सुतिरहेको छ सरकार !

असार ५, २०७८

चन्द्र गुरुङ

नहोस् नयाँ दिनको आगमन हाँगा–हाँगामा बसेर सुरिलो स्वरमा गीत नगाऊ नचिरबिराऊ ए चराचुरूंगीहरुसरकार सुतिरहेको छ !

नजन्मियोस् नयाँ सौन्दर्य

नफुलोस् एउटै पनि फूल 

कोपिला फूल बनेर नमगमगाऊ

आउनेछन् हल्ला गर्दै 

हूलका हूल भमरा 

सरकार सुतिरहेको छ !

खुसीमा नचिच्याऊ पटक्कै 

नहोस् जीवनमा कुनै रमाइलो पनि 

हर्षोल्लास मनाउँदै, 

नाचगान गर्दै 

नबग ओरालो ए खोलाहरु 

सरकार सुतिरहेको छ !

ननिस्कियोस् कुनै मीठो धुन

नउडोस् बादल, नचलोस् हावा 

ए वर्षात् तिमी रिमझिम 

गर्दै नझर

हुनुहुँदैन कुनै होहल्ला 

सरकार सुतिरहेको छ !

नचम्किए नचम्कियोस् जून

नउदाए नउदाओस् घाम 

नटिलपिलाए नटिलपिलाऊन् ताराहरु 

ए बतास !

गीत गाउँदै नडुल भीरपहरा 

सरकार सुतिरहेको छ ! 

नथालियोस् उमंगको यात्रा

नहिँड नयाँ जोसमा 

ए खुट्टाहरु 

यी सहस्र पदचापले 

भंग हुनेछ वातावरणको मौनता 

सरकार सुतिरहेको छ !

सरकार सुतिरहको छ साथी 

बस तिमी पनि चुपचाप !

चन्द्र

Link copied successfully