हम जाएगा : एक मिथक, एक मान्छे

हम जाएगाको नाम पुरानो पुस्ताले नयाँ पुस्तालाई दिइरहने एउटा मुस्कान हो, जसलाई सुनेर नयाँ पुस्ता केहीबेर हाँस्न सक्छ

कार्तिक १०, २०८१

छुदेन काविमो

Hum Jagaka : A myth, a man

त्यो अर्कै जमाना थियो, जतिबेला घर–घरमा टीभी थिएन तैपनि मान्छेको दिमागले नै हम जाएगाको नक्सा बनाउँथ्यो । र, मान्छेहरू आफैं मुस्कुराउँथे । हात–हातमा फोन थिएन, तैपनि हरकोही हम जाएगाकै नाम लिएर गफ सुरु गर्थे । र, फेरि खित्का छोड्दै हाँस्थे । किनभने त्यो समय नै जोक्स भन्ने र सुन्नेहरूको जमाना थियो । हम जाएगाको नामैले बजार पिटेको एउटा युग थियो । 

हम जाएगाको नाम मैले पहिलोचोटि कहिले सुनें ?

त्यो त मलाई अहिले पनि थाहा छैन । किनकि, यो नामलाई नजान्दा नजान्दै पनि मेरो बाजेको पुस्ताले आपाको पुस्तालाई दिइराखे । आपाको पुस्ताले हाम्रो पुस्तालाई सुम्पिइराखे । त्यही भएर होला, घरिघरि त मलाई यस्तो पनि लाछ, हम जाएगाको नाम पुरानो पुस्ताले नयाँ पुस्तालाई दिइरहने एउटा मुस्कान पनि हो । जसलाई सुनेर नयाँ पुस्ता केहीबेर हाँस्न सक्छन् । हजार दु:खलाई भुलेर केहीबेर रम्न सक्छन् । 

हम जाएगाको जोक्स पहिलोचोटि सुन्दा म निकै सानो थिएँ । हरेक साल ठन्डा महिनामा लेप्चाहरूको नामसुङ सुरु हुन्थ्यो । स्कुलमा ठन्डाको बिदा भइसकेकाले त्यो बेला हामीलाई खुब रमाइलो हुन्थ्यो । त्यसैले सबजना अँगेना वरिपरि आगो ताप्दै आधा रातसम्म बसिरहन्थ्यौं । ठूलाहरू चाहिँ कोदोको जाँडको ढुंग्रो तान्दै हम जाएगाको जोक्स सुनाइरहेका हुन्थे । 

हो, त्यही बेलादेखि नै हो हम जाएगा मलाई जोक्सका पात्र जस्तो मात्रै लागिरहन्थ्यो । उनी साँच्चै मान्छे नै हुन्, त्यो त मलाई कहिल्यै लागेन । वर्षौंपछिसम्म नै हम जाएगा मलाई ‘मिथ’ जस्तो मात्रै लागिरहे, जो हरेक फुर्सदमा जोक्सका पात्र बनेर दार्जिलिङका चिया कमानहरूमा पुग्छन् । गाउँ बस्तीहरूमा घुम्छन् । र, मान्छेलाई एक क्षण भए पनि दु:ख भुलाएर हाँस्न लगाइवरी घर फर्किन्छन् ।

तर, होइन रहेछ ।

सन् १९४८ सालको कुरा हो यो ।

हिउँदको मौसम थियो । कठ्याँग्रिने जाडोबीच थोरै घाम लागेको थियो । त्यसैले दार्जिलिङ सहरमा चहलपहल बढ्दै थियो । क्लब साइड नजिक केही चालकहरू घाम ताप्दै उभिइरहेका थिएँ । त्यसकै ठीक मास्तिर दुई/चार पुराना जिप राखिएका थिए । जिप राखिएकै ठाउँ नजिक आइपुगेका एकजोडी कुइरे ठ्याक्क रोकिए । तलतिर देखिने मोटरस्ट्यान्डलाई केहीबेर चिहाए । र, मुखबाट तातो बाफ जस्तो धूवाँ निकाल्दै सोधे, ‘टाइगर हिल कौन जाएगा ?’

त्यो बेला कुनै चालक टाइगर हिल जाँदैन थिए । किनकि, बाटो एकदम खराब थियो । बलजफ्ती खनिएका सडकमा कुनै चालक हिँड्नै मान्दैन थिए । त्यसैले कुइरेहरूको कुरालाई कुनै चालकले ध्यान दिएन । तर, जब फेरि त्यही प्रश्न दोहोर्‍याएर सोधियो । 

भत्किएको पुरानो जिप बनाइरहेका दलबहादुर गुरुङ फुत्त बाहिर निस्किए । कुइरेहरूतिर फर्केर किचिक्क हाँस्दै कराए, ‘हम जाएगा ।’

‘के भन्छ यसले ?’, जम्मै चालकहरू छक्क परे । र, एकार्काको अनुहारमा हेराहेर गर्न थाले । 

दलबहादुर सरासर कुइरेहरूको नजिक आए । अनुहारमा दलिएको मोबिलको दाग हातले पुछे । र, गाडीमा झोला खाँद्न थाले । उनी आफ्नै धुनमा मस्त थिए । कुइरेहरूलाई हँसाउने कोसिस मात्रै गरिरहेका थिए । उनलाई पत्तै थिएन, टाइगर हिल जाने बाटो कति खराब छ । किनकि, उनले गाडी चलाउन सुरु गरेको कत्ति पनि समय भएको थिएन ।

‘तेसको बाउको हम जाएगा, अब यो मर्छ’, अरू जम्मै चालकहरू गफ गर्दै हाँस्न थाले । तर पनि दलबहादुरले कसैलाई टेरेनन् । जिप स्टार्ट गरे । र, लागे टाइगर हिलतिर ।

त्यो पहिलो घटना थियो, जुन दिन एउटा जिप लिएर कोही टाइगर हिल पुगेको थियो । र, सकुशल फर्किएर आएको पनि थियो । जब दलबहादुर थोत्रै जिप लिएर टाइगर हिलबाट जोक्स सुनाउँदै फेरि क्लब साइड फर्किआए, तब जम्मै चालकहरू चकित बने र एकार्कासँग कुरा गर्न थाले, ‘जिउँदै फर्किएछ त यो ‘हम जाएगा’ त ।’

हो, त्यही दिन हो, दार्जिलिङमा नयाँ घटना भएको थियो । रेलैरेलामा दलबहादुर गुरुङ ‘हम जाएगा’ बनेको थियो । 

हम जाएगा अर्थात् दलबहादुर गुरुङको जन्म सन् १९२१ मा भएको थियो । उनका बाजे धोजवीर गुरुङ पाँचथर माकु माकलुवा नेपालका थिए । सन् १९१४ मा बाजेसहित पिता मनबहादुर गुरुङ नेपालबाट दार्जिलिङ आए, जसको ठीक सात सालपछि नै चुङथुङ चियाबारीमा हम जाएगा जन्मिए ।

त्यो ब्ल्याक एन्ड ह्वाइट जमानाको दार्जिलिङ थियो । जुन बेला ६ क्लास पढ्नेलाई ‘मिडल पास’ भनिन्थ्यो । यति पढ्नेले गजबले सरकारी नोकरी पाइहाल्थ्यो, तर उनले धेरै पढ्न पाएनन् । तीन क्लास मात्रै पढे । त्यसपछि स्कुल छाडे ।

जे भए नि, उनको स्कुलमा पढाउने तरिका गजब थियो । मास्टरहरू अभिनय गर्दै अक्षर सिकाउँथे, ‘कुकुर जस्तो मुन्टो भएको कुकुर मुन्टे क । खरायो जस्तो मुख भएको खरायो मुखे, ख । गाईको जस्तो खुर भएको गाईखुरे ग । घर जस्तो घ ।’

यही अक्षर सिक्दासिक्दै हम जाएगाले अलिअलि अभिनय पनि गर्न सिकेका थिए । अलिअलि मान्छे हँसाउन पनि जानेका थिए । यस्तो लाग्छ, दलबहादुरको जीवनमा हाँस्य रस छिरेको त्यही ‘कुकुर मुन्टे क’ बाटै हो ।

जब दलबहादुर पन्ध्र सालका भए, घरको अवस्था देखेर दिक्क भए । आमा चियाश्रमिक थिइन् । घरमा दु:खबाहेक अरू केही थिएन । उनले घर छाडे । दार्जिलिङ नै छोडेर कलकत्ता हिँडे । त्यो सन् १९३६ सालतिरको कुरा हो । रेलमा चढेर आफैं हराउने महानगर पुगेपछि उनको भेट हेमकेम अंग्र्रेजहरूसँग हुन थाल्यो । उनले कलकत्तामा मेकानिक इन्जिनियरिङ सिक्ने अवसर पाए । उतिबेला दोस्रो विश्व युद्ध हुँदै थियो । अंग्रेजलाई लडाइँ लड्नका निम्ति फौज चाहिएको थियो । उनी पनि ब्रिटिस सेनामा भर्ती भए । त्यसपछि उनले सेनाको गाडी कुदाउन थाले । 

जब विश्वयुद्ध सकियो, उनले फेरि घर सम्झिए । सन् १९४८ मा उनी दार्जिलिङ फर्किए । त्यसपछि उनको कर्मथलो पनि यही बन्यो । उनी दिनभरि क्लब साइडको स्ट्यान्डमा हुन्थे । थोत्रै जिप राखेर यात्रीहरूलाई कुरिरहन्थे । कुनै नयाँ पर्यटक आएर ‘कतै जाने ?’ भनेर सोधे हस्याङफस्याङ गर्दै सबैभन्दा पहिले निस्किन्थे । 

र, जवाफ दिन्थे, ‘हम जाएगा’ । 

Hum Jagaka : A myth, a man

अघि नै भनें नि, हम जाएगाले बाँचेको दार्जिलिङ अर्कै थियो । मान्छेसँग मनोरञ्जनको साधन थिएन । जे थियो, हरेकसँग हाँस्न र हँसाउनलाई त्यही एउटा जोक्स थियो । त्यो बेला हरेक गाउँमा कोही न कोही एउटा गफाडी मान्छे हुन्थे, जो प्रत्येक साँझ अँगेना वरिपरि बसिरहेकाहरूलाई जोक्स सुनाउँथे । र, पेट मिचीमिची हाँस्न लगाउँथे । हम जाएगा पनि मान्छे भेला भएको देख्नासाथ त्यही गर्थे । 

हम जाएगा दार्जिलिङको मुख्य सहरमै बस्थे । तर, त्यो सहर त गाउँजस्तै शान्त थियो । घुमदेखि लेबोङसम्मको मान्छेले एकार्कालाई नामसहित चिन्थे । कागझोडामा मान्छे मरे चाँदमारीकाहरू पनि रुङ्न आइपुग्थे । सिङमारीमा बिहे भए जोरबङ्लाकाहरू भोज खान पुग्थे । मान्छेको जीवन एकदम सहज थियो । अलिअलि पढे सरकारी काम पाइहाल्थ्यो । अहिले जस्तो कसैलाई ढाँटेर पेट पाल्नुपर्छ भन्ने थिएन । राजनीतिका नाममा रोटी सोक्नुपर्छ भन्ने त छँदै थिएन । 

दार्जिलिङ सहरको जुनै कुनामा उभिए नि हिमाल छर्लङ्ग देखिन्थ्यो । किनभने ब्रिटिसले दार्जिलिङमा एउटा नियम छोडिदिएको थियो, मूल सडकको लेभलमाथि कसैले घर बनाउन पाउँदैन थियो । मान्छे त्यही नियममा बस्थे । पैसा हुनेहरूले पनि मनपरी बिल्डिङ ठड्याउन सक्दैन थिए । 

दार्जिलिङका सडकहरू पनि एकदम खुल्ला हुन्थे । अहिले जस्तो गाडीको जाम कहीं लाग्दैन थियो । गाउँ–बस्तीमा हुलाकीले चिठी लिएर आए जस्तो बेलाबेला मात्रै गाडी गुडेर आइपुग्थ्यो । त्यही भएर होला अधिकांश समय मेनरोड खाली हुन्थ्यो । मूल सडकमै पोस्ट बनाएर केटाकेटी प्लास्टिकको फुटबल खेलिरहेका हुन्थे । दार्जिलिङको यस्तो सडकमा हम जाएगा डब्लूबी १२६५ नम्बरको जिप कुदाएर हिँड्थे । हरेक यात्रीलाई उनी आफ्नै दु:ख बिर्सेर गफ दिन्थे, जोक्स सुनाउँथे । तर, मान्छे हँसाउदै हिँड्ने हम जाएगासँग पनि त आफ्नै दु:ख थियो नि । त्यही दु:ख मेटाउन उनी बेलुकी थोरै पिउँथे । र, आफ्नै जिन्दगीलाई जोक्स बनाएर घर फर्किन्थे । 

तर, जे गरे पनि जोक्सले हम जाएगालाई छोडेन । त्यही भएर होला, उनले कुदाउने गाडी दार्जिलिङ सहरकै वरिपरि मात्रै घुमिरहे नि के भयो र ? उनले सुनाउने जोक्स हिमालबाट दगुरेर आउने चिसो हावासँग मिसियो । र, चिया कमानतिर पस्यो । गाउँ–बस्तीतिर छिर्‍यो । हरेक नेपाली बाँच्ने मुलुकसम्म पुगिरह्यो । 

पछिपछि त यस्तो नि भयो, हम जाएगा आफैंले पनि थाहा पाएनन्, हरेक मान्छेले सुनाउने जोक्समा कसरी उनको नाउँ थाहै नपाई मिसिन थाल्यो । किनकि, कुनै पनि मान्छे जब जोक्स सुनाउन थाल्थे, पहिलो लाइनमै गफ दिन्थे, ‘एक दिन हम जाएगा गाडी लिएर जाँदै थियो रे !’

हम जाएगाको नाउँ सुन्नासाथ मान्छे हाँस्न थालिहाल्थे । जोसुकैले कथे नि हम जाएगाको नाउँ जोडेपछि जोक्स ‘हिट’ भइहाल्थे । त्यहीभएर होला, उनको नाममा यति जोक्स बनियो, जसको हिसाब रहेन । 

यस्तो लाग्थ्यो, उनीबारे बनिएका ७० प्रतिशत जोक्स त हम जाएगा आफैंले पनि सुनेका थिएनन् । किनकि, मान्छेले रुनलाई बरु दु:ख, पीडा, यातना सब सम्झिन पर्थ्यो होला, तर हाँस्नलाई केही गर्नु पर्दैन थियो । हम जाएगालाई सम्झिए पुगिहाल्थ्यो । 

सन् १९८२ सालको कुरा हो, लेखक विजय कुमार राई दार्जिलिङ गभर्मेन्ट कलेज पढ्दै थिए । साँझको पुस्तक पसलअघि चिया दोकान थियो । उनी फुर्सद पाउनासाथ त्यहीं पुग्थे र चिया पिउँदै गफ गरिरहन्थे । एकदिन त्यही चिया दोकानमा एक चिनजान चालक आइपुगे र विजयसँग सोधे, ‘हम जाएगालाई चिन्छौ ?’

‘हम जाएगालाई कसले नचिन्ने ?’, उनले हाँस्दै भनिदिए, ‘हम जाएगाको जोक्स नसुन्ने कुन नेपाली होला र ?’

‘होइन हौ । साँच्चिकै मान्छेलाई चिन्छौ भनेको ?’

‘हम जाएगा पनि मान्छे नै हो र ?’, उनी तीनछक परे । किनकि, उनलाई पनि लाग्थ्यो, हम जाएगा जोक्सको पात्र मात्रै हुन्, मान्छे होइनन् । 

त्यसैले धक्काउँदै सोधे, ‘हम जाएगा पनि मान्छे नै हो र ?’

‘ऊ यही मान्छे त हो नि’, चालकले पहिलोचोटि एउटा बूढो मान्छे देखाउँदै अचम्मको कुरा सुनाए । विजय आश्चर्यमा परे । स्कटिज टोपी लगाएको मान्छेको अनुहार हेर्दै केहीबेर टोलाइरहे । 

‘साँच्चै हो र ?’, विजय हठात् फेरि उत्साहित भए । र सोधे, ‘तपाईंको घर कता हो । म भेट्न आउन सक्छु ?’

हम जाएगाले अनुमति दिए । विजय भोलिपल्ट नै कागझोडा पुगे । र आग्रह गरे, ‘तपैँको जोक्सको संकलन निकाल्न चाहन्छु । जोक्स सुनाउनुहोस् न !’

तर, बजारमा चलेको जोक्सभन्दा हम जाएगा अलग थिए । उनले त नोटबुकको कविता पो निकालेर पढ्न थाले । विजयलाई सकस भयो । उनले कुरा कोट्याइरहे । हम जाएगा अझै गम्भीर हुँदै गए । 

तर, विजयले हरेस मानेनन् । लगातार सम्पर्क गरिरहे । हम जाएगासँग बारम्बर भेट गरिरहे । र, अन्त्यमा केही जोक्स संकलन गरे । उनले पहिलोचोटि ‘हम जाएगाको डायरी’ तयार गरे । तर, किताब बनाउँदै गर्दा दिमागमा नयाँ कुरा घुम्यो, गम्भीर साहित्य लेखिरहेको बेला कसरी हम जाएगाको जोक्स निकाल्ने होला ? तनावमा रहिरहेका बेला एक साँझ ठ्याक्क इन्द्रबहादुर राईसँग उनको भेट भयो । राई आफैंले उनलाई सोधे, ‘के गर्दैछौ विजय ?’

‘हम जाएगाको जोक्स संकलन गरेर निकालौं भनेको,’ उनले हिम्मत जुटाए र सानो स्वरले भने, ‘मान्छेले पो के भन्ने हो कुन्नि ?’

‘यो त एकदम राम्रो काम हुनेछ,’ इबराका आँखा खुसीले चम्किए, ‘म हेर्छु । पाण्डुलिपि लिएर आऊ ।’

विजय भोलिपल्ट नै तुङसुङ पुगे । इबराले हम जाएगाको जोक्सको भाषा सच्याइदिए । लाइनहरू यताउति बनाइदिए । र सोधे, ‘कति छाप्दै छौ ?’

‘प्रकाशकसँग कुरा भएको छ । पाँच हजार प्रति छाप्ने हो,’ पाण्डुलिपि सुमसुम्याउँदै विजयले सुनाए । इबरा मुसुक्क मुस्कुराए । त्यसपछि विजय सरासर चित्रकार हेमु राईकहाँ गए । उनी नामी चित्रकार थिए । एउटा पेन्टिङ गरेको त्यो बेला नै उनले डेढ सयदेखि तीन सय रुपियाँसम्म लिने गर्थे । विजयले उनलाई नै किताबको कभरका निम्ति आग्रह गरे ।

दार्जिलिङमा कसले हम जाएगाको जोक्स सुनेको थिएन र ? उनी पनि जोक्सका फ्यान थिए । त्यसैले भने, ‘यो मेरोबाट कन्ट्रिब्युसन भो । म सबभन्दा राम्रो नक्सा फ्रिमा बनाइदिन्छु ।’

त्यसपछि त स्कटिज क्याप लगाएका हम जाएगा किताबका कभरमा मुस्कुराए । ‘हम जाएगाको डायरी’ बजारमा आयो । किताब हारालुछ भयो । एक महिनामै अर्को संस्करण छापियो । 

हम जाएगा सुपरहिट भए । रेडियोतिर उनको अन्तर्वार्ता लिइन थालियो । कार्यक्रमहरूतिर बोलाइन लागियो । तर, बसेर गफ गर्दै मान्छे हँसाउनु र स्टेजबाट भीडलाई हँसाउनु अलगअलग कुरा थियो । उनको जोक्स स्टेजमा खासै जमेन । मान्छेको भीड त लाग्थ्यो, तर उनले नोट बुक पढ्न थालेपछि सब निराश भएर फर्किन्थे ।

‘कालेबुङको एउटा कार्यक्रम त मैले नै सञ्चालन गरेको थिएँ नि,’ नाट्यकर्मी अरुणप्रकाश राई पुराना किस्सा घरिघरि सुनाइरहन्छन्, ‘हम जाएगाको नाउँले गर्दा मान्छेको भीड लागेको थियो । तर, उनले त स्टेजमा गएर नोटबुक पो पढ्न थाले । मान्छेले हुटिङ गर्न सुरु गरिदिए । त्यहीभएर म चाहिँ चुपचाप घरतिर टाप लागें ।’

जे होस्, स्टेजमा नजमेको हम जाएगाको नाउँ जोक्सबाट चाहिँ कहिल्यै छुटेन । दार्जिलिङका कमान, बस्तीहरूमा स्कटिज टोपी लगाउने जोकोहीलाई पनि देखे केटाकेटीहरू पछिसम्म नै कराइरहन्थे, ‘उ हम जाएगा आयो । हम जाएगा ।’

हम जाएगाको डायरी आएको तीन सालपछिको कुरा हो । नयाँ नेपाली फिल्म आयो ‘कुसुमे रुमाल ।’ भुवन केसीको मुख्य अभिनय रहेको यही फिल्ममा हम जाएगाले पहिलोचोटि खेल्ने अवसर पाए । फिल्ममा उनले नायिका तृप्ति नाडाकरलाई जोक्स सुनाउँदै सुनाउँदै कलेज पुर्‍याएको एउटा सिन छ । त्यो सिनले हम जाएगालाई अझै चर्चित बनाइदियो । त्यसपछि त दुनियाँले थाहा पाए, मिथ जस्तो लाग्ने एउटा मान्छे संसारमा अझै ज्युँदै छन् । 

खासमा फिल्मका निर्देशक तुलसी घिमिरे आफैं पनि हम जाएगाको जोक्स सुनेरै हुर्केका मान्छे थिए । जब उनी नेपाली फिल्म निर्देशनमा हिट भए, तब उनलाई लाग्यो, हम जाएगालाई पर्दामा ल्याउनु जरुरी छ । त्यही सोचसँग उनले फिल्म लेखे र हम जाएगालाई आग्रह गरे । एकै वचनमा हम जाएगा फिल्म खेल्नलाई तयार भइहाले । 

फिल्ममा हम जाएगालाई त्यसरी नै देखाएका छन्, जसरी उनको जीवनको कथा सुरु भएको थियो । उनी जिप मुनिबाट फुत्त निस्किन्छन् र फिल्मकी नायिकालाई भन्छन्, ‘हम जाएगा’ । त्यसपछि गाडी स्टार्ट गरेर जोक्स भन्दै कलेजतिर लाग्छन् ।

‘फिल्म सुटिङ हुनुअघि नै मैले हम जाएगालाई भनेको थिएँ– नयाँ केही गर्नुपर्दैन । तपाईंले हरदिन जे गर्नुहुन्छ, त्यही गर्नुहोस् । जे लगाउनुहुन्छ, त्यही लगाएर आउनुहोस् । खासमा म उनलाई जस्तो छ त्यस्तै देखाउन चाहन्थें,’ घिमिरे अहिले पनि सम्झिरहन्छन्, ‘चरित्रलाई बलियो बनाउनका निम्ति पनि मैले त्यसो गरेको थिएँ ।’

‘त्यो हम जाएगाकै जोक्सको जमाना थियो,’ घिमिरे अचेल पुराना दिन सम्झिरहन्छन्, ‘हम जाएगा बितेर गएको वर्षौं भइसकेको छ । तैपनि उनको नक्कल गर्नेहरू आज पनि घरिघरि निस्किरहन्छन् । तर, हम जाएगाको चरित्र अलग थियो । म त हम जाएगाको फ्यान हुँ नि ।’

दुनियाँलाई जोक्स सुनाएर हँसाउने हम जाएगा सन् १९९२ मा बिते । उनी बित्दा दार्जिलिङको रूप बदलिइसकेको थियो । राजनीति बदलिइसकेको थियो । संस्कार बदलिइसकेको थियो । नियम बदलिइसकेको थियो । दार्जिलिङ अब अर्कैअर्कै भइसकेको थियो । गोर्खाल्यान्डको लामो आन्दोलनपछि दार्जिलिङमा सुवास घिसिङको शासन सुरु भइसकेको थियो । 

तर, घिसिङ आफैं पनि त जोक्स सुनेरै हुर्केका मान्छे थिए । त्यसैले उनले हम जाएगालाई सम्झिने मन बनाए । हम जाएगाकै नाममा घोडा रेस गर्ने भए । 

दागोपाप बनिएपछि रङ्बुल मुनि हेलिप्याड बनाउन थालिएको थियो । त्यही हेलिप्याडमा हम जाएगाको नाममा घोडा रेस हुने भयो । त्यो सन् १९९८ को कुरा हो ।

दार्जिलिङमा घोडा रेसको तयारी सुरु भयो । हेलिप्याडमा रेस लगाउनेहरू भेला भए । जम्मा २३ वटा घोडा त्यो रेसमा दगुरेका थिए । त्यही रेसमा दोस्रो विजयी बनेका अर्जुन राई अहिले पनि सम्झिरहन्छन्, ‘त्यो रेस हेर्न घिसिङ आफैं पनि आएका थिए । मैले चलाउने घोडा त चिया कम्पनीको थियो । मालिकलाई मागेर बल्लतल्ल लिएर गएको थिएँ ।’

‘त्यो साह्रै राम्रो घोडा थियो । म त्यसैमा १६० केजी चिया बोकेर दैनिक हिँड्थें । त्यै घोडा मनपरेर मैले साहेबलाई रेसका लागि मागेको थिएँ । तर, उनले त अनाकानी गरे । त्यसपछि मैले आफ्नै रिस्कमा लिएर आए,’ ५६ वर्षदेखि आजसम्म चियाबगानमा काम गरिरहेका अर्जुनले त्यो रेस, हम जाएगा र सुवास घिसिङलाई एकैचोटि सम्झिए, ‘घोडा मरे मैले जिन्दगीभर गुलामी गरेर भए पनि तिर्नुपर्थ्यो । तर, त्यसो भएन । घोडाले रेस जित्यो । जितेपछि साहेबले फेरि स्वर बदलाए । हम जाएगा कप फ्याक्ट्रीमा नै छोड्नुपर्छ भन्न थाले । मैले मानिनँ, घरै लिएर आएँ । अहिले पनि त्यो कप मेरैमा छ । जितेको पाँच हजार त त्यै बेला सकियो । त्यसपछि फेरि त्यो रेस कहिल्यै भएन ।’

रेस भए पनि नभए पनि, हम जाएगा त्यो नाम हो, जसलाई सम्झिनका निम्ति कसैले केही आयोजना गर्नै पर्दैन । उनलाई याद गर्न कसैले केही गर्नै पर्दैन । मात्रै पुराना दिन र पुराना किस्सा सम्झिए पुगिहाल्छ । किनकि, हम जाएगा नेपाली जनजीवनसँग जोडिएका नाम हुन् । नेपाली साहित्य र समाजसँग जोडिएका पात्र हुन् । धेरथोर दार्जिलिङ्गे राजनीतिसँग मुछिएका किस्सा पनि हुन् । 

त्यो किस्सा सन् २०१५ तिरको हो । सुवास घिसिङको शासन सकिएर विमल गुरुङ दार्जिलिङको सत्तामा आइसकेका थिए । तर, विमल गुरुङकै राजनीतिक धरातल पनि चर्किन थालिसकेको थियो । किनकि, उनकै दलबाट चुनाव जितेका विधायक डा. हर्कबहादुर छेत्री आफ्नै दल खोल्ने मुडमा पुगिसकेका थिए । यस्तो बेला नयाँ घटना भयो । राजनीतिसँग निराश बनेका हर्कबहादुर छेत्रीले मेलाग्राउन्डबाट भाषण दिए, ‘हाम्रो त राजनीति पनि हम जाएगाको जोक्स जस्तो भइसक्यो ।’ उनले सोझै दार्जिलिङको मान्छेलाई सम्बोधन गर्दै भनिदिए, ‘दार्जिलिङका मान्छे कति ब्याकवर्ड भइसके भने नि, राजनीतिक दल  र नेताको भाषण पनि अब हम जाएगाको जोक्स जस्तो बनिसक्यो । कति नबुझ्ने, कति आफैंले बुझेजस्तो गरिदिनुपर्ने ।’

हम जाएगाको एउटा पुरानो जोक्स थियो, जो दार्जिलिङमा निकै ‘हिट’ थियो ।

एकदिन हम जाएगा गोरे टुरिस्टहरू लिएर जाँदै थिए । बीचमा गाडी रोकेर टुरिस्टहरू हिँड्न थालेछन् । तर, बाटो निकै साँघुरो र चिप्लो देखेपछि हम जाएगाले डराएर भनेछन्, ‘दिज इज अ लेउ, चिप्लिस भने पुग्छस् पल्लो छेउ ।’

गोरा टुरिस्टले हम जाएगाको कुरै बुझेनछन् । यता गोरा अरकच्च परेर प्रश्न गरिरहेका थिए, उता हम जाएगाको अंग्रेजी जम्मै सकिइसकेको थियो । त्यसैले उसलाई के गरौं, के नगरौं भइरहेको थियो । जे पर्ला पर्ला, हम जाएगा आफैं दर्गुंदै गएर चिप्लो लेउ टेकेर आफैं पछारिएछन् र उठेर अंग्रेजी पयर्टकलाई भनेछन्, ‘लाइक दिज भनेको हौ ।’

डा. हर्कले जोक्सको बिट मारेका थिए– दार्जिलिङको जनताले ‘लाइक दिज’ भएको वर्षौं भइसक्यो ।

उनको इसारा विमल गुरुङतिरै थियो । तर, अचानक यही जोक्सले दार्जिलिङको राजनीतिक रङ फेरिदियो, माहोल बदलिइदियो । ‘हर्कले हम जाएगाको बदनाम गर्‍यो’, बिस्तारै नारै लाग्न सुरु भयो । विमल गुरुङको पार्टीले लगातार जनसभाहरूमा यही मुद्दा उठाउन थाल्यो । 

हुँदाहुँदा हम जाएगाको परिवारकै सदस्यहरू पनि बोल्न थाले, ‘हम जाएगाको अपमान नगरियोस् । हर्कले माफी मागी दिइयोस् ।’

राजनीतिक दबाबमा परेका डा. हर्क ब्याकफुटमा आए । उनले माफी मागे ।

जोक्स गरेको होइन, त्यतिञ्जेलसम्म न मैले ‘हम जाएगाको डायरी’ पढेको थिएँ । न ‘कुसुमे रुमाल’ नै हेरेको थिएँ । त्यही भएर नै हो, डा. हर्कले माफी मागेको दिन मात्रै मैले थाहा पाएको थिएँ, कि हम जाएगा भन्ने मान्छे संसारमा साँच्चै थिए । उनी फगत जोक्सको पात्र थिएनन् ।

छुदेन

Link copied successfully