कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

सम्पादकका सुसेधन्दा

साहित्यिक पत्रिकाका ७५ देखि ८५ वर्ष उमेर समूहका सम्पादकहरुलाई ‘वन म्यान आर्मी’ भने पनि हुन्छ । उनीहरु प्रकाशक, व्यवस्थापक, रिपोर्टर, प्रुफरिडर, हकर सबथोक हुन् । तर, आज साहित्यिक पत्रिका ‘प्रेसर’ र ‘सुगर’ ले च्यापेका बिरामीजस्ता छन् ।
राजकुमार बानियाँ

पूर्वीय परम्परामा ७५ देखि १०० वर्षको उमेर संन्यासाश्रमका रूपमा परिभाषित छ । यो ऋषितुल्य चरणमा कतिपयले अम्मल छाड्छन्, संघसंस्थाको सम्बद्धता छाड्छन्, पारिवारिक जिम्मेवारी छाड्छन् । तर, ८५ वर्ष पुग्दा पनि साहित्यिक पत्रिकाको सुसेधन्दा छाड्न सकेनन्, ‘अभिव्यक्ति’ (२०२७) का सम्पादक/प्रकाशक नगेन्द्रराज शर्माले ।

सम्पादकका सुसेधन्दा

शर्माले ५२ वर्ष चलाइसकेको पत्रिका परिवारलाई छाड्नु उचित ठानेनन् । कर गरे ‘हुन्छ’ त भन्लान्, आफू नरहेपछि छाडिदेलान् भन्ने चिन्ताका कारण उनले सत्पात्रको खोजी गरे । अन्ततः पूर्णांक २१४ (वैशाख–जेठ, २०७९) मा पवन आलोक र देविका तिमिल्सिनालाई सुम्पिए ।

‘कतिपय साहित्यिक सम्पादकले मै चलाइदिन्छु भनेका थिए, तर उनीहरूले आफ्नो पत्रिका चलाउँछन् कि मेरो चलाउँछन् भनेर दिइनँ,’ शर्मा भन्छन्, ‘म अझै पनि साथीहरूलाई सघाइरहेको छु ।’ उनले अभिव्यक्ति अक्षयकोषमा रहेको २५ लाख रुपैयाँमार्फत पत्रिका निकाल्ने बन्दोबस्त मिलाएका छन् ।

प्रकाशनका दृष्टिले ‘अभिव्यक्ति’ भन्दा पुरानो साहित्यिक पत्रिका हो, ‘रचना’ (२०१८) । त्यसका प्रधान सम्पादक रोचक घिमिरे उमेरमा ८२ वर्षका भए पनि जोस–जाँगरमा २८ वर्षका जस्ता फुर्तिला छन् । १७७ अंक सम्पादन/प्रकाशन गरिसकेका उनी अझै अवकाश लिने सुरसारमा छैनन् । अहिले पनि उनको पत्रिकामा लेखरचना छाप्न लालायित कवि–लेखकको संख्या उस्तै छ ।

भैरव अर्याल, रमेश विकल आदि साथीहरूको उक्साहटमा रोचकले पत्रिका निकाल्न थालेका रहेछन् । ‘नेपाली भाषाका सबैजसो पुस्तक र पत्रिका मकहाँ रहून् भनेर रोचक पुस्तक सदन भन्ने निजी पुस्तकालय खोलेको थिएँ,’ उनी सम्झिन्छन्, ‘भैरवले यसरी पैसा खर्च गर्नुभन्दा आफैं पत्रिका निकालौं न भनेर कर लगाएपछि मैले पनि मसक्क आँटें ।’

पहिलो अंकमै ‘रचना’ को धुमधाम चर्चा भयो । कविता मात्र लेख्ने पारिजातको पहिलो कथा छापियो, ‘मैले नजन्माएको छोरो’ । भूपी शेरचनको ‘हुँदैन बिहान मिर्मिरमा तारा’ र तुलसी दिवसको ‘हृदयको बालक’ छापियो । कृष्णभक्त श्रेष्ठसमेत ‘रूपरेखा क्याम्प’ छाडेर आए । परशु प्रधानले भोजपुरमा मात्रै तीन सय ग्राहक बनाइदिए । यसरी ‘रूपरेखा’ (२०१७) सँग नारिने पत्रिका भयो, ‘रचना’ । राम्रा लेखक कसले छाप्ने भनेर अघोषित होडबाजी चल्यो ।

काठमाडौंमा मात्र बूढापाका सम्पादक छैनन्, कञ्चनपुरको महेन्द्रनगरबाट २५ वर्षदेखि निरन्तर निस्किरहेको डोटेली भाषाको साहित्यिक मासिक पत्रिका ‘गुगुल्डि’ का प्रधान सम्पादक वीरबहादुर चन्द ‘विश्राम’ को उमेर पनि आठ दशक उकालो लागिसकेको छ । उपनाम विश्राम भए पनि उनमा थकानको छेकछन्नै छैन ।

पूर्वशिक्षक चन्दको सम्पादनमा ‘गुगुल्डि’ को ३ सय अंक छापाखानामा पुगिसकेको छ । डोट्याली भाषामा नै किन त ? ‘म भारत, पिथौरागढमा पढ्दा देहरादून, गढवालका मानिसले डोट्याल भनेर जिस्काउँथे, सुरुसुरुमा अप्ठ्यारो लाग्थ्यो,’ ‘डोट्याली शब्दभण्डार’ (२०५२) का लेखक चन्द भन्छन्, ‘पछि मैले ऐतिहासिक डोटी राज्यको प्रभाव भारतको कुमाउ गढवालदेखि कर्णालीसम्म थियो भन्ने थाहा पाएँ र यही भाषामा पत्रिका निकाल्न तम्सिएँ ।’

डोट्याली भाषामा ‘गुगुल्डि’ को अर्थ हुन्छ, मनको धोको । उनको मनको धोको यही पत्रिकालाई बँचाउने हो । बिग्रेको भाषाको किन पछि लाग्नुहुन्छ भन्नेलाई उनी पत्रिका निकालेर झटारो हानिरहेका छन् । उनी भन्छन्, ‘अहिलेसम्म साथीहरूको सहयोगले चलेकै छ । भविष्यमा गुगुल्डि वाङ्मय प्रतिष्ठानका साथीहरूले चलाउलान् ।’

समर्पणका हिसाबले नारी सम्पादक पनि कम छैनन् भन्ने उदाहरण हुन्, हिरण्यकुमारी पाठक (८१) । उनले २८ वर्षदेखि साहित्यिक पत्रिका ‘नारी स्वर’ (वुमन भ्वाइस) को प्रधान सम्पादकत्व लिइरहेकी छन् । राष्ट्रिय वाणिज्य बैंकबाट अवकाशप्राप्त पाठकले सिद्धिचरण श्रेष्ठ, कृष्णचन्द्रसिंह प्रधान, माधवप्रसाद घिमिरे आदि विशेषांकसहित ५१ अंक निकालिसकेकी छन् । लकडाउनमा चार अंक छुटेकामा पाठकको थकथकी छ । उनी भन्छिन्, ‘अहिले मलाई सहयोग गर्ने कोही छैन । मैले आफैंलाई सहयोग गरिरहेको छु । बाँचुन्जेल पत्रिका चलाइरहन्छु ।’

बनेपा (काभ्रे) मा बसेर मोहन दुवाल, ७५ पनि ‘जनमत’ साहित्यिक मासिकको मोर्चा सम्हालिरहेका छन् । पूर्व प्रधानाध्यापक दुवालले जनमतका २९७ अंक निकालिसकेका छन् । उनको पत्रिका कोरोनाकालमा पनि रोकिएन ।

२०२७ मै ‘विगुल’ दर्ता गरेका दुवालले ‘वेदना’ र ‘उत्साह’ साहित्यिक पत्रिका सम्पादन गरे । २०३९ मा ‘जनमत’ विचारप्रधान पाक्षिक निकाल्दा हरेक अंकजसो केरकारमा परेपछि उनले नारायणकाजी श्रेष्ठलाई जिम्मा दिए । २०४४ फागुनमा श्रेष्ठले छाडेपछि आफैं कस्सिए । ‘प्रेसको ऋण तिर्न श्रीमतीको दुई तोला सुन १० हजार रुपैयाँमा बेचेको छु,’ उनी सुनाउँछन्, ‘स्कुलको हेडमास्टर हुँदा पेस्की लिएर समेत जनमत निकालेँ ।’

वन म्यान आर्मी  !

यी ७५ देखि ८५ वर्ष उमेर समूहका सम्पादकहरूलाई ‘वन म्यान आर्मी’ भने पनि हुन्छ । उनीहरू पत्रिकाका प्रकाशक, व्यवस्थापक, रिपोर्टर, प्रुफरिडर, हकर सबथोक आफैं हुन् ।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्षसमेत रहेका दुवालका अनुसार, मुलुकभरि व्यक्तिगत वा सामूहिक प्रयासमा साहित्यिक सेवाभावबाट नियमित/अनियमित रूपमा छापिने पत्रिका सयौंका संख्यामा छन् । तर, नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्यिक पत्रिका सहयोग कोष र नेपाल प्रेस काउन्सिलको वर्गीकरणमा परेका साहित्यिक पत्रिकाको सूची भने अत्यन्त सानो छ ।

यसपालि साहित्यिक पत्रिका सहयोग कोष पाएका मासिक, द्वैमासिक र त्रैमासिक पत्रिकाको संख्या ४१ छ । पुरानो अंक गाभेर तीन अंक पुर्‍याउने तीन–चारवटा पत्रिकाले भने त्यो सहयोग पाएनन् । नियमितताका दृष्टिकोणले मकवानपुरमा तीन साहित्यिक पत्रिका छन् भने पर्वत र काभ्रेपलाञ्चोकमा दुइटा । सरुभक्त, तीर्थ श्रेष्ठको सहर पोखरामा समेत नियमित साहित्यिक पत्रिका छैनन् । ‘सगर’ बन्द भएपछि वीरगन्जमा सामसुम छ ।

त्यसो त आफ्नै रचना छाप्ने वा आफ्ना रचनाको समालोचना छाप्ने ध्येय बोकेका साहित्यिक पत्रिका पनि नभेटिने होइनन् । ‘प्रेस काउन्सिलको वर्गीकरणमा काभ्रे ठेगाना भएको ‘सचेतना संसार’ साहित्यिक पत्रिका पनि छ, तर हामीले अहिलेसम्म त्यसको नाकमुख देखेका छैनौं,’ दुवाल भन्छन्, ‘सम्पादक/प्रकाशक पनि चिनिएका छैनन् । सहुलियत लिने दुराशय हो कि !’

नेपालमा साहित्यिक पत्रकारहरूको संगठनसमेत दुइटा छन् । २०२९ मा खुलेको साहित्यिक पत्रकार संघमा वर्षौंदेखि राधेश्याम लेकाली अध्यक्ष छन् । त्यसमा साहित्यिक पत्रकार कोही पनि नभएको र लेकालीको कब्जामा भएको भन्दै २०६३ मा रोचक घिमिरेको अध्यक्षतामा नेपाल साहित्यिक पत्रकार संघ खोलेको दुवालको कथन छ ।

प्रतिभालाई उजिल्याउने कतिपय साहित्यिक पत्रिका बन्द नै भएका छन् भने कतिपय सुक्दै सुक्दै गएर बिलाउने अवस्थामा पुगेका छन् । ‘आजको दिनमा आउँदा साहित्यिक पत्रिका प्रेसर र सुगरले च्यापेका बिरामीजस्ता छन्, बाँच्न त पाएका छन्, तर अधमरो अवस्थामा छन्,’ दुवाल थप्छन् ।

धेरैजसो साहित्यिक सम्पादकले दुःखकै विज्ञापन गरे पनि शर्माको अनुभव पृथक् छ । ‘अभिव्यक्ति मामुली पत्रिका हो, म पनि मामुली सम्पादक हुँ, मजस्ता कति आए, कति गए, सबभन्दा ठूलो कुरा मलाई पत्रिकाले इष्टमित्र दिएको छ,’ उनी भन्छन्, ‘साहित्यिक पत्रिका चलाएरै टुट्टा परें, डुबें, मरें भनेर ललनी गाउनेहरूभन्दा साहित्यिक पत्रिका चलाएरै घरबार जोडें, छोराछोरी पढाएँ भन्नेहरू इमानदार हुन् ।’

आजको डिजिटल दुनियाँमा वर्षौंदेखि साहित्यिक पत्रिका निकालिरहनुको रहस्य के हो त ? शर्माको शब्दमा पत्रिकासँग सम्पादकको पहिचान जोडिएको हुन्छ । लेखक त कृति रहुन्जेल बाँच्छ, तर पत्रिका नभएपछि सम्पादक बाँच्दैन । सम्पादकको हतियार भनेकै साहित्यिक पत्रिका हो ।

त्यसो त शर्माले आफूमात्र ‘अभिव्यक्ति’ को अविच्छिन्न सम्पादक हुन सोचेका थिएनन् । एकपटक उनले कवि हरिभक्त कटुवाललाई विज्ञापन उठाएर खाने सर्तमा सम्पादक बनाए । तर, कटुवालकै कारण एउटा अंक आधा एउटा प्रेसमा, आधा अर्को प्रेसमा छाप्नुपर्ने बाध्यता आइलाग्यो । अर्को पटक भाइ जगदीश घिमिरेलाई सम्पादक बनाए । तर, शर्माले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विरुद्धमा सम्पादकीय लेखेपछि जगदीश आफैं पन्छिए ।

पठनीय कि कामचलाउ ?

मूलधारको पत्रकारिताभन्दा पनि पुरानो मानिएको साहित्यिक पत्रकारिता व्यावसायिक हुने संकेत अझै देखिएको छैन । धेरैजसो पत्रिका एकै खालका छन् । कथा, कविता, लघुकथा, मुक्तक, गीत, गजल, केही प्राध्यापकीय र फर्माइसी समीक्षा बटुलबाटुल गरी हस्याङ्फस्याङ् निकालिएका जस्ता लाग्छन् । सिर्फ ‘कलेक्सन’ छ, ‘सिलेक्सन’ छैन ।

पत्रिका आद्योपान्त पठनीय हुन सम्पादक पनि गतिला चाहिन्छन् । ‘समकालीन साहित्य’, ‘गरिमा’ जस्ता पत्रिकाका यशस्वी सम्पादक अविनाश श्रेष्ठ पनि हामीमाझ छँदैछन् । ‘बगर’, ‘पाण्डुलिपि’ जस्ता केही पत्रिकाले सम्पादककै कारण कुनै बेला नवीनता दिएका थिए । पाठकको रुचि समेटेर मर्मस्पर्शी खजाना र उम्दा साजसज्जा पस्कन सक्ने सम्पादक न्यून छन् ।

सम्पादक नगेन्द्रराज शर्मा भन्छन्– आद्योपान्त पठनीय पत्रिका आजसम्म छापिएकै छैन । मैले प्रयास गरेको हुँ, सकिनँ । आफैंले छापेको सामग्रीलाई नराम्रा भन्नु भएन, कामचलाउ छन् ।

भनूँ भने साहित्यिक पत्रिका सीमित लेखकमण्डलीको पेवापातजस्तो छ । पाठकीय सहभागिता अनि सिर्जनशीलता ठ्याम्मै देखिँदैन । एकेक अक्षर र मात्राहरू औंलाले च्यापेर स्टिकमा पंक्ति मिलाएर धागोले कसेर ग्यालीमा पेज बाँध्ने मुद्रण प्रविधिको धङधङीबाट मुक्त हुन सकेका छैनन् ।

पाठकको हातसम्म पत्रिका पुर्‍याउने बिक्री र वितरणको उचित सञ्जाल पनि छैन । मुद्रण संख्या झन्झन् ओरालो लाग्दै छ । हालै भेटिएका ‘अभिव्यक्ति’, ‘दायित्व’, ‘शिवपुरी सन्देश’ लगायत पत्रिकाको मूल्य ५० रुपैयाँ छ । चर्को महँगीको बावजुद साहित्यिक पत्रिका निकै सस्ता छन् । तर, साहित्यिक पत्रिका पाठक त परै जाओस्, लेखकहरूले नै नपढेको स्थिति छ । डिजिटल जमानामा सम्पादककहाँ धाएर साहित्यिक पत्रिका पढ्ने को ? स्वनामधन्य लेखक स्वयं साहित्यिक पत्रिकाको पाठक बन्न सकिरहेका छैनन् भन्ने एउटा दृष्टान्त हो, प्रज्ञा–प्रतिष्ठानको राष्ट्रव्यापी कविता महोत्सवमै साहित्यिक पत्रिकामा प्रकाशित रचना पुरस्कृत भइरहनु ।

‘अभिव्यक्ति’ को सय अंक निकाल्ने क्रममा नगेन्द्रराज शर्माले समालोचक वासुदेव त्रिपाठीलाई बन्द खामसहित ४०–५० वटा पत्रिका पठाएका थिए । ‘त्रिपाठीले आद्योपान्त पठनीय पत्रिका भनेर लेखिदिनुभयो । मलाई नै पत्यार लागेन । मलाई लाग्छ, आद्योपान्त पढ्नुपर्ने पत्रिका छापिएकै छैन । मैले प्रयास गरेको हुँ, सकिनँ,’ शर्मा भन्छन्, ‘मेरा कुनै कुनै अंकका अत्यधिक पृष्ठ पठनीय छन् । हरिभक्त कटुवाल विशेषांक त्यसमध्ये एउटा हो । आफैंले छापेको सामग्रीलाई नराम्रा भन्नु भएन, कामचलाउ छन् ।’

शर्मा आफ्नो पत्रिका भन्दा ‘रचना’ लाई राम्रो मान्छन् । सम्पादक घिमिरेचाहिँ मोफसलका ओझेल परेका र नयाँ प्रतिभालाई उठाउन खोजेका कारण पत्रिका दामी बनाउन नसकेको दाबी गर्छन् । उनी भन्छन्, ‘सुरुमा स्तरीयतालाई नै ध्यान दिइयो । पछि राष्ट्रिय स्तरको पत्रिकाले ठाउँ नदिने प्रतिभालाई हामीले प्राथमिकता दियौं । जस्तो आउँछ, त्यसबाटै छानेर छाप्ने हो । कहिले स्तरीय हुन्छ, कहिले खस्किन्छ ।’

बन्द, फेरि बन्द

असार २८ मा २०९औं भानु जयन्तीका अवसरमा नेपाली साहित्यको प्रतिनिधि पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन भयो । २०३९ पुसबाट २०७५ कात्तिकसम्म निक्लेको पत्रिकाले दुःखजिलो गरेर साउन अंक (पूर्णांक ३९६) त देख्यो । तर, साझा प्रकाशनको अस्तव्यस्तताबीच आगामी अंक निस्कने, ननिस्कने धरमरमा छ ।

उसो त आर्थिक संकटले मात्र बन्द हुँदैनन् भन्ने उदाहरण हो, ‘नेपाली’ त्रैमासिक । मदन पुरस्कार गुठीको मुखपत्रका रूपमा २०१६ सालदेखि नियमित रहेको त्यो पत्रिका सम्पादक कमलमणि दीक्षितको २०७३ मा निधनसँगै पूर्णांक २२९ पछि विश्राममा छ । ८७ वर्षसम्म उनै सम्पादक थिए । गुठीका पूर्वसदस्य–सचिव दीपक अर्यालका अनुसार, उक्त पत्रिका कमलमणिको निधनपछि तीन अंक मात्रै प्रकाशन भएको छ ।

सम्पादकको वृद्धावस्थाका कारण पनि ‘जुही’, ‘उन्नयन’, ‘उदय’ आदि पत्रिका बन्दप्रायः छन् । लामो इतिहास भएको ‘भानु’ (२०२०) भवानी घिमिरे दिवंगत भएपछि शिवानी घिमिरेले जेनतेन चलाइरहेकी छन् ।

शारदा युग

नेपाली साहित्यमा युग निर्माण गरेको मानक साहित्यिक पत्रिका हो, ‘शारदा’ (१९९१) । ‘नेपाली भाषा–साहित्यको इतिहासमा ऋद्धिबहादुर मल्लको जति योगदान लक्ष्मीप्रसाद देवकोटाको पनि थिएन ।’ ‘उन्नयन’ का सम्पादक अच्युतरमण अधिकारीका यी शब्दमा अतिशयोक्ति कति छ, थाहा छैन । तर, ‘शारदा’ मा मल्लले तन, मन, धन, खुन दिएकै हुन् ।

लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, गोविन्दबहादुर मल्ल गोठाले आदि थुप्रै लेखकलाई उभ्याउने पत्रिका हो, ‘शारदा’ । राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले पत्रिका निकाल्न मल्ललाई वार्षिक ५०० रुपैयाँ खड्ग निसाना गरेर दिएको ‘उन्नयन’ को ऋद्धिबहादुर मल्ल विशेषांक (पूर्णांक २५, २०५४) मा सुन्दरप्रसाद शाह ‘दुःखी’ ले उल्लेख गरेका छन् ।

‘शारदा’ जन्मकथा पनि रुचिकर छ । त्रिचन्द्र कलेजका प्रिन्सिपल सरदार रुद्रराज पाण्डेलाई मल्लले कोलकाताको हेउर स्कुलको जस्तै शिक्षक–विद्यार्थीका रचना संकलन गरेर मासिक–पत्र निकाली आफ्नो जोरगणेश प्रेसमा छाप्न सुझाएका रहेछन् । निकै पछि सरदार पाण्डेले मेजर जनरल मृगेन्द्रशमशेरसित ‘त्रैमासिक’ निकाल्न कुरा मिलाएछन् र जुद्धशमशेरले ‘हुकुम’ गरेछन्, ‘दैनिक निकाल्छ भने पनि निकाल्न दिनू ।’

‘उन्नयन’ को विशेषांकमा ऋद्धिबहादुर मल्लको लेखोट ‘यही हो शारदाको संक्षिप्त आत्मकहानी’ मा लेखिएको छ, ‘जुद्धशमशेरले पद्मशमशेरलाई प्राइम्मिनिस्टरी छोडी गएपछि २००२ सालमा ‘शारदा’ माथि कुठाराघात पर्न गयो । उसै त कागत मसी इत्यादि किन्ने पैसा कमै थियो, दोस्रो श्री ३ तिरबाट प्रेसर पर्दै आयो । कारण मैले शारदा चलाउन पैसाको मद्दत मागेको थिएँ, त्यसमा डाइरेक्टरले वर्षको १,२०० रुपैयाँ दिने, सम्पादकलाई ३६०, लेखकलाई महिनैपिछे ५० को दरले ६०० दिने । फेरि सम्पादकत्वमा पनि मृगेन्द्रको चाकरीबाज गोपाल रिमाललाई खटाएर पठाए । यो पद्मशमशेरको पाला थियो । मैले डाइरेक्टरलाई ‘यदि अर्को सम्पादक आई शारदा चलाउँछ भने मैले प्रेसमा छाप्यो भनेर त्यसको जवाफदेही ममा नपरोस्’ भन्ने जवाफ दिएँ । ‘त्यसो त हुन सक्तैन, तिमीले जवाफदेही हुनैपर्छ’ भन्ने जवाफ आयो ।’

रिमालले ‘शारदा’ को सम्पादकीय लेखेर प्रेस पठाए । मल्लले त्यसलाई रोकेर डाइरेक्टरकहाँ मात्र लगेनन्, श्री ३ को लिखित आदेश पनि मागे । त्यही बेला रिमाल राणाविरोधी आन्दोलनमा लागेको थाहा भएपछि अर्को आदेश आयो, ‘शारदाबाट रिमाललाई झिक, तिम्रो आफ्नो छोरालाई सम्पादक बनाऊ ।’ फलस्वरूप गोविन्दबहादुर मल्ल सम्पादक भए । मल्लले लेखेका छन्, ‘सात सालको आन्दोलन चल्यो । श्री ५ सरकारको सवारी दिल्लीतिर भएपछि त ‘शारदा’ बिलकुलै बन्द भयो । ...नेपाल फिरेपछि जिउँतिउँ गरी १–२ अंकसम्म छापियो । नत्र बन्दको बन्दै भयो । हाम्रो प्रेसले पनि शारदाको सट्टा ‘आवाज’ दैनिकपत्र निकाल्न थाल्यो ।’ स्मरणीय छ, १९९२ देखि २०१६ सम्म रिमालका २४ कविता ‘शारदा’ मै प्रकाशित छन् । पत्रिकाको वर्ष १२, अंक ८ र ९ (२००३) को सम्पादकमा रिमालको नाउँ छ ।

आफूलाई ‘शारदा’ ले जन्माएको कान्छो छोरा हुँ भन्ने कमल दीक्षितले कुनै बेला भनेका थिए, ‘शारदाको कति अंक निस्कियो कसैले भन्न सक्ने स्थिति छैन । जति निस्के, ती सबै उत्कृष्ट थिएनन् । मेरो ‘नेपाली पत्रिका’ ५० वर्षदेखि चलिरहेको छ । १८८ अंकमा २० वटा अंकबाहेकले खासै कुरा दिएका छैनन् ।’

रूपरेखा युग

सुरुमा नेपाल राष्ट्रिय पुस्तकालयको मुखपत्र थियो, ‘रूपरेखा’ । प्रवेशांक (२०१७ कात्तिक–मंसिर) मा प्रधान सम्पादक वासुदेव रिसाल थिए भने सम्पादकमण्डलमा श्रीरामदेव भट्टराई र जनकनाथ प्याकुर्‍याल । चार–पाँच अंकपछि झुल्किए, वालमुकुन्ददेव पाण्डे (वादेपा) र उत्तम कुँवर । भारतमा पोल्ट्री (कुखुरापालन) पढेर फिरेका उत्तमलाई ‘रूपरेखा’ मा तान्ने बादेपा नै थिए । उत्तम र बादेपाको संयुक्त सम्पादनमा ३०० भन्दा ज्यादा अंक निस्केको ‘रूपरेखा’ नेपाली साहित्यमा युग निर्माता पत्रिका ठहरियो ।

खासमा पत्रिकाको भित्री काम बादेपाले गर्थे भने बाहिरी काम उत्तमले । ‘रूपरेखा’ मा राजा महेन्द्रको अन्तर्वार्ता लिएर उत्तम चर्चित भए । ‘स्रष्टा र साहित्य’ (२०२३) का निम्ति मदन पुरस्कार पाए । व्यक्तित्वको टकरावका कारण बादेपाले पत्रिका छाडे । उत्तमको असामयिक निधन भयो । सम्पादकका रूपमा क्रमशः किशोर कुँवर र नयनराज पाण्डे देखिए ।

‘उत्तम बितेपछि शान्ति भाउजूले देवर किशोर कुँवरलाई जिम्मा लगाइन् । उत्तम पैसा ल्याएर दिन्थे, किशोरले उल्टै पैसा मागे,’ नगेन्द्रराज शर्मा भन्छन्, ‘बादेपा र उत्तमको डिभोर्सपछि रूपरेखाको रापताप सकियो । शान्ति भाउजूले एकैचोटि १२–१५ पृष्ठका १२ अंक निकालिन् । मनु बाज्राकी, सनत रेग्मी र मेरो अन्तर्वार्ता हालेर एउटा अंक छापिएको छ ।’

गर्विलो प्रगति

जम्मा १६ अंकको छोटो इतिहास भए पनि ‘प्रगति’ (२०१०) गर्विलो साहित्यिक पत्रिका हो । ‘प्रगति र नारायणप्रसाद बाँसकोटा स्मृति भेट’ (२०७८) मा एउटा किस्सा छ । अंक ६ मा शंकर लामिछानेले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अन्तर्वार्ता लिएछन् । कोइरालाले त्यस अंकको सम्पूर्ण खर्चपर्च बेहोरिदिने वचन दिएछन् । तर, पटनाको मोहन प्रेसबाट पत्रिका छापिएर आउन्जेल मातृका पदबाट हटिसकेकाले रकम माग्ने आँट कसैले गर्न सकेनछ । त्यो अंक झिकाउने प्रयास नै भएनछ ।

प्रेसबाट लिलाम बढाबढ भएको पत्रिका जनकलाल शर्माले कोलकाताको फुटपाथबाट एकदुई प्रति भेटेर ल्याएछन् र दिनेशराज पन्तको सौजन्यमा आफूले फोटोकपी गरेर राखेको साहित्यकार पुष्कर लोहनी सुनाउँछन् ।

प्रगतिशील लेखक संघमार्फत ‘प्रगति’ निकाल्न नसकेपछि त्यसका सम्पादक नारायणप्रसाद बाँसकोटा राजा त्रिभुवनमा शरणागत भएछन् । ‘प्रगति’ को पहिलो अंकको आवरणमै त्रिभुवनको तस्बिर छ । प्रथम सम्पादकीयमा छ, ‘राष्ट्रनायक श्री ५ महाराजधिराजको साहित्यप्रतिको अनुराज्ञालाई प्रशंसा गर्दछौं, मौसुफकै सहयोग र सद्भावनामा आश्रित भएर प्रगति निक्लिरहेछ... ।’ नवौं अंकमा छ, ‘स्वर्गवासी श्री ५ त्रिभुवन र वर्तमान श्री ५ महाराजाधिराजले प्रारम्भिक सहायता नबक्सेको भए प्रगतिले एकाध अंक निस्केर बन्द हुनुपर्ने थियो ।’

बाँसकोटाले लक्ष्मीप्रसाद देवकोटाजस्ता प्रियपात्र पाएका थिए । देवकोटाकै अगुवाइमा २०१२ को हरिशयनी एकादशीमा पशुपतिको मूलढोकामा पत्रिकाका डेढ सय ग्राहक बनेका थिए । ‘प्रगति’ साँच्चै विश्व साहित्यका गुणहरूलाई नेपाली प्रकाशनमा ल्याउन लागेको थियो । ‘शारदा’ ले हिन्दी र बंगाली साहित्यको अनुवाद प्रकाशन गरेको थियो भने ‘प्रगति’ ले अंग्रेजी साहित्यको । राजा महेन्द्रसँगको विशेष सम्बन्धका कारण बाँसकोटा २०१८ मा सूचना विभागका डाइरेक्टर बने । ‘प्रगति’ को भानु विशेषांक ननिस्केपछि हृदयचन्द्रसिंह प्रधानले ‘भानुभक्त एक समीक्षा’ र बालचन्द्र शर्माले ‘भानुभक्त’ पुस्तकाकार रूपमा ल्याएका थिए ।

जरिवानादेखि जेलसम्म

साहित्यिक पत्रिकाका सामग्रीका कारण लेखक/सम्पादकहरूले जरिवानादेखि जेलसम्मको सजाय पाएका छन् । डा. राजेश गौतमकृत ‘इतिहास लेखनको इतिहास’ (२०५१) अनुसार, बाबुराम आचार्यले जुद्धशमशेरको पालामा शारदा मासिक पत्रिकामा नेपालमा बंगाली सुल्तान समसुद्दिनले गरेको आक्रमणबारे गोपाल राजवंशावली र सिम्भु (स्वयम्भू) मा रहेको राजहर्षको शिलालेखलाई स्रोत बनाई लेख छपाएका थिए । उक्त लेख इतिहास लेखनमा ठूलो आविष्कार भएको ठानेका उनले उल्टै खप्की खानुप‍र्‍यो ।

यस्तै, ‘उद्योग’ पत्रिकामा १९९२ सालमा छापिएको मुद्रासम्बन्धी लेखका कारण बाबुराम आचार्यले तत्कालीन हजुरिया जनरल बहादुरशमशेरबाट झापड खानुका साथै पाँच रुपैयाँ जरिवानासमेत तिराइएको थियो ।

यति मात्र होइन, २०१८ सालमा ‘बगैंचा’ साहित्यिक पत्रिका निकालेर सात दिन सदर खोर डिल्लीबजारमा थुनिएका थिए, पुष्कर लोहनी । पत्रिकामा प्रकाशित दौलतविक्रम विष्टको कथा ‘एक साँझ’ ले समाजमा अश्लीलता फैलाएको आरोपमा समातिएका लोहनीलाई पछि कुनै समूहले फसाएको भन्दै उन्मुक्ति दिइयो ।

८४ वर्षीय लोहनी भने मवीवि शाहको कवितासंग्रह ‘उसैका लागि’ माथि चोरीको आरोपसहित आलोचना गरिएको तारानाथ शर्माको लेखका कारण आफू थुनिएको र पत्रिका प्रतिबन्धित भएको दाबी गर्छन् । पुष्करको त्यतिबेलाको बयान मवीवि शाहको नाम हटाएर ग्रीष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ (२०२४) मा प्रकाशित छ ।

‘मभित्रको यौन र मवीवि शाह’ नामक लेख लेखेर चर्चित भएका लोहनीले २०२१ सालमा नेपाल एकेडेमीको पत्रिका ‘कविता’ निस्केकै दिन कविताप्रधान पत्रिका ‘नयाँ कविता’ ल्याएका थिए भने कथापत्रिका ‘विम्ब’ (२०२६) पनि निकालेका थिए ।

छापा कि अनलाइन ?

आजका साहित्यिक पत्रिकाहरू छापामा मात्र खुम्चिएका छैनन्, अनलाइनमार्फत पनि साहित्यानुरागीमाझ पुगिरहेकै छन् । कतिपय छापा र अनलाइन दुवैमा छन् भने कतिपय अनलाइनमा मात्र । छापाभन्दा कम खर्चिलो, बिक्री वितरण तथा ढुवानीको झन्झट नहुने, वातावरणमैत्री, विश्वव्यापी पहुँचका कारण अनलाइन पत्रिकामा नयाँ पुस्ताको आकर्षण भए पनि भरपर्दो आयस्रोत नभएकाले खुल्ने र बन्द हुने सनातनी रोग छँदै छ । तैपनि साहित्यको ‘डिजिटलाइजेसन’ मा यिनको अहम् भूमिका छ ।

‘रचना’ का रोचक घिमिरे वाङ्मयको विकासका लागि साहित्यिक पत्रिका आवश्यक भए पनि नै छापाको स्थायित्वमा शंका गर्छन् । ‘अहिले रचना छ र रोचक छ, रोचक छ र रचना छ । मैले पत्रिका निकालें । छोराहरूले थोरबहुत सघाउँदै छन्, नातिले पनि गर्छन् भन्ने के ग्यारेन्टी ?’ उनी भन्छन्, ‘नयाँनयाँ पत्रिका निस्के पनि पुराना पत्रिका लामो समय नबाँच्न सक्छन् । भावना र समर्पणबिना पैसाले मात्र निस्केलाजस्तो लाग्दैन । तर, गर्न खोज्नेलाई मेरो शुभकामना नै छ ।’

‘अभिव्यक्ति’ का शर्मा भने साहित्यिक पत्रिकाको भविष्य सकियो भन्ने स्विकार्दैनन् । ‘संगीतको जतिसुकै विकास भए पनि रागरागिनीको महत्त्व घटेको छैन, कस्ताकस्ता नाचगान आउँदा पनि कत्थक र भरतनाट्यम् चलिरहेकै छन्,’ शर्मा भन्छन्, ‘प्यास लाग्दा बियर खाएर हुँदैन, पानी नै चाहिन्छ । साहित्यिक पत्रिका पनि त्यस्तै हो ।’

प्रकाशित : श्रावण २८, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?