाले मात्रै चलाएको ब्यान्ड ‘लक्ष्य’ को उद्देश्य सारङ्गी संरक्षण हो । 

हर्कबहादुरसँग फिल्म हेरेर जतिले ‘रोएँ’ भनेका छन्, तिनले आफू पढ्नेबेला बुबाले गरेको संघर्ष सम्झिएको भनेका छन् । आफ्नै जीवनसँग मेल खाएको सुनाएका छन् । गन्धर्व समुदायको कथा भनिएको फिल्ममा गन्धर्वकै रहनसहन, भाषा, संस्कार, संस्कृतिलाई भने नदेखाइएको उनको टिप्पणी छ । ‘फिल्म बनाउनुअघि हामीसँग पनि सरसल्लाह हुन पाएको भए अझै सुधार गर्ने ठाउँ थिए,’ उनले भने, ‘अझै यथार्थ आउने थियो । गन्धर्व समुदायको संघर्ष देखिन्थ्यो ।’

शिक्षालाई अँगाल्नुपर्छ भन्ने सन्देश दिएको फिल्मले सँगसँगै अर्को प्रश्नचिह्न पनि खडा गरेको छ– के योग्यता नभएको वा नपढेको दलितलाई विभेद गर्न पाइने हो ? योग्य दलितले साँच्चै विभेद भोग्नुपरेको छैन ? हर्कबहादुरको अनुभवले भन्छ, ‘सिधै विभेद छैन, अप्रत्यक्ष रूपमा अझै छ ।’ उनका सेवाग्राही वा सँगैका कर्मचारीले अगाडि भेट्दा ‘हर्क सर’ भने पनि घुमाउरो पारामा विभेद खेपेको उनले महसुस गरेका छन् । भन्छन्, ‘कतै पूजाआजा, बिहे, व्रतबन्धजस्तो बेलामा गैरदलितले बोलाउन नपरेहुन्थ्यो जस्तो गर्छन् ।’

विभेद खेप्नुपरेपछि हर्कबहादुरको पुस्ता सारङ्गीबाट टाढिए पनि उनको छोरा पुस्ता भने फेरि नजिक भएको छ । दोहोरी साँझ, गजल रेस्टुरेन्ट, मेला महोत्सव, रेकिर्डिङ स्टुडियो लगायतमा सारङ्गी अनिवार्य भएको छ । सारङ्गी बजाएरै देशविदेश घुम्ने पुस्ता तयार भएको छ । पहिलेजस्तो घरघर डुल्नुपर्ने बाध्यता छैन । गैरदलितले पनि सारङ्गी बजाउनुलाई आफ्नो पेसा बनाएका उदाहरण छन् । गन्धर्वले अब सारङ्गीमा हीनताबोध होइन, पहिचान देखेका छन् । 

Purna Bahadur's Incomplete Story of Sarangi

बाटुलेचौरका झलकमान गन्धर्व प्रेरणाका स्रोत हुन् । उनी नरहे पनि उनका दौंतरी खिमबहादुर गन्धर्व अझै जीवित छन् । उनैले वि.सं. २०१३ मा बाटुलेचौरकै जनकवि केशरी धर्मराज थापासँग चीन पुगेर माओत्से तुङलाई सारङ्गीको धुन सुनाएका थिए । नयाँ पुस्ता सारङ्गीबाट टाढिएपछि चिन्तित भएका धनबहादुर गायकले १६ वर्षअघि बाटुलेचौरमा ‘झलकमान गन्धर्व राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण पाठशाला’ खोले । उनले गन्धर्व समुदायका ११ वर्षमाथिका बालबालिकालाई आफ्नै घरमा सारङ्गी सिकाउन थाले । पहिला महिलाले सारङ्गी बजाउन हुँदैन भनिन्थ्यो, अहिले बालिकाले सारङ्गी सिकिरहेका छन् ।

प्रतिष्ठानको उद्देश्य सारङ्गी नमरोस् भन्ने हो । उनको निधनपछि छोरा दिलीप यो कर्ममा लागेका छन् । दिलीपले १० वर्षको उमेरबाट बुबासँग सारङ्गी सिके । सिक्दासिक्दै उनी सारङ्गी र मादल बजाउन, गीत गाउन, नाच्न पोख्त हुँदै गए । संगीतकर्मकै कारण उनले १० कक्षासम्म छात्रवृत्तिमा पढ्न पाए । २०५७ मा क्याम्पस पढ्दापढ्दै उनी अमरसिंहचोकमा रहेको सोल्टी दोहोरी साँझमा बुबासँगै काम गर्न थाले । अब अवस्था फेरिएको छ । सारङ्गी जोगाउन अब घरघर गएर बजाउनुपर्छ भन्ने छैन । लोक, आधुनिक तथा फ्युजन गीतमा सारङ्गीको प्रयोग हुन्छ । विद्यालयले अन्य बाजागाजासँगै सारङ्गी पनि विद्यार्थीलाई सिकाउँछन् । ‘मेरा दौंतरीले सिकेनन्, अहिले उनीहरूकै छोराछोरीलाई सिकाइरहेछु,’ उनले भने, ‘सारङ्गी लोप हुनबाट बचाउन यसको महत्त्व बुझाउन जरुरी छ ।’ उनी बालबालिकालाई मंगल धुन, कर्खा र अन्य परम्परागत गीतमा बजाउन सिकाउँछन् । पोखरामा रहेका नयाँ पुस्ता सारङ्गीवादक अधिकांश प्रतिष्ठानबाट उत्पादित हुन् ।  

नेपाल गन्धर्व समुदाय विकास केन्द्रका सल्लाहकारसमेत रहेका हर्कबहादुर सारङ्गीलाई गन्धर्वको पहिचानका रूपमा प्रस्तुत गर्न पाउँदा गर्व महसुस हुने बताउँछन् । ‘सारङ्गीलाई नै मुख्य पेसा बनाउनुपर्छ भन्ने होइन । हाम्रो छोराछोरी पनि डाक्टर, इन्जिनियर बन्नुपर्छ । देशविदेश पुगिरहेका पनि छन्,’ उनी भन्छन्, ‘तर, सारङ्गी बिर्सिए हामी पनि हराउँछौं ।’ 

पोखराको बाटुलेचौरसहित हेमजा, बडहरे, गगनगौंडा, रिट्ठेपानीमा गन्धर्व बस्ती छन् । गन्धर्वहरू एक्लैभन्दा सामूहिक रूपमा बस्न रुचाउँछन् । देशभर ६९ जिल्लामा गन्धर्वको बसोबास छ । कास्की पछि चितवन, तनहुँ, गोरखा, भोजपुर, सुर्खेत, दाङलगायत जिल्लामा गन्धर्वको संख्या धेरै छ । २०७८ को जनगणनाअनुसार, यो समुदायको जनसंख्या ६ हजार ९ सय ७१ छ, जुन कुल जनसंख्याको ०.०२ प्रतिशत हो । पोखरामा मात्रै ६ सय १८ जना छन् । 

हेमजाका ६२ वर्षीय लालबहादुर गायक र ५८ वर्षीय गोविन्द गायक यसपल्ट दुई दशकपछि फिल्म हेर्न हल पुगे । ‘पूर्णबहादुरको सारङ्गी’ को कथा गोविन्दसँग मिल्दोजुल्दो थियो । २०३५ सालमा उनी ८ वर्षको हुँदा आमा बितिन् । एक्लो बुबाले तीन छोरा र एक छोरीलाई हुर्काए । उनी विद्यालय भर्ना पनि भएका थिए तर घरको आर्थिक अवस्थाले ३ कक्षासम्म मात्रै पढ्न सके । ‘त्यतिबेला नपढ भनेर भन्ने कोही थिएन, आफ्नै घरायसी दुःखले पढ्न पाइएन,’ उनले भने । 

उनी ७–८ वर्षदेखि नै बुबासँगै हिँड्थे । फिल्म हेरेपछि उनले पनि बुबा सम्झिए । आमाले छोरालाई लिएर सहर पस्न खोज्दा छोराले आमालाई छोडेर बाबुलाई झम्टिन पुगेको दृश्यमा उनका आँखा रसाए । तर, एकादुई ठाउँमा चित्त बुझेन । ‘हामी सारङ्गी बजाएर घरदैलो गर्दा चकटी दिन्थे, गीत सुनेर रमाउँथे,’ उनले भने, ‘फिल्ममा जस्तो धकेल्ने, लछारपछार गर्ने घटना व्यहोर्नु परेन । कोही–कोही नबुझ्नेले हातपाखुरा चलाएर खाए पनि हुन्थ्यो भन्थे ।’ फिल्ममा गन्धर्वको संगीत प्रयोग नगरिएकोमा उनको गुनासो छ । एकदुई आखर कर्खा, घटना वा कृष्णचरित्र देखाएको भए, कताकति गन्धर्वले बोल्ने भाषा प्रयोग गरेको भए फिल्म गन्धर्व समुदायसँग पनि नजिक भएको उनी ठान्थे । 

लालबहादुरले पनि ७ कक्षा पढ्दापढ्दै विद्यालय छोड्नुपर्‍यो । उनलाई तत्कालीन प्रधानपञ्च गुन्जबहादुर सापकोटाले घरमै आएर पढ्न नछोड्नु भनेका थिए । तर, बिहानबेलुकाको छाक टार्नै धौधौ हुने अवस्थामा विद्यालय जान सक्ने स्थिति थिएन । उनी १३–१४ वर्षको उमेरदेखि सारङ्गी बजाएर हिँड्न थाले । सारङ्गी बजाएरै जीवन निर्वाह गर्नुपर्ने त्यतिबेलाको अवस्था थियो । ‘पहिला–पहिला बिहे गर्न केटी माग्न जाँदा सारङ्गी बजाउन नजाने केटी नै नपाइने,’ उनले भने, ‘सारङ्गी बजाउन जान्यो भने यत्तिको केटाले पाल्न सक्छ भन्ने हुन्थ्यो । फिल्ममा देखाइएको यथार्थ हो ।’

उनले जातीय छुवाछूत भोगे । चिया खाएको भाँडा र उनी बसेको ठाउँमा गैरदलितले सुनपानी छर्किए पनि तर सारङ्गी नबजाउनु वा गीत नगाउनु भनेर दुर्व्यवहार भोगेनन् । उनी ४ वर्षअघि बिरामी परेर थलिए । त्यसअघिसम्म कास्कीकोट दरबारमा रहेको गुप्तकालिका मन्दिरमा हरेक दसैंमा मंगल धुन बजाउन पुग्थे । गोविन्दले आफ्नो माइला छोरा सुनिल गायकलाई स्नातकसम्म पढाएका छन् । उनी अहिले विभिन्न विद्यालयमा संगीत सिकाउँछन् । ‘अहिले अवस्था फेरिएको छ । गैरदलितले पनि सारङ्गी बजाइरहेका छन्,’ उनी भन्छन्, ‘अब घरदैलो गर्नुपर्छ भन्ने छैन । सारङ्गी बोक्न केको लाज ?’ हेमजामै पनि गन्धर्व सारङ्गी पाठशाला सञ्चालनमा छ । १३ वर्षीय निकेश गायक, ९ वर्षीय असिम गायक, १४ वर्षीया आशिका सुनार, १५ वर्षीया अरुणा गायकलगायतले सारङ्गी सिकिरहेका छन् । सारङ्गी बजाउँदा अपमानभन्दा बढी इज्जत र आर्थिक अवस्थामा सुधार हुँदै गएको छ । 

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेरेर हलबाट निस्कँदा छोरा पढाउन बुबाले गरेको संघर्षले दर्शक भावुक भएका छन्, तर दलित समुदायले भोग्नुपरेको विभेदमा भने गहिरोसँग पस्न सकेका छैनन् । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully