कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गँगटाको चटनी ! मुसाको चखना !

मासु किनेर खाने उराँव–चलन होइन । हामीहरु प्रकृतिबाटै लिएर जीवन चलाउँछौँ । तर, प्रकृतिबाट त्यति धेरै पनि होइन, एक छाक खान पुग्ने मात्रै लिन्छौँ । हिजोआज त मुसा, माछा र गँगटा मार्ने ठाउँ सक्किन लागे । जमिनदार र व्यापारीले प्रकृतिलाई आफ्नै अधीनमा राखिसके ।
संगीता उराँव

‘आज्जी, आज्जी, आज्जी... खरा कोहा ककडो रइ,’ हामी दुईबीच घम्साघम्सी चलिरहेको थियो । न मैले छोडिरहेकी थिएँ, न एक हात गहिरो दुलोभित्र बसेको गँगटोले । मेरा दसमध्ये माझीऔंलालाई दुई ठूला बक्का (कैंची) ले बेस्सरी च्याप्प समातिरहेको थियो गँगटो ।

गँगटाको चटनी ! मुसाको चखना !

यतिखेरसम्म मैले लगभग आधा बाल्टिन गँगटा समाइसकेकी थिएँ । त्यसदिन घामले पनि कपाल छेडेर तालुसम्मै पोलिरहेको थियो । सोचेकी थिएँ– एक छाक तरकारी त पुर्‍याउनैपर्‍यो ! अरू साथीहरू पनि छुट्टाछुट्टै आलीमा गँगटा समात्न व्यस्त थिए । मैले दुलोभित्रै हातलाई हल्का छोडिदिएँ, किनकि मैले पनि बल गरेँ भने त्यसले जोडसँग बक्काले च्याप्नेछ र मेरो औँला काटिदिनेछ । उफ्... कस्तो दुखेको, औंलै काट्छजस्तो !

खेतको पानी तातेर गँड्यौलाहरू सोत्तर भएका थिए । मेरो पनि खुट्टा बेस्कन पोल्न थालेको थियो । पानी तातेकाले धेरै गँगटा आलिमै कुदाकुद गर्थे । हाम्रो चहलपहल देखेर गँगटाहरू एकछिन चुपचाप बसिदिन्थे । ती चुप बसेका बेला समाउन झनै सजिलो हुन्थ्यो । केही साथीचाहिँ खेतमा चौकी लगाइरहेका सैनी पच्गीको पछि पछि गँगटा समाउन कुदिरहेका थिए । साथीहरूले हातहातमा बोकेका कमन्डलु, प्लास्टिकका बट्टा, हाँडी र डोलमा सल्बलाइरहेका थिए– गँगटाहरू !

त्यसपछि हामी खेत नजिकैको पुलमा जम्मा भएर लुगासहित नहरमा हामफाल्थ्यौं । र, शरीरको हिलो पखालेर घरतिर कुद्थ्यौं । दिनैभरि खेतमा गँगटा मार्न कुदेपछि भोक लाग्ने नै भयो ! आमा र बहिनी गँगटा सफा गर्नतिर लाग्थे (सफा गर्नुपहिले गँगटाको औंला र बक्का भाँच्नुपर्छ, उसको पेटमा भएको खोल पनि भाँचेर फाल्नुपर्छ) । मचाहिँ परालको टालीबाट पराल तानेर, आगो बालेर सुकेका पाँचवटा खुर्सानी, तीनवटा सिङ्गो लसुन र छ–सातवटा छुट्टै गँगटा आगोमा पोल्थें (धेरैबेर पोल्दा कुनै–कुनै गँगटा त डढेर कालै हुन्थे) । त्यसपछि पाकिसकेको लसुनको बोक्रा छोडाउँथे । गँगटाको खबटा, खबटाभित्रको फोहरसँगै खुट्टा पनि भाँचेर फाल्थें । गँगटा, लसुन र खुर्सानीलाई मज्जाले सिलौटामा पूरै लस्सादार हुने गरी पिँधेर नुन हाल्थें । त्यतिन्जेलसम्म मुखमा पानी रसाएर दुई–तीन खेप थुकसँगै भोक पनि निलिसकेकी हुन्थें ।

मैले तेलको बोतल समाउनेबित्तिकै आमा भन्नुहुन्थ्यो, ‘थोरै तेल हाल् । आजको छाक पुर्‍याउनुपर्छ । भोलि हटिया गएपछि मात्रै हुन्छ तेल ।’ तर, त्यतिन्जेलसम्म मैले बोतलको सबै तेल गँगटाको चटनीमा हालिसकेकी हुन्थें । मेरो मुखबाट आत्तिएको आवाज निस्किन्थ्यो, ‘ला...!’ आमा भन्नुहुन्थ्यो, ‘तर केही छैन साँझलाई कुनै उपाय गरूँला ।’ गाउँमा नुन, तेल, खुर्सानी, बेसार, चामल, आटा इत्यादिमा पैँचो र लेनदेन चल्थ्यो । त्यसदिन गँगटाको चटनीसँग दुई–दुई थाल उसिना चामलको भात खाएका थिए घरका सबैले ।

...

दिनैभरि घाम चर्को थियो, तर घाम अस्ताउनेबित्तिकै अबिरल वर्षा सुरु भयो । आमा रोटी पकाउन थाल्नुभो । म १०–१५ ओटा सुकेको खुर्सानी, अदुवा, लसुन, जिरा, धनिया, तोरीको दाना बटुकोमा लिएर आँगनको चुलोनेर राखिएको सिलौटाछेउ पुगेँ । गुङ्गु (प्लास्टिकको घुम) ओढेर खुट्टाको पन्जाले मात्रै भुइँ टेकेर शरीरको भएभरको बल लगाएर मज्जाले मसला पिधें । गाउँलेहरू अहिले पनि भन्छन्, ‘मार मसलालाई । जत्ति मसिनो पिस्यो उति तरकारी स्वादिष्ट हुन्छ ।’ सोच्दै थिएँ, ‘आज पनि गँगटाको तरकारीसँग सातवटा रोटी खान्छु ।’ भुटुनका लागि तेल थिएन । सिसी बोतल लिएर चैती काकीको घर गएँ । काकी र उहाँका छोराछोरीहरू धूवाँले आँखा पोले पनि चुलैछेउ बसिरहेका थिए । दिउसो खोलामा मारेर ल्याएका माछाहरू तार्न काकी मज्जाले कराई तताइरहनुभएको थियो– माछामा बेसार र अलिकति नुन मोल्दै हुनुहुन्थ्यो । शिला खोजेका माछा अनेक जातका थिए(– डेढुवा, पोठीया, चेचरा, लटा, गरे, टोप्पो आदि । मैले अकमक्किँदै भनेँ, ‘काकी, आमाले भनेको तेल पैँचो दिनू रे । भोली हटियाबाट ल्याएपछि फिर्ता दिन्छु ।’ तर, काकीसँग पनि तेल थोरै रहेछ । तेलको बोतल देखाउँदै काकीले भन्नुभयो, ‘यो माछामा जसोतसो पुर्‍याउनुपर्छ ।’ काकीले तेलको सिसीको मुखमा चोर औँला राखेर थोपा–थोपा पारी तातो कराईमा तेल हाल्नुभयो । औंलामा लत्पतिएको तेल कराईकै कन्खामा पुछ्नुभयो र छुरिया (पन्यु) ले कराईको तेललाई सबैतिर मज्जाले दल्नुभयो । माछा ओइरिनुभयो । चिसो माछाको छोइय्य... आवाज आयो । यसरी थोरै तेलमा मज्जाले माछा तार्नुभयो ।

नाकभरि तारेको माछाको बास्ना, जिब्रोभरि माछाको मीठो स्वाद, तर हातमा रित्तो सिसी लिएर म लबकी हजुरआमाको घरतिर लागेँ । हजुरआमा त खुर्सानी लिन हाम्रै घरतिर पो आउँदै हुनुहुँदोरहेछ । फर्किएर लबकी हजुरआमाले सिसीको बिर्कोले पाँच बिर्को तेल नापेर मलाई दिनुभयो र सँगै हाम्रो घर आउनुभयो । मैले पनि दसओटा सुकेको खुर्सानी हजुआमालाई दिएँ । हजुरआमा पनि गँगटाको तरकारी पकाउने तयारीमा खुर्सानी लिन आउनुभएको थियो । बर्खाभरि बिहान–बेलुका खेतमा, खोल्सामा, खोलामा पोखरीमा मारेका माछा, घुँघी, गँगटाको तरकारी प्रायः गाउँलेका घरमा पाक्थ्यो ।

कराई तताएर तेल हाल्नुभो आमाले । अनि त्यसमा थोरै जिरा, दुईवटा पतरस(तेजपात) र पियाज (प्याज) हाली रातो हुने गरी चलाउनुभो । त्यसपछि तयार पारिएको गँगटा कराईमा हाल्दा छोय्य आवाज आयो । एकैछिनमा गँगटाको पानी सुकेपछि बेसार हालेर चलाउनुभो । त्यसपछि नुन र सिलौटामा पिँधेको मसला हालेर रातो हुने गरी भुट्नुभो । एक छुरिया भुटेको गँगटा थालीमा राख्दै आमाले भन्नुभयो, ‘लु चाख् । नुन लागेको छ कि छैन भन् ।’ कति मीठो र स्वादिष्ट कुरुमकुरुम, आहा !

कराईमा भुटेको गँगटामा एक लोटा पानी हालेर मज्जाले पाक्न दिनुभयो । र, एकैछिनमा गज्जबको रसिलो तरकारी तयार भयो । रसवाला गँगटाको तरकारीसँग हामीले रोटी खायौँ ।

...

धानबाली काटेर सकियोस् कि गहुँ काटेर, बाली थन्क्याइसकेपछि दुई–तीन दिन बस्ने गरी घरमा पाहुना आउने क्रम सुरु हुन्थ्यो (अहिले पनि हुन्छ) । त्यही मौकामा आमा र म सुनसरीकै बेलगछिया (बुगडहरी) ठूलीआमाको घरमा पाहुना लाग्न गएका थियौं । त्यस साँझ ठूलोबुवा र गाउँहरूले एक झुली मुसा मारेर ल्याएका थिए । मैले पहिलोपटक त्यत्ति धेरै मुसा एकैचोटि देखेको थिएँ । सबै मुसाका आँखा खुल्लै थिए । लाग्थ्यो, ती मलाई नै हेरिरहेका छन्– टुकुरटुकुर । ठूलोबुवा र उहाँका साथीहरूले चुल्होमा आगो बाले । र, मुसाको मुखमा अंकुशे लगाई त्यसलाई पोल्न थाले । एकैछिनमा मुसाका कपाल आगोको तापले खुम्चिँदै विलीन भए । मुसाको जीउको सबै खरानी सफा गरी पुच्छर प्याट्ट चुँडालेर ठूलोबुवाले मलाई दिनुभयो, ‘लु खाउ ।’ दिदी, दाइहरू र म बटुकोमा नुन लिएर छेऊमै बसेका थियौं, मुसा खाने आशामा । पोलेको मुसाको पुच्छर नुनमा चोबेर कुरुमकुरुम खाँदा साह्रै स्वादिलो हुन्छ ।

ठूलीआमा सिलौटोमा मरमसला पिस्न थाल्नुभयो । ठूलोबुबाको समूह पोलेको मुसाको पेट चिरेर, आन्द्रा–भुँडी फ्यालेर त्यसलाई सफा पानीले पखालेर साना–साना चाना बनाएर काटिरहेका थिए । उनीहरूले त्यसमा नुन, खुर्सानी, तेल, अदुवा, लसुनको मसला हाली मज्जाले साँदेर चखना तयार पारे । र, घरमै बनाएको लोकल दारू बोतलमा लिएर पिउन सुरु गरे ।

चखना र दारुको चुस्की लिँदै ठूलोबुबा कथा सुनाउन थाल्नुभयो– मुसा कसरी मारियो ? यता आमा र ठूलीआमाले रातो हुने गरी मुसाको मासुलाई तेलमा परपरी भुटेर त्यसमा मरमसला हाली भुटुवा बनाउनुभयो ।

‘मुसाको दुलो चिन्न सक्नुपर्छ’, अलिअलि मातेको स्वरमा ठूलोबुवा भन्दै हुनुहुन्थ्यो, ‘जमिनमुनि बस्ने धेरै जनावर हुन्छन् । तीमध्ये मुसाको दुलो चिन्न उसको चालचलन बुझ्नुपर्छ । मुसाले धानको बाला, गहुँको बाला लुकाउन धर्तीलाई आफ्ना चार खुट्टाले कोतर्दै–कोतर्दै गहिरो लामो र आफू आवातजावत गर्न मिल्ने ठूलो दुलो बनाउँछ । मुसाहरूको पनि समूह हुन्छ । चार खुट्टाले कोतरेर खनेकाले सायद थोरै माटो भुर्र–भुर्र गरी गोलो आकारमा दुलोबाहिर फाल्छ । हो, त्यही माटो देखेर पत्ता लाग्छ– त्यस दुलोभित्र मुसाको घर छ । मुसाले खनेर निकालेको माटो बुनियाजस्तै हुन्छ ।’

हाम्रो समुदायमा घरको मुसा खाने चलन छैन । घरको मुसा असाध्यै गन्हाउँछ र मीठो पनि हुँदैन । खेतको मुसा मार्ने धेरै तरिका छन् । कुनै–कुनै मुसा समाउन एक–दुई हात माटो खन्नुपर्छ । खन्दै जाँदा देखिन्छ– मुसाले बेलाअनुसारको अन्नबाली दुलोमा लुकाएको हुन्छ । नजिकैको बोरा देखाउँदै ठूलोबुबाले भन्नुभयो, ‘त्यो बोराको सबै धान मुसाको दुलोबाट झिकेको । तिम्री ठूलीआमाले त्यसलाई सुकाएर कुटाएर जाँड–रक्सी बनाउँछ । कनिका किन्नु पर्दैन । पैसा पनि बँच्छ ।’ त्यत्तिन्जेल ठूलोबुबाको समूहले तीन बोतल स्वाहा पारिसकेका थिए । अब कुरा मोडियो मुसातिरै । ‘हामी किसानले खुब मिहिनेत गरी पसिना बगाएर उब्जाएको बाली चोरेर आफ्नो कब्जामा लिने मुसालाई कहाँ त्यसै छोड्ने ?’ गिलासको रक्सी स्वाट्ट पिएर खित्का छोड्नुभो ठूलोबुबाले, ‘यी मुसा पनि जमिनदारजस्ता छन् । आफूले नगरेको कामको भाग सुटुक्क लैजान्छन् । धान खाने मुसा, चोट पाउने भ्यागुता !’

अँगेनोछेउको मुसाको मासु र गिलासको रक्सी खाँदै चन्दु काकाले बिस्तारै भन्नुभो, ‘आज त डबलै काम गर्नुपर्‍यो । मेरो त हालत पत्ला भैसकेको थियो । मुसा मार्न एकातिरको दुलोमा परालको धूवाँ दिनुपर्‍यो, अर्कोतिर पानी बोकेर ल्याउँदै दुलोमा हाल्नुपर्‍यो । आगो बालेर फु...फु...फु... गर्दागर्दै फुत्तफुत्त दुलोहरूबाट निस्केर मुसाहरू भाग्न थाले । अब चार जना चारैतिर कुदमकुद भयो । लाठी, माटोको डल्लो, कोदालो, डोल जे भेट्यो त्यसैले हान्दै मुसा मार्‍यौं । धर्मुले झुक्किएर एक–दुई ढेका मेरै खुट्टामा हानेछ, अब के भन्नु !’ धर्मु मामाले भन्नुभयो, ‘त्यही भएर त अर्को बिला (दुलो) को ओस्का (मुसा) समात्न एक्लै पानी बोक्नुपर्‍यो मलाई । दस डोल पानी दुलोमा हालेपछि मात्रै एउटा अडिया (भाले) मुसा बाहिर निस्कियो । त्यो पनि झन्डै भागिसकेको थियो । जुन दुलोबाट पानी हालेँ त्यहीँबाट निस्किन्छ भन्ने लागेकै थिएन । मेरै खुट्टाको बिच्चबाट धड्फडाउँदै मुसा भाग्यो । म त सुरुमा आत्तिएर भागेँ ।’ ठूलोबुबा र काकाहरूको दिउसोको किस्सा सुन्दै हामीले मुसाको मासु–भात टन्नै खायौँ ।

सबै ठाउँका उराँवहरू मुसा खान्छन् कि खाँदैनन्, म त्यो भन्न सक्दिनँ । तर, गँगटाको अचार र तरकारी उराँव–भान्साको विशेष परिकार हो । विभिन्न किसिमका माछा खान पनि उत्तिकै सोखिन हुन्छन उराँवहरू । स–साना माछा मारी उसको पेटको फोहोर फालेर, सफा पानीले पखालेर बोरा वा च्यात्तिएको नाङ्लोमा फिँजाएर छतमा सुकाउने गरिन्छ । सुकेको माछाको बास्ना मीठो हुन्छ । प्रायः सुकेको माछाको सुकुटीमा भान्टा, आलु मिसाएर पकाउँदा त्यो असाध्यै स्वादिष्ट हुन्छ । मासु किनेर खाने उराँव–चलन होइन । हामी प्रकृतिबाटै लिएर जीवन चलाउँछौँ । प्रकृतिको त्यति धेरै पनि लिँदैनौँ, एक छाक खान पुग्ने मात्रै लिन्छौँ । तर, हिजोआज माछा, गँगटा र मुसा मार्ने ठाउँ सक्किन लाग्यो । प्रकृतिलाई जमिनदार र व्यापारीले आफ्नै अधीनमा राखिसके ।

प्रकाशित : आश्विन १६, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?