कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चिनिमा : ज्ञानकी आदिम नेतृ

मुन्दुम मौखिक ज्ञान परम्परामा आधारित बौद्धिक सम्पदा भए पनि केही दशकअघि नै इमानसिं चेम्जोङको संकलनमा लिम्बू मुन्धुम प्रकाशन भएको थियो । त्यसयता राई भाषाका मुन्दुम पनि प्रकाशन सुरू भए । त्यसमध्ये पछिल्लो चरणमा प्रकाशित ‘मुन्दुम : सृष्टिकथा’ (२०७१) लगायत केही किताबमा ज्ञानकी आदिम नेतृ चिनिमासम्बन्धी रिसिया (श्लोक) संकलित छन्, जसबारे यो लेखमा अझ विस्तृत खोजीसहित छलफल गरिएको छ ।
भोगीराज चाम्लिङ

मलाई सुरुसुरुमा लाग्थ्यो- मुन्दुम भनेको धामीहरूको रातो भाले खाने मन्त्र हो । यो धारणा मैले लामो समयसम्म आफूमा जोगाएर राखेँ । तर, यो मेरो अवधारणा त्यतिखेर भत्कियो जब मैले इमानसिंह चेम्जोङ र बैरागी काइँलाले सङ्कलन/सम्पादन गरेको लिम्बू मुन्धुमका पुस्तक पढेँ ।

चिनिमा : ज्ञानकी आदिम नेतृ

मृतात्मालाई बाटो लगाउन, पितृमा राख्न या घरको शान्ति–सुरक्षाका लागि धामीले मुन्दुम गाउँदै चिन्ता गर्दाको अवस्थाको चित्र । चित्र : अर्जुन खालिङ

किताब पढेपछि मलाई जिज्ञासा पैदा भयो– लिम्बूको ‘मुन्धुम’ मा यस्तो हुँदो रछ, राईको ‘मुन्दुम’ मा चाहिँ के हुँदो रछ ? यही जिज्ञासाले म किरात राईहरूको मुन्दुम सङ्कलन र अध्ययनमा आकर्षित भएँ । अहिले त लगभग मुन्दुमको नशा लागेजस्तै भएको छु ।

अहिले पो थाहा भयो— मुन्दुम खासमा किराती पुर्खाहरूको प्राग्ऐतिहासिक यात्राको कथा हो ∕ उनीहरूका अनेकौं तीतामीठा अनुभव, सिकेका ज्ञान र दृष्टिकोणको मौखिक अभिलेखीकरण हो । अनि हो, समाज सञ्चालनार्थ विकास गरेका सामाजिक–सांस्कृतिक नियमहरूको भण्डारण । अहिले पो थाहा भयो– खासमा धामी भनेको त किराती समाजका प्रथम बौद्धिक हुन् । उनीहरू ज्ञानका व्याख्याता र पुस्ता हस्तान्तरक हुन् । र, धामीहरूले पनि श्रद्धापूर्वक मुन्दुममा उद्धृत गर्ने एउटा नाम छ— चिनिमा । चिनिमा जो किरात राई समाजका लागि ज्ञानकी आदिम नेतृ हुन् ।

यो साउन–भदौ महिनाभरि किरात राई समाजलाई पितृ र प्रकृतिलाई नयाँ अन्न चढाइने छौवा, ढ्वाङ्कुमो इत्यादि संस्कारले खुबै सक्रिय बनाउँछ । प्रकृतिलाई अन्न उब्जाइदिएकोमा धन्यवाद दिइन्छ । पितृले अन्न फलाउन सिकाएकोमा आभार प्रकट गर्दै नयाँ अन्न चढाइन्छ । नयाँ अदुवा चढाइन्छ । अनेकथरि कन्दमूल र सिकारहरू चढाइन्छ । यही मेसोमा आदिम मातृ चिनिमाको नाम पुकार हुने गर्छ ।

मुन्दुमअनुसार, उहिले आकाश भत्किझर्‍यो र धरती बन्यो (राति ताराहरू खसेको देखेर यस्तो सोचे होलान्) । फेरि त्यो धरती च्यातियो र खाल्डो भयो । धरतीले पानी उब्जायो, हावा उब्जायो, रुखपात उब्जायो । खाल्डोमा पानी जमेर तलाऊ भयो, जहाँ लेउ उब्ज्यो । लेउ बढ्दै, कक्रिँदै गयो । कक्रिएको लेउमाथि निगुरो र दुवो उब्जियो । दुवो पाँजिएर तलाउबाट बाहिर भूमि टेकेर झ्याँगियो । निगुरोचाहिँ पानीमै बस्यो र आकाशतर्फ झ्यांगियो । अनि उँधो पानीभित्र जरा झार्‍यो र बूढो भएर मर्‍यो । मरेको निगुरोको फेदमा धमिरा उब्जियो । धमिराले फेदबाट जरा पहिल्याएर खाँदै जाँदा भूमि (माटो) भेट्टायो । धमिराले भूमि खाँदै पानीमाथि माटोको देवल उठायो (सायद धमिराका ठूल्ठूला देवल देखेर यस्तो सोचे होलान्) । त्यसलाई माथिबाट घामको तापले ततायो, तलबाट चिसो पानीले भिजायो । तातो–चिसो भेट भएको ठाउँमा प्रकृतिले नाभी बनायो । नाभिमा चिनिमा उब्जियो । नाभि फुट्यो, देवल उघ्य्रो र माता चिनिमा देखियो । भूमि–प्रकृतिले हावा चलायो । हावाले भेट्नासाथ चिनिमाको सास लाग्यो (जितराज राई, मुन्दुम पाण्डुलिपि) । यसरी पृथ्वीमा पहिलो मानव सृष्टि भयो ।

मानव उत्पत्तिसम्बन्धी मुन्दुममा वर्णित कथामध्ये यो एउटा हो । वैज्ञानिक खोजीले मानव उत्पत्तिसम्बन्धी खास निचोड दिइसकेको अवस्थामा यो कथा समातेर धेरै दाबी गरिरहनु जरुरी छैन । तर, यो कथाको महत्त्व केमा छ भने किरातीहरूमा समग्र सृष्टिलाई कुनै अलौकिक परिघटनाभन्दा पनि भौतिक प्रक्रियाको उपज मान्ने दृष्टिकोण पाइन्छ । त्यसैले उनीहरूको चिन्तन प्राकृतिक भौतिकवाद हो । निश्चय नै उहिलेउहिले यसरी सोच्नु महत्त्वपूर्ण हो ।

***

किरात राई समाजमा ज्ञानको नेतृत्व गर्ने कोही छन् कि छैनन् भन्ने विषयमा किरात राई प्रज्ञा परिषद्को आयोजनामा थुप्रै चरण अन्तर्क्रिया भएको थियो । त्यो अन्तर्क्रियाले निचोड दिएको थियो—चिनिमा ज्ञानकी आदिम नेतृ हुन् ।

मेरो अहिलेको ‘हाइपोथेसिस’ (आकलन) के हो भने सबै भाषी राईहरूमा चिनिमाको अवधारणा पाइन्छ । केही सङ्कलित मुन्दुम, चिनिमासम्बन्धी अन्तर्क्रियामा प्राप्त जानकारी र सङ्कलित मुन्दुमका आधारमा यस्तो आकलन गरिएको हो । मैले नै २०७५ सालमा सोलुखुम्बु जिल्लाको सोताङ–गौरीटारका नाछिरिङ धामी भोटुधन राईबाट सङ्कलन गरेको मुन्दुममा प्रस्टसँग चिनिमाको उल्लेख छ ।

अन्तर्क्रियामा विष्णुभक्त राईले पनि नाछिरिङ राईमा चिनिमासम्बन्धी अवधारणा रहेको बताएका थिए । मैले नै २०७६ सालमा सोलुखुम्बुको मुक्लीबाट सरेर उदयपुर जिल्लाको कटारी नगरपालिकामा बसोबास गरिरहनुभएको थुलुङ धामी (सेलेमी) तुलबहादुर राई (वर्ष ८४) ले ‘मामाबुङ चिनिबुङ’ भनेर सम्बोधन गर्नुभएको मुन्दुम सङ्कलन गरेको छु । उहाँकै शब्दमा भन्दा चिनिबुङ भनेको ‘आमा पनि उही हो, बाबु पनि उही हो ।’ त्यस्तै मैले नै चाम्लिङ धामीहरूबाट पनि मामा (आमा) चिनिमा र मामा चिनिबुङ भनेर सम्बोधन गरेको मुन्दुम सङ्कलन गरेको छु । मुन्दुमी भाषामा आदरपूर्वक सम्बोधन गर्नुपर्दा ‘बुङ’ शब्द प्रयोग हुन्छ ।

बुद्धिकुमार ह्वङ्गुका अनुसार, बाहिङहरूले सेग्रो गर्दा मुन्दुममा चुनिमो भनेर रिसिया गायन गर्छन् । बाहिङहरू जन्म दिने आमालाई चुनिमो भन्छन् । बुद्धिकुमार ह्वङ्गुले नै सङ्कलन गरेर प्रकाशन गर्नुभएको मुन्दुममा पनि ‘मामा चुनिमो’ (किरात बाहिङ–बायुङ तुम्लो, २०६९, पृष्ठ १५६) भनेर उल्लेख छ ।

खालिङ मुन्दुममा ‘म्याम्या च्युन्यु’ (बुद्धिकिरण खालिङ, ख्याल् तम्र : खालिङ मुन्धुम, पृष्ठ १६) भनेर सम्बोधन गरिन्छ । खालिङ संस्कृतिबारे मानवशास्त्रीय अध्ययन गरिरहेका जंग राईका अनुसार खालिङ राईमा ‘अ ऽऽऽ म्यम्य च्युन्यु बव कुचेवी गो’ अर्थात् ‘आमा चुन्युको काखमा पो हामी यसरी बोल्दै छौं, खाँदै छौं’ भनेर सम्बोधन गरिन्छ (फेसबुक संवाद, २०७५ असोज ७) । चिनिमासम्बन्धी अन्तर्क्रियामा भीम राईले बताएअनुसार, दुमीहरू राईहरूले पनि मुन्दुममा चुनुमा, चुनुम्मा भनेर सम्बोधन गर्छन् । त्यस्तै कुलुङ राईहरूमा चुनुमा भनेको ‘आफूभन्दा माथिको महिलालाई आदरपूर्वक सम्बोधन/प्रयोग गर्ने शब्द’ हो (भूपध्वज थोमरोस्, कुलु–नेपाली रिङबउ, २०६२, पृष्ठ ४८) ।

***

किरात राईहरूका लागि चिनिमा आमा पनि हुन् र गुरुआमा पनि । आफूले थुप्रै कुरा सिकेर सिकाएका कारण नै आदिम मातृ चिनिमालाई ‘चिनिमा’ भनिएको हो । किरात राई भाषामा सिक्नु, सिकाउनुजस्ता ज्ञानसँग सम्बन्धित शब्दहरूबाट पनि यही निचोड निस्किन्छ ।

जस्तो कि कोयू राई भाषामा सिकाउनुलाई ‘चेन्मु’ भनिन्छ ।

जस्तो कि खालिङ राई भाषामा सिक्नुलाई ‘चेइसिने’ र सिकाउनुलाई ‘चेइन्या’ भनिन्छ ।

जस्तो कि चाम्लिङ राई भाषामा सिक्नु, सिकाउनुलाई ‘चिन्मा, चिःमा, चैमा’ भनिन्छ ।

जस्तो कि दुमी राई भाषामा थाहा पाउनुलाई ‘चुनो’ भनिन्छ । (नेत्रमणि राई, दुमी–नेपाली–अङ्ग्रेजी शब्दकोश, २०६८, पृष्ठ ६३, ६५) ।

जस्तो कि वाम्बुले राई भाषामा एउटा उखान छ ‘चिमा ना पामा’ अर्थात् जान्नु न तान्नु, बुझ्नु न सुझ्नु (अविनाथ राई, वाम्बुले राई शब्दकोश, २०५७, पृष्ठ १०४) । ‘चिमा’ भनेको जान्नु, बुझ्नु हो वाम्बुले राई भाषामा । त्यस्तै सिकाउनु, प्रशिक्षण दिनुलाई ‘चेईचाम’ भनिन्छ !

जस्तो कि थुलुङ राई भाषामा जान्नु–बुझ्नुलाई चमु ∕ सिकाउनु, तालिम दिनुलाई चेमु भनिन्छ (पाँचवीर थुलुङ र अन्य, थुलु–नेपाली लेम्वाखाजेप : थुलुङ–नेपाली शब्दकोश, २०६७, पृष्ठ ५१, ५६, ५७) ।

जस्तो कि बान्तावा राई भाषामा सिक्नुलाई ‘चिन्माचिन्’ भनिन्छ ∕ (सहरमान देशामुन माङ्फाङ, वान्तावा भाषा शब्द संग्रह, २०७२, पृष्ठ ११४–११५) ।

जस्तो कि बाहिङ राई भाषामा सिक्नुलाई ‘चेँस्सो’ र शिक्षकलाई ‘चेना’ भनिन्छ ।

जस्तो कि याम्फू राई भाषामा सिक्नु र सिकाउनुलाई ‘चिन्मा’ भनिन्छ ।

चिनिमासम्बन्धी अवधारणा सबै भाषी किरात राईहरूमा छ भन्ने बलियो भाषिक तथ्य हुन् यी । तर, थप खोजी भने जरुर आवश्यक छ । भाषाशास्त्री डा. तारामणि राईका अनुसार, सिक्नु–सिकाउनुसँग सम्बन्धित यी थुप्रै शब्दहरूको मूल अर्थात् आद्य (प्रोटो) रूप ‘चिन्मा’ हो जुन अहिले बान्तावा र याम्फू भाषामा प्रयोग भइरहेको छ । ‘चिन्मा’ शब्दमा बीचको ‘न्’ मा स्वर वर्ण ‘इ’ थपिएर चिनिमा बनेको हो । यही प्रक्रियाबाट कुलुङ भाषामा ‘चुनुमा’ भयो । दुमी र बाहिङमा चुनिमो भयो । खालिङमा चाहिँ च्युन्यु भयो । चाम्लिङ र थुलुङमा चिनिबुङ पनि भयो । यसरी भाषिक भेदका कारण निकटत्तम भिन्नता निर्माण भए पनि चिनिमा नाम सिक्नु, जान्नु र सिकाउनु जस्ता ज्ञानसँग सम्बन्धित छ । यस अर्थमा चिनिमा किरात राईहरूका लागि ज्ञानकी आदिम नेतृ हुन् ।

त्यसो भए चिनिमाले किरातीहरूलाई हस्तान्तरण गरेको ज्ञानचाहिँ के हो त ?

***

मैले आजसम्म थाहा पाएअनुसार, किरात राईहरू चार तरिकाले ज्ञान प्राप्त हुन्छ भन्छन्— हेरेर, सुनेर, सिकेर र गरेर । चिनिमाले यही चार तरिकाले ज्ञान आर्जन गरेको व्याख्या मुन्दुममा पाइन्छ ।

धामीहरूले आफ्ना गुरुहरूको पुकार गर्दा सुरुमा कोकुमा–पिरिमा (बजु–बराजुनी) को पुकार गर्छन् । यस आधारमा मुन्दुमको रचना पनि महिलाबाटै भयो कि भन्न सकिन्छ । मुन्दुमी मिथकमा त चिनिमाले नै मुन्दुम गर्न सिकाइन् भन्ने प्रस्टै उल्लेख भएको पाइन्छ । मुन्दुमअनुसार, चिनिमाको ज्ञानको प्रथम स्रोतचाहिँ प्रकृति र पशुपन्छी हो । चिनिमाका गुरुहरू चरा स्वरूपका कोकुमा–पिरिमा (बजु–बराजुनी), प्रकृतिका रूपमा हैखामा (धरती) र नियामा (आदिम थलो) हुन् । यो अवधारणालाई एडवार्ड बी. टाइलरले ‘प्रिमिटिब कल्चर’ पुस्तकमा जीवात्मवाद (एनिमिजम्) भनेर नामकरण गरेका छन् । यो आदिम अवधारणामा सजीव–निर्जीव प्रकृति, प्राकृतिक वस्तु र पशुपन्छीमा आत्मा हुन्छ भन्ने मान्यता राख्छ र तिनलाई मानव समान या मानव स्वरूप मानेर मानवीकरण गर्छ ।

के पनि भनिन्छ भने माता चिनिमाले आगोको प्रयोग गर्न जानिन् । मुन्दुमअनुसार, उनी बसेको ठाउँमा डाला जोडिएका रूख मरे । हावाले ती रूखहरू हल्लाउँदा डाला घोटिएर आगोको फिलिङ्गो निस्कियो र डढेलो लाग्यो । चिनिमा आगोको नजिक गइन् तर तातो भएपछि डराएर पछि हटिन् । फेरि आगो ताप्न मन भएर बलेको आगो पछ्याइन् र आगो प्रयोग गर्न सिकिन् । मुन्दुमअनुसार, चिनिमाले सुरुमा जंगली अन्न सायुङ्मा (सामा) टिपेर खाइन् । उनले कालीकागुनी पनि यसरी नै खाइन् । असर नगरेपछि खेती गर्न सुरु गरिन् । यसको प्रभावस्वरूप किरात राईहरूमा सायुङ्मा र कागुनीलाई पितृलाई चढाउने पवित्र अन्नका रूपमा लिइन्छ । धेरैले मुन्दुममा मात्रै उल्लेख गर्ने यी अन्न वाम्बुले राईहरूले अहिले पनि ढ्वाङ्कुमो संस्कार गर्दा प्रयोग गरिरहेकै छन् ।

मुन्दुमअनुसार, माता चिनिमाले चितुको जरा पिसेर कालिकागुनीको पिठोमा मुछेर मर्चा (खाबै) बनाइन् । मर्चाबाट जाँड बनाइन् । शिवराज राई (खोटाङ) ले गायन गर्ने मुन्दुमको रिसियामा यसो भनिन्छ– ‘हय नाइम्मा–चिनिमावा/हय खामाहों लिस्यु कुन्योउ/खामावा चादिम् लिस्यु कुन्योउ’ अर्थात् ‘नाइम्मा–चिनिमाले मर्चा बनाए है/मर्चाले जाँड बनियो है’ (मुन्दुम : सृष्टिकथा, पृष्ठ ७९) । त्यस्तै कम्पध्वज राई (खोटाङ) ले गायन गर्ने मुन्दुमकै रिसियामा यसो पनि भनिन्छ– ‘नियामाडा धिरिचामो खामाटो लिसानो, मामा चिनिमावा लिस्युन खामाटोवा चिस्युको’ अर्थात् ‘नियामा भन्ने ठाउँमा सायुङ्माको मर्चा बनियो, माता चिनिमाले मर्चा प्रयोग गरेर (जाँड) बनाइन् ।’ स्वाभाविकै हो कि अन्न बटुल्ने, खेती गर्ने महिलाले नै खानेकुरा पनि बनाइन् । र, त्यही क्रममा जाँड आविष्कार भयो । जाँड पनि मानव जीवनका लागि सानो आविष्कार होइन ।

मुन्दुमअनुसार, चिनिमाले पत्करहरू जम्मा गरेर बस्ने ठाउँ बनाइन् । कपास छरेर तान लगाएर कपडा तयार गर्न सुरु गरिन् । उनले नै चिन्डो सच्याएर प्रयोग गर्न सुरु गरिन् । सुरुमा चिन्डो पानी भर्ने भाँडोका रूपमा प्रयोग हुन्थ्यो, अहिले संस्कारको अभिन्न अंग बन्न पुगेको छ र किरात राईहरूको सांस्कृतिक प्रतीक पनि । फेरि पनि भनौं, त्यसैले त माता चिनिमा ज्ञानकी आदिम नेतृ हुन् ।

प्रकाशित : भाद्र २७, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?