भीमसेन–जंगबहादुर : को विभूति, को क्रूर ?- कोसेली - कान्तिपुर समाचार

भीमसेन–जंगबहादुर : को विभूति, को क्रूर ?

राष्ट्रिय सीमा बढाउने पात्रप्रति राष्ट्रले गौरव गर्छ । तर, यो नियम भीमसेन र जंगबहादुरको हकमा लागू भएको छैन । नत्र राष्ट्रको एकतिहाइ भूमि गुमाउने भीमसेन राष्ट्रिय विभूति घोषित हुने र पश्चिम तराईका चार जिल्ला पुनः नेपालमा गाभ्ने जंगबहादुरचाहिँ क्रूर कहलिने थिएनन् ।
सुजित मैनाली

नेपालको इतिहासमा भीमसेन थापा (विसं १८३२–१८९६) लाई नायक र जंगबहादुर राणा (विसं १८७४–१९३३) लाई खलनायकका रूपमा चित्रण गरिएको छ । इतिहाससम्बन्धी आम बुझाइ तथ्यमा मात्र आधारित हुँदैन । शासन व्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र तीसँग गाँसिएको अर्थराजनीतिले पनि इतिहाससम्बन्धी आम दृष्टिकोणलाई आकार दिइरहेका हुन्छन् । त्यसैले इतिहासका तथ्यसँगै इतिहास लेखनको अर्थराजनीतिक धरातललाई पनि उधिन्न सकियो भने इतिहास लेखनको पृष्ठभूमिले ओझेल पारेका तथ्यहरूसमेतको आलोकमा विगतको समग्र चित्र कोर्न सकिन्छ ।

भीमसेन थापा र जंगबहादुर राणा दुवै जना नेपालको इतिहासका चर्चित पात्र हुन् । उनीहरूको व्यक्तित्वमा अनेक भिन्नतासँगै समानता पनि छन् । दुवै जनाले आफ्नो समयको अस्थिर राजनीतिक व्यवस्थालाई स्थिरता दिएका थिए । दुवै जना आ–आफ्ना पालामा राजाभन्दा सामर्थ्यवान थिए ।

पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) को अवसानसँगै नेपाली राजनीति अस्थिरतामा रुमल्लिन पुग्यो । त्यही अस्थिरताका बीच उनका पुत्र बहादुर शाह (विसं १८१४–१८५४) र नाति रणबहादुर शाह विसं १८३२–१८६३) को पतन भयो । रणबहादुरको हत्यापछि पृथ्वीनारायणका नाबालक पनाति गीवार्णयुद्धविक्रमबाहेक राजकाजमा सक्रिय उनका सबै सन्तति मारिए । राजनीतिक अस्थिरता र योसँग गाँसिएको रक्तरञ्जित कलहका बीच नेपालको शासनसत्तामा भीमसेनको उदय भयो । उनले तीन दशकसम्म शासनसत्तालाई स्थिर तुल्याए ।

भीमसेनको सामर्थ्य नायबी सम्हालिरहेकी रणबहादुरकी विधवा ललितत्रिपुरसुन्दरीमा अडिएको थियो । ललितत्रिपुरसुन्दरीको मृत्युपछि भीमसेनको पतनको शृङ्खला आरम्भ भयो । उनलाई बन्दी बनाई सेरिएर मर्नुपर्ने अवस्थामा पुर्‍याइयो । उनको शवलाई सद्गतिसम्म गर्न नदिई विष्णुमतीको किनारमा फ्याँकेर स्याल, कुकुर, गिद्द आदिबाट लुछाइयो ।

भीमसेनको अन्त्यसँगै शासनसत्तामा अस्थिरताको अर्को शृङ्खला सुरु भयो । यही अस्थिरताको शृङ्खलामा परी भीमसेनका भतिजा मुख्तियार माथबरसिंह थापा (विसं १८५५–१९०२) देखि अर्का मुख्तियार फत्यजंग शाह (विसं १८६२–१९०३) सम्म मारिए । यसै अस्थिरताका बीच शासनसत्तामा जंगबहादुरको उदय भयो ।

विसं २००७ मा राणाशाही अन्त्य भएपछि नेपालमा इतिहास लेखन परम्पराले गति लियो । विभिन्न कोणबाट इतिहासका घटना र पात्रहरूको विवेचना गर्ने क्रम सुरु भयो । यही मेसोमा भीमसेन र जंगबहादुरबारे लेखरचनाहरू धमाधम लेखिन थाले । तीमध्ये अधिकांश रचना अर्थराजनीतिक प्रभावबाट अछुतो थिएनन् । चित्तरञ्जन नेपालीले विसं २०१३ मा ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ शीर्षकको किताब लेखे । किताबको ‘प्राक्कथन’ मा उनले ‘राष्ट्रिय इतिहासको सृजनामा उत्सुकतासहित प्रोत्साहनपूर्ण सहानुभूति राखिबक्सकेकोमा सर्वप्रथम श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवका हजुरमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु’ भनेका छन् । किताब छाप्न उनलाई सरकारले आर्थिक सहयोग गरेको थियो ।

राजा महेन्द्रको छायामुनि बसेर चित्तरञ्जनले भीमसेनप्रति सम्यक् दृष्टिकोण बनाउन सकेनन् । महेन्द्रका पुर्खा रणबहादुर र भीमसेन एउटै खेमाका राजनीतिज्ञ भएकाले भीमसेनको तारिफ गर्दा रणबहादुरको समेत तारिफ हुने र भीमसेनको आलोचना गर्दा रणबहादुरसमेत आलोचित हुने अवस्था थियो । त्यसैले उनले रणबहादुर र भीमसेनले बनारसमा बसेर इस्ट इन्डिया कम्पनीलाई काठमाडौंप्रति दबाब सिर्जना गर्न सहज तुल्याएको र बनारसबाट फर्किएर काठमाडौंमा नृशंस हत्याको शृङ्खला चलाएको सन्दर्भलाई पनि औचित्यपूर्ण ठहर्‍याए । यस्तैखालको विचारलाई निरन्तरता दिँदै त्यसको सात वर्षपछि विसं २०२० मा उनले ‘श्री ५ रणबहादुर शाह’ शीर्षकको अर्को किताब प्रकाशित गरे । भीमसेनसम्बन्धी चित्तरञ्जनको किताब पूर्वाग्राही छ भनी आलोचना पनि भयो । नयराज पन्तले ‘अन्धभक्ति र अन्धद्वेष गर्ने परम्परा चलाउने काम इतिहासकारको होइन’ भन्दै भीमसेनप्रति चित्तरञ्जनले अन्धभक्ति गरेको आक्षेप लगाए ।

भीमसेनप्रति अन्धभक्ति राख्ने धारविरुद्ध बाबुराम आचार्यले अन्धद्वेषपूर्ण लेखनको अर्को धार चलाए । भीमसेनलाई खलनायक देखाउने गरी उनले विभिन्न लेख लेखे । तर, तत्कालीन सत्ताले आचार्यको धारलाई नस्विकारी चित्तरञ्जनकै धारलाई अनुमोदन गर्‍यो । भीमसेन राष्ट्रिय विभूति बनाइए ।

विसं २००७ पछिको इतिहास लेखन परम्परा जंगबहादुरको हकमा चाहिँ अनुदार रह्यो । त्यतिबेला राणाशाही भर्खरै ढलेको थियो । राणाशाहीविरोधी मानसिकता चौतर्फी व्याप्त थियो । त्यस अवधिमा इतिहाससम्बन्धी काम गर्ने प्रायः सबै जना या त राणाशाहीविरोधी आन्दोलनमा सरिक भएका थिए, या त उनीहरू राणाशाहीविरोधी नेताका पथगामी थिए । त्यसको प्रभाव राणाशासनसम्बन्धी उनीहरूका लेखनमा पर्‍यो । उदाहरणका लागि एलएस बरालले लियो ई. रोजको किताब ‘नेपाल : स्ट्राटेजी फर सर्भाइभल’ को समीक्षा गर्ने क्रममा लेखेको निम्न वाक्यलाई लिन सकिन्छ, ‘उनले (रोजले) देशलाई तीस–तीस वर्षसम्म त्यति धेरै शोषण र दमन गरेका राणा प्रधानमन्त्रीहरू जंगबहादुर र चन्द्रशमशेरको भरमार तारिफ गरेका छन्, जुन कुराले नेपालीलाई बढ्तै खिन्न बनाउन सक्छ ।’ यसो भनेर बरालले जंगबहादुर र चन्द्रशमशेर (विसं १९२०–१९८६) प्रति रोजको दृष्टिकोण तथ्यसंगत छ/छैन भनी विवेचना गर्ने झन्झटबाट आफूलाई मुक्त गराएका छन् ।

अहिले शाहकाल समाप्त भएर गणतन्त्र संस्थागत भइसकेको छ । राणाशाहीविरुद्ध आन्दोलन गर्ने पुस्ता राष्ट्रिय मूलधारबाट पन्छिसकेको छ । यस अर्थमा भीमसेन र जंगबहादुरको विवेचना गर्ने उपयुक्त समय बल्ल सुरु भएको छ ।

आततायी सत्तारोहण

कोतपर्व भन्नासाथ सत्ताप्राप्तिका लागि गरिएको बर्बर हत्या शृङ्खलाको चित्र हाम्रो मनसपटलमा निर्मित हुन्छ । इतिहासमा भारदारी षड्यन्त्रको पटाक्षेप जंगबहादुरको समयमा घटित कोतपर्वमा भयो र त्यसपछि नेपाल अँध्यारो युगमा प्रवेश गर्‍यो भन्ने आमधारणा नेपालमा व्याप्त छ ।

कोतपर्वपछि अँध्यारो युग सुरु भयो भनी दाबी गर्न त्यसभन्दा पहिलेको युग उज्यालो थियो भनी सिद्ध गर्नुपर्ने हुन्छ । तर, तथ्यले त्यस्तो देखाउँदैन । नृशंस राजनीति, भारदारहरूले आफू र आफ्नो वंशकेन्द्रित भएर गर्ने व्यवहार, कला र विज्ञानप्रतिको उदासीनता आदि कोतपर्वअघि पनि उस्तै थियो ।

यही सन्दर्भमा भीमसेन र जंगबहादुरले प्रदर्शन गरेको नृशंसताको तुलना गर्न सकिन्छ । सामान्यतः जंगबहादुरलाई भीमसेनभन्दा बढ्ता क्रूर मानिन्छ । तर, तथ्यले अर्कै भन्छ । गगनसिंहलाई समेत गन्ने हो भने जंगबहादुरले मच्चाएको कोतपर्वमा ३२ जना मारिएका थिए । सानो वरीयताका सिपाहीहरूलाई पनि गन्दा करिब ४० जनाको हताहती भएको थियो । त्यस घटनामा फत्यजंग शाह, गगनसिंह र अभिमानसिंह रानाजस्ता प्रभावशाली भारदारहरूको हत्या भएपछि देशको सर्वेसर्वा बन्न जंगबहादुरलाई सजिलो भयो । भण्डारखालपर्वमा थप १३ जना विरोधी भारदार र सैनिकहरूको हत्या भएपछि राजकाजमा जंगबहादुरको प्रभाव अझ बढ्यो । उनी राजाभन्दा शक्तिशाली बने । शासनसत्तामा स्थिर हुन जंगबहादुरले कोतपर्व र भण्डारखालपर्वमा गरी करिब ५३ जनाको हत्या गरे ।

भीमसेनको सत्तारोहण अझ बढी क्रूर थियो । रणबहादुरले बरसमा निर्वासित जीवन बिताइरहँदा भीमसेन उनका प्रमुख सहयोगी थिए । त्यतिबेला काठमाडौंमा राजा गीवार्णयुद्धविक्रमको नाममा नायबी चलाइरहेकी रणबहादुरपत्नी राजराजेश्वरीले दामोदर पाँडेसँग मिलेर रणबहादुरलाई काठमाडौं आउन दिइरहेकी थिइनन् । रणबहादुरले अन्ततः बलजफ्ती नेपाल आएर विरोधी भारदारहरूको हत्या शृङ्खला चलाए । दामोदार पाँडे, भीम खवास, इन्द्रमान खत्री, रणकेशर पाँडे, गजकेशर पाँडे आदिको हत्या गरियो । भीम खवासका एक जना छोरोलाई उँधोमुन्टो गरी झुन्ड्याइयो । अर्का छोरोको आँखा झिकियो । रणबहादुरका विश्वासिला भारदार भएको नाताले त्यस हत्या शृङ्खलामा भीमसेनको पनि हिस्सेदारी थियो ।

त्रिभुवन प्रधानको घरमा बसेको भारदारहरूको कचहरीमा शेरबहादुर शाहले आफ्ना सौतेनी दाजु रणबहादुरमाथि तरबार चलाउँदा रणबहादुरको मृत्यु भयो । रणबहादुरको अंगरक्षक रहेका जंगबहादुरका पिता बालनरसिंह कुँवरको प्रहारबाट शेरबहादुरको पनि घटनास्थलमै मृत्यु भयो । त्यतिबेला राजा गीवार्णयुद्धविक्रम नाबालक थिए । त्यही मौका छोपी भीमसेनले रणबहादुरको हत्या गर्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाएर विरोधी भारदारहरूको सफाया गरे । त्यस घटनालाई इतिहासमा पहिलो भण्डारखालपर्व भनिन्छ ।

पहिलो भण्डारखालपर्व कोतपर्वभन्दा बढी नृशंस थियो । रणबहादुरको हत्या गर्ने षड्यन्त्रमा सरिक भएको आरोप लगाई भीमसेनले रणबहादुरका सौतेनी भाइ विदुर शाह, नरसिंह गुरुङ, त्रिभुवन प्रधान आदिको हत्या गराए । शेरबहादुर, विदुर, त्रिभुवन र नरसिंहका दुई वर्षदेखि १५ वर्षसम्मका छोराछारीहरूको पनि उनले हत्या गराए भनी गीवार्णयुद्धविक्रमको राज्यकालपछि तयार पारिएको एउटा लेखोटमा उल्लेख छ । भीमसेनले सत्ताप्राप्तिका लागि स्त्रीहरूको पनि हत्या गराए । रणबहादुर मारिँदा उनकी जेठी पत्नी राजराजेश्वरी हेलम्बुमा लखेटिएकी थिइन् । रणबहादुर नरहेको अवस्थामा उनले काठमाडौं आएर पुनः नायबी सम्हाल्लिन् भन्ने भय भीमसेनलाई भयो । भीमसेनका विरोधी पाँडे खलकसँग राजराजेश्वरी निकट थिइन् । त्यस्तो भयबाट मुक्त हुन भीमसेनले रणबहादुरको दाहसंस्कार भएको एक सातापछि १४ जना कमारीसहित राजराजेश्वरीलाई जबरजस्ती सती पठाएर मारे । कुल ९३ जनाको हत्या गरेपछि शासनसत्तामा उनी स्थिर भए । मृतकको संख्या र हिंसाको सघनतालाई आधार मान्ने हो भने जंगबहादुरभन्दा भीमसेनको सत्तारोहण बढी हिंस्रक थियो ।

राजनीतिक निपुणता

शासनसत्तामा आएपछि भीमसेन र जंगबहादुरले गरेका कामहरूको मूल्यांकन गर्दा त्यतिबेलाकै मापदण्डलाई आधार बनाउनुपर्ने हुन्छ । त्यतिबेलाको चलनलाई निरन्तरता दिँदै दुवैले विरोधी खेमालाई शक्तिहीन बनाई जहानियाँ शासन सुरु गरे । राष्ट्रिय भूमि र कोषलाई दुवैले बपौतीसरह बनाए । दुवैले राजालाई आलंकारिक हैसियतमा सीमित गरिदिए । त्यतिबेला उनीहरूको ठाउँमा अर्को कुनै भारदार थिए भने तिनले पनि त्यसै गर्ने थिए ।

इतिहासका पत्रहरूको विवेचना गर्दा उनीहरूको कर्मलाई समग्रतामा हेर्नुपर्छ । राजनीतिमा खलपात्र ठहरिएको इतिहासको अमुक पात्र अर्थतन्त्र, विकास अथवा कूटनीतिमा अब्बल हुन पनि सक्छ । भीमसेन र जंगबहादुरले पनि देशको स्वतन्त्रता प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण काम गरेका थिए । अंग्रेजसँग युद्धमा पराजित भएपछि काठमाडौंमा इस्ट इन्डिया कम्पनीको रेसिडेन्सी स्थापना भयो । भीमसेनले रेसिडेन्सीलाई स्वेच्छाचारी बन्न नदिने र कम्पनी सरकारसँग विश्वासिलो सम्बन्ध बनाउने प्रयत्न एकसाथ गरे । अंग्रेजसँगको सम्बन्ध र काठमाडौंमा त्यतिबेला व्यप्त अंग्रेजविरोधी मानसिकतालाई सन्तुलनमा राख्ने चुनौतीमाझ उनी चेपिएका थिए ।

सुगौली सन्धि हुनुअघि सन्धिको मस्यौदामा नेपाललाई तराईरहित गर्ने बुँदा उल्लेख थियो । तराईको उर्वर भूमिबिना नेपाल लामो समय टिक्न सक्दैन भन्ने महसुस भीमसेनले गरेका थिए । अन्ततः तराईका केही भू–भागसमेत नेपालमा रहने गरी अंग्रेजसँग सन्धि गर्न उनी सफल भए ।

यति हुँदाहुँदै पनि उनकै पालामा सुगौली सन्धिबाट नेपालले करिब एकतिहाइ भूमि गुमायो । अंग्रेजसँग विश्वासिलो सम्बन्ध बनाउन पनि उनी चुके । बेलायती राजाको नाममा नेपाली राजाले पठाएको सौगातसहित भतिजा माथवरसिंह थापालाई लन्डन पठाउन उनले चाहेका थिए । त्यसो गरेर अंग्रेजसँग आफ्नो सम्बन्ध राम्रो छ भन्ने देखाई खस्किँदै गएको आफ्नो प्रभावलाई उकास्ने योजना उनले बनाएका थिए । तर, अंग्रेजहरूले माथवरसिंहलाई कलकत्ताबाटै फर्काइदिए । त्यस घटनापछि भीमसेनको साख गिर्‍यो र उनको पतन भयो ।

भीमसेनको राजकीय क्षमताका कतिपय सीमालाई जंगबहादुरले उछिनिदिए । राष्ट्रिय सीमा बढाउने पात्रप्रति राष्ट्रले गौरव गर्छ । तर, यो नियम भीमसेन र जंगबहादुरको हकमा लागू भएको छैन । नत्र राष्ट्रको एकतिहाइ भूमि गुमाउने भीमसेन राष्ट्रिय विभूति घोषित हुने र पश्चिम तराईका चार जिल्ला पुनः नेपालमा गाभ्ने जंगबहादुरचाहिँ क्रूर कहलिने थिएनन् । भूमि पुनः प्राप्त गर्ने गरी अंग्रेजसँग विश्वासिलो सम्बन्ध बनाउने जंगबहादुरको कूटनीतिक कौशल भीमसेनको भन्दा अब्बल थियो । नेपाली कूटनीतिक टोलीलाई युरोपसम्म पुर्‍याउने भीमसेनको चाहनालाई जंगबहादुरले अन्ततः सफल तुल्याए । राजाका अधिकारसम्पन्न दूतको हैसियतले उनले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरी नेपालको कूटनीतिलाई फराकिलो बनाए । भीमसेनले नेपालको विदेश नीतिलाई स्थिर तुल्याउन सकेनन् । सुगौली सन्धिपछि पनि अंग्रेजविरुद्ध चीन र भारतका केही राज्यसँग गठजोड गर्ने प्रयत्न उनले गरिरहे ।

कूटनीति र सुरक्षासम्बन्धी मामिलामा समयको सूक्ष्म पदचाप बुझ्ने सवालमा जंगबहादुरले भीमसेनलाई उछिने । पहिलो अफिम युद्धमा अंग्रेजसँग चीन पराजित भएपछि एसियाको शक्ति समीकरण अंग्रेजको पक्षमा छ भन्ने कुरा जंगबहादुरले महसुस गरे । युरोप भ्रमण गरेर विश्व शक्ति समीकरण पनि अंग्रेजकै पक्षमा रहेको निष्कर्ष निकाले । त्यसपछि उनले बाह्य मामिलामा अंग्रेजसँग सहकार्य गर्ने तर आन्तरिक मामिलामा उनीहरूलाई ढिम्किन नदिने नीति लिए । त्यही नीतिअन्तर्गत सडक सञ्जालमार्फत काठमाडौंलाई भारतसँग जोडी दुई देशबीचको व्यापारिक सम्बन्ध सघन बनाउने अंग्रेजहरूको प्रस्ताव अस्वीकार गरे । अंग्रेजसँगको व्यापारिक अन्तरक्रिया जनस्तरमै सघन भएकाले भारतीय राज्यहरू अंग्रेजको उपनिवेश बनेका हुन् भन्ने उनको बुझाइ थियो । उनको त्यस्तो बुझाइ देशको स्वतन्त्रता अक्षुण्ण राख्ने सवालमा एक हदसम्म उपयोगी सिद्ध भए पनि देशको आर्थिक हितमा चाहिँ यसले नराम्रो असर गर्‍यो ।

ढल्किएको तुला

भीमसेन र जंगबहादुरबीच तुलना गर्दै गर्दा जंगबहादुरले भीमसेनको जस्तो विषम परिस्थितिको सामना गर्नु नपरेको कुराको पनि हेक्का राख्नुपर्छ । परिवेश र व्यक्तिको अग्रसरता दुवैबाट परिस्थिति निस्पन्न हुन्छ । यस हिसाबले हेर्दा नेपाल–अंग्रेज युद्धको प्रमुख कारक भीमसेन थिएनन् । उत्तर भारतमा फैलिरहेको इस्ट इन्डिया कम्पनी र त्यसको पहाडी भेगमा फैलिरहेको नेपालबीच झडप हुनु त्यतिबेला अपेक्षित नै थियो ।

जंगबहादुरले परिस्थितिलाई विषम बन्न नदिने कौशल देखाए । यदि सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोहमा उनले विद्रोहीहरूलाई समर्थन गरेका भए नेपाल र इस्ट इन्डिया कम्पनी पुनः एकपटक आमनेसामने हुने थिए । नेपालका अधिकांश भारदारको राय विद्रोहीहरूको पक्षमा उभिनुपर्छ भन्ने थियो । तर, शक्तिको तुला अंग्रेजहरूकै पक्षमा ढल्किएको छ भनी बुझेका जंगबहादुरले कम्पनी सरकारलाई सहयोग गर्ने निधो गरे । त्यतिबेला दार्जिलिङमा रहेका ब्रायन हज्सन (सन् १८००–१८९४) लाई प्रयोग गरी उनले कम्पनी सरकारलाई विद्रोहीहरूको दमन गर्न नेपालले दिने सैन्य सहायता स्वीकार गर्न मनाए । संकटको घडीमा नेपालले गरेको सहयोगप्रति कृतज्ञ भएर अंग्रेजहरूले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फर्काए । नेपाल र बेलायतबीचको सम्बन्ध विश्वासिलो बन्यो ।

भीमसेनका कतिपय कमीकमजोरीहरूबाट सिक्ने मौका जंगबहादुरलाई मिलेको थियो । भीमसेनको पतनलाई उनले नियाल्न पाएका थिए । आफ्नो नियति पनि भीमसेनको जस्तो नहोस् भनेर उनले आफू र आफ्नो परिवारलाई कानुनभन्दा माथि पारे । विसं १९०५ वैशाख सुदी १३ मा राजा सुरेन्द्रविक्रमलाई लालमोहर जारी गर्न लगाएर उनले गाथगादी ताक्ने कसुर गरे पनि राणाहरूलाई मृत्युदण्ड नदिइने र देशनिकाला अथवा सम्पत्ति हरण पनि नगरिने कानुनी बन्दोबस्त मिलाए । यस्तैखालको लालमोहर भीमसेनले पनि गराएका भए सायद उनको पतन हुने थिएन । आफ्नो करिब ३० वर्षे अकण्टक शासन सुनिश्चित गर्नुका अतिरिक्त १०४ वर्ष लामो जहानियाँ राणाशासनको आधार तयार गर्न पनि जंगबहादुर सफल भए । यस हिसाबले आफू र आफ्नो परिवारको दीर्घहितबारे सोच्ने सवालमा पनि जंगबहादुर भीमसेनभन्दा अगाडि थिए ।

प्रकाशित : पुस ११, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्

के तपाईं सुन्दर हुनुहुन्छ ?

हामीले बाँचिरहेको यो सम्पूर्ण जीवन नै एउटा अघोषित ब्युटी पेजेन्ट हो, जहाँ प्रत्येक पाइलामा हामीलाई कसै न कसैले नापतौल गरिरहेको छ ! हामी पनि कसै न कसैलाई नापतौल नै गरिरहेकै छौँ । सुन्दर र असुन्दरको तराजुमा राखी लेखाजोखा गरिरहेका छौँ ।
सविना देवकोटा

‘ठूलो भएपछि के बन्छौ नि तिमी ?’पत्रकारका प्रश्न त्यति रेडिमेड हुँदैनन्, जति हाम्रा आफन्तका हुने गर्छन् !तर, रेडिमेड प्रश्नको उत्तर दिन म सधैँ रेडी भइहाल्थेँ ।प्रश्न भुइँमा खस्न नपाउँदै बालसुलभ हाँसोको सहारा लिएर म आँखा ठूला बनाउँदै, थुक घुटुक्क निलेर गर्वका साथ भन्थेँ– मिस नेपाल !

डाक्टर, इन्जिनियर, पाइलट सुन्न अभ्यस्त भएका कानहरू त्यसबखत छक्क पर्थे र तलदेखि माथिसम्म मलाई निमेषभर हेर्थे । हेरिरहन्थे ।

किनकि मेरो जवाफ रेडिमेड थिएन ।

हुन पनि नौ/दस वर्षकी बालिकाले रेडिमेड उत्तर दिनेबेलै भएको थिएन ।

‘मिस नेपाल त हुन्थ्यौ होला तर तिम्रो दाँत र हाइटले चाहिँ धोका देलाजस्तो छ,’ हाँस्दै उनीहरू मलाई मेरो नमिलेको दाह्रा निस्किएको दाँत र होचो कदप्रति इंगित गरिदिन्थे ।

नमिलेको दाँतले पनि मिलाएर हाँस्न जानेकै थियो । म फिस्स हाँस्थेँ र फोक्सोदेखिको बल लगाउँदै फ्योट्ट भनिदिन्थेँ, ‘दाँत जाबो त मिलाउन सकिहालिन्छ नि !’

कुरा अड्कन्थ्यो हाइटमा । म खिस्रिक्क पर्थेँ । मलाई लाग्थ्यो, म प्रश्नोत्तर राउन्डमै फालिएँ ।

सकेसम्म हार नस्विकार्ने स्वभाव भएकाले होला, म आफ्नो खस्केको अनुहार देखाउन सक्दिन थिएँ । बरु मनमनै प्रण गर्थें– चाहे जेसुकै होस्, म मिस नेपाल भएरै छाड्छु !

***

‘के छ त मिस नेपालको खबर ?’

भेट हुनेबित्तिकै आउने पहिलो प्रश्नले मलाई खुब आह्लादित बनाउँथ्यो । म लजाउँदै हाँस्थे । हाँस्दै लजाउँथेँ ।

यो त्यही प्रश्न थियो, जसको उत्तरमा म आफ्नो भविष्य देख्थेँ । तर, उनीहरू मेरो नमिलेको दाँत र हाइट देख्थे ।

‘यो संसारको सबैभन्दा सुन्दर मान्छे म नै हुँ’ भन्ने भ्रमको भारी बोकेर कहिल्यै नथाक्ने यी आँखा ऐनाअगाडि घण्टौं उभिन्थेँ । अनेकौं भावभङ्गीमा ऐना हेर्दै नाच्थेँ ।

२४ सै घण्टा ऐनामा यसरी झुन्डिएको देखेपछि ममीले एक दिन बाध्य भएर दराजको ऐना पत्रिकाले छोपिदिनुभयो । तर अहँ, त्यो पत्रिकाले मभित्रको भ्रम छोप्न सकेन !

***

पत्रिकाले छोप्न नसकेको भ्रमलाई एक दिन खोइ कुन्नि केले छोपिदियो ?

उमेर बढ्दै जाँदा मभित्रको भ्रम भत्किँदै गयो । मलाई लाग्न थाल्यो, संसारको सबैभन्दा असुन्दर मान्छे म नै हुँ !

संसारको सबैभन्दा नमिलेको मुहार मेरै हो ! नमिलेको उचाइ पनि मेरै हो !

खोइ कुन्नि, कुन दिनदेखि मलाई मानिसहरूले ‘मिस नेपाल’ भनेर नबोलाइदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।

थाहा छैन, ठीक कुन दिनदेखि उनीहरूले मलाई मिस नेपाल भनेर बोलाउन छोडे र कुन दिनदेखि मैले म मिस नेपाल बन्छु भनेर भन्न छोडिदिएँ ?

‘मिस नेपाल बन्छु’ भन्ने बालिका हराएको यतिका वर्षपछि मनको एल्बम पल्टाएर हेर्दा स्मृतिले मन सरावरी भएकोमा मन यतिखेर भरंग भएको छ ।

त्यो बालिका खोइ कहाँ छुट्यो ? जसलाई मिस नेपालको ताज संसारको सबैभन्दा ठूलो ताजजस्तो लाग्थ्यो, जसलाई आफ्नो नमिलेको हाँसो र हाइटमा पनि मिलाएर आत्मविश्वासको उडान भर्न आउँथ्यो ।

यतिका वर्षपछि ती बालिकालाई अनायासै मैले गएको महिना गायिका समृद्धि राईको एक अन्तर्वार्तामा पो भेट्टाएँ । साथै भेट्टाएँ, मोडेल शिक्षा संग्रौलाको युट्युब भिडियोमा, जहाँ उनीहरूले बाल्यावस्थादेखि नै आफू मिस नेपाल हुन लालायित भएको आफ्नो कथा र अनुभव निर्धक्क सुनाएका छन् ।

यदि हाइटले साथ दिएको भए सम्भवतः मेरो नियति पनि समृद्धि र शिक्षाको जस्तै हुन्थ्यो होला । युवा उमेरको अधिकांश समय उनीहरूले जस्तै मैले पनि मिस नेपाल बन्छु भनेरै आफ्नो इच्छालाई मलजल गर्थें हुँला ! कसरी हिँड्ने, कसरी बोल्ने, कस्तो फेसन सेन्स राख्ने, कति खाने भन्नेलगायतका यावत् कुराहरू नै सायद मेरा चिन्ताका विषयहरू बन्थे होलान् !

धन्न ! मुस्किलले पाँच फिट पनि पुगनपुग मेरो हाइटले मलाई जोगायो ! र त म कहिल्यै मिस नेपालको ढोका ढकढकाउन गइनँ !

किनकि मलाई कलिलै उमेरमा थाहा भयो– म जे छु, अपुग छु । अपुरो छु ।

***

‘म असुन्दर छु,’ यो त्यही वाक्य हो । होइनहोइन, यो त्यही गह्रुङ्गो वाक्य हो, जुन अरूको मुखबाट सुन्दा तपाईं–हामी पचाउनै सक्दैनौँ । अझ ऐनाले नै भनिदियो भने त ! अहँ ! कल्पनै गर्न सकिँदैन !

‘म असुन्दर छु’ भन्ने लघुताभास लिएर हुर्किएको बच्चाको मनोदशा कस्तो हुन्छ भन्ने कुराको हेक्का हामी कति नै पो राख्छौँ र ? ऊभित्र कस्तो ‘सेल्फ स्टिम’ हुर्किँदै गर्छ होला ? सोच्ने फुर्सदै हुँदैन सायद !

दुई वर्षअघिको कुरा हो, भाइले चलाउँदै आएको बिग्रिएको मोबाइल कामविशेषले चलाउँदै गर्दा एकाएक युट्युबको भित्तामा एकै किसिमका ‘रिकम्मेन्डेड’ भिडियो देखेपछि छाँगाबाट खसेजस्तै भएँ म ।

युट्युब स्क्रोल गर्दै गर्दा थाहा भयो, १२ वर्षको मेरो भाइले अधिकांश समय हेर्ने गरेको भिडियो रहेछ– ‘हाउ टु रिमुभ डार्क सर्कल फ्रम योर आइज’ ! अर्थात् आँखाको डार्क सर्कल कसरी हटाउने !

म झल्याँस्स भएँ !

‘आँखा हेर् त, कस्तो गडेको !’ कहिलेकाहीँ गाली गर्नुपर्दा हामी भाइलाई यसो भनेर चिढाउँथ्यौँ । र, ऊ रिसाउँदै हामीसँग तर्किने गर्थ्यो ।

यस प्रकारको हाम्रो संवेदनाविहीन प्रतिक्रियाले बालसुलभ मनलाई यतिसम्म बिझाएको रहेछ कि यति कलिलै उमेरमा मेरो भाइले युट्युबमा डार्क सर्कल हटाउने उपाय खोज्न थालेछ ! यति सानो उमेरमा नै मेरो भाइले आफ्नै आँखामुनिको छालासँग असन्तुष्ट हुन थालेछ !

मलाई निकै लज्जाबोध भयो ।

त्यसपछि म र मेरी बहिनीले प्रण गर्‍यौ, भाइलाई कहिले पनि उसको आँखा, छालाको रङलाई इंगित गरेर गाली नगर्ने ! बरु उसका सशक्त कुराहरू सुनाएर त्यसयता हौसला दिन थाल्यौँ ।

भाइलाई त्यसरी हौसला दिँदै गर्दा मलाई लाग्यो, मैले भाइलाई होइन, आफैँले आफैँलाई हौसला दिइरहेको हो !

त्यस दिन बल्ल मलाई महसुस भयो, जानीनजानी हामीले हाम्रा बालबच्चालाई कस्तो खालको सौन्दर्यचेत वितरण गर्दै आएका रहेछौँ त ? जानीनजानी हामी कस्तो सौन्दर्यचेत लिएर हुर्किएका छौँ वा भनौँ हुर्काइएका छौँ !

खुट्टाको लम्बाइले सुन्दरतालाई परिभाषित गर्दैन भनेर बुझ्न कति घोषित/अघोषित ‘बुलिङ’ सहन्छ होला एक जना मान्छेले ?

आफ्नो शरीरलाई, रूपलाई म जे छु, जस्तो छु, त्यही ठीक छु भन्ने कुरा स्विकार्न कतिऔँपटक कतिऔँ तहमा अवहेलना र हेय भावसँग पौंठेजोरी खेल्छ होला एक जना मान्छेले !

किनकि हामीलाई थाहा दिइएको छ– तिमी जे छौ, अपुग छौ । अपुरो छौ ।

***

एकाबिहानै उठेर ऐनामा आफूलाई असुन्दर करार गरेर दिनको सुरुआत गर्नुपरेको दिन कस्तो हुन्छ ?

संसारमा त्यस्ता लाखौँ, करोडौं सम्भवतः अर्बौं मानिस छन्, जसले एक दिन मात्रै होइन, प्रत्येक दिन आफैंले आफैंलाई असुन्दर नामको परिचयपत्र दिएर बिताउने गर्छन् । अझ अश्वेतहरू त हजारौँ वर्षदेखि यस्तै नियति भोग्न बाध्य छन् । तिनैमध्येकी एक हुन्, जर्जियाकी चार वर्षीया अश्वेत एरियोना ! एरियोनासँगको मेरो पहिलो चिनजान फेसबुकको भित्तामा भएको हो । आक्कलझुक्कल फेसबुकको भिडियो क्लिपमा झुल्किने गर्छिन् उनी ।

भिडियोमा स्थानीय र्‍यापर साब्रिया रेडमन्डले एरियोनाको कपाल कोरिदिँदै इन्स्टाग्राममा लाइभ आएकी हुन्छिन् । लाइभ भिडियोमा आफ्नै अनुहार हेरेर एकाएक विरक्त भएकी एरियोनाले विस्मृत भावमा अनायासै भन्न पुग्छिन्– ‘आई एम सो अग्ली !’ अर्थात् म त एकदमै कुरूप छु !’

चार वर्षकी बालिकाको मुखबाट यो अप्रत्याशित वाक्य सुनेर कपाल कोरिदिँदै गरेकी साब्रिया एकाएक स्तब्ध हुन्छिन् । एरियोना उनलाई ट्वाल्ल परेर यसरी हेर्छिन्, मानौँ उनले बोलेको कुरामा आश्चर्य मान्नुपर्ने केही कुरै थिएन । हतास भएकी साब्रिया एरियोनालाई सम्झाउन थाल्छिन्, ‘के भनेको त्यस्तो ? त्यस्तो पनि भन्ने हो ? तिमी जे छौ, सुन्दर छौ ! ब्लयाक इज ब्युटिफुल ! तिमी डार्क चकलेटजस्तै सुन्दर छौ ।’

साब्रियाको वाक्यलाई पत्याउँलाझैँ गरेर एकोहोरो हेरिरहेकी एरियोना साब्रियाको कुराले झन् ड्वाँड्वाँ रुन पो थाल्छिन् । एरियोनालाई फकाइफुल्याइ गर्न साब्रियालाई निकै बेर लाग्छ । साब्रिया भन्छिन्, ‘भोलिपर्सि ठूलो भएपछि तिमीलाई जे हुनु छ त्यो हुन केही कुराले पनि तिमीलाई रोक्ने छैन । तिम्रो छालाले तिमीलाई रोक्ने छैन । तिमी सुन्दर छौ प्रिय ।’

भाषा पनि राम्ररी बुझ्ने बेला नभएको चार वर्षकी बालिकाले कति सहजै कसले बुझाएर बुझेकी होला, आफू असुन्दर छु भन्ने कुरा !

थाहा छैन, कतिऔँ वर्षदेखि पत्रपत्रिका, मिडिया, ‘फेयरी टेल’ का कथाका किताबमा छापिएका र व्यवहारमा छोपिएका मानक सुन्दरताको असर हो यो ?

सुन्दरताको समाजशास्त्र केलाउने हो भने सम्भवतः सजिलै बुझ्न सकिएला !

जब चार वर्षकी बालिकाले भाषा बुझ्नुभन्दा अगावै आफू असुन्दर छु भनेर बुझ्छ भने समस्या सम्भवतः हामीभित्रै छ ।

जब प्राथमिक कक्षाको किताबमा सुन्दर र कुरूप जनाउन रङभेदी चित्र छापिन्छ भने सम्भवतः समस्या हाम्रो सौन्दर्यचेतमै छ ।

जब सशक्तीकरणको नाममा सञ्चालन भएका मिस नेपालजस्ता पेजेन्टमा शरीरमा दाग धब्बा भएकै कारण तपाईं भाग लिन पाउनुहुन्न भने सम्भवतः समस्या हाम्रै वरिपरि छ ।

वास्तवमा सुन्दर हुनु भनेको के हो ?

आज विश्वमा शिक्षामा भन्दा कैयौँ गुणा बढी मानिस सुन्दर देखिनमा खर्च गर्छन् भन्ने थाहा पाउँदा सुरुमा त पत्यारै नलाग्न सक्छ ! सौन्दर्य प्रशाधनमा मात्रै वार्षिक खर्बौं खर्च हुने विश्वव्यापी अनुमानले नै हाम्रो बजार कति आवरणमुखी छ भन्ने कुराको राम्रो दृष्टान्त दिन्छ ।

संसारमा एउटा यस्तो देश पनि छ– भेनेजुयला, जहाँ अधिकांश युवती किशोरवयमा पुग्दानपुग्दै प्रतियोगितामा विजय हुनकै लागि तालिमप्राप्त बन्छन् र सुन्दर देखिन मिलेसम्मका अंग–प्रत्यङ्गको कस्मेटिक सर्जरी गर्ने गराउँछन् ।

अरू त अरू, सुन्दरताको परिभाषाभित्र अटाउन हामी जुनसुकै हर्कतसम्म पनि जान सक्छौँ भन्ने कुरा सामाजिक सञ्जालले पनि मज्जाले बुझेको छ । हामीलाई आफैँसँग बडो असन्तुष्ट हुन सिकाएको छ सामाजिक सञ्जालले !

उसले हामीसँग नबोलीकनै भनिरहेको छ– तिम्रो मुहारमा तेज छैन । फोटोको ब्राइटनेस बढाऊ ।

तिम्रो अनुहारमा ज–लाइन देखिँदैन । अनुहारको साइज घटाऊ । आँखाको आकार बढाऊ । नाकलाई धारिलो बनाऊ । शरीर पातलो बनाऊ । छाती चौडा बनाऊ । आदि, इत्यादि ।

समग्रमा उसले भनिरहेको छ– तिमी अपूरो छौ । अपुग छौ ।

र, यो रिक्तता पूरा गर्न उसले तथाकथित मापदण्डहरूमा हामीलाई अट्ने गरी त्यहीअनुसारका ‘फिल्टर’ उपलब्ध गराइदिएको छ ।

आज संसारभर हजारौं त्यस्ता एपहरू सञ्चालनमा छन्, जहाँ मानिसहरू पैसा तिरेरै आफ्नो तस्बिर सम्पादन गराउँछन् र प्रयोग गर्छन् । सुन्दरताको अर्थ राजनीति वास्तवमै भयानक छ ।

यतिखेर म ती साथीहरूलाई सम्झिरहेछु, जसलाई आफू असुन्दर छु भन्ने लघुताभासले फेसबुकमा प्रोफाइल पिक्चर राख्न पनि हिचकिचावट लाग्छ !

यतिखेर म ती साथीहरूलाई सम्झिरहेछु, जसलाई आफू सुन्दर छु भन्ने बुझाउन आँखाको परेला बढ्छ कि भन्ने अभिलाषाले प्रत्येक हप्ता आफ्नो परेला काट्ने गर्छन् !

त्यसो त मिस नेपाल बन्छु भन्ने बालिका हराएकोमा कुनै दुखेसो मनमा बाँकी छैन । ब्युटी पेजेन्टसँग पनि मलाई खास कुनै गुनासो छैन । यो मञ्चलाई प्रयोग गरेर संसारभर थुप्रै सामाजिक कार्यहरू नभएका होइनन् । तर, यस्ता ब्युटी पेजेन्टले जेजस्तो सौन्दर्यचेत बिक्री गरिरहेछन्, त्योसँग भने मेरो ठूलो आपत्ति छ ।

नपत्याए, यस वर्ष हालै सम्पन्न भइरहेको मिस नेपालको अडिसन हेरे पुग्छ, जहाँ ० दशमलव ३ सेन्टिमिटर हाइट नपुगेर केही युवती मिस नेपालमा भाग लिन नपाउने भएका छन् ।

र यो त्यही मञ्च हो जहाँ भन्ने गरिन्छ :

– सुन्दरता हरेक आकारप्रकारमा आउँछन् ।

– सुन्दरता हेर्ने मान्छेको आँखामा भर पर्छ ।

– सुन्दरता भनेको भित्री सौन्दर्य हो ! आदि, इत्यादि ।

शरीरलाई नापतौल गरेर मात्रै प्रतिस्पर्धामा उतार्ने मञ्चमा यस्तो दिव्य वाणीले हाम्रो विरोधाभास सौन्दर्यचेतको झंकार दिएको छ । यसले सशक्तीकरणको नाममा छद्म सशक्तीकरण गरिरहेको छ ।

खुसीको कुरा, हालै मात्र सो कुरालाई मनन गरेर मिस युनिभर्स नेपालले आफ्ना मापदण्डहरू फेरबदल गरिसकेको छ । जस्तो रूपरेखा भएका युवतीहरू मात्रै नभएर ट्रान्स महिलाहरू पनि अब मिस युनिभर्स नेपालमा भाग लिन पाउने भएका छन् । अब उसले शरीरलाई नापतौल नगर्ने प्रतिबद्धता जनाएको छ ।

मिस युनिभर्स नेपालले त आफ्नो मापदण्ड बदलेको छ । तर, के यति सजिलै वर्षौँदेखि लादिएको हाम्रो मनको मापदण्ड परिवर्तन गर्न सकिएला ?

यस्तो लाग्छ, हामीले बाँचिरहेको यो सम्पूर्ण जीवन नै एउटा अघोषित ब्युटी पेजेन्ट हो, जहाँ प्रत्येक पाइलैपाइलामा हामीलाई कसै न कसैले नापतौल गरिरहेको छ ! हामी पनि कसै न कसैलाई नापतौल नै गरिरहेकै छौँ । सुन्दर र असुन्दरको तराजुमा राखी लेखाजोखा गरिरहेका छौँ । कतै गायिका समृद्धि राईले भनेजस्तै केही व्यापारिक मानिसहरूको भीडले नै हामीलाई सुन्दर करार गरिदिनुपर्ने हो त ?

आउनुस्, एकपटक आफ्नै मनलाई साक्षी राखेर आफैँलाई सोधी हेरौँ, के तपाईं सुन्दर हुनुहुन्छ ?

प्रकाशित : पुस ११, २०७७ १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×