स्वास्थानीले कसरी नारीलाई असहाय, अबला पात्रका रूपमा चित्रित गर्यो ? किताबले विमर्श गर्छ ।
लेखक रामेश्वरी पन्तको किताब ‘स्वस्थानी व्रत कथा : नारी शक्तिको महिमा, नारीकै शोषण’ ले स्वस्थानी ग्रन्थका अनेक पात्रहरूमाथि विमर्श गरेको छ । पात्रहरू गोमा, शिव भट्ट, शिवशर्मा, नवराज, सतिदेवी, पार्वती, चन्द्रावती, बृन्दा, शिव, विष्णु, जालन्धर, इन्द्रहरूको अन्तरविरोधी–अस्वाभाविक चरित्र र भूमिकाप्रति उनले फरक दृष्टि राखेकी छन् ।
काठमाडौंका साँखु शालीनदीदेखि अन्य धार्मिक क्षेत्रको भ्रमण–अवलोकन, व्रतालु र स्थानीय मानिससँगको संवादपछि उनले यो आलोचनात्मक किताब लेखेकी हुन् । स्वस्थानी कथामा स्वस्थानी परमेश्वरी अर्थात् नारीशक्तिको महिमागान गरिएको, तर कथामा वर्णीत पुरुषपात्रले कसरी नारीपात्रमाथि अन्यायी र संवेदनाहीन व्यवहार देखाए ? पितृसत्ताले कसरी युगौंदेखि सुनियोजित, षड्यन्त्रपूर्ण तरिकाले स्वस्थानी लगायतका विभिन्न धार्मिक ग्रन्थ र शास्त्रहरू रचना गरी महिलामाथि विभेद, शोषण, दलन र उत्पीडनलाई निरन्तर कायम राख्न उद्यत रह्यो ?
कसरी नारीहरूलाई अदना, असहाय, अबला र निरीह पात्रका रूपमा खडा गरियो ? कथम् आफूमाथि भए गरेका अन्यायी र पीडक हर्कतविरुद्ध प्रतिरोधी आवाज निकालेमा, सवाल उठाएमा कसरी पुरुष सत्ताले ‘अनुशासनहीन’, ‘छाडा’, ‘बेशरम’, ‘मुखाले’, ‘बेसोमती’ र ‘पोथी बासेको’ उपमा दिँदै सार्वजनिक मानमर्दन र अनादर गर्ने यत्नमा जुट्यो ? यी र यस्ता प्रश्नमाथि किताबले बहस गरेको छ ।
लेखकले कथामा वर्णित पात्रको पुज्य र आदर्शपनलाई बहसको घेरामा ल्याएकी छन् । ‘त्यसो होइन यसो हो’ भन्दै त्यसको गूढार्थ र यथार्थ उजिल्याउन जागरुक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।
लेखकले आलोचनायोग्य विषयवस्तु मात्र उठान नगरी त्यहाँभित्र हिजोका निरक्षर आमा, दिदीबहिनी र छोरीहरूले स्वस्थानी व्रतकथा सुन्ने, सुनाउने प्रथा र परिपाटीले गर्दा उनीहरूले साक्षर हुने, सिक्ने, सिकाउने तथा जिज्ञासा प्रकट गर्ने भावनाको विकास भएको कुरा पनि गरेकी छन् । स्वस्थानी व्रतकथा तत्कालीन समाजको दर्पण भएको र त्यसले आजभन्दा साढे चार सय वर्षअघिको समाजको सामाजिक मानसिकतालाई उजागर गरेको भन्ने लेखकको दाबी छ । तर, धर्मको लेप लगाइएको एउटा काल्पनिक कथालाई सत्य र यथार्थ मानी व्यवहारमा उतार्न गरिएको मनोवैज्ञानिक ढाँचाको उर्दी गुलियो पोतेको विषरूपी रोटी भएको पनि लेखकको विचार छ ।
स्वस्थानी व्रतकथाले बालविवाह, अनमेलविवाह, बहुविवाह, जोरजबर्जस्ती र जालसाजीपूर्ण व्यवहारलाई प्रश्रय दिई धार्मिक मखमली बर्को ओढाई त्यसकै चर्को वकालत लेखकको जिकिर छ । ‘तत्कालीन परिस्थिति र चेतनामा स्वस्थानी व्रतकथा तयार पारिएकाले त्यसलाई त्यही रूपमा लिन, अर्थ्याउन र अन्यथा टिप्पणी नगर्न’ भन्ने आग्रही र मूढी विचार उपर भन्न सकिन्छ– मानौं हिजोको समाजव्यवस्था र चेतनामा त्यस किसिमको विचार प्रवाह भयो रे, तर आजको परिस्थिति र चेतनामा पनि त्यसलाई त्यही रूपमा लिन, आदर्शयोग्य र अनुसरण गर्न उपयुक्त छैन र समय सान्दर्भिक छैन ।
वास्तवमा हाम्रा पूर्वीय दर्शन र परम्परा अन्तर्गतका चाडवाड, रीतिरिवाजहरूभित्र असंख्य राम्रा पक्ष छन् । त्यसमा भएका जीवनदायी, सकारात्मक र वैज्ञानिक पक्ष अनुसरण गर्न र आत्मसातीकरण गर्न कन्जुस्याइँ नगरी त्यहाँभित्रका नकारात्मक पक्ष, अवैज्ञानिक र अन्धविश्वासरूपी सन्देश प्रवाहका संस्कार र प्रथालाई बेहिच्किचाहट अस्वीकार गर्न सक्नुपर्छ । यो किताब त्यसैले पठनीय र संग्रहणीय छ ।
