तपाईंको पहाड घर कहाँ हो ?

मेरो पहाडमा सपना छ, श्रम छ, संस्कृति छ, प्रकृति छ । तन्नेरीहरुले खिप्दै गरेको साकेवाको ढोल छ । तरूनीहरुले सिलाउँदै गरेको छिटको फरिया छ । उँभो हिमालतिर लम्किरहेका कर्‍याङकुरूङको हूल छ । सबथोक गाउँमै छ । र, कविता गाउँमै छ ।
भूपाल राई

पचासको दशकतिर लेखिएको एउटा आफ्नै कविता ‘दाजै कविता गाउँमै छ’ यतिखेर आफैंभित्र आत्मसमीक्षाको कठघरामा छ । गाउँको महिमामण्डन र झन्डै–झन्डै आत्माप्रवञ्चक शैलीमा लेखिएको त्यो कवितालाई त्यतिखेर एकखाले पाठकहरूले आफ्नै कथा ठाने । त्योसँग त्यस्ता मानिस बढी प्रभावित थिए, जो गाउँबाट सहर पसेका थिए । त्यसबारे अक्सर तिनीहरू नै बखान गर्थे, जो आफूले छाडेर आएको गाउँ सम्झेर नियास्रो मान्थे । पछि ०५७ सालमा साझा प्रकाशनले त्यही नाममा एउटा संग्रह नै छाप्यो । मलाई लाग्छ, मेरो कविता–यात्राको राजमार्गमा त्यसले एउटा खास माइलखुट्टीको काम गरेको छ ।

तपाईंको पहाड घर कहाँ हो ?

कत्तिलाई लाग्न सक्छ, दशकौंअघिको आफ्नो कृतिउपर त्यति नै समयपछि फेरि परिभ्रमण गर्दा त्यो त्यतिकै मनमोहक लाग्छ । त्यत्तिकै उपयोगी । मानिस त्यसै पनि अतीतमुखी त छ नै । त्योमाथि ऊ छ अतिशय प्रेमी पनि । उसलाई आफूले छाडेर हिँडेका हरेक पाइला र पहलुहरू उत्तिकै प्रिय लाग्छ । तर, आज झन्डै अढाई दशकपछि जब आफ्नो त्यो कविता सम्झिरहेछु म अनेक सोचले ग्रस्त छु । लगभग द्विविधाजस्तो– सायद म यतिखेर स्वमूल्यांकनको प्रक्रियामा छु ।

नभने पनि हुन्छ ‘दाजै कविता गाउँमै छ’ शतप्रतिशत गाउँको कविता थियो । गाउँकै कथा । तर, त्यो गाउँ कहाँ थियो/छ ? त्यसको एउटै उत्तर छ– पहाडमा । त्यो पहाड कहाँ छ ? पूर्वी नेपालमा । त्यो पहाडमा के छ ? एक खास समुदायको घना बस्ती छ । त्यहाँ उनीहरूको सपना छ । श्रम छ । संस्कृति छ । प्रकृति छ । त्यहीँ तन्नेरीहरूले खिप्दै गरेको साकेवाको ढोल छ । तरुनीहरूले सिलाउँदै गरेको छिटको फरिया छ । संगीतको सप्तकझैं गह्रा भिजाउँदै बगिरहेको पानीको मुहान छ । उँभो हिमालतिर लम्किरहेका कर्‍याङकुरुङको हूल छ । चिबे चराको पुच्छर र ढुकुरको गाँडमा बाँचिरहेको किंवदन्ती छ । थुबिक्मा चरी र दिदी–बहिनी डाँडाको वियोगान्त कथा छ । सब गाउँमै छ । त्यसैले मैले भनें, कविता गाउँमै छ ।

यो त भयो लगभग एउटा आत्मसम्मोहन । आफ्नो मन र मस्तिष्क एकाकार भएर चुलिएको अतिशय मोह, जसले एक कविलाई कविता लेखायो । तर, कविता गाउँमै छ भनिरहँदा र कुनै निहित चाखप्रति अतिरेक मोह जताइरहँदा बिर्सनु हुँदैन कि त्यहाँ बिषालु सर्पझैं फणा उठाइरहेका अन्य प्रश्नहरू पनि हुन्छन् । जस्तो, के पहाड मात्रै त्यस्तो चीज हो, जसले कसैलाई कविता लेखाउँछ ? के मधेस/मैदानमा कविता छैन ? के श्रम पहाडी गाउँमा मात्रै छ ? आफू र आफ्नो भन्ने सघन भाव के पहाडको कुनै गाउँको मात्रै विषय हो ? मधेसको कुनै देहातमा के ती सब चीज छैनन् ? के सपना सहरमा छैन ? यदि कविता गाउँमै (गाउँमा मात्र) छ भने अरू के खोज्न मानिसहरू गाउँ छाडिरहेछन् ? केको लालसाले मानिसहरू स्थानान्तरण हुन्छन् ? आफ्नो पुर्खाको नासो चट्टै बिर्सेर, आफू जन्मेको–खेलेको धूलो टक्टक्याएर हामी किन अन्यत्र भौंतरिइरहेछौं ? किन हामीले आफ्नो सपनाको गाउँ पर्खिरहन सकेनौं ? त्यत्रो कविता फल्ने आफ्नै गाउँलाई थामिरहन हामीलाई केले दिएन ? अझ स्थानान्तरणको क्रममा हामिले आफू र आफ्ना सारा दलिलहरू अन्यत्रै रोप्न थाल्यौं । आफ्नो सपनाको हक दाबी अरूतिरै खोज्न थाल्यौं । मलाई कता–कता यो कुरा यतिखेर कुनै षड्यन्त्रपूर्ण कथाजस्तो लागिरहेछ । अथवा कुनै अर्थराजनीति प्रश्नजस्तो । मलाई यो कुरा झन् त्यतिखेर बढी पेचिलो लाग्यो, जतिखेर पाँच/छ महिनाअघि झापामा मलाई कसैले यस्तो प्रश्न सोध्यो, ‘तपाईंको पहाड घर कहाँ हो ?’

...

झापा धरमपुर–झिलझिलेस्थित किरात राई यायोख्खा सभाहलभित्र कार्यक्रमको तयारी कार्य भइरहेको थियो । धरमपुर निवासी युवा भाइहरू हल सजाइरहेका थिए । बाहिर भुइँ बरन्डामा मलाई केही मानिसले घेरिरहेका थिए । म थिएँ झापाका युवा कवि विराट किरातीको निम्तो मान्न काठमाडौंबाट गएको एक थान प्रमुख अतिथि । एकै छिनपछि मेरो हातबाट ‘मनमाया बान्तवा प्रतिष्ठान’ द्वारा प्रदान गरिने साहित्य/कलासम्बन्धी पुरस्कार वितरण हुँदै थियो । ठीक त्यही बेला मलाई घेरिरहेका मानिसमध्येबाट कोही एक जनाले त्यो प्रश्न सोध्यो, जसले मलाई यति लेख्न उद्यत गरायो ।

मैले भने, ‘हैन म त काठमाडौंबाट आको ।’

‘काठमाडौं भए पनि पहाड घर त होला नि ?,’ उसले फेरि सोध्यो किनभने उसलाई थाहा थियो मेरो सामुदायिक पहिचानको रैथाने ठेगाना काठमाडौं हुनै सक्दैन ।

भने, ‘काठमाडौं पनि पहाडै हो ।’

‘हैन पुर्ख्यौली पहाड भनेको... ।’

अन्तिममा प्रस्ट्याएँ, ‘भोजपुर ।’

त्यसपछि भने प्रश्नकर्ता चुप लाग्यो । सायद ऊ मेरो उत्तरले सन्तुष्ट थियो किनभने भोजपुर एउटा खाँटी पहाडी जिल्ला थियो, जहाँबाट सयौं परिवार बसाइँ सरेर मधेसका नयाँ बासिन्दा भएका छन् । यही कारण उसलाई लागेको हुन सक्छ, मेरो पनि नयाँ मुकाम अवश्य त्यतैकतै हुनुपर्छ, जसको पहाड घर हुनु अनिवार्य थियो । ऊ चुप भएपछि अब भित्रभित्रै वाचाल हुने पालो मेरो थियो । एक्कासि सम्झिएँ– मैले पनि काठमाडौंमा भेटिएका झापा, मोरङ, सुनसरी घर बताउने पहाडे मूलका अनेक मानिसलाई अनेकचोटि त्यही प्रश्न सोधेको छु । त्यस्तै पश्चिम तराईतिर पनि कतिले कतिलाई त्यसरी नै सोधेका होलान् । तर, त्यही प्रश्न जब खुद मलाई सोधियो, त्यसपछि पो त्यसको अनपेक्षित धक्काले मलाई कता–कता हल्लायो । मलाई लाग्यो, अवश्य केही छ त्यसको अन्तर्यमा, जसले कुनै उत्तरको माग गरिरहेछ । सोचें, नेपालको बसोबास र जनसंख्या वितरणको परम्परागत इतिहासले पक्कै पनि एउटा खास चित्र दिलाउँछ । यो चित्र पछिल्लो कालमा भत्किएको अवश्य छ । तैपनि न आजसम्म कोही हिमाली जातिलाई ‘तपाईंको हिमाल घर कहाँ हो’ भनेर सोधिएको थाहा छ । न पहाडमा भेटिएको कुनै तराईवासीलाई नै उसको तराई घरबारे सोधिएको छ । तर, अनौठो छ, यस्तो प्रश्न किन पहाडी मूलका मानिसलाई मात्रै सोधिने गरिन्छ ? सम्भवतः त्यो प्रश्नले संकेत गरेको अन्तर्यमा अवश्य केही छ ।

नेपाल भनिने देशले प्राप्त गरेको आधुनिक राज्यको इतिहास कोट्याउने हो भने सायद त्यो अन्तर्य केही–केही फेला पार्न सकिन्छ । किनभने लामो समयदेखि कथित राज्यको परिकल्पित केन्द्रमा एकछत्र रूपमा त्यही पहाड बिराजमान छ । नेपाली राज्यसत्ताको सञ्चालन र नेपाली राष्ट्रियताको निर्माण त्यही पहाड नामक भाष्यमा टिकेको छ । पहाड नेपाली राष्ट्रवादको केन्द्र हो, जो एककोषीय अमिबाको न्युक्लियसजस्तै हो । हिमाल, तराई त संयोगले त्यसको वरिपरि रहेको प्लाज्मा मेम्ब्रेनजस्तो मात्रै हो । अमिबा अस्तित्ववान् या जीवित छ कि छैन भन्ने कुरा त्यसको केन्द्रमा बिराजमान न्युक्लियसको जीवनमा भर पर्छ । प्लाज्माहरूले त त्यसको अस्तित्व रक्षाका लागि सेवा गर्ने मात्रै हो । नेपाली राष्ट्रवादको यो पहाडी न्युक्लियसवादले त्यसैले लामो समयदेखि मधेसलाई परहेजमा राख्यो । हिमाललाई नजरअन्दाज गर्‍यो । राष्ट्रवाद यसरी एकात्मक पहाडी वैचारिकीको आधारमा निर्माण भयो । इतिहासमा यो वैचारिकिको सुरुवात पृथ्वीनारायण शाहकै पालादेखि भएको देखिन्छ । उनीभन्दा अघिका सेनहरूले उँधो उँधो चुरे–भावरतिर बसेर उँभोका पहाडहरूतिर स्वशासित राज्य गर्थे । तर, पृथ्वीनारायणले संघीय ढाँचाको त्यो प्रणाली तोडेर आफ्नो राज्यको न्युक्लियस ‘हिन्दुस्थाना’ सोचका रूपमा पहाडमा केन्द्रीकरण गरे । ‘असिल हिन्दुस्थाना’ उनको यस सोचको मूल मन्त्र थियो ।

‘असिल हिन्दुस्थाना’ को यही मन्त्रलाई पछिका महेन्द्र शाहले विरासतमा प्राप्त गरे । एकल धर्म, एकल जाति र एकल क्षेत्रको यो वैचारिकीलाई पहाडमा संकेन्द्रित गरेर महेन्द्रले पुर्खाको ‘असिल हिन्दुस्थाना’ को मनोकांक्षालाई मूर्तरूप दिन खोजे । यही मन्त्रको आधारमा उनले एउटा चर्को पहाडी राष्ट्रवाद निर्माण गरे, जसलाई महेन्द्रीय राष्ट्रवादको नामले पनि चिनिन्छ । उनले निर्माण गरेको यो पहाड संकेन्द्रित राष्ट्रवाद यति खतरनाक थियो, त्यसले तराई–मधेसलाई अराष्ट्रिय देख्थ्यो । उनलाई दक्षिणी सिमानामा फैलिएका मधेसीहरूबाट नेपालको राष्ट्रियता जोगिन्छ भन्ने पटक्कै लाग्दैनथ्यो । त्यसैले उनले आफ्नो राष्ट्रवाद तराईतिर विस्तार गर्ने योजना बनाए । यसका लागि पहाडी मूलका मानिसलाई मधेसमा बसोबास गराउने अभियान नै चलाए । यसबाट मधेसको जमिन, अर्थराजनीति, संस्कृति आदि गम्भीर अतिक्रमणमा पर्न गयो, जुन नियोजित थियो । आफ्नो राष्ट्रवाद जोगाउन या विस्तार गर्नका लागि महेन्द्रले चालेका केही संस्थागत अभियान हेरौं–

पुनर्वास कम्पनीको स्थापना

यो बेग्लै हो कि ‘पुनर्वास कम्पनी’ नाम झट्ट सुन्दा सुखद लाग्छ । सकारात्मक, जनप्रेमि र जनहितकारी । तर, गहिरिएर हेर्ने हो भने यसको छद्म दृष्टि केवल तराईका विशाल र बन्जर फाँटहरूतिर सोझिएको देखिन्छ । मानौं पुनर्वास भन्नु नै पहाडका खातिर तराईका जमिनहरूको वितरण र दोहन मात्रै हो ।

यद्यपि पृथ्वीनारायण शाहको नेपाल एकीकरणपश्चात् तात्कालिक शासकहरूले पनि पटक–पटक तराई क्षेत्रतिर चासो नदिएका होइनन् । पहाडियाहरूलाई तराईमा पुनर्वास गराउन पटक–पटक कोसिस पनि नगरिएको होइन । तर, तिनीहरूको त्यो चासो केवल तात्कालीन आवश्यकता या आर्थिक व्यवस्थापनसँग मात्रै जोडिएको चासो थियो । किनभने त्यतिखेरका शासकहरूलाई सेना र राज्यको खर्च जुटाउन राजस्वको स्रोत चाहिएको थियो । करको दायरा विस्तार गर्नु थियो । तर, घना जंगल, उष्ण हावापानी र मलेरियाको डरले मानिसहरू तराई झर्न डराउँथे । त्यसैले उनीहरूले तराईको विशाल र खेर गइरहेका निर्जन फाँटहरूलाई आफ्ना सेवक र सेनाहरूका लागि बिर्ता र जागिर बाँड्ने काममा उपयोग गरे । ‘...बाँझो जमिन र घना जंगलहरू केही नागरिक, सेना, अभिजात वर्गका सदस्यहरू, विजित राज्यका प्रमुख आदिलाई ‘बिर्ता’ को रूपमा र सरकारी सेवक तथा कर्मचारीहरूलाई तलब वा पारिश्रामिक बापत ‘जागिर’ को रूपमा वितरण गरिन्थ्यो ।’ (रेग्मी एमसी, १९७१, अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री) ।

यसरी लामो समयसम्म राज्यको आर्थिक दायित्व वा राजस्वको स्रोतसँग मात्रै जोडिएको तराई/मधेससँग एकाएक महेन्द्रको उदयपछि अर्को एउटा जबर्जस्त वैचारिकी जोडिन पुग्यो । त्यो थियो– महेन्द्रीय राष्ट्रवाद । भनिसकियो, उनीद्वारा निर्मित त्यो राष्ट्रवादी भावनाको रेडिमेड स्रोत पहाड हुनाले त्यसलाई स्थापित गर्न तराईको फाँटसम्म झर्नैपर्थ्यो । यसका लागि पहाडी मूलका मानिसलाई मधेसमा पुनःस्थापित गर्नु अनिवार्य हुन्थ्यो । यसले कथित नेपाली राष्ट्रियता वा राष्ट्रवादको गोलीले एकैचोटि दुइटा चरा मार्न सक्थ्यो । पहिलो त, यसले पहाडी राष्ट्रवादको भावनालाई मधेसी मैदानसम्म विस्तार गर्थ्यो । दोस्रो, पहाडी समुदायको पुनर्वासले दक्षिणी सीमामा मानव सीमारेखा या मानव ढालको काम गर्थ्यो । र, उनी सोच्थे यही मानव ढालले मात्रै देशको दक्षिणी सिमानाको सुरक्षालाई मजबुत बनाउँथ्यो । त्यसैले ऐतिहासिककालदेखि सुस्त ढंगले चलिरहेको तराईको जमिनमाथिको पुनःस्थापना कार्यलाई महेन्द्रले युद्धस्तरमा अगाडि बढाए । उनले सन् १९६४ मा ‘पुनर्वास कम्पनी’ को नाममा एउटा सरकारी कम्पनी नै स्थापना गरेर पुनर्वासको कामलाई राज्यकै स्तरबाट बडो आक्रामक ढंगले अगाडि बढाए । यस क्रममा सन १९६४ देखि १९७७ सम्मको अवधिमा जम्मा १५ हजार १ सय ४ हेक्टर जमिनमा ७ हजार ६ सय ९१ परिवार तराईमा बसाइँ सरेको देखिन्छ (सिन्हास जर्नल, भोल्युम ११) । यद्यपि यो लक्षित उद्देश्यसमेत हासिल गर्न नसकेको एउटा सामान्य सरकारी तथ्यांक मात्रै हो । त्यस्ता अरू कैयौं आँकडा अझै होलान्, जो कुनै पनि तथ्यांकमा समेटिएका छैनन् ।

तराई पुनर्वासको यो आक्रामक अभियानलाई महेन्द्रले त्यतिखेर अनेक नाममा चलाए । कहिले पहाडी जनसंख्या नियन्त्रणका नाममा, कहिले भूमिहीनहरूलाई जग्गा वितरण त कहिले प्रकृति प्रकोपपीडितहरूको पुनःस्थापनका नाममा । तर, दृश्यमा जे देखिए पनि गुप्तमा यो उनीबाटै प्रदत्त एकात्मक राष्ट्रवादद्वारा निर्देशित अभियान थियो । सारमा यो पहाडिया मूलका मानिसहरूकै विस्तृति कार्य थियो । यसलाई पुष्टि गर्न अरू धेरै कुरा गर्नैपर्दैन । दोस्रो विश्वयुद्धपश्चात् बर्माबाट फर्किएका पहाडी मूलका मानिसलाई दक्षिणी सिमानाहरूमा पुनर्वास गराइनुले नै यो गुप्त योजनालाई पुष्टि गर्छ । जोगबनी, भैरहवा, नवलपरासी आदि क्षेत्रका नाका–नाकामा गएर हेर्ने हो भने आज पनि त्यहाँ बर्मेली टोलहरू भेटिन्छन् । सुदूरपूर्वी जिल्ला ताप्लेजुङ, पाँचथरका पहाडी आदिवासी मानिसहरूलाई महाकालीपारिका चाँदनी दोधारा बस्तीहरूमा केवल पुनर्वासकै लागि पुनर्वास गराइएको थिएन । यथार्थमा यो उनकै पहाडी राष्ट्रवादबाट निर्देशित एउटा अनौठो प्रयोग थियो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग

पूर्व–पश्चिम राजमार्गजस्तो भीमकाय योजनासँग के कुनै कथित राष्ट्रवादको महत्त्वाकांक्षा जोडिएको थियो होला ? सामान्यतः त्यस्तो नलाग्न सक्छ । तर, के विकास नामका सबै भाष्य निसर्त रचिन्छन् ? प्रश्न त यहीँबाट सुरु हुन्छ ।

सन् १९६१ (२०१९ वैशाख १) मा नवलपरासी गैंडाकोटमा स्वयं महेन्द्रद्वारा शिलान्यास गरिएको पूर्व–पश्चिम राजमार्गसँग पनि अवश्य विकासको त्यही कथ्य रचिएको थियो । पूर्व झापा जिल्लाको काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरको बनवासासम्म लगभग १ हजार २८ किलोमिटर लम्बाइको यो राजमार्गले समग्र देशकै अर्थतन्त्र कायापलट हुने प्रचार पनि गरिएकै हो । तर, यति हुँदाहुँदै पनि के सबै प्रश्न हल भइसकेका हुन् ? सोचौं त, किन त्यस्तो पहिलो महत्त्वाकांक्षी योजनाको सुरुवात तराईबाटै गरियो होला ? के पहाडका बस्तीहरू सबै सुविधासम्पन्न भइसकेका थिए ? तराईको पनि त्यस्तो क्षेत्रमा, न त्यसले मधेशको मध्यमुटुलाई छुन्थ्यो न पहाडको छातीलाई जोड्थ्यो । विश्लेषकहरू भन्छन्– यो राजमार्गको परियोजना त्यस्तो धरातलीय रेखामा कोरियो, जसले कोर मधेशको अर्थ–सामाजिक प्रणालिलाई चलायमान गराउनुको सट्टा झन् शून्यप्राय बनाइदियो । मधेसको हित सोचेर बनाइएको भए यो राजमार्गको रेखा कोर मधेसको मुटुमा कोरिनुपर्थ्यो । यसले त मधेसको अर्थ–सामाजिक गतिविधिको पुराना केन्द्रहरूलाई भत्काएर अन्य ठाउँमा स्थानान्तरण गरिदियो । यसबाट पुष्टि हुन्छ, यो मधेस हितलाई सोचेर रचिएको योजनै थिएन । बाहिर–बाहिर जति नै विकासको बखान गरे पनि यसको अन्तर्यले त्यसैले दुइटा गुप्त उद्देश्य पुष्टि गर्छ । पहिलो, मधेसको परम्परागत अर्थ–सामाजिक सम्बन्धलाई खल्बल्याउनु । दोस्रो, राजमार्गको समानान्तर नयाँ पहाडी मानवरेखा निर्माण गर्नु ।

योभन्दा अर्को महत्त्वपूर्ण कुरा जसबारे धेरैले अनुमान गरेका छैनन्, त्यो निकै अर्थपूर्ण छ । निहित उद्देश्यअनुरूप राजमार्गतर्फ पहाडी समुदायको बसोबास आकर्षित हुनु त स्वाभाविक थियो नै, तर त्यसको घोषणापश्चात् विकासको भाष्यसँग जोडिने यातयातका अन्य कुनै पनि ठूला योजना त्यसपछि देशमा देखा परेनन् । किन ? अहिलेको मध्यपहाडी लोकमार्गजस्तो योजना त कल्पनाभन्दा बाहिरको कुरा थियो । तर, दशकौंसम्म पहाडी जिल्लाहरूलाई यातायातका निम्नतम सुविधाबाट पनि विमुख राखियो । किन ? यही किन पछाडीको कारणले लामो समयसम्म सेवा, सुविधा, अवसर र विकासको तिर्खाबाट व्याकुल पहाडी समुदायहरू हूलका हूल पूर्व–पश्चिम राजमार्गको छेउछाउ बसाइँ सरेर झरे । बसाइँ सराइको यस्तो बाध्यकारी परिस्थितिलाई बढावा दिन यो एउटा नियोजित साजिस थिएन भने अरू के थियो ?

पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माण सम्पन्न हुन यद्यपि झन्डै चालीस वर्ष लाग्यो । तर, त्यसले बोकेको दीर्घकालीन उद्देश्यको परिणाम आज हेर्नुस्– काँकडभित्तादेखि कञ्चनपुरसम्म सयकडौं नयाँ बस्ती र नयाँ अनुहार थुप्रिएका छन् । त्यत्तिकै संख्यामा झरीका च्याउझैं नयाँ सहर उम्रिएका छन्, जसका लागि शतप्रतिशत पहाडी समुदायको योगदान छ । एउटा नयाँ राष्ट्रवादी सिमाना कोरिएको छ । नयाँ मानव ढाल तैनाथ छ । कतिऔं रैथाने मानिस आफ्नो थातथलोबाट विस्थापित भएका छन् । पहाड घर भएका लाखौं मानिस मधेसका बासिन्दा भएका छन् । र, तिनीहरूमध्ये प्रत्येकले प्रत्येकलाई गर्ने पहिलो प्रश्न यस्तो छ, ‘तपाईंको पहाड घर कहाँ हो ?’

मलेरिया उन्मूलन

ब्रायन हड्सनले थारूहरूका विषयमा एउटा अनौठो र विष्मयकारी तथ्य प्रकाश पारे । थारूहरूको डीएनए परीक्षणबाट पत्ता लाग्यो कि उनीहरू मलेरिया निरोधक जाति हुन् । उनीहरूलाई मलेरियाले असर गर्दैन किनभने उनीहरूभित्र मलेरिया प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) पहिल्यैदेखि सुरक्षित छ । उनका अनुसार, करिब तीन हजार वर्षअघिदेखि मलेरियासँग जुध्दा–जुध्दा उनीहरूमा यो क्षमता विकास भएको हो ।

यस खोजबाट मूलतः तीन तथ्य उजागर हुन्छ । पहिलो, थारू जाति र मलेरियाबीच अन्योन्याश्रित सम्बन्ध छ । दोस्रो, नेपालको मलेरिया क्षेत्र थारूहरूको आदिम भूमि हो । र तेस्रो, तिनीहरू तीन हजार वर्षभन्दा अघिदेखि त्यहाँ छन् ।

अब प्रश्न उठ्छ, जब थारू अथवा त्यहाँका मूल वासीलाई नै मलेरियाले असर गर्दैन भने ‘मलेरिया उन्मूलन’ जस्ता कार्यक्रम केका लागि ? कसका लागि ? के कारणले यो प्रपञ्च रच्नुपरेको हो ? उत्तर सपाट छ– पहाडिया राष्ट्रवाद सुदृढ गर्न । राष्ट्रवादको नाममा पहाडिया समुदायको विस्तार गर्न ।

बीसौं शताब्दीको मध्यावधिसम्म पनि थारूबहुल क्षेत्र मलेरियाग्रस्त क्षेत्र मानिन्थ्यो । पहाडी मानिसहरू त्यहाँ बसोबास गर्न त के आउ–जाउ गर्नसमेत डराउँथे । तर, सन् १९५५ मा जब चितवन जिल्लाबाट मलेरियाविरुद्धको पहिलो अभियान सुरु गरियो र छिट्टै त्यो अभियान पूर्णतः सफल भएको घोषणा गरियो, तब पहाडिया मानिसको चहलपहल सुरु भइहाल्यो । चितवनको सफलतापछि ‘नेपाल मलेरिया उन्मूलन संघ’ नै खडा गरेर पूर्व–पश्चिमका अन्यान्य जिल्लाहरूतर्फ पनि अभियान द्रुत गतिले अगाडि बढ्यो । यसको प्रभावले थारूबहुल क्षेत्रमा एक्कासि यस्तो हुन गयो कि पहाडी बसाइँ सराइको वर्षा नै हुन थाल्यो । ‘नेपाल मलेरिया उन्मूलन संघ’ को रेकर्डअनुसार, सन् ७०–८० को दशकमा तराईका १३ जिल्लामा मात्रै ४८ दशमलव ३ प्रतिशतले जनसंख्या वृद्धि भयो (गुरुङ हर्क, रिजनल प्याटरन्स अफ माइग्रेसन इन नेपाल) ।

अब हेरौं, तीन हजार वर्षदेखि मलेरियासँग लड्दै–लड्दै आइरहेका थारूहरूको अवस्था अहिले भिन्नै छ । मलेरियालाई जितेका थारूहरूले आखिरमा त्यही मलेरिया उन्मूलनको प्रपञ्चसँग हार्नुपर्‍यो । पहाडी समुदायको आक्रामक बसाइँ सराइ र अतिक्रमणका कारण तिनीहरूले आफ्नै जमिन र थातथलोबाट बेदखल हुनुपर्‍यो । आफ्नै आदिम भूमिबाट च्युत हुनुपर्‍यो । आफैंले आवाद गरेको सरहदमा आफैं बेघरबार हुनुपर्‍यो । हुँदाहुँदा आफ्नै जमिनमा आफैं कमैया बस्नुपर्‍यो । कम्लरी हुनुपर्‍यो । हेर्दाहेर्दै आफ्नो भाग्य, भविष्यका लागि पहाडिया मालिकहरूसँग निर्भर हुनुपर्‍यो । भनिन्छ, मलेरिया उन्मूलनको घोषणा त्यस्तो एक षड्यन्त्रपूर्ण अस्त्र थियो, जसले सारा थारूको सफाया गर्ने डीडीटी पाउडरको काम गर्‍यो ।

स्मरणीय कुरा, महेन्द्रको देहान्त भएको लगभग ४४ वर्षपघि, विसं ०७२ मा टीकापुर नरसंहारकारी घटना हुन पुग्यो । कैलालीको भूमि रणमैदानमा परिणत भयो । सारा थारू बस्तीमा आगो लगाइयो । थारूहरूको रगत, पसिनाले सिँचेको भूमिमा ‘अखण्ड सुदूरपश्चिमाञ्चल’ नामको पहाडी राष्ट्रवादले परेड खेल्यो । यो त्यही राष्ट्रवादी आगोको बीउ थियो, जसलाई कुनै दिन महेन्द्रले झोसेर हिँडेका थिए । यो त्यही आगोको बीउ हो, जसलाई यतिखेर ‘पहाड घर हुनेहरू’ ले झोसिरहेका छन् ।

...

आउनुहोस्, अन्त्यमा अब फेरि फर्कौं झापा झिलझिलेतिरै । ‘मनमाया बान्तवा प्रतिष्ठान’ को पुरस्कार वितरण कार्य समयमै सम्पन्न भइसकेको छ । अलिकति समय उब्रेको छ बेलुकीको । त्यसैले आकस्मिक रूपमा तय भएअनुसार एक टोली निस्कन्छ सताशीधाम भ्रमणमा । आकस्मिक तय भएको कार्यक्रमसँग जोडिएको छ मेरो नाम । खोलै खोला, सानो सुरुङमार्गजस्तो चुरेको गल्छीभित्र छिरिरहेका बेला एक्कासि मैले कसैलाई सोधें, ‘केही दिनदेखि म यहाँ छु । एक जना पनि यहाँका रैथाने मान्छे देख्दिनँ । कहाँ गए ती सब ?’

छेउमै थिएछन् विराट किराती । जवाफ दिए, ‘तिनीहरू सब विस्थापित भैसके । अब तिनीहरूलाई देख्न उँधो झर्नुपर्छ, सिमानातिर ।’

अघिअघि हिँडिरहेछन्, खोलामा फड्को हान्दै झापावासी कविहरू मुनाराज शेर्मा, सेलिङ केसी, साङ्सेन पन्दाक, हेमकुमार लावती । विराटको उत्तरको रन्कोले एक्कासि सम्झेँ– तिनीहरू सबको एउटा न एउटा ‘पहाड घर’ अवश्य छ । अलि पछाडी छन् जितेन साम्पाङ, सुरेन्द्र राई, निहाङ किराती, पवन चाम्लिङ, कविराज चाम्लिङ, जो सबै पहाडकै पैदावारहरू हुन् । छेउका विराटलाई हेर्छु, अनि नियाल्छु आफैंलाई । लाग्छ, हामी सब पहाड घर भएका एक से एक आततायीहरू हौं । सब अतिक्रमणकारी हौं । ‘पहाड घर’ जो कुनै दिन महेन्द्रले झोसेर हिँडेको अन्ध राष्ट्रवादी आगोको बीउ थियो, अथवा विस्तार र अतिक्रमणको ऐतिहासिक षड्यन्त्र थियो, हामी त्यसैका एक–एक अंशियार हौं । र, यतिखेर पूर्वी मधेसको भूमिमा भेटिएर एकअर्कालाई निश्चिन्त सोधिरहेछौं, ‘तपाईंको पहाड घर कहाँ हो ?’

प्रकाशित : पुस २३, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?