जात व्यवस्थाको इतिहास–बोधमा फिल्म नराम्ररी चिप्लिएको मात्रै छैन, दर्शकको मगजमा समेत गलत भाष्य छिराउने प्रयास गरिएको छ । वास्तविक घटनामा आधारित रहेर फिल्म बनाउँदा त्यसको इतिहास र अभ्यासबारे गम्भीर हुनैपर्छ ।
मैले दलित आन्दोलनका पहिलो योद्धा भगत सर्वजित विश्वकर्माको जन्मस्थान (बागलुङ) मा बसेर ‘पुजार सार्की’ हेरें । निर्माण पक्षको दाबी छ– यो सत्य घटनामा आधारित फिल्म हो ।
फिल्म हेरुन्जेल म सम्झिरहेको छु, दुई पात्र– भगत सर्वजित विश्वकर्मा र अन्तरजातीय प्रेम अनि विवाहका कारण हत्या गरिएका अजित मिजारका हजुरबा । बनारसमा संस्कृत पढी देश फर्केर सर्वजितले वि.सं.१९७० को दशकपछि आफ्नै आँगनमा मन्दिर बनाए, जनै धारण गरी वर्ण व्यवस्थाविरुद्धको जेहाद छेडे । उनले ‘विश्वकर्माहरू तल्लो जात नभएको, आफूहरूले पनि जनै लगाउन पाउनुपर्ने’ विचार राखे र दैनिक शंख–घण्ट बजाउन थाले । छुवाछूतविरुद्ध पर्चा छापेर जनचेतना फैलाउँदै ठोरस्वारा पुगे । वि.सं. २००३ मा विश्व सर्वजन संघको स्थापना गरेर संस्थागत आन्दोलन सुरु गरे । उनले भनेका थिए– धर्ममा विभेद छैन । त्यहीकारण उनले ठूलो मूल्य चुकाउनुपर्यो । भूमिगत भएर पहरामा बास बस्नुपर्यो । छुवाछूतविरुद्ध आन्दोलनका कारण हिरासत पुग्नुपर्यो । पाल्पासम्म जेल सरुवा गरियो । र, जेलबाट छुटेपछि भारतमा निर्वासित जीवन बिताउनुपर्यो । अहिले सरकारले सम्मानस्वरूप उनको नाममा हुलाक टिकट जारी गरेको छ ।
काभ्रेका अजितका हजुरबुवा रामबहादुर ब्राह्मण (ढकाल) परिवारमा जन्मिएका थिए । बाटुलीसँगको प्रेमपछि विवाह गरे । बाटुली सार्की थरकी थिइन् । उनीहरू अपराधी करार भए र समाजको निर्मम कठघरामा उभिन बाध्य भए । समाजको भाषामा अजितले ‘सर्किनीसँग बिग्रिएर जात फाले, धर्म मासे’ । गाउँमा पञ्चायत बस्यो । गाउँभरिका मानिस भेला भएर रामबहादुरको जनै चुँडाले । पञ्चायतले जात घटुवा गर्यो र उनी बाटुलीकै प्रेममा झैं उनकै जातमा विलिन भए । रामबहादुर ढकाल अब मिजार अर्थात् सार्की भए । पञ्चायतमा रामबहादुर र बाटुलीको जोडीलाई गाउँ निकाला गर्नुपर्ने स्वर चर्को सुनियो । रामबहादुरका जोडी जोडजोडले रोए, पञ्चको खुट्टा ढोग्दै विलौना गरे, ‘गाउँ ननिकाल्दिनुस् हजुर हामी कहाँ जाऔं !’ र, तीनले गाउँको छुट्टै एउटा कुनामा गएर बास बस्नुपर्यो । तर, नाति अजित ढकाल मिजारले क्षत्री थरकी युवतीसँग बिहे गर्दा मृत्युवरण नै गर्नुपर्यो । आठ वर्षदेखि उनको शव टिचिङ अस्पतालमै छ । अजितका बा–आमा अहिले पनि न्याय पाउने आशामै छटपटिइरहेका छन् ।
•••
‘पुजार सार्की’ ले मलाई हठात् सम्झाएका दुई पात्र हुन् यी । फिल्मले तीन दृश्य देखाउने प्रयत्न गरेको छ । जातीय आधारमा हुने सामाजिक बहिष्करण, अन्तरजातीय विवाह र परिवर्तनका लागि संघर्ष अनि ०४७ सालको परिवर्तनपछि उच्च जातीय शासकीय चरित्र । सम्पूर्ण फिल्म भने अन्तरजातीय प्रेम, हिन्दु धर्म र त्यसबाट सिर्जित कर्मकाण्डमा केन्द्रित छ । हरिद्वारबाट आचार्य गरेर आएका पण्डित पुजार र त्यही मन्दिरमा लिपपोत गर्ने माया सार्कीबीचको प्रेममा आउने उतारचढाव फिल्मको केन्द्रीय विषय हो । दमाई परिवारले मन्दिरमा अलपत्र भेटेपछि पालनपोषण गरेका मैते र जनजाति थरकी युवतीसँगको प्रेम अनि विवाहको संघर्ष मूलकथासँगै समानान्तर रूपमा बग्ने अर्को सहायक कथा हो ।
सम्भवतः नेपालमा पहिलो पटक दलितलाई केन्द्रीय विषय बनाएर निर्माण भएको ठूलो पर्दाको फिल्म ‘रगत’ (वि.सं. ०५४) हो । फिल्ममा ठकुरी केटीसँग बिहे गर्न खोज्दा केटी पक्षले विश्वकर्मा केटाको हत्या गर्छ र घटनालाई रफादफा पारिदिन्छ । त्यसपछि दलितमाथि बनेका फिल्म ‘बाटोमुनिको फूल’ (०६७), ‘प्रसाद’ (०७५), ‘प्रसाद–२’, ‘पण्डित बाजेको लौरी’, ‘प्रकाश’ हो । त्यसैले नेपाली फिल्मले दलितको कथा भन्न थालेको इतिहास लामो छैन । वर्षमा ५० देखि डेढ सयसम्म फिल्म निर्माण हुने नेपाली फिल्म उद्योगमा चामलको बियााँसरी फाट्टफुट्ट मात्रै दलित विषयमा फिल्म बन्छन् । ‘प्रकाश’ बाहेक दलितमाथि बनेका सबै फिल्मको मुख्य कथा अन्तरजातीय प्रेम थियो । यसर्थ ‘पुजार सार्की’ पनि त्यही लिगेसीबाट माथि उठ्न सकेन । दलितमाथि फिल्म निर्माण गर्दा प्रेम कथाबाहेक अरू नदेख्नु समाजबारेको बुझाइमा कमजोर सावित हुनु हो । फिल्ममा बग्रेल्ती कमजोरी हुँदाहुँदै पनि दलित मुद्दामा फिल्म निर्माण गरेकोमा ‘पुजार सार्की’ टिमलाई धन्यवाद भन्नैपर्छ ।
कथामा ०४७ को जनआन्दोलअघिको सेटिङमा देखाइएझैं अहिले पनि अन्तरजातीय बिहे गर्दा दलितलाई ज्यानको खतरा छ । दलितलाई धार्मिक शास्त्रबाट वञ्चित गरिएको सत्य हो । एउटा पण्डितले सार्की थरकी युवतीसँग बिहे गर्नुले प्रगतिशीलताको छनक दिन्छ । पण्डितलाई प्रगतिशील र परिवर्तनकामी देखाउन भरमग्दुर प्रयास गरिएको छ । राजनीतिक परिवर्तनपछिको नेतृत्वले दलितका मुद्दालाई चटक्कै बिर्सिएर आफ्नो दुनो सोझ्याउन र धर्मको फेरो समाउन पुगेको पनि सत्य हो । फिल्ममा दलित मुद्दालाई स्वार्थअनुकूल प्रयोग गर्ने कमरेड लालध्वज प्रवृत्ति अहिलेको राजनीतिको मुख्य चरित्र हो । क्लाइमेक्सतिरको डाइलग ‘यसको समाधान राजनीतिबाट मात्रै सम्भव छ’ पनि सही हो । तर, फिल्मको कथावाचन भने प्रगतिशीलताको फेरो समातेर ब्राह्मणवादी चरित्रको पुनरावृत्तिको भासमा गाँजिएको छ ।
दलित मुक्ति आन्दोलन नेपालको प्रजातान्त्रिक आन्दोलनभन्दा पुरानो हो । भलै यसले अझैसम्म बृहत् रूप लिन सकेको छैन । जातीय विभेदविरुद्ध हजारौं अभियन्ताले जीवन समर्पित गरेका छन्, कतिले ज्यानको आहुती दिएका छन् । तर, ती योद्धालाई पूरै नजरअन्दाज गरी फिल्मद्वारा समाज परिवर्तनको हकदार र जस कथित उच्च जातलाई स्थापित गर्न लाग्नुले निर्माण पक्षको बुझाइमा शंका गर्ने ठाउँ दिन्छ । दलित आन्दोलनलाई तोडमोड गर्न खोज्नु दलितको योगदानमाथिको अपमान हो । फिल्मले माया सार्कीको चरित्रलाई जसरी बोल्ड देखाएको छ मैतेको चरित्रलाई उत्तिकै नकारात्मक र अपरिवर्तनशील । मैतेको चरित्र अन्तिमसम्मै दर्शक हँसाउनमै सीमित छ । उसको आचरण र भूमिकाले न दलित समुदायलाई न्याय गर्छ, न अभिनय प्राकृतिक छ । मैतेको चरित्रले उल्टै दलित समुदायको मजाक उडाएको छ । र, ०४७ अघिको कथा भन्ने फिल्मले सरकार पक्ष अनि कम्युनिस्टबीच भीषण सशस्त्र युद्ध देखाएर अर्को गम्भीर त्रुटि गरेको छ । क्लाइमेक्समा जबर्जस्ती कथा तन्काएर रुकुम घटनासँग जोड्नुले फिल्मभित्रको भद्रगोल छताछुल्ल हुन्छ । यसर्थ फिल्मको प्राविधिक त्रुटि मात्रै अलग्याएर हेर्दा पनि गम्भीर वैचारिक असहमति राख्ने अनगिन्ती ठाउँ छ ।
परिवर्तनको सम्पूर्ण परिणामलाई मात्रै अन्तरजातीय बिहेसँग जोडेर संकुचित पार्नु र धर्ममा विभेद छैन भनेर पैरवी गर्नु फिल्मको मुख्य ध्येय देखिन्छ । र, फिल्मको मुख्य वैचारिक त्रुटि नै यहींनेर छ । फिल्मको सुरुवातमै मैतेको डाइलग छ– शास्त्र पढेपछि बाहुन भइन्छ पुजार ? पण्डितले पनि भनिदिन्छ– भइन्छ, जुन इतिहासको कुनै पनि वैचारिकी र अभ्याससँग मेल खाँदैन । यस्तो त्रुटि निर्माण पक्षले नियतवश गर्यो या अध्ययनको कमीले ? ‘शास्त्रमा विभेद छैन’ भनेर अनगिन्ती डाइलग राख्ने लेखक विकास सुवेदी र निर्देशक दिनेश राउतले विभेद कहाँ थियो भनेर देखाउनुपर्छ कि पर्दैन ? स्वाभाविक प्रश्न उठ्छ ।
के शास्त्रमा विभेद छैन ?
मगर्नी केटीसँग बिहे गर्न शास्त्र पढेर बाहुन हुने लोभमा मैतेले चोरीचोरी धर्मशास्त्रको अध्ययन गर्न थाल्छ । शास्त्र पढेकोमा उसले उठबसको सजाय भोग्नुपर्छ । तर, पुजारले कुन शास्त्र पढेर आए र धर्ममा विभेद छैन भने ? फिल्मको सन्देशले अहिलेसम्मका हजारौं प्राज्ञिक अनुसन्धान र धर्मशास्त्रलाई नै धोती लगाइदिएको छ । यसरी जनतालाई भ्रमित पार्नुअघि लेखक–निर्देशकले धर्मशास्त्र पढ्नुपर्थ्यो । पढ्ने जाँगर नभए बुझ्नुपर्थ्यो ।
फिल्ममा नेपालीमा उल्था गरिएका र भर्खरै प्रिन्ट भएका चार वेद देखा पर्छन्– ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद । हिन्दु धर्मशास्त्रको मनुस्मृतिसम्म आइपुग्दाका सबै विभेदित श्लोकको कुरा गर्नु सम्भव छैन, तर केही ऋचा भने उल्लेख जरुर गर्नुपर्छ । ऋग्वेदको दसौं मण्डलमा भनिएको छ– प्रजापतिको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रीय, कम्मरबाट वैश्य र पैतालाबाट शूद्र उत्पन्न भएका हुन् । हिन्दु धर्मको सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेदमै वर्णव्यवस्था उल्लेख छ । र, अथर्ववेद कालसम्म आइपुग्दा यो पूर्ण रूपमा संस्थागत भएको छ । जुन सामाजिक संरचनामा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रमा स्पष्ट विभक्त भएको देखिन्छ । शूद्र बाहिरको औंलासमान बस्छन् भने आर्य समाजभित्रको प्राणसमान भन्ने ऋचालाई आधार मान्दा शूद्रलाई विस्तारै अन्य वर्णभन्दा बाहिर राख्ने प्रपञ्च रचिएको देखिन्छ । शूद्र ज्ञानरहित र आर्य ज्ञानवान् हुन्छन् भन्ने पनि ऋचाहरूमार्फतै स्थापित गर्न खोजिएको छ । ‘शूद्र ज्ञानरहित र आर्य ज्ञानवान् हुन्छन्,’ अथर्वमा भनिएको छ, ‘जसरी मसानघाटमा वेद पढ्नु हुँदैन, त्यसै गरी शूद्रको नजिक पनि वेद पढ्नुहुँदैन ।’
वेदपछि रचिएको पुराणले थर लेख्ने प्रचलन र विभेदलाई संस्थागत गरेको छ । ‘अग्नि पुराण’ मा भनिएको छ– नाम राख्दा ब्राह्मणको नामको पछाडि शर्मा, क्षत्रीको पछाडि बर्मा, वैश्यको गुप्त र शूद्रको पछाडि दास राख्नुपर्छ । यसले वर्णअनुसार विवाहको रेखा कोरेको छ । पुराणमा उल्लेख छ– ब्राह्मणले सबै वर्णको स्त्री विवाह गर्न सक्छ, क्षत्रीले तीन वर्णको, वैश्यले दुई वर्णको र शूद्रले आफ्नै एक मात्र वर्णको स्त्रीसँग विवाह गर्न सक्छ ।’
त्यस्तै ‘गरुड पुराण’ ले परलोकको त्रास र शूद्रलाई सेवाको काममा सीमित गरेको छ । शूद्रको काम द्धिजहरूको सेवा गर्नु हो । उसले द्धिजहरूको वर्णअनुसार सेवा गर्नुपर्छ अर्थात् सबैभन्दा पहिलो ब्राह्मण, त्यसपश्चात क्षत्री र वैश्यको– गरुढ पुराणमा भनिएको छ । यसले शूद्रको अन्न धूलो समान हुनेसमेत बताएको छ । यही कालमा मृत्युसंस्कारमा पनि शूद्रलाई विभेद गरिएको छ ।
त्यस्तै ‘रामायण’ मा शूद्रले तप गरेमा ठूलो अधर्म हुने बताइएको छ । श्रीराम वनवासको क्रममा शूद्र वर्णका शम्बुकले दिव्य तत्त्व प्राप्त गर्ने इच्छाले तपस्या गरिरहेको थाहा पाएपछि श्रीरामले चम्कने तरबार म्यानबाट झिरेर शम्बुकको टाउको गिडिदिएको छ । रामायणअनुसार, शूद्रका लागि स्वर्गमा कुनै ठाउँ छैन । त्यस्तै महाभारतमा चण्डालको रङबारे वर्णन गरिएको मात्र छैन कि तीन वर्णले शूद्रको पालन पोषण गर्नुपर्ने र उनीहरूलाई आफूले उपभोग गरिएका फाटेको पुराना कपडा, छाता, पगरी जो आफूलाई लगाउन योग्य छैन त्यही उपलब्ध गराउन भनिएको छ । त्यसै श्लोकमा भनिएको छ– यस्ता वस्तु शूद्रकै सम्पत्ति हुन् । यसमा कुन वर्णको रङ कस्तो हुने किटान गरिएको छ ।
सत्र कालमा आउँदा शुद्रलाई संस्कार र विवाहमा प्रतिबन्ध लगाइएको छ । र, कुन वर्णबाट जन्मिएको मानिस कुन जातको हुने पनि स्पष्ट तोकिएको छ । र, शुद्रको सम्बोधन पनि किटान गरिएको छ । गौतम धर्मसूत्रमा अभिवादन गर्दा आफूभन्दा श्रेष्ठ व्यक्तिसँग भेट हुँदा शूद्रले आफ्नो नाम उच्चारण गर्दै म फलानो हुँ भन्दै अभिवादन गर्नुपर्ने उल्लेख छ । शूद्रलाई अभिवादन नगर्ने र छोएमा चोख्याउने परम्परामा यसै शास्त्रले तय गरेको छ । जहाँ शूद्रले द्धिजजातिहरूको जुठो, पातहरूमा छोडेको जुठो भोजन खानु भनिएको छ ।
यसमा शुद्रको सजायलाई कडा पारिएको छ । शुद्रले द्धिजलाई कष्ट पुर्याउँछ भने जुन अंगले शूद्रले प्रहार गरेको छ, त्यो अंग राजाले काट्न लगाउनुपर्छ भनिएको छ । र, द्धिजाति स्त्रीसँग सम्भोग गरेमा शूद्रको अंग काटी उसको सम्पत्ति खोस्नुपर्ने नियम तय गरेको छ । त्यस्तै, वोधायन धर्मसूत्रले शूद्र हत्यालाई छुट दिएको छ । कौटलीय अर्थशास्त्रले बसोबासको नियम बसाएको छ । भनिएको छ– शूद्रको बासस्थान नगरको दक्षिणतर्फ निर्माण गर्न लगाउनुपर्छ । मनुस्मृति कालसम्म आइपुग्दा तत्कालीन शुद्र अर्थात् दलित समुदायमाथि निर्मम बर्बरता लादिएको छ ।
अब भनिरहनुपर्ला र शास्त्रमा विभेद छैन ? माफ गर्नुहोला ‘पुजार सार्की’ टिम, शास्त्रमा विभेद छैन भन्ने तपाईंको सतही दृष्टिकोणलाई कुनै हालतमा पनि स्वीकार्न सकिँदैन ।
पात्र र दलित दृष्टि
फिल्मले विभेदविरोधी विचारलाई मुखरित गर्न नखोजेको होइन । यद्यपि दलितलाई ‘यो हाम्रै समुदाय र मुद्दाको फिल्म हो’ भन्ने अपनत्वको अनुभूति दिलाउन भने चुकेको छ । मन्दिरमा दमाहा बजाउने चरित्र देखाइएको छ, तर त्यसको महत्त्व र संस्कृति उजागर गर्न सकेको छैन । सस्कारजन्य कुरा त्यति हल्का हुँदैनन् वा त्यति हल्का रूपले स्थापित भएका हुँदैनन् । मैतेको ठट्यौलीले दर्शक अड्याउने काम गरेको छ, तर मैतेको परिवारमा कुनै एट्याचमेन्ट देखिँदैन । छट्टु पात्र मैतेको जात–रहस्य र हीनताबोधले अर्कै कुरा पो भन्न खोजेको हो कि भन्ने संशय पैदा हुन्छ ।
पुजारले जसरी आफ्नो थर बदल्छ, त्यो मनोगत र सपाट छ । यहाँनेर जात व्यवस्थाको इतिहास–बोधमा निर्माण पक्ष नराम्ररी चिप्लिएको मात्र छैन, दर्शकको मगजमा समेत गलत भाष्य छिराइएको छ । जात घटुवाको प्रक्रिया निकै निर्मम र हृदयविदारक छ । फिल्म फिक्सन हो, तर सामाजिक विषयमा बनाउँदा तथ्य तोडमोड नहुने गरी फिक्सनाइज गर्नु जरुरी हुन्छ । अझ वास्तविक घटनामा आधारित रहेर फिल्म बनाउँदा त्यसको इतिहास र अभ्यासबारे गम्भीर हुनैपर्छ । तथ्य बंग्याउने गरी फिल्म वा साहित्य निर्माण गर्नु सम्बन्धित समुदायको अपमान हो ।
‘पुजार सार्की’ ले दलित मुद्दामा फिल्म निर्माण गरे पनि अभिजात वर्गकै भाषा बोलेको छ । आख्यानकार नयनराज पाण्डेको उद्धरण उल्लेख गर्नु सान्दर्भिक होला, ‘जसरी राजनीतिमा दलितका मुद्दा उठाउने मान्छेको कमी छ, त्यस्तै कमी हाम्रो बौद्धिक जगत्मा पनि छ, जसले विषयलाई बजारीकरण त गरे छिपछिपे ज्ञानको भरमा । तर, गहिराइमा पुगेर विभेदको जरो उखेल्न चुके ।’
