आगो केवल आगो होइन- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगो केवल आगो होइन

हिमालका लागि आगो देउता हो । एपी भन्छिन्– चुलोमा आगो नभए घर घरजस्तो लाग्दैन । हिमालीका लागि आगो घरको शोभा बढाउने गेन्छ्या हो ।
कुन्साङ

आगो नहुँदो हो त बाह्रै महिना जाडो भइरहने हिमालतिरको जनजीवन कस्तो हुन्थ्यो ? हिउँदका ती पाँच महिना जम्मै जमिन हिउँले टम्म ढाकिएको हुन्छ, त्यहाँ आगो नहुनु कति पीडादायक होला ? हिउँमा बस्नेका लागि आगो नै जीवन हो, जीवन नै आगो । आउनुस् एकछिन हिमाल र आगोका कथा पढौं– हुम्ला, नाम्खाकी एपी र उनको सुनाएको आगोको कथा ।

घाँटीका नशा फुलाउँदै कष्टले आगो फुकिरहेकी एपी (बजै) लाई सोधें, ‘एपी, पहिले सलाई र लाइटर नहुँदा कसरी आगो बाल्नुहुन्थ्यो नि ?’ आगो फुक्ने मसिनो पाइप समातेकी एपीका व्यस्त हात टक्क रोकिए । फु...फु... रोकिएपछि धूवाँको झुप्पा चुलोबाट बाहिरियो एकदमै रफ्तारमा– घण्टी बज्नेबित्तिकै कुदिहाल्ने स्कुले केटाकेटीजसरी । धूवाँसँगै उडेको सेतो फिलिंगो एपीको सेतो कपालमाथि अवतरण गर्‍यो र हरायो ।

एकछिन रोकिएपछि एपी फेरि आगो फुक्न थालिन् । निक्कैबेर फुकेपछि ह्वात्त बल्यो– आगो । तर, एपी शान्त थिइ्न्, एकदमै स्तब्ध ! चिसो दाउराबाट निस्केको चाइँचुइँ आवाजले त्यो स्तब्धता चिरिरह्यो । एपीको छामखाङ (गाउँभन्दा पर पूजा गर्न बस्ने ठाउँ) लगभग तीन हजार मिटरको उचाइमा थियो । वरिपरिका हिमाल सधैं हिउँले ढाकिएका हुन्थे । ठूलो ढुङ्गामा टाँसेर एकातिर मात्रै ‘भान्ना’ (भित्ता) चिनेर एपीको छामखाङ बनाइएको थियो । पूजा गर्दा आगो बाल्न छामखाङको ढोकानेर दाउरा र गोबर जम्मा गरेर राखेकी हुन्थिन् एपीले । उनी उसैगरी चुपचाप बसिरहेकी थिइन्, आगो तापेरै । निक्कैबेर तापेपछि आगो माग्न जाँदाका कथा सुनाउन थालिन् उनले । आगो ताप्दै एपीका कुरा सुन्दा लाग्यो– त्यो समयले कोल्टे फेर्‍यो । उबेला गाउँमा मि (बाजे) को घरमा एपी तामे (कथा) सुन्न जाने चलन थियो । त्यत्तिबेला यसरी नै हामी नानीहरू चुलोवरिपरि बसेर आगो ताप्दै तामे सुन्थ्यौं ।

‘उहिल्यै खार्कोङ (ढुङशील/सेतो ढुङ्गा) र मेप्च्याक (ल्वखर) का बीचमा सानो टुक्रा टा (जुलो) राखेर घोट्थ्यौं । खार्कोङ र मेप्च्याक घोट्दा बेलाबेला आगोको सानो–सानो झिल्का निस्किन्थ्यो, ढुङ्गामा ढुङ्गा ठोकिँदा निस्किने आगोजस्तै ! निक्कैबेर घोटेपछि त्यो सानो झिल्काबाटै टा मा आगो सल्किन्छ । अनि त्यही टा लाई चुलोमा राखेर फुक्थ्यौं । टा को आगो दाउरामा सल्किन्थ्यो र बल्थ्यो चुलोमा आगो । हिउँद भन्दा बर्खामा आगो बाल्न निक्कै गाह्रो हुन्थ्यो । ओस्सिएका चिसा दाउरामा सजिलै आगो नसल्किने । बिहान आगो बाल्नै अम्तै समय लाग्थ्यो । त्यत्तिबेला अहिलेको जस्तो राम्रो चुलो पनि हुन्थेन् । कसैकसैको घरमा चारखुट्टे ओदान हुन्थ्यो । बाँकीका घरमा तीनखुट्टे सानो ओदान । आगो फुक्दा–फुक्दै धूवाँले घर भरिन्थ्यो । पिरो धूवाँले रुएझैं बनाउँथ्यो नि,’ आगो प्राप्तिका ती दिन सम्झेर एपी मज्जैले हाँसिन् । त्यसरी आगो बल्दा कुहिरोले ढाकिएजस्तै हुन्थ्यो घर ।

एपी यसरी बोलिरहेकी थिइन्, मानौं उनले खार्कोङमा मेप्च्याक घोटेर आगो बालेको हिजै हो । तर, त्यो त उनी सानै छँदाको कथा हो लगभग असी वर्षपहिलेको । उनको अनुहारमा रमाइलोसँगै सम्झनामा संर्घषका भाव आइरहेका थिए/गइरहेका थिए । त्यत्तिबेला आगो माग्न जाने चलन थियो । बिहान उठेपछि थाडामा गएर वरिपरिका घरबाट धूवाँ निस्केको छ कि छैन हेरिन्थ्यो । ‘नजिकैको घरबाट धूवाँ आइरहेको छ भने एक मुठो लोइटो बोकेर जान्थ्यौं र आगो सल्काएर ल्याउँथ्यौं । अलि टाढाको घरबाट धूवाँ आइरहेको छ भने क्यो (ढाडु) वा थाल बोकेर जान्थ्यौं । क्योमा अगुल्टो हालेर आगो फुक्दैफुक्दै ल्याउँथ्यौं । क्योमा आगो ल्याउँदा हात पनि पोल्थेन’, बुढ्यौलीका रेखाहरूमा हराएको हातको सानो दाग देखाउँदै थपिन् एपीले, ‘यी यो दाग आगो माग्न जाँदा लोइटोको खोटो चुहिएर बसेको हो ।’

छार्वा, मेल र ओखरको दाउरा बाल्दा खरानीले छोपेर पनि राखिन्थ्यो आगो । त्यसरी छोपेर राखेको दिन आगो मर्‍यो कि भन्ने निक्कै चिन्ता हुन्थ्यो । राति छोपेको आगो बिहान उठेर खरानी खोस्रिँदा सानो झिल्को मात्रै देख्दा पनि आगो खोस्रिने त्यो अनुहार धपक्कै बल्थ्यो खुसीले । आगो मरेको दिन निभेको अनुहार लिएर फेरि आगो माग्न जानुपर्थ्यो ।

आगोका लागि सबैभन्दा धेरै दुःख हुन्थ्यो खर्क जाँदा । चिसो दाउरामा आगो नसल्किने । लाइटो धेरै नपाइने । आगो माग्न घुँडा–घुँडासम्मै आइपुग्ने हिलो तरेर जानुपर्थ्यो । त्यत्तिबेला न अहिलेजस्तो जुत्ता हुन्थ्यो न छाता नै । कहिलेकाहीँ त ल्याउँदा ल्याउँदै बाटोमै आगो मरिसक्थ्यो । फेरि फर्केर आगो माग्न त्यतै कुद्नुपर्थ्यो । तर, एपीहरू त्यो दैनिकीमा अभ्यस्त भइसकेका थिए ।

सलाई कति बेला गाउँ पस्यो, त्यो त एपीलाई याद छैन । भन्छिन्, ‘तर, सलाई आएपछि पनि हाम्रो किनेर बाल्ने हैसियत थिएन । धेरै पछिसम्म पनि मागेरै आगो बाल्यौं ।’ सलाई कस्तो हुन्छ ? उत्सुकताले दौडिएर त्यो हेर्न एक जना साथीको घरमा गएको उनलाई याद छ । ‘तर, त्यो सलाईको बट्टा कस्तो थियो, बिर्सें अहिले । हामी धेरै जना सँगै गएका थियौं सलाई हेर्न ।’

त्यत्तिबेला कसको घरमा कति अन्न छ ? कसले कति छाक खाना खान्छ ? को कति धनी छ भन्ने त्यो घरबाट निस्किने धूवाँले बताउँथ्यो । धेरै अन्न भएकाहरूले चार छाक खाना पकाउने भए । उनले भनिन्, ‘प्होदच्या पनि पकाउँथ्यो होला । त्यो घरमा आगो पनि निभ्थेन । सधैं आगो भइरहनु वा धूवाँ आइरहनु भनेको त्यो घरमा टन्नै अन्नबाली भएको मानिन्थ्यो । घरमा अन्न नहुनेको चुलोमा आगो पनि सधैं हुँदैनथ्यो । त्यही भएर त कताकता आगो माग्न गइरहनुपर्थ्यो ।’

‘दाल्देर हिक थाप ल मे मेत’ (चुलोमा आगो पनि नभएको गरिब) । चुलोमा आगो नहुँदा हाम्रोतिर अहिले पनि यो उखान भन्ने गरिन्छ । सायद त्यत्तिबेलैदेखि भनिँदै आएको हुनुपर्छ यो उखान । एपीका कथा सुनेपछि लाग्यो, धूवाँले पनि समाजमा वर्ग छुट्याउँदो रैछ ।

मुसुक्क हाँसेर एपीले अर्को रमाइलो स्मृति सुनाइन्, ‘मेरो एक जना साथीले त आगो माग्न आउने केटासँग भागेर बिहे गरेकी थिई । दिनदिनै आगो माग्न आउने केटा र मेरो साथीले एकअर्कालाई मन पराउन थालेछन् । एक साँझ आगो माग्न आएको केटाले आगोसँगै केटी पनि लिएर गएको थियो । आगो दिन गएकी छोरीलाई निक्कै बेर पर्खिएर बसिरहिन आमा । तर, छोरी आइनन् । बिहान छिमेकी केटो क्यो पुर्‍याउन आउँदा पो आमाले थाहा पाएकी रे, छोरीले आगो माग्न आउने केटोसँगै भागेर बिहे गरेको ।’

...

हिमालमा आगो जति प्रिय छ, आगोको त्रास पनि उत्तिकै छ । अहिले माघ लागिसक्दा पनि हिउँ नपर्नु हिमालीका लागि चिन्ताको विषय बनेको छ । सुक्खा जमिन, एकअर्कासँग जोडिएका घरहरू । हिउँदका लागि जम्मा गरेर राखिएको घाँस–दाउरा छन् गाउँभरि । र, हिउँ पर्ने समयमा हिउँ नपर्दा आगोको डर पनि बढेकै छ ।

हिमालका मान्छेका लागि न्यानो र खाना पकाउने स्रोत मात्रै होइन आगो । अन्न उत्पादनको स्रोत पनि थियो कुनै बेला । २०/२५ वर्ष पहिलेसम्म पनि हाम्रो गाउँतिर वनमा डढेलो लगाएर फापर खेती गरिन्थ्यो । डढेलो लगाएको ठाउँमा सप्रिने भएरै होला मान्छेहरू फापर लगाउँथे । हिमालीहरूका लागि देउता हो आगो । र, त हिमालमा आगोलाई पुजिन्छ । खाना पस्किनु पहिले त्यो खाना आगोलाई चढाइन्छ ।

एपी भन्नुहुन्छ, ‘चुलोमा आगो भएन भने घर घरजस्तो लाग्दैन । चुलोमा टन्न आगो बल्यो भने पो मान्छे बसेको घरजस्तो देखिन्छ त्यो । मान्छे बस्ने घर देखिन पनि चुलोमा आगो बल्नुपर्छ । घरलाई घरजस्तै बनाउन पनि चुलोमा आगो चाहिन्छ ।’

हिमालीका लागि आगो केवल आगो होइन, घरको शोभा बढाउने गेन्छ्या (गहना) हो ।

सोच्नुस् त हिमालमा आगो नहुँदो हो त हिमालीको जीवन कत्ति कस्टसाध्य हुन्थ्यो होला ? हिउँ फाल्दा, गाईगोरुलाई पानी खुवाउँदा, लुगा धुँदा वा हिउँमा हिँड्दा–हिँड्दै हात–खुट्टा कठ्यांग्रिएका बेला आगो नहुँदो त के हुन्थ्यो ? आगो नभए हिमालको जीवन कसरी चल्थ्यो होला ?

केही महिनाअघि छिमेकी बाजे बिते । उनले अन्तिम पटक इसारा गरेर भनेका थिए, ‘म मरेपछि पानीमा नफाल्नू, जमिनमा नगाड्नू, आगोमै जलाउनू । म आगोको न्यानोमै हराउन चाहन्छु ।’

आगोसँगै जीवन बिताएका बाजेलाई मर्दा पनि आगै चाहिएको थियो । सोच्नुस् त, हिमाल, हिमाली र आगोको नाता कस्तो होला ? र, त भनिन्छ– आगोसँग हिमालीको सम्बन्ध जीवनसँग मात्र होइन मरणसँग पनि जोडिएको छ ।

प्रकाशित : माघ ७, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

सद्‍गुरुलाई कोही किन प्रश्न गर्दैन ?

जग्गी वासुदेव (सद्‍गुरु) भन्छन्, ‘पानी पिउने हरेक प्राणीले नदीहरुको प्राण जोगाउनुपर्छ ।’ उनी सेभ सोयल र सेभ रिभरको कुरा गरिरहन्छन् । तर, भर्खरै उनी पुगेको लिमीको रिभर भने ‘सेभ’ भएको छैन ।
कुन्साङ

हिउँ परेपछि हिमालको चर्चा चलेजस्तै हालैहुम्लाको लिमी चर्चामा थियो । जग्गी वासुदेव (सद्गुरु) नेपालबाटै कैलाश मानसरोवरको दूरदर्शनका लागि लिमी भ्रमणमा आएका थिए (भदौ ८ गते यहाँ आइपुगेका उनी ५ दिन बसे) । त्यसैले चर्चामा थियो लिमी । सद्गुरुका लागि प्रयोग गर्न हवाईमार्गबाट मोटरसाइकल ढुवानी गरेर सिमकोट झारिएको थियो । यो लेख जग्गी वासुदेवको लिमी यात्रा र त्यसपछिका असरमाथि केन्द्रित हुनेछ । यहाँ सद्गुरुको वास्तविक नाम जग्गी वासुदेव नै प्रयोग गरिनेछ ।

कैलाश मानसरोवरको दूरदर्शनका लागि हेलिकोप्टरबाट हुम्ला सदरमुकाम सिमकोट पुगेका सद्गुरू जग्गी वासुदेव । तस्बिर : ज्योति कटुवाल

जग्गी वासुदेव हुम्ला आइपुगेको खबर सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडियासम्मै छाएको थियो । हुम्ली युवाहरूको फेसबुक, इन्स्टाग्राममा उनैको फोटो देखिन्थ्यो । कमेन्टमा उनलाई हुम्ला आएकामा धन्यवाद दिनेहरू निकै थिए ।

खासमा उनीसँगै १२०० भारतीय पर्यटक कैलाश मानसरोवर दूरदर्शनका लागि हुम्ला आउने कुराले बजार तातेको थियो । कोरोनाकालदेखि नै सुस्ताएका होटल व्यवसायी ग्राहक आउने खबरले खुसी थिए । तर, पछि फाइदा त उनै सीमित पहुँचवालालाई भयो । भारी बोकेर गुजारा चलाउनेहरू पनि खुसी हुने नै भए । तर, जहाजको टिकट सम्झेर कत्ति मान्छे दुःखी पनि भए ।

त्यतिबेला हुम्ला हेलिकोप्टरका आवाजले गुन्जायमान थियो । सदरमुकाम सिमकोट र नेपालगन्ज कैलाश मानसरोवरको दूरदर्शन गरी लिमीबाट फर्किएका भारतीय पर्यटकले भरिएको थियो । दिनमै बीसौंपटक हेलिकोप्टरको आवाजले थर्किन्थ्यो– हिमाल ।

लिमी आएका जग्गी वासुदेव तिनै हुन्, जो ‘सेभ सोयल’ नामक अभियान चलाउँछन् । २६–२७ वर्षदेखि माटो जोगाउने अभियानमा छन् उनी । उनको युट्युब भिडियोबाट पनि यो खबर थाहा पाइन्छ । यसै अभियान लिएर यस वर्ष २४ देशको ३० हजार किलोमिटर यात्रा गर्ने आफ्नो योजना उनी सुनाउँछन् युट्युबमा । २४ देशको उनको मेनुमा नेपाल पनि एक हो । उनी हुम्ला आउने क्रममा काठमाडौंमा ‘माटो जोगाऔं’ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ उनले माटो जोगाउने, रूख रोप्ने, नदी बचाउनुपर्ने कुरा गरेका थिए ।

उनका सामाजिक सञ्जाल ‘ह्यासट्याक सेभ सोयल, सेभ रिभर’ ले भरिएको छ । भन्छन् ‘पानी पिउने हरेक प्राणीले नदीहरूको प्राण जोगाउनुपर्छ ।’ उनी सेभ सोयल र सेभ रिभरको कुरा गरिरहन्छन् । तर, भर्खरै उनी पुगेको लिमीको सोयल र रिभर भने ‘सेभ’ भएको छैन ।

...

भदौ दोस्रो साता हामी लिमी पुग्दा अस्ताउँदो घाम ङिङ खोलामा टल्किरहेको थियो । हेर्दाहेर्दै घाम ङिङ तरेर वारि आयो । तर, हामी ङिङ खोला तरेर पारि जान सकेनौं । किनारका हामी किनारमै अड्कियौं । नदीवारि टाढा–टाढासम्म बास पाइने ठाउँ थिएन । बासका लागि नदी तर्नैपर्थ्यो । आउँदै–जाँदै गरेका हेलिकोप्टरतिर हेर्दै एक साथीले भनिन्, ‘हामीलाई पनि हेलिकोप्टरले नदी तारिदिए हुन्थ्यो नि ।’ निकै अनुरोध गरेपछि एउटा डोजरले हजारहजार रुपैयाँमा नदी तारिदिने भयो । डोजर हाम्रा लागि हेलिकोप्टर बनेर आयो । ‘हजार रुपैयाँको हेलिकोप्टर नि चढियो यार,’ नदी तरिसकेपछि यात्री साथीहरू भन्दै थिए । सोच्छु, लिमीका मान्छेहरू कसरी यति ठूलो नदी तर्दा हुन् ? यस्तो अप्ठ्यारो ठाउँमा राज्यको उपस्थिति किन देखिँदैन ? ‘अरू ठाउँ जता गए नि झोलुङ्गे पुल मात्रै देखिन्थ्यो । कुनैकुनै ठाउँमा पुग्दा त लाग्थ्यो, नेपाल झोलुङ्गेले पुलले भरिएको छ । तर, यहाँ यस्तो अप्ठ्यारो ठाउँमा यत्तिका वर्षसम्म पनि पुल किन नबनाएको होला ?,’ एक साथी भन्दै थिए । स्थानीयले ङिङ खोलाको ङिङ (मुटु) दुखाउने कुरा सुनाए । खैर, अब हामी जग्गी वासुदेवतिरै फर्कौं ।

ङिङ खोला र ग्येउ खोला बीचको समथर मैदान टाक्चीमा भारतीय दर्शनार्थीका लागि ठूलो क्याम्प बनाइएको थियो, जहाँ रङ्गीचङ्गी त्रिपाल टाँगेर भान्सादेखि शौचालयसम्मैको व्यवस्था थियो । नुहाउने ठाउँ पनि ग्येउ खोला किनारमै बनाइएको थियो । दर्शनार्थीले नुहाएको फोहर पानी सङ्लो ग्येउ खोलामा मिसिएर बग्थ्यो र खोला धमिलो हुन्थ्यो । तर, यहाँ पनि वासुदेव नदी सफा राख्नुपर्ने र नदीको प्राण

जोगाउनुपर्ने कुरा गरिरहेका थिए । वासुदेवले लिमीको ‘सोयल’ उपभोग गरिरहँदा स्थानीयले कुनै लाभ लिन सकेनन् । स्थानीय भन्छन्, ‘क्याम्प बनाउन पनि उनीहरूकै मान्छे आएका थिए । खाना पनि आफ्नै ल्याएर बनाउँथे । कर पालिकाले उठाए पनि अरू काम त अलि–अलि स्थानीयलाई दिनु नि, त्यो पनि छैन । केही नभए पनि क्याम्प होटल नजिकै बनाएको भए हुन्थ्यो । यहाँका मान्छेलाई बाहिरबाट जत्ति मान्छे आए पनि कामै छैन । उल्टै हाम्रो भूमि, हाम्रो नदी फोहोर बनाएर जान्छन् ।’ ‘ताक्लाकोट बन्द भएपछि कमाउन जाने ठाउँ छैन । आफ्नै बारीेको अन्नले बढीमा तीन महिना पनि खान पुग्दैन’, गाउँलेले यसो भन्दै गर्दा पोहोर साल कम्मर–कम्मरसम्मै हिउँ परेका बेला राज्यसँग चामल माग्न आउँदै गरेका लिमेल (लिमीवासी) हरूको धमिलो तस्बिर सम्झनामा ताजा बनेर आइदियो ।

उवा गोड्न जाँदै गरेकी एक एपी (बजै) भन्छिन्, ‘अचेल खै के भाको ! पानी पर्ने समयमा पानी पर्दैन । हिउँ पर्ने समयमा हिउँ पर्दैन । चौंरीहरूलाई पनि गर्मीमा लाग्ने रोग लाग्छ । समयमा पानी नपरेर यसपालि उवा र आलु पनि राम्रो होलाजस्तो छैन । आफ्नो जमिनमै अन्न फलेन, अरू कसको भर पर्नु ?’

उनको कुराले मानवशास्त्री सुरेश ढकालको एक लेख याद दिलायो, ‘नेपाली सन्दर्भमा भूमिको विशिष्टतालाई आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक पक्षका साथै विकास गरिबी न्यूनीकरण, जीविकोपार्जन आदिको आयाममा पनि बुझ्नुपर्ने हुन्छ । यो वैचारिक र राजनीतिक सवाल पनि हो । भूमि भनेको यसमा आश्रितहरूका लागि आर्थिक उपार्जनको प्राकृतिक स्रोत मात्र होइन, कतिपय संस्कार, सामाजिक सम्बन्ध, पहिचान, राजनीतिक शक्ति र अपनत्व भावको आधार पनि हो (सुरेश ढकाल/हिमाल) । अर्कोतिर भाषिक पहुँच नहुँदा विभिन्न अवसर गुमाउनुपरेको बताउँछन् स्थानीयहरू । ‘क (भाषा) नआएर पनि गाह्रो भयो नि । क आउने भए हामी उनीहरूको कुरा बुझ्थ्यौं, उनीहरू हाम्रो कुरा बुझ्थे, हाम्रो समस्याहरू पनि बुझ्थे कि ? हामीलाई मोन क (खस भाषा) त राम्रो आउँदैन झन् ग्याकारे क (भारतीय भाषा) कहाँबाट आउनु ? क जान्ने मान्छे उँधै ह्योम्बुतिरै बस्छन् । यहीँ काम पाए त उनीहरू पनि यतै बस्थे । क नजान्ने, क (आवाज ) भएर पनि क नभएका हामी मात्र यता छौं,’ हाल्जी गुम्बामा माने घुमाउँदै गरेका एक युवाले भने ।

बौद्ध र हिन्दु धर्मावलम्बीको धार्मिकस्थल कैलाश मानसरोवरको दूरदर्शन गर्न पुग्ने लिमीलाई सदुपयोग गर्न सके यहाँ राम्रो पर्यटकीय सम्भावना रहेको र यहाँका बासिन्दाले पनि रोजगारी पाउने प्रचुर सम्भावना भएको स्थानीयको बुझाइ छ । लिमीका छिरिङ तामाङ (७९) भन्छन्, ‘तीन, चार वर्ष पहिलेसम्म लाप्चा, ज्याक्प लुङतिर वन चौंरी, वन घोडा र जंगली जनावरको हूल हुन्थ्यो । जबदेखि औलको मान्छेहरू हेली, गाडी के–के लिएर यता आउन थाले त्यसपछि जनावरहरू माथिमाथि गए । अहिले त टाढा–टाढासम्म कुनै जनावरै देखिँदैन । मान्छे उँभो–उँभो चढ्न थालेपछि अग्लो ठाउँमा बस्ने जनावर देखिन छाडे । जनावरहरू ताक्लाकोटतिरै गैजाला भन्ने चिन्ता छ ।’

यो लेख लेख्दै गर्दा सम्झें– लिमीको सुन्दर भूमिमा भेटिएको सुन्दर वन र चौंरीको फोटो । सोच्छु– छिरिङ तामाङले यो कुरा थाहा पाए होला कि नाइँ ?

‘हिमाल सेतै छ । हुम्ला राम्रै छ । रमाइलै छ,’ कैलाशको दूरदर्शन गरि लिमीबाट फर्किंदै गरेका एक नेपाली पर्यटकले लाप्चा वरिपरि हेरेर भने । जलवायु परिवर्तनले हिउँ पगालेर राता पत्थर बन्दै गएका हिमालहरू सधैं सेतै रहलान् त ? के हिमाल सेतै नरहेपछि पनि उनलाई हुम्ला राम्रै, रमाइलै लाग्ला ?

जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने अनुसन्धाताको एक टोली बाटैमा भेटिए । उनीहरू भन्छन्, ‘तापक्रम त बढिरहेको हाम्रो अनुसन्धानले पनि देखाएको छ,’ धूवाँ, धूलो उडाउँदै लाप्चातिर गुडिरहेका गाडीहरूतिर हेर्दै एक जनाले थपे, ‘उसो त जलवायु परिवर्तनमा सबैभन्दा कम असर पार्ने मान्छेहरू यतै हिमालतिर बसेका छन् । तर, के गर्नु ? यता यस्तै छ ।’

जग्गी वासुदेवका हरेक कामको वाहवाही मात्रै गर्ने जमात निकै ठूलो छ । तर, पर्यावरण बिगारेको आरोप पनि उनलाई बेलाबेला लागिरहन्छ । पर्यावरण सुधार्न हिँडेका जग्गी वासुदेवलाई उनैका कारण पर्यावरणमाथि पर्ने असरबारे कोही किन प्रश्न गर्दैन ?

प्रकाशित : कार्तिक १९, २०७९ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×