राष्ट्रपति ह्यारी होच्याउँदै सोध्छन्, ‘संसार प्रसिद्ध हुँदा कस्तो हुँदोरहेछ त ?’ ओपनहाइमर जवाफ दिन्छन्, ‘मेरो हात रगतले भिजेको छ, राष्ट्रपति महोदय !’ त्यसले चिढिएका राष्ट्रपति कोटको खल्तीबाट रुमाल निकालेर प्रसिद्ध भौतिकशास्त्रीतिर फालिदिन्छन् ।
युनानी लोककथाका पात्र प्रमिथसको मानव सभ्यतासँग जोडिने किस्साहरूमा गहिरो नाता छ । भनिन्छ, प्रमिथसले देवलोकबाट आगो चोरेर मान्छेलाई दिए । र, त्यही आगोले ल्याएको प्रगतिकै कारण मनुष्य संसारका सारा प्राणीमाथि राज गर्न सक्षम भयो ।
प्राणीमध्येमा मान्छे शक्तिशाली भएजस्तै उसले बनाएका देशहरूमध्ये कुनचाहिँ शक्तिशाली होला ? विश्व मामिलामाथि थोरै पनि जानकारी भएकाहरूले ‘यस्तो पनि कुनै प्रश्न हो ?’ भन्दै सोध्नेलाई नै जिस्क्याउन बेर छैन । किनभने पृथ्वीमा अहिले अमेरिकाको एकल दबदबा छ, जसलाई थोरै चुनौती दिन खोज्ने चीनसँग उसको जानीदुस्मनी छ । दोस्रो विश्वयुद्ध अघिसम्म ‘ग्रेट डिप्रेसन’ भनेर चिनिने भयानक आर्थिक मन्दीबाट गुज्रेको अमेरिका विश्वयुद्धपछि अचानक संसारकै शक्तिशाली राष्ट्र बन्यो । त्यसअघिसम्म साम्राज्यवादी शक्तिका रूपमा रहेको बेलायत उसको पिछलग्गु राष्ट्र बन्यो । पैसा र हतियार दुवैमा अमेरिकाले नेतृत्व गरेको विश्वप्रणाली नै अहिले अस्तित्वमा छ । सामान्य सुझबुझ भएको जसलाई पनि अमेरिका सर्वाधिक शक्तिशाली देश हो भन्ने हेक्का हुने गरी अरू मुलुकलाई यसले पछाडि पार्नाको कारण आखिर के थियो ? निश्चय नै परमाणु बमको आविष्कार र यसको प्रयोग ।
आणविक बम अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध समीकरण ‘ई बराबर एमसी स्क्वायर’ मा आधारित छ । यो जटिल गणितीय सूत्रको सामान्य अर्थ हुन्छ– पदार्थबाट ऊर्जा र ऊर्जाबाट पदार्थ बनाउन सकिन्छ । यसले के भन्छ भने थोरै पदार्थलाई धेरै ऊर्जामा बदल्न सकिन्छ । अति दुर्बोध्य मानिने आइन्सटाइनको यो सूत्र राम्रोसँग जान्ने थोरै मानिसमा एक थिए— जुलिएस रोबर्ट ओपनहाइमर, जसले अन्ततः अमेरिकाका लागि परमाणु बमको आविष्कार गरे । दोस्रो विश्ययुद्ध सुरु भइरहेका बेला अमेरिकी सरकारको गुप्त ‘म्यानहाटन प्रोजेक्ट’ का निर्देशक ओपनहाइमर नेतृत्वको वैज्ञानिकहरूले बनाएको बमको प्रयोग हिरोसिमा र नागासाकीमा भएपछि जापान आत्मसमर्पण गर्न बाध्य भयो भने जर्मनीले पराजय स्वीकार गर्यो । त्यसपछि विश्वशक्ति बनेको अमेरिका निरन्तर शक्तिशाली छ । यसरी अमेरिकालाई शक्तिकेन्द्र बनाउने हतियारका जनक ओपनहाइमर ‘अमेरिकी प्रमिथस’ भनेर पनि चिनिन्छन् ।
एकै निमेषमा दुई लाख मानिस खरानी बनाउने आणविक हमला मानव इतिहासकै क्रूरतम घटना हो । त्यसपछि विश्व निरन्तर आणविक युद्धको त्रासमा भए पनि आजपर्यन्त यो हतियारको प्रयोग भएको छैन । इतिहासको पानीढलो साबित भएको अणुबमका निर्माता उनै ओपनहाइमरको ‘म्यानहटन प्रोजेक्ट’ र अनेक उतारचढावको वक्ररेखामा जेलिएको उनको जीवनमा आधारित फिल्म यतिखेर विश्वव्यापी प्रदर्शनमा छ ।
विज्ञान र कला एकै बाटोमा अक्सर भेटिन्नन् । तीन घण्टा लामो फिल्म ‘ओपनहाइमर’ मा भने विज्ञान र कला दुवैको बेजोड मिश्रण छ । सिद्धहस्त निर्देशक क्रिस्टोफर नोलानले ओपनहाइमरको काम र उनको जीवनलाई भावोत्तेजक तरिकाले पर्दामा उतारेका छन् । बीसौं शताब्दीका सबैभन्दा प्रभावशाली वैज्ञानिकमध्येका एक ओपेनहेइमरको जीवन आफैंमा विज्ञान र गणितको दुर्वोध्य सूत्रहरूझैं जटिल थियो । यसलाई रहरलाग्दोसँग फिल्ममा उतार्ने काम चुनौतीहरूले भरिएको नहुने कुरै भएन । त्यसैले ओपनहाइमरका नाति चार्ल्स फिल्मको सुटिङ भइरहँदा हजुरबाबारे के कस्तो कथा बुनिएला भन्ने चिन्ताले आहत थिए ।
‘मेरा हजुरबाबारे भनिएका अक्सर कथा र लेखिएका पुस्तक अवास्तविक छन्,’ फिल्मबारे ‘टाइम’ म्यागजिनसँगको अन्तर्वार्तामा नाति ओपनहाइमर भन्छन्, ‘तर, क्रिस्टोफरको फिल्ममा उहाँलाई सही रूपले चित्रण गरेको पाएँ, जो मैले अपेक्षा गरेको थिइनँ ।’
फिल्ममा ओपनहाइमर आणविक बम बनाउने गुप्त योजनामा अहोरात्र खटिँदा बालखा छोरा पिटर एकतमासले रोइरहेको देखिन्छ भने उनले प्रेमसाथ ‘किट्टी’ भनेर बोलाउने पत्नी क्याथरिन उनलाई अबेरसम्म पर्खेर दिग्दार । सन् १९७६ मा बितेका ओपनहाइमरलाई त्यसको ८ वर्षपछि जन्मेका चार्ल्सले देख्न पाउने त कुरै भएन । तर, घरमा अक्सर आफ्ना प्रतिभाशाली हजुरबाबारे भइरहने गफ र निजी प्रसंगबारे चाहिँ नाति चार्ल्स निकै जानकार थिए । त्यस जानकारीको आलोकमा हेर्दा उनले हजुरबामाथि लेखिएका पुस्तक र आलेखहरू वास्तविकताभन्दा परका पाउँथे । यस्तै अर्को मन नपर्ने कथाका रूपमा फिल्म आउन लागेको हो कि भनेर चार्ल्स धेरै पटक सुटिङस्थल पुगेका रहेछन् । निर्देशक नोलानले भव्य सेट खडा गरेर सघनतासाथ मिहिनेत गरेको देखेपछि उनी फिल्म कस्तो बन्ला भन्ने उत्सुकतासाथ फर्किन्थे । अन्त्यमा, फिल्ममा देखाइएको तथ्य र कला दुवैले नाति चार्ल्सको मन जितेको छ । हुन पनि, अक्सर मानिसले नीरस मान्ने विज्ञान र वैज्ञानिकहरूबारे चाखलाग्दो फिल्म बनाउनु सानोतिनो चुनौती होइन । तर, सिद्धहस्त निर्देशक नोलानले यति चाखलाग्दो गरी ओपनहाइमरलाई पर्दामा उतारेका छन् कि ३ घण्टा बितेको पत्तै हुँदैन । ‘मेमेन्टो’, ‘द डार्क नाइट ट्रिलोजी’ भनेर चिनिने स्वैरकाल्पनिक तीन फिल्म (ब्याटम्यान बिगिन्स, द डार्क नाइट र डार्क नाइट राइजेज), ‘इनसेप्सन’, ‘इन्टरस्टेलर’, ‘डंकिर्क’ र ‘टेनेट’ जस्ता प्रभावशाली फिल्म बनाइसकेका नोलानको अनुभवले बनेको ओपनहाइमरले नाति चार्ल्स मात्रै होइन आम दर्शक पनि प्रसन्न छन् ।
आलोचनात्मक प्रशंसा र व्यावसायिक सफलता नोलनका निजी गुणजस्तै भइसकेका छन्, जो उनको पछिल्लो सिनेमामा पनि देख्न सकिन्छ ।
पौराणिक पात्र प्रमिथसलाई आगो चोरेकोमा देवताहरूले दण्ड दिएजस्तै अणुबम बनाएपछि ओपनहाइमरलाई अमेरिकी आणविक ऊर्जा समितिले कम्युनिस्ट भएको आरोप लगाउँदै कारबाही गर्यो । यसले उनको तात्कालिक व्यक्तित्व र प्रतिभा दुवैको प्रसारमा ठूलो क्षति पुर्यायो । सुरुवातदेखि अन्त्यसम्मै फिल्ममा आणविक ऊर्जा समितिले ओपनहाइमरमाथि गरेको छानबिन, उनलाई लगाइएको आरोप र त्यसमाथि भएका अनुसन्धानको विचारोत्तेजक दृश्यहरू आइरहन्छन् । पूर्वस्मृतिको कुशल प्रयोगले फिल्मलाई बढी सम्प्रेष्य बनाउँछ । दर्शकलाई बौद्धिक र भावनात्मक रूपमा चुनौती दिने गरी फिल्म बनाउने भनेर ख्याति कमाएका नोलानले ‘ओपनहाइमर’ मा पूर्वस्मृतिबाट कथा भन्ने शैलीको भरपूर प्रयोग गरेका छन् ।
आफैंमा जटिलताले भरिएको ओपनहाइमरको जीवनीलाई नोलानको आँखाबाट पर्दामा हेर्दा एक किसिमको अनौठो उत्तेजना अनुभव हुन्छ । असाधारण व्यक्ति र असाधारण घटनामाथि बनेको बायोपिकलाई प्रसिद्ध अभिनेता कुलियन मर्फीले ओपनहाइमरको भूमिका निर्वाह गरेर असाधारण अभिनय क्षमता देखाएका छन् ।
चरित्रचित्रण र त्यसको कलात्मक प्रदर्शनले विज्ञान–गणितको जटिलतालाई पनि आम दर्शकका लागि एउटा अन्तरदृष्टि दिन्छ, जो फिल्मको खुबी हो । कुनै मसलाबिनै यति चाखपूर्वक फिल्म हेर्ने बनाउन सक्नु नोलानको भव्य सफलता हो । प्रतिभाशाली भौतिकशास्त्रीले बनाएको परमाणु बम र त्यसले विश्वशक्ति–क्रममा ल्याएको उलटपुलट देखाउन कहीँ प्रतीकात्मक त कहीँ वर्णनात्मक दृश्यको सहारा लिएका छन् उनले ।
विश्व व्यवस्था बदल्ने आणविक बमको निर्माता ओपनहाइमरमाथि कम्तीमा दर्जनभन्दा बढी पुस्तक लेखिएका छन् । त्यसमध्येको एउटा हो– ‘अमेरिकन प्रमिथसः द ट्रिम्फ एन्ड ट्रेजेडी अफ जे. रोबर्ट ओपनहाइमर ।’ पुलिट्जर पुरस्कार विजेता प्रसिद्ध इतिहासविद् तथा जीवनी लेखक काई बर्ड र इतिहास तथा राजनीतिमा अणुबमले पारेको प्रभावमाथिको अध्ययनले चिनिएका अमेरिकी प्राध्यापक मार्टिन जे. शेरविनले सन् २००६ मा प्रकाशित गरेको यो पुस्तकलाई नोलानले यति मन पराए कि त्यसमाथि फिल्म नै बनाउने निर्णयमा पुगे । त्यसैको परिणति हो जुलाई २१ देखि विश्वव्यापी रूपमा प्रदर्शन भइरहेको ‘ओपनहाइमर’ ।
किताबमा आधारित उक्त फिल्मको निर्माण र छायांकन यति प्रभावशाली छ कि दर्शकहरू दोस्रो विश्वयुद्धको परिवेशमा आफैंलाई पाएजस्तो महसुस गर्न पुग्छन् । आणविक बमको विकास र प्रयोगको परिणामप्रति ओपनहाइमरमा देखिएको परस्पर विरोधाभासपूर्ण विचारले फिल्मलाई द्वन्द्वात्मक बनाएको छ । हिट्लर नेतृत्वको जर्मनीले आणविक हतियार बनाउन लागेको खबर पाएपछि त्यहाँबाट निष्कासित भौतिकशास्त्री आइन्सटाइनले सन् १९३९ मा राष्ट्रपति रुजबेल्टलाई पत्र लेखेका थिए । नाजीहरूको हातमा घातक हतियार आए त्यसले ध्वंसात्मक परिणाम ल्याउने निश्चित थियो । त्यो रोक्न अमेरिका आफैंले पहिले नै आणविक हतियार बनाउनुपर्छ भन्ने जिकिर पत्रमा थियो । तत्कालै, रुजबेल्टले आणविक बम बनाउन अमेरिकाको ढुकुटी उदारतापूर्वक खुला गरिदिए । मानव इतिहासकै खर्चिलो परियोजना मानिएको थियो ‘म्यानहटन प्रोजेक्ट’ लाई । रुजबेल्टलाई पत्र लेखे पनि बम बनाउने काममा भने आइन्सटाइन सरिक भएनन् । उनैले प्रतिपादन गरेको क्वान्टम सिद्धान्तलाई आधार बनाएर ओपनहाइमरले म्यानहटन प्रोजेक्टलाई नेतृत्व दिए र आणविक हतियार बनाए । यसप्रति उनमा गर्वको भाव छ । तर, त्यसको प्रयोगले हिरोसिमा र नागासाकीमा भएको नृशंस हत्याको खबरबाट उनी मर्माहत भए । फिल्ममा एउटा दृश्य छ, जहाँ जापानको आत्मसमर्पणपछि ‘टाइम’ ले ‘संसारको सबैभन्दा प्रसिद्ध मानिस’ भनेर ओपनहाइमरको तस्बिर आवरणमा छापेपछि राष्ट्रपति ह्यारी ट्रुम्यानले उनलाई बोलाउँछन् । ‘संसार प्रसिद्ध हुँदा कस्तो हुँदोरहेछ त ?’ राष्ट्रपतिले होच्याउने शैलीमा उनलाई सोध्छन् । ‘मेरो हात रगतले भिजेको छ राष्ट्रपति महोदय !’ ओपनहाइमर आफ्नो ग्लानि लुकाउन सक्दैनन् । उत्तरले चिढिएका राष्ट्रपति कोटको खल्तीबाट रुमाल निकालेर आफ्नै ज्ञानको परिणामले हतप्रभ प्रसिद्ध भौतिकशास्त्रीतिर बेवास्तापूर्वक तेर्स्याउँछन् । आफ्नो अपराधबोधलाई राष्ट्रपतिको सफेद रुमालले कसरी पुछ्न सक्थे र उनी ? वैज्ञानिक खोज र अनुसन्धान राजनीतिज्ञका लागि केबल सत्ता स्वार्थको साधन मात्रै हुन् भन्ने सन्देश दिन यही एक दृश्य काफी छ ।
एटम बमको प्रयोगले ल्याएको मानवीय त्रासदी रोक्न आइन्सटाइनझैं ओपनहाइमर पनि निःशस्त्रीकरणको अभियानमा लागे । विश्वयुद्धको अन्त्यलगत्तै अमेरिका आणविक बमभन्दा कैयौं गुणा शक्तिशाली हाइड्रोजन बमको निर्माणमा लाग्यो । ओपनहाइमरले त्यसको विरोध गरे । यत्ति एक कारण थियो, जसले उनलाई अमेरिकी शासकका नजरमा रुस समर्थक कम्युनिस्ट जासुस बनायो । अन्ततः उनीमाथि कंगारु अदालत खडा गरी बेइज्जतीपूर्वक बयान लिने र दुःख दिने काम भयो । संवेदनशील सूचनाहरूमा उनको पहुँचलाई बर्जित गरियो भने गम्भीर वैज्ञानिक खोजमा उनलाई सामेल गरिएन । प्रमिथसले मान्छेलाई आगो दिएर अरू प्राणीभन्दा शक्तिशाली बनाएबापत दण्डित हुनुपरेजस्तै, आणविक बम दिएर अमेरिकालाई अरू देशभन्दा शक्तिशाली बनाउने काम गरेका ओपनहाइमर त्यसै कामका लागि दण्डित हुन पुगे । इतिहासको पानीढलो बनेका यी सबै घटनालाई नोलानले ओपनहाइमरप्रति गहिरो सहानुभूतिसाथ चित्रण गरेका छन् ।
