संगीत, नृत्य, रक्सी, मादल र आफ्नै विश्वास पद्धतिको लयमा प्राकृतिक जीवन जिउन चाहने मगर समुदायलाई पछिल्लो समय राजनीतिक ऊहापोह, पराया संस्कृति, लाहुरे प्रभावजस्ता अतिक्रमणले गााजेको छ । ‘घरज्वाइँ’ ले यही दोसाँधको कथा भनेको छ, ऐतिहासिक सांस्कृतिक सौन्दर्यसहित ।
पछिल्लो समय नेपाली सिनेमामा जनजातीय संस्कृतिलाई केन्द्र बनाएर कथा हाल्ने सुन्दर उभारलाई बिस्तारै आम दर्शकले स्वागत गरिरहेको देखिन्छ । यसलाई सांस्कृतिक पुनर्जागरणको सौन्दर्य मान्नु उचित होला । हालैका सिनेबहसमा दर्शकको सक्रिय उपस्थिति हुनुले बताउँछ कि आमजनतामा सिनेमा–साक्षरतादेखि सौन्दर्यबोध गराउने जिम्मेवारी पनि सिनेकर्मीका रूपमा काम गर्ने संस्कृतिकर्मीकै रहेछ ।
सीमान्तबाट बिस्तारै मूलधारतिर अग्रसर बहुसांस्कृतिकताको सुन्दर लहर नै हाम्रो समाजको खास अनुहार रहेको स्वीकार्न ढिला गर्नु हुँदैन । संस्कृतिको सूक्ष्म चित्रणले एकातिर मनोरञ्जनात्मक क्षणिकताको पानीफोका हुनबाट सिनेजगत्लाई जोगाउँदै छ भने अर्कोतिर हाम्रो रैथाने कथा र नेपाली सिनेमाको भविष्यप्रति पूरापूर आशावादी हुने बलियो आधार तयार पारिदिएको छ । अब ‘हाम्रो कथामा राम्रो फिल्म बन्छ’ भन्ने आँट र बलियो उदाहरण बनेर उभिएको छ– ‘घरज्वाइँ’ । लघु चलचित्र ‘लोम्बा’ र वृत्तचित्र ‘आग्रे’ बाट विभिन्न फिल्म–फेस्टिभलमा दर्शकको मन र ‘अवार्ड’ जितिसकेका निर्देशक अनिल बुढा मगरनिर्देशित पहिलो ‘फिचर’ फिल्म ‘घरज्वाइँ’ ले मगर समुदायको संस्कृतिलाई निकै मीठोसँग प्रस्तुत गरेको छ ।
समुदायहरूको आ–आफ्नै फरक र विशिष्ट पहिचान हुने कुरा बुझाउन ‘घरज्वाइँ’ का प्रमुख पात्र सोरो कक्षामा भन्छन्– ‘हामी मगर समुदायचाहिँ सामूहिकताको बलले बाँचिरहेका छौं । जस्तै : मान्छे मर्दा, बिहे गर्दा, बाली लगाउँदा–भित्र्याउँदा, घर बनाउँदा एक अर्कामा सहयोग गरिरहेका हुन्छौं र सल्लाह गरिरहेका हुन्छौं । यो पर्म नै हाम्रो जनशक्ति हो ।’ रैथाने पेसा र सीपले जीवन चलाइरहेको रुकुमको मगर युवा पुस्ता ‘जनयुद्ध’ को सघनतासँगै बिदेसिन थालेपछि स्थानीय संस्कृति मर्दै गएकोमा सोरोलाई चिन्ता छ । तर, आफ्नोपनप्रति चिन्ता भए पनि उनी सहरमा पढेर एकखाले ढर्रामा ढलिसकेकाले ग्रामीण ज्ञान सीपमा अभ्यस्त छैनन् । संगीत, नृत्य, रक्सी, मादल र आफ्नै विश्वास पद्धतिको लयमा प्राकृतिक जीवन जिउन चाहने मगर समुदायलाई पछिल्लो समय राजनीतिक ऊहापोह, पराया संस्कृति, लाहुरे प्रभाव र हिन्दुकरणजस्ता अतिक्रमणले गाँजेको छ । तर, यो समस्या मगर समुदायको मात्रै होइन, सिंगो आदिवासी जनजाति समाज आज ‘निरन्तरता र परिवर्तन’ को सांस्कृतिक दोबाटोमा अल्मलिएको छ । ‘घरज्वाइँ’ ले यही दोसाँधको कथा भनेको छ, ऐतिहासिक सांस्कृतिक सौन्दर्यसहित ।
देखेकै छौं– कथा मात्रै मौलिक भएर सिनेमा बलशाली बन्दैन, त्यसका लागि दृश्यभाषामा उतार्ने ‘सिनेमाटोग्राफी’ अब्बल हुनुपर्छ । यस कोणबाट ‘घरज्वाइँ’ दरो र खरोसँग उत्रनु भनेको सिनेमामा नयाँ भाषा खोजिरहेका सिनेकर्मी र दर्शकका लागि पनि खुराक उपलब्ध हुनु हो । ‘घरज्वाइँ’ का प्रायः दृश्यमा आदिवासी सौन्दर्यशास्त्रअनुकूल क्यामरा प्रयोग भएको भान हुन्छ । हिन्दु प्रभावबाहेक आदिबासी जनजाति समाज मूलतः ‘हाइरार्की’ को उँचनीचबाट परै रहने चुरोलाई समातेर होला, सिनेमाका अधिकांश दृश्य पात्रको समानान्तर उचाइबाटै अर्थात् तर्सो खिचिएका छन् । सामूहिकताको दर्शन बोक्ने समुदायको कथा भन्नुपर्ने भएरै होला, एकल पात्रभन्दा समाज र परिवेशतिर क्यामराको ध्यान बढी केन्द्रित छ ।
कतिपय दृश्य यस्ता छन् कि मानौं– त्यहाँ सिंगो समाज नै पात्रतामा डुबेको छ । अनि, सिंगो समाज रैथाने संस्कृतिमा लयबद्ध छ, पश्चिम नेपालको भौगोलिक संस्कृति बुझेका दर्शकले यस सिनेमालाई ‘यानीमाया’ को लयमा बिस्तारै बगेको पाउन सक्छन् । सिनेमाको अर्को सशक्त पक्ष हो, उसले आफ्नो ‘क्यानभास’मा खेलेको– तकसेराको रङ । धूवाँ, कुहिरो र राडीपाखीको त्रिपक्षीय संयोजनबाट सिनेमाले आफ्नो रङ फेला पारेको हुनुपर्छ । कुनै पनि विशिष्ट सिनेमाले आफ्नो भाषा, दर्शन र विश्वदृष्टि व्यक्त गर्न खास रङ पक्रेको हुन्छ । लाग्छ– उच्च बस्ती, भेडापालन, कृषिपद्धति र रक्सी संस्कृतिलाई देखाउन सिनेमाले खेलाएको यो रङ नै सबैभन्दा उपयुक्त छ । पर्यटकीय दृष्टिले चर्चित मनमोहक तकसेरा, लुगुम र बाछीगाउँका केही दृश्य लगभग दुर्लभ लाग्छन् । ध्वनि, प्रकाश, प्रविधि–प्रयोग र संगीत संयोजनको सिल्प निकै सावधानीपूर्वक कुँदझैं लाग्छ । कतिपय दृश्य सांकेतिक र रूपकात्मक देखाइएकाले अर्थगत तहमा विशिष्ट र काव्यिक लाग्छन् । तर, क्यामराको ध्यान बस्तीका आकर्षक दृश्यहरू देखाउनुभन्दा धुम्रिँदो परिवेशमा पात्रहरूलाई चित्रण गर्नुमा छ, जसले मनोदशा र मगर संस्कृतिको वर्तमान अवस्था उजागर गरोस् । अनि, सोरो–बिन्जुरीको कथाबाट प्रेम, त्याग र संस्कारको पक्ष खोतलियोस् । दानबहादुर–बिन्जुरीको सम्बन्धबाट बाउ–छोरीको नोकझोंकमिश्रित प्रेम र परम्परा उधिन्न सकियोस् । चैते र सम्झनाको पात्रताबाट एकोहोरो प्रेम र प्रथाजन्य मनोविज्ञान तान्न सकियोस् । चैते–सोरोको पात्रताबाट जनजाति समुदायभित्र लाहुरे बन्नु र शिक्षक बन्नुको फरक र महत्त्व देखाउन सकियोस् ।
निर्देशकीय नीति, कथाको लय, समुदायको सौन्दर्य र क्यामराको कोणअनुसार कलाकारहरूले अभिनयमा भरपुर मिहिनेत गरेकै कारण ‘घरज्वाइँ’ राम्रो सिनेमा बनेको हो । सोरोको चरित्रले बेहोर्नु परेको उतारचढावलाई निकै सहज ढंगले उतारेका छन्, कलाकार दयाहाङ राईले । उनलाई एकातिर आफ्नो प्रेम जोगाउनु छ, अर्कातिर पारिवारिक प्रतिष्ठा, पुरुष अहम्, पठित हुनुको सामाजिक अहम् र सांस्कृतिक अहम् । सहर बसेर कृषिकर्मबाट टाढा पुगिसकेको एउटा व्यक्तिले गरेको श्रमलाई निकै मिहिन उतारेका दयाहाङले यस फिल्ममा अभिनय–अब्बलता दिएका छन् । खासगरी ग्रामीण गुरुङ–मगर समुदायमा सांस्कृतिक रूपमा पक्का ज्वाइँको दर्जा पाउन गाह्रै हुन्छ, जसरी अरूतिर बुहारी हुन गाह्रो हुन्छ । ‘घरज्वाइँ’ मा ससुरालीको काममा खटिने ज्वाइँहरूको प्रतिनिधित्व सोरोले यथार्थपरक ढंगले गरेका छन् । भलै, सबै मामा दानबहादुरजस्ता रुखो हुँदैनन् । जनजातीय संस्कृतिमाथि बनेका सिनेमामा दयाहाङले जसरी आफ्नो पात्रतामा न्याय गर्दै आएका छन्, यो अमुक समुदायले मात्रै प्रशंसा गरेर टारिदिने पक्ष होइन । यो त सिंगो नेपाली समाजले गर्व गर्नुपर्ने विषय हो, ताकि बहुसांस्कृतिक मुलुकमा परस्परको संस्कृति बुझ्न पाइयोस् र सिनेमामार्फत अन्तर्राष्ट्रिय जगत्मा नेपालीत्वको पहिचान पनि झल्कियोस् । आफ्नै समुदायको कथामा अभिनय गर्न पाएको अवसरलाई कलाकार मिरुना मगरले लवजमा समेत यति मीठो मिहिनेत गरेकी छन् कि उनलाई प्रशंसामाला पहिर्याउन मन लाग्छ । एक्लो बा, प्रेमी सोरो, लाहुरे भेना चैतेको त्रिकोणात्मक भावको चेपुवामा परेकी ग्रामीण बिन्जुरीलाई पछिसम्म दर्शकले सम्झिरहने छन् । दानबहादुरको हठी चरित्रलाई राम्ररी निर्वाह गरेका छन्, शिशिर बाङ्देलले । तकसेरातिर प्रेमपूर्वक कोसेली दिइने ओखरसँग उनलाई दाँज्न सकिन्छ, बाहिरबाट सधैं कठोर तर भित्र पोसिलो गुदी । राज थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, सुनिल मगर, खबपु, सोनाम लामा र भोलाराज सापकोटाले अभिनयमा अब्बलता दिएका छन् भने यस फिल्ममा सम्झनाको भूमिकामा देखा परेकी कलाकार अनु थापाको प्रशंसनीय अभिनय सम्झनलायक छ । ‘जनयुद्ध’ कालीन परिवेश, प्रभाव र मनोविज्ञान ‘घरज्वाइँ’ ले जसरी कलात्मक शैलीमा प्रस्तुत गरेको छ, लाग्छ– सांस्कृतिक सिनेमाले हिँड्ने यही नै सही बाटो हो । संस्कृतिका ससाना पक्षलाई मिहिन शैलीमा देखाइएकाले यस सिनेमाका दृश्यहरू बढी वास्तविक लाग्छन् ।
सेतो टीका, तीतेपाती, गुराँसे माला, भेडाको ऊन कात्ने तरिका, रोधी बस्दा गाइएका गीत र बजाइएको मादलदेखि बोन्पो संस्कृतिमा प्रयोग हुने ढ्याङ्ग्रो, भूमे पूजा, मृत्यु संस्कारका दृश्य र सामग्रीहरूले सिनेमालाई सांस्कृतिक प्रतिमानको रूपमा खडा गरेका छन् । यस सिनेमाले एकसरो प्रेमकथाको बहानामा व्यक्ति र परिवार, परिवार र परिवार, परिवार र समाज, परिवार र संस्कृति, संस्कृति र राजनीति, परम्परा र आधुनिकताजस्ता पाटामा छलफलयोग्य विषय उठान गरेको छ ।
प्रेम र विवाहलाई सामुदायिक सौन्दर्यशास्त्रका कोणबाट पनि बहस गर्नुपर्ने विषय ‘घरज्वाइँ’ ले अघि सारेको छ । मगर समुदायमा मामाचेली–फुपूचेला विवाह हुने हुनाले सानैमा रुमाल थापेर हक जताउने प्रचलन पनि हुन्छ । तर, पारिवारिक सहमति नहुँदा गरिने तानी विवाहबारे मानवअधिकार र हिंसाजस्ता कोणबाट प्रश्न उठ्न सक्छ भने सकारात्मक–नकारात्मक पक्षबारे अनेक आयाममा समाजशास्त्रीय विमर्श गर्न सकिन्छ । बुझ्नुपर्ने कुरा– हक लाग्ने सन्दर्भमा केटीको मन्जुरीलाई समुदायले प्रायः ख्याल गरेकै हुन्छ भने ‘तान्ने’ बेला अपवादबाहेक केटीले नै प्रेमपूर्वक सहमतिका संकेत दिएकै हुन्छ ।
पारिवारिक परिस्थिति प्रतिकूल हुँदाको बखत भाग्नुभन्दा ‘तान्नु’ लाई नारी अहम् जिताउने मनोवैज्ञानिक तरिका मान्न सकिएला । तर, पूर्वसंकेतबिनाको तानी विवाह त संस्कृतिको रूपमा गरिने अन्याय नै भएको स्वीकार्न समुदाय पछि हट्नु हुँदैन । अर्को कुरा– केही जनजातीय विवाहको सांस्कृतिक पक्ष नबुझ्दा मामाचेली–फुपूचेला सम्बन्धलाई ‘दाजु–बहिनी’ विवाहको आरोप लाग्ने गरेका दृष्टान्तहरू छन् । अरूको संस्कृतिलाई आफ्नै परम्पराको चस्मा लगाएर हेर्दा हुने यस्ता दुर्घटनाबाट रोक्न पनि यस्ता सांस्कृतिक सिनेमा बन्नुपर्नेछ । ‘घरज्वाइँ’ बस्नुप्रति कतिपयको हेयदृष्टि पाइन्छ । जबकि, बुहारी भएर अरूको घरमा जाने कुरालाई साह्रै सहज अभ्यास गरिन्छ । मूल प्रश्न हो– हामी कता उभिएर हेर्ने ? जनजाति महिलाहरू सामाजिक रूपमा केही अगाडि भएर नै घरज्वाइँको चलन बसेको अर्थराजनीतिक यथार्थलाई बिर्सन मिल्दैन ।
‘घरज्वाइँ’ मा वन्यजन्तु सिकारलाई निकै जीवन्तसँग देखाइएको विषयलाई लिएर प्राणी अधिकारको प्रश्न उठ्न सक्छ । तर, जल, जमिन र जंगलका विषयमा आदिवासी दर्शनलाई जोडेर हेर्दा आदिवासी ज्ञानले प्रकृति र वन्यजन्तुलाई जोगाएरै आफ्नो जीवन चलाएको हुन्छ भन्ने निष्कर्षलाई थप बल दिने दृष्टान्त ‘घरज्वाइँ’ ले दिन्छ । नामी सिकारीको रूपमा कहलिएका दानबहादुरको पुर्ख्यौली बन्दुकले समेत दुई दर्जन बँदेल पनि मारेको छैन । आदिबासीसँग स्थानीय स्रोतसाधनलाई के, कति र कसरी प्रयोग गर्ने भन्ने प्रकृतिमैत्री ज्ञान हुने हुनाले निकुञ्जद्वारा नियन्त्रण गर्ने विधानबारे सामुदायिक मतको पनि राज्यले सम्मान गर्नुपर्ला ।
‘घरज्वाइँ’ का एकाध दृश्यमा कसरमसर रहे पनि विचार र कलाका कोणले ती नगण्य नै लाग्छ । जस्तो– मृत्युसंस्कार गर्दा खाल्डोमा ठाडो राखिएको मैतेको शवमा टाउको नलत्रिनुको आफ्नै विश्वासपद्धति छ । मन्त्रको कारण मृत्युपछि समेत झाँक्रीको टाउको ठाडै रहन्छ भन्ने स्थानीय जनविश्वासलाई देखाइए पनि आमदर्शकले त्यसलाई बुझ्न कठिन पर्छ । रोधी बस्दाको दृश्यमा पात्रहरूबीचको स्वाभाविकता र आत्मीयतालाई सघन बनाउन नपुगेको लाग्न सक्छ । तर, दाउरा–घाँस, खेतीपाती, खनजोत, रोधी, मेला–मादल र महिला भलिबलजस्ता दृश्यहरूले चाहिँ ग्रामीण पृष्ठभूमिका दर्शकलाई अतीतमोहको दहमा चुर्लुम्मै डुबाउँछन् ।
ट्रेलर बाहिरिएसँगै ‘अश्लील’ शब्दहरूको खुलेआम प्रयोग गरेको आरोप लगाउँदै ‘घरज्वाइँ’ लाई विवादमा तान्न खोजियो । समाजको सकारात्मकता मात्रै अभिव्यक्त गर्ने हठले सिने–साहित्यलाई एकपाखे र ढोंगी बनाइदिन्छ । सिनेमाका दृश्य र भाषाको प्रभाव समाजमा हुबहु पर्छ भन्ने धारणालाई सही मान्ने हो भने बलात्कार र हिंसाका दृश्यहरू कहिल्यै पर्दामा देखाउन नमिल्ने हुन सक्छ । सिनेमाको उद्देश्य नविचारीकन कथित नैतिक समाजदेखि सेन्सरबोर्डसम्म ‘शब्द–प्रहरी’ को अवतारमा उत्रिनु खेदजनक छ । थाहै छ, खस नेपालीमा ‘अश्लील’ मानिने संस्कृत, हिन्दी र अंग्रेजीका शब्द सहजै प्रयोगमा छन् । उसो त, खस नेपालीका एकाध शब्दको अर्थ कतिपय जनजाति समुदायमा ‘छाडा’ अर्थ लाग्छ । कतिपय मार्क्सवादीहरूले भाषालाई विचारधाराबाट अलग राखेर हेरे पनि कतिपय सन्दर्भमा विचारधारात्मक वर्चस्वको साधन बनिदिन्छ, भाषा । भनिन्छ– ‘अश्लीलता एक अर्थमा पुरुषवादी वर्चस्व कायम राख्ने माध्यम हो । अश्लीलताको परिभाषा खोज्ने काम पितृसत्तात्मक समाजको आफ्नो आवश्यकताले गरेको हो ।’ पुरुषहरूको समूहमा बेपर्वाह प्रयोग हुने शब्द महिला प्रवेश हुनेबित्तिकै किन सेन्सर गरिन्छन् ? उत्तर सहज छ– हाम्रो पुरुषवादी सामाजिक मनोविज्ञानले नारीलाई मन, वचन र कर्मले नै सती सावित्री देख्न चाहन्छ । अर्थात्, नारीको चरित्रलाई यौन शुद्धताको कसीमा हेर्ने हुनाले केही शब्दलाई ‘अश्लील’ भनेर वर्जित गरिन्छ । पुरुष निर्मित प्रतिमान र मर्यादाले महिलाको स्वतन्त्र अभिव्यक्तिदेखि उपस्थितिप्रति चिन्ता लिन्छ । महिला र पुरुषबीचको यही दोहोरो मापदण्डले नै समाजमा शब्दमाथि यत्ति डरलाग्दो वर्जनाहरू खडा गर्छ । यस्तै वर्जनाहरूको तीर ‘घरज्वाइँ’ जस्ता आदिवासी सिने–साहित्यतिर ताक्ने गरिन्छ । त्यही तीरमा बेरिएर आउने एउटा प्रश्न छ– ‘के जनजाति समाजमा यस्ता शब्दहरू सहजै बोलिन्छन् ?’
ब्राह्मण समुदायको तुलनामा जनजातीय समुदायमा सक्रियता, निर्णयको क्षेत्राधिकार र पारिवारिक भूमिकाका हिसाबले महिलाहरू अघि हुन्छन् ।
जनजातीय उदार समाजमा महिला र पुरुषको चारित्रिक मानदण्डको अन्तर कम हुनाले ब्राह्मण समाजमा ‘अश्लील’ मानिने शब्दहरूको अर्थ त्यहाँ तनाव र आक्रोश पोख्ने शक्तिशाली सार्थक ध्वनि मात्रै भइदिन्छ । महिलाहरूले सार्वजनिक रूपमा सहजै बोल्ने यस्ता शब्दलाई ‘अश्लीलता’ को
ड्याङमा राखेर नहेरी जङ मत्थर पार्ने सामान्य बाटो मात्रै मान्दछ, जनजाति समुदाय । कुण्ठाशमन गर्ने सहज मनोवैज्ञानिक शैलीलाई ‘अश्लीलता’ को बिल्ला भिराउनु भनेको सांस्कृतिक विविधतामाथि प्रहार गर्नु हो । यस्ता चुनौतीको बीच ‘घरज्वाइँ’ गरेको आँटलाई सकारात्मक कदम ठान्नुपर्छ भने फिल्ममाथि चलाइएको सेन्सरबोर्डको अनावश्यक कैंचीलाई भर्त्सनायोग्य मान्नुपर्छ ।
संस्कृतिलाई ठट्टाको विषय बनाउनुको साटो समुदायलाई बुझ्न सम्बन्धित संस्कृतिको जरा आत्मसात् गर्नुपर्छ भन्ने बलियो उदाहरण निर्देशक अनिल बुढा मगरले प्रस्तुत गरेका छन् । अनिलले अग्रज निर्देशक र पूर्ववर्ती सिनेमाहरूबाट प्रेरणा र प्रभाव पक्कै लिएका छन् । तर, सँगसँगै ती प्रभाव पचाएर आफूभित्र जोगाउँदै उनले कलामा नयाँ फट्को हान्ने प्रयासस्वरूप आफ्नै ‘सिग्नेचर’ बनाएका छन् ।
लाग्छ– ‘घरज्वाइँ’ को अब्बलतालाई उछिन्न अनिल आफैंले पनि अब अर्कै स्तरको अध्ययन र मिहिनेत गर्नुपर्छ ।
