कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुतिरहेको छ सरकार !

चन्द्र गुरुङ

नहोस् नयाँ दिनको आगमन
हाँगा–हाँगामा बसेर
सुरिलो स्वरमा गीत नगाऊ
नचिरबिराऊ ए चराचुरूंगीहरु
सरकार सुतिरहेको छ !

सुतिरहेको छ सरकार !

नजन्मियोस् नयाँ सौन्दर्य

नफुलोस् एउटै पनि फूल

कोपिला फूल बनेर नमगमगाऊ

आउनेछन् हल्ला गर्दै

हूलका हूल भमरा

सरकार सुतिरहेको छ !


खुसीमा नचिच्याऊ पटक्कै

नहोस् जीवनमा कुनै रमाइलो पनि

हर्षोल्लास मनाउँदै,

नाचगान गर्दै

नबग ओरालो ए खोलाहरु

सरकार सुतिरहेको छ !


ननिस्कियोस् कुनै मीठो धुन

नउडोस् बादल, नचलोस् हावा

ए वर्षात् तिमी रिमझिम

गर्दै नझर

हुनुहुँदैन कुनै होहल्ला

सरकार सुतिरहेको छ !


नचम्किए नचम्कियोस् जून

नउदाए नउदाओस् घाम

नटिलपिलाए नटिलपिलाऊन् ताराहरु

ए बतास !

गीत गाउँदै नडुल भीरपहरा

सरकार सुतिरहेको छ !


नथालियोस् उमंगको यात्रा

नहिँड नयाँ जोसमा

ए खुट्टाहरु

यी सहस्र पदचापले

भंग हुनेछ वातावरणको मौनता

सरकार सुतिरहेको छ !


सरकार सुतिरहको छ साथी

बस तिमी पनि चुपचाप !

प्रकाशित : असार ५, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?