कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

विक्रमचाँदको मृत्यु 

छिनछिनमा सनक्क सन्किने लहडी जीव हो– विक्रमचाँद । आफ्ना दृष्टिमा ऊ हो एक अप्रतिम प्रतिभा, एक विलक्षण बौद्धिक, एक विरलाकोटी स्रष्टा, एक दुर्लभ मानव !

आपसी द्वेष, कलह र तनावयुक्त समकालीन समयको विकारग्रस्त मनोग्रन्थिको दुःखमय कथा हो यो । मान्छेभित्रको हीनताभाव र उच्चताभाव गज्याङगुजुङ भई जोल्ठिङ परेको कथा ! आत्मकेन्द्रित र अलगावमुखी सामाजिक (असामाजिक) सञ्जाल, प्रयोजनशून्य अस्तित्वबोध, विवेकच्युत भीडतन्त्री राजनीति, असीमित आवश्यकता, अतृप्त आकांक्षा, चरम व्यक्तिवाद, उग्र निराशा, असमभावबाट उत्पन्न ‘राम्रो म’ र ‘मैमात्र राम्रो’ को क्लेसकर मनोविकारको एउटा कथा ! 

विक्रमचाँदको मृत्यु 

आफ्नो कृत्रिम विशालतामा गर्व गर्ने दम्भी भ्यागुत्तो फुलाउँदा–फुलाउँदै भुँडी प्याट्ट फुटेर अकालमै मर्‍यो । कठैबरा भन्ने कोही भएन ।

•••

सुरु हुन्छ अब साँच्चीको कथा । ऊ स्त्री पनि हो, पुरुष पनि । त्यसैले ऊ हो एकमा दुई अस्तित्वको मिलन अर्थात् उभयलिंगी । जनबोलीमा ऊ चिनिने नाम हो– विक्रमचाँद । विक्रमचाँद आफ्ना दृष्टिमा पनि र अँका दृष्टिका पनि जगत्को औसत मानिस होइन । ऊ हो, विविध दृष्टिले औसतइतर तसर्थ जगत्को एक असामान्य मानिस । रुचि र मनोविज्ञानका दृष्टिले अरू कोहीजस्तो छैन ऊ । आफू आफ्नै आँखाको आकाइको दृष्टिले अरू कोहीजस्तो छैन ऊ । र, आफ्ना आँखामा अरूको आकाइको दृष्टिले अरू कोहीजस्तो छैन ऊ । छ त ऊ केवल उही र उहीजस्तो छ ।

छिनछिनमा सनक्क सन्किने लहडी जीव हो– विक्रमचाँद । यो सनकसिं लहडैलहडमा मनचिन्ते गुण, योग्यता र अलङ्कारले आफूलाई चिरिच्याँट्ट सजाउन रुचाउँछ । त्यसैले त आफ्ना दृष्टिमा ऊ हो एक अप्रतिम प्रतिभा, एक विलक्षण बौद्धिक, एक विरलाकोटी स्रष्टा, एक दुर्लभ मानव । आफ्नो ‘राम्रो म’ ले कल्पेको उच्च मण्डपमा बसेर जगत्लाई ऊ तल धूलामा हेर्छ । र, ऊ फुर्किन्छ— अहा, म कति माथि ! बाँकी सब कति तल ! म कति महान् ! बाँकी सब कति क्षुद्र !

तर के लाग्छ, यस्तो ‘महान्’ विक्रमचाँदका पनि आफ्नै दुःख छन् । खासमा ऊ आफैंले बनाएका दुःख हुन् यी । उसको अनुहारको रूपाकृति राम्रो छैन, न त उसको जीउको ढप नै मिलेको छ । नराम्रो अनुहार र नमिलेको जीउ उसको दुःखका दुई मुहान हुन् । विक्रमचाँद जहाँजहाँ जान्छ, हरपल यी दुई दुःख उसँगै हिँड्छन् । जागा रहँदा सँगै, निदाउँदा सँगै । विपनामा सँगै, सपनामा सँगै ।

पुरानो एउटा प्रसंग कोट्याऊँ । नामैले भन्छ— ऋषि अष्टावक्रको जीउ आठ ठाउँ बाङ्गो थियो, झट्ट हेर्दा हदै कुरूप । तर, त्यो बाङ्गो जीउको उनलाई एकरत्ति पर्बाह थिएन । उनको बुद्धिमत्तासामु केही नै थिएन त्यो नाथे बाङ्गोपन । उनलाई त्यसको कहिल्यै सम्झना हुँदैनथ्यो । न त देख्नेहरूका नजर नै कहिल्यै त्यसमा अल्झिन्थे । तर, बेग्लो विक्रमचाँदको कुरै बेग्लै हो । सुन्दर र कुरूपको चेत खुल्दै जाँदा विक्रमचाँदले जब मिहिन दृष्टिले आफूलाई ऐनामा हेर्‍यो, नराम्ररी झस्केर ऊ त्यसैत्यसै खिन्न भयो । यो खिन्नतामा ऊभित्र हीनभावना छताछुल्ल भयो । उसको यो हीनभावना उसको स्मृतिपटलमा कहिल्यै नमेटिने गरी छापियो । घरिघरि बल्झिरहने गरी, घरिघरि मन भरंग भइरहने गरी ।

•••

एउटा प्राचीन ग्रिसेली पुराकथा छ । नार्सिसस नामक अजीवको जीवको कथा हो यो । जलदेवता र जलपरीको छोरो नार्सिसस अखण्डै राम्रो थियो । एक भविष्यवक्ताले भनेथ्यो— नार्सिससको आयु कतिकति लामो छ । तर, यो लामो आयु भोग गर्न एउटा कुराबाट खुबै चनाखो भई उसले जोगिनुपर्छ । त्यो के भने, उसले ऐना वा अरू कुनै वस्तुमा आफ्नो अनुहारको छायाछवि एक झल्को धरी हेर्नु हुँदैन । हेर्‍यो कि उसको दुःखका क्षण सुरु भइहाल्छन् । दुर्भाग्यवश, एक दिन नार्सिससका आँखा नदीको पानीमा उत्रिएको आफ्नो अनुहारको छायाछविमा परे । आफ्नो बिछट्टै राम्रो छायाछविको प्रेममा ऊ यसरी फस्यो कि त्यसलाई उसले आँखै नझिम्क्याइ हेर्‍यो र हेरिनै रह्यो । आफ्नो छायाछविको प्रेममा लिप्त भई उसले तिर्खा बिर्स्यो, भोक बिर्स्यो, निद्रा बिर्स्यो, जगत् बिर्स्यो । र, आफ्नै अनुहारको सुन्दरताको नशामा लट्ठिएर खिइँदै एकबारको जुनीमा उसले सासै फेर्न बिर्स्यो ।

उता नार्सिससको दुःख उसको सुन्दरतामा थियो, यता विक्रमचाँदको दुःख उसको कुरूपतामा छ । खासमा एउटै सिक्काका दुई पाटा हुन् विचित्रका यी दुई जीव । यी दुवै आत्मकेन्द्रित छन् । यी दुवै नम्रताशून्य छन् । यी दुवै अहंकारी छन् । जीवन र जगत्लाई हेर्ने र आँक्ने यी दुवैका दृष्टि अयथार्थपरक छन्, उडन्ते छन्, दुःख निम्त्याउने खालका छन् ।

•••

विक्रमचाँदलाई आफ्ना दुई कुरूप रूपको झल्याँस्स याद आयो । र, उसलाई औडाहाले त्यसैत्यसै ऐंठन भयो । उसले आफ्नो अनुहार छाम्यो, जीउ छाम्यो । उद्विग्न दृष्टिले उसले यता हेर्‍यो, उता हेर्‍यो, जताततै हेर्‍यो । यत्रो विराट् संसारमा आफ्नो अस्तित्वको उपस्थिति उसले कतै लेसमात्र पनि देखेन । सामाजिक सञ्जालको त्यत्रो जंगल छ । त्यहाँ उसको चर्चा कतै छैन, कत्ति छैन । एफएम र टेलिभिजनहरूको त्यत्रो बगाल छ । त्यहाँ उसको चर्चा कतै छैन, कत्ति छैन । त्यतिका मुद्रण माध्यम छन्, तिनमा उसको चर्चा कतै छैन, कत्ति छैन । मानौं इहलोकमा विक्रमचाँदको अस्तित्व नै अलप भयो । त्यसैत्यसै रन्थनिएको विक्रमचाँदले निधार चाउरी पार्दै आँखा चिम्लेर गम खायो— चर्चाको लहरोमा जिउँदो देखिने जुक्ति केही होला कि ? एकाग्र चित्तले गम्दै जाँदा उसलाई एउटा जुक्ति फुर्‍यो । जुक्ति त फुर्‍यो, तर गर्न त्यो सजिलो थिएन ।

विक्रमचाँदका अन्तरका आँखासामु समाजले चिनेका र मानेका नामहरूको सानोतिनो लाम लाग्यो । उच्चाटलाग्दो यो सन्नाटामा चर्चामा आउन तिनमध्ये कसैलाई केही भन्ने पो हो कि ? यसअघि सानातिना नामलाई यसो केही भनेर उसले चर्चाको गर्जो टारेको थियो । अहिले उसलाई लाग्यो, यी साना नाथेहरूबाट अब काम चल्दैन । उस्तै बासी कुरालाई मान्छेले सधैं किन टेरुन् ? अब भने ठूलै नाम भएको कोही ठूलालाई ताकेर केही भन्ने हो । केही भन्न लामबाट उसले एउटा नाम रोज्यो । लोकका दृष्टिमा त्यो लेखक थियो । विक्रमचाँदको बुझाइमा त्यो निकै नाउँ चलेको र निकै भाउ भएको लेखक थियो । त्यसका गलामा प्रशंसाका अनेक पगरी पहिरिइएका थिए । अनेक पुरस्कार र सम्मानले त्यसको नाम सिँगारिएको थियो । समाजका तहतहका मानिस तहअनुसारको आफ्नो चेतनाले त्यसलाई चिन्थे । सर्वत्र चिनिएको त्यो जीवलाई ताकेर केही भन्दा चर्चाको सानोतिनो लहर कसो नउठ्ला ? आँट गरेर म भन्छु । र, भनेर म चर्चाको लहरलाई निम्त्याउँछु । अनि कोलाहलमय यो जगत्मा अलिबेर नै सही, म आफ्नो अस्तित्वबोध गर्छु ।

चर्चाको रहरले विक्रमचाँदलाई उत्पात गाँजेको थियो । सामाजिक सञ्चालमा उसले प्वाक्क भन्यो— गोविन्द शर्मा भन्ने लेखक चोर हो । यसो भन्यो र आफ्नो बुद्धिको ताछिल्य र आँट सम्झँदा उसलाई खुब स्वाद भयो । ल जा, कत्ति न ठूलो हुँ भन्ने तँ ठ्याँस्ने गोविन्दे !

यो ‘चोर’ को प्रतिक्रिया जादुमय भयो । दुलाबाट कमिलाको ताँती लुतुलुतु निस्केझैं सामाजिक सञ्जालका दुलाबाट प्रतिक्रियाहरू लुतुलुतु निस्किए । प्रतिक्रियामा केहीले विक्रमचाँदलाई घ्याप्प बोके । जसले बोके, भक्तिमुद्रामा तिनले भने— विक्रमचाँद सत्यवादी हो । ऊ जे भन्छ, सधैं ठीक भन्छ । यीः अहिले पनि ठीक भन्यो । लेखक गोविन्दे चोरै हो ! प्रतिक्रियाको अर्को कोणबाट फरक प्रतिक्रिया आए । भिन्न मतको यो कोणले कारण खोज्यो । लेखक होस् वा अलेखक, कोही चोर हुनलाई उसले केही न केही चोरेको हुनुपर्छ । नैतिकताको इज्जत हुने समाजमा ‘चोरी’ गम्भीर फत्तुर हो, व्यक्तिका निधारमा कलंकको दाग लाग्ने फत्तुर । विक्रमचाँदतिर प्रश्नहरूको लहर तेर्सियो— लेखक गोविन्द चोर हो भन्ने प्रमाण तँसग के छ ? विक्रमचाँद मौन रह्यो । भक्तहरूको झुन्डबाट ओठे जवाफ आयो— विक्रमचाँद जे भन्छ, सोचेर भन्छ । त्यसमा हामी शंका नगरौं । विक्रमचाँदका पवित्र मुखबाट वचन निस्केपछि त्यो स्वतः सत्य हो भनी विश्वास गरौं । प्रतिक्रिया प्रस्टै दुई कित्तामा बाँडिए । एउटा कित्ता विश्वासमा कटिबद्ध भयो । अर्को कित्ताले र्‍याखर्‍याख्ती कारण खोजिरह्यो । कारणका कतिपय सिकारीले त कारण नखुलाई चोर भन्नेको मानसिक सन्तुलनमाथि नै प्रश्न गरे ।

भन्न पाएँ भन्दैमा मनपरी भन्न पाइन्छ ? ए रात्तै !

विक्रमचाँद चर्चाको उग्र तृष्णाले उपद्रै तड्पिरहेको थियो । उसले यो सब चर्चा जुँगा मुसार्दै सुन्यो । दुईतिरका भन्नु सकिए । र, वातावरणमा गहिरो निरवता छायो । अब विक्रमचाँदको बोल्ने पालो आयो । दीर्घ सन्नाटा चिर्दै उसले भन्यो— मलाई त्यस्तै लाग्यो र भन्दिएँ, सकियो त कुरो ! लोकमत जंगियो— मुख छ भन्दैमा जे पनि भन्न पाइन्छ ? म पनि विक्रमचाँद चोरै हो भन्दै हिँडू त ? हीनग्रन्थिबाट उत्पन्न छटपटीबाट फुत्किन श्रेष्ठता नामक ग्रन्थिमा सवार भई प्वाक्क भनिहाल्यो, अब भने विक्रमचाँदलाई पर्‍यो फसाद । तर, मैदान छाडेर भाग्ने जीव ऊ थिएन । उसले भन्यो— लेखक गोविन्दको बोलाइ उसको मौलिक होइन, त्यो चोरीको हो । लेखक गोविन्दको जीवनशैली उसको निजी होइन, त्यो चोरीको हो । प्रमाण के छ विक्रमचाँद ? झोंक्किएको लोक एकै स्वरमा विक्रममाथि खनियो । प्रमाण मेरो बोली हो— ‘राम्रो म’ को देउरालीमा उभिएर विक्रमचाँद गर्जियो । बोलेपछि मैले बोलें, बोलें । अब त्यो केही गरी फिर्ता हुँदैन ।

•••

विक्रमचाँद चित्तको चञ्चल थियो, पेसामा अस्थिर । चुलबुले फिस्टो पातपातै उफ्रेझैं ऊ यो पेसाबाट ऊ पेसामा, ऊ पेसाबाट त्यो पेसामा छिटछिटो उफ्रिरहन्थ्यो । ऊ झन् अस्ति कुखुरापालक थियो । हिजो मास्टर थियो त आज व्यापारी छ । भोलि होटल चलाउला त पर्सि नेता होला । विक्रमचाँद यो र त्यो पेसामा फड्को मार्दै जाँदा घरको अर्थव्यवस्था चौपट् भएको थियो । तैपनि उसलाई केही न केहीमा दिगो हुनुपर्छ भन्ने बुद्धि कहिल्यै आएन । चित्तको चञ्चलता र पेसाको अस्थिरताप्रति उसलाई कहिल्यै कत्ति पछुतो भएन । विक्रमचाँदतिर फर्केर लोकले करीकुरी गर्‍यो— हेर, हेर । त्यो हिँड्दै छ, पाइला मेट्दै छ । काम न काजको पीँध नभ’को लोटा हो त्यो सिल्ली ।

•••

कसैले केही राम्रो गरेको देख्यो कि विक्रमचाँद डाहाले जल्न थालिहाल्थ्यो । कोही गजलमा चर्चित भयो, उसले उसलाई उछिन्नैपर्ने । कसैले हाइकुमा नाम कमायो, उसले उसलाई पछि पार्नैपर्ने । कवितामा त्यस्तै, कथामा त्यस्तै, संस्मरणमा त्यस्तै, जेमा पनि त्यस्तै । ढंग केहीमा पुग्ने होइन । डाहाको यो रेसमा विक्रमचाँदको न कतै छिसिक्क चर्चा हुन्थ्यो, न कतै एक पित्को हाईहाई हुन्थ्यो । न कसैका वचनमा आहा सुनिन्थ्यो, न कसैका नजरमा ठीकठीक देखिन्यो । तर, म बेढंगे ल्वाँठ भएँ भन्ने महसुस उसलाई कहिल्यै भएन । अनि ऊ भयो यतै उपहासको पात्र, उतै उपहासको पात्र । तर, म सर्वत्र उपहासको पात्र भएँ भन्ने लेस मात्र पनि चेत उसलाई कहिल्यै भएन ।

•••

विक्रमचाँदलाई आफ्ना दुई कुरूप रूपको फेरि झल्याँस्स याद आयो । र, औडाहाले उसलाई त्यसैत्यसै ऐंठन भयो ।

उसले आफ्नो अनुहार छाम्यो, उसले आफ्नो जीउ छाम्यो । उद्विग्न दृष्टिले उसले यता हेर्‍यो, उता हेर्‍यो, जताततै हेर्‍यो । आफ्नो अस्तित्वको उपस्थिति उसले लेस मात्र पनि कतै देखेन । जगत्मा यति धेरै आँखा छन्, कुनै आँखामा ऊ परेको छैन । जगत्मा यतिका मुख छन्, कुनै मुखमा उसको चर्चा छैन । जगत्मा यत्रो कोलाहल छ, यो विराट् कोलाहलमा ऊ कहीं छैन । सबैतिरबाट मानौं ऊ चटक्कै बिर्सिइएको छ । सबैतिरबाट मानौं पूरापूर त्यागिएको छ ऊ । विक्रमचाँदका चित्तमा सन्तापको आगो सल्कियो । अहो ! म मरें कि ? म जिउँदो हुनुको दसी खै के छ ? खै कसका आँखामा, कसको बोलीमा, कसको सम्झनामा, कसको भक्तिमा, कसको निन्दामा जिउँदो छु म ? हे ठोरीका राम ! जिउँदो जनिन चर्चामा आउने अब कसरी हो ? विक्रमचाँदले निधार चाउरी पारेर, आँखा चिम्लेर गम खायो । सामाजिक सञ्जालमा लेखक गोविन्दलाई उसले एक होइन अनेक पटक चोर भन्यो । हरेक पछिल्लो पटक उसको चर्चा गर्नेको संख्या घटेर गयो । यो बासी विषयको चर्चामा उसका सीमित भक्तहरू पनि थाके, उसका व्यापक आलोचकहरू पनि थाके । हे झगवान्, यो त्रूर जगत्मा चर्चामा आउने जुक्ति अब केही बाँकी छ ?

सोच्दै जाँदा विक्रमचाँदलाई मनको एक कुनामा नौलो जुक्ति फुरेफुरेजस्तो लाग्यो । कताकति उसले सुनेको थियो— कुनै लेखकले, सायद जर्मन होला त्यो, हो त्यसले निकैअघि ब्रह्माण्ड हल्लाउने घोषणा गरेको थियो— ईश्वर मर्‍यो ! अँ, के जाती नित्से हो क्यारे त्यो घोषणाबाजको नाम । त्यही नाथे एउटा घोषणाको भरमा नित्से भन्ने जर्मनको अमर कीर्तिगाथा रचियो रे । यहाँनेर विक्रमचाँद जोसियो । गोविन्दलाई खेदेर अब केही नहुने भो । अबलाई यस्तो केही भन्ने हो । ईश्वर मर्‍यो भन्नु अलि ठूलो कुरो होला । त्योभन्दा अलि सानो के भन्ने हो ? विक्रमचाँदले तर्कना गर्‍यो— ईश्वर बौलायो भने कसो होला ? उसले तत्काल ठहर गर्‍यो— पक्कै ठीक होला । उसले सामाजिक सञ्जालमा झ्याप्प भन्दियो— ईश्वर बौलायो !

विक्रमचाँदका साह्रै थोरै भक्तले पुरानो राग दोहोर्‍याए । विक्रमचाँद सत्यवादी हो । ऊ जे भन्छ, सधैं ठीक भन्छ । यीः अहिले पनि ठीक भन्यो । ईश्वर खसोखास बौला’कै हो ! परचक्री कोणबाट विक्रमचाँदतिर सहस्र तीर ताकिए । ती तीरले उग्र स्वरमा भने— ईश्वर होइन, विक्रमचाँद बौलायो । गम्भीर आस्तिक र छिपछिपे नास्तिक दुवै थरी विक्रमचाँदमाथि खनिए । कोही एक कल्पनाशील तीरबाजले भन्यो— मान्छेका दिमागमा जम्मा नौवटा तार हुन्छन् । विक्रमचाँदको दिमागका कम्तीमा पनि तीनटा तार खुकुलिए हुनन् । र, नै उसको सुद्दी खुस्कियो । र, नै त ऊ बौलायो ।

विक्रमचाँदले दुवै कोणका कुरा ध्यानले सुन्यो । र, मनमनै हाँस्दै उसले गम खायो— परचक्रीले मेरो बद्ख्वाइँ गरे त के बिग्य्रो ? चर्चाशून्य यो सुनसानमा मेरो अर्को एक राउन्ड चर्चा त भयो कि ! कल्ले के भन्यो, महत्त्वको कुरा त्यो होइन । महत्त्वको कुरा त चर्चा हुनु पो हो । त्यो भयो ! र त्यो गजपले भयो !

निकै दिन बिते । तैपनि विपरीत कोणको तीर हनाइ मत्थर भएन । तिनले यसपाला पनि कारण र्‍याखर्‍याख्ती खोजे । र, ध्वाँसको लबजमा विक्रमचाँदलाई तिनले सोधे— छिटो भन्— तँ बौलाहाले के कारणले ईश्वर बौल्यायो भन्या होस् ? यता सुन्यो, सोधाइ त्यही छ— ता बौलाहाले..... । उता सुन्यो, सोधाइ त्यही छ— तँ बौलाहाले... । जता सुन्यो, सोधाइ त्यही छ— ता बौलाहाले.... । विक्रमचाँदलाई बिच्केको अरिङ्गालको गोलो आफूमाथि खनिएजस्तो लाग्यो । उसलाई झडङ्ग झोंक चल्यो । र, झाोक अति भएपछि उसले गर्जन गर्‍यो— तिमेर्लाई यत्रोको प्रमाण चाहियो ? मैले भन्दिएँ, ईश्वर बौलायो ! सकियो त कुरो !

•••

अलि दिनमै विक्रमचाँदलाई आफ्ना दुई कुरूप रूपको फेरि झल्याँस्स याद आयो । र, औडाहाले उसलाई त्यसैत्यसै ऐंठन भयो । उसले आफ्नो अनुहार छाम्यो, उसले आफ्नो जीउ छाम्यो । र, आफैंलाई सोध्यो— म जिउँदो हुँ कि मुर्दा हुँ ? मेरो जिउँदोपनको दसी जगत्मा के छ ? कष्टकर हीनतालाई छल्न विक्रमचाँद घरिघरी मनचिन्ते श्रेष्ठताको चुलीमा

चढ्थ्यो । र, तल हेरेर लोकलाई धिक्कार्दै ऊ तर्कना गर्थ्यो— म भन्छु, यो जगत् मणि नचिन्ने मूर्खहरूको बगाल हो । यहाँ खोइ मेरो महिमा ? यहाँ खोइ मेरो मानमनितो ? यहाँ खोइ मेरो गौरवगान ? ऊ कल्पिन्थ्यो— ऊ बाहिर निस्कँदा चोकचोकमा तोप पड्किऊन् । उसको जयजयकारको तुमुल ध्वनिले गगन गुन्जायमान होस् । घरका झ्यालझ्यालबाट उसमाथि पुष्पवृष्टि होस् । र, जगत्ले खुट्टो उचालेर उसलाई हेर्दै एक स्वरमा भनोस्— हेर, चिन र मान । त्यो विक्रमचाँद हो । पाइनसक्नु पारसमणि हो त्यो ।

‘...पारसमणि’ विक्रमचाँदले हरेसको गहिरो सुस्केरा हाल्यो । र, चिन्तातुर मुद्रामा उसले आफैंलाई सोध्यो— विक्रमचाँद ! जिउँदोपनको अनुभूति हुनलाई गर्न सकिने अब छ त केही बाँकी ? जतिसुकै गम खाए पनि उसको चञ्चल चित्तमा केही सुझेन । त्यत्रा सृष्टिकर्ता भगवान्लाई ‘बौलाहा’ भनिसकियो । भन्नलाई अब भगवान्भन्दा माथि छ र कोही ? सूर्य केही होइन, खालि आँखाको भ्रम हो भन्ने पो हो कि ?

भनूँला रे लौ, सुनिदिने कसले ? पत्याइदिने कसले ? चर्चा गरिदिने कसले ? निरूपाय विक्रमचाँद झन्झन् हतास भयो । उसलाई लाग्यो— अब भने म मरें ! म सकिएँ ! म कसैका आँखामा रहिनँ ! म कसैको वचनमा रहिनँ ! म कसैको सम्झनामा रहिनँ ! मेरो चर्चा प्रशंसामा पनि सकियो, निन्दामा पनि सकियो ! मध्ये दिन थियो । घाम झलमल्ल लागेको थियो । तर, विक्रमचाँदका आँखासामु घना अन्धकार व्याप्त भयो । निराशाको अन्धकार । हतासाको अन्धकार । मृत्युको अन्धकार !

जिउँदोपनको अनुभूति गर्न विक्रमचाँदले आफ्नो अन्तिम अस्त्र प्रयोग गर्ने निधो गर्‍यो । उसको त्यो अस्त्र थियो— आत्महत्या ! उसले सुसाइड नोट लेख्यो । नोटमा उसले भन्यो— मान्छे नचिन्ने स्वाँठहरूको बगालमाझ अब म रहनु व्यर्थ छ । जगत्मा मेरो महत्ता बुझ्ने कोही भएन । अब कसैप्रति मेरो कुनै आस रहेन । तसर्थ आजका मितिले म मरें !

सुसाइट नोट फेला पर्‍यो, विक्रमचाँद दृश्यपटलबाट गायब भयो । प्रहरीले लोकछेउ विक्रमचाँदको हुलिया दिँदै सूचना जारी गर्‍यो । यस्तोयस्तो मान्छे जिउँदो वा मरेको देख्नेलाई उचित पुरस्कार दिइनेछ । दिनहरू बिते । हप्ता बित्यो । हप्ताहरू बिते । विक्रमचाँदको कतै सुइँको पाइएन । आस मारेर प्रहरीले भन्यो— खोज्नु खोजियो, खोइ कतै भेटिएन । विक्रमचाँद फेला पर्ने सम्भावना सकियो कि त अब !

एक गुप्तवासमा लुकेर विक्रमचाँद आफ्नो चर्चा सुनिरहेको थियो । चर्चामा उसलाई कतै मणि भनियो, कतै खुस्केट । कतै बुझिनसक्नु ग्रन्थि भनियो । यो विविध चर्चामा जिउँदोपनको अनुभूति गर्दै हुनुसम्म हर्षित भयो ऊ । तर, उसको यो हर्ष धेरै दिन टिकेन । थकित प्रहरीले कुरो घुमाएर विक्रमचाँदले आत्महत्या गरेकै हो भन्दियो । अब भने फस्यो विक्रमचाँद संकटको भयावह भुमरीमा । यता गुप्तवासमा विक्रमचाँद सास फेरिराख्या छ । उता लोकका दृष्टिमा उसले आत्महत्या गरिसक्यो । हे भगवान्, अब गर्ने के ? म जिउँदै छु भनेर बाहिर निस्किऊँ, मान्छेले प्रेत ठानेर मार्लान् भन्ने डर । निनिस्कऊँ प्रेतावतारमा कति दिन, कहाँ लुकिबस्नु ?

विवश र लाचार विक्रमचाँदको लास वनकाली वनको रूखमा झुन्डिएको भेटियो । लास उकालो सिँढीको छेवैको रूखमा झुन्डिएको थियो । ठाउँको रोजाइले संकेत गर्‍यो, आत्महत्याको क्षणमा पनि विक्रमचाँदको चित्तमा चर्चाको अतृप्त तृष्णा तीव्र थियो । सायद उसको अन्तिम इच्छा हुँदो हो— मान्छे नित्य हिँडिरहने सिँढीछेउ झुन्डिँदा धेरैले मेरो लास देखून् र चर्चा गरून्— हिजोसम्म मर्त्यलोकमा विक्रमचाँद नामक दुःखी जीवित थियो !

•••

विक्रमचाँदले जब सास बितायो, अनेक मुखबाट अनेक टिप्पणी भए । सामान्यजनले भने— उसको अनुहार कहिल्यै उज्यालो देखिएन । बरा ऊ दुःखमा बाँच्यो, दुःखैमा मर्‍यो र दुःखै लुकायो । कसैले कटाक्ष गर्‍यो— अहंकारको पर्वत बोकेर बाँच्याथ्यो, बरा अहंकार पनि ऊसँगै मर्‍यो । एक मनोविद्ले विषादको मुद्रामा दैनिक डायरीमा लेख्यो— विक्रमचाँदको रोग थियो एउटा, रोग लुकाएर भन्दै हिँड्यो अर्थोकै ।

खासमा मनोरोगबाट पीडित थियो ऊ । उसको एउटा मनोरोग थियो आत्मपीडन, अर्को मनोरोग थियो परपीडन । कत्रो मिहिनेतले आर्जेको मनोचिकित्साको मेरो ज्ञान उसमाथि उपयोग हुन पाएन । यो उपचारको सुविधाबाट ऊ वञ्चित भयो । ऊ मर्‍यो र मेरो थकथक बाँकी रह्यो । के थाहा, ऊ सन्तुलनमा फर्की पो हाल्थ्यो कि !

दुर्भाग्यवश, आफ्नो चर्चाले कहिल्यै तृप्त नहुने विक्रमचाँद यो सब चर्चा सुन्न जगत्मा जीवित थिएन !

प्रकाशित : जेष्ठ २६, २०८१ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×