कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कमरेड ‘गोपीक्याँच’ को लीला

उबेला मान्छेहरू भन्थे– यो प्रचण्ड, स्रचण्ड भनेको कोही होइन, त्यै खगेन्द्र संग्रौला भन्ने मास्टर हो । प्रहरी पनि रुमल्लिएको थियो– यै हो त खुंखार, खतरनाक जनकारबाही गर्ने बाहुन ? फिस्टोजस्तो ज्यान, देख्दा सुधो बाहुनचरी, यै होला त प्रचण्ड ? यस्ताले व्यवस्थालाई चुनौती दिने ? हँ ???
श्यामल

उनी मेरो बोलाइलाई ‘साहसिक वक्तृत्व’ मान्छन् र सोही कारण मेरो प्रशंसा गर्छन् । म उनको बान्की मिलेको, ध्वनि र व्याकरणसम्मत, आरोह–अवरोहको उचित ख्याल गर्ने गरेका कारण आकर्षक बनेर कण्ठबाट निस्कने शौष्ठवले पूर्ण लयात्मक गद्यको प्रशंसा गर्छु । उनी मेरो कविताको शक्तिको इज्जत गर्छन्, म उनको मान्छेलाई जुरुक्क उचाल्ने भाषण शैलीको तारिफ गर्छु ।

कमरेड ‘गोपीक्याँच’ को लीला

म जसलाई तोरीलाउरे भन्छु, उनी त्यसलाई नाथे भन्छन् । मैले बुझेसम्म गोपीक्याँच उनको मौलिक आविष्कार हो, होइन भने त्यस नाथे गोपीक्याँचलाई राष्ट्रिय मान्यता दिलाउने काम निजले नै गरेको ठहर्छ । कसैको कुनै कुरा मनपर्‍यो भने बैगुनको पाटोमा आँखा चिम्लिदिएर हृदयतलदेखि नै प्रशंसा गर्नु र मन नपरेको व्यक्तिको उछित्तो काढेर लेख्नु उनको धर्म हो ।

उनी अथवा निज भन्नाले पाँचथरमा जन्मी, हुर्की विभिन्न ठाउँमा मास्टरी गर्दै जेल पर्दै आएका, हाल चाबहिलनिवासी, कास्केली लाउरे गुरुङ खलकका ज्वाइँ, कुनै बेलाकी वरिष्ठ स्वास्थ्य परिचारिका अर्थात् शिक्षण अस्पताल महाराजगन्जकी मेट्रोन म्याडम जमुना गुरुङका पति, सानो कदकाँठीका, तर मीठो वाक्शैलीका धनी, खरा लेखक ७७ वर्षीय खगेन्द्र संग्रौला भनी बुझ्नुपर्नेछ । अनि २०२५ सालमा ‘रूप–रेखा’ मा कथा छापिएपछि नै चर्चित साहित्यकार, अनुवादक, वामपन्थी खेमाका प्रगतिशील लेखक, नलड भन्दाभन्दै प्रलेसको अध्यक्षमा लडेर नराम्रोसँग हारेका अर्थात् निर्वाचन नफापेका पराजित उम्मेदवार भनी बुझे पनि हुन्छ । ‘कान्तिपुर’ का कुन्साङ काका र प्रजातन्त्रवादी प्रोफेसर दुर्गाप्रसाद भण्डारीका दुई वामपन्थी ‘रिपु’ मध्ये एक (अर्काचैं नारायण ढकाल थिए), कहिले मधेशवादीका प्रवक्ता, कहिले पहिचानवादीका गुरु, जे जसो भए पनि सत्ताका स्थायी शत्रु भनी बुझे बेसै होला !

२०३६ सालमा हुनुपर्छ, पद्मोदय हाइस्कुलमा शिक्षक संगठनको महासचिवका हैसियतले उनले गरेको भाषण सुनेर म औधी प्रभावित भएको थिएँ । म भूतपूर्व शिक्षक थिएँ, त्यतिबेला वर्तमान विद्यार्थी थिएँ । हुन त त्रिचन्द्र कलेजको रात्रिकक्षाको विद्यार्थी म, हातमुख जोर्न नक्सालस्थित एउटा विद्यालयमा फेरि शिक्षक

भएँ । लेखन, विद्रोही चेत र शिक्षण– यी तीन कुरा खगेन्द्र संग्रौला र श्यामलका साझा वृत्ति रहेछन् । र, तिनैले पश्चिम प्रदेशको कर्णालीको उत्ताल छालमा हुर्केको म र पूर्वी प्रदेशको तमोरको चिसो हावा खाँदै हुर्केको खगेन्द्र संग्रौलाबीच मैत्रीभाव जगाइदिने, आत्मीयताको विकास गरिदिने र मत भिन्न भए पनि एकै ठाउँमा उभ्याइदिने गरेका रहेछन् ।

सानो कदका, खिरिला स्वरका यी माड्साब पान्थरदेखि गाउँवस्ती हल्लाउन भनेर चितवन, तनहुँ हुँदै काठमाडौं आइपुगे । जहाँ गए, त्यहीं पन्चायतविरुद्ध मानिस उठाए । त्यसो गर्नु दण्डनीय थियो । अतः उनी दण्ड भोग्दै असी वर्षको उमेरतिर उक्लिरहेका छन् । कांग्रेसजनले, त्यसमाथि पनि गगन थापाको भनाइमा, काला कांग्रेसजनले घोषित रूपमा खगेन्द्र संग्रौलाबाहेक अरू कुनै वामपक्षको मानिसलाई गुरु स्विकार्दैनन् ।

उज्ज्वल प्रसाईंले उनीमाथि लेखेको ‘वागी’ पुस्तक–विमर्शका क्रममा कार्यक्रम सञ्चालक प्रतिनिधिसभाका सदस्य तथा कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक रूपमा, सयौंको उपस्थितिमा, निकै ठूलो भोल्युमको एम्प्लिफायरमार्फत प्रज्ञा–डबलीबाट घोषणा गरेपछि उनी प्रचण्ड आदिको मात्र नभएर ‘काला कांग्रेसी’ को समेत महान् गुरु साबित भए । गिरिजाबाबुले आफ्नै राशि र वर्णका इमानदार अनुचर अरू दुई ‘ग’ अर्थात् गगन थापा र गुरुराज घिमिरेको सातो जाने गरी कारबाहीको डण्डा चलाएपछि थर्कमान भएका ती दुई युवा घाँटी चिस्याउने र जीउ तताउने पदार्थको खोजमा पुतलीसडकको प्रेम सेकुवाको बेन्चीमा आइपुग्दा सान्त्वना दिनेमा पहिलेदेखिका जन्मजात गणतन्त्रवादीहरू उनी र म थिर्यौं । यी नयाँ गणतन्त्रवादी ‘केटाहेर्लाई’ सर्वशक्तिमान कारबाहीको डण्डा चलाउँदा आफैंले बेबी किङको प्रस्ताव राख्नुपर्ला भन्ने गिरिजाबाबुलाई के थाहा ! (यो भाटे कारबाही ज्ञानेन्द्रकालीन अशोजतन्त्रको समयमा ‘केटाहेर्ले’ भोगेका थिए र हामीले तिनको अरण्यरोदन सुनेर आँसु पुछिदिने अहं प्रयास गरेका थियौं) । उता संग्रौला महाशयले दरबार हत्याकाण्डपछि द्रवीभूत हुँदै राजा घोषित मृत युवराजलाई भतिज भनेर एक पुस्तिका नै लेखिभ्याए । त्यो पुस्तिका तत्कालीन सभामुख तारानाथ रानाभाटको ‘भ्याटाट्ट्या’ र माधव नेपालको दाम चढाई जत्तिकै चर्चित भयो । हुन पनि उमेरले राजा वीरेन्द्रभन्दा पुग/नपुग जम्मा एक वर्ष कान्छा खगेन्द्र संग्रौलाका भतिज नै त थिए दीपेन्द्र ! (परिस्थितिले गर्दा राजा घोषित कसैलाई भतिज भन्ने छुट निजले पाए) । मलाई भने त्यो पुस्तक ताइँ न तुइँको लाग्यो ।

अब त हाम्रो भेटका चालीस वर्ष बितिसकेका छन् । न्यानोपनका लागि भने उनले नै मलाई आफ्नै घरमा खान निम्त्याउनुपर्‍यो । विभिन्न साहित्यिक समारोहमा भेट हुँदा चिसो, लुलो हात मिलाउने र चुइँक्क नबोल्ने उनीसँग मेरो दोहोरो बोलचाल भने धेरै पछि भयो । पारिजात दिदीले पनि उनी र मेरोबीच संवादको ढोका उघार्न सकिनन् । सायद यिनले मलाई क्यै खास हो भन्ने ठानेका थिएनन् । म भने ‘म पनि केही त हुँ’ ठानिरहन्थें ।

यसरी अघोषित शीतयुद्धका धेरै वर्ष बितेपछि उनले मलाई गोविन्द वर्तमानमार्फत घरमै खान बोलाए । के खानुहुन्छ ? भनी सोधे । ‘निभा, ढकाल र राजवजस्ता तपाईंका अभिन्न मित्रहरूलाई पनि बोलाउन पाए हुन्थ्यो कविजी’ भने । घरकै बाहिरपट्टि सडकमा केही बोतल खुकुरी रम झोलामा हालेर हिँडिरहेका भेटिए । आफैंले पकाएर माछा, मासुलगायतका परिकार सानदार ढंगले ख्वाएर विधिवत् ढंगले मित्रताको हात बढाए । पूरै दम्भहीन, सरल, निस्कपट, खुला र हँसमुख देखिए । तदुपरान्त उनको र मेरो दोस्ती बढ्यो ।

तर, कहिलेकाहीं उनलाई आफ्नै कारणले अनौठो विडम्बना आइलाग्छ । कथाकार राजव अमेरिका गएपछि उनले घोर आपत्ति प्रकट गरेर लेख लेखे । पछि त आफ्नै छोराछोरी अमेरिका भासिएपछि उनले बलात् त्यो प्रसंग बिर्सन खोजे । अहिले संग्रौला दम्पती छोराछोरीसँग कहिले अमेरिका हुन्छन्, कहिले नेपाल ! भावुकताको त्यही परिणामले होला, उनी एमाले वृत्तका लागि भने ‘झ्याउ बूढा’ र ‘ट्वाँके लेखक’ हुन् । एमाले वृत्तले के बुझेको छैन भने यसरी लेखेकै कारण उनीमाथि खनिनुभन्दा उनले लेखेको नपढ्ने छुट पाठकलाई हुन्छ ।

मेरो बुझाइमा उनी राजनीतिक रूपमा अपढ नेपालीका लागि लेखन विधाका झाँक्री हुन्– झ्यासम्यासका शमनकर्ता, जो ओली वा उनको एमालेलाई भरपूर गाली गर्न चाहन्छन्, तर सक्तैनन् । तिनले त्यो रोष पिएर बसेका हुन्छन् र सन्निपातको बिरामीझैं झोक्रिएर धतुराउँछन, तिनका लागि खगेन्द्रका राजनीतिक निबन्ध शक्तिशाली बुटी हुन् । खगेन्द्रका बुलेटे कलमबाट गाली छुटेपछि तिनको रोग निको हुन्छ, ती शान्त हुन्छन् । नत्र भने तिनले चियापसल, चौतारो, मेलापात जताततै भद्दा स्वरमा एमालेलाई चकारिरहेका हुने थिए । संग्रौलाले त्यसलाई थोरै शिष्ट बनाइदिएर धेरैलाई सान्त्वना दिएका छन् । यस अर्थमा उनी विरेचन पद्धतिका नाइके लेखक हुन् ।

उनले बोलेको ध्वनि टंकण गर्ने व्यवस्था मिलाउने हो र यथारूप छाप्ने हो भने कुनै जैरेले भाषा मिलाइराख्ने कष्ट गर्नुपर्दैन भन्ने मेरो ठहर छ । यो कुरो मैले उनलाई भनेको भन्यै छु, तर यिनले त्यही कन्टेन्ट लेखेर बिताइदिन्छन् ।

एक पटक भनिन्थ्यो, ‘यो प्रचण्ड स्रचण्ड भनेको कोही पनि होइन, त्यै खगेन्द्र संग्रौला भन्ने मास्टर हो ।’ र, प्रहरी रुमल्लिन्थ्यो– ‘यै हो त खुंखार, खतरनाक जनकारबाही गर्ने च्याँसे बाहुन ? फिस्टोजस्तो ज्यान, देख्दा सुधो बाहुनचरी, यै होला त प्रचण्ड ? यस्ताले बन्दुक चलाएर मान्छे मर्छ ? यस्ताले व्यवस्थालाई चुनौती दिने ? हँ ???

तर, उनको कलमको टुप्पो शक्तिशाली थियो । कमजोर नैतिकता भएका सत्ताका लागि त उनका शब्दहरू अति तीव्र गतिको अन्तरमहाद्विपीय प्रक्षेप्यास्त्रभन्दा कम थिएन । २०५२ साल फागुन १ गते बाबुराम, प्रचण्डको माओवादीले बन्दुक

पड्काएर बहुदलीय व्यवस्थाविरुद्ध सशस्त्र संघर्ष घोषणा गरेको हप्ता दिनभित्रै ६ गते दिनको दुई बजे उनको घरनजिकै अर्थात् चाबहिल गणेशस्थाननिरबाट छापामारहरूका वैचारिक गुरुलाई छापामार शैलीमै पक्रिइयो । मानौं उनैले बन्दुक पड्काएका हुन् । नेपालको सुरक्षा निकायमा गुणस्तरीय सूचनाको कति अभाव छ भन्ने यसैबाट पत्ता लाग्छ । संग्रौलाजस्तो कलमजीवी मास्टरमा कसरी तिनले बाबुराम प्रचण्ड देखे हँ ? वास्तवमा उनको छुच्चो प्रकारको लेखाइले उनलाई दरबारका आँखामा समेत कसिंगर बनाइदिएको थियो । एक प्रकारले संग्रौलाको लेखाइ बन्दुके लेखाइ नै थियो ।

उनको झोलामा आत्मनिर्भर विकास मञ्चका लागि कम्प्युटर टाइप गरेको सामग्री थियो । त्यो दिन उनी माइतीघरमा प्रगतिशील लेखक संघको कार्यालयतर्फ जाँदै थिए वक्ताका रूपमा । तर, पुर्‍याइयो सशस्त्र प्रहरीको सुरुङमा । पाँच/छ दिनको कुम्भिपाकमय सुरुङवासपछि उनलाई खोज्न र मुक्त गर्न हाम्रो अथक प्रयास सुरु भयो । सबैतिर हारगुहार भयो ।

यसभन्दा अघिल्लो सरकारमा ओलीजी गृहमन्त्री थिए र उनको गृह चलाइ अद्भुत प्रकारले सफल मानिएको थियो । किनभने सिंगो सुरक्षा निकाय उनको कार्यशैलीबाट प्रभावित थियो भनिन्थ्यो । र, हुन पनि उनको समयमा न गोली चल्यो, न देउवाको गृहमन्त्रित्वमा झैं ओलीले ‘गोलीको आँखा हुँदैन’ भन्नुपर्‍यो ।

यसरी प्रहरीले छद्म भेषमा उनलाई समातेर बेपत्ता पारिदियो । उनलाई ‘पातकी राज’ ले मारिदिने पो हो कि भन्ने आशंकाले छिर्केमिर्के प्रगतिशील शिविरमा ठूलै भुइँचालो गयो । पछि उनीजस्ता धेरैलाई मारियो । कृष्णसेन इच्छुक नामको उस्तै कायाको माओवादी कार्यकर्ता राज्यका लागि खतरनाक साबित भएर होला, उनलाई मारियो ।

कुरो जे होस्, संग्रौला कहाँ छन् ? जीवितै अवस्थामा छन् कि अथवा राजाको छातामुनिको देउवातन्त्रको हत्याको सिकार भए ? यो पत्ता लगाउनु थियो । जमुना भाउजुको ओठतालु सुकेको थियो । भाउजूले मलाई रुँदै फोन गरेर भन्नुभो– ‘श्यामलजी, आज मेरो क्वै भएन । उहाँ कस्तो अवस्थामा हुनुहुन्छ पत्ता लगाइदिने क्वै छैन । म के गरूँ ।’

मैले उहाँलाई भनें, ‘हामी छौं । त्यसरी बेपत्ता पार्न त कसरी सक्ला । म बिहानैदेखि लाग्छु भाउजू ।’ भोलिपल्टदेखि संग्रौलाको ‘ह्वेयरअबाउट्स’ थाहा पाउने प्रयास सुरु भयो । दबाब अभियान थालियो । मानव अधिकारवादी संस्थाहरू जुटे । पश्चिमा मुलुकका कूटनीतिक नियोगहरूको ढोका घच्घच्याइयो । प्रशासनमाथि दबाब पर्न थाल्यो । तैपनि कुरो खुल्दैन ।

यसअघिका सफल गृहमन्त्री भनी नाम कहलिएका वामनेता, १४ वर्षको जेल जीवन काटेर निस्केका संग्रौलामार्का लिखुरे ज्यानका ओलीकहाँ पुगें म । र भनें– ‘तपाईंले पहिले सम्हालेको विभागले देशको एक प्रतिष्ठित लेखकलाई बेपत्ता बनायो भने त्यसको दोषको छिटा तपाईंकहाँ पनि आइपुग्ला कमरेड !’

ओलीजीले यस घटनालाई गम्भीर रूपमा लिए । उनी सही सलामत छन् भन्ने ओलीजीले नै पत्ता लगाए । आश्वस्त भइयो । तर, मुक्त गर्न भने ओलीजी सक्तैनथे । शासन माओवादीबाट थर्कमान हुन थालेकाले उसले शंकास्पद कसैलाई पनि नछोड्ने नीति लियो । हामीले चरम दबाब सृजना गर्नुपर्ने भयो । कुरो यत्ति हो, उनको सकुशल मुक्तिमा ओलीजीको महत्त्वपूर्ण हात थियो ।

तिनै ओलीलाई मन नपराएर संग्रौला मट्याङ्ग्रा चलाउँछन्– ‘काजु कान्छा । मुतुवा ओली !’ मलाई लाग्यो, यो त कृतघ्नताको पराकाष्ठा भयो ! यो कुरा मैले उनी पुरस्कृत हुँदा मञ्चबाटै भनिदिएको थिएँ, ‘यिनी मित्रहन्ता हुन् । मित्रमाथि पनि खनिन्छन् । कतिबेला यिनले आफ्नो ज्यान बचाउनेको ज्यान लिने गरी लेखिदिन सक्छन् । शक किलर हुन् यी । हेर्नुस् त ओलीलाई यिनले लखेटेका !’

कुरो रुसी सांस्कृतिक केन्द्रको हो । प्रसंग उनले दुई लाख रुपैयाँको पुरस्कार पाउँदाको हो । त्यो कोजाग्रत पूर्णिमाको दिन थियो । सपरिवार गृहनगर दैलेखमा पुगेको मलाई फोन गरेर उनैले बोलाएका थिए । एक प्रकारले करै गरे । ‘केटाकेटी सबैलाई उतै छाडेर प्लेन समातेर तु आइहाल्न पर्‍यो । श्यामल हुँदाहुँदै अरू नाथेले मेरो बारेमा बोल्ने ? हुन सक्तैन । लौ कविजी, आइहाल्न पर्‍यो ।‘

कार्यक्रम पूर्णिमाको दिन भएकाले मलाई ठीकै भयो । आउनेबित्तिकै नुहाएर म कमलपोखरीतिर लागें । मञ्चमा अर्का पुरस्कृत थिए मदनमणि माड्साब् । निजबारे कृष्ण धरावासीले बोले । मैले खगेन्द्र संग्रौलाको शब्दशक्ति, विचारशक्ति र सीमाबारे करिब पौने एक घण्टा बोलें । दर्शकदीर्घाबाट ताली आइरह्यो । म बोलिरहें । अर्थात् उनका सीमाबारे मैले बोलिरहँदा सहभागीहरू निकै आनन्द मानिरहेका थिए । कुरो बुझिएन त ?

तर, उनी यति मात्र हुन् भन्ठान्नु उनीभन्दा बढी एकांगी हुनु हो, चरम पूर्वाग्रही हुनु हो र एक प्रकारले उनीप्रति बेइमानीसमेत गर्नु हो । उनी असलमा ‘काइदाका मानिस’ हुन् । लेखनमा भाषाको धार जति बलियो छ, भद्र दारु मिलनमा उनीजति सानदार र रमाइलो अनि विश्वासिलो मित्र अर्को फेला पार्नु दुर्लभ छ । रिप्लेको ‘विलिभ इट अर नट’ मा भएजस्तो, चमत्कृत तुल्याउने । जादुमयी लयदार भाषामा उनका रोचक गफ र आत्मीयता प्रदर्शन लोभलाग्दै हुन्छन् ।

आखिर यी रिपु तिनै ओलीलाई लखेट्तै हिँड्छन् । अंग्रेजीको बैतडेली प्रोफेसर दुर्गा भण्डारीले भन्ने गरेको रिपु उही खगेन्द्र संग्रौला नामक अंग्रेजीको पान्थरे मास्टर थियो । ‘कान्तिपुर’ मा कुन्साङ काका भएर लेख्थ्यो र उधुम कलमबाजमा दर्ता भएको थियो । तीव्र असन्तुष्टिको भारले थिचिएर हावा भरेको भकुन्डोझैं उफ्रेका घोर अराजक व्यक्तिहरू उनका प्रशंसक थिए ।

झन्डै बाल वयमा ‘रूप–रेखा’ मा छापिएको ‘तमोर नदीको किनारैकिनार’ भन्ने कथा पढेको मैले ३० सालअघि नै लेखकका रूपमा खगेन्द्र संग्रौलालाई चिनेको हुँ । ३० को मध्यदशकदेखि उनी साप्ताहिक पत्रिकाका नियमित लेखक र शिक्षक आन्दोलनका नेताका रूपमा, समाजवादी साहित्यको अनुवादकका रूपमा र प्रखर वक्ताका रूपमा समेत चर्चित भए । मैले बुझेसम्म कम्प्युटरी सिकेर त्यसैमा लेख्न जानेका पहिलो पुस्ताका लेखक हुन् संग्रौला । उनीसँग बन्दीपुर, नुवाकोट र हेटौंडामा गइयो र बोलियो । हामीले सधैं नै शिष्टतापूर्वक असहमतिहरूको व्यवस्थापन गर्‍यौं । त्यसैले हाम्राबीच असहमतिहरू छन्, तर उम्कनै नसक्नेगरी खस्ने खालका त्यति ठूला खाडल छैनन् ।

उनले जति लेखे, नक्कलबिनै लेखे । प्रयोग नामको चक्करमा फसेर लेखकीय दायित्वच्युत भएनन् । कसैलाई मन परे पनि, नपरे पनि उनले ‘चेतनाको पहिलो डाँक’ (उपन्यास), ‘जूनकीरी’ (उपन्यास), ‘हाँडीघोप्टेको जितबाजी’, ‘फुस्केको लंगौटी टालेको दिमाग’, ‘आफ्नै आँखाको लयमा’ (निबन्धहरू) ‘घोडा, ईश्वर र मेरा बा’ (जसको पछाडिको पृष्ठमा उनले अनुमति लिएर मेरो कविता ‘दुस्वप्न’ राखेका छन्) । ‘सम्झनाका कुइनेटाहरू’ (संस्मरण) ले पनि एक समय राम्रै ताली पायो । हालै साहित्य बजारमा ‘संग्रामबहादुर सार्की’ (कथासंग्रह) पनि आइपुगेको छ । आफ्नो समयमा ती सबै चर्चामै थिए । यस्तैमा उज्ज्वल प्रसाईंले उनको जीवन खोतलखातल गरी ‘वागी’ लेखे ।

मलाई भने उनका निबन्धमा निर्मल लामाबारे लेखेको ३६ पृष्ठ लामो संस्मरण उच्चकोटिको लाग्छ । यसमा उनको लेखकीय इमानदारीलाई राम्रैसँग छाम्न सकिन्छ । अन्यत्र कतै कसैले आफूमाथि प्रहार भएकै कारण लेखकीय बेइमानी देख्छ भने यहाँचाहिँ त्यो छैन ।

उनले याङ मोको ‘युवाहरूको गीत’ अनुवाद गरेर देखाइदिए । माओ त्से तुङका कतिपय रचना अंग्रेजी छिचोल्न नसक्ने बोधा नेपाली कम्युनिस्ट नेता, कार्यकर्तालाई पढाउन अनुवाद गरिदिए । यस अर्थमा उनी धेरै वामपन्थीका साहित्यिक र सैद्धान्तिक गुरु पनि हुन् । प्रचण्डका लागि उनी प्लेखानोभ हुन् भने बाबुरामका लागि उनी ट्रट्स्की हुन् । उनले जोन उडको ‘माइक्रोसफ्टदेखि बाहुनडाँडा’ मात्रै होइन, डा. सन्दुक रुइतबारे अस्ट्रेलियाली पत्रकारले लेखेको जीवनी पनि उल्था गरे । थुप्रै काम गरे । अहिले पनि पहिचानवादीको वैचारिक खाँचो टार्न खोटाङ पुगेका छन् । अझै थाकिसकेका छैनन् ।

तर, संग्रौला उनको अनुमतिबिनै कसैले ‘सङ्ग्रौला’ गरिदिएकोमा अति दुःखी भए । हुन पनि अरू कसैलाई मन लागे आफ्ना मर्जीले ‘खगिन्द्रसँग रोउँला’ गर्देला रे ! सहेर बस्ने त ? थरमाथिको थोप्लो कुप्लुक्कै खाइदिएर भाषाका संशोधनवादी (प्रुफरिडरे() पण्डितहरूले उनको सार्‍है चित्त दुखाएकाले उनी हामीसँगै नेकशुलेमा हिँडे । त्यहाँ तारानाथ शर्मादेखि शरच्चन्द्र वस्तीसम्म ६८ जना नेपाली भाषाका उन्नायक थिए । म थिएँ, खगेन्द्र थिए, जगदीश घिमिरे पनि थिए । बलदेव गाउँलेको हियो र शरच्चद्र वस्तीको मियो थियो त्यो आन्दोलन ।

‘कवि श्यामल जन्मेहुर्केको दैलेख भन्ने ठाउँ कस्तो होला ? जान पाए हुन्थ्यो,’ पाँचथरका खगेन्द्र संग्रौला र वीरगन्जका विमल निभाले धेरैपटक भनेका हुन्थे । यसपटक मेसो मिल्यो । नेपालगन्ज, सुर्खेत हुँदै दैलेख गइयो । अघिल्लो सिटमा यी दुई वरिष्ठ बसेर फिल्म हेर्दै थिए । राजेश हमालको थियो त्यो फिल्म । म तीसको दशकको आरम्भदेखि नै आफू हिँडेको बाटो, बारी, पाखा, जंगल, गाउँबस्ती हेर्दै थिएँ र सुदूर अतीतको स्मृतिदंशले मलाई पिरोलिरहेको थियो । म बोलिरहेको थिइन । अघैयादेखि शम्शेरगन्जसम्मको घना जंगलको बाटो हेर्दै म कुनै बेला डँडुवा खोलामा वनभोजमा गएको सम्झदै थिएँ । कतिबेला पो हो, गुराँसे काटेर हामी डुंगेश्वर पुगिसकेछौं ।

माधव नेपाल चिच्याईचिच्याई बोलिरहेका थिए, एफएमले उनको भाषण घन्काइरहेको थियो । डुंगेश्वरको मोडमा हामीले हाम्रो गाडी रोकेर माधवजीको भाषण सकिएपछि मात्रै दैलेख बजार उक्लने निधो गर्‍यौं । हामीलाई उनको भाषण कहिल्यै रुचिकर लागेन । यसमा झन् उनी आफ्नाविरुद्ध कालो झन्डा प्रदर्शन गर्नेहरूविरुद्ध कडा बोल्दै थिए । त्यतिन्जेल डुंगेश्वरका असला माछाको सितन हुनु आह्लादकारी लाग्यो हामीलाई ।

यति लामो संगतमा सम्झने कुरा थुप्रै छन्, तर खगेनदाई मसँगका दुई तीन/चार कुरा बारम्बार सम्झिन्छन् । मेरी आमासँगको भेट, राउटेसँगका कुराकानी र नुवाकोट काण्ड ।

सुर्खेतको बस्तीपुरस्थित घरमा मेरो कान्छो भाइसित हुनुहुन्थ्यो आमा । आमालाई भेट्न हामी तीनै जना बस्तीपुर पुग्दा आमा भित्रपट्टिको कोठामा आराम गरिरहनुभएको थियो । जब मैले आमाका चरणमा मेरो शिर राखें, खगेन्द्र दाइले पनि आफ््नो शिर राखे । आमाले सोध्नुभो, ‘यी नानी को हुन् ?’ मैले भनेँ, ‘यी मेरा साथी हुन्, धेरै पूर्वका हुन् ।’ विमलजीलाई पनि यसैगरी चिनाएँ । आमासंग केहीछिन बिताएर हामी नेपालगन्जतर्फ लाग्यौं । पछि म जतिपटक आमा भेट्न घर गएँ, आमाले ‘ती नानी कता छन् ? सन्चै छन् ?’ भनी सोधिरहनुहुन्थ्यो । कस्तो प्रभाव पारेछन् कुन्नि ? उनी स्वयं मेरी आमासँगको बीस वर्षअघिको त्यस भेटको स्मरण गरिरहन्छन् । अस्ति मंगलबार उनी खोटाङमा थिए । फोनमा भन्दै थिए– ‘ए श्यामलजी, आमासँग भेटेको आज पनि सम्झँदै छु ।’ आमा बित्नुभएको नौ वर्ष पुगिसकेको छ । त्यतिबेला ८५ वर्ष लाग्नुभएको थियो । आमाको त्यो छवि खगेन्द्र संग्रौलाको दिमागमा एकदमै ताजा रहिरहेको छ ।

खगेन दाइले आफ्नी आमा बित्दा परम्परागत ढाँचाको किरिया कर्म गरेनन् । मैले अलिकति सुधारसहित किरियाकर्म गरें । यहींनिर उनी र मबीच फरक देखियो । दुवै आफ्नी आमा बित्दा दुःखी भयौं । यहाँनिर हाम्रोबीचमा भावुकतामय साम्य देखियो । उनका चेला प्रचण्ड उनीजस्तो गर्दागर्दै भैंसीपूजन र गेरुवस्त्र धारण गर्नुपर्ने लोकाचारमा फसे । उनका अर्का चेला बाबुराम आफ्ना कार्यकर्तालाई दसैं नमान्ने र अरूका मन्दिरमा मुताउने उपक्रमबाट आमालाई मनकामना तीर्थयात्रा गराउने लोकाचारमै फसे । सायद यिनै हुन् अहिलेको गठबन्धनका मानसपिता । उहिल्यै एमालेलाई भोट दिनुसट्टा यी नरहरि आचार्य र गगन थापालाई भोट माग्दै घरघर हिँडेका थिए र मैले कृष्णगोपाललाई भोट माग्न भाषण गरेकोमा मेरो खिसिट्युरी गरेका थिए । अहिलेको गठबन्धनको प्रेरणास्रोत खोजियो भने ‘एमबी स्कुल’ कति वाम एकतावादी हो र कति कांग्रेससँग भावनात्मक विलयमा गइसकेको हो भनी पत्तो लाग्छ । अब देख्न बाँकी छ, एमबी स्कुलका कति नेता काशी वा देवघाटवासी हुने तयारीमा जुटेका छन् !

एकपटक हल्ला चल्यो– प्रचण्डले खगेन दाइलाई राष्ट्रपति बनाउने प्रस्ताव गरे, तर यिनले ‘नो’ भने । सिधै अर्थमा इन्कार गरे रे ! मलाई त यिनी राष्ट्रपति भएको हेर्न मन थियो । कतै यिनको तिखो कलम बन्द गर्ने जालसाझी त थिएन त्यस्तो प्रस्ताव ? कुरा ‘रे’ को हो । हुन पनि सक्छ ।

जे होस्, यिनी कुनै औपचारिक पदमा ढसमस्स बस्नेखालका ढ्याके व्यक्ति होइनन् । तसर्थ उनी अहिलेसम्म सरकारी पदका लागि कुमारी नै छन् । कम्तीमा एकेडेमीको कुलपति हुन उनलाई गार्‍हो थिएन । तर, प्रस्तावकहरूसमक्ष अस्वीकृतिसूचक टाउको हल्लाइरहे । अब यस उमेरमा उनको कौमार्य भंग होलाजस्तो छाँट छैन ।

महोत्सवको वातावरणमा दैलेख बजारमा मसँगै हिँड्दा उनको जम्काभेट भयो राउटे समुदायका युवा युवतीसँग । स्थानीय पत्रकार विष्णु धमलाको घर अघिल्तिर मैले उनको हात राउटेसँग मिलाइदिएँ । राउटेका बहालवाला मुखियासँग वार्ता गराइदिएँ । रूपलावण्यले सम्पन्न राउटे युवतीहरूका लयात्मक बान्कीको सहर हिँडाइ देखाएर भनें, ‘यिनको अक्षत सौन्दर्यको प्रशंसामा केही काम गर्नुपर्दैन त हामीले ?’ उनी दुइटा कुरामा दंग परे– मेरो ‘अक्षत सौन्दर्य’ जस्तो शब्द चयन र राउटेहरूको रहस्यमयी संक्षिप्त मुस्कान । त्यतिबेलै मैले कान्तिपुर ‘कोसेली’ का पानामा ‘राउटेको हाँसो’, खगेन्द्र संग्रौला र विमल निभाको राउटे अभिरुचिबारे लेखिसकेको छु ।

मुलुकभरि त्यसताका स्थानीय महोत्सवको रौनक थियो । नुवाकोटे साथीहरूले पनि विदुरमा साहित्य महोत्सव आयोजना गरे र राजधानीबाट माधव घिमिरे, पुष्कर लोहनी, खगेन्द्र संग्रौलादेखि मसम्मका सानाठूला मोटापातला, वरिष्ठ, कनिष्टलाई निम्त्याए । अरू बसमा गए, म भने युवा साथी, नुवाकोटे कवि आरएम् डंगोलको मोटरसाइकलमा यात्रामा निस्कें । कार्यक्रम भव्य थियो भन्नुपर्छ । त्यसमा खगेन दाइ र मैले अलिकति रंग थपिदियौं ।

उद्घाटन सत्रको मन्तव्यमा सुरुमै मैले प्रमुख अतिथि रहेका माधव घिमिरेलाई सम्बोधन गर्दै कविवर माधव घिमिरे र अरू सबै राष्ट्रकविहरू भनेर सम्बोधन गरें र ज्ञानेन्द्रका रक्तरञ्जित हातले दिएको जर्साहेबको खान्की स्विकारेमा भर्त्सना गरें । उता राष्ट्रकविको उपाधिले विभूषित घिमिरेलाई ज्ञानेन्द्रशाहीको मतियार सम्झेर एक दर्जनभन्दा बढी कालो झन्डा देखाइरहेका युवायुवतीले कागतका चिर्कटाहरूमा लेखेर भित्रपट्टि बसिरहेका खगेन्द्र संग्रौलामार्फत थरीथरीका प्रश्न सोधिरहेका थिए र उनी ती प्रश्न घिमिरेलाई गरिरहेका थिए । हाम्रा विपक्षी प्रश्नहरूको त्यति लामो जवाफको हामीले अपेक्षा गरेका थिएनौं, तर घिमिरेले झन्डै डेढ घण्टा हाम्रा विपक्षमा मञ्चबाट कुर्लेरै बिताए । तर, पछिल्ला भेटहरूमा घिमिरेले कहिल्यै पनि हामीप्रति तिक्तता पोखेको अनुभव भएन ।

मित्रवर्गले नुवाकोटको त्यस रातलाई मधुमय तुल्याइदिएपछि हामीलाई एक राम्रो अतिथिगृहमा लगियो र एउटा कोठामा तीन जनालाई मिलेर बस्न आग्रह गरियो । सुरुमा म कहिल्यै पनि यसरी साझा कोठामा नबसेको प्राणीलाई हनुमानढोका खोरका सम्झना दिलाउने गरी डर्मिटोरीमा राखियो भन्ने लागेको थियो, तर त्यो काम त वरदान साबित भयो । रात हाँसेरै बित्यो । यता म नेपाली साहित्यका केही अडबाङ्गे पात्रहरूका चर्तिकलाका बखान गर्दै थिएँ, मोहन दुवाल र संग्रौला पेट मिची–मिची हाँसिरहेका थिए । अर्थात् सुमधुर मित्र मिलन, मधुर मधुरसपान र खुला हाँसोले उनलाई सयौं मित्रको प्रिय बनाइदिएको हुनुपर्छ ।

तर, एकपटक भने विचरा खगेन्द्र बडो निरीह मुद्रामा देखिए । उनका ससुरा बितेपछि अनामनगरको तमुघरमा अन्तिम संस्कार हुँदै थियो । हरि रोका र म पनि सहानुभूति व्यक्त गर्न त्यहाँ पुगेका थियौं । भित्र बाजागाजाको शोकमय ध्वनि गुन्जिरहेको थियो, सायद पच्युहरू ससुराजीलाई ब्रह्मलोक पठाउँदै थिए । आफ्ना बाबाको पार्थिव शरीरनिर चमर पंख लिएर शोकग्रस्त जमुना भाउजू बसिरहेकी थिइन् । खगेन्द्र भने अछुतजस्तो निकै टाढा ढोकामा कुचुक्क बसिरहेका थिए । किन यसो ? भनी सोध्दा त उनी बिजाते परेर नजिक जान र भाउजूसँगै काजकिरिया संस्कारमा सहभागी हुन नपाएका रहेछन् । ससुराजीका अन्य ज्वाइँ भने संस्कारमा व्यस्त थिए । त्यसबेला प्रेमले जोडेको यो साइनोलाई परम्परागत संस्कारले कमजोर तुल्याइरहेको कारुणिक दृश्य देख्न सकिन्थ्यो ।

आफूले विश्वास गरेका मानिससँग अन्तरंग कुरा गर्न खप्पिस छन् उनी । त्यसैले मैले बन्दीपुरको टुँडीखेल हुँदे तीनधारेतिर ओर्लंदा सोधेको थिएँ, ‘कहाँकहाँ बसेर लभसभ गर्‍यौ त दाई, खुलस्त भन ।’ उनले भनेका खुलस्त कुरा मैले गोप्य राख्नुपर्छ तसर्थ उनको सास रहेसम्म ती आत्मवृत्तान्त म गोप्य राख्नेछु । उनका झिल्के जीवनशैली र भूमिगत लीलाबारे चुँदीरम्घातिरका मानिसले अभिलेख राखेका कतिपय प्रसंग जिउँदो मानिसले नै गर्ने युवासुलभ क्रियाकलाप हुन् भन्ने ठान्दछु म । नत्र त उनलाई नरुचाउने छात्रा वा गाउँले युवतीहरूको संख्या सायद थिएन । तर, उनी जमे जमुना गुरुङसँग ।

उनको काया सानो र पातलो छ । ३१ वर्षअघि एक विशेष काममा पाकिस्तान जाँदा भाउजू पनि मसँगै थिइन् । इस्लामावादबाट २० किलोमिटर दक्षिण रावलपिण्डी सहरको मुख्य बजारमा गएर छालाको ज्याकेट किन्ने काममा लाग्दा बल्ल उनको वास्तविक मोटाइ थाहा भयो । उनका लागि ज्याकेट छान्दा भाउजूले

भनिन्, ‘श्यामलजी, तपाईं लगाउनोस्, अनि तपाईंलाई धेरै साँघुरो भयो भने दाइलाई मिल्छ !’ भाउजूको साइज भने दाइको भन्दा डेडी माथि हुन सक्छ ।

अनगिन्ती प्रसंग छन्, जसले हाम्रो समयका बहुचर्चित लेखक खगेन्द्र संग्रौलाका विविध रूप, नाना अवतार र खतरनाक सोचको शृंखलाबारे राम्रोसँग प्रकाश पार्न सक्छन् । मन पराउनुस् वा नपराउनुस्, उनी सयौं विद्रोहीका आदरणीय गुरु हुन्, हजारौं विद्यार्थीका रोलमोडल मास्टर हुन्, हजारौंहजार शिक्षकका कुशल नेता हुन् । पढ्नुस् या नपढ्नुस््, उनको धारदार गद्यमा अद्भुत सम्प्रेषण शक्ति छ र उत्पीडित वर्गप्रति गहिरो संवेदनशीलता अनि पछाडि परेकाप्रति सहानुभूति । गाली गर्नोस् वा ताली बजाउनोस्, उनको वाक्कलाको तुलनामा अर्को उत्कृष्ट शैलीको वाक्–कलाकार फेला पर्नु दुर्लभ छ ।

संग्रौला आफैंले प्रसिद्धि दिलाएको ‘गोपीक्याँच’ लाई आधार बनाएर भन्ने हो भने ‘उनी कोही होइनन्’ भनी बजारमा गफ गर्न त सकिएला, तर उनको लेखनको रूप, विद्रोही छटा र भव्य वक्तृत्वको मूल्य बुझ्नेले कहिल्यै उनलाई ‘गोपीक्याँच’ बनाउन सक्तैन ।

प्रकाशित : जेष्ठ २७, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?