२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘पृथ्वी कोल्टो नभइदिएको भए विश्व इतिहास फरक हुने रहेछ’

कृष्ण आचार्य

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको दृष्टिमा हामी नेपाली अपूर्ण र एकांगी विकासको चित्रमा बढी मुग्ध छौं । भन्छन्, ‘विकास अर्थात् ढुंगा, माटो, गिट्टी, अलकत्रामा हामी अड्किएका छौं ।’ हाल यूएनडीपीको मुख्यालय न्युयोर्कमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार वाग्लेको विचारमा नेपाली समाजलाई खराब राजनीतिले न्याक्दा कला, संस्कृति र साहित्य ओझेल परेको छ ।

‘पृथ्वी कोल्टो नभइदिएको भए विश्व इतिहास फरक हुने रहेछ’

किताब संसारभित्र पसेर उनी गम्भीर ज्ञान–मीमांसा गरिरहेका हुन्छन् । उनलाई प्रभाव पारेका किताब, तिनका सन्दर्भ र अध्ययनका विविध आयामबारे वाग्लेसँग कृष्ण आचार्यले गरेको संवाद :

किताबको संगतमा कसरी पुग्नुभयो ?

एसएलसीसम्म अतिरिक्त किताब उति पढिनँ । केही किशोर साथीहरूमाझ अंग्रेजी उपन्यास प्रिय थिए । मेरोचाहिँ त्यतातिर लगाब थिएन, पाठ्यपुस्तकमै घोत्लिन्थें । जाँचमा धेरै नम्बर ल्याउने र छात्रवृत्ति पाएर विदेश पढ्न जानुपर्छ भन्ने एकसूत्रीय सोच थियो । सन् १९९३ मा बेलायत गएपछि पाठ्यपुस्तकभन्दा बाहिरी ज्ञानतिर पस्न थालें । बेलायत यसै पनि ऐतिहासिक र सुसंस्कृत सहर ! ‘चार्ल्स डिकेन्सले उपन्यास लेखेको स्थान’, ‘विन्स्टन चर्चिल युद्धकालमा बसेको घर’ जस्ता दर्जनौं ऐतिहासिक रेकर्ड बेलायतका गल्ली–गल्लीमा देखिन्थे । बीबीसी विश्व सेवा थियो, त्यहाँ काम सुरु गरें, २० वर्षको थिएँ । सहजै संसद्भवन छिरेर बहस सुन्न सकिन्थ्यो, एक पटक त प्यालेस्टिनी ‘लेजेन्ड’ यासर अराफतसँगै जम्काभेट भयो । यसरी इतिहास र समसामयिक विषयमा चासो राख्ने एक अर्थशास्त्रको विद्यार्थीका नाताले मेरो लन्डन बसाइ अत्यन्तै रोमाञ्चक रह्यो । लन्डन स्कुल अफ इकनमिक्सको पुस्तकालय विश्वकै सबभन्दा ठूलो समाज विज्ञानको भण्डार हो । त्यहाँभित्र पसेपछि मेरो घण्टौं समय उसै बित्थ्यो ।

किताब कसरी छान्नुहुन्थ्यो ?

सुरुआतमा अर्थशास्त्रका किताब छानीछानी पढ्थें । बिस्तारै अर्थराजनीति र इतिहासका किताबतिर लागें । सँगै फिक्सन पनि पढ्न थालें । विश्वप्रतिष्ठित साहित्यिक पुरस्कार बुकरको चर्चा वर्षैभर चलिरहन्थ्यो । दक्षिण एसियाली भएका नाताले अंग्रेजीमा लेख्ने एसियन मूलका विक्रम सेठ, भीएस नयपल, सलमान रुस्दी, रोहिन्तन मिस्त्रीजस्ता लेखकका किताब चाख लिएर पढ्थें । पछि मूलधारका ब्रिटिस, अमेरिकन लेखकका किताब पढ्न थालियो । ब्रिटिस लेखक ईएन मकएवन मेरा प्रिय थिए । समग्रमा अर्थशास्त्र, अर्थराजनीति, इतिहास र फिक्सन पढ्ने मेरो लत त्यही बेला बसेको हो ।

कस्ता किताबले जीवनमा धेरै प्रभाव पारे ?

जीवनमा प्रभाव पारेको र मेरो सोचाइमै परिवर्तन ल्याएका किताब धेरै छन् । तर, आज दुई किताबको मात्रै चर्चा गर्छु । २२ वर्षअघि स्नातकोत्तर पढ्न म हार्भर्ड विश्वविद्यालय पुगेको थिएँ । त्यसबेला २ वटा किताबको विशेष चर्चा थियो । पहिलो थियो– ज्यारेड डायमन्डले लेखेको– ‘गन्स, जर्म्स एन्ड स्टिल’ । किताबमा युरोपेलीहरू कसरी अगाडि आए भन्ने विवरण छ । लगभग १० हजार वर्षअघिदेखि १५ औं शताब्दीसम्मको मानव इतिहास तथा सभ्यताको चित्रण छ किताबमा । १५ औं देखि करिब २० औं शताब्दीसम्मको अवधि समेटेर लेखिएको त्यसबेला चर्चामा रहेको दोस्रो किताब हो– ‘द वेल्थ एन्ड पभर्टी अफ नेसन्स’ ।

यो किताब डेभिड लान्डेसले लेखेका हुन्, जसमा औद्योगिक क्रान्तिअघिका केही शताब्दी र औद्योगिक क्रान्तिका चरित्रबारे चर्चा छ । यी दुई किताब पढेपछि ‘हामी कसरी यहाँसम्म आइपुग्यौं ?’ भन्ने विषयमा स्पष्ट हुन्छौं । मानव प्रगतिको विषयलाई बहुआयामिक विधाको कोणबाट चित्रण गरेका छन् दुवै किताबले । विकास अर्थशास्त्रीका रूपमा मेरो जीवनको पेसेवर अध्याय सुरु हुँदा यी किताबले ठूलो प्रभाव पारे । किताबले बौद्धिक मुद्दाहरूको उठान गर्ने, विश्लेषण गर्ने र सोच्ने तरिका नै फरक पारिदियो ।

‘गन्स, जर्म्स एन्ड स्टिल’ को उद्देश्य के हो ? किताबले पृथ्वीको इतिहासबारे तपाईंको सोचाइमा के असर गर्‍यो ?

हामी सामान्यतया किन कुनै देश धनी भए वा पछि परे भन्ने सन्दर्भमा त्यहाँको राजनीति राम्रो वा खत्तम, नेता नै झुर वा राम्रो भन्ने कोणबाट धेरै बहस गर्छौं । तर, राजनीति वा राजनीतिज्ञको गुणस्तर खराबीको ‘सिम्पटम’ हो, कारकतत्त्व प्रायः अलि गहिरै हुन्छ । अमेरिका किन उन्नत भयो भन्दा जर्ज वासिङ्टन, अब्राहम लिंकन, फ्य्राङ्कलिन रुजभेल्ट, केनेडीजस्ता मानिसको नाम लिँदै ‘सजिलै’ उत्तर दिइन्छ ।

हाम्रोमा पनि मुलुक किन बनेन भन्दा ‘नेता नै खत्तम’ भनेर बुद्धिजीवीदेखि चिया चौतारोसम्म टिप्पणी हुने गर्छ । सयौं वर्षको प्रमाण केलाएर अहिले विकास अर्थशास्त्रमा ‘संस्था’ वा ‘इन्स्टिट्युसन’ हरूको प्रधान भूमिकाबारे जरोमै पुग्ने गहिरो शोध जारी छ । इन्स्टिट्युसन केवल साइनबोर्ड झुन्ड्याएको भवन होइन, आर्थिक–राजनीतिक खेलका नियम र ती कत्तिको दोहनकारी छन् वा छैनन् भन्ने पनि हो । त्यस्तै हजारौं वर्षको प्रमाण केलाएर भूगोलको भूमिकाबारे पनि यथेष्ट चर्चा भएको छ । डायमन्डको किताबलाई पछिल्लो कोटीमा राख्न सकिन्छ । उनले युरोपेलीहरू अघि देखिनुमा बीउ, जीवाणु र बन्दुकको भूमिका छ भन्ने ‘थेसिस’ अघि ल्याए । कसरी त ?

पहिलो बीउ– मानव इतिहासमा कृषिको ६ पटक उदय, पुनरोदय, आविष्कार र पुनः आविष्कार भएको मानिन्छ– १२ हजार वर्ष पहिले पपुवा न्युगिनी, दोस्रो चीन, तेस्रो मेक्सिको, चौथो पेरु, पाँचौं अमेरिका, छैटौं युरोप र मध्यपूर्व जोड्ने लभान्ट क्षेत्रमा । लभान्टमा बीउ चाँडै उम्रन्थ्यो, हुर्कन्थ्यो र व्यवस्थापन गर्न पनि सजिलो थियो । फेरि प्रयोगका लागि बीउको आकार पनि ठूलो र उन्नत थियो । यी विषय औद्योगिक विकासभन्दा निकै अघिका हुन्, जतिबेला जनघनत्वको महत्त्व थियो । तीन जना मान्छे जम्मा भए तीन जोडी विचार आउँछन् । ६ जना मान्छे भयौं भने १५ जोडी विचार । जनघनत्व जति बढी भयो उति नै विचार, सहकार्य र सम्भावनाको दायरा फराकिलो हुँदै जान्छ । ठूलो जनसंख्या धान्न कृषि उत्पादन महत्त्वपूर्ण हुने भयो । बीउ, कृषि, जनसंख्या, विचार र प्रगतिको साइनो सुरुमा यसरी जोडियो ।

दोस्रो, जीवाणु– त्यहाँ जनावर पनि ठूल्ठूला र घरमै पाल्न उपयुक्त जातका भए । खेती गर्न मान्छेले ठेल्दाभन्दा जनावरले ठेल्दा बढी शक्ति प्राप्त भयो । साथै जनावरसँगै बस्न थालेपछि तिनले सार्ने रोगविरुद्ध मान्छेको प्रतिरोधात्मक क्षमता (इम्युनिटी) पनि बढ्यो । पछि उपनिवेशको खोजीमा युरोपेलीहरू उत्तर र दक्षिण अमेरिका पुग्दा त्यहाँका आदिवासीहरू सखाप भए किनभने युरोपेलीले ल्याएको रोगसँग भिड्ने इम्युनिटी त्यहाँ थिएन ।

तेस्रो, बन्दुक– जनघनत्वसँगै प्रविधिका रूपमा कम्पास, पाङ्ग्रा, टेक्सटायल, धातुसँग काम गर्ने सीप र जहाजको पनि प्रयोग हुन थाल्यो । सबैभन्दा महत्त्वपूर्णचाहिँ किताबले भनेको ‘गन’ अर्थात् बन्दुकले अन्य सबै आविष्कारको शक्तिलाई थप मजबुत बनायो, अर्थात् ‘म्यग्निफाई’ गरिदियो ।

समग्रमा यो किताबले १५ औं शताब्दीअघिका यी तथ्य अगाडि ल्याएको छ र जोडेको छ– पृथ्वीको ढल्केको आकारसँग । पृथ्वी सोझो भकुन्डोजस्तो नभएर अलिकति ढल्केको छ नि, त्यसको दूरगामी प्रभाव रह्यो । पूर्वदेखि पश्चिम र पश्चिमदेखी पूर्वतर्फ प्रविधि सजिलै सर्न सक्ने तर उत्तर–दक्षिणचाहिँ सर्न असजिलो भयो । जस्तो मेक्सिकोमा उब्जनी भएको मकैको बीउ त्यहीँ माथिको मिसिसिपी पुग्न हजारौं वर्ष लागेको छ ।

तर, भूगोल र जलवायुले पूर्व–पश्चिम यात्रा सहज हुँदा चीनमा भएको आविष्कार तुरुन्तै युरोप पुगिहाल्ने भयो । इटालीका मार्को पोलो १३ औं शताब्दीमै चीन पुगे । युरेसिया लामो, पूर्व–पश्चिम जोडिएको ठूलो महादेश भएकाले प्राचीन सभ्यता सबै त्यहीँ देखियो । पृथ्वी सोझो भइदिएको भए विश्वको इतिहास अहिलेभन्दा निकै फरक हुने रहेछ भन्ने कल्पनाले हाम्रो मस्तिष्क हल्लाउँदैन र ?

अनि अर्को किताब ‘द वेल्थ एन्ड पभर्टी अफ नेसन्स’ माथि पनि सारांशमा विमर्श गरौं न !

यो किताबमा औद्योगिक क्रान्तिभन्दा ३ सय वर्षअघिदेखिको पूर्वतयारीका कुरा छन् । ब्लक छपाइ, सेरामिक्स, गन–पाउडर, कम्पास, रेशम र धान खेती आदिको आविष्कार चीनमा भइसक्दा युरोपमा केही विकास भएको थिएन । तर, औद्योगिक क्रान्ति युरोपमा भयो, चीनमा भएन, किन ? सन् १४९२ तिर कोलम्बस अमेरिका पुगे । जबकि चिनियाँहरू जहाज लिएर १४१७ मै अफ्रिका पुगे भनिन्छ । तर, केही दशकपछि यस्ता बाह्य गतिविधिमा सम्राट्ले बन्देज लगाए । सन् १४५० तिर अन्तर्मुखी बनेको चीन एकै पटक देङ स्याओपिङ आएपछि १९७८ मा नाटकीय ढंगले खुल्यो । त्यसैले ‘साइनोलोजिस्ट’ हरू भन्छन्– चीन बुझ्न सय–सय वर्षको विश्लेषण चाहिन्छ, दुई–चार वर्षको उतारचढाव होइन । र, यस्ता ठूल्ठूला निर्णयको प्रकृति राज्यसत्ताको चरित्रसँग गाँसिन्छ । चीन र युरोपको राजकीय शक्तिका पृथक् पृष्ठभूमिलाई कसरी बुझ्ने भन्नेबारे मैले यस पुस्तकबाट निकालेका केही निस्कर्ष छन्—

पहिलो– प्रतिस्पर्धात्मक वैधता । युरोपमा स–साना टुक्रे राज्य थिए । विचारक वा मन्थन गर्न सक्ने कला भएका, आविष्कार गर्ने जो कोही प्रतिभाशाली मान्छेलाई त्यहाँको शासकले दुःख दिँदा एक राज्यबाट अर्कोमा भागेर जाने ठाउँ थियो । यदि कसैले लन्डनमा कुनै सास्ती भोग्यो, उसलाई जेनेभा जान सजिलो भयो । पेरिसमा कुनै सास्ती भयो, भेनिस भागे भयो । चीनले भने इसापूर्व २२१ देखिकै एकीकृत राज्य मात्र होइन, आफूलाई बह्माण्डकै केन्द्रविन्दु मान्थ्यो । प्रताडित चिनियाँहरू भागेर जाने कहाँ ? प्रतिस्पर्धात्मक सहरी राज्यहरूको सञ्जालले कला, विज्ञानको प्रवर्द्धनमा सघायो । चीनले स्थायित्व रोज्यो, समाज गतिशील भएन । अर्को विषय, युरोपका नदीहरूमा धेरै बन्दरगाह छन् । आउने–जाने विकल्प धेरै छन् । चीनका ठूला नदी एउटै भूभागमा कैद थिए । खासगरी व्यापारमार्फत वस्तु र विचारको आदानप्रदानमा भूगोल र नदीहरूको भूमिका ठूलो हुन्थ्यो ।

दोस्रो– सहरहरूको उदय । युरोपमा सार्वभौम राज्यको उदयअघि सहरहरूको उदय भएको हो । युरोपको उत्थान सहरले गराएको हो । १३ औं देखि १५ औं शताब्तीका सहरको इतिहास हेर्नुस् त– फ्लोरेन्स, रोम, भेनिस, मिलान, नेपल्स ! पछि एटलान्टिक ट्रेड सुरु भएसँगै बेलायत, हल्यान्ड, फ्रान्सका सहर चम्किन थाले । सहर र गाउँको आफ्नै कार्यविभाजन थियो । सामन्तहरू गाउँमा बस्थे । सहरहरूले स्वायत्तताको अभ्यास गरे । र, आफ्नै ट्रेड एसोसिएसन बनाउने, श्रमलाई सीपयुक्त बनाउने काम गरे । शासकहरू उबेला कम हस्तक्षेप गर्थे । फोर्टिफिकेसन (किल्ला) भएका सहरमा आफ्नै कानुनी–राज, व्यावसायिक नियम, मौलिक लेखाप्रणाली, क्रेडिट र श्रम बजार स्थापित हुँदै गएर आधुनिक पुँजीवादको जग बसेको हो । बेलायतको बैंक अफ इङ्ल्यान्ड सन् १६९४ मा स्थापना भएको छ । विशाल भारतलाई उपनिवेश बनाएर निलेको इस्ट इन्डिया कम्पनी सेयरहोल्डर भएको सानो निजी कम्पनी थियो, जसको लन्डनमा जम्मा पाँचवटा झ्याल भएको सानो अफिस थियो सुरुमा ।

तेस्रो– वैज्ञानिक विधि र संस्थाहरू । युरोपमा अनुसन्धानको सामान्यीकरण हुन थालेको १६ औं–१७ औं शताब्दीदेखि हो । अवलोकन गर्ने, त्यसलाई सूक्ष्म ढंगले व्याख्या गर्ने र दस्ताबेजीकरण गर्ने प्रवृत्ति किन क्रान्तिकारी भयो ? किनकि ज्ञान–विज्ञान अघि बढ्न ‘रेप्लिकेसन’ र ‘भेरिफिकेसन’ चाहिन्छ । क्याम्ब्रिज विश्वविद्यालयमा आइज्याक न्युटनले यो यो देखें भनेर टिपे । त्यही कुरा अन्य वैज्ञानिकले पुष्टि गरे । वस्तुनिष्ठ भएर, एकआपसमा जोडेर व्याख्या गर्ने चलन त्यहीँबाट सुरु भएको हो । एक–एक इँटा थपेजस्तो गरेरै आविष्कारको दायरा बढ्दै जाने हो । त्यसलाई प्रिन्टिङ प्रेसको आविष्कारले थप फैलायो ।

टेलिस्कोप, पेन्डुलम, भर्नियर स्केल, क्याल्कुलसको आविष्कार भएपछि विज्ञान थप परिष्कृत हुँदै गयो । यसरी वैज्ञानिक अनुसन्धानको सामान्यीकरणबाटै उच्च विज्ञान र प्रविधिको लहर आएको हो । न्यूनटले सन् १६८७ मा भौतिकशास्त्रमा फड्को मारे, त्यो सबै पहिले छरिएर रहेका आविष्कारको जगमा गरिएको थियो । वैज्ञानिक कुरालाई संगठित गर्न बेलायतको रोयल सोसाइटी सन् १६६० मा गठन भएको हो, जसले ज्ञानको संग्रह गर्ने, सभा–सम्मेलन गर्ने, विचार आदानप्रदान गर्ने, जर्नल निकाल्ने काम गर्न थाल्यो । बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पहिलो पटक सन् १४७३ मा आएको छ युरोपमा ।

औद्योगिक क्रान्ति नबुझी संसारको त्यो कायाकल्प बुझ्न नसकिएला ! औद्योगिक क्रान्तिको विषयमा ‘द वेल्थ एन्ड पभर्टी अफ नेसन्स’ ले केही प्रस्ट पारेको छ ?

औद्योगिक क्रान्तिले सन् १७५० पछि गति समाते पनि हामी वास्तविक ‘टेक–अफ’ को मिति सन् १८२० लाई मान्छौं– ठ्याक्कै २०० वर्षअघि । हाम्रा पुर्खाका कैयौं पुस्तासम्म जीवनस्तर उस्तै थियो । तर, सन् १८२० पछि ३०–४० वर्षमै कायापलट हुन थाल्यो निरन्तर आर्थिक वृद्धिको चमत्कारले । कसरी ? मान्छेको श्रमलाई जनावरको श्रमले प्रतिस्थापन गर्‍यो र औद्योगिक क्रान्तिमा मेसिन आए । उदाहरणका लागि बाफको शक्ति । सन् १६९८ मा तापको शक्तिबारे जानकारी भयो, १७६८ मा वाट स्टिम इन्जिन नै बनाइयो, १५ वर्षपछि घुम्ने गरी बनाइयो ।

यसले जहाजहरू चलाउने शक्ति निर्माण गर्‍यो । गैरमानवीय मेसिन प्रयोगमा आएपछि मेटल, टेक्सटायल, हाइड्रोलिक प्रेस, वाटर टर्बाइन, सिउने मेसिन र ग्यास लाइट आविष्कार गरियो । यसले एकै पटक ठूलो परिमाणमा औद्योगिक उत्पादनको सुरुआत भएको हो । यसपछि बजारमा चुस्त र प्रतिस्पर्धात्मक उत्पादन आउन थाले । मेसिनका आधारमा कलकारखानामा आधारित उत्पादन हुन थालेपछि कृषिबाट उद्योग अनि गाउँबाट मान्छे सहरतिर लागे । एउटा आविष्कारले अर्को आविष्कारलाई परिपूरकका रूपमा काम गरेको हो । आज हामी चौथो औद्योगिक क्रान्तिको युगमा छौं— पहिलो, ‘बाफ र रेल’ दोस्रो, ‘बिजुली र फेक्ट्री मोडल’, तेस्रो, ‘कम्प्युटर मेनफ्रेम र सेमिकन्डक्टर’ र चौथो, ‘इन्टरनेटमा आधारित डिजिटल युग’ ।

विकास र आविष्कारका सन्दर्भमा कुरा गरिरहँदा तपाईंले अन्य विकसित देश–महादेश (अमेरिका, जापान) का त कुरै गर्नुभएन नि !

मैले माथि गरेको चित्रण विशुद्ध युरोपेली हो । त्यो समय अमेरिकामा आप्रवास बल्ल सुरु भएको थियो, ऊ विश्वमञ्चमा जबर्जस्त आएको १९ औं शताब्दीपछि मात्रै हो । अमेरिकामा गृहयुद्ध सकिनु र जापानमा ‘मेजी रेस्टोरेसन’ एकैताका भएका हुन्– १८६० को दशकमा । १५–१८ औं शताब्दीमा युरोप, चीन र भारत नै सापेक्षिक रूपमा पृथ्वीका समृद्ध ठाउँ थिए । पृथ्वी कोल्टो परेकोले पूर्व–पश्चिम सहकार्यको भूमिका पनि यसमा छ । २० औं शताब्दीमा आएर अर्थशास्त्री साइमन कुज्नेट्सले ठट्टाको शैलीमा भनेका छन् - ‘विश्वमा ४ प्रकृतिका देश छन्– विकसित, अविकसित, जापान र अर्जेन्टिना ।’

जापान र अर्जेन्टिना किन छुट्टै हुन् त ?

जापान सुरुमा दादागिरीको दबदबा भएको मुलुक थियो– सोगनेट । सन् १८६८ मा आएर मात्र उसले छलाङ मारेको हो । जापानले चीनको अधोगति पनि हेरिरहेको थियो । जापानका सम्राट् मेइजीले पूर्वीय सभ्यता जोगाई पश्चिमी विज्ञान र प्रगतिबाट सिक्नुपर्छ भनेर आधुनिकीकरणको यात्रा तय गरे । मेइजीले राजदूत इवाकुरालाई तीन वर्षका लागि युरोप र अमेरिका पठाए, त्यताका ‘प्रगति बुझेर आऊ’ भनेर । त्यस टोलीले अमेरिका, बेलायत, फ्रान्स, बेल्जियम, हल्यान्डसमेत घुमेर फर्किएपछि १८७८ मा पाँच भोल्युमको रिपोर्ट दिएको छ । फ्रान्सको प्रशासकीय र न्यायिक प्रणाली, जर्मनीको सैन्य संरचना, अमेरिकाको प्राथमिक विद्यालय, बेलायतको नौसेना, हुलाक र टेलिग्राफ, बेलायतको राष्ट्रिय बैंक भव्य रहेछ भन्ने रिपोर्ट टोलीले बुझायो । बेलायतको संसदीय व्यवस्था जापानले सन् १८९० मै अनुकरण गर्‍यो । १८९५ मा जापानले रुसमाथि युद्धमा विजय हासिल गर्‍यो । अमेरिकासँग भएको असमान सन्धि खारेज गर्‍यो । त्यसपछि जापान ‘साँढे’ भएर निस्कियो । ५० वर्षजति अत्याचारी अराजक बन्यो ।

जापान ‘शान्तिप्रिय’ बनेको त नागासाकी र हिरोसिमामा अणु बम खसेपछि मात्रै हो । सार के हो भने एउटा कालखण्डमा बृहत् भिजन भएको नेतृत्व नै आउनुपर्दो रहेछ । दुनियाँबाट सिक्नुपर्छ, जे सिकिन्छ त्यो लागू गर्नुपर्छ भन्ने नेतृत्व चाहिन्छ । एकदम तल रहेको अर्जेन्टिनाको कथा पनि रोचक छ । एक सय वर्षअघिसम्म क्यालिफोर्निया र अर्जेन्टिना कहाँ जान्छौ भनेर युरोपेलीलाई सोध्यो भने उनीहरू ‘उस्तै त हो नि सम्भावना, जता गए पनि हुन्छ’ भन्थे रे ! तर, अहिले क्यालिफोर्निया कहाँ माथि पुग्यो, अर्जेन्टिना कति तल छ ! १९ औं बाट २० औं शताब्दीमा आउँदै गर्दा नेतृत्वको कमजोरी, गलत नीतिगत रोजाइ आदिका कारण अर्जेन्टिनाले बाटो बिराएको थियो ।

माथि चर्चा भएकाबाहेक हाल नयाँ किताब के–के पढ्दै हुनुहुन्छ ?

किनेर पढ्न सुरु गरेको, तर सकि नसकेका केही थान पुस्तक छन् । जसेफ हेनरिकको ‘विर्डएस्ट पिपल इन द वर्ल्ड’, भक्लाव स्मिलको ‘ग्रोथ’, एड डगलसको ‘हिमालय’, लिन्डा कोलीको ‘द गन, द सिप एन्ड द पेन’, क्लाउस मुल्हानको ‘मेकिङ चाइना मडर्न’, हेर्मिओन लीको ‘टम स्टोपार्डः ए लाइफ’ । अहिले देवेन्द्रराज पाण्डेको ‘एक ज्यान दुई जुनी’ पनि पढ्दै छु । र, केही दिनअघि वासिङ्टनमा रहेका असाध्यै धेरै किताब पढ्ने मेरा मित्र नीरज श्रेष्ठले नेपाली मूलका दार्जिलिङका कवि रोहण क्षत्रीबारे जानकारी दिए । रोहण विश्वस्तरकै बेजोड नयाँ प्रतिभा रहेछन् ।

अनि अहिलेको महामारी बुझ्न कस्ता किताब पढिरहनुभएको छ नि ?

विश्वका प्रतिष्ठित अखबारले महामारीका विविध पाटामाथि निरन्तर ‘कभरेज’ गरिरहेका छन् । सन् २०२० मा ‘द एटलान्टिक’ मा एड योङले गरेको वैज्ञानिक रिर्पोटिङको शृंखला उत्कृष्ट थियो, उनले पुलिट्जर पुरस्कार पनि पाए यही साल । हालै रायन बोर्नको किताब पढेँ– ‘इकनमिक्स इन वान भाइरस’ । किताबले कोभिड–१९ को आँखीझ्यालबाट अर्थशास्त्र कसरी सिक्ने भनेर रोचक ढंगले बुझाउँछ । अब महामारीपछिको नयाँ विकास–पथ वा प्राथमिकताबारे मेरै सह–सम्पादनमा १३ वटा अध्यायको पुस्तक यसै वर्ष छापिँदै छ, क्याम्ब्रिज विश्वविद्यालय प्रेसबाट ।

तपाईं केका लागि पढ्नुहुन्छ ? ज्ञान र आनन्द लिन कि बाध्यताले ?

पहिलो त ज्ञानको दायरा बढाउनकै लागि पढ्ने हो । व्यक्तिगत वृत्ति विकासका लागि पनि पढाइ अपरिहार्य छ । तर, त्यसमा आनन्द अन्तर्निहित हुनुपर्छ । आनन्द वा उत्साहले आत्मविश्वास भर्छ । २५ वर्षअघि यी दुई किताब पढ्दा ‘ए गाँठे, पृथ्वी कोल्टो भएर यस्तो भएको पो रहेछु’ भन्ने दाबीले अहिलेसम्म तरंगित बनाउने र चिरस्थायी प्रेरणा दिने काम गर्छ मलाई । नयाँ ज्ञानले दिने ऊर्जा स्वर्गीय छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कामको सिलसिलामा सोच्ने तरिका फरक पारिदिन्छ । यस्तै पुस्तकको अध्ययनले मलाई एउटा प्राविधिक अर्थशास्त्रीको साँघुरो फ्रेमबाट बाहिर ल्याएको हो भन्ने लाग्छ ।

मन परेका किताबलाई के गर्नुहुन्छ ?

‘न्युयोर्क टाइम्स’, ‘द इकनमिस्ट’, ‘द न्युयोर्कर’ जस्ता राम्रा पत्रिकामा आएका पुस्तक समीक्षा नियमित पढ्छु । र, राम्रा किताब किनेरै राख्ने बानी बसेको छ । पछि काम लाग्ला भनेर किनेका, तर पढ्न नभ्याएका किताब धेरै छन् । सानोतिनो लाइब्रेरी छ घरमा । अहिले इन्टेरनेटले पनि सहयोग गरेको छ । तर, हार्डकपीमै मेरो मोह छ । लामो शोध गरेर लेखिएका र अझ पुरस्कृत किताबमा मेरो ध्यान बढी जान्छ । ‘फाइनान्सियल टाइम्स’ का प्रतिष्ठित स्तम्भकार मार्टिन वोल्फले केही दिनअघि १५ वटा ताजा किताबको चर्चा गरेका थिए । तिमध्ये चारवटा मैले झिकाइसकें– दुईवटा नवप्रवर्तनबारे, एउटा भाइरसले सिकाएको अर्थशास्त्रबारे र अर्को मिनुस सफिकले लेखेको नयाँ सामाजिक करारबारे ।

अन्तर्राष्ट्रिय बजारमा छापिएका किताबबारे निकै चर्चा गर्नुभयो । एकछिन नेपाली किताबबारे कुरा गरौं !

वर्षौं शोध (अनुसन्धान) गरेर, प्राज्ञिक खालको जगमा लेखिएका किताब मलाई बढी मन पर्छन् । मैले माथि इङ्गित गरेका पुस्तक ५ देखि १५ वर्ष लगाएर लेखिएका हुन् । उदाहरणका लागि रबर्ट कारो नामका एक इतिहासकार छन्, जसले ३६ औं अमेरिकी राष्ट्रपति लिन्डन जन्सनबारे ५ भल्युमको जीवनी लेखेका छन्, ३० वर्षसम्म शोध गरेर । यसरी पश्चिमा प्राज्ञले लेख्नेजस्तो कालजयी प्राज्ञिक कृति नेपालमा कमै लेखिएका छन् । अपवादमा महेशचन्द्र रेग्मीका पुस्तक पर्छन् । ‘त्यसबखतको नेपाल’ पनि लामो समय लगाएर लेखिएको संस्मरण हो । नत्र हामीकहाँ केही महिनामै टिपन–टापन गरेर एक थान किताब निकाल्ने होड छ । अहिले पुस्तक प्रकाशन गृह पनि धेरै खुलेका छन्, प्रतिस्पर्धा बढेको छ । तर, ज्ञानको दायरालाई फराकिलो बनाउने खालका पुस्तक उति देख्दिनँ । विश्वविद्यालयका प्राध्यापकहरूले त्यस्ता किताब लेख्नुपर्ने हो । हाम्रोमा त्यतातिर संस्कार, क्षमता र उत्प्रेरणाको जग बसिसकेको देखिन्न ।

किताबबिनाको जीवन र पुस्तकालयबिनाको देशको कल्पना गर्न सक्नुहुन्छ ?

यो मान्छेको सभ्यतागत अस्तित्वमै गएर जोडिन्छ । किताब नपढ्ने, किताब पढेर नसिक्ने, किताब नलेख्ने वा आफू नपढे पनि किताबको सम्मान नगर्ने मान्छेहरूसँग संगत गर्नै नपरोस् भन्ने लाग्छ ।

पुस्तक र पुस्तकालयका सन्दर्भमा हामी कहाँ, कुन स्थानमा छौँ ?

यी सन्दर्भमा हामी अत्यन्तै नाजुक अवस्थामा छौं । हाम्रो मुलुक राजनीतिप्रधान भयो । पुस्तकालयका बीउ रोपिएका थिए, तर हुर्केनन् । केशर पुस्तकालय त्यो समयमा त्यत्रो भिजन र सामर्थ्यका साथ बन्यो । तर, संवर्द्धन गर्न सकेका छैनौं । मदन पुस्तकालय पनि राम्रो प्रयास हो । राष्ट्रिय पुस्तकालयको पनि बेहाल छ– हरिहर भवनबाट लखेटियो, जमलमा बनाउने भनिए पनि पुस्तकालयको भवनका लागि जग नै खनिएको छैन । पुस्तकालय बनाउनसमेत अनशन बस्नुपर्ने, आन्दोलन गर्नुपर्ने विन्दुमा छौं हामी ।

विश्वविद्यालयका पुस्तकालयहरू सुरुमा राम्रा हुने, पछि मेन्टेन वा विस्तारित नहुने अवस्था छ । खराब राजनीतिले समाजलाई न्याँक्दा कला, संस्कृति, साहित्य ओझेल परेको छ । तर, सबै विषयमा राज्यमै आश्रित हुनुपर्छ भन्नेचाहिं होइन । बुझेका, स्रोत भएका, विश्व देखेका एलिटहरूले व्यक्तिगत पहलमा पनि यी काम अगाडि बढाउन सक्छन् । अलिअलि त्यस्तो पहल भएको पनि छ । सामुदायिक स्तरमा पनि पहल भएका छन् । आधुनिकीकरणसँगै पुस्तकालय, कन्सर्ट हाउस, नाट्यघर, संग्रहालय र खुला ठाउँ आवश्यक छन् । हामी भौतिक रूपमा त्यो चरणमा पुगिसकेका छैनौं । तर, चेतना भने स्थापित हुनपर्थ्यो । विकास अर्थात् ढुंगा, माटो, गिट्टी, अलकत्रामा अड्किएका छौं हामी । र, हामी अपूर्ण, एकांगी विकासको चित्रमा बढी मुग्ध भयौं ।

तपाईं आफैंले पनि किताब लेख्नेबारे केही सोच्नुभएको छ कि ?

म प्राज्ञ होइन । प्राज्ञ भएको भए ‘पब्लिस अर पेरिस’ को मन्त्रले तर्साउँथ्यो होला, अर्थात् ‘शोध प्रकाशन गर, नभए सिद्धियौ’ । एउटा पेसेवर प्राक्टिसनर मात्र भएकाले त्यता मेरो समय गएको छैन । तर, अन्तर्राष्ट्रिय प्रकाशन गृहहरूमार्फत लेखिएका किताबभित्र धेरै च्याप्टर धेरै छपाएको छु । पछिल्लो समय मैले ‘जब्स, इन्भेस्टमेन्ट एन्ड द इकोनमिक स्ट्रक्चर’ भन्ने पुस्तक ल्याएँ । छरिएका केही नीतिगत शोधमूलक लेखलाई अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा एकीकृत गरेको छु त्यसमा । यसलाई म आफैं गन्दिनँ, केपी ओलीको कार्यकालमा मैले लेखेका लेखहरूको एकीकृत संग्रह पनि छापिने प्रक्रियामा छ । म त्यसलाई पनि मिहिनेत परेको उल्लेख्य पुस्तक मान्दिनँ ।

तपाईं आफैं पनि सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) लाईएउटा पोलिसी थिंक–ट्यांकका रूपमा विकास गर्दै हुनुहुन्छ । त्यहाँ किताब, पुस्तकालयसम्बन्धी के–कस्ता व्यवस्था छन् ?

४२ वर्षअघि नेपालीहरूले नै स्थापना गरेको इतिहास बोकेको संस्था हो यो । यसलाई बिस्तारै दक्षिण एसियाकै अग्रणी थिंक–ट्यांकहरूको लहरमा उभ्याउने मेरो चाहना छ । आर्थिक–सामाजिक विकास, पर्यावरण, सुशासन र रणनीतिक विषयमा नीतिगत सुझाव दिन सक्ने सामर्थ्य बनाउने प्रयास छ । हामी गहिरो अनुसन्धान गरेर, विज्ञहरूबीच छलफल गराएर निचोड निकाल्ने काम गर्नेछौं । यस संस्थामा म दुई वर्षअघि अध्यक्ष भएको हुँ । त्यसमा एकै पटक तीन कुरा गर्नुपर्छ भन्ने मलाई लाग्यो ।

एउटा– यो संस्था भएको ठाउँलाई भौतिक रूपमै आकर्षक बनाउनुछ । सरकारी अनुदान होइन, उल्लेख्य निजी सहयोगबाट हामीले पहिलो चरणको भौतिक संरचना विस्तार सम्पन्न गरेका छौं । दोस्रो– मानव संसाधन । भवन मात्रै भएर हुँदैन, मुख्य प्राण भनेकै योग्य मान्छेहरूको उपलब्धता हो । त्यसैले सचिवालयमा डाइनामिक युवाहरू छान्दै, प्राज्ञिक र अनुभव भएका व्यक्तिलाई फेलोसिपको व्यवस्था गरेर संस्थामा अनौपचारिक रूपमा आबद्ध गराएका छौं । विदेशमा रहेका प्राज्ञिक नेपालीलाई पनि जोड्ने काम भइरहेको छ । तेस्रो– वित्तीय अवस्था र साझेदारी । आर्थिक रूपले सम्पन्न हुन हामीले अक्षयकोष स्थापना गरेका छौं । योग्य संस्थाहरूसँग दीर्घकालीन साझेदारी पनि सुरु गरेका छौं । अमेरिकाको इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युट र दक्षिण एसियाका थिंक–ट्यांकहरूसँग सहकार्य सुरु भएको छ ।

यो संस्थाको एउटा गहना पुस्तकालय पनि हो । तर, डिजिटल युगमा हामीले यसको प्रयोग फरक ढंगले गर्ने सोच बनाएका छौं । ठाउँ मात्रै ओगट्ने होइन, छरितो र प्रविधिमैत्री पनि बनाउनुछ । जोकोही गएर पुस्तकालयमा बस्न, पढ्न र निःशुल्क इन्टरनेट प्रयोग गर्न पाउने बनाउँछौं । अब जर्नलहरू सबै अनलाइन छन् । तर, ऐतिहासिक एवं कालजयी पुस्तक संग्रहहरूको छुट्टै ‘अर्काइभल’ व्यवस्था गर्ने योजना छ । जस्तै : महेशचन्द्र रेग्मी, यदुनाथ खनाल, विश्वेश्वरप्रसाद कोइराला, हर्क गुरुङ, सरदार भीमबहादुर पाँडे आदिका दुर्लभ कृति किनेरै भए पनि पुस्तकालयमा राख्ने सोच छ । निकै पुराना दस्ताबेज ल्याएर हामीलाई बुझाउने क्रम पनि सुरु भएको छ । अस्ति भर्खर अस्ट्रेलियामा कार्यरत अर्थशास्त्री डा. प्रेमजंग थापाले २०३० सालताकाका पुराना रिपोर्ट दिनुभयो । यदुनाथ खनालका अप्रकाशित पाण्डुलिपि डा. जयराज आचार्यले दिँदै हुनुहुन्छ । यसरी डिजिटल लाइब्रेरी र बहुमूल्य ऐतिहासिक संग्रहको द्वैध उद्देश्यबाट हामी निर्देशित हुनेछौं ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रकाशित : असार २६, २०७८ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?