एक अजम्बरी मास्टरपिस

‘द गडफादर’ फिल्मसित जोडिएका अनेक किस्सा–कहानी अब मिथक र इतिहास बनिसके । त्यसका अन्तरकथा निकै रोचक छन् । सांस्कृतिक, ऐतिहासिक र कला सौन्दर्यको दृष्टिले एक विशिष्ट फिल्मको ५० वर्षे यात्राको कथा

मंसिर १७, २०७९

वसन्त थापा

२२ मार्च २०२२ को साँझ लस एन्जेलसको डल्बी थिएटरमा चलिरहेको ९४औं ओस्कार समारोहमा एउटा अप्रत्याशित, अनपेक्षित र विस्मयकारी घटना भयो । अभिनेता विल स्मिथले स्टेजमा गएर कार्यक्रम प्रस्तोता क्रिस रकको गालामा एक चड्कन लगाए । अनि फर्केर गई आफ्नो सिटमा बसेपछि पनि चर्को स्वरले क्रिसलाई मुख छाडिरहे । आफ्नी पत्नीको केश मुण्डन गरिएको शिरलाई लक्ष्य गरेर क्रिसले जोक गरेकामा विल स्मिथ त्यसरी आक्रोशित बनेका थिए ।

विडम्बनापूर्ण संयोग मान्नुपर्छ, सारा दर्शकलाई स्तम्भित तुल्याइदिने त्यस घटनाको केही समयपश्चात् सर्वश्रेष्ठ अभिनेताको सम्मानबाट तिनै विल स्मिथ पुरस्कृत भए । ‘किङ्ग रिचर्ड’ फिल्ममा उनले गरेको अभिनयका लागि सायद उनी त्यस सम्मानका लागि योग्य पात्र थिए होलान्, तर उनको आफ्नै अशिष्ट, अमर्यादित र अशोभनीय व्यवहारले त्यस भव्य समारोहको रङ उडाइदिएको थियो र त्यस पुरस्कारको घोषणाको ओजलाई पनि हलुका बनाइदिएको थियो । विल स्मिथको अभद्र कृत्यबाट विस्मित र आश्चर्यित बनेका त्यहाँ उपस्थित दर्शक मात्र होइन टेलिभिजनमा त्यस समारोहको प्रत्यक्ष प्रसारण हेरिरहेका लाखौं दर्शक र सञ्चारमाध्यमहरू त्यही चड्कनको चर्चा गर्नतिर लागे । 

त्यही घटनाले गर्दा त्यस साँझको अर्को महत्त्वपूर्ण आकर्षण ओझेलमा पर्न गयो । त्यो थियो चलचित्र ‘द गडफादर’ रिलिज भएको पचास वर्ष पुगेको अवसरमा गरिएको विशेष प्रस्तुति । त्यस प्रस्तुतिमा त्यस फिल्मका झलकहरू स्टेजको पर्दामा प्रक्षेपण गरिएका थिए अनि फिल्मको शीर्षक–संगीतको धुनसँगै निर्देशक फ्रान्सिस फोर्ड कोपोला, अभिनेता अल प्याचिनो र रबर्ट डे नेरो एकसाथ स्टेजमा आएका थिए । ‘गडफादर’ फिल्मसित जोडिएका ती प्रतिभावान् त्रयी स्टेजमा दाखिल हुँदा दर्शकहरूले आफ्नो सिटबाट उठेर तुमुल करतल ध्वनिका साथ उनीहरूप्रति सम्मान व्यक्त गरेका थिए । कोपोलाले छोटो र भावपूर्ण मन्तव्य व्यक्त गरेका थिए त्यस अवसरमा । त्यस एक चड्कनले समारोहको शालीनता र स्वाभाविक गतिलाई चकनाचुर नपारिदिएको भए ‘द गडफादर’ को गौरवगाथा जनचर्चाको केन्द्रमा हुने थियो । 

पचास वर्षअघि सन् १९७२ को मार्च महिनामै त्यस फिल्मको सार्वजनिक प्रदर्शन भएको थियो र ओस्कारले पनि त्यस असाधारण फिल्मको यथोचित् सम्मानका लागि विशेष प्रस्तुतिको आयोजना गरेको थियो । पचास वर्षपछि पनि फिल्मप्रेमीहरूको हृदयको तार झंकृत पार्न समर्थ त्यो फिल्म त्यस्तो सम्मानको सही हकदार थियो । केवल एउटा ठीकठीकै चलेको फिल्म निर्देशन गरेको उनन्तीस वर्षीय तन्नेरीद्वारा निर्देशित त्यो फिल्म सफल हुने कुरामा कसैलाई विश्वास थिएन, त्यसको निर्माणमा लगानी गर्ने ‘प्यारामाउन्ट पिक्चर्स’ का हाकिमहरूलाई पनि थिएन । तर, फिल्म रिलिज के भयो, त्यसले अभूतपूर्व सफलता प्राप्त गर्‍यो, चलनचल्तीको भाषामा भन्ने हो भने त्यसले बक्सअफिसमा आगो बालिदियो । त्यसअघि कुनै फिल्मले गर्न नसकेको कमाइ गरेर त्यसले नयाँ कीर्तिमान कायम गर्‍यो । त्यस वर्षको ओस्कार पुरस्कारको नौ–नौवटा विधामा यसले मनोनयन पायो र ‘सर्वोत्कृष्ट फिल्म’, ‘सर्वोत्कृष्ट पटकथा’ र ‘सर्वोत्कृष्ट अभिनेता’ को तीनवटा सम्मानबाट पुरस्कृत भयो । त्यसबाहेक अरू धेरै किसिमको योगदान रह्यो यसको । पहिलो त, निर्माता कम्पनी प्यारामाउन्ट पिक्चर्सको लडखडाएको आर्थिक स्थितिलाई यसले मजबुत पारिदियो । खस्कँदै गएको मार्लोन ब्रान्डोको लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याइदियो । बिलकुल गुमनाम नवप्रवेशी अल प्याचिनोलाई रातारात ‘स्टार’ बनाइदियो । डायन किटनलाई सफल अभिनेत्रीहरूको लाममा उभ्याइदियो । रबर्ट डुभाल र जेम्स कानजस्ता अभिनेताहरूको प्रसिद्धिमा चार चाँद लगाइदियो । ‘ग्याङग्स्टर’ विधालाई फिल्मको एक छुट्टै र आकर्षक विषयका रूपमा स्थापित गरिदियो । अनि युवा निर्देशक कोपोलालाई सफल फिल्म निर्देशकको कोटिमा दरिदियो । समग्रमा ‘गडफादर’ एउटा युगान्तकारी क्लासिक फिल्म कहलिन गयो । अमेरिकन फिल्म इन्स्टिच्युटले एक सयवटा महानतम अमेरिकी फिल्महरूको सूचीमा ‘सिटिजन केन’ (सन् १९४१) पछि ‘गडफादर’ लाई दोस्रो स्थानमा दरेबाट र न्यासनल फिल्म रजिस्ट्री अफ लाइब्रेरी अफ कांग्रेसले यसलाई ‘सांस्कृतिक, ऐतिहासिक र कला सौन्दर्यको दृष्टिले अति विशिष्ट फिल्म’ भनेर दर्ता गरेबाट नै यसको महत्ता प्रकट हुन्छ । त्यसको प्रशंसा गर्दै प्रख्यात अमेरिकी फिल्म निर्देशक स्टान्ली कुब्रिकले यसो भनेका छन् : ‘द गडफादर सम्भवतः अहिलेसम्मकै सर्वश्रेष्ठ फिल्म हो जसका पात्रहरूको छनोट बेजोड छ ।’ ‘स्पार्टाकस’ (सन् १९६०), ‘साइनिङ’ (सन् १९८०) लगायत अन्य चर्चित फिल्महरू बनाउने कुब्रिक आफैं हलिउडका कहलिएका फिल्म निर्देशकमा पर्छन् । 

द गडफादर’ को एक दृश्यमा अल प्याचिनो (कुर्सीमा बसेका) र मार्लोन ब्रान्डो

भारतीय अखबार र फिल्मी पत्रिकाहरूको माध्यमबाट ‘द गडफादर’ ले सबैतिर बजाएको दुन्दुभिको आवाज काठमाडौं खाल्डोसम्म नआइपुगेको होइन । तर, अर्कै थियो त्यो जमाना । काठमाडौंका तीनवटा, पाटनको एउटा र भक्तपुरको एउटा सिनेमाहलमा चल्थे त केवल हिन्दी फिल्महरू, त्यो पनि लामो समयसम्म । बिरलै चल्थे हलिउड वा अंग्रेजी भाषाका फिल्महरू ती हलमा । टेलिभिजन सुदूर भविष्यको गर्भमा थियो र भिडियोको प्रादुर्भाव भइसकेको थिएन काठमाडौंमा । त्यसैले हलिउडका कुनै फिल्महरूको तारिफ सुनेर तिनलाई हेर्ने लालसा मनमा जागे पनि त्यसलाई दबाएर बस्नुबाहेक अर्को उपाय थिएन । मैले भने हलिउडका फिल्महरूको आश्वाद धरानको ब्रिटिस घोपा क्याम्पमा राम्रैसित चाखिसकेको थिएँ । त्यसैले पनि बाहिरका पत्रपत्रिकामा छापिएका तिनका चर्चा र समीक्षामा मेरा आँखा परिहाल्थे । त्यसैले पनि म ‘द गडफादर’ ले स्थापना गरेको नयाँ कीर्तिमानबारे वाकिफ थिएँ, तर त्यसलाई काठमाडौंमा सिनेमाको पर्दामा हेर्न भने सम्भव थिएन । 

‘द गडफादर’ फिल्म हेर्ने मनको उत्कण्ठालाई त्यसको बम्बइया अनुकृति हेरेर शान्त पार्नुपरेको थियो । त्यो अनुकृति बलिउड स्टार फिरोज खानले बनाएका थिए ‘धर्मात्मा’ नाम दिएर । सन् १९७५ मा रिलिज भएको त्यस फिल्मको हिरो र निर्देशक फिरोज खान स्वयं थिए । रानीपोखरी छेउको पुरानो धान गोदामजस्तो विश्वज्योति सिनेमा हलमा हेरेको थिएँ मैले ‘धर्मात्मा’ । त्यसमा प्रेमनाथ सेठ धरमदास बनेर ‘द गडफादर’ मा डन भिटो कोर्लियोनका रूपमा मार्लोन ब्रान्डोले खेलेको भूमिकामा देखापरेका थिए । वैध अवैध (धेरैजसो अवैध) रूपमा आर्जित अकुत सम्पत्ति र त्यसको माध्यमबाट उपलब्ध राजनीतिक शक्तिका कारण यता धरमदास र उता डन कोर्लियोन समाजमा जे पनि गर्न सक्ने हैसियत राख्छन् । व्यवस्थापिका, न्यायपालिका, सरकार, प्रहरी, प्रशासनलाई पैसाको बलले आफ्नो मुठ्ठीमा राखेका उनीहरूले चाहेमा फाँसी चढ्न लागेको अपराधीलाई छुटाउन सक्छन् र उनीहरूको विरुद्ध चल्ने वा बोल्नेलाई चुट्कीको भरमा परमधाम पुर्‍याउन सक्छन् । त्यसैले उनीहरूको शक्ति र प्रभावबाट लाभान्वित वा संत्रस्त व्यक्तिहरू धरमदासलाई ‘धर्मात्मा’ भन्छन् भने डन कोर्लियोनलाई ‘गडफादर’ अर्थात् धर्मपिता । माइकल कोर्लियनको ठाउँ फिरोज खानले लिएका छन् । ‘द गडफादर’ मा पुलिसको गिरफ्तारीबाट जोगिन माइकल न्युयोर्कबाट भागेर सिसिली जान्छ भने ‘धर्मात्मा’ मा फिरोज खान बाबुसँगको खटपटका कारण अफगानिस्तान जान्छन् । कथा एकदमै मिल्दोजुल्दो छ, त्यसमा शंका छैन । त्यस कुरालाई फिरोज खानले लुकाएका पनि थिएनन्, केवल बम्बइयाकरण गरेका थिए । ‘गडफादर’ को फोटोकपी भनेर आलोचना भए पनि ‘धर्मात्मा’ लाई हिट हुनबाट कसैले रोक्न सकेन । 

यहाँनेर फिल्म ‘गडफादर’ को संक्षेपमा कथासार दिनु सान्दर्भिक होला, जो यसप्रकार रहेको छ :

‘न्युयोर्कमा सक्रिय आपराधिक समूहमध्ये एउटाको मुखिया भिटो कोर्लियोनको दबदबाबाट सबै परिचित छन् । प्रत्यक्ष देखिने व्यापार इटलीबाट जैतुनको तेलको आयात भए पनि भिटोको आर्थिक सम्पन्नता र शक्तिको स्रोत मदिराको कारोबार, जुवाको धन्दा र वेश्यावृत्तिको संरक्षण हो । मजदुर युनियनहरूमा पनि उत्तिकै नियन्त्रण छ भिटोको । जुन बेला चाह्यो युनियनलाई उचालेर बखेडा खडा गरिदिने ताकत छ भिटोको । त्यसैले सबै भिटोलाई डन भनेर पुकार्छन् र धेरै ‘द गडफादर’ भनेर । भिटोका अवैध क्रियाकर्मबारे कोही अनभिज्ञ नभए पनि वैध रूपमा कसैले औंला ठड्याउन सक्तैन भिटोलाई । तीन छोरा (सनी, फ्रेडो र माइकल) र एउटी छोरी (कोनी) छन् भिटोका । पिता र परिवारको चाहनाविपरीत दोस्रो विश्वयुद्धमा अमेरिकी सेनामा भर्ती भएर सेवा छाडेको कान्छो छोरा माइकललाई सेनेटर वा गभर्नर बनाउने इच्छा छ भिटोको । तर, घटनाक्रमले गर्दा माइकल पिताको पदचिह्नकै अनुगामी बन्न पुग्छ ।’ 

यो फिल्म त्यही नामको शीर्षकमा प्रकाशित उपन्यासमा आधारित थियो, जसको लेखक थिए मारियो पुजो । यो पुस्तक पाठकहरूले एकदमै रुचाएका थिए र यसको लगभग ३ करोड प्रति बिक्री भएर त्यसबेलासम्मको सर्वाधिक बिक्री हुने पुस्तक बनेको समाचार उसबेला आएको थियो । सन् १९६९ मा छापिएर नाम कमाएको यस पुस्तकलाई मैले भने धेरै पछिसम्म पढ्न पाएको थिइनँ वा पढेको थिइनँ । साना अक्षरमा छापिएको यसको पेपरब्याक संस्करण मैले सन् १९८१ को सेप्टेम्बर महिनाको कुनै दिन नयाँदिल्लीमा किनेको रहेछु । किताबमा परेको मेरो हस्ताक्षर र तारिखबाट त्यही थाहा हुन्छ । दिल्ली जान पाएको बखत म सधैं कनाटप्लेसमा जनपथ नेरको फुटपाथमा सस्तो मोलका किताब किन्ने मौका छोप्थें । त्यहींबाट किनेर ल्याएको मारियो पुजोको बहुचर्चित ‘द गडफादर’ छापिएको यतिका वर्षपछि ढिलै भए पनि मैले पढें । त्यो उपन्यास अपराध जगत्को कथा हो र त्यसको पहिलो पानामै फ्रान्सेली लेखक बाल्जाकको ‘बिहाइन्ड एभ्री ग्रेट फर्चुन दियर इज क्राइम’ भन्ने उक्ति उद्धृत छ, जसबाट पुस्तकले उद्घाटित गर्न लागेको कथ्यबारे संकेत मिल्छ । नभन्दै, पुस्तकमा आर्थिक सम्पन्नता, राजनीतिक प्रभाव र सामाजिक दबदबा अपराधको माखेसाङ्लोसित छुट्याउन नसकिने गरी जेलिएको हुन्छ भन्ने तथ्यलाई देखाइएको छ, भिटो कोर्लियोन परिवारलाई नमुनाका रूपमा अघि सारेर । कतिले त्यस किताबले पुँजीवादको चरम अवस्थाबाट सृजित विकृतिलाई प्रस्तुत गरेको भनेर पनि व्याख्या गरेका छन् । त्यो किताब पढेपछि फेरि एकपटक त्यसको फिल्मी रूपान्तरण हेर्ने तिर्खा नयाँ शिराबाट मेरो मनमा जागृत भयो । 

आखिर मैले त्यो फिल्म हेरिकन छाडें सन् १९८० को दशकको मध्यतिर, तर भिडियोमा । काठमाडौंका सिनेमाहलमा हलिउडका फिल्म हेर्न सम्भव नभएको कुरा अघिबाटै उल्लेख भइसक्यो । सिनेमा हलको ठूलो पर्दामा फिल्म हेर्नु र त्यही फिल्म भिडियोमा हेर्नु उस्तै कुरा होइन । ठूलो पर्दाका धेरै गुणहरू भिडियोमा विलीन हुन्छन् । त्यति हुँदाहुँदै पनि मेरो मनमा गहिरो छाप छाड्नबाट त्यो फिल्म चुकेन । 

मारियो पुजो

किताबको कथालाई फिल्ममा हुबहु उतार्नु चुनौतीपूर्ण कार्य हो । किताबका कति कुरा फिल्ममा हराएका हुन्छन्, कि त केही थपथाप पारिएका हुन्छन् । तर, यस फिल्ममा बडो खुबीका साथ उतारिएको छ किताबको प्रसंग र प्रकरणलाई । मूल किताबमा त नारी यौनांगको वर्णनमै एउटा सिंगो अध्याय खर्चिइएको छ र त्यो स्वाभाविक पनि प्रतीत हुन्छ पढ्दाखेरि । तर, फिल्ममा भने त्यस्ता धेरै उपकथाहरूको प्रसंगमाथि रन्दा चलाइएको छ, तापनि महत्त्वको कुनै प्रसंग छुट्न गएको महसुस हुँदैन । पटकथाको यही खुबीले दर्शकको ध्यानलाई एकोहोरो तानिरहन्छ फिल्मले सुरुवातदेखि अन्त्यसम्मै । लेखक मारियो पुजोले एउटा पठनीय आख्यान त लेखे लेखे, निर्देशक कोपोलासित मिलेर यसको जोडदार पटकथा पनि लेखेर देखाए । सर्वोत्कृष्ट पटकथा लेखनमा उनले र कोपोलाले संयुक्त ओस्कार पुरस्कार पाएबाटै यो कुरा प्रमाणित हुन्छ । 

फोटोग्राफीको आफ्नै लयकारी छ । कतिपय दृश्यहरू सामान्य दर्शकलाई अँध्यारो पनि लाग्न सक्छ । तर, छाया र प्रकाशसित खेलेर पात्रहरूको मनोभाव तथा प्रत्येक दृश्यलाई प्रभावोत्पादक ढंगले पर्दामा उतार्ने काम गरेको छ फोटोग्राफीले, त्यो पनि कुनै कलाबाजी नदेखाई । फिल्मका लागि इटालीका नोना रोटाद्वारा रचित संगीतले एउटा मानक नै खडा गरेको छ । फिल्मको शीर्षक–संगीत त एक प्रकारले विश्वव्यापी ‘राष्ट्रगान’ सरह नै बन्यो । त्यसअघि फिल्मको यतिविघ्न लोकप्रिय शीर्षक–संगीत ‘डाक्टर जिभागो’ (सन् १९६५) बाहेक अर्को फिल्मले दिन सकेको थिएन । ‘द गडफादर’ को यो शीर्षक–संगीतलाई आज पनि विश्वका प्रख्यात फिलहार्मोनिक सिम्फोनी आर्केस्ट्राहरू त्यसरी नै प्रस्तुत गर्छन्, जसरी मोत्जार्ट वा विथोविनको सिम्फोनी । सडक–संगीतकारहरू पनि संगीतको यस धुनलाई मस्तसित बजाइरहेका हुन्छन् युरोपेली सहरमा पार्क वा बाटाघाटामा ।

सडक–संगीतसित यस धुनको सम्बन्धबारे एउटा रोचक प्रसंग छ । गएको मे महिनामा इटालीको ट्रेन्टो माउन्टेन फिल्म फेस्टिभलमा भाग लिन गएका थियौं म र फिल्मनिर्देशक मेरा मित्र केसाङ छेतेन । ट्रेन्टो नगरको एउटा डबली छेउको क्याफेमा कफी कुरिरहँदा डबली नजिकै बसेर एक सडक–संगीतकारले भ्वायलिनबाट रमाइलो धुन बजाइरहेको थियो । मैले उसको नजिक गएर ‘द गडफादर’ को शीर्षक–संगीत बजाउन अनुरोध गरें । यस्तो अनुरोध मैले दुई–चार अरू ठाउँमा पनि गरेको छु, रमाइलोका लागि र साथै त्यस धुनको सर्वव्यापकता जाँच्ने मनसायले । तर, ट्रेन्टोको त्यो संगीतकार मेरो अनुरोधबाट अलमल्ल पर्‍यो, उसले बुझेन मैले भनेको । बाटो हिँडिरहेको एक जना इटालियन सज्जनले ‘एल पाद्रिनो’ भनेर बुझाएपछि ‘एल पाद्रिनो ? सी सी’ भन्दै आफ्नो भ्वायलिनमा तत्काल उसले त्यो धुन उत्साहका साथ हाम्रा आँखामा आँखा जुधाउँदै बजाएर सुनायो । ‘द गडफादर’ को इटालियन रूपान्तर थियो ‘एल पाद्रिनो’ । यो सानो घटना ‍यस संगीतको सर्वजनीन र सर्वव्यापक साथै यसको चिरन्तन गुण प्रकट गर्ने केवल एउटा उदाहरण हो । 

फिल्मका पात्रहरूको भूमिका निर्वाह गर्ने कलाकारहरूको जीवन्त र पत्यारिलो काम हेर्दा लाग्छ, उनीहरूको जन्म नै तिनै पात्रको भूमिका खेल्नलाई भएको थियो । कसैको कामलाई खोट लगाउने ठाउँ पाइँदैन । आफ्नो वास्तविक उमेरभन्दा बूढो भिटो कोरलियोनको भूमिका निर्वाह गर्ने मार्लोन ब्रान्डोको अभिनय त बेजोड छँदैछ, तर अरू कुनै पनि पात्रको भूमिकामा खेल्ने कलाकारहरूको अभिनय किञ्चित् कम छैन । सनि कोर्लियोन भएर खेल्ने जेम्स कान, टम हागन हुने रबर्ट दुभाल वा माइकल कोर्लियोनको भूमिका खेल्ने अल प्याचिनो सबै उत्तिकै हकदार देखिन्छन् बेस्ट एक्टर पुरस्कारको । पात्र अनुसारको कलाकार छनोट गर्नु र तिनीहरूबाट कथाले मागे अनुसारको काम लिन सक्नु अब्बल दर्जाका निर्देशकको प्रतिभाको वैशिष्ट्य हो । ‘द गडफादर’ सफल साबित भएपछि हलिउडमा कोपोलाले आफ्नो सिक्का जमाए । 

कुनै पुस्तकमा आधारित फिल्म हेरिसकेपछि मूल पुस्तकलाई सितिमिति फेरि कसैले दोहोर्‍याएर पढ्दैन । तर, मैले भने फिल्म हेरिसकेपछि झनै ‘द गडफादर’ पुस्तकलाई दोहोर्‍याई तेहर्‍याई पढेको छु । कुनै सन्दर्भवश त्यसका छोटाछोटा अंश पढ्नलाई त्यो पुस्तक कैयन् पटक पल्टाएको छु । कतिपय अवसरमा फिल्मको सन्दर्भलाई अझ‍ गहिरोसित बुझ्न पनि मैले त्यसो गरेको छु । यसरी घरीघरी र्‍याकबाट झिक्दै पढ्नलाई मैले सन् १९८१ मा किनेको पेपरब्याकको अक्षर अब मेरा आँखाका लागि धेरै सानो भइसकेको हुनाले ठूला अक्षरमा छापिएको मोटो किताबको खोजीमा लागें । इच्छा गरेअनुसारको हार्डबाउन्ड पुस्तक त फेला परेन । तर, पहिलेको तुलनामा डेढी पृष्ठ संख्या र निकै ठूला अक्षरमा छापिएको किताब पाएँ थापाथलीको एकता बुक्समा । त्यो मैले खरिद गरें जनवरी २०१५ को कुनै एक दिन । ठूलो साइजको फन्ट भएको ‘द गडफादर’ को यो दोस्रो प्रति मैले जानेर बेलैमा किनेछु । किनभने सन् २०१५ मा विनाशकारी भूकम्प गएपछिको समयमा यो किताब मेरा लागि खुब उपयोगी साबित भयो, खासगरी मे ११ को दोस्रो ठूलो धक्कापछिको बेलामा । बारम्बार परकम्पहरू आइराखेका थिए, बाहिर कतै निस्कनु खतरा निम्त्याउनु थियो । धक्काले आफ्नै घर भत्किएला वा छिमेकका अग्ला घरहरू ढलेर तिनको थिचाइमा पो परिएला कि भन्ने संत्रास थियो । त्यसैले आफ्नो बास धेरैजसो घरभित्र भन्दा बाहिरको अस्थायी टहरामा हुन्थ्यो । अनिश्चिय र अत्यास भरिएको त्यस असमान्य वातावरणमा भय विरेचनको माध्यम बन्यो मेरा लागि यो किताब । उता परकम्पका झट्का गइरहेछ, यता म डन भिटो र माइकल कोर्लियोनका कथा पढिरहेछु । बडो ठूलो सहारा मिलेको थियो विचलित मनलाई सन्तुलित राख्न यस किताबबाट । 

बितेका पचास वर्षमा ‘द गडफादर’ फिल्मसित जोडिएका अनेक कथाकहानी बाहिर आएका छन् । झन् यसले पाँच दशक पूरा गरेको अवसरमा त्यसको निर्माणसित सम्बन्धित नयाँनयाँ कुरा पनि उद्घाटित भएका छन् । त्यसका अन्तरकथा पनि निकै रोचक छन् । 

‘द गडफादर’ किताबको लोकप्रियता देखेर हलिउडको ठूलो फिल्म निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले फिल्म बनाउने अधिकार खरिद गरेको थियो लेखक मारियो पुजोबाट । किताबको लोकप्रियताको फाइदा उठाउँदै त्यसमा आधारित फिल्म सकेसम्म छिटो बनाउन चाहन्थ्यो प्यारामाउन्ट पिक्चर्स । फिल्मको निर्देशन गर्न सक्ने व्यक्तिको खोजी सुरु भयो । कम्पनीले पहिले सेर्जो लियोनलाई अनुरोध गर्‍यो । क्लिन्ट इस्टउडद्वारा अभिनित ‘स्पाघेट्टी वेस्टर्न’ भनेर चिनिने फिल्म शृंखलाको सफलताका कारण सेर्जोको नाम उचाइमा थियो । सेर्जोले नमानेपछि आर्थर पेन, कोस्टा ग्राभास, एलिया कजानजस्ता नामुद निर्देशकहरूलाई पनि कम्पनीबाट प्रस्ताव गरियो । तर, ती सबैबाट इन्कारी आयो । निर्देशकको जागिर फ्रान्सिस फोर्ड कोपोलाको पोल्टामा आयो आखिरमा । ठीकठीकै चलेको जम्माजम्मी एउटा फिल्मको निर्देशन गरेको रेकर्ड थियो तिनको । उमेर थियो केवल उनन्तीस वर्ष । उनले निर्देशकको काम पाउने सबभन्दा बलियो आधार अरू थोकभन्दा पनि उनी इटालियन मूलको हुनु थियो । किनभने ‘द गडफादर’ इटालियन माफियाको कहानी थियो । बेरोजगार जस्तै अवस्थामा बसेका युवा कोपोलाले निर्देशकको जागिर के पाए उनको संघर्षका दिन सुरु भए । 

हरेक कुरामा प्यारामाउन्ट पिक्चर्स कम्पनीका हाकिमहरूसित उनको घच्ची पर्थ्यो । कोपोला गडफादरको भूमिकामा मार्लोन ब्रान्डोलाई लिन चाहन्थे, कम्पनीका हाकिमहरू लरेन्स ओलिभियर, एन्थोनी क्विन, जर्ज स्कट वा ओर्सन वेल्सको नाम प्रस्ताव गर्थे । माइकल कोर्लियोनको भूमिकामा कोपोलाले अल प्याचिनोको नाम अघि सारेकामा हाकिमहरू यो मानिस को हो भन्थे । हुन पनि उसबेलासम्म न्युयोर्कको थिएटरमा काम गर्दै गरेका अल प्याचिनोलाई कसैले चिन्दैन थिए । हाकिमहरू त्यस भूमिकाका लागि रबर्ट रेडफोर्ड, रायन ओ’नील, वारेन बेट्टी, डस्टिन हफमानको नाउँ सुझाउँथे । कम्पनी आफ्नो लगानी नडुबोस् भनेर बजारमा बलियो साख भएका अभिनेताहरूलाई फिल्ममा खेलाउन चाहन्थ्यो, जो स्वाभाविक थियो । ‘स्टुडियो सिस्टम’ जसलाई भनिन्छ, त्यसमा यस्तै हुन्छ । निर्देशक वा कलाकारहरू कम्पनीले करारमा नियुक्त गरेका कर्मचारीसरह हुन्छन् । हैकम कम्पनीको चल्छ । कोपोला दोस्रो विश्वयुद्ध अन्त्यपछिको दशकको पृष्ठभूमिमा फिल्म बनाउन चाहन्थे । 

किताबमा वर्णित समय त्यही नै थियो । कम्पनीका हाकिमहरू भने सन् १९७० को दशकको सुरुवाती समय देखाउने फिल्म हुनुपर्छ भन्थे । पुरानो समय देखाउने फिल्म बनाउँदा खर्च बढी हुन्थ्यो । कोपोला फिल्मको सुटिङ न्युयोर्क र सिसिलीमा गर्न चाहन्थे, हाकिमहरू सिसिलीको सुटिङ अमेरिकाकै कुनै राज्यमा र न्युयोर्क देखाउने सुटिङ हलिउडको स्टुडियोमै गरेर सिध्याउनुपर्छ भन्थे, खर्च कटाउन ।

अनेक अड्चनका बावजुद कोपोलाले आफ्ना कुरा मनाएर छाडे । कसरी मनाए भन्ने कुराको कथा छुट्टै छ । तर, न्युयोर्कमा सुटिङ के थालियो अर्को अनपेक्षित बखेडा आइपर्‍यो । हामीलाई अपराधी माफिया भनी देखाउने भनेर इटालियन अमेरिकनहरूले न्युयोर्कमा विरोध जुलुसहरू निकालेको निकालेकै गरे । जसरी दीपा मेहताले ‘वाटर’ फिल्मको सुटिङ बनारसमा गर्न लाग्दा त्यसको विरोधमा हिंसात्मक प्रदर्शनहरू भएका थिए । प्रदर्शनकारी संस्थाका नेतालाई फिल्मको पटकथा देखाएर ‘माफिया’ वा ‘कोसा नोस्ट्रा’ जस्ता माफियालाई इंगित गर्ने वाक्यांश नराख्ने सर्तमा सफाइ लिएपछि बल्ल सुटिङ हुन पायो । तर, फेरि कोपोलाले राम्रो काम गर्न सकेन, फिल्मको फुटेज मात्रै बर्बाद गरिरहेको छ भन्ने चम्चाहरूको झोसपोलका कारण उनको जागिर कुनै पनि बेला खुस्किने अवस्था सृजना भयो । कुनै पनि बेला निर्देशकको पद गुमाउनुपर्ने खतरा कोपोलाको टाउकामाथि डेमोक्लसको तरबारझैं झुन्डिरह्यो । सुटिङको फुटेज प्रत्येक दिन हाकिमहरूकहाँ सहमति र स्वीकृतिका लागि पठाउनुपर्थ्यो । तर, एउटा समय आयो जतिबेला कोपोलालाई कम्पनीले नहटाउने कुरा पक्का भयो । तर, यतिन्जेलमा फिल्म निर्माणको बजेट तीन गुणा बढिसकेको थियो र सन् १९७१ भित्रै रिलिज गर्ने कुरा पनि असम्भव बनिसकेको थियो । 

अन्ततोगत्वा कुनै यत्नले फिल्म बनेर पूरा भयो । फेरि झमेला उठ्यो फिल्मको लम्बाइउपर । कम्पनीको दृष्टिमा फिल्म चाहिएभन्दा धेरै लामो भएको थियो । आखिर दुई घण्टा ५५ मिनेटमा ठेगान लाग्यो । त्यो लम्बाइ आफैं असामान्य थियो हलिउड फिल्मका लागि । अनि बल्ल रिलिज भयो फिल्म सन् १९७२ को मार्च महिनामा । बाँकी जे भयो त्यो इतिहास बनिसकेको छ । ‘द गडफादर’ को सफलताको लहरलाई उपयोग गर्दै प्यारामाउन्टले दुई वर्षमै ‘द गडफादर’ को दोस्रो भाग बनायो, जो पहिलो जत्तिकै (कसैकसैको भनाइमा पहिलोभन्दा बढ्ता) हिट भयो । कालान्तरमा यसको तेस्रो भागको पनि निर्माण भयो । यी तीनै फिल्मको निर्देशन अरूले नभई फ्रान्सिस फोर्ड कोपोलाले नै गरे । यो चर्चाको छुट्टै विषय बन्न सक्छ । 

अनेक प्रतिकूलता झेल्दै कोपोलाले जसरी यो फिल्म बनाए र जुन सफलताको स्वाद उनले चाख्न पाए त्यो हेर्दा प्रतिकूलतामै सफलता निहित हुन्छ भन्ने उक्ति याद आउँछ । नित्सेले पनि भनेका थिए ‘भित्तामै द्वार खोज’ । कोपोलाले भित्तामा नै द्वार खोजेर देखाए । 

‘द गडफादर’ किताब र फिल्म दुवै नै अति प्रिय छन् मेरानिम्ति । यस्तै कृतिहरू अधिकारी हुन्छन् ‘कालजयी’ वा ‘मास्टरपिस’ जस्ता विशेषणका । कुनै बेला मुड चलेका बेला किताबको कुनै खण्ड पल्टाएर पढ्छु अकारण । मलाई घतलाग्दा लाग्ने फिल्मका दृश्यहरू हेर्छु इन्टरनेट र युट्युब प्रविधिले उपलब्ध गराएको सुविधा उपयोग गर्दै बेलाबखत । ‘डाइमन्ड्स आर फर एभर’ भन्ने अंग्रेजी उक्ति छ । ‘द गडफादर’ फिल्म पनि असली हीराको कोटीमा पर्छ, जसको चमक पचास वर्षपछि पनि किञ्चित् घटेको छैन र सायद कहिल्यै घट्ने छैन । फिल्म होस् त हीराझैं ‘द गडफादर’ जस्तो !

(लेखक काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का आयोजनाकर्ता हुन्)

वसन्त

Link copied successfully