आनन्ददेव भट्टको प्रगतिशील टर्च - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आनन्ददेव भट्टको प्रगतिशील टर्च 

उनी एक प्रख्यात प्रोफेसर थिए । हातमा प्रगतिशील टर्च बोकिरहने उनी भगुवा थिएनन् । अतः ‘साथीहरुसँग सल्लाह’ गर्दै जिम्मेवारीको बोध गरेर त्यसमै लिप्त भइरहने र आफ्नो ध्येयमा अरुलाई जोड्ने काममा भट्ट दाइले जीवन व्यतीत गरे ।
श्यामल

नेपाली समाजलाई उन्नत बनाउन जीवनभर संघर्ष गर्ने एक अग्रज प्रतिनिधि पात्र आनन्ददेव भट्ट बितेर गएपछि मन एकतमासले वेचैन भयो । अंग्रेजी भाषा साहित्यका प्राध्यापकको रूपमा उनका शिष्यहरूले चिन्नु त छँदै छ, विद्रोहका कुशल संगठनकर्ताका रूपमा, प्रगतिशील सोचका अभियन्ताका रूपमा, सरल भाषाका सहज कविका रूपमा र लेखनमा सन्तुलन बनाइराख्ने प्रगतिशील समालोचकका रूपमा उनी सम्झिइनेछन् । 

तर, आनन्ददेव भट्टलाई नजिकबाट चिन्ने र उनको अन्तिम संस्कारमा सम्मिलित भई श्रद्धाञ्जली दिन चाहनेहरूका लागि यो समय एकदम प्रतिकूल साबित भयो । कोभिडकालमा हामीले गुमाएका नेपाली समाजका कैयौं उज्याला प्रतिभाहरूमध्ये भट्ट दाइ पनि एक भए । हामीमध्ये धेरै चाहेर पनि उनको अन्तिम संस्कारमा सामेल हुन सकेनौं । जिन्दगीभरको पछुतोमध्येमा उनको महाप्रस्थानका बेला घरबाट बाहिर निस्केर पशुपति पुग्न नसक्नु पनि एक हुने भयो ।

म त्रिचन्द्र क्याम्पसमा अध्ययनरत रहँदा मेरा गुरु पुष्कर लोहनीले मलाई भनेका थिए, गोविन्दप्रसाद लोहनीसँग अपार ज्ञान थियो । उनै लोहनीका शिष्य थिए— आनन्ददेव भट्ट र पुष्कर लोहनी । पुष्कर गुरुको भनाइअनुसार, भट्ट प्रगतिशील धारतिर लागे र पुष्कर फ्रायडवादी साहित्य सृजनातिर । पुष्कर गुरु मसँग बेलाबेला यस्ता कुरा गरिरहन्थे ।

भट्ट दाइ कालान्तरमा श्यामप्रसादको अगुवाइमा २००९ सालमा खुलेको र २०३६ सालपछि फेरि ब्युँतिएको प्रगतिशील लेखक संघको एक कार्यकालको अध्यक्ष पनि बने । त्यस संगठनको नेतृत्वका निम्ति उनी सुयोग्य त थिए नै, अरू कतिपय प्रगतिशील फाँटका लेखकहरूको हृदयमा उनको भद्रताले बास गरेको छ भन्नेे कुरा मातृका पोखरेलको लेखले जानकारी दिन्छ ।

समाजलाई केही दिन सकिन्छ भन्ने ध्येयले उनी बैतडी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने र साढे सात हजार मत ल्याए । भट्टजीजस्तो जनताको उत्थानका लागि आजीवन संघर्षरत इमानदार छबि भएका प्राज्ञिक व्यक्तिलाई हाम्रो समाजले उति महत्त्व दिँदैन, जति कुनै नेताविशेषलाई प्रभावित गरेर हाहाहुहु गर्नेलाई दिन्छ भन्ने कुरा उनको पराजयबाट बुझ्न सकिन्छ । स्वअनुशासन भट्ट दाइका लागि सर्वाधिक प्रिय तत्त्व थियो ।

प्रगतिशील लेखक कलाकार संघ अबउप्रान्त प्रगतिशील लेखक संघ मात्र हुनेगरी नेपाल ल क्याम्पसको एक सानो सभाकक्षमा आयोजना गरिएको प्रगतिशील लेखकहरूको सम्मेलनमा उनको उच्चकोटिको अनुशासनप्रियताको छनक पाएको थिएँ मैले । त्यो संगठन बामपन्थी भनेर चिनिएका, तर कैयौं चिरामा विभक्त कम्युनिस्ट पार्टीहरू सम्बद्ध ‘लेखकहरू’ को संयुक्त मोर्चा थियो । यसलाई विद्रोहलाई संगठित गरिरहने मनसायले, अथवा मोर्चाको अति आवश्यकता बोध गर्ने महान् मोर्चापन्थीहरूले, एकताका कुरा गरिरहने, तर फुटका लागि चिरा तयार गरिरहने लेखक नामका पार्टी कार्यकर्ताहरूको एक देखाउने दाँत थियो । यो दाँत चाहिन्थ्यो, किनभने नेताहरू लामो समयदेखि या भूमिगत थिए, या त तिनलाई माओको येनान गोष्ठी प्रवचनको उल्लेख गरेर आफूले पनि अध्ययन गरेको देखाउने ठाउँ चाहिएको थियो ।

मलाई थाहा थियो, त्यहाँ सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण काम गरिआएका तर लेखन, संगीत र पेन्टिङको माध्यमबाट जनआन्दोलनको वातावरण तयार गर्न समर्पित भएर लागिआएका कलाकर्मीहरू पनि संगठित हुन्थे । तर, त्यहाँ संगठित हुन पार्टी नेताले हरियो झन्डा फरफराइदिएको हुनुपर्थ्यो चाहे ती घाघडान नेता तथा साहित्यकार मोदनाथ प्रश्रित होऊन् वा सबैले उत्तिकै मान्ने गरेकी विख्यात उपन्यासकार पारिजात । सबै प्रगतिशीलका गुरु युद्धप्रसाद मिश्र, देवीप्रसाद किसान वा आनन्ददेव भट्ट र गोविन्द भट्ट होऊन् वा धेरैलाई खुसी बनाउने र अरू धेरैलाई चिढ्याउने कथाकार खगेन्द्र संग्रौला, पार्टीको हरियो झन्डा नपाई प्रगतिशील लेखक संघको नेतृत्वमा उक्लन सक्ने कुरै थिएन । भट्ट दाइ एमालेको हरियो संकेतबाट प्रलेसको नेतृत्वमा पुगेका थिए ।

२०३६ ताका नेकपा मालेसम्बद्ध रघु पन्तको संयोजकत्वमा पुनर्गठित प्रलेकस तदर्थ समितिमा नारायण ढकाल र विमल निभा पनि सदस्य थिए । तर, त्यसले मलाई कहिल्यै आकर्षित गरेन । त्यहाँ सृजनात्मक लेखनकलामा कम, तर राजनीतिक संगठनका संगठनात्मक आग्रहमा बढी चासो राख्ने प्रतिभाहरू केन्द्रीय तहमा बिराजमान भएका देखिन्थे । साहित्यकार, कलाकारको संगठन भने पनि त्यहाँ साहित्यिक पत्रिकाका प्रकाशकहरूका लागि पनि ठाउँ थियो, र कोही–कोही साप्ताहिकमा दुइटा कविता नामका केही खेस्रा छापे पनि पार्टीको आदेशमा प्रलेसको केन्द्रीय सदस्य भएका देखिन्थे । आखिर त्यो एक मोर्चा थियो ।

त्यसले सृजनात्मक क्षेत्रमा नेपालको प्रगतिशील साहित्यको उचाइ बढाउन सकेको थिएन तर श्यामप्रसाद, रमेश विकल, आनन्ददेव भट्ट, गोविन्द भट्ट, खगेन्द्र संग्रौला, निनु चापागाईं, विमल निभा, नारायण ढकालजस्ता प्रगतिशील साहित्यका हस्तीहरू त्यसको केन्द्रीय नेतृत्वमा देखिन्थे । प्रगतिशीलको ब्यानर आनन्ददेव भट्टका लागि पनि औधी प्रिय थियो ।

२०१६ सालताकै पटना विश्वविद्यालयबाट अंगेजी साहित्यमा एमए गरेर लामो अन्तरालपछि बेलायतको लिड्स विश्वविद्यालयबाट पोस्ट ग्राजुएट डिप्लोमा तथा युनिभर्सिटी अफ लन्डनबाट शिक्षणमा एमए गरेका भट्ट दाइ झट्ट हेर्दा सम्भ्रान्त परिवारका लाग्थे । सरदर नेपाली उचाइको गोरो वर्णका चस्माधारी भट्ट दाइ जहिल्यै पनि सफारी सुट वा कञ्चन सेतो आधा बाहुले कमिजमा हुन्थे । सायद उनको यो परिधान स्वअनुशासनको एक पाटो थियो । उनले ‘९७ साल’ लेखे, ‘महिला बोल्छिन्’ लेखे । समालोचना लेखे, कविता लेखे ।

त्यसभन्दा बढी उनी प्राध्यापनका क्रममा धनकुटा, धरानदेखि चितवन र काठमाडौं, जहाँ जहाँ गए, त्यहाँ त्यहाँ आन्दोलनको ज्वार उठाए । समाजवादको सपना देख्दै साथीभाइलाई विद्रोहमा संगठित गरे, चेलाचेलीलाई आफ्ना र जनताका अधिकारबारे बुझाए र तिनका मनमा रहेको अग्निलाई प्रज्वलित गरे । उनी आन्दोलनको अग्रभागमा उभिन्थे र प्रहरी प्रशासनको आँखाको कसिंगर बनेका थिए । यसै मेसोमा उनी कतिपटक कहाँ–कहाँ खोरमा जाकिए र जेलमा परे, सम्भवतः उनले टिपोट गरेका होलान् ।

कसैले केही भन्यो भने आफूसँग रहेको डायरीमा टिप्ने भट्ट दाइको बानी थियो । एकपटक म भूपी निवास नारायणचौरमा भूपी दाइसँग दुई–चार घण्टा बिताएर पुतलीसडक झरेको थिएँ । हामी लेखक–कविहरूको भेट्ने उत्तम थलो बनेको थियो साहित्यघर । म पनि पुगें विमल निभाको त्यस प्रख्यात पसलमा, जहाँ अपराह्नतिर थुप्रै लेखक–कवि आउँथे । म निभासँग गफ गर्दै बसिरहेको थिएँ, भट्ट दाइ आइपुगे । र, हाँस्दै काउन्टरछेउको एक कुर्सीमा बसे ।

अचानक भूपी बिगारुवा दुई ‘क’ को चर्चा चल्यो । भूपीको अन्तर्वार्ताका ती दुई ‘क’ थिए— कम्युनिस्ट र कवि । एक अन्तर्वार्तामा भूपी दाइले कम्युनिस्ट र कवि दुबै हुनाले आफू बिग्रेको बताएका थिए ।

भट्ट दाइले सोधे, ‘श्यामलजी के भन्नुभएको यो भूपीज्यूले ?’

मैले भनें, ‘ठीकै भन्नुभएको त हो । तपाईंहरू भूपीमा वैचारिक विचलन आयो, एकेडेमीमा नियुक्त हुन राजाको पोल्टामा गयो भनेर कराउँदै हुनुहुन्छ, उहाँले कम्युनिस्ट हुनाले र कवि हुनाले आफू बिग्रेको बताउनुभएको छ । यसलाई सोझो अर्थमा नहेरी व्यंग्यार्थमा बुझ्नुपर्छ दाइ । वास्तवमा भूपीलाई उहाँकै कमरेडहरूले बिगारेका हुन् ।’

उनले आफ्नो नोटबुकमा श्यामलले भनेको भनेर टिप्दै सोधे, ‘ती को को हुन् श्यामलजी ?’

मैले भनें, ‘यस्ता अनौपचारिक कुराकानी पनि तपाईं डायरीमा टिप्ने गर्नुहुन्छ ? मञ्जुलले पनि तपाईंबाटै सिक्या हुन् क्यारे !’

उनले फेरि सोधे, ‘लौ ठीक छ, ती

कोको होलान् ?’

मैले भने, ‘कम्युनिस्ट हौं भन्नेहरू, पार्टी नेता हौं भन्नेहरू, भूपीकै पैसाले सँगै बसेर मदिरापान गर्ने, तर भूपीलाई बदनाम गर्नेहरू, पुष्पलालका पवित्र अनुयायीहरू, रायमाझीका इमानदार कमरेडहरू, मोहनविक्रम र निर्मल लामाका अद्भुत क्रान्तिकारी तहसिलदारहरू, मालेका भूमिगत खजान्चीहरू । एक अर्कालाई बदनाम गर्दै कम्युनिस्टहरू कति टुक्रा भए ? अर्को अर्थमा गद्दारहरू, देशघातीहरू, कांग्रेसका पुच्छरहरू, लिन प्याओहरू, खोटा सिक्काहरू, ट्रटस्कीपन्थीहरू, दरबारियाहरू, भैलोवादीहरू । बरु भूपीले अर्कालाई गाली गर्दै दुई–चार जना हनुमानलाई साथ लिएर अर्कै पार्टी बनाएको देखिएको छैन । निरन्तर रायमाझीसँग छन्, एकेडेमीमा छन् । मन लागे कविता लेख्छन् ।’

‘तर, उनले त राजाको प्रशंसामा कविता लेखे नि त, के भन्नुहुन्छ तपार्इं ?’ भट्ट दाइको झटारो आयो ममाथि ।

मैले भनें, ‘हो, यो चैं अलिकति ठीक भएन । तर, उहिलेका रायमाझी, डीपी, कमलराज र अहिलेका कतिपय उग्र क्रान्तिकारीहरूको कनेक्सनका तुलनामा भूपीको यो एउटा कविता उति हानिकारक छैन ।’

मैले सोधें, ‘एउटा कुरा नि दाइ, तपाईंहरू केही प्राध्यापकलाई पनिजाँबुसले शाही शासनलाई समर्थन गरेको देखाउन प्रजातन्त्र दिवसका दिन विभिन्न जिल्लामा पठाउने गर्छ । तपाईं पनि जानुभो भन्ने सुन्याथें ।’

उनी अलिकति हाँसे । भने, ‘फसाउने अनेक दाउ गर्छन् श्यामलजी । तर, जहाँ गए पनि भन्ने कुरा आफ्नै हो ।’

उनमा बलियो आत्मविश्वास थियो । व्यवहारमा कडा आत्मअनुशाअसन थियो । ध्येयप्रति दृढ निश्चय थियो । यसैले उनले सबैको सम्मान आर्जन गरेका थिए । उनले आफूभन्दा पाकादेखि किशोर वयका केटाकेटीसँग गर्ने व्यवहार समान थियो । भेट हुँदा उनको मुस्काउने शैली आकर्षक थियो ।

प्रलेकसको अन्तिम र प्रलेस पुनर्गठनको यस घडीमा ल क्याम्पसको ठूलो कक्षा कोठालाई सानो सभाकक्षमा परिणत गरिएको थियो र प्रगतिशील कित्त्ताका वरिष्ठदेखि कनिष्टसम्म सयौं लेखक खचाखच भरिएका थिए । मैले सम्झेसम्म भट्ट दाइले त्यस सभामा उद्घोषकको काम गरेका थिए । विधानमा छलफल हुँदै थियो । त्यसमा पनि एउटा अनुशासन कमिटीको प्रबन्ध समेत गर्न लागिएको थियो । मैले हात उठाएँ र भट्ट दाइले मलाई मञ्चमै बोलाएर माइक दिए । मैले भनें, ‘लेखक कविलाई राजनीतिक दलहरूको जस्तो अनुशासन लगाउनु हुँदैन । यो जात स्वअनुशासनमा आबद्ध जात हो । बरु शपथजस्तो हुने गरी घोषणापत्रमा दस्तखत गराउनु उचित हुन्छ ।’

तर, चौम समर्थित महेश मास्केको नेतृत्वको एउटा समूहले मेरो भनाइप्रति चर्को आपत्ति जनाएर सभाकक्षमा होहल्ला मच्चायो । मञ्चबाटै यस्तो संगठनले साँचो प्रगतिशील लेखकको भावना समेट्न नसक्ने भएकाले आफू यसमा सम्मिलित नहुने बताएर म मञ्चबाट झरें अनि कणाद महर्षि र राजवलाई यसमा हाम्रो कुनै काम छैन, बाहिर जाऔं भनेर लिएर गएँ । हामी निस्कनासाथै रघु पन्तले ढोकासम्मै आएर तपाईंहरू यसो नगरिदिनोस् भनेर सम्झाएका थिए । त्यस्तो अनुशासनका पक्षधरहरूले कति अनुशासनको पालन गर्ने रहेछन् भन्ने कुरा बेलाबेला त देखिन्थ्यो नै, यसपटक फेरि नेकपा र नेकपा एमालेका विवादमा पनि प्रस्ट भयो । नेपालका सबै र अझ वामपन्थी कम्युनिस्ट राजनीतिक दलहरूको अनुशासन नेताहरूलाई लागू हुनै नसक्ने संहिता हो । कसैगरी त्यो लागू गर्न खोजे दल नै टुक्रिन्छ, र नेता भने शीर्ष आसनमा बिराजमान भइरहन्छन् । तर, कार्यकर्तालाई भने त्यो लागू हुन्छ ।

स्वाभाविक छ— भट्ट दाइ अनुशासनप्रिय थिए । ती सबैलाई जोड्ने प्रयत्नमा आत्मबलिदान गर्न पनि तयार हुन्थे । यसै जोडाइका लागि उनी प्रलेसको अध्यक्ष भएका थिए । एकपटक उनी आफ्नो पार्टी नेकपा एमालेको आग्रहमा बैतडीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सांसदको उम्मेदवार पनि भए । उनका लागि हार्नुको कुनै अर्थ थिएन, पार्टीका लागि प्रतिस्पर्धामा सामेल हुँदाको गौरव थियो ।

उनकी बहिनी सिर्जना शर्मा र म एक अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्थ्यौं । म उनीबारे सिर्जनाजीलाई सोधिरहन्थेँ । म त्यस संस्था छोडेर स्वतन्त्र लेखनमा लागेको यस्तै कुनै बेला मैले सिर्जनाजीलाई सोधें, उनी त अस्वस्थ रहेको र कालिकास्थान छाडेर बालाजुतिर सरेको थाहा भयो । मैले फोन गर्दा उनले सुनेनन् । सुशीला भाउजूले नै उनको अवस्थाबारे मलाई जानकारी दिइन् ।

एकेडेमीमा आयोजित कुनै एक कार्यक्रममा मैले उनमा दुब्लो, पातलो तर भव्य व्यक्तित्व देखें । सँगै बसें र उनले सुन्ने गरी सन्चो–बिसन्चो सोधें । उनले अल्जाइमर्सका कारण धेरै कुरा बिर्सने गरेको बताए । मैले मलाई त बिर्सनुभएको छैन दाइ भनेर सोधेपछि उही चिरपरिचित मुस्कानका साथ भने, ‘श्यामलजीलाई बिर्सेको छैन ।’ कार्यक्रम चलेकाले हाम्रो संवाद त्यत्तिमै सीमित भयो ।

आनन्ददेव दाइ प्रलेसको अध्यक्ष रहँदा हामी सधैं आन्दोलनमा थियौं । झडप, गिरफ्तारी र हिरासत दैनन्दिनी बनेका थिए । त्यसैबेला सुरक्षाकर्मीले कवि पूर्णविरामलाई गिरफ्तार गरेर बेपत्ता पारेको थियो । प्रलेसले विज्ञप्ति निकाल्नबाहेक केही गर्न सकेको थिएन । म वागबजारस्थित उनको कार्यालय पुगें र भनें, ‘दाइ प्रलेसमा कति सदस्य छन् ? राजधानीमा कति उपलब्ध छन् ? एक जना कविलाई निरंकुश राज्यसत्ताले बेपत्ता पारेको छ, हामी हेरेर बस्ने ? म व्यक्तिगत रूपमा १० हजार रुपियाँ सहयोग गर्छु, पोस्टर डिजाइन पनि गरिदिन्छु, राजधानीका तीनवटै सहरका भित्तामा छ्याप्छ्याप्ती टाँस्ने व्यवस्था गर्नोस् । आजै, अथवा भोलि नै । यो त प्रगतिशीलहरूका लागि लाजमर्दो विषय हो ।’

उनी र अरू प्रलेसकर्मी पूर्णविरामलाई सकुशल रिहा गर्ने उपाय खोजिरहेका थिए, तर मैले सुझाएको काम अलि खतरनाक थियो । थप अरू प्रलेसकर्मी पनि गिरफ्तार र बेपत्ता पारिन सक्थे । भट्ट दाइबाट केही खास जवाफ आएन । भने, ‘म साथीहरूसँग सल्लाह गर्छु ।’

‘साथीहरूसँग सल्लाह’ गर्दै उनी प्रगतिशील प्राध्यापक संघका पनि अध्यक्ष भएका थिए । प्रगतिशील तत्त्व उनको रगतमा थियो । उनी प्रख्यात प्रोफेसर थिए । तर, निख्खर कम्युनिस्टको चरित्र देखाउन उनी नै अघि सर्थे । उनी भगुवा थिएनन्, अतः ‘साथीहरूसँग सल्लाह’ गरेर जे–जे भए जिम्मेवारीको बोध गरेर त्यसमै लिप्त भइरहने र आफ्नो ध्येयमा अरूलाई जोड्ने काममा उनले जीवन व्यतीत गरे । हातमा टर्च बोकिरहने र अरुलाई बाटो देखाइरहने ८५ वर्षे यी भद्र प्रगतिशीललाई अन्ततः अल्जाइमर्सले भर्खरै हामीबाट खोसेर लग्यो ।

करीब दुई महिनाअघि मात्रै म मेडिकेयर अस्पतालमा भट्ट दाइका डाक्टर भाइ प्रख्यात युरोलोजिस्ट अर्जुनदेव भट्टलाई भेट्न पुगेको थिएँ । उनलाई सोधेपछि थाहा भो, दाइलाई अल्जाइमर्सले निकै गालेको रहेछ । कालिकास्थानको पुरानो घरमा फर्केका रहेछन् । भेट्न जाउँला भनेको, तर मेडिकेयर अस्पतालको शय्यामा रहेको एक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको देखें । केही दिनमै उनको चोला उठेछ । यसरी नेपालको जुम्लामा जन्मी सुदूरपश्चिमको बैतडी घर भएका अनि पाल्पा, प्यूठान, काठमाडौं हुँदै धनकुटा, धरान, र चितवनमा शिक्षा र विद्रोहलाई आकार दिँदै नेपाललाई बदल्ने प्रगतिशील संकल्प लिएर सात दशकभन्दा बढी क्रियाशील आनन्ददेव भट्ट हामीमाझबाट बिदा भए । उनी आफ्ना कृतिहरूमा र शिष्यवर्गको मनमस्तिष्कमा सदैव रहिरहनेछन् ।

प्रकाशित : भाद्र २६, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

पृथ्वी एक्सप्रेस

केशव सिलवाल

करोडौं वर्षको हो पृथ्वी र मेरो बीचको प्रेम 

पृथ्वीको हरियो कपालसँग

पृथ्वीको सुवासिलो छालासँग

पृथ्वीको गहिरा र नीला ताल आँखासँग

सिङ्गै पृथ्वीसँग प्रेम गरेको हुँ मैले


पृथ्वीका माछा र गोहीहरु

पृथ्वीका हात्ती, घोडा र चराहरु

पृथ्वीका गँड्यौला र स–साना कीराहरु

सबै सबैसँग प्रेम गरेको हुँ मैले


धमिरा लागेको छ अहिले यो प्रेममा

छुट्दै छुट्दै गइरहेछ पृथ्वी र मेरो हात

पृथ्वी– मात्र एउटा टाउको


पृथ्वीको टाउकोमा चढेर

पृथ्वीका दुइटै कान निमोठी निमोठी


वेगवान् हुइँकाइएको छ पृथ्वीलाई


पृथ्वीको टाउकोमा ड्र्रिल गरी गरी

पृथ्वीको गिदी निकालेर

पोतिएको छ पृथ्वीकै निधारमा


चिहानै चिहान खनिएको छ पृथ्वीको टाउकोमा

डायनोसरको हड्डी यहीँ पुरिएको छ

यहीँ गाडिएको छ ह्वेल माछाको पुर्खा


देखिरहेछु सदियौँदेखि

पृथ्वीका गहिरा–गहिरा घाउ/चोटहरु


पृथ्वीको दाँत निकालेर

मोती झुन्डाइएको छ पृथ्वीकै कानमा

पृथ्वीका हरिया रौं उखेलेर

तालु बनाइएको छ पृथ्वीलाई


पृथ्वीको नाकको प्वालमा

कोचिएका छन् विस्फोटक मिसाइलहरु


पृथ्वीको आँखाको नीलो गहिराइ

टालिएको छ प्लास्टिकले


पृथ्वीको टाउकोमा कुँदिरहेका यति धेरै तरंग

तरंगमा लट्किरहेका चराहरु

यति धेरै रफ्तार र चिच्याहट

फिक्का भएको छ पृथ्वीको मासुको रङ


जमेको सहस्र हिउँ–आँसु पग्लिएर

गालामा आँसुको बाढी बगाउँदै

अनवरत रोइरहेछ पृथ्वी


पृथ्वीको चाउरिएको निधार हेर्नुहोस्

हेर्नुहोस् पृथ्वीको छाला मरेको गोरू–काँध


पृथ्वीलाई प्रेम गर्नु

आफैंलाई प्रेम गर्नु हो

तर, तिनीहरु पृथ्वीको टाउकोमा चढेर

पृथ्वीका दुइटै कान निमोठी निमोठी

अलमस्त हुइँकाइरहेछन् पृथ्वीलाई


ठोक्ने हुन् कि बृहस्पतिसँग ?

लगेर झोस्ने हुन् कि सूर्यको रापमा ?

न हाल्ने हुन् कतै ब्ल्याक होलमा ?


कसरी कल्पना गरुँ

डायनोसरसँगै चिहानमा मेरो हड्डी गाडिने समय ?


कसरी लेखूँ ?

पृथ्वीको नाममा

अन्तिम कविताको अन्तिम हरफ


धमिरा लागेको छ अहिले पृथ्वी र मेरो प्रेममा

छुट्दै छुट्दै गइरहेछ पृथ्वी र मेरो हात ।

प्रकाशित : भाद्र २६, २०७८ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×