एक्सन–स्टार विराज भट्टका छोरा समीरले पहिलो फिल्मबाटै बक्स अफिसमा तरंग ल्याएका छन् । फ्यानहरू भनिरहेका छन्– अब समीरले नै एक्सन फिल्म ब्युँताउनेछन् । के एक्सन फिल्मको गह्रुँगो भारी बोक्न समीर तयार छन् ?
फरक कथ्य शैली र नयाँ भाष्यसहित जब नेपाली फिल्मले मौलिक पहिचान खोज्न थाल्यो, तब बिस्तारै ‘हिरो’ को दृष्टिकोण बदलियो । फलस्वरूप थिएटरका कलाकारले त्यो मान्यता तोड्दै पर्दामा फरक चरित्र बाँचे, फरक कथाहरू आउने क्रम बढ्यो ।
अब हिरो बन्न मिलेको शरीर, अग्लो कद अनि चक्लेटी अनुहार चाहिँदैन भन्ने विषय दर्शकबीच स्थापित हुँदै आयो । त्यही मान्यताभित्र अटाउन खोज्ने हिरोहरूले पनि अहिले चरित्र अभिनयतर्फ आफूलाई पारंगत गराउँदै आएका छन् । एक्सन/डान्स/इमोसन मिसिएको बलिउड सूत्रबाट माथि उठेर फरक शैलीका फिल्म बनिरहेको यही अवस्थामा ‘हिरो’ को त्यही मान्यता पछ्याउँदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको एउटा नयाँ अनुहार अहिले फिल्मकर्मी र फिल्मप्रेमीबीच चर्चाको केन्द्रमा छन् । ती हुन्, समीर भट्ट ।
•••
एक्सन स्टार विराज भट्टका सुपुत्र समीर भट्टले पहिलो फिल्मबाटै बक्स अफिसमा ल्याएको तरंग, बटुलेको दर्शकप्रेम अनि पर्दामा देखाएको एक्सन हेरेर धेरैले भन्ने गरेका छन्, अब समीरले एक्सन फिल्मलाई फेरि ब्युँत्याउने छन् । कतिले एक्सन फिल्मलाई अगाडि बढाउने जिम्मेवारी समीरकै काँधमा राख्नसमेत हतार गरिसकेका छन् । जे होस्, समीरसँगै आएका यी चर्चाबीच अर्को प्रश्न पनि फिल्मकर्मीबीच उठेको छ, के फेरि नेपाली फिल्म पुरानै कथा वाचनको शैलीमा धकेलिने हो ? के मौलिक फिल्मबाट दिक्क भएर दर्शकले मसालेदार फिल्म हेर्न खोजेका हुन् ? जो होस्, समयसँगै समीर अनि उनका आगामी फिल्महरूले यी प्रश्नको उत्तर दिँदै जालान् । अहिलेका हिरोहरूको बलियो प्रतिस्पर्धी बनेका समीरले कसरी बुबाको बिँडो समाते, त्यो बुझौं ।
•••
खासमा बाल्यकालदेखि नै समीरले बुबाको बाटो समात्ने छाँटकाँट देखाइसकेका थिए । ‘भविष्यमा के बन्ने बाबु ?’ कसैले बालसुलभ प्रश्न गर्दा कान्छो छोरा सनीरले विराज भट्टलाई जवाफमा भन्थे– बिज्नेसम्यान बन्छु । तर, जेठा समीरले कहिल्यै डाक्टर, पाइलट बन्छु भनेनन् । सानैदेखि किक हान्ने र पर्दामा बुबाले गर्दै आएको एक्सन नक्कल गर्थे समीर । शरीर कमजोर थियो, तर त्यही ज्यानमै आफ्नो नक्कल गरेको देख्दा विराजलाई लाग्थ्यो– यसले गर्छ, केही गर्छ !
विराजले उतिबेलै छोराभित्र देखेको कलाकारिताको झिल्कोको दृश्य–स्वरूप हो, ‘१२ गाउँ’ । ‘१०/१२ वर्षको उमेरदेखि नै यसलाई फिल्ममा रुचि रहेछ भन्ने जानिसकेका थिएँ । मलाई रहर थियो, समीरलाई फिल्ममा ल्याउने । यो खराब क्षेत्र पनि त होइन । आफू जुन क्षेत्रमा सफल छु, त्यो क्षेत्रमा भएका मानिसको केही न केही कुरा सन्तानमा देखिन्छ पनि । त्यो क्षेत्रमा भएका बुबाहरूलाई त्यही क्षेत्रमा आफ्नो सन्तान आओस् भन्ने रुचि हुन्छ,’ विराजले भने ।
आफू भोजपुरी फिल्महरूमा व्यस्त रहँदै विराज छोरा समीरलाई लिएर मुम्बई गएका थिए । कान्छा छोरा सनीर र पत्नी भने काठमाडौंमै बस्थे । उनले समीरलाई भने मुम्बईमै पढाए, मार्सल आर्ट गराए, डान्समा आबद्ध गराए, थिएटरमा अभिनय सिक्न लगाए । फिल्मको पर्दामा देखिन आफूले १० वर्षभन्दा बढी मिहिनेत गरेको समीर दाबी गर्छन् । विराजले नै छोरालाई यस किसिमको तयारी गर्न लगाएका हुन् । मुम्बईमा मार्सल आर्ट सिकेका समीरले नेपालमा अशोक लामासँग तेक्वान्दो सिके । जिम्न्यासिस्टिक र डान्स पनि सिके ।
अहिले उनी भक्तपुरमा कराँते सिक्दै छन् । ‘मार्सल आर्ट, एक्टिङ र डान्समा पर्फेक्सन पाउन गाह्रो छ । यी सब गर्न १० वर्ष लाग्यो, सायद सिक्न ५ वर्षमा पनि सकिन्थ्यो होला । मैले १० वर्ष तालिम गर्छु भनेर सिकेको होइन । यी कुराहरू सिक्दै गर्दाको १० वर्षपछि पहिलो फिल्म पाएँ,’ समीर भन्छन् । सानैदेखि बुबालाई पर्दामा हेर्दै हुर्केका समीरले यी तयारी फिल्मकै लागि गरेका हुन् ।
समीरलाई लाग्छ, अहिले त्यही मिहिनेत पर्दामा देखिएको छ । दर्शकले यस किसिमले फिल्म हेरिदेलान्, मनपराइदेलान् भनेर अपेक्षा गरेका थिएनन् ।
‘मिहिनेत गर्दै जाने हो । बुबाले सधैं मलाई सिकाउनु भएको छ, कर्म तिम्रो हातमा छ,’ सँगै रहेका बुबालाई हेर्दै समीरले भने ।
विराज पनि छोराको यस किसिमको प्रवेशलाई लिएर दंग छन् । विराजको जमानामा सिंगल थिएटर थिए । त्यतिबेला हलमा छुट्टै किसिमको माहोल हुन्थ्यो । हिरोको ‘इन्ट्री’ मा सधैं सिट्ठी बज्थ्यो, ताली बज्थ्यो । हलको क्षमताभन्दा दोब्बर दर्शक राखेर पनि फिल्म देखाइन्थ्यो । उभिएरै पनि फिल्म हेर्ने दर्शक भेटिन्थे । तर, आफ्नो समयको त्यही ऊर्जा छोरा समीरले फेरि फर्कादिएको विराजको बुझाइ छ । ‘मल्टिप्लेक्समा सिट्ठी, ताली बज्दैन भन्ने गरिन्थ्यो । मल्टिप्लेक्समा त शान्त वातावरणमा फिल्म हेरिन्छ भन्ने पनि सुनिन्थ्यो । तर, फिल्म नै सिट्ठी, तालीको छ भने सिट्ठी र ताली बज्छ भन्ने कुरा १२ गाउँले प्रमाणित गरिदिएको छ,’ विराज सुनाउँछन् । उनी फिल्म उद्योगका लागि एक्सन फिल्म आवश्यक रहेको धारणा राख्छन् । उनकै शब्दमा भन्नुपर्दा, नेपाली फिल्म क्षेत्र एक्सन फिल्मबिना अपूरो थियो । ‘१२ गाउँ’ पछि एक्सन फिल्महरूको संख्या बढ्दै जानेमा विराज ढुक्क देखिन्छन् ।
आफूहरू पछि आएका थिएटर कलाकारसँगै एक्सन फिल्म हराउँदै गएको विराजको विश्लेषण छ । ‘थिएटरका कलाकारलाई लिएर तपाईं भयंकर एक्सन फिल्म गर्न सक्नुहुन्छ ? उनीहरूमाथि लगानी गर्न सक्नुहुन्छ ? सक्नुहुन्न,’ प्रश्न गर्दै विराजले भने, ‘हिरो पनि एक्सन गर्ने हुनुपर्छ, सिकेको, जानेको हुनुपर्छ ।’ विराज अझै पनि हिरोको पुरातन दृष्टिकोणमै अड्किएका छन् । विराजलाई लाग्छ, आफूहरूपछि फिल्म क्षेत्रमा आएका थिएटर र कमेडी कलाकारलाई एक्सन सुहाउँदै सुहाएन । केही कलाकार लभरब्वोई बन्ने, एक्सनतिर उनीहरू पनि सुहाएनन् । त्यसैले पनि यसबीच एक्सन फिल्महरू सेलाएको तर्क गर्छन् । ‘अर्को त कुनै कमेडी फिल्म चल्दा त्यसकै पछाडि दौडेर फिल्महरू बनाइए,’ विराज भन्छन्, ‘एक्सन फिल्म हराइहाल्नुपर्ने थिएन । एक्सन फिल्म गर्न एकदम मिहिनेत चाहिन्छ । त्यो मिहिनेत सबैले गर्न सक्छन् भन्ने होइन ।’
फिल्म क्षेत्रका लागि एक्सन फिल्म आवश्यक रहेको बुबाको कुरामा सहमत जनाउँदै ६० वर्षे टम क्रुजको उदाहरण दिन्छन्, समीर । ‘६० वर्षका टमले अहिले पनि कस्तो खाले स्टन्टहरू गर्छन् ? यसको अर्थ एक्सन फिल्मको बजार छ । बलिउडमै पनि केजीएफजस्तो फिल्म बन्यो, नेपालबाट २० करोड कमायो,’ समीर भन्छन्, ‘यस पटक नेपाली फिल्मले त्यो किसिमको कमाइ गरेको छ ।’ उनी अब नेपाली फिल्म क्षेत्रमा एक्सन विधाको फिल्म ब्युँतिने धारणा राख्छन् ।
•••
निश्चित यहीं बन्छु भन्ने कहिल्यै समीरले सोचेनन् । विराजले नै कलाकार बन्नुपर्छ भन्ने सपना आफूमा उत्खनन गरिदिएको उनी सुनाउँछन् । विराजले उही हिरोको पुरानो मान्यता छोराभित्र खोजे । बिस्तारै समीरको कद बढ्दै गयो । लुक्स पनि ‘राम्रो’ देखिँदै गएपछि आफूले छोरालाई तालिम गर्न लगाएको विराज सुनाउँछन् । ‘स्टारकिड’ का हिसाबले फिल्म क्षेत्रमा प्रवेश गर्न समीरलाई सहजै भयो । ‘फिल्म पाउन सजिलो भयो । फिल्म पाउनका लागि गर्नुपरेको मिहिनेत धेरै गाह्रो थियो । त्यो १० वर्षको त्याग/तपस्या गाह्रै थियो । कतिपटक तालिम लिँदा बिरामी भएको थिएँ,’ समीर सुनाउँछन् । पहिलो फिल्मबाट कमाएको दर्शकप्रेम, स्टारडम जोगाउन राम्रो फिल्म छनोट गर्नुपर्ने सल्लाह विराज समीरलाई दिन्छन् । ‘आफूले गर्ने मिहिनेतलाई निरन्तरता दिने, नयाँ कुराहरू सिकिरहने,’ विराज भन्छन्, ‘आज सफल हुनुभएको छ, दर्शकले माया दिनुभएको छ भने त्यसमा मात्तिने होइन ।’
निर्देशकका हिसाबले विराज समीरका लागि सहज भइदिए । फिल्मको क्लाइमेक्समा समीरको एउटा ‘मोनोलोग’ छ । त्यो दृश्य पहिलो दिन खिच्दा खासै राम्रो भएको थिएन । समीरलाई लाग्छ, बुबाको ठाउँमा त्यहाँ अरू निर्देशक भइदिएको भए त्यही दृश्यलाई फाइनल गर्थे होला ! तर, उक्त दृश्यलाई विराजले फेरि अर्को दिन खिच्न लगाए । फिल्मको एउटा एक्सन त छायांकन सकिएको तीन महिनापछि खिचिएको थियो । त्यतिबेला उनको खुट्टामा एक्सन दृश्यकै कारण चोट लागेको थियो । त्यही चोटले गर्दा उक्त दृश्य राम्रो भइरहेको थिएन, त्यही देखेर विराजले तीन महिनापछि उक्त दृश्य खिच्ने निर्णय लिए । ‘छायांकनमा जानुअगाडि उसको दुई वटै खुट्टा समान थिएन । एउटा खुट्टा त उठेकै थिएन । उसले त्यस्तो अवस्थामा एक्सन गरेको देख्दा मलाई नमज्जा लागिरहेको थियो,’ विराज ती दिन सम्झँदै भन्छन्, ‘बिस्तारै उसको खुट्टा निको भएपछि खिचियो ।’
बुबाको नाताले भन्दा पनि निर्देशकका हिसाबले काम निकाल्न यो किसिमको निर्णय लिएको विराज भन्छन् । कतिले ‘१२ गाउँ’ लाई दक्षिण भारतीय फिल्मको नक्कल भने । निर्देशक भट्ट यो आरोपलाई गलत ठान्छन् । ‘नक्कल त हुँदै होइन । उनीहरूको ५ सय करोडको फिल्मलाई हाम्रो ५ करोडको फिल्मले के नक्कल गर्ने,’ विराजले भने, ‘उनीहरूको मेकिङ र बजेटलाई हामीले नक्कल गर्नै सक्दैनौं । हामीले सय करोडको फिल्म कहिले बनाउन सक्छौं त ? एक्सन फिल्म उनीहरूका अगाडि कसरी राम्रो बनाउने भन्ने हाम्रो विषय हो, त्यसरी नै मिहिनेत गर्नुपर्छ ।’
