एक अजम्बरी मास्टरपिस

‘द गडफादर’ फिल्मसित जोडिएका अनेक किस्सा–कहानी अब मिथक र इतिहास बनिसके । त्यसका अन्तरकथा निकै रोचक छन् । सांस्कृतिक, ऐतिहासिक र कला सौन्दर्यको दृष्टिले एक विशिष्ट फिल्मको ५० वर्षे यात्राको कथा
वसन्त थापा

२२ मार्च २०२२ को साँझ लस एन्जेलसको डल्बी थिएटरमा चलिरहेको ९४औं ओस्कार समारोहमा एउटा अप्रत्याशित, अनपेक्षित र विस्मयकारी घटना भयो । अभिनेता विल स्मिथले स्टेजमा गएर कार्यक्रम प्रस्तोता क्रिस रकको गालामा एक चड्कन लगाए । अनि फर्केर गई आफ्नो सिटमा बसेपछि पनि चर्को स्वरले क्रिसलाई मुख छाडिरहे । आफ्नी पत्नीको केश मुण्डन गरिएको शिरलाई लक्ष्य गरेर क्रिसले जोक गरेकामा विल स्मिथ त्यसरी आक्रोशित बनेका थिए ।

एक अजम्बरी मास्टरपिस

विडम्बनापूर्ण संयोग मान्नुपर्छ, सारा दर्शकलाई स्तम्भित तुल्याइदिने त्यस घटनाको केही समयपश्चात् सर्वश्रेष्ठ अभिनेताको सम्मानबाट तिनै विल स्मिथ पुरस्कृत भए । ‘किङ्ग रिचर्ड’ फिल्ममा उनले गरेको अभिनयका लागि सायद उनी त्यस सम्मानका लागि योग्य पात्र थिए होलान्, तर उनको आफ्नै अशिष्ट, अमर्यादित र अशोभनीय व्यवहारले त्यस भव्य समारोहको रङ उडाइदिएको थियो र त्यस पुरस्कारको घोषणाको ओजलाई पनि हलुका बनाइदिएको थियो । विल स्मिथको अभद्र कृत्यबाट विस्मित र आश्चर्यित बनेका त्यहाँ उपस्थित दर्शक मात्र होइन टेलिभिजनमा त्यस समारोहको प्रत्यक्ष प्रसारण हेरिरहेका लाखौं दर्शक र सञ्चारमाध्यमहरू त्यही चड्कनको चर्चा गर्नतिर लागे ।

त्यही घटनाले गर्दा त्यस साँझको अर्को महत्त्वपूर्ण आकर्षण ओझेलमा पर्न गयो । त्यो थियो चलचित्र ‘द गडफादर’ रिलिज भएको पचास वर्ष पुगेको अवसरमा गरिएको विशेष प्रस्तुति । त्यस प्रस्तुतिमा त्यस फिल्मका झलकहरू स्टेजको पर्दामा प्रक्षेपण गरिएका थिए अनि फिल्मको शीर्षक–संगीतको धुनसँगै निर्देशक फ्रान्सिस फोर्ड कोपोला, अभिनेता अल प्याचिनो र रबर्ट डे नेरो एकसाथ स्टेजमा आएका थिए । ‘गडफादर’ फिल्मसित जोडिएका ती प्रतिभावान् त्रयी स्टेजमा दाखिल हुँदा दर्शकहरूले आफ्नो सिटबाट उठेर तुमुल करतल ध्वनिका साथ उनीहरूप्रति सम्मान व्यक्त गरेका थिए । कोपोलाले छोटो र भावपूर्ण मन्तव्य व्यक्त गरेका थिए त्यस अवसरमा । त्यस एक चड्कनले समारोहको शालीनता र स्वाभाविक गतिलाई चकनाचुर नपारिदिएको भए ‘द गडफादर’ को गौरवगाथा जनचर्चाको केन्द्रमा हुने थियो ।

पचास वर्षअघि सन् १९७२ को मार्च महिनामै त्यस फिल्मको सार्वजनिक प्रदर्शन भएको थियो र ओस्कारले पनि त्यस असाधारण फिल्मको यथोचित् सम्मानका लागि विशेष प्रस्तुतिको आयोजना गरेको थियो । पचास वर्षपछि पनि फिल्मप्रेमीहरूको हृदयको तार झंकृत पार्न समर्थ त्यो फिल्म त्यस्तो सम्मानको सही हकदार थियो । केवल एउटा ठीकठीकै चलेको फिल्म निर्देशन गरेको उनन्तीस वर्षीय तन्नेरीद्वारा निर्देशित त्यो फिल्म सफल हुने कुरामा कसैलाई विश्वास थिएन, त्यसको निर्माणमा लगानी गर्ने ‘प्यारामाउन्ट पिक्चर्स’ का हाकिमहरूलाई पनि थिएन । तर, फिल्म रिलिज के भयो, त्यसले अभूतपूर्व सफलता प्राप्त गर्‍यो, चलनचल्तीको भाषामा भन्ने हो भने त्यसले बक्सअफिसमा आगो बालिदियो । त्यसअघि कुनै फिल्मले गर्न नसकेको कमाइ गरेर त्यसले नयाँ कीर्तिमान कायम गर्‍यो । त्यस वर्षको ओस्कार पुरस्कारको नौ–नौवटा विधामा यसले मनोनयन पायो र ‘सर्वोत्कृष्ट फिल्म’, ‘सर्वोत्कृष्ट पटकथा’ र ‘सर्वोत्कृष्ट अभिनेता’ को तीनवटा सम्मानबाट पुरस्कृत भयो । त्यसबाहेक अरू धेरै किसिमको योगदान रह्यो यसको । पहिलो त, निर्माता कम्पनी प्यारामाउन्ट पिक्चर्सको लडखडाएको आर्थिक स्थितिलाई यसले मजबुत पारिदियो । खस्कँदै गएको मार्लोन ब्रान्डोको लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याइदियो । बिलकुल गुमनाम नवप्रवेशी अल प्याचिनोलाई रातारात ‘स्टार’ बनाइदियो । डायन किटनलाई सफल अभिनेत्रीहरूको लाममा उभ्याइदियो । रबर्ट डुभाल र जेम्स कानजस्ता अभिनेताहरूको प्रसिद्धिमा चार चाँद लगाइदियो । ‘ग्याङग्स्टर’ विधालाई फिल्मको एक छुट्टै र आकर्षक विषयका रूपमा स्थापित गरिदियो । अनि युवा निर्देशक कोपोलालाई सफल फिल्म निर्देशकको कोटिमा दरिदियो । समग्रमा ‘गडफादर’ एउटा युगान्तकारी क्लासिक फिल्म कहलिन गयो । अमेरिकन फिल्म इन्स्टिच्युटले एक सयवटा महानतम अमेरिकी फिल्महरूको सूचीमा ‘सिटिजन केन’ (सन् १९४१) पछि ‘गडफादर’ लाई दोस्रो स्थानमा दरेबाट र न्यासनल फिल्म रजिस्ट्री अफ लाइब्रेरी अफ कांग्रेसले यसलाई ‘सांस्कृतिक, ऐतिहासिक र कला सौन्दर्यको दृष्टिले अति विशिष्ट फिल्म’ भनेर दर्ता गरेबाट नै यसको महत्ता प्रकट हुन्छ । त्यसको प्रशंसा गर्दै प्रख्यात अमेरिकी फिल्म निर्देशक स्टान्ली कुब्रिकले यसो भनेका छन् : ‘द गडफादर सम्भवतः अहिलेसम्मकै सर्वश्रेष्ठ फिल्म हो जसका पात्रहरूको छनोट बेजोड छ ।’ ‘स्पार्टाकस’ (सन् १९६०), ‘साइनिङ’ (सन् १९८०) लगायत अन्य चर्चित फिल्महरू बनाउने कुब्रिक आफैं हलिउडका कहलिएका फिल्म निर्देशकमा पर्छन् ।

द गडफादर’ को एक दृश्यमा अल प्याचिनो (कुर्सीमा बसेका) र मार्लोन ब्रान्डो

भारतीय अखबार र फिल्मी पत्रिकाहरूको माध्यमबाट ‘द गडफादर’ ले सबैतिर बजाएको दुन्दुभिको आवाज काठमाडौं खाल्डोसम्म नआइपुगेको होइन । तर, अर्कै थियो त्यो जमाना । काठमाडौंका तीनवटा, पाटनको एउटा र भक्तपुरको एउटा सिनेमाहलमा चल्थे त केवल हिन्दी फिल्महरू, त्यो पनि लामो समयसम्म । बिरलै चल्थे हलिउड वा अंग्रेजी भाषाका फिल्महरू ती हलमा । टेलिभिजन सुदूर भविष्यको गर्भमा थियो र भिडियोको प्रादुर्भाव भइसकेको थिएन काठमाडौंमा । त्यसैले हलिउडका कुनै फिल्महरूको तारिफ सुनेर तिनलाई हेर्ने लालसा मनमा जागे पनि त्यसलाई दबाएर बस्नुबाहेक अर्को उपाय थिएन । मैले भने हलिउडका फिल्महरूको आश्वाद धरानको ब्रिटिस घोपा क्याम्पमा राम्रैसित चाखिसकेको थिएँ । त्यसैले पनि बाहिरका पत्रपत्रिकामा छापिएका तिनका चर्चा र समीक्षामा मेरा आँखा परिहाल्थे । त्यसैले पनि म ‘द गडफादर’ ले स्थापना गरेको नयाँ कीर्तिमानबारे वाकिफ थिएँ, तर त्यसलाई काठमाडौंमा सिनेमाको पर्दामा हेर्न भने सम्भव थिएन ।

‘द गडफादर’ फिल्म हेर्ने मनको उत्कण्ठालाई त्यसको बम्बइया अनुकृति हेरेर शान्त पार्नुपरेको थियो । त्यो अनुकृति बलिउड स्टार फिरोज खानले बनाएका थिए ‘धर्मात्मा’ नाम दिएर । सन् १९७५ मा रिलिज भएको त्यस फिल्मको हिरो र निर्देशक फिरोज खान स्वयं थिए । रानीपोखरी छेउको पुरानो धान गोदामजस्तो विश्वज्योति सिनेमा हलमा हेरेको थिएँ मैले ‘धर्मात्मा’ । त्यसमा प्रेमनाथ सेठ धरमदास बनेर ‘द गडफादर’ मा डन भिटो कोर्लियोनका रूपमा मार्लोन ब्रान्डोले खेलेको भूमिकामा देखापरेका थिए । वैध अवैध (धेरैजसो अवैध) रूपमा आर्जित अकुत सम्पत्ति र त्यसको माध्यमबाट उपलब्ध राजनीतिक शक्तिका कारण यता धरमदास र उता डन कोर्लियोन समाजमा जे पनि गर्न सक्ने हैसियत राख्छन् । व्यवस्थापिका, न्यायपालिका, सरकार, प्रहरी, प्रशासनलाई पैसाको बलले आफ्नो मुठ्ठीमा राखेका उनीहरूले चाहेमा फाँसी चढ्न लागेको अपराधीलाई छुटाउन सक्छन् र उनीहरूको विरुद्ध चल्ने वा बोल्नेलाई चुट्कीको भरमा परमधाम पुर्‍याउन सक्छन् । त्यसैले उनीहरूको शक्ति र प्रभावबाट लाभान्वित वा संत्रस्त व्यक्तिहरू धरमदासलाई ‘धर्मात्मा’ भन्छन् भने डन कोर्लियोनलाई ‘गडफादर’ अर्थात् धर्मपिता । माइकल कोर्लियनको ठाउँ फिरोज खानले लिएका छन् । ‘द गडफादर’ मा पुलिसको गिरफ्तारीबाट जोगिन माइकल न्युयोर्कबाट भागेर सिसिली जान्छ भने ‘धर्मात्मा’ मा फिरोज खान बाबुसँगको खटपटका कारण अफगानिस्तान जान्छन् । कथा एकदमै मिल्दोजुल्दो छ, त्यसमा शंका छैन । त्यस कुरालाई फिरोज खानले लुकाएका पनि थिएनन्, केवल बम्बइयाकरण गरेका थिए । ‘गडफादर’ को फोटोकपी भनेर आलोचना भए पनि ‘धर्मात्मा’ लाई हिट हुनबाट कसैले रोक्न सकेन ।

यहाँनेर फिल्म ‘गडफादर’ को संक्षेपमा कथासार दिनु सान्दर्भिक होला, जो यसप्रकार रहेको छ :

‘न्युयोर्कमा सक्रिय आपराधिक समूहमध्ये एउटाको मुखिया भिटो कोर्लियोनको दबदबाबाट सबै परिचित छन् । प्रत्यक्ष देखिने व्यापार इटलीबाट जैतुनको तेलको आयात भए पनि भिटोको आर्थिक सम्पन्नता र शक्तिको स्रोत मदिराको कारोबार, जुवाको धन्दा र वेश्यावृत्तिको संरक्षण हो । मजदुर युनियनहरूमा पनि उत्तिकै नियन्त्रण छ भिटोको । जुन बेला चाह्यो युनियनलाई उचालेर बखेडा खडा गरिदिने ताकत छ भिटोको । त्यसैले सबै भिटोलाई डन भनेर पुकार्छन् र धेरै ‘द गडफादर’ भनेर । भिटोका अवैध क्रियाकर्मबारे कोही अनभिज्ञ नभए पनि वैध रूपमा कसैले औंला ठड्याउन सक्तैन भिटोलाई । तीन छोरा (सनी, फ्रेडो र माइकल) र एउटी छोरी (कोनी) छन् भिटोका । पिता र परिवारको चाहनाविपरीत दोस्रो विश्वयुद्धमा अमेरिकी सेनामा भर्ती भएर सेवा छाडेको कान्छो छोरा माइकललाई सेनेटर वा गभर्नर बनाउने इच्छा छ भिटोको । तर, घटनाक्रमले गर्दा माइकल पिताको पदचिह्नकै अनुगामी बन्न पुग्छ ।’

यो फिल्म त्यही नामको शीर्षकमा प्रकाशित उपन्यासमा आधारित थियो, जसको लेखक थिए मारियो पुजो । यो पुस्तक पाठकहरूले एकदमै रुचाएका थिए र यसको लगभग ३ करोड प्रति बिक्री भएर त्यसबेलासम्मको सर्वाधिक बिक्री हुने पुस्तक बनेको समाचार उसबेला आएको थियो । सन् १९६९ मा छापिएर नाम कमाएको यस पुस्तकलाई मैले भने धेरै पछिसम्म पढ्न पाएको थिइनँ वा पढेको थिइनँ । साना अक्षरमा छापिएको यसको पेपरब्याक संस्करण मैले सन् १९८१ को सेप्टेम्बर महिनाको कुनै दिन नयाँदिल्लीमा किनेको रहेछु । किताबमा परेको मेरो हस्ताक्षर र तारिखबाट त्यही थाहा हुन्छ । दिल्ली जान पाएको बखत म सधैं कनाटप्लेसमा जनपथ नेरको फुटपाथमा सस्तो मोलका किताब किन्ने मौका छोप्थें । त्यहींबाट किनेर ल्याएको मारियो पुजोको बहुचर्चित ‘द गडफादर’ छापिएको यतिका वर्षपछि ढिलै भए पनि मैले पढें । त्यो उपन्यास अपराध जगत्को कथा हो र त्यसको पहिलो पानामै फ्रान्सेली लेखक बाल्जाकको ‘बिहाइन्ड एभ्री ग्रेट फर्चुन दियर इज क्राइम’ भन्ने उक्ति उद्धृत छ, जसबाट पुस्तकले उद्घाटित गर्न लागेको कथ्यबारे संकेत मिल्छ । नभन्दै, पुस्तकमा आर्थिक सम्पन्नता, राजनीतिक प्रभाव र सामाजिक दबदबा अपराधको माखेसाङ्लोसित छुट्याउन नसकिने गरी जेलिएको हुन्छ भन्ने तथ्यलाई देखाइएको छ, भिटो कोर्लियोन परिवारलाई नमुनाका रूपमा अघि सारेर । कतिले त्यस किताबले पुँजीवादको चरम अवस्थाबाट सृजित विकृतिलाई प्रस्तुत गरेको भनेर पनि व्याख्या गरेका छन् । त्यो किताब पढेपछि फेरि एकपटक त्यसको फिल्मी रूपान्तरण हेर्ने तिर्खा नयाँ शिराबाट मेरो मनमा जागृत भयो ।

आखिर मैले त्यो फिल्म हेरिकन छाडें सन् १९८० को दशकको मध्यतिर, तर भिडियोमा । काठमाडौंका सिनेमाहलमा हलिउडका फिल्म हेर्न सम्भव नभएको कुरा अघिबाटै उल्लेख भइसक्यो । सिनेमा हलको ठूलो पर्दामा फिल्म हेर्नु र त्यही फिल्म भिडियोमा हेर्नु उस्तै कुरा होइन । ठूलो पर्दाका धेरै गुणहरू भिडियोमा विलीन हुन्छन् । त्यति हुँदाहुँदै पनि मेरो मनमा गहिरो छाप छाड्नबाट त्यो फिल्म चुकेन ।

मारियो पुजो

किताबको कथालाई फिल्ममा हुबहु उतार्नु चुनौतीपूर्ण कार्य हो । किताबका कति कुरा फिल्ममा हराएका हुन्छन्, कि त केही थपथाप पारिएका हुन्छन् । तर, यस फिल्ममा बडो खुबीका साथ उतारिएको छ किताबको प्रसंग र प्रकरणलाई । मूल किताबमा त नारी यौनांगको वर्णनमै एउटा सिंगो अध्याय खर्चिइएको छ र त्यो स्वाभाविक पनि प्रतीत हुन्छ पढ्दाखेरि । तर, फिल्ममा भने त्यस्ता धेरै उपकथाहरूको प्रसंगमाथि रन्दा चलाइएको छ, तापनि महत्त्वको कुनै प्रसंग छुट्न गएको महसुस हुँदैन । पटकथाको यही खुबीले दर्शकको ध्यानलाई एकोहोरो तानिरहन्छ फिल्मले सुरुवातदेखि अन्त्यसम्मै । लेखक मारियो पुजोले एउटा पठनीय आख्यान त लेखे लेखे, निर्देशक कोपोलासित मिलेर यसको जोडदार पटकथा पनि लेखेर देखाए । सर्वोत्कृष्ट पटकथा लेखनमा उनले र कोपोलाले संयुक्त ओस्कार पुरस्कार पाएबाटै यो कुरा प्रमाणित हुन्छ ।

फोटोग्राफीको आफ्नै लयकारी छ । कतिपय दृश्यहरू सामान्य दर्शकलाई अँध्यारो पनि लाग्न सक्छ । तर, छाया र प्रकाशसित खेलेर पात्रहरूको मनोभाव तथा प्रत्येक दृश्यलाई प्रभावोत्पादक ढंगले पर्दामा उतार्ने काम गरेको छ फोटोग्राफीले, त्यो पनि कुनै कलाबाजी नदेखाई । फिल्मका लागि इटालीका नोना रोटाद्वारा रचित संगीतले एउटा मानक नै खडा गरेको छ । फिल्मको शीर्षक–संगीत त एक प्रकारले विश्वव्यापी ‘राष्ट्रगान’ सरह नै बन्यो । त्यसअघि फिल्मको यतिविघ्न लोकप्रिय शीर्षक–संगीत ‘डाक्टर जिभागो’ (सन् १९६५) बाहेक अर्को फिल्मले दिन सकेको थिएन । ‘द गडफादर’ को यो शीर्षक–संगीतलाई आज पनि विश्वका प्रख्यात फिलहार्मोनिक सिम्फोनी आर्केस्ट्राहरू त्यसरी नै प्रस्तुत गर्छन्, जसरी मोत्जार्ट वा विथोविनको सिम्फोनी । सडक–संगीतकारहरू पनि संगीतको यस धुनलाई मस्तसित बजाइरहेका हुन्छन् युरोपेली सहरमा पार्क वा बाटाघाटामा ।

सडक–संगीतसित यस धुनको सम्बन्धबारे एउटा रोचक प्रसंग छ । गएको मे महिनामा इटालीको ट्रेन्टो माउन्टेन फिल्म फेस्टिभलमा भाग लिन गएका थियौं म र फिल्मनिर्देशक मेरा मित्र केसाङ छेतेन । ट्रेन्टो नगरको एउटा डबली छेउको क्याफेमा कफी कुरिरहँदा डबली नजिकै बसेर एक सडक–संगीतकारले भ्वायलिनबाट रमाइलो धुन बजाइरहेको थियो । मैले उसको नजिक गएर ‘द गडफादर’ को शीर्षक–संगीत बजाउन अनुरोध गरें । यस्तो अनुरोध मैले दुई–चार अरू ठाउँमा पनि गरेको छु, रमाइलोका लागि र साथै त्यस धुनको सर्वव्यापकता जाँच्ने मनसायले । तर, ट्रेन्टोको त्यो संगीतकार मेरो अनुरोधबाट अलमल्ल पर्‍यो, उसले बुझेन मैले भनेको । बाटो हिँडिरहेको एक जना इटालियन सज्जनले ‘एल पाद्रिनो’ भनेर बुझाएपछि ‘एल पाद्रिनो ? सी सी’ भन्दै आफ्नो भ्वायलिनमा तत्काल उसले त्यो धुन उत्साहका साथ हाम्रा आँखामा आँखा जुधाउँदै बजाएर सुनायो । ‘द गडफादर’ को इटालियन रूपान्तर थियो ‘एल पाद्रिनो’ । यो सानो घटना ‍यस संगीतको सर्वजनीन र सर्वव्यापक साथै यसको चिरन्तन गुण प्रकट गर्ने केवल एउटा उदाहरण हो ।

फिल्मका पात्रहरूको भूमिका निर्वाह गर्ने कलाकारहरूको जीवन्त र पत्यारिलो काम हेर्दा लाग्छ, उनीहरूको जन्म नै तिनै पात्रको भूमिका खेल्नलाई भएको थियो । कसैको कामलाई खोट लगाउने ठाउँ पाइँदैन । आफ्नो वास्तविक उमेरभन्दा बूढो भिटो कोरलियोनको भूमिका निर्वाह गर्ने मार्लोन ब्रान्डोको अभिनय त बेजोड छँदैछ, तर अरू कुनै पनि पात्रको भूमिकामा खेल्ने कलाकारहरूको अभिनय किञ्चित् कम छैन । सनि कोर्लियोन भएर खेल्ने जेम्स कान, टम हागन हुने रबर्ट दुभाल वा माइकल कोर्लियोनको भूमिका खेल्ने अल प्याचिनो सबै उत्तिकै हकदार देखिन्छन् बेस्ट एक्टर पुरस्कारको । पात्र अनुसारको कलाकार छनोट गर्नु र तिनीहरूबाट कथाले मागे अनुसारको काम लिन सक्नु अब्बल दर्जाका निर्देशकको प्रतिभाको वैशिष्ट्य हो । ‘द गडफादर’ सफल साबित भएपछि हलिउडमा कोपोलाले आफ्नो सिक्का जमाए ।

कुनै पुस्तकमा आधारित फिल्म हेरिसकेपछि मूल पुस्तकलाई सितिमिति फेरि कसैले दोहोर्‍याएर पढ्दैन । तर, मैले भने फिल्म हेरिसकेपछि झनै ‘द गडफादर’ पुस्तकलाई दोहोर्‍याई तेहर्‍याई पढेको छु । कुनै सन्दर्भवश त्यसका छोटाछोटा अंश पढ्नलाई त्यो पुस्तक कैयन् पटक पल्टाएको छु । कतिपय अवसरमा फिल्मको सन्दर्भलाई अझ‍ गहिरोसित बुझ्न पनि मैले त्यसो गरेको छु । यसरी घरीघरी र्‍याकबाट झिक्दै पढ्नलाई मैले सन् १९८१ मा किनेको पेपरब्याकको अक्षर अब मेरा आँखाका लागि धेरै सानो भइसकेको हुनाले ठूला अक्षरमा छापिएको मोटो किताबको खोजीमा लागें । इच्छा गरेअनुसारको हार्डबाउन्ड पुस्तक त फेला परेन । तर, पहिलेको तुलनामा डेढी पृष्ठ संख्या र निकै ठूला अक्षरमा छापिएको किताब पाएँ थापाथलीको एकता बुक्समा । त्यो मैले खरिद गरें जनवरी २०१५ को कुनै एक दिन । ठूलो साइजको फन्ट भएको ‘द गडफादर’ को यो दोस्रो प्रति मैले जानेर बेलैमा किनेछु । किनभने सन् २०१५ मा विनाशकारी भूकम्प गएपछिको समयमा यो किताब मेरा लागि खुब उपयोगी साबित भयो, खासगरी मे ११ को दोस्रो ठूलो धक्कापछिको बेलामा । बारम्बार परकम्पहरू आइराखेका थिए, बाहिर कतै निस्कनु खतरा निम्त्याउनु थियो । धक्काले आफ्नै घर भत्किएला वा छिमेकका अग्ला घरहरू ढलेर तिनको थिचाइमा पो परिएला कि भन्ने संत्रास थियो । त्यसैले आफ्नो बास धेरैजसो घरभित्र भन्दा बाहिरको अस्थायी टहरामा हुन्थ्यो । अनिश्चिय र अत्यास भरिएको त्यस असमान्य वातावरणमा भय विरेचनको माध्यम बन्यो मेरा लागि यो किताब । उता परकम्पका झट्का गइरहेछ, यता म डन भिटो र माइकल कोर्लियोनका कथा पढिरहेछु । बडो ठूलो सहारा मिलेको थियो विचलित मनलाई सन्तुलित राख्न यस किताबबाट ।

बितेका पचास वर्षमा ‘द गडफादर’ फिल्मसित जोडिएका अनेक कथाकहानी बाहिर आएका छन् । झन् यसले पाँच दशक पूरा गरेको अवसरमा त्यसको निर्माणसित सम्बन्धित नयाँनयाँ कुरा पनि उद्घाटित भएका छन् । त्यसका अन्तरकथा पनि निकै रोचक छन् ।

‘द गडफादर’ किताबको लोकप्रियता देखेर हलिउडको ठूलो फिल्म निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले फिल्म बनाउने अधिकार खरिद गरेको थियो लेखक मारियो पुजोबाट । किताबको लोकप्रियताको फाइदा उठाउँदै त्यसमा आधारित फिल्म सकेसम्म छिटो बनाउन चाहन्थ्यो प्यारामाउन्ट पिक्चर्स । फिल्मको निर्देशन गर्न सक्ने व्यक्तिको खोजी सुरु भयो । कम्पनीले पहिले सेर्जो लियोनलाई अनुरोध गर्‍यो । क्लिन्ट इस्टउडद्वारा अभिनित ‘स्पाघेट्टी वेस्टर्न’ भनेर चिनिने फिल्म शृंखलाको सफलताका कारण सेर्जोको नाम उचाइमा थियो । सेर्जोले नमानेपछि आर्थर पेन, कोस्टा ग्राभास, एलिया कजानजस्ता नामुद निर्देशकहरूलाई पनि कम्पनीबाट प्रस्ताव गरियो । तर, ती सबैबाट इन्कारी आयो । निर्देशकको जागिर फ्रान्सिस फोर्ड कोपोलाको पोल्टामा आयो आखिरमा । ठीकठीकै चलेको जम्माजम्मी एउटा फिल्मको निर्देशन गरेको रेकर्ड थियो तिनको । उमेर थियो केवल उनन्तीस वर्ष । उनले निर्देशकको काम पाउने सबभन्दा बलियो आधार अरू थोकभन्दा पनि उनी इटालियन मूलको हुनु थियो । किनभने ‘द गडफादर’ इटालियन माफियाको कहानी थियो । बेरोजगार जस्तै अवस्थामा बसेका युवा कोपोलाले निर्देशकको जागिर के पाए उनको संघर्षका दिन सुरु भए ।

हरेक कुरामा प्यारामाउन्ट पिक्चर्स कम्पनीका हाकिमहरूसित उनको घच्ची पर्थ्यो । कोपोला गडफादरको भूमिकामा मार्लोन ब्रान्डोलाई लिन चाहन्थे, कम्पनीका हाकिमहरू लरेन्स ओलिभियर, एन्थोनी क्विन, जर्ज स्कट वा ओर्सन वेल्सको नाम प्रस्ताव गर्थे । माइकल कोर्लियोनको भूमिकामा कोपोलाले अल प्याचिनोको नाम अघि सारेकामा हाकिमहरू यो मानिस को हो भन्थे । हुन पनि उसबेलासम्म न्युयोर्कको थिएटरमा काम गर्दै गरेका अल प्याचिनोलाई कसैले चिन्दैन थिए । हाकिमहरू त्यस भूमिकाका लागि रबर्ट रेडफोर्ड, रायन ओ’नील, वारेन बेट्टी, डस्टिन हफमानको नाउँ सुझाउँथे । कम्पनी आफ्नो लगानी नडुबोस् भनेर बजारमा बलियो साख भएका अभिनेताहरूलाई फिल्ममा खेलाउन चाहन्थ्यो, जो स्वाभाविक थियो । ‘स्टुडियो सिस्टम’ जसलाई भनिन्छ, त्यसमा यस्तै हुन्छ । निर्देशक वा कलाकारहरू कम्पनीले करारमा नियुक्त गरेका कर्मचारीसरह हुन्छन् । हैकम कम्पनीको चल्छ । कोपोला दोस्रो विश्वयुद्ध अन्त्यपछिको दशकको पृष्ठभूमिमा फिल्म बनाउन चाहन्थे ।

किताबमा वर्णित समय त्यही नै थियो । कम्पनीका हाकिमहरू भने सन् १९७० को दशकको सुरुवाती समय देखाउने फिल्म हुनुपर्छ भन्थे । पुरानो समय देखाउने फिल्म बनाउँदा खर्च बढी हुन्थ्यो । कोपोला फिल्मको सुटिङ न्युयोर्क र सिसिलीमा गर्न चाहन्थे, हाकिमहरू सिसिलीको सुटिङ अमेरिकाकै कुनै राज्यमा र न्युयोर्क देखाउने सुटिङ हलिउडको स्टुडियोमै गरेर सिध्याउनुपर्छ भन्थे, खर्च कटाउन ।

अनेक अड्चनका बावजुद कोपोलाले आफ्ना कुरा मनाएर छाडे । कसरी मनाए भन्ने कुराको कथा छुट्टै छ । तर, न्युयोर्कमा सुटिङ के थालियो अर्को अनपेक्षित बखेडा आइपर्‍यो । हामीलाई अपराधी माफिया भनी देखाउने भनेर इटालियन अमेरिकनहरूले न्युयोर्कमा विरोध जुलुसहरू निकालेको निकालेकै गरे । जसरी दीपा मेहताले ‘वाटर’ फिल्मको सुटिङ बनारसमा गर्न लाग्दा त्यसको विरोधमा हिंसात्मक प्रदर्शनहरू भएका थिए । प्रदर्शनकारी संस्थाका नेतालाई फिल्मको पटकथा देखाएर ‘माफिया’ वा ‘कोसा नोस्ट्रा’ जस्ता माफियालाई इंगित गर्ने वाक्यांश नराख्ने सर्तमा सफाइ लिएपछि बल्ल सुटिङ हुन पायो । तर, फेरि कोपोलाले राम्रो काम गर्न सकेन, फिल्मको फुटेज मात्रै बर्बाद गरिरहेको छ भन्ने चम्चाहरूको झोसपोलका कारण उनको जागिर कुनै पनि बेला खुस्किने अवस्था सृजना भयो । कुनै पनि बेला निर्देशकको पद गुमाउनुपर्ने खतरा कोपोलाको टाउकामाथि डेमोक्लसको तरबारझैं झुन्डिरह्यो । सुटिङको फुटेज प्रत्येक दिन हाकिमहरूकहाँ सहमति र स्वीकृतिका लागि पठाउनुपर्थ्यो । तर, एउटा समय आयो जतिबेला कोपोलालाई कम्पनीले नहटाउने कुरा पक्का भयो । तर, यतिन्जेलमा फिल्म निर्माणको बजेट तीन गुणा बढिसकेको थियो र सन् १९७१ भित्रै रिलिज गर्ने कुरा पनि असम्भव बनिसकेको थियो ।

अन्ततोगत्वा कुनै यत्नले फिल्म बनेर पूरा भयो । फेरि झमेला उठ्यो फिल्मको लम्बाइउपर । कम्पनीको दृष्टिमा फिल्म चाहिएभन्दा धेरै लामो भएको थियो । आखिर दुई घण्टा ५५ मिनेटमा ठेगान लाग्यो । त्यो लम्बाइ आफैं असामान्य थियो हलिउड फिल्मका लागि । अनि बल्ल रिलिज भयो फिल्म सन् १९७२ को मार्च महिनामा । बाँकी जे भयो त्यो इतिहास बनिसकेको छ । ‘द गडफादर’ को सफलताको लहरलाई उपयोग गर्दै प्यारामाउन्टले दुई वर्षमै ‘द गडफादर’ को दोस्रो भाग बनायो, जो पहिलो जत्तिकै (कसैकसैको भनाइमा पहिलोभन्दा बढ्ता) हिट भयो । कालान्तरमा यसको तेस्रो भागको पनि निर्माण भयो । यी तीनै फिल्मको निर्देशन अरूले नभई फ्रान्सिस फोर्ड कोपोलाले नै गरे । यो चर्चाको छुट्टै विषय बन्न सक्छ ।

अनेक प्रतिकूलता झेल्दै कोपोलाले जसरी यो फिल्म बनाए र जुन सफलताको स्वाद उनले चाख्न पाए त्यो हेर्दा प्रतिकूलतामै सफलता निहित हुन्छ भन्ने उक्ति याद आउँछ । नित्सेले पनि भनेका थिए ‘भित्तामै द्वार खोज’ । कोपोलाले भित्तामा नै द्वार खोजेर देखाए ।

‘द गडफादर’ किताब र फिल्म दुवै नै अति प्रिय छन् मेरानिम्ति । यस्तै कृतिहरू अधिकारी हुन्छन् ‘कालजयी’ वा ‘मास्टरपिस’ जस्ता विशेषणका । कुनै बेला मुड चलेका बेला किताबको कुनै खण्ड पल्टाएर पढ्छु अकारण । मलाई घतलाग्दा लाग्ने फिल्मका दृश्यहरू हेर्छु इन्टरनेट र युट्युब प्रविधिले उपलब्ध गराएको सुविधा उपयोग गर्दै बेलाबखत । ‘डाइमन्ड्स आर फर एभर’ भन्ने अंग्रेजी उक्ति छ । ‘द गडफादर’ फिल्म पनि असली हीराको कोटीमा पर्छ, जसको चमक पचास वर्षपछि पनि किञ्चित् घटेको छैन र सायद कहिल्यै घट्ने छैन । फिल्म होस् त हीराझैं ‘द गडफादर’ जस्तो !

(लेखक काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का आयोजनाकर्ता हुन्)

प्रकाशित : मंसिर १७, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?