कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अलपत्र कमरेडको आत्मालाप

मान्छेहरू किन युद्धमा हिँडे ? कसरी मृत्युवरण गरे ? परिणाम के भयो ? किताबले यी विषयमाथि विमर्श गर्छ ।
निरूपा प्रसून

‘समयले डामेपछि हाँसो भन्ने चिज कता गायब हुँदो रैछ कता !’ 
‘युद्धले कसैको भलो नगर्दो रहेछ, हतियार बेच्ने व्यापारीको बाहेक ।’

अलपत्र कमरेडको आत्मालाप

लेखक जेबी दर्लामीको नयाँ उपन्यास ‘मारीखोलाको ढुङ्गो’ का लाइन हुन् यी । उपन्यास पढ्दा समयसँगै धूमिल हुँदै गएको त्यो इतिहास र त्यो समय ताजा भएर आउँछ । यो आख्यान हो, तर आख्यानभन्दा धेरै इतिहासको पुस्तक पनि हो । आख्यानको लयमा किताबले त्योबेलाका घटना वर्णन गर्छ ।

किताबको भाषा सलल बगेको छ । स्थानीय भाषाशैलीले उपन्यासलाई सरल र पठनीय बनाएको छ । युद्धमा होमिँदाको उतारचढाव, निराशा, आशा, मृत्यु–भय, त्यो बेलाका आन्दोलनकारी, आमजनता र सत्तापक्षले जसरी भोगे, त्यसलाई पात्र र परिवेश मार्फत उपन्यासले कैद गरेको छ ।

उपन्यासले कसैमाथि पक्षपात गरेको छैन । यसअघि जनआन्दोलनको पृष्ठभूमिमा लेखिएका उपन्यास वा कथाले एउटा पक्षको वकालत गर्थ्यो वा कुनै एकको राजनीतिक प्रभावमा हुन्थ्यो । उपन्यासको सुन्दर पक्ष यो हो कि– निष्पक्षता ।

उपन्यासमा क्रान्तिकारीले मात्रै शाहदत प्राप्त गरेजस्तो देखाइएको छैन । पीडित चाहिँ माओवादीहरू मात्रै हुन् जसरी पनि प्रस्तुत गरिएको छैन, आर्मी–पुलिसप्रति पनि सदाशयता छ । ‘माओवादी’ भन्दै सर्वसाधारणका छोराछोरीलाई पनि सत्तापक्षले जसरी मारेका थिए, त्यो पनि उल्लेख छ । आन्दोलनकारीले कसरी सर्वसाधारणलाई यातना दिएर मारेका थिए ? चन्दा उठाएर दुःख दिएका थिए ? त्योसहित आर्मी–पुलिसले निरीह जनताका छोरी–चेलीलाई बलात्कार गरी–गरी मारेको विषय पनि उल्लेख गरिनुलाई लेखकले दुई पक्षीय रूपमै अध्ययन गरेर उपन्यास लेखेका हुन् भन्न सकिन्छ ।

वि.सं. २०५२ मा बीजारोपण भएको क्रान्तिको आगोमा अन्तत : ‘सबथोक छाडेर हिँडेका कमरेडहरूले लोभलाई भने आफूसँगै बोकेर हिँडेका थिए ।’ यही एउटा लाइनले सम्पूर्ण यथार्थलाई बोकेजस्तो लाग्छ । थोरै शब्दमा धेरै प्रस्तुत गरेका छन् लेखकले । एक सय चौंतीस पृष्ठको उपन्यासले सम्पूर्ण ओगट्न सफल छ । ‘पन्च लाइन’ हरू पनि उम्दा छन् । उपन्यासको ‘टर्न एन्ड ट्वीस्ट’ ले हुरुक्कै बनाउँछ ।

उपन्यासको मुख्य वा प्रतिनिधि पात्र ‘कमरेड अलपत्र’, अर्को ‘मीरा भुसाल’ र सहायक पात्रको बलियो उपस्थिति छ । यथार्थको धरातलमा उभिएर प्रस्तुत गरिएको छ उपन्यास । परिवर्तनको चाहमा राजतन्त्रप्रतिको विद्रोहका लागि जीउज्यान धरापमा राखेर आन्दोलनलाई ‘लिड’ गरेको पात्र अलपत्र अन्त्यमा अयोग्य भनेर निकालिन्छ । पात्रको मनोभाव वा भनौं उसको हविगतजस्तै त्यो बेला आन्दोलनमा होमिनेहरूको यथार्थ–दशा चित्रण गर्न सफल छ उपन्यास । के–कसरी मान्छेहरू माओवादीमा लागे ? कसरी मृत्युवरण गरे ? कसरी आकर्षित भए ? पछि त्यसको परिणाम के भयो ? यी विषयमाथि लेखकले विमर्श गरेका छन् । नेपालको राजनीतिमा ठूलो इतिहास बोकेको आन्दोलनबारे यति मिहिन लेख्न साहसको आवश्यकता पर्छ ।

‘मारीखोलाको ढुङ्गो’ वि.सं. २०६२/२०६३ को जनआन्दोलन हुनुअघिको समयको कथा हो– जब माओवादीले राजतन्त्र हटाउन युद्ध सुरु गर्‍यो, गणतन्त्र स्थापनार्थ गाउँगाउँबाट अभियान सुरु गर्‍यो, त्यसबेलादेखिको कथा ।

‘प्रत्येक व्यक्तिको अधिकार र भूमिका बराबर हुनुपर्छ’, ‘धनी गरिबबीचको खाडल पुरिनुपर्छ’, ‘जातीय विभेदको अत्त्य गरिनुपर्छ’ भन्ने मूल नारा लिएर माओवादी जन्मेको थियो । उपलब्धि भयो के त ? खोइ हिजोका प्रतिबद्धता ? हजारौं निर्दोष मानिसको बलि चढाएर देशलाई के फाइदा भयो ? यस्ता हजारौं प्रश्नको जवाफ मागेको छ ‘मारीखोलाको ढुङ्गो’ ले । समग्रमा उपन्यास बितेको कालखण्डको दस्तावेज हो । पछिल्लो पानामा लेखिएझैं यो उपन्यास कथा मात्रै होइन, कथा भन्ने कौतूहलपूर्णर् रहस्यमयी कला पनि हो ।

काठमाडौंबाहिर बसेर लेख्ने यस उपन्यासका लेखक रहरले मात्रै लेखनमा आएका छैनन् भन्ने लाग्छ किताब पढ्दा ।

मोटामोटा उपन्यास त धेरै लेखिन्छन्, तर यो छरितो किताब पनि कसिलो र बलियो छ, कथा–उपकथाहरूमा छरिएको छैन, अनावश्यक कुरा लेखिएको छैन, त्यसैले सानो भएर पनि पूर्ण उपन्यास हो ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x