ज्ञाने : पारिजातले रोजेको बाटो- कोसेली - कान्तिपुर समाचार

ज्ञाने : पारिजातले रोजेको बाटो

धुलिखेलको नवरंग होटलका पूर्णमान श्रेष्ठको जीवनकथा थाहा पाएपछि पारिजातले उपन्यास लेखिन्– ‘उसले रोजेको बाटो’ (२०३५) । पूर्णमानको संघर्षपूर्ण जीवन, दुःख र हन्डरलाई विषय बनाइन् उनले । र, एक पात्रको जन्म भयो– ज्ञाने । पूर्णमान अर्थात् ‘नवरंग दाइ’ त्यसपछि ‘उसले रोजेको बाटो’ मा ज्ञाने भए ।
‘उसले रोजेको बाटो’ पूर्णमानका निम्ति केवल उपन्यास होइन, आफ्नो संघर्षपूर्ण जीवनको गाथा पनि हो ।
शुकदेव थपलिया

धुलिखेलको नवरंग होटलमा झुन्ड्याइएका अनेक पेन्टिङबीच लेखक पारिजातको पनि एउटा पोट्रेट छ । होटलका मालिक पूर्णमान श्रेष्ठले यसको मूल्य तोकेका छन्– १ करोड रुपैयाँ । पोट्रेटमा घाँटीमा हरियो सल बेरेकी, चस्मा लगाएकी छन् पारिजातले र अँध्यारो पुस्तकालयभित्र आफैंले लेखेका किताबले घेरिएकी छन् । धुलिखेलकै कलाकार चिरञ्जीवी माकजूले बनाएको यो पोट्रेटमा घोरिँदा धेरैथरी विचार र प्रश्नको जन्म हुन्छ ।

खासमा पारिजाताको यो पोट्रेट पूर्णमानले बिक्रीकै लागि झुन्ड्याएका होइनन् । गम्भीर मुखाकृतिको पारिजातको त्यो पोट्रेट त्यहाँ झुन्डिनुपछाडि पूर्णमानको ‘पारिजात कनेक्सन’ छ । त्यो कनेक्सन कुनै भक्त वा भगवान्को भन्दा कम छैन । यद्यपि भौतकवादी विचारका पूर्णमान र पारिजात दुवैका लागि यो उपयुक्त उदाहरण नहुन सक्छ । तर, सामान्य भाषामा यसै भन्न सकिन्छ ।

विसं २०३५ मा प्रकाशित उपन्यास ‘उसले रोजेको बाटो’ पारिजातले रोजेको कम्युनिस्ट विचारधाराको द्वार थियो । ‘शिरीषको फूल’ मा आफैंले लेखेको चिन्तनलाई अस्वीकार गरी उनले मार्क्सवादी विचारको बाटो हिँड्न रुचाइन् । त्यो उपन्यास पूर्णमानका लागि आफ्नो जीवनजत्तिकै प्रिय छ । किनभने पूर्णमानको जीवनलाई पारिजातले त्यस उपन्यासमा लेखेकी छन् । बालककालदेखि अनेक हन्डर–दुःख झेलेका पूर्णमानलाई ‘उसले रोजेको बाटो’ मा पारिजातले नायक बनाएकी छन् ।

लेखक मोहन दुवाल भन्छन्, ‘पारिजातले उसले रोजेको बाटो उपन्यास पूर्णमानलाई नै मुख्य पात्र बनाएर लेख्नुभएको हो । त्यतिबेला पारिजातले त्यो उपन्यास धुलिखेलमै लेखिसक्नुभयो । उपन्यासको ज्ञाने भन्ने मुख्य पात्र पूर्णमान नै हो भन्ने हामीले त्यतिबेलै पारिजातबाट थाहा पाएका थियौं ।’

लेखक गोविन्द गिरी प्रेरणाको किताब ‘सुश्री पारिजात’ मा पनि पारिजातको उपन्यास ‘उसले रोजेको बाटो’ को रचनागर्भ लेखिएको छ, ‘धुलिखेलमा भेटिएका नवरंग होटलका नवरंग दाइका रूपमा परिचित पूर्णमान श्रेष्ठको जीवनकथा थाहा पाएपछि उनकै जीवनकथाको आधारमा पारिजातले उपन्यास लेख्ने मन बनाइन् । पूर्णमानको संघर्षपूर्ण जीवन र उनले जीवनमा पाएका हन्डरहरूले पारिजातको मानसपटलमा एउटा पात्रको जन्म भयो– ज्ञाने । पूर्णमानको जीवनकथा र त्यसमा आख्यानलाई घुलन गरेर पारिजातले उसले रोजेको बाटो उपन्यास लेखनकार्य सम्पन्न गरिन् । ...होटल नवरंग खोलेपछि नवरंग, नवरंग दाइ उपनामले परिचित पूर्णमान अब उसले रोजेको बाटोमा ज्ञाने भए,’ (पृष्ठ. १८८, १८९) ।

‘उसले रोजेको बाटो’ को मुख्य पात्र ज्ञानबहादुर (ज्ञाने) हो । त्यही ज्ञानेले झैं सानैमा आमा गुमाएका पूर्णमान अनेकतिर भौंतारिँदै कलकत्ता पुगे । कलकत्तामा ज्ञानेले जस्तै होटलमा काम गरे । क्रिस्चियन धर्म प्रचारक बने । पछि ज्ञानेजस्तै नेपाल फर्किए । यही दौरान उनी ज्ञानेले झैं आफूले अँगालेका या गर्न बाध्य सबै कामप्रति अनाकर्षित र असन्तुष्ट थिए । र, अन्तिममा उनले पनि ज्ञानेले जस्तै एउटा नयाँ बाटो रोजे ।

वास्तवमा यो उपन्यास पूर्णमानका निम्ति उपन्यास मात्रै होइन । उनको संघर्षपूर्ण जीवनको एउटा वयको गाथा पनि हो ।

पूर्णमानको जीवनको अधिकांश समय भौंतारिएरै बित्यो । चन्चल र अस्थिर स्वभावका पूर्णमान पारिजातको पात्र ज्ञानेजस्तै कहिले कता पुगे, कहिले कता । अनेक मान्छेसँग संगत गरे । अनेक काम गरे । दुःख, हन्डरहरू त उनका बालसंगाती नै थिए । समय फेरिएसँगै पूर्णमानका दुःखका रंग मात्रै फेरिए, ती सुखमा परिवर्तन भएनन् । अहिले ७६ वर्षको बुढ्यौलीमा आफू हिँडेको बाटो फर्किएर हेर्दा पूर्णमान स्वयम्लाई त्यो बाटो लामो उपन्यासजस्तै लाग्छ । सायद पारिजात बाँचिरहेकी भए यी पात्रको दोस्रो हन्डरलाई पनि उपन्यासमा उतार्ने थिइन् कि ! कथा र पात्रहरू यत्रतत्र छन् । त्यसलाई सँगााल्ने र दुःख पढ्ने मानिस कतै भेटिन्नन् । भेटिएका पनि ती पात्रका दुःख पढ्न चाहँदैनन् । किनभने समय फेरिएको छ, पारिजातहरू अहिले छैनन् ।

पूर्णमानका दुःखको शृंखला लाग्छ, अनन्त छ । बाल्यकालदेखि नै दुःख र हन्डरलाई साथै लिएर कहिले लामोसाँघु, कहिले बौद्ध, कहिले कलकत्ता त कहिले धरान पुगेका पूर्णमानको जीवन थोरै व्यवस्थित भएपछि फेरि उनलाई पारिवारिक दुःखहरूले घेरे । जवान छोरालाई सेनाले बेपत्ता बनाइदियो । विगत २९ वर्षदेखि छोरा फर्किएर आउने सुखान्त दिनको पर्खाइमा छन् । मनमा जमेको पीडा लुकाएर बाँचिरहेका पूर्णमान छोरा कुरिरहेका छन् ।

चाउरिइसकेको अनुहारमा सेतै फुलेका दारी–कपाल, करुणामय आँखा, टाढाको दृश्य देख्न लगाइएका चस्मा, चिसो छल्ने गलबन्दी, बाक्लो सर्ट, पाइन्ट ! मैले भेट्दा यही हुलिया थियो उनको । यो माघमा चिसोबाट जोगिने प्रयत्नमा छन् यी वृद्ध । तर, उनको मनमा चिसो त उहिल्यै पसिसकेको छ । अब उनको मनको चिसो पग्लिन उनले कुरिरहेको, सेनाले बेपत्ता पारिदिएको उनको छोरै आउनुपर्छ ।

...

धुलिखेलको सञ्जीवनी बजारमा पर्छ– पूर्णमानको घर । उनको जन्मचाहिँ यहाँबाट थोरै तल चौकोटमा विसं २००४ मा भएको हो । आफ्नी आमाको नाम थाहा छैन उनलाई । नागरिकतामा बाबुको नाम राखिने भएको हुँदा बाबु पद्ममान श्रेष्ठको नामचाहिँ थाहा छ । लेखनदास काम गर्ने बाले उनी जन्मेको एकै वर्षमा अर्की स्वास्नी ल्याए । दुई वर्षका पूर्णमानलाई छाडेर आमा अर्कैसँग हिँडेपछि आजसम्म उनले आमाको अनुहार देखेका छैनन् । आमा नभएका पूर्णमान कहीँ गोठालो, कहीँ भरिया, कहीँ हली हुँदै हुर्किए । पढ्न पाउने त कुरै भएन । त्यसैले उनी प्रायः नजिकैको मामाघरमै हुर्किए ।

पूर्णमानका आफन्तहरू धनी थिए । तर, उनीचाहिँ सहाराविहीन र गरिब । स्याहार नपाएको बिरुवाझैं थियो उनको हुर्काइ । फलस्वरूप उनको व्यवहार पनि रूखो, उद्दण्ड र झगडालु थियो । सानैदेखि खलाँसी बने । यही क्रममा कसोकसो उनी धरान पुगे । त्यहाँ एक ठाउँमा काम पाए । ६ महिना काम गरेको बीस पैसा पारिश्रमिक बोकेर ट्रक चढेर हिँडे । त्यही ट्रकमा केही समय काम गर्दा रक्सौल, वीरगन्ज हुँदै कलकत्ता पुगे । कलकत्तामा ९ वर्ष बिताए ।

कलकत्तामा उनले दुःख गरे । अरू नेपालीका दुःख पनि देखे । कलकत्ता र नेपाल गर्ने क्रम चलिरह्यो । उनी यायावरझैं जो थिए । एकपटक बौद्धका गणेशबज्र लामाकहाँ ‘नोकर’ भएर पनि बसे । लामा श्रीमतीका सोखिन थिए । पछि सिन्धुपाल्चोक लामोसाँघुमा पनि बसे । अन्याय सहन नसक्ने, प्रतिकारमा उभिइने स्वभावका थिए उनी । आफूसित निहुँ खोज्ने एक केटाको दाँत झारिदिएछन् । झगडा गर्दै, मीत लगाउँदै गरेका घटनाका स्मृति कति हो कति छन् । तर, आजसम्म पनि लगाइएका मीतहरू फर्केर भेटेका छैनन् ।

बालापनमा उनलाई बोलाउने नाम धेरै थियो । कसैले भाञ्जा भने, कसैले कान्छा, बहादुर, साथी, कहीँ सेन्ट्रिफ्ल्याट रे ! के–के नाम राखिदिए केके ? तर, उनले रुचाएको नामचाहिँ उनै होटलले नै दिएको छ, अर्थात् नवरंगका पूर्णमान श्रेष्ठ वा नवरंगका बा । यो नाम उनलाई लामोसाँघुका साथीहरूले दिएका हुन् । त्यसो त पूर्णमान अर्थात् नवरंगले जिन्दगीका सबै रंग भरपूर भोगे । तर, अचेलचाहिँ नवरंगमा उमंग र रंगहरू मेटिएजस्तो उराठलाग्दा उदासी र अत्यासलाग्दा कथा मात्रै छन्– थानका थान ।

यी नवरंगले होटलको काम कलकत्तामै सिकेका । तर, आफू होटल व्यवसाय गर्छुजस्तो लागेको थिएन । विनायोजनै उनी यो लाइन समाउन पुगे । काठमाडौंमा एउटा होटलमा पार्टनरबीच असमझदारी भइरहेको रहेछ । तिनमा उनका साथी पनि थिए । त्यो देखेर उनले केही समयका लागि होटल जिम्मा लिए । तर, एक हप्तामा पैसा लिएर आउँछु भनेर उम्केको साथी अहिलेसम्म फर्किएर आएका छैनन् । त्यसपछि उनी आफैंले चलाउन थाले त्यो होटल । र, पछि त्यही होटल धुलिखेल सारे ।

धुलिखेलले पूर्णमानलाई नयाँ चेतनाको रंग दियो । प्रगतिशील माहोलमा पूर्णमान पनि मिसिन पुगे । यही क्रममा विसं २०३० को दसैंमा पारिजातसँग भेट भयो उनको । प्रसिद्ध साहित्यिक पत्रिका ‘वेदना’ का सम्पादक तथा प्रकाशक दिल वरदान र सुवास श्रेष्ठमार्फत पारिजातसँग नजिक भए उनी । पारिजातले पूर्णमानको जीवनी पूरै खोतलिन् । त्यतिबेला उनलाई त्यो सामान्य कुराकानी मात्रै होला भन्ने लागेको थियो । तर, पछि आफ्नो जीवनकथा उपन्यासको रूपमा आउँदा उनलाई अर्कै किसिमको खुसी मिलेको थियो । त्यसले उनलाई जीवनबोध दिएको थियो ।

सुरुमा धुलिखेल आउँदा छात्रावासमा बस्ने पारिजात नवरंगसितको चिनजानपछि उनकै होटलमा बस्न थालिन् । एक दिन पूर्णमानको कोठामा पेन्टिङहरू देखेर रिसाउँदै भनिन्, ‘नवरंगजी ! तपाईंको यस्तो आर्ट रहेछ, मलाई देखाउनु पर्दैन ? लौ यसलाई म एक्पोज नगरी जाँदिनँ ।’

तर, त्यसपछि पारिजात (पूर्णमानका लागि दिदी) कहिल्यै फर्केर आइनन् ।

पूर्णमानको मनमा पारिजातप्रति अति सम्मान र श्रद्धा छ । पारिजात उनलाई ‘लामो बाटो हिँड्दा भेटिने चौतारीजस्तै’ लाग्थिन् । उनलाई आफूजस्तो मान्छे पारिजातको कृतिको पात्र बन्नु गौरवको कुरा लाग्छ । पारिजातसँगको पूर्णमानको सम्बन्ध भावनात्मक मात्रै नभई वैचारिक पनि हो । ‘उहाँले बोकाएको विचारको झोला मैले फाल्न सकेको छैन । यो शरीर र आत्मा रहेसम्म पनि भिरिरहनेछु म त्यो विचारको झोला,’ पूर्णमान दृढ सुनिन्छन् ।

आमाले छाडेर गएदेखि नै महिलाप्रति पूर्णमानकोे दृष्टिकोण नकारात्मक थियो । पछि पारिजातसँगको सान्निध्यले त्यो दृष्टिकोण बदलियो । उनलाई चेतना भयो– ‘नारीहरूलाई धोका दिनुहुँदैन ।’ पारिजातसँग उनको भावनात्मक निकटता कतिसम्म छ भने पारिजात उनलाई आफ्नो वरिपरि नै छिन्जस्तो लाग्छ । ‘समस्याहरू पर्दा पनि पारिजात दिदीको फोटो हेर्छु । यसले एक किसिमको ऊर्जा पनि दिन्छ । । दिदीका लेख, किताबहरू पढ्छु । हरक्षण हरसमय उहाँसँगै छुजस्तो लाग्छ, त्यसैले यो पेन्टिङ देख्नेगरी राखेको छु, कहिले पनि टाढा नहुनेगरी । उहाँलाई देख्दा एक किसिमले जीवन मोडियो । धेरैलाई जस्तै उहाँले मलाई पनि परिवर्तन गर्नुभो । दिदीले जित्नुभो, मैले त्यो छट्टु जीवन छोडेँ ।’

नवरंग रेस्टुरेन्टमा झुन्डिएको पारिजातको पेन्टिङ धेरैचोटि अरूले लैजान खोजे । तीन–चार लाख रुपैयाँसम्म दिने मान्छे पनि आए । तर, उनले त्यो पेन्टिङ बेच्ने कल्पनासम्म गरेका छैनन् । बेच्न आग्रह गर्नेलाई टार्न उनले त्यसको मूल्य एक करोड भनिदिएका मात्रै हुन् । त्यो त उनका लागि अमूल्य छ ।

कुनै बेला धुलिखेलमा होटल भनेकै नवरंग थियो । मान्छेको भीड लाग्थ्यो । विसं २०४२ को नगरपञ्चायतको चुनावमा साथीहरूले जनपक्षीय भनेर उपप्रधानपञ्चमा उठाइदिएपछि उनको व्यापार खस्कियो । मान्छेहरूले भने– कहाँकहाँबाट आयो र हाम्रो भाग खोस्न खोज्यो । चुनावमा जम्मा तीन सय भोट पाए । प्रतिस्पर्धी थिए उनकै बाका साथी भीमनाथ श्रेष्ठ ।

...

विसं ०६१, पुस १५ गतेको साँझ पूर्णमानको घरमा सेना छापा मार्ने शैलीमा आयो । उनका छोरा सगुनलाई सेनाले घेरा हालेर सोधपुछ गर्न थाल्यो । सेनाले होटलमा उधारो खान्थ्यो । त्यसैको हिसाबकिताब माग्दा सामान्य विवाद पनि भयो । त्यो विवादको कारण छापा मारिएको हो भन्ने सबैको बुझाइ थियो । कहिले सेनाले तर्साउने, कहिले माओवादीले तर्साउने ! पूर्णमान डराएनन् । तर, छोरा बेपत्ता भए । सेनाले नै आँखामा पट्टी बाँधेर धोक्रोमा हाली बाँधेर लगेको देख्नेहरूले सुनाएका थिए पूर्णमानलाई । परिवारमा बुहारी र श्रीमतीको रुवाबासी चल्यो । २७ वर्षको उमेरमै बेपत्ता पारिएका छोरा सगुन श्रेष्ठ अहिलेसम्म सम्पर्कमा छैनन् ।

छोरा खोज्न धेरै ठाउँ धाए पूर्णमान । उनलाई टेलिफोनबाट धम्की आइरहन्थ्यो । अहिले पनि फोनको आवाज सुन्दा तर्सिन्छन् उनी । त्यसैले बेलुकीपख फोन बन्द गरेर बस्छन् पूर्णमान । प्रहरीको साइरनले पनि उनलाई विगतमा फर्काउँछ ।

केही वर्षसम्म त उनी यस्तो सोचेर चित्त बुझाउँथे– छोरो खाना बनाउन जान्दछ । सेनाकै कसैले खाना बनाउन राखेका होलान्, फर्काउलान् । छोरा सगुनलाई सेनाले लगेको देख्नेहरू कत्ति त बितिसके । पूर्णमानले पटक पटक सेनासँग कुराकानी गरेका थिए । तर, सेना जहिले पनि गैरजिम्मेवारीपूर्ण जवाफ दिन्थ्यो– ‘चेन अफ कमान्ड नै बिग्रेको समय कसले लग्यो थाहा छैन ।’ समाचार र सरकारसँग विश्वास गर्न सकिने समय पनि थिएन त्यो । पूर्णमान निरीह र बेसहारा भएर छोराको खोजीमा यताउता भौंतारिए पनि छोराबारे केही पनि जानकारी मिलिरहेको थिएन । सगुनका एक छोरा, एक छोरी छन् । बुहारी दुर्गा श्रेष्ठ अहिले जागिर गर्छिन् । २७ वर्षे सगुनलाई सेनाले लैजाँदा १० वर्षका छोरा सौगात अहिले ठ्याक्कै २७ वर्षका भए । छोरी सोनु २५ वर्षकी छिन् । पूर्णमानकी कल्याणी नामकी एक छोरी थिइन् । लगातार पाँच छोरीको जन्मपछि कल्याणीले पनि आत्महत्याको बाटो रोजिन् । त्यसपछि पूर्णमान दम्पतीको जीवनमा अर्को सन्तान शोक थपियो । ज्वाइँले अर्की स्वास्नी ल्याएपछि पाँचै नातिनी मामाघरमै हुर्किए । तर, दुःखान्तको यो शृंखला सकिएको थिएन । उनकी कान्छी नातिनीले पनि १६ वर्षको उमेरमा झुन्डिएर आत्महत्या गरिन् ।

१८ वर्षअघि सेनाले लगेको छोरो अहिले ४५ वर्षका भए । पूर्णमानकी श्रीमती लक्ष्मी सधैं भक्कानिन्छिन् । तर, पूर्णमानको मनमा छोरा फर्कने आशाको एउटा दियो अझै धिपधिपाइरहेकै छ ।

प्रकाशित : माघ १४, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

युँ : एक ‘सामान्य ढुंगा’ को वृत्तान्त

युँमा हुने पराबैजनी किरणको प्रभाव, रुखको जरामा हुने फस्फोरस र अक्सिजनबीचको प्रक्रियाबाट उत्पन्न उज्यालो हाम्रो अध्यात्मको थालनी हो ।
सौरभ

युँ भन्छौं नेपालीमा, यु/युँ भन्छन् चिनियाँहरू, त्यसैलाई युँ भन्छन् मुस्ताङको उत्तरी भेगका लोबाहरू । एक अर्धबहुमूल्य प्रस्तर हो । अंग्रेजी नाम जेड स्पेनिस मूलको मानिन्छ । तर, त्यो युँबाटै बनेको स्पष्ट छ– ‘अ’, ‘ह’ लाई स्पेनीमा ‘ज’ लेख्ने चलनले । यसै पनि युरोपले युँलाई सोह्रौं शताब्दीसम्म चिनेकै थिएन ।

युँ शेर्पा र थकालीहरूले जेलाई भन्छन् त्योचाहिँ टर्क्वाइज हो । हिमाली भेगमा त्यो आइपुगेको ५ सय वर्ष पनि भएको छैन । अर्थात् सक्कली युँलाई टर्क्वाइजले विस्थापित गरिसकेको छ । यद्यपि अंग्रेजीको जेम शब्द बनेको युँबाटै हो, जवाहरातको जवा शब्द बनेकै युँबाट हो । हरियो चाहिँ युँ, सेतो चाहिँ दर्सनढुंगा मान्ने चलनले गर्दा युँ चाहिँ जेड हो, दर्सनढुंगा चाहिँ क्वार्ज हो भन्ने लाग्न गएको हो धेरैलाई । युँ सेतो रङको पनि हुन्छ र प्रशस्तै पाइन्छ ।

युँ – अन्यत्र

युँको चिनियाँ अर्थ हो स्वर्गको बहुमूल्य प्रस्तर । युँ जापानको राष्ट्रिय प्रस्तर हो, राष्ट्रिय फूल, चरा आदि भनेजस्तै । जापानले कम्तीमा ७ हजार वर्षदेखि जेडको प्रशस्ति गर्दै आएको छ ।

युँ त्यसैगरी पूजित छ ब्रुनेई, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, क्याम्बोडिया, मलेसिया, कोरिया, म्यानमार र फिलिपिन्समा पनि । फिलिपिन्समा यसको उत्खनन/प्रशोधन गर्नेहरू सबै सनातन मतकै प्रकृतिवादी हुने गर्छन् ।

प्रतिष्ठाको प्रतीक हो यो न्युजिल्यान्डका रैथाने माओरीहरूका निम्ति पनि । मान हो यसको स्थानीय नाम । माओरीहरू दक्षिण पूर्व एसियाबाट १३ हजार वर्षअघि न्युजिल्यान्ड पुगेको मानिन्छ ।

उत्तर अमेरिका र दक्षिण अमेरिकाबीचका रैथानेहरूमा पनि यो सम्मानजनक प्रयोगमा छ । मेक्सिकोमा भएको पुरातात्त्विक अध्ययनले मानिसहरू त्यहाँ ३७ हजार वर्षअघि नै पुगिसकेको देखाएको छ । माया, एजटेक र इन्का मध्यअमेरिकी सभ्यता हुन् । तीमध्येको सबैभन्दा पुरानो मायामा याक्तुँ हो यसको नाम । अब थाहा हुन्छ यसको संस्कृति त्यहाँ कहाँबाट गएको हो ।

लुङ–एक

विवाहित महिलाहरूले पहिरिने पोते उनिएको एकसरो धागोलाई लुङ भनिन्छ । त्यसको यथार्थलाई बुझाउन तलका दुई हरफ बाँध्नु जरुरी छ ।

उमा अन्यका र युम्मा लिम्बूहरूका निम्ति देवी हुन् । उमे मंगोलिया, कजाकस्तान, उज्वेकिस्तान लगायत टर्कोमान नस्ल यावत् थेङ्ग्री मतका अनुयायीहरूकी देवी हुन् । थेङ्ग्री शब्द थुहर (पाटे सिउँडी/त्रिशूल) बाट आएको हो । थेङ्ग्री मतका अनुयायी चङ्गेज खाँका नाति हलाकुको राजकीय निसान नै त्रिशूल हो ।

यिन हुन् चीनको दाओइजम/ताओइजम अनुयायीहरूको यिनयाङमध्येकी देवी । दाओइजम संस्कृत देववादकै चिनियाँ रूप हो । यसको मुख्य देवता पाङखु अर्थात् शिव हो, जसलाई धनकुटाका अठप्रे राईहरू पाङदाङवाका नामले बिसु चाडका दिन (वैशाख १) पूजा गर्छन् । दुराहरूको नारखु (शिव) मा परेको खु.पानीका निम्ति हो । त्यसैको खु पाङखुमा आएको हो । यसलाई संस्कृत साहित्यले शिवको पर्यायवाची पिनाक बनाइदिएको छ ।

अर्थात् तिब्बती शब्द ल्हा (देवता) + युँको माला पहिरिएर विवाहपछि उमामा परिणत हुने परम्परा हो नेपाली महिलाहरूको । यो कसैले (पुरानो कान्तिपुरमा कमल दीक्षितलाई उद्धृत गर्दै माधव प्र. पोखरेल) ले लेखेजस्तो मुसलमानी चलन आइलागेको होइन । पोते शब्द पतिबाट आएको हो, विवाहितले मात्र लगाउँछन् यो । यसैबाट बरु अंग्रेजीको लकेट हुन जाने हो । शेर्पा महिलाहरू पनि भन्छन्— उनीहरूको गहनामा युँ हुनु अनिवार्य छ । अर्थात् जुन महिलाले युँ पहिरिने अधिकार पाएकी छिन् ती उमा हुन् भन्ने हामीले बुझ्नुपर्छ ।

पोते आयातको नेपाली स्रोतकेन्द्र सीमापारिको फैजावाद हो, जहाँका अधिकांश उत्पादक र वितरक मुसलमान हुने गर्छन् । त्यसैले भ्रम बनेको हो माथिको । पोते इन्डियामा उत्पादन हुन थालेको २ हजार वर्ष भइसक्यो, जति बेला इस्लाम धर्म जन्मिएकै थिएन । आरन वा ज्यासलमा झुक्किएर चुराको टुक्रा पर्‍यो र त्यो पग्लिएर गोलो बन्यो भने लोल भन्ने गरिन्छ । त्यसबाट पनि लुङ शब्दको मौलिकता थाहा हुन्छ । चुरा त संस्कृतको चूर्णबाट आएको हो । यसैले चुराकै नाम पनि एक युगमा लुङ थियो भन्ने संकेत मिल्छ ।

उमा शब्द २५ सय वर्षअघिको केनोपनिषद्मा पहिलोपल्ट उल्लेख भएको छ । यो सामवेदको एक अंग हो । यसर्थ ऊ+मा अर्थात् ‘ए (चकचक) नगर’ बाट उमा भएको हो भनी चौथो शताब्दीमा लेख्ने कालिदास (कुमार सम्भव) र त्यसैको अनुसरण गर्ने दसौं शताब्दीको ब्रह्म पुराणका व्यास दुवै गलत ठहरिन्छन् ।

लुङ–दुई

ल्हा+युँकै कारणले ढुंगालाई नेवारहरूले लोहँ र राई लिम्बूहरूले लुङ जसरी भन्ने गरेका छन्, संस्कृतको फलामबोधक लोह शब्द बनेकै यसैबाट हो । पाषाण युगपछि आएको हो धातु युग पनि ।

लुँ भन्छन् नेवारहरू सुनलाई । ल्हा+युँबाटै आएको हो । किनभने ग्वाटेमालामा प्राचीन मायानहरूले शवको मुखमा युँका दाना हालेर अन्तिम संस्कार गरेको पाइएको छ । मृतकको मुखमा सुनका टुक्रा हालिदिने प्राचीन नेवार चलन हो । अर्थात् दैवी भन्ने अर्थका कारण युँलाई सुनले विस्थापित गरेको मात्र हो । मगरहरू अहिले पनि शवका छातीमा तामाको टुक्रा राखिदिन्छन् । तर, लोह शब्द वैदिककालमा तामाका निम्ति प्रयोग हुन्थ्यो भन्ने कुरा धेरैले लेखिसकेका छन् ।

थकाली, शेर्पा र नेवारहरूमा सुनको दाँत हाल्ने पुरानो युगको चलन वैभवको भद्दा प्रदर्शन ठान्ने गरिए पनि अन्त समयमा लुँ मुखमा परोस् भनेर गरिएको पूर्वतयारी हो भन्ने बुझ्नुपर्छ ।

लुङ–तीन

सुप्तुलुङ राईहरूको चुल्होको नाम हो । त्यसका तीनतिर हुने तीन लुङ (ढुंगा), राई समुदायबीच हुने अनगिन्ती नामहरूको क्रम, ती स्थापना गर्ने नियमका बारे एक छुट्टै पुस्तक नै दुई राईहरूले लेखेका छन् ।

मूल चुरो के छ भने ती तीन लुङबीच बल्ने आगो सबैभन्दा पवित्र मानिन्छ, त्यसको नजिक पुग्न समुदायबाहिरकालाई वर्जित छ । त्यसको आन्तरिक कारण तल आउने ‘ऊर्जा एक’ ले दिनेछ ।

एउटा कुराचाहिँ जोडिहालौं– राईहरूमा यति धेरै समुदायहरूको विकास नदीले छुट्याएको ससाना भूभागहरूले गर्दा भएको होइन । त्यही ल्हा+युँमा निहित शक्तिको पवित्रतालाई झन्झन् जोगाउने यत्नमा पारिवारिक दूरी बढ्दै समुदायहरूको विकास भएको हो । ल्होसार होइन ल्हा+युँ+सार (जनावर) हो । ‘ल्होँ’ उल्लेख हेरे हुन्छ । (पेज २५ लमजुङको सेरोफेरो – धर्मराज थापा) ।

संस्कृतको यात्राबाट नेपालीमा जात्रा हुँदै, पश्चिम नेपालमा जाँत भएको हो ? भन्ने प्रश्न गर्‍यो भने सोझै बुझिन्छ— यात्राबाट जाँत भएको होइन, जाँतलाई यात्रा बनाइएको हो ।

उपकरणको कालक्रम

घुयँत्रोको बीचमा परेको यँले टड्कारै भन्छ सिकारी युग (हन्टर एन्ड ग्यादरर एज) को उपकरण थियो युँ । तर, युमालुङ हो जाँतो चाम्लिङ राई भाषामा । यसले देखाउँछ युँ हो नेपाली भाषाको जाँतोको मूल रूप– कृषि युग आएपछिको उपकरण ।

त्यसमा लोहोरो शब्द थपेपछि बुझिन्छ ल्हा+युँको रूपान्तरण हो त्यो । त्यसमा विभाजन रेखाचाहिँ छ— घुयँत्रोले पूर्वपाषाण युग संकेत गर्छ र जाँतो र लोहोरोले उत्तरपाषाण युग ।

यही युमा संस्कृतको हिमवन्त, हिमालय र लिम्बूको हिमसाम्माङ बन्न जाने हुन् । स्कन्द पुराण पेज ७४६ मा भन्छ पनि— हेमन्तमा हिमालमा हिमपात हुन्छ ।

लोङमा

चोमोलोङमा (सगरमाथा) मा परेको लोङमाको खास अर्थ हुन्छ– ल्हा (देवी)+युँ (उमा) + मा (आमा) अर्थात् पूरा नाम पृथ्वी माता देवी उमा आमा । यसैगरी लाङटाङ लिरुङ, मकालु, माकालुङ, आमादब्लम आदिआदि अनगिन्ती नामहरू निर्माण हुन्छन् । धवल+युँ– दर्सन र ढुंगा दुवै शब्दको पूर्वरूप हो भन्ने कुरा पश्चिम तराईका थारूहरूले धवलागिरिलाई भन्ने ढारागिन र दुङ्माली राईहरूले पूरै हिमालयलाई भन्ने ढिनारलुङबाट थाहा हुन्छ ।

स्थाणु

स्थाणुको अर्थ ढुंगा र शिव दुवै हो संस्कृतमा भनेर धेरै पटक लेखिसकियो । स्पष्ट छ संस्कृतले इस्ट . माटोमा युँ जोडेर स्थाणु बनाएको छ । यसैबाट संस्कृतको स्थान, नेपालीको ठाउँ, ठेगान, हिन्दीको वतन, पता, अंग्रेजीको स्टेसन, स्टोन, स्टेन, स्टिन, स्टिभिन, टाउन, टन (जस्तै ह्याम्पटन, वेलिङ्टन) बन्न गएको छ । नेपालीमै पनि खोटाङ, बोगटान, लेटाङ, भ्राताङ, मुस्ताङ, लोमान्थाङ, किमाथाङ्का र नेवारीको मटान यसैका नतिजा हुन् । तर, २५ सय वर्षअघि गीताको प्रादुर्भावले नेपाली परम्परा कसरी बिथोलियो भन्ने कुरा तलका दुई पंक्तिबाट बुझ्नुपर्छ ।

ढुंगो र दुबो छोएर शपथ खाने चलन थियो । (नेपालको धार्मिक इतिहास– जगदीशचन्द्र रेग्मी) अमाली सुब्बाहरूले दोषीलाई दर्सनढुंगा र दुबो छुवाएर शपथ खुवाउनुपर्थ्यो । (पेज १९५ तेह्रथुम जिल्लामा सुबांगी प्रथा– भगिराज र शेरबहादुर इङनाम) का यी पंक्तिहरू स्पष्ट भन्छन्– गीता पाञ्चालीको स्थापनापछि उपत्यकामा ढुंगालाई, युँलाई देवता मानेर खानुपर्ने शपथको प्रणाली छुट्यो र गीता छोएर शपथ खाने चलन आयो । जसलाई त्यसको लगभग ५ सय वर्षपछि इसाईहरूले बाइबल छोएर शपथ खाने गरी अनुसरण गरे, त्यसको पनि लगभग ७ सय वर्षपछि इस्लामहरूले पनि कुरान छोएर शपथ खाने गरे ।

जेन र जैन

माथि अंग्रेजीको जेम र जनजिब्रोको जवाबारे लेखियो । युँको प्रशस्ति गर्ने जापानको एउटा धर्मलाई जेन बुद्धिजम भन्ने गरिन्छ । यसैले त्यसलाई बुद्धिजम भनिए पनि जापानको धर्म शिन्तो, हिन्दुकै अपभ्रंस हो भन्दा नेहरू (उनको डिस्कभरी अफ इन्डिया) गलत ठहरिँदैनन् । त्यो आएको छ नै युँबाट ।

लुङ्दर विशेषगरी बौद्धमार्गी शेर्पाहरूबीच प्रचलित धर्मध्वजा हो । तर, नामार्थमा जाने हो भने यो शिवध्वज नै हो ।

जिना अर्थात् महान् विजेताबाट जैन शब्द बनेको हो भन्छन् त्यसका अनुयायीहरू । तर, त्यस्तो बुझिँदैन, जापानी जेन जस्तै युँको अर्को रूपान्तरण बुझिन्छ । किनभने ॐ जैनहरूको पनि प्रमुख चिह्न हो । युँलाई पवित्र मान्ने र युँबाट नै रुपान्तरित बोनका यावत् धर्मावलम्बीको मन्त्र नै ‘ॐ मणि मन्त्रये स्वस्तिकः’ हो । ॐ मणि पद्मे ॐ त बौद्ध धर्मावलम्बीहरूकै मन्त्र हो । अणुव्रत जैनहरूको एक अनुशासन हो । ‘न’ लाई ‘ण’ बनाउने संस्कृत नियमले त्यसो भएको हो । संस्कृतको पिष (पिस्नु) + युँबाटै पाषाण आएको छ । मणिको स्रोत तल ‘ऊर्जा दुई’ मा दिइएको छ । एक ऊँकार मन्त्र हो सिखको पनि ।

यो कुरा दर्सनढुंगा र कैलाश दुवैका निम्ति तामाङ पर्यायवाची युमाबाट थाहा हुन्छ । किनभने ॐ मान्ने जति सबैले कैलाशलाई मान्छन् ।

युँ+सार्तुक (शेर्पा भाषामा दर्सनढुंगा), सिरवालुङ (याम्फु राई भाषामा कमजोर ढुंगा), सेर्मोल (नाछिरिङ राई भाषामा सानो ढुंगा), सेरोम (कुलुङ राई भाषामा सानो ढुंगा), सेरुम (लिम्बू भाषामा दर्सनढुंगा), मीस्यार (बाहिङ राई भाषामा झिल्का) . ईश्वर । नेपालीमा साह्रो ढुंगा भन्छौं पनि ।

ढुंगाको नियम

क. चिह्न प्रस्तर (मार्कर स्टोन) किन राखे होलान् अशोकले लुम्बिनीको स्तम्भमुनि ? किन बस्न पुगे होलान् सिंहासन मानेर दुराडाँडाको ढुंगामा यशोब्रह्म शाह ? – एउटै उत्तर छ दुइटैको । स्टोन अफ मोरा छ स्वीडेनमा । राजकीय आसन मानिने यो प्रस्तर तेह्रौं शताब्दीको हो ।

प्रिन्सेज स्टोन (राजकुमारको ढुंगा) छ अस्ट्रियामा । यो बाह्रौं शताब्दीको हो ।

किङ्ग्स्टन वा किङ्ग्स स्टोन भनिने प्रस्तर छ टेम्स नदीको किनारमा बेलायतमा । यो दसौं शताब्दीको ढुंगा वेसेक्स र इङ्ग्ल्यान्डका राजाहरूको आसन हो । ड्युक्स चेयर (ड्युकको मेच) भनिने प्रस्तर छ अस्ट्रियामै । यो नवौं शताब्दीको हो । स्टोन अफ स्कन– स्टकल्यान्डस्थित त्यो ढुंगा हो, जसमाथि नबसी बेलायतका शासकको राज्यारोहण पूरा हुँदैन । सन् १९५३ मा एलिजावेथ द्वितीयले पनि यसैमाथि बसेर राज्यारोहण पूरा गरेकी थिइन् । स्कन शब्द स्थाणुबाटै बनेको हो ।

लिमाफेल–आयरल्यान्डस्थित शिवलिंगरूपी प्रस्तर हो, जसमा उभिएपछि मात्रै राज्यारोहण पूरा हुन्थ्यो त्यहाँका शासकको । इस्वीको ५०० सम्म आयरल्यान्डका शासकहरू यसैमाथि उभिएर शासन सुरु गर्थे ।

ख. सिन्दूरेढुंगा अर्थात् सिन्दूर लगाएर यशोब्रह्म शाहको राज्याभिषेक भएको यो प्रस्तरको कथा हो सोह्रौं शताब्दीको ।

ढुंगा स्थान अर्थात् द्रव्य शाहको राज्याभिषेक भएको स्थान हो लिगलिग, गोरखाको । राजारानी घाम ताप्ने ढुंगा छ छिल्लीकोटमा । यो सोह्रौं शताब्दीकै अर्थात् विसं १५६० का मेघबहादुर शाहसँग जोडिने प्रस्तर हो ।

प्रस्तर छ यस्तै सल्यानको साङकोटमा । यसको कथा पनि सोह्रौं शताब्दीबाट सुरु हुन्छ । हात्ती बाँध्ने ढुंगा छ राम्चे प्यूठानमा । भनिन्छ त्यसमा राजाको हात्ती बाँधिन्थ्यो, तर प्यूठानमा हात्ती बाँधिँदैन । यसलाई राजाकै भनिन्छ पनि ।

ग. चिसो ढुंगा रहेछ– पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा उपत्यकाका राज्यहरूलाई भनेका छन् । राज्य भनेको ढुंगा हो यसरी हाम्रा निम्ति । त्यसैले त्यसको प्रतिनिधि हो ढुंगा– सिंहासनको रूपमा ।

बुद्ध गद्दी नलिए पनि परम्पराले कपिलवस्तुका राजा हुन्– यसैले मार्कर स्टोन राखेर अशोकले उनलाई सिंहासन दिए । तुतनखामनको शव प्रदर्शन निम्ति पेरिस लगिँदा फ्रान्सले शाही सलामी दिएजस्तै ।

घ. उपत्यकाका सयौंसयौं डबली (खट राख्ने ठाउँ . देवालय) हरूको अध्ययन गरियो र देशभरिका बस्तीहरूबीचको प्रमुख ढुंगाहरूको सांस्कृतिक अध्ययन गरियो भने लिमाफेलको प्राचीनतालाई पनि नाघ्ने प्रशस्तै उदाहरण फेला पर्लान्, तर यति बेलालाई २५ सय वर्षअघिको मार्कर स्टोन नै हाम्रा निम्ति प्रशस्त छ ।

‘राजा नेस्टर पालिसदार ढुंगामाथि बसे’— होमरले अडिसीको बुक ३ मा यस्तो लेखेका छन् । यो बुद्धको समयभन्दा ३ सय वर्षअघि लेखिएको कुरा हो । यसैले हामीलाई मार्कर स्टोनभन्दा पर जानु छ ।

लेखिसकियो स्थाणु भनेको शिव र प्रस्तर दुवै हो । अर्थात् प्रस्तरमा औपचारिक रूपमा बसेको वा बसाइएको पात्रको अर्थ हो– ऊ दैवी शक्ति भएको पात्र हो । शिव हो । पछि यही शिवरूपी राजा विष्णुको अवतारमा परिणत भयो ।

ऊर्जा–एक

तर, गुरुङहरूको युमधिग्री र तामाङहरूको युमा भने क्वार्ज हो, जसलाई हामी दर्सनढुंगा भन्छौं । अझ तामाङहरूको युमा क्वार्ज र कैलाश दुवै हो । क्वार्ज शब्द बनेकै कैलाशबाट हो । संस्कृतमा केलाश भनिन्छ अंग्रेजीको क्रिस्टललाई, क्वार्ज क्रिस्टलकै रूपमा हुन्छ । एजटेक भाषामा काल्सिउइटल भनिन्छ युँ लाई । काल्सी (कैलाश) + उइटल (याक्तुँ) भन्ने स्पष्टै देखिन्छ ।

भन्नाले युँ खासमा क्वार्ज नै हो । तर, त्यसलाई विस्थापित गर्‍यो आदियुगमै जेडले भन्ने कुरा विज्ञानको एक यथार्थबाट थाहा हुन्छ— सूर्यको परावैजनी किरण लगातार परेपछि वा ताप बढेपछि क्वार्ज चम्किन्छ, जेड चम्कँदैन । यसैले क्वार्जलाई भनियो दर्सनढुंगा, यसैले ज्योतिर्लिंगको परिकल्पना गरियो ।

जेडलाई देवतास्तरको प्रस्तर मान्ने चिनियाँ, जापानीदेखि माओरी र मायानसम्मको चलन यही दर्सनढुंगाको अनुकरण हो । उजिनढुंगाको खास अर्थ नै उज्यालो दिने ढुंगा हो, हतियारमा साँध लगाउने ढुंगा बुझ्ने गल्ती भइरहेको छ । याँमानको (ठूलो) ढुंगा भन्ने चलन नै युँ ढुंगा भन्ने हो ।

ढुंगा स्थापना नगरी दिव्यज्योति वा अलौकिक शक्तिको दर्शन नपाइने हुनाले त्यो स्थापित हुन पुगेको हो । यसैले ‘यो जाति मूर्तिपूजक भने होइन’ भन्ने एक लेखकको उक्ति (पेज १२५ साम्पाङ राई चिनारी– खगेन्द्र ब. राई) २५ होइन २६ सै आना सही हो । धवल+युँ रूपान्तरण भएको हो दिव्य, देवता र दीपमा नकि उल्टो यसैले त दिव्यज्योति ।

टीका

स्फटिक हो क्वार्जको अर्को संस्कृत नाम । यसैको टीक बन्न पुगेको हो टीका भन्ने कुरा मगर र शेर्पा भाषाबाट थाहा हुन्छ । निधारमा सेतो टाटो भएको गाईलाई खाममगरहरू डौला भन्छन् । त्यो धवलबाट आएको हो । अर्थ हो, सेतो स्फटिकजस्तै । शेर्पाहरू निधारमा सेतो टाटो भएको घोडालाई थुक भन्छन्, त्यो त्यही टीकको रूपान्तरण हो ।

यसैले राई, लिम्बू, गुरुङ यावत् टीका लगाउनुपर्दा सेतै लगाउँछन् । बुद्ध धर्मको उदयपछि माराको रङ रातो भएकाले नलगाएको भन्ने व्याख्या चलेको छ । टीका बौद्ध परम्पराको होइन पनि ।

क्वार्जमा देवता छन् भन्ने धारणाले गर्दा नै नरसिंह पुराणका व्यास हिरण्यकशिपुको तर्फबाट स्फटिकको खम्बा देखाउँदै प्रह्लादलाई सोध्न लगाउँछन्— तेरो देवता यहाँ पनि छ ? सेतो वस्त्र धारणलाई राई, लिम्बूले सबैभन्दा पवित्र किन मान्छन् भन्ने यसैबाट पुष्टि हुन्छ । ज्योति हुन्छ नै सेतो, धामीले पनि त्यस्तै पहिरन्छन् । रातो टीका र पोते शाक्त धारको उदयपछि र पहेँलो टीका र पोते वैष्णव धारको उदयपछि थपिन पुगेको हो । अन्यथा टीका भनेकै सेतो हो शिवको ।

स्फटिकको रूपान्तरण हो संस्कृतको स्वेत, यही स्फटिक ‘मिसनोमर’ बन्न पुगेको छ नेवारीको हाकु (कालो) शब्दमा ‘स’ बदलिएर ‘ह’ हुने भएकाले । त्यो गलत बाटो देखाइदिएको हो कर्मकाण्डी व्यवहारले– स्फटिकलाई तिलक (कालो) मा रूपान्तरण गरेर । मानौं त्यो कालो तील हो । राजतिलकको अर्थ कालो अभिषेक हो त ? नूर उर्दूमा उज्यालो हो, नोर्बु तिब्बतीमा मणि हो । युँ . नु हुन गएको हो । रात्रि+युँ . रत्न भएको हो । यही कारण शिवलाई रातसापेक्ष मानिन्छ, जति बेला प्रकाश टड्कारो देखिन्छ ।

ऊर्जा–दुई

विषयान्तर लाग्ने यो ऊर्जा–दुई लेखिएन भने यो लेखोटले चुरो पाउनेछैन । जनकलाल शर्माले लेखे— आत्मतुष्टिका लागि वटवृक्ष पूजा गर्ने प्रथा ल्याउने श्रेय यसै नेग्रिटो जातिलाई छ । (पेज ४०, हाम्रो समाज ः एक अध्ययन) तर, तिनले गलत लेखे ।

किनभने एक जना लेख्छन्—

१. कास्कीवासीहरू राति उज्यालो दिने उजेली काठ घरमा राख्ने गर्छन्, सम्पन्नता मिल्ने विश्वास गरिन्छ । कुसुन्डाहरू यसको बोक्रा दिएर अन्न लिन्थे । (पेज २०, कास्की राज्यको इतिहास)

२. धुलिकोट राज्यको जगन्नाथ मन्दिर गिठ्ठा रूखको तल छ, जसको जरालाई उजेली काठ भनिन्छ । राति उज्यालो देखिन्छ । (पेज १९, प्राचीन नेपाल, अंक १५५)

कुन प्रजातिका रूखलाई भनेको हो पंक्तिकारले तिनका लेखक राजाराम सुवेदीलाई एक जम्काभेटमा सोधेको थियो । तर, थाहा रहेनछ । यो रूख हो नेपालको रैथाने फलेदो, संस्कृतको मन्दार, विज्ञानको इरिथ्रिना स्ट्रिक्टा । हजार मिटरदेखि १६ सय मिटरसम्म नेपाल मात्र होइन, इन्डिया, म्यानमार, चीन, इन्डोचीन सबैतिर पाइन्छ । न कि शर्माले तय गरेको नेग्रिटो इलाका मेलेनेसिया ।

मन्दार शब्द बनेको हो मणि+दारबाट । दार आएको हो तरु (लहरा) बाट । यसैले तरु (लहरा)+अक्ष (आँखा) . द्राक्ष (अंगुर) । मुनि (तल) बाट आएको हो मणि, जसलाई मुण्ड (टाउको) मा लगेर संस्कृत साहित्यले स्थिर गरिदिएको छ ।

यही कारण संस्कृत साहित्यले मन्दारलाई इन्द्र (विष्णु) को बगैंचाका पाँच वृक्षमा तोकेको हो । यही कारण शिव स्थान हुन्छ, विष्णु मन्दिर हुन्छ । विष्णुलाई सेमन्तमणि, कौस्तुभमणि जस्ता अनेक काल्पनिक मणिसँग सम्बन्धित पुराणले बनाउने चलनमा यही रूखको जरा हो । माओरी ‘मान’ को आधार यही हो । जनकलालले लेखेको मेलेनेसियन मेनावाद (पेज ११४) को जग यही हो ।

जरामा रहेको फस्फोरसको अक्सिजनसँग रासायनिक प्रक्रिया भयो भने जरा चम्केको देखिन्छ । त्यही हो यसको आधार ।

तर, मन्दारको जरा मात्रै र सधैं नै चम्किन्छ भन्ने होइन । कालिदासले रघुवंशमा उज्यालो बिरुवाको प्रसंग दिएका छन् । कुमार सम्भवमा उनले नाम लिएको दीपजडी नेपालमा पाइन्छ भनेर मुरलीधर भट्टराई ‘नेपाल द बर्थ प्लेस अफ कालिदास’ ले भनेका छन् । यो कश्मीरको भ्यान्दर उपत्यकामा पाइन्छ भनेर पनि लेखिएको छ । (फ्लावर्स अफ द कश्मीर भ्याली – गिरिराज शाह र मनमोहन शर्मा) । नेपालमा पनि पाइँदो होला अहिले चिन्न सकिएन ।

घोरड्या नामको चम्किने बिरुवाको उल्लेख डोट्याली बृहद् शब्दकोशमा पनि छ । दमौलीका वनस्पतिशास्त्री केबी गुरुङसँग सिमलको जरा महिनौंसम्म उज्यालो देखेको अनुभव नै छ ।

अर्थात् हामीले वृक्षमा उज्यालो (दैवीशक्ति) देखेर त्यसलाई पूजा गरेको हो । त्यो वृक्षको होइन, उज्यालोको आराधना हो । अब कुन संस्कृत परम्परामा द्रुह्युहरू स्थापित भएका हुन् र आयरल्यान्डका २००० वर्ष अगाडिका रूखविज्ञ डुरिडहरू स्थापित भएका हुन् भन्ने कुराको रहस्य खुल्छ । डुरिडलाई केल्टिक सभ्यताको मानिन्छ । केल्टिक एसियायी सभ्यताको हाँगा ठानिन्छ । कैलाशबाट आएको हो केल्टिक लेख्दा धेरैको चित्त बुझ्नेछैन । तर, सन्थालको टरियाँ र केल्टिक टर्क गहना एउटै हो । अफ्रिकाको किलिमान्जारो कैलाशको अनुकरण हो भन्दा टाउकै दुख्ला, तर दक्षिण अफ्रिकाको जुलु भाषा एसियाटिक हो भनेर भाषाशास्त्रले पहिल्याइसकेको छ ।

भन्न खोजेको हामी न ढुंगापूजक हौं, न मूर्तिपूजक, न वृक्षपूजक । हामी ऊर्जा–उज्यालो, दिव्यज्योतिका मात्र अनुयायी हौं । ती उज्यालोका माध्यम मात्र हुन् । गंगाको मैदानमा उठान रहेको कर्मकाण्डले हामीलाई अद्भुत होइन, भूत बनाइदिएको छ । समस्या यहीँनेर छ ।

प्रकाशित : माघ १४, २०७९ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×