लामो जीवन, क्षणभंगुर सम्झना

सपना, स्वैरकल्पना र यथार्थको संयोजन हुन्– मिलान कुन्देरा । राज्य व्यवस्थाले थोपरेको सकस र उकुसमुकुसमाझ आम मान्छेको जीवनको मूल्य स्थापित गर्न संघर्षरत छन् उनका पात्र ।

श्रावण १३, २०८०

गणेश खनियाँ

आख्यान जगत्को फराकिलो राजमार्गमा भेटिएको एउटा दुर्लभ नाम– मिलान कुन्देरा । पूर्वी युरोपको चेकोस्लोभाकियाबाट फ्रान्समा निर्वासित यी लेखक केही साताअघि बिते । तर, निधनअघि नै धेरै वर्षदेखि उनी हाम्रो विमर्शमा थिए । आख्यान, गैर–आख्यानमा थुप्रै लेखकलाई पात्रकै रूपमा उभ्याएर तिलस्मी संसार खडा गरेका छन्, लेखक कुमार नगरकोटीले । तिनै नगरकोटीले मलाई भेटाएका हुन्– मिलन कुन्देरासँग, ‘लाइफ इज एल्सह्वेर’ मार्फत ।

सम्मोहित भएथें त्यस उपन्यासको शीर्षकैबाट । कवि पात्र जारोमिललाई राजनीतिक परिवेशको पार्श्वमा उभ्याएर कुन्देराले कम्युनिस्ट सत्ताको धज्जी उडाएका छन् । कसरी कवि, लेखकलाई सत्ताले आफ्नो निहितार्थ प्रयोग गर्छ ? यसको साक्षी छ– जारोमिल । ऊ प्रेमिकाको भाइलाई फसाउँछ र उसलाई सत्ताधारीको हातमा सुम्पेर सगर्व पुलिस चौकीबाट बाहिरिन्छ । राजनीतिसँगै यौनका अनेक आयाम छन् उपन्यासभरि । कथावाचक एक ठाउँमा भन्छ, ‘कुनै महिला आफ्नो शरीरमार्फत यथेष्ट बाँच्न सक्दिनन् भने उनलाई आफ्नै शरीर फगत शत्रुझैं लाग्न थाल्छ ।’ चित्रकलाका गुरु र उसकी आमाबीचको यौनसम्बन्धको पूर्वार्द्ध हो यो प्रसंग । जारोमिलका बाबुको परस्त्री सम्बन्ध र रेडहेड लगायतका केटीसँगको उसको सम्बन्धमा यौनका अनेक पत्र छरपस्ट छन् । अंशअंशमा जीवनको लय समाउन खोज्नेलाई लठ्याउँछ उपन्यासले ।

कुन्देराको मास्टरपिस 

चेकोस्लोभाकियामाथि तत्कालीन सोभियत संघको प्रभाव र अतिक्रमणलाई नै केन्द्रमा राखेर लेखिएको कुन्देराको अर्को उपन्यास हो– ‘अनबेरेबल लाइटनेस अफ बिइङ’ । अत्यन्तै गम्भीर विषय छ यसमा, दार्शनिक पनि । उनको सर्वप्रिय विषय अस्तित्वको खोजी यसमा भेटिन्छ । गम्भीर र हल्कापनाको वहसमा अस्तित्ववादी चिन्तक नित्सेको ‘सर्वकालिक पुनरावृत्ति’ को सन्दर्भबाट कथा अगाडि बढाउँछन् कुन्देरा । संसारमा सबै घटना चक्रीय रूपमा घुमिरहन्छन्, दोहोरिबस्छन् भन्ने दार्शनिक नित्सेको यो सार उपन्यासका अनेक घुम्ती र मोडमा झल्किन्छ । 

यौनको चास्नीमा डुबाउँछन् पाठकलाई घरीघरी कुन्देरा । डाक्टर थोमसको अनगिन्ती सेक्स इन्काउन्टरको विवरण हेर्दा लाग्छ– कतै म पोर्नोग्राफी त पढिरहेको छैन ? थोमस भन्छ, ‘मेरो प्रेमजीवन र यौन जीवनलाई मिसाएर नहेर्नोस्, अलग अलग बुझ्नोस् ।’ टेरेसासँगको प्रेम र वैवाहिक जीवन छ एकातिर, अर्कोतिर सविनालगायत कैयौं केटीसँगको सम्बन्ध । त्यसैले कुन्देरालाई फगत फोहोरी लेखक भन्नेहरू पनि थिए र छन् । तर, उनलाई यत्तिकै पाखा लगाएर धर पाइँदैन । जीवनका अनेक आयामको अन्तरघुलन भएको यो किताबले पाउनु–गुमाउनुबीचको आनन्द र पीडालाई दार्शनिक दृष्टिले अर्थ्याउँछ । 

सोभियत र चेक सत्तामाथि निरन्तर प्रश्न गर्छन् कुन्देरा । तर, निरंकुश र आततायी सबै सत्ता र समूहमाथिको प्रहार हो यो । पश्चिमी संसारले उनलाई वामविरोधी कित्तामा उभ्याएजस्तो एकांकी सन्दर्भ होइन यो । यसमा वाम, गैरवाम सबैतिरका निरंकुशता निसानामा छन् । कुन्देरा थप्छन्, ‘खोमेनी, माओ, स्टालिन मात्रै होइन, सबै खालका निरंकुश सत्तामाथिको प्रश्न हो यो । राजधानी प्रागमा समाजवादी र पादरीहरू सबैलाई एकै घानमा हालेर निर्मम ढंगले मारियो । त्यसैले यो संघर्ष वाम र गैरवामवीच हो भन्ने भनाइको केही अर्थ छैन ।’ 

आख्यानका सन्दर्भहरू 

‘कामुक कथानक किन ?’ कुन्देराको जवाफ छ, ‘निरंकुश सत्ताले बोझिलो बनाएको जीवनमा रतिरागात्मक सन्दर्भले त्यो क्षण आह्लादकारी बन्छ भने यसमा के गलत भयो ?’ गम्भीरता र हल्कापन, स्मृति र विस्मृति, सपना र यथार्थता, अमरता र क्षणभंगुरता, परिवर्तन र निरन्तरताजस्ता विपरीत विषयलाई उनी बहसमा ल्याउँछन् । सपनाबारे कुन्देरा भन्छन्, ‘म मेरा सपनाको अर्थ केलाउने प्रयास गर्दिनँ, बरु ती सपनालाई कथाको अंश बनाउँछु ।’ सपनाको बेजोड प्रयोग गर्दै अर्कै स्वैरकाल्पनिक संसार सजाउँछन् उनी । सर्भान्टिस र काफ्काको प्रभाव जो छ उनमा । गम्भीर विषय उठाएर त्यसमा हल्काफुल्का प्रसंगको फ्युजन गर्छन् । 

‘जीवन लामो छ, सम्झना क्षणभंगुर’, ‘भताभुंग जीवनको संघारमा विगत विचरण नै बाँच्ने आधार बनिदिन्छ’ । सोचमग्न पार्ने यस्ता हरफ बाक्लै भेटिन्छन् कुन्देराका आख्यानमा । अग्रज चेक लेखक बाहुमिल ह्रवलको डार्क ह्युमरबाट प्रभावित छन् उनी । ल्याटिन साहित्यका साझा शिखर सर्भान्तिसको विरासतको अंशियार ठान्थे आफूलाई । कुन्देराको लेखन संसारको आंशिक विचरण गर्दा मात्रै पनि के पाइन्छ भने हास्यचेत उनको ज्वलन्त पक्ष रहेछ । हास्यसँगै बर्सिन्छन् कटाक्ष र व्यंग्यवाण उनका आख्यानमा । 

सानोमा सोच्थें– यस्तो बुटी होस्, जसको प्रयोगले म अदृश्य बन्न सकूँ । ठूलो भएपछि लेख्न थालें, सफलताको भोक जाग्यो । सफल लेखक भएँ, फेरि लाग्दैछ– केही बुटी मिलोस्, जसको सेवनपछि म अलप भइजाऊँ ।

लाइमलाइटदेखि धेरै टाढा 

सार्वजनिक संसारमा उति सारो आउँदैनथे कुन्देरा । पत्रकारहरूलाई त्यति रुचाउँदैनथे । भन्थे, ‘सकेसम्म गुमनाम बस्नु उपयुक्त हो । त्यही कारण टेलिभिजनमा उपस्थित भएर अन्तर्वार्ता दिने कुराको म विरोधी हुँ ।’ साँच्चै धेरै कम अन्तर्वार्ता दिए उनले । अन्तर्वार्ताकारलाई सुरुमै सतर्क गराउँथे– निजी जीवन, राजनीतिक आस्था आदिबारे नसोध्न । साहित्यमाथि मात्रै चर्चा गर्न मन पराउँथे । फोटो खिच्नबाट टाढिन्थे । आफ्ना भनाइ उद्धृत गर्न र साथीहरूलाई सार्वजनिक रूपमा आफ्नो प्रसंशा गर्नसमेत रोक्थे । ख्याति र चर्चाका लागि मरिहत्ते गर्नेहरूको दौडमा कुन्देरा सामेल थिएनन् । अमेरिकी लेखक फिलिप रोथसँगको कुराकानीमा कुन्देराले भनेका छन्, ‘सानो छँदा म कल्पना गर्थें, केही यस्तो बुटी होस् जसको प्रयोगले म अदृश्य बन्न सकूँ । ठूलो भएपछि लेख्न थालें, अनि सफलताको भोक जाग्यो । अहिले सफल लेखक बनें, यतिखेर फेरि लाग्दै छ–केही बुटी मिलोस्, जसको सेवन गरी अलप भइजाऊँ ।’ यी अंश पढिरहँदा इटालीकी आख्यानकार एलेना फेरान्ते स्मृतिमा बयली खेल्दै छिन्, जो दर्जन सृजनाका बावजुद गुमनाम बाँचिरहेकी छन् । कुन्देराले भनेझैं लेखकका किताब नै पर्याप्त छन् संवाद गर्न, त्यसबारे स्वयंले अर्थ्याइबस्नुको कुनै तुक छ र ? 

सांगीतिक थियो कुन्देराको पारिवारिक परिवेश । बुबा पियानोवादक थिए । सुरुका संघर्षमय दिनमा उनले पनि केही सांगीतिक संलग्नताबाट जीविकोपार्जन गरेका थिए । संगीतसँगै सिनेमासँग पनि जोडिन पुगे उनी । ‘अनबेरेबल लाइटनेस अफ बिइङ’ माथि सिनेमा बन्यो । तर, उनी सन्तुष्ट हुन सकेनन् । त्यसैको परिणाम त्यसपछि उनले आफ्ना कुनै पनि किताबमाथि सिनेमा बनाउने अनुमति दिएनन् । त्यसो त जेलिएका सन्दर्भ, अमिल्दा र सिलसिलाविहीन कथानक भएका उनका किताबलाई अन्य विधामा न्यायसंगत रूपान्तरण गर्न कहाँ सजिलो थियो र ? 

निजी आख्यानको विरोधी 

यो यस्तो समय हो, जहाँ मान्छेको व्यक्तिगत जीवन भयानक संकटमा छ । कुन्देरालाई यो विषयले निकै पिरोलेको थियो । उनको स्पष्टोक्ति छ, ‘कसैको अन्तरंग जीवनलाई छताछुल्ल पार्ने जोकोही होस्, त्यसलाई त कोर्रा बर्साउनुपर्छ । कम्युनिस्ट देशमा पुलिसले अनि लोकतान्त्रिक देशमा पत्रकारले मान्छेको व्यक्तिगत जीवन तहसनहस पारिसके । यस्तै घटना बढ्दै गयो भने आम मान्छेको निजी जीवनप्रतिकै अनुराग समाप्त हुनेछ ।’ सामाजिक सञ्जालको अत्यधिक प्रयोग, कृत्रिम बौद्विकतालाई मलजल गर्न चालिएका यान्त्रिक कदमहरूले अहिले नै यो नियति निम्ताइरहेका छैनन् र ? 

आख्यानमा आफ्नै जीवनको बाक्लो लेपन लगाउनेप्रति चरम विमति राख्छन् कुन्देरा । गैरआख्यान ‘द आर्ट अफ नोभेल’ मा आफ्ना आख्यानबारे भन्छन्, ‘मेरा आख्यानका कुनै पात्रमा मेरो प्रतिविम्ब छैन । कुनै जीवित मान्छेलाई मैले पात्र बनाएको पनि छैन । छद्म पाराका आत्मवृत्तान्त मलाई मन पर्दैन ।’ 

महिलाद्वेषी लेखक

हेमिङ्वे, गोथे लगायत अनेक मृत लेखकलाई एकापसमा भिडाएर अमरताबारे लामो डिस्कोर्स गरेका छन् कुन्देराले अर्को उपन्यास ‘इम्मोर्टलिटी’ मार्फत । उपन्यासमा हेमिङ्वेको दुःखेसो छ, ‘मेरा किताबै नपढी मेरोबारे किताब लेखिभ्याएका छन् । उनीहरूको आरोप छ– मैले श्रीमतीहरूलाई कहिल्यै माया गरिन, छोराको वास्तै गरिन । मैले सधैं पुरुषत्व प्रदर्शन गरें । आमालाई समेत अपमान गरें ।’ कुन्देरामाथि पनि महिलाद्वेषीको आरोप छ । उनका महिला पात्र विरलै बौद्विक भेटिन्छन् । उनका निबन्ध र कुराकानीमा समेत कुनै महिला लेखकको सन्दर्भ छैन । न त उनीहरू राज्यका कुनै निकायसँग लडेभिडेकै पाइन्छ । यौनक्रीडाका अंशियार मात्रै छन् उनका अधिकांश महिला पात्र । तर, महिलाको शरीर र यौन प्रसंगलाई आत्मीय र मिहिन ढंगले अनि उत्तिकै दार्शनिक रङमा प्रकट गर्छन् उनी । यस्तो किन ? उनको उत्तर छ, ‘लेखकको लिंगतिर नजाऊँ । सबै उत्कृष्ट आख्यान द्विलिंगी हुन्छन् । पुरुष र महिला दुवै प्रवृत्ति झल्किन्छ त्यहाँ ।’ पुरुषको सापेक्ष महिलाको ओजपूर्ण उपस्थितिको हकदाबी त हुन्छ नै, तर यतिमै सीमित छैन यो सन्दर्भ । लैंगिक अल्पसंख्यक पात्र र प्रवृतिले समेत सन्तुलित स्थान पाउनुपर्छ अबका लेखन र बहसमा ।

कुन्देराको सान्दर्भिकता

‘मेरा आख्यानका पात्रहरूले आफ्ना निजात्मक इतिहास मात्रै प्रकट गर्दैनन्, युरोपेली अनुभूतिको व्यापक इतिहास दर्शाउँछन् ।’ यसरी युरोपेली सर्वोच्चताको पैरवी गर्छन् कुन्देरा । आख्यान विधा युरोपले जन्माएको मान्छन् । आख्यान दिनानुदिन आमसञ्चारको चंगुलमा फस्दै गएकोमा चिन्तित छन् । सोभियत सत्ताको रजगज रहँदा त्यसको खिलाफमा लेखिएका कुन्देराका अधिकांश किताब यत्तिका दशकपछि पनि सान्दर्भिक किन छन् ? 

असहज परिस्थितिमा पनि कसरी रमाउने ? कसरी हाँस्ने ? कसरी ठट्टा गर्ने ? कुन्देरा सिकाउँछन् । वर्जित, तर हरेक उमेर समूहसँग जोडिएका यौन, शरीर र यसको आनन्दवरपर महिला–पुरुष सम्बन्ध, तत्कालीन राजनीति र त्यसको वहुआयामिक प्रभाववारे मिहिन वर्णन गर्छन् । यस प्रक्रियामा बहुस्वर कथानक (पोलिफोनिक न्यारेटिभ) को प्रयोग गर्दै पाठकलाई अलमल्याउँछन् र आह्लादित पनि बनाउँछन् । 

सपना, स्वैरकल्पना, यथार्थको लोभलाग्दो संयोजन हो उनको लेखन । राज्य व्यवस्थाले थोपरेको सकस र उकुसमुकुसमाझ पनि आम मान्छेको जीवनको मूल्य स्थापित गर्न संघर्षरत छन् उनका पात्र । लोकतन्त्रको आवरणमा तानाशाहीतन्त्र चलिरहेको अहिलेको अवस्थामा असहज प्रश्न तर्स्यार्एर संस्थापनको निद्रा खलबल्याउने कुन्देराको आख्यान अझै सामयिक बनेका छन् । कुन्देराको मान्यता छ– आख्यान सधैं अपूर्ण रहन्छ । उनको यही अपूर्णतालाई निरन्तरता दिन रोचक, साहसी र तार्किक अरू धेरै लेखकको उपस्थिति जरुरी छ यतिखेर ।

गणेश

Link copied successfully