कटारी क्याराभानको ट्रयाजेडी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कटारी क्याराभानको ट्रयाजेडी

हिमालबाट मधेस ओर्लेको नुनथलो जब पहाड चढ्यो त्यसपछि नुन, लत्ताकपडा र तेलले जोडेको ‘कटारी कनेक्सन’ चुाडियो । वर्षको एकपालि लीलाबहादुरहरुको ‘अनिवार्य’ कटारी–ढाकरयात्रामा पूर्णविराम लाग्यो । अनि साइत जुराएर गाउँ नै उठेर लाग्ने कटारी क्याराभान टुंगियो ।
कटारी नुनथलो बन्नुअघि चिसापानी नै चल्तीको नुनथलो थियो । धुलिखेलका नेवार र हुने–खाने मधेसी व्यापारीले चिसापानीलाई गुलजार बनाएका थिए ।
नवीन विभास

ढाकरै बोकी ठेकुवा टेकी ठ्याक्कैठ्याक्कै
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कैठ्याक्कै
पसिना झार्दै तरर
चार दिनको बाटो कटारी बजार...

ढिडोको गाँस ओडारमा बास ठ्याक्कैठ्याक्कै

शरीरको दौरा फाटेर गाछ ठ्याक्कैठ्याक्कै

पसिना झार्दै तरर

चार दिनको बाटो कटारी बजार...


भोकै र नांगै बालबच्चा घरमा ठ्याक्कैठ्याक्कै

यस्तै नै रहेछ दुःखिया कर्म ठ्याक्कैठ्याक्कै

पसिना झार्दै तरर

चार दिनको बाटो कटारी बजार...

– (जेबी टुहुरे र सीताराम ताजपुरियाले गाएको लोकगीत)

ढाक्रे सुसेलीले सुसेलिएको प्रस्तुत लोकगीतलाई गला दिने जेबी टुहुरे (७८) भदौ १० गते नफर्कने गरी हिँडे– ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भएर’, ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ’, ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’ जस्ता गीत जनमनमा रेकर्ड गराएर । ताजपुरियासँग टुहुरेले गाएको प्रस्तुत लोकगीतले भनेजस्तै ढाक्रे ओखलढुंगा रुम्जाटारनेर पुग्दा भने लीलाबहादुर राउत (७५) थप दुई बास बसिसकेका थिए । सोलु सदरमुकाम सल्लेरीबाट ३० किलोमिटर दक्षिण नेचाबाट आलु, कोदोको पिठो र एक साताका लागि नुनतेल ढाकरमा बोकी पसिनासँगै झरेका सुस्केरा–तालमा राउत पनि नुन हाट कटारी (उदयपुर) हिँडेका थिए । स्मरणीय कुरो, उनी ‘पन्थे’ थिए । पश्चिम पहाडतिर पहिलोपालि नुन बोक्न जाने हटारुलाई भने ‘उछिट्टे’ भन्थे । पन्थेका लागि ओडार, रूखमुनि खाना पकाएर खानु र बास बस्नु नौला अनुभव थिए ।

उनै जुगको उनै दिनका कुरो ! जुन दिन नेचामा सनसनी फैलिएथ्यो, ‘मधेसमा नुन आयो ।’

बगाले प्रश्न झर्‍यो, ‘मधेस कहाँ ?’

‘गोदार चिसापानीमा ।’

हो, त्यही दिनदेखि भोटे नुन लिन उकालिने सोलुवासीका पाइला पनि मधेसतिर सोझिएथे । ‘कमलामाई तरेर गोदार गयौँ । कमलामाई तर्दाको चिसो अहिले पनि सम्झन्छु,’ आलु बेचेर कटारीबाट नुन बोकेको किशोरवयमा राउत नोस्टाल्जिक बन्दै थिए ।

नेचाली ढाक्रे हुल हिलेखोला, कात्तिके, सुनकोसी घाटमा बास बसेको थियो । ‘दिनभर टार्दाटार्दै नभ्याएकालाई त राति तारेको हो । हामी त राति खाइवरी सुनकोसी तर्‍र्यौं । डुंगा तरेको चार आना तिर्‍यौँ । त्यसबेला चारवटा डुंगा थिए,’ घाट तरी बहादुरामा बास बसेको सम्झनामा राउत फेरि अल्झिए । कुनै गाउँका ढाक्रे सिमचौरे, बेलबास, बलौटे र कुकरुखोलामा बास बसे । ‘सीता सुत्केरी भएको ठाउँ हो’ भने । थपे, ‘यहाँ त औलो पनि लाग्दैन ।’

‘पन्थे जाँदा १६ वर्षको थिएँ । पन्थे नै १०/१२ जना थियौं,’ राउत सम्झँदै थिए, ‘पन्थे पूजा पनि भयो ।’

बास बस्ने वा खाना पकाएर खाने ठाउँमध्ये एक थियो, मूलखर्क । भन्न त त्यहाँ औलो लाग्छ पनि भने ।

‘छेलो फाल्ने बाजी खेलौं भन्थे । जुवामा राखेजस्तो बाजी । सुका, चारआनाका बाजी । कोही त नुन लिन लगेको पैसा छेलो हान्ने बाजीमै हारेर रित्तै पो फर्कन्थे । व्यक्तिव्यक्तिबीच बाजी भए पनि झगडा भने समूहमा पुग्थ्यो,’ राउत सम्झना झरीमा निथ्रुक्क भिजे ।

सुत्केरीबासमा भात खाएर मधेस पसे । भोर्ले कुकरुको दोभानबाट मधेसी बस्ती सुरु हुन्थ्यो । मरुइखोला, दुधौली खोला तरेर गिद्धबार बास बसे । ‘बिहानै हिँडे औलो लाग्दैन’ भने । कोप्चेपानीमा भात खाए । बाघको डर । कमला नदी तरेपछि गोदार चिसापानी पुगे ।

पत्रकार गणेश राई आफ्नो किशोरवयमा काटेको कटारी कसला कथ्दै थिए, ‘भन्ज्याङबाट सुनकोसीतर्फ ओरालो झर्‍यौं । बाटाभरि ढाक्रेको ताँती थियो । सिलाबरे डेक्चीमा उसिना चामलको भात पाक्यो । भात पस्किने पन्यु र थाल भने थिएन । खोलाको किनाराउँधि एकबित्ता जति लामो चेप्टो ढुंगा खोजेर पन्यु बनायौं । थालका लागि पनि सिलौटा आकारको गोलाकार ढुंगा खोज्यौं । तिहुन नभए पनि भोकको बेला त्यो उसिना चामलको भातको स्वाद जिब्रोमा अझै छ ।’

ढाकरगाथा गाएजसरी कटारी नुन हाट जाँदा मंसिर विवाह पञ्चमी छल्थे । हाट जाँदा पनि तिथि हेरीवरी साइत जुराएरै हिँड्ने चलन । ‘विवाह पञ्चमीको मेलापछि मधेसमा त व्यथा फैलिन्छ’ भनिन्थ्यो ।

राई, मगर, तामाङ समुदायका भने महिला पनि नुन लिन कटारी पुग्थे ।

‘पन्थे जाँदा पाँच आना लिएर गएको थिएँ । एक पाथी नुनलाई तीन सुका भाउ थियो । पाँच पाथी नुन बोकेँ,’ राउत नफर्कने ती दिनतिर फर्कने कोसिस गर्दै थिए, ‘नुनसँगै मट्टीतेल, सक्खर, चिउरा, चामल, लुगा पनि थपियो ।’

लीलाबहादुर राउतहरू देसी नुन लिन मधेस झर्नुअघि भोटे नुन लिन खुम्बु उक्लन्थे । तल्लो भेगकाले खुम्बु भेगका शेर्पासँग मित लगाउँथे । उही मित साइनो डोरोमा सुरेली खेल्दै उनीहरू भोटे नुन हाट जान्थे ।

सोलु दूधकोसी साँकुका रमेश खालिङ भन्दै थिए, ‘खुम्बुमा भोटे नुन याकले बोक्थ्यो । याकले नाङपाला पास गरेर नाम्चे ल्याउँथ्यो । त्यहाँबाट उँधो जोक्पेले बोक्थ्यो । शेर्पा तल ओर्लेर भोटे नुनसित मकै, आलु र सेतो सिमी साट्थे ।’

राउतका आँखामा भोटे नुनको अनुहार ताजै थियो । भन्दै थिए, ‘ल्हासाबाट आउने रातो नुन लिन खुम्बु जाँदा कोदो बोकेर जान्थे । भरीसरी (एक पाथी कोदोको एक पाथी नुन) थियो । नुन लिएर आइपुग्न १०/१२ दिन लाग्थ्यो ।’

कटारी कथा

कछाडे दनुवार, राई दनुवार र माझी कटारी आदिवासी ! कुमारसिंह राईका अनुसार घुँगी, गंगटा, स्थानीय माछा र आयुर्वेदजन्य खानेकुरा खाई औलो र सर्पसँग संघर्ष गर्दै दनुहार र माझीले कटारी बस्ती बसाले (त्रिवेणी माविले दनुवार समुदायमा खेलेको शैक्षिक तथा सामाजिक भूमिका, कुमारसिंह राई) ।

औलो उन्मूलनअघि पहाडेका खेतबारी त थिए, तर सुत्नचाहिँ डाँडाकाँडातिर उकालिन्थे । कटारी–४ का विष्णु राई दनुवारलाई कुमारसिंह उद्धृत गर्दै थिए, ‘पहाडे मूलका जग्गा मालिकहरू दिउँसो खेती गर्न बरमझिया, बलाहा, मरुवा आई बेलुकी सिखरपुरमा सुत्न निक्लन्थे । किनभने त्यस ठाउँमा लामखुट्टेले टोक्ने र औलो लाग्ने सम्भावना कम हुन्थ्यो । औलो उन्मूलन भएपछि पो कटारी पहाडेले भरियो त ।’

बिजुले हाट बन्द भयो । अम्टाईमा खुल्यो । पछि तावाखोला किनारमा सर्‍यो । २०११/१२ तिर भने अहिले त्रिवेणी हाइस्कुलछेउमा हाट लाग्न थाल्यो, जहाँ आँप बगैंचा थियो । गाछी फेदमा ससाना झुप्रा बनाएर व्यापारी बस्थे । शुक्रबारे हाटमा प्रायः व्यापारी दिनभर सरसामान बेचेर बेलुका वा भोलिपल्ट घर फिर्थे ।

कटारी त्रिवेणी हाइस्कुलका हेडसर एवं लेखक विश्वराज ढुंगानाका अनुसार कटारीका पहिलो व्यापारी थिए, धुलिखेलका जितलाल स्वजुँ श्रेष्ठ र रत्नलाल श्रेष्ठ ।

२०२१ मा हाटमा आगलागी भयो । त्यसपछि टाउन प्लानिङ गरिएको ठाउँमा सर्‍यो ।

कात्तिक, मंसिर र पुसका हरेक शुक्रबारे हाटको दिन ढाक्रे घुइँचो लाग्थ्यो । बजार र छेउछाउ ढाक्रेले ढाकिन्थ्यो ।

कटारी त्रिवेणी माविका प्राचार्य बालकृष्ण कार्की लेख्दै थिए, ‘कात्तिकदेखि सुरू भई मंसिरभरि पहाडबाट दैनिक हजारौंको संख्यामा आलु बोकेर कटारी हाट भर्न ढाक्रेहरू आउँथे भने मधेसतिरबाट सयौंको संख्यामा घोडा, ऊँट र बयलगाडाहरू लिएर मधेसी व्यापारीहरू आउँथे । यही समयलाई दृष्टिगत गरी कात्तिक वा मंसिरमा सबभन्दा ठूलो हटिया छानेर स्कुलले चन्दा उठाउने गर्थ्यो । त्यसै रकमबाट शिक्षकलाई तलब दिइन्थ्यो (त्रिवेणी मावि कटारी : विगत, वर्तमान र भविष्यको एक झलक) ।’

उत्तम मानिने सोलु र ओखलढुंगाबाट आलु पटनासम्म पुग्थे । व्यापारी ऊँट, घोडा र बयलगाडा लिएर माल खरिद गर्न आउँथे । तिनले नुन, मट्टीतेल र घरेलु प्रयोगका सरसामान ल्याउँथे । ढुंगानाका अनुसार, २०२८ मा नापी हुनुपूर्व भुल्केमा अन्दाजी १० बिघा जमिनमा सखुवाका बाक्लै गाछी थिए । स्थानीय ‘सालघारी’ भन्थे । त्यही ढाक्रेहरू ढाकर बिसाउँथे । खाना पकाएर खान्थे (अँध्यारोविरुद्ध उज्यालो ः सुने–जानेका कुरा) ।

कथाकार मातृका पोखरेल कटारी कथा कथ्दै थिए, ‘बाटो त जुलुस हिँडेजस्तो हुन्थ्यो । ढाक्रे कटारी कान्छीबजार चौरमै सुत्थे । साँच्ची, भन्ने हो भने कटारी ढाक्रेकै बजार हो ।’

...

तिब्बती कटारी हुँदै भारत पस्थे । कटारी भएर नै हिमाल र मधेस गर्थे । पत्रकार इन्द्र राउत कटारी किस्सा सुनाउँदै थिए, ‘कटारी त ट्रान्जिटजस्तो थियो ।’

ढुंगानाका अनुसार, कटारीछेउमा लाग्ने मैनी मेलामा हिमालपारि र वारिका घोडा किनबेच चल्थ्यो । तावापारिको जितपुर बारीमा घोडा कुदाउँथे । मेलामै बेलाइते र भोटे कुकुरको पनि किनबेच हुन्थ्यो ।

चिसापानी चिसियो

कटारी नुनथलो बन्नुअघि चिसापानी नै चल्तीको नुनथलो थियो । धुलिखेलका नेवार र हुने–खाने मधेसी व्यापारीले चिसापानीलाई गुलजार बनाएका थिए । पछि चिसापानीकै नुन, लुगाफाटा, तेल कटारी लान थाले । त्यसपछि कटारीको आधार बजार नै चिसापानी भयो । यतिसम्म कि, मानिसहरू त चिसापानीमा ‘लक्ष्मीको बास बास छ’ भन्थे । ढुंगाना सुनाउँदै थिए, ‘साँझपख त्यसबेलाको पैसा अर्थात् ढ्याक गनेको आवाज आउँछ भन्थे ।’

ढुंगानाका अनुसार, २०२३/०२४ तिर काठका ठेकेदारले कटारी बजार र चिसापानी–गोदार बाटो खने । त्यो बाटो तावाखोलाको बगरै–बगर हुँदै दुधौली पुग्यो । त्यहाँबाट दक्षिण लागेर कमला तरी टाँडी गाउँछेउको ससानो खहरेहुँदै चुरे । चुरेबाट ओरालो लागेपछि बाटो निमनी खहरेसँगसँगै अगाडि लाग्यो र चिसापानी बजार पुग्यो ।

२०३६ पछि मिर्चैयाबाट सीधै कटारी जाने पुल बन्यो । कटारी–मिर्चैया बाटो बनेर कटारी चल्तीमा आयो । त्यसपछि ? चिसापानी (कटारी–चिसापानी करिब २० किलोमिटर) सदाका लागि चिसियो ।

...

आजभोलि बेल्टारीमा

बेलुका सधैं गुमानेले सनै बजाउँछ

यतिसारो उराठलाग्दो

विरहको भाकाले मनै रुवाउँछ...

खुसीराम पाख्रिनले गाएको गीतमा गुमानेले सनै बजाउने बेल्टारी पनि कटारीजस्तै भित्री मधेसको अर्को नुनथलो थियो । जहाँ भोजपुर, खोटाङको पूर्वी भाग र संखुवासभाली जान्थे । त्योभन्दा पूर्व धरानछेउ अर्को नुनथलो थियो– रामपुर, जसलाई पूर्वको बेल्टारी पनि भन्थे । कटारीको चिसापानीजस्तै बेल्टारीको आधार बजार फत्तेपुर (सप्तरी) थियो ।

...

कटारी जान धेरै खोला तर्नुपर्ने भएकाले उदयपुर माथ्लो भेगका मानिस नुन लिन मुक्सार लाग्थे । जहाँबाट जयनगर (भारत) पनि नजिक थियो । कटारी चम्केपछि भने मुक्सार (कटारी–मुक्सार करिब २० किलोमिटर) चक्रक्क सुक्यो ।

...

उक्लँदै पहाडी गाउँछेउछाउ बाटो पुगेपछि कटारी किस्सा बन्यो । जुन किस्सा पूर्वी नेपालको समाजशास्त्र, अर्थशास्त्र बुझ्न पनि सुन्न जरुरी थियो । भलै दाउरा खोज्दै ओडारमा वा रूखमुनि ढुंगाका ओदान बनाएर पकाउन र ढुंगा सिरानी लगाएर ओडार वा रूखमुनि सुत्ने कुरा, ढाकर बोकेर हप्तौँ हिँडेर कटारी पुग्ने र कटारीबाट वर्षका लागि नुन, तेल र लत्ताकपडा जोहो गर्ने चलन सम्झनामै सीमितिए । ढाकर संस्कृति सम्झनाको जगमा उभिएर आजको पुस्ताले समाज पढ्न पनि कटारी किस्सा नपढी हुँदैन । कटारी किस्सा नपढी पूर्वी नेपालको अर्थ, राजनीति र समाजशास्त्र कसरी बुझिन्छ ?

भोटे नुनले माथ्लो भेगका शेर्पासँग तल्लो भेगका समुदायलाई जोडेको थियो । इष्ट अर्थात् मित साइनो लगाएर व्यापार र समाज जोड्ने चलन थियो, कर्णालीमा पनि । कर्णालीका काइके र पोइकेभाषी मगर समुदाय माथ्लो भेगका तिब्बतीयन र तल्लो भेगका खससँग ‘नेचाङ’ साइनोले जोड्थे । भोटे नुनको बजार देसी नुनले खाएपछि शेर्पासँगको तल्लो भेगकासँगको मीत साइनो कसरी बिलायो ? जान्नलाई कटारी कथा नजोडी भयो त ?

ढाकर बोकेर नुन हाट जाने ‘नुन हाट’ राउतहरूका सुखदुःखका सुस्केरा गीत बनेर सुसेलिएका थिए, जो सुनकोसीसँग बग्दै कमलामाई पुगे र सुसेलिदै उड्दै–उड्दै सोलुको मात्र होइन, देशकै शिर सगरमाथा चढे ।

कमब्याक कटारी

वर्षको एकपालि लीलाबहादुरहरू कटारी झर्नु ‘अनिवार्य’ थियो । कारण थियो, कटारी नझरी नझरी टुकी नबल्नु । टुकी नबली कसरी घर उज्यालिनु र ? कटारी नझरी भान्सा अलिनै हुनु । कटारी नझरी आङको रङ नफेरिनु । अनि त वर्षको एकपालि कटारी नझरी सुख !

यसैले होला, कटारी कनेक्सन कट् भए पनि लीलाबहादुरहरूका सम्झनामा भने ‘कटारीविराम’ लागेन ।

जस्तो कि– सुनकोसीमा डुंगा चढेको, निधारबाट छुटेको पसिना पिठ्यूँमा नुन पनि मिसाएर झन नुनिलो बगेको खोला, सुसेली हाल्दै उकालिएको, ओडार र आँपका ठूला गाछीमुनि बास र बास बस्दा रातभर गाएका र देखेका ससाना सपनाका सम्झना । लीलाबहादुर कटारी खसखस पोख्दै थिए, ‘ढाकर बिसाएर सुस्ताएका ती आँपगाछी, ओडार, चराका चिर्बिर र खोल्सीमा दौडिरहेका अबोध केटाकेटीजस्ता पानी ! बास बसेका ओडार, खेत र रूखमुनि सपना देख्ने पनि होलान् ? ती चरा कहाँ पुगे होलान् ? सुनकोसी टार्ने डुंगा कहाँ होला ? कलकल बग्ने खोल्सीका पानी, हरियाली बाँकी नै होला ? सहीसलामत होलान् कि, ती पनि मजस्तै बूढा भए होलान् हँ ?’

कटारी ढाकरयात्राका बास, हिँड्दा र बाटोमा भेटेका मानिसका याद, रातभर गाएका गीत, पसिना चुहाउँदै ढाकरको चुइँचुइँसँग सुइँसुइँ

हिँड्दा गुञ्जने गीत लीलाबहादुरहरूका कानमा कहिले ब्याट्री सकिएको रेडियो त कहिले धमिलो सुनिन्थ्यो । तिनीहरूले बास बसेका ओडार र रूख (जसको मुनि बास बसे) मुनि ससाना सपना देखेका थिए । रातभर गाएका थिए । पाकाहरूका मुखबाट अनेकौं लोककथा सुनेथे । खासमा ढाक्रे सम्झनामा आउने ती चीज बूढो होइन, भत्किसकेका थिए । ढाकर बिसाउँदा चुमेर जाने चिसो बतास, चराका चिर्बिर र ससाना खोल्साखोल्सीका पानी र ठूलाठूला आँपगाछी गायब थिए ।

कटारी ढाकरका कथा पनि उनेका कथाकार मातृका पोखरेल भन्दै थिए, ‘ढाक्रेसँग बास बसेका कुनै पनि ओडार र रूख बाँकी छैनन् ।’

ढुंगानाका अनुसार, २०५३/२०५४ देखि कटारी–घुर्मी धूले बाटो बन्यो । कटारीबाट उत्तरी नाका सोलु जोड्ने बाटो त घुर्मीबाट ओखलढुंगा, खोटाङबाट अर्को बाटो बन्यो । घुर्मी, खुर्कोट, काठमाडौं बाटो कालोपत्रे भयो । कटारीको बजारको ठूलो हिस्सा घुर्मीमा सर्‍यो । उत्तरी क्षेत्रको सम्पूर्ण व्यापार त्यहीँबाट हुन थाल्यो ।

लीलाबहादुर भन्दै थिए, ‘गोदार चिसापानीपछि कटारीबाट नुन बोकेँ । कटारीबाट बसेरीबाट बोकेँ । घुर्मीबाट बोकेँ । त्यसपछि ओखलढुंगाबाट । १२ वर्षअघिसम्म ओखलढुंगाबाट बोकेको हो । ओखलढुंगापछि त नुन हाट जाने चलनै चट् भयो ।’

हिमालबाट मधेस ओर्लेको नुनथलो पहाड उक्लेपछि नुन, लत्ताकपडा र तेलले जोडेको ‘कटारी कनेक्सन’ चुँडियो । वर्षको एकपालि लीलाबहादुरहरूको ‘अनिवार्य’ कटारी–ढाकरयात्रामा पूर्णविराम लाग्यो । साइत जुराएर गाउँ नै उठेर लाग्ने कटारी क्याराभान टुंगियो ।

पत्रकार गणेश राई लेख्दै थिए, ‘अहिले कसैले ढाकर बोकेर १० दिनको बाटो पैदल नाप्नुपर्दैन । पैसा भए घरैमा आइपुग्छ सामल ।... अधिकांश घरका सदस्य साउदी, कतार, मलेसियातिर छन् ।’

...

नेपालका धेरै नुनथलामध्येको एक कटारी । यतिबेला ‘सहर’ बन्ने कटारी ‘रहर’ छ । कटारीको पनि कोइलाबास (पश्चिम नेपालको मूल नुनथलो) कै नियति होला कि कटारी ‘कमब्याक’ होला ?

प्रकाशित : मंसिर ४, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

एक आदि विद्रोहीको अन्त्य

आफूविरूद्ध आवाज उठाएपछि तत्कालीन पञ्चायती शासकले ०३६ सालमा धनकुटा छिन्ताङमा १७ जनाको ‘सफाया’ गरेको थियो । मारिएकाहरुको स्मृतिमा कात्तिक २९ गते ‘सहिद स्मृति दिवस’ मनाइन्छ । छिन्ताङ विद्रोहका एक ‘नायक’ गडुल राईलाई २०६३ सालको हिउँदमा भेटेका थिए मानवशास्त्री सुरेश ढकालले । ढकाल लेख्छन्, ‘आफैंले देखेका र प्रेम गरेका सपनाले गडुलको जिन्दगी बिथोलिरहेको थियो । उनमा अझै विद्रोहको भोक बाँकी थियो ।’
सुरेश ढकाल

गड्याङ र गुडुङ मेघ पनि होइन आकाश सफा छ,छिर्का र छिर्की पानी त होइन रगतको टाटा छ

४२ वर्षअघि (२०३६ को हिउँदमा) धनकुटा खाल्सा क्षेत्र त्रसित थियो । जनता कहालीलाग्दो आतंक र घोर पीडामा थिए । त्यही त्रासदीको सविस्तार वर्णन गर्थ्यो चित्र निरौलाले लेखेको माथिको गीतले, जुन मैले पटक–पटक सुनेको थिएँ रामेश, मञ्जुल आदिका स्वरमा । त्यसबखत यो गीतले मेरो किशोर मनमा समेत एउटा त्रास र आक्रोश पैदा गर्थ्यो । यो खासगरीे ०३७–०३८ साल आसपासको कुरा थियो ।

यो त्यतिबेलाको कुरा थियो, जतिबेला निरंकुश पञ्चायती व्यवस्था उत्कर्षमा थियो । ‘खतरनाक’ अनुदार ठानिने सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । त्यही समय धनकुटाको खाल्सा क्षेत्रमा दर्दनाक नरसंहारको व्यूह रचिएको थियो, जुन पछि छिन्ताङ काण्डको नाममा चर्चित बन्यो ।

छिन्ताङ विद्रोहको त्यो कथा निकट इतिहासको एउटा वियोगान्त कथा हो, जुन बारम्बार भनिएको छ । यो कथा अरू केही वर्षसम्म भनिनेछ वा भनिनुपर्नेछ । यो द्वन्द्व र हिंसाको कथा हो । यो मुक्तिकामी जनताको सपनाको अवसानको कथा पनि हो । यो नेपालमा कम्युनिस्ट पार्टीको विकास र विस्तार बुझ्न सहयोग पुर्‍याउने सन्दर्भको कथा पनि हो । किसान विद्रोह र राजनीतिक दलहरू, खासगरी कम्युनिस्ट राजनीतिको सम्बन्ध केलाउन एउटा दृष्टिकोण दिने कथा पनि हो ।

घटनाको लामो अन्तरालपछि, २०६३ साल हिउँदको यस्तै कुनै एक दिन त्यही त्रासदीको थप कथा जान्न हामी छिन्ताङ पुगेका थियौं । तर, यो यात्रा विवरण वा छिन्ताङ काण्डको नालीबेली भने होइन । त्यसबेला भेटिएका र स्मृतिमा गढेर बसेका छिन्ताङ विद्रोहका एक ‘प्रोटागोनिस्ट’ गडुल राईलाई सम्झिने प्रयास मात्रै हो ।

गडुलसँग जम्काभेट

गडुललाई उनकै शब्दमा सानो ‘खिचिरमिचिर’ दोकानसमेत भएको छिन्ताङको पञ्चकन्यास्थित उनैको घरमा भेटेका थियौं । पहिलोपटक भेट्दा वा देख्दा उनी थोत्रिइसकेको पावरवाला चस्माको सहाराले ध्यानपूर्वक पत्रिका पढिरहेका थिए । त्यो थियो ‘जनादेश’ पत्रिका । हामी काठमाडौंबाट आएको र उनीसँग कुरा गर्न चाहेको बताउँदा गडुल ‘आफ्नो कथा’ सुनाउन तयार भइहाले, मानौं आतुर भएर हामीलाई नै कुरेर बसिरहेका थिए ।

आठ दिन त्यस क्षेत्रमा बस्यौं र उनीसँगको बस–उठ पनि जम्मा त्यति नै दिनको रह्यो । उनीसँगै खोकु छिन्ताङको कान्ला र पाखा हिँड्यौं, उकाली–ओराली गर्‍यौं । उनका तत्कालीन सहकर्मीहरूसँग भेट्यौं । उनका जीवनका केही आरोह–अवरोह बुझ्ने चेष्टा गर्‍यौं ।

उनी माओवादी बनेका रहेछन् त्यसबखत । कथाहरू सुनिरहँदा लाग्थ्यो, आफैंले निर्माण गरेका क्रान्तिका मान्यताहरूबाट बन्दी बनाइएका छन् उनी । आफैंले देखेका र प्रेम गरेका सपनाले उनको जिन्दगी बिथोलिरहेको थियो । उनमा अझै विद्रोहको भोक बाँकी थियो ।

उपलब्ध गणतन्त्र र पछिल्लोपटक आफैंले समर्थन गरेको माओवादी पार्टीप्रति समेत उनको चरम असन्तुष्टि थियो । वर्ग–दुस्मन खत्तम पार्ने भनिएको क्रान्तिको सर्वोच्च नेता प्रचण्डप्रति आक्रोस थियो । भन्थे, ‘प्रचण्डले धोका दिए, क्रान्तिप्रति गद्धारी गरे ।’ यो संवाद विस्तृत शान्ति सम्झौता भएको धेरै समय नहुँदैको थियो ।

सहिदभूमि गाउँपालिकाको छिन्ताङस्थित सहिदपार्क । तस्बिर : बबिता शर्मा

क्रान्तिकारी हुनुको सबैभन्दा सुन्दर र रोमाञ्चक पक्ष भनेकै क्रान्तिकारी हुनु हो भन्ने कुरा सायद उनको हकमा हुबहु लागू हुन्थ्यो । हामीले भेट्दा पनि उनी लडाइँमा निस्किन ठिक्क परेको कुनै योद्धाजस्ता महसुर र वेगवान देखिन्थे ।

जर्ज बनार्ड शले भनेका थिए, ‘क्रान्तिले कहिले पनि बर्बरताको भारी कम गरेको छैन बरु केवल काँध मात्रै सारेको छ ।’ गडुलको अनुभवमा क्रान्तिले उही प्रवृत्तिलाई पुनःस्थापना गर्‍यो, जसको अन्त्य उनले चाहेका थिए । त्यसैले उनमा विद्रोहको आगो अझै बाँकी थियो ।

यो तिनै विद्रोहीको कथा हो अर्थात् छिन्ताङ विद्रोहका तिनै ‘कमान्डर’ गडुल राईको एक कथा ।

विद्रोहको स्वर

गडुल राईले हामीलाई सुनाएको उनको कथाको संक्षिप्त रूप यस्तो थियो ।

०२४ सालदेखि औलो उन्मूलनमा जागिर खाएका उनी ०२७–२८ मा झापातिर काम गर्थे । तलब र भत्ता गरी महिनाको १२० रुपैयाँ कमाइ हुन्थ्यो । त्यति नै बेला उनी एक झापाली विद्रोहीको संगतमा पुगे । ती विद्रोहीले भनका रहेछन्, ‘पैसाको लोभमा फस्ने होइन, देशका लागि बलिदान गर्नुपर्छ ।’ लहैलहैमा गडुलले जागिर छोडे, गाउँ फर्के, गाउँलेलाई जागरुक बनाउन । ‘रातो झन्डा’ भन्नेहरूको सम्पर्कमा पुगे । ‘त्यसपछि जातीय मुक्ति मोर्चा आयो, अनि पूर्व कोसी प्रान्तीय भन्ने आयो, को के (कोअर्डिनेसन केन्द्र) भन्ने पनि आयो, त्यसपछि माले आयो । त्यसैगरी म मसाल बनें । मार्क्सवादीको सम्पर्कमा पनि आएँ...,’ यसरी उनी क्रमशः स्मृतिमा जाने कोसिस गर्थे ।

मालेपछि उनी एमाले बने । र, पछि माओवादी । भन्थे, ‘चौबन्न–पचपन्न सालदेखि माओवादीका नेताहरूको झोला बोक्ने कमारो भएर बसेको छु ।’ माओवादीप्रतिको वितृष्णा प्रस्ट देखिन्थ्यो उनको बोलीमा, ‘माओवादी बन्ने रहर त थिएन, तर काम गर्नुपर्छ भनेर किरात राष्ट्रिय मोर्चाको जिल्ला सदस्य बनाइदिए ।’ ०६० सालमा पुलिसले पक्राउ गर्‍यो, १८ दिन हिरासत बसे । ‘बूढो भएर पनि माओवादी हुने ?’ भन्दै धुस्नो हुनेगरी कुटे र अन्त्यमा तारिखमा छोडे । ‘तर, सबैभन्दा ठूलो गुनासो माओवादीमाथि नै छ,’ उनको निचोड थियो ।

कहिल्यै विद्यालय जान नपाए पनि गडुल सामान्य पढलेख गर्न सक्थे । जतिबेला ‘कमिटी प्रणाली’ बारे थाहा थिएन उनी नरबहादुर कुथुमी, भक्त बोलाना राई, गोविन्द विकल, बम देवान आदिका सम्पर्कमा आए । कम्युनिस्ट पार्टीमा संगठित बने । उनिहरू स्थानीय जिम्वाल मझिया राईको शोषणविरुद्ध संगठीत हुँदै थिए । सम्झिँदै गए, ‘शोषणको स्वरूप निर्दयी खालको थियो । सोझा गाउँलेहरूले दिनहुँ अमानवीय व्यवहार झेलिरहेका थिए । भूमिसुधारको कुनै प्रभाव थिएन । जग्गा जमिन मझियाहरूकै कब्जामा थियो । गाउँले किसान दाससरहका कृषि मजदुर मात्रै थिए । बेठ–बेगारी बुझाउनुपर्थ्यो । गरिबी चरम थियो । भोकै बस्नुपर्ने अवस्था थियो ।’

यस्तै पृष्ठभूमिमा भएको थियो– शृंखलाबद्ध विद्रोह । ०३६ कात्तिक–मंसिरको छिन्ताङ विद्रोहचाहिँ उच्चतम स्वरूप थियो । गडुल तिनै विद्रोहका स्थानीय नेता थिए । सुरा र अन्य गाउँलेका दाँजोमा तराई–मधेश देखेका ‘जान्ने–बुझ्ने हुँ’ भन्ने लाग्थ्यो रे उनलाई । उनी भन्थे, ‘म उहिले नै अहिलेको मिलिसियाको कमान्डरजस्तो थिएँ ।’

‘उहाँमा अलिक समस्या छ,’ उनको विद्रोही स्वभावप्रति लक्षित थियो सहयोद्धाको यो टिप्पणी । तर, गडुललाई लाग्थ्यो– आफ्नो विद्रोही स्वभावमा होइन, समस्या आफ्नै कमरेडहरूमा आएका कारण उनी अझै विद्रोही बनेका हुन् ।

अल्वेयर कामुको ‘म विद्रोह गर्छू त्यसैले मेरो अस्तित्व छ’ भनेझैं गर्थे गडुल ।

‘सामन्तीलाई नगिँडी, सैनिकसँग नभिडी

आउँदैन है जनवाद भाषण ठोकेर’

यो उनीहरूले गाउने गीत मात्रै थिएन विद्रोहको स्वर थियो । र, उनका लागि राजनीतिक बाटो पनि ।

छिन्ताङ : सन्दर्भकथा

जुन विद्रोह भयो र त्यसभन्दा कैयौं गुणा दमन भयो, विद्रोह भएकै ठाउँमा पुगेर सहिद–परिवारलाई सुनिरहँदा हामीलाई त्यो त्रासदीपूर्ण मात्रै होइन, अकल्पनीय नै लाग्यो ।

‘दमनको योजना माथिबाटै बनेको थियो, माथिबाट भनेपछि तपाईंले बुझिहाल्नुभो...’, तत्कालिन पूर्वाञ्चल डीआईजी दिलबहादुर (डीबी) लामाले हामीसँगको भेटमा भनेका थिए । तर, तत्कालीन प्रधानमन्त्री थापाको भनाइमा ‘त्यो राज्यविरुद्धको द्रोह थियो । सरकार प्रमुखका हैसियतले त्यसलाई दमन गर्नु मेरो कर्तव्य हुन्थ्यो । यसमा माथि (दरबार) को कुनै चासो थिएन ।’

यो सन्दर्भले त्यतिबेला छिन्ताङ विद्रोहलाई राज्यले कुन रूपमा लिएको थियो भन्ने उजागर गर्थ्यो । तर, विद्रोहको नेतृत्व लिएको भनिने माले पार्टी त्यो तहमा गम्भीर भएको देखिएन ।

तत्कालीन नेकपा मालेको मुखपत्र ‘वर्ग संघर्ष’ (अंक १५, २०३७) मा त्यस घटनाका सम्बन्धमा यस्तो समीक्षा थियो, ‘सशस्त्र संघर्ष नगरी मुक्ति पाइन्न भन्ने विचारको प्रचार भए पनि कसरी सशस्त्र संघर्ष गर्ने हो भन्ने सवालहरूमा स्पष्ट समझदारी नरहनाले केही दुस्साहासवादी काम भए ।... वास्तवमा बनाइएका केही गोरिल्ला दस्ताहरू पनि सशस्त्र प्रतिरोधका लागि मानसिक र भौतिक रूपले तयार भैसकेका थिएनन् । ...वामपन्थी

भड्काउवाद र अनेक कमजोरी भएको थियो ।’

गडुल भन्थे, ‘यम बराल भन्ने एउटा चटपटे ठिटो थियो । उसैले उकास्यो । ऊचाहिँ बिजुलीको वेगमा कता बेपत्ता भयो ।’

‘टिन–एज’ पनि पूरा नगरिसकेका यम बराल त्यस क्षेत्रमा पार्टीको जिम्मेवारीमा थिए । उनको ढंग नपुगेको भनेर तत्कालीन पार्टीभित्र र बाहिर पनि आलोचना भएको थियो । उनीविरुद्ध पार्टीभित्रै पनि उजुरी परिसकेको रहेछ । उनको ‘उरन्ठ्यौलो कार्यशैली र चिन्तन’ लाई छिन्ताङमा बेहोर्नुपरेको नोक्सानका लागि जिम्मेवार ठानियो । त्यसो त मदन भण्डारीले समेत पटक–पटक भ्रमण गरेको र सशस्त्र विद्रोहका लागि हतियार जम्मा गर्न ‘उक्साएको’ पनि भनिएको थियो । यद्यपि यम बरालको भनाइमा त्यो सबै पार्टीको योजना र नीतिअनुसार नै भएको थियो । बरालले भनेका थिए, ‘मैले त्यो ठाउँ पार्टीको निर्देशनमा नै छोडेका थिए, भागेको थिइनँ ।’

यस्तो थियो छिन्ताङ विद्रोहलाई हेर्ने सरकारी र तत्कालीन माले पार्टीको दृष्टिकोण । उक्त घटनाप्रति अन्य कम्युनिस्ट घटकहरूको दृष्टिकोण सकारात्मक हुने त कुरै भएन । कांग्रेस र पञ्च एकै कोटीका दुस्मन ठानिन्थे । छिन्ताङ विद्रोह भएको वर्षको दसैंताका ‘राजा र बीपी घाँटी जोडिएका नाग हुन्’ भन्ने आशयको पर्चा छापेर बाँडिएको थियो ।

त्यस क्षेत्रमा २०२७ सालदेखि नै मझिया राईहरूको चर्को शोषण, अत्याचार र व्यभिचारविरुद्ध साना–ठूला प्रतिरोधपूर्ण कारबाही र विद्रोह भइरहेकै थिए । ती शृंखलाबद्ध विद्रोहलाई बृहत्तर रूपमा पञ्चायतविरुद्धको प्रतिरोधको रूपमा पनि हेरिन्थ्यो । त्यस वर्षको सुरुदेखि नै गडुल र उनका केही सहयोद्धाले घरेलु हतियार जम्मा गर्ने, स्थानीय ‘सामन्त’ लाई कारबाही गर्ने, भकारी लुट्ने, बाख्रा, सुंगुर खोरबाट तान्ने, घर–गोठमा आगो लगाइदिने गतिविधि बढाउन थालेको थिए । उनीहरूले जानेको–सकेको प्रतिरोधको स्वरूप त्यस्तै थियो । गडुल ती सबै योजना बनाउने र कारबाहीको नेतृत्व गर्ने प्रमुख व्यक्तिमध्ये एक थिए । तत्कालीन पार्टीले पनि सोहीअनुसारको निर्देशन दिने गरेको थियो । यो सबको सुइँको पाएका स्थानीय पञ्चहरूले सशक्त कारबाहीको मागसहित उजुरी गरेका थिए । बताइएअनुसार, प्रधानमन्त्रीसमक्ष नै अनुरोध गरे– व्यवस्थाविरोधि गतिविधि दबाउन र स्थानीय पञ्चहरूको सुरक्षा गर्न ।

विद्रोहीहरू शान्त हुने सुरमा थिएनन् । बरु उजुरीपछि गाउँ आएका प्रहरीमाथि कारबाहीको तयारी गर्दै थिए । प्रहरीलाई खान, बस्न दिएको र सुराकी गरेको ‘अपराध’ मा व्यक्तिका घर जलाउने, हातपात गर्नेजस्ता ‘कारबाही’ गरे । यसबाट जिल्लाकै प्रहरीहरू पनि आत्तिएका थिए । उनीहरूले पनि ‘ठूलै राज्य द्रोह हुन लागेको’ र ‘ठूलै शक्तिले मात्रै दबाउन सकिने’ रिपोर्ट गरे । पछि माथिल्लो तहमै दमनको योजना बनेको थियो ।

गाउँ नै घेराबन्दी गर्दै विभिन्न नाकाबाट प्रवेश गर्न थाले प्रहरी । कात्तिक २४ मा प्रहरीले गाउँका असल, इमानदार र प्रचुर सम्भावना भएका एक होनाहार स्थानीय युवा नेता गोपाल आनन्द राईलाई घरबाटै पक्राउ गरे र हत्या गरे । गोपाल आनन्दको हत्यासँगै छिन्ताङमा अत्याचारको शृंखला सुरु भएको थियो । मंसिरको पहिलो सातासम्म १७ गाउँलेको हत्या गरिएको थियो । मारिनेमा स्थानीय राई र दलित थिए, जसमध्ये कोही संगठित विद्रोही थिए भने केही निर्दोष पनि प्रहरी ज्यादतीको सिकार भए । पूरै गाउँ सातादिनभन्दा बढी प्रहरीहरूको उन्माद र हत्या शृंखलाले आतंकित बन्यो । थुप्रै युवा गाउँ छाडेर भागे । कत्तिले जंगल र गुफाहरूमा कन्दमूल खाएर तथा भोकभोकै पनि ज्यान जोगाए ।

दुर्दान्त घटना थियो त्यो । यस्तो लाग्थ्यो, त्यस आतंकले अहिलेसम्मै पनि लखेटिरहेकै छ । पीडित जनता खासगरी त्यतिबेलाका विद्रोही–सहिद परिवार राज्यको त्यो आघात र अहिलेको बेवास्ताले झनै पीडित बनेका छन् । यिनैमध्ये कै एक थिए गडुल राई ।

छिन्ताङको त्यसबेलाको सघंर्ष, विद्रोहको ढंग र शैली हेर्दा लाथ्यो, माओवादी सशस्त्र विद्रोहको त्यो प्राग्–स्वरूप थियो र नियति पनि ।

फेरि गडुलकै कथा

उनले हामीलाई सुनाएको कथाको बाँकी अंश यस्तो थियो ।

त्यतिबेला उनी धेरै नेतालाई चिन्थे, तर पछि नेताहरूले उनलाई चिनेनन् । गुनासो त हुने नै भयो । लाग्थ्यो रे, ‘गरिब किसानको मुक्तिका लागि क्रान्तिमा त होमिने हो, मरे सहिद, बाँचे मुलुक हल्लाउनेछौं ।’ तर, ‘व्यवस्थाविरोधी’ भनेर मारिएका ती सहयोद्धा र निर्दोषलाई परिवर्तित राज्यले सहिद घोषणासमेत गरेन । ‘उनीहरू हाम्रा मनमा त अमर छन्, तर राज्यले सम्मान गर्न सकेन । आज सहिद परिवारलाई राज्यको कुनै सहयोग छैन ।’ त्यसैले कहिलेकाहिँ लाग्दोरहेछ, ‘बेकारमा यत्रो दुःख गरिएछ ।’

खासमा माओवादीभन्दा अर्कोलाई ‘राम्रो’ भन्न नसकेको, तर माओवादीले पनि धोका दिएको निष्कर्षमा पुगेका थिए उनी । भन्थे, ‘जनताले अब साँचो क्रान्ति गर्नुपर्छ, मुक्तिका लागि ।’

हामीले गडुलका समकालीन योद्धाहरूलाई पनि भेट्यौं ।

कितापप्रसाद राई गडुलका दौंतरी थिए, छिन्ताङ काण्डका कमान्डरमध्येका एक । उनको त्यतिबेलासम्मको राजनीतिक यात्रा पनि समान । कितापप्रसाद भन्थे, ‘क्रान्तिबाहेक मेरो कुनै सपना छैन, पार्टीबाहेक मेरो कुनै घर छैन ।’ उनको विचारमा गडुल क्रान्तिकारी त हुन् नै, तर ‘अलिक अव्यावहारिक छन्, अलिक आवेशमा आउँछन् ।’ सायद उनको त्यही आवेश थियो, जसले उनलाई जीवनभरि क्रान्तिकारी बनाएको थियो ।

आँखीसल्लाका पञ्चलाल गडुलहरूलाई ‘मिलिटरी’ तालिम दिन्थे रे । भारतीय सेनामा १८ वर्ष काम गरेर फर्केका पञ्चलाललाई ०२७ सालमा धरानमा पेन्सन थाप्न जाँदा अपरिचित दुई ब्यक्तिले माओको रेड बुक थमाइदिएछन् । त्यहीँबाट उनको राजनीतिक जीवन सुरु भएको थियो । त्यसपछि नै स्थानीय तहमा विद्रोह सुरु गरेका उनी जेल परे ६ वर्ष । पछि मालेको सम्पर्कमा पुगे । मसाल बने । अन्ततोगत्वा माओवादी । ७३ वर्षको उमेरमा पक्राउ परे । ‘यस्तो बूढो भएर पनि माओवादी बन्ने ?’ भनेर उनले पनि खपिनसक्नु पिटाइ खाए ।

हामी गडुलका साथ लागेर तिनै पञ्चलाललाई भेट्न उनको घर पुगेका थियौं । माओवादीको जनसरकार उपप्रमुख भइसकेका उनी पछिसम्म पनि माओवादी नै थिए, तर माओवादीले भनेको ‘क्रान्ति पूरा गर्छ’ भन्नेमा शंका गर्थे । भन्थे, ‘माओवादीले नगरे अर्को पार्टी आउँछ, क्रान्ति त हुन्छ हुन्छ ।’ सदाबहार विद्रोही गडुल त्यसैले पनि उनका प्रिय थिए । यो २०६३ सालसम्मको कथा थियो ।

छिन्ताङ वियोगान्त र बाँकी प्रश्न

पाँच वर्षपहिले एउटा समाचार हुर्रिएर आयो, गडुलको मृत्युको खबर बोकेर । सँगै अर्को समाचार पनि थियो, फुटनोटजस्तै । सुन्दा अपत्यारिलो । मान्छेको जीवन विब्ल्याँटो परिस्थितिहरूको योग हो । मरे सहिद बनिन्छ भन्ने आदर्शबाट प्रेरित उनको जीवन संघर्ष र विद्रोहको कथाको अन्त्य हो । एउटा विद्रोहीको वियोगान्त । चुपचाप ।

तर, प्रश्नहरूको अन्त्य भइसकेको छैन । गडुल राईको जीवन नै प्रश्नहरूको शृंखला थियो । क्रान्तिको आकांक्षा र मुक्तिको सपनाको अंकुरण कसरी हुन्छ ? कसरी मौलाउँछ ? कसरी सपना भ्रममा बदलिन्छ र मुक्ति आकांक्षाको अवसान हुन्छ ? ०३६ सालमा १७ जना निर्दोष स्थानीय मारिएको त्यो छिन्ताङ विद्रोह र ६३ सालसम्ममा १७ हजारभन्दा बढीको ज्यान गएको तत्कालीन माओवादी विद्रोहबीच केही समानान्तर नियतिहरू थिए ? यी र यस्तै धेरै प्रश्नहरू बाँकी छन् ।

किसान विद्रोह र वामपन्थी राजनीति एवं पार्टी निर्माणको सम्बन्ध अर्को महत्त्वपूर्ण प्रश्न हो । स्थानीय विद्रोह र किसान आन्दोलनको उपयोग गरेर पार्टी निर्माण त भयो, तर विद्रोह र किसानको नियति किन सधैं असफल मात्र रहिरह्यो ? के सार्वभौम किसान आन्दोलनका रूपमा तिनको विकास हुन सक्दैनथ्यो ? के ती राजनीतिक दलहरूको विस्तारका औजार मात्र थिए ?

प्रश्नहरू अनेक छन् । जवाफका लागि फराकिलो सन्दर्भ, आलोचनात्मक दृष्टिकोण र मिहिन विश्लेषण आवश्यक पर्छ । त्यसका लागि पनि छिन्ताङ विद्रोहहरूको ऐतिहासिक उपादेयता, गडुल राईहरूको निर्माण र विनिर्माणका कथाहरू भनिइरहनुपर्छ । तिनीहरू मान्छेका स्मृतिबाट हराउनु हुन्न । तिनीहरूलाई मान्छेका स्मृतिबाट हटाउनु हुन्न ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×