बोल्न कुनै ‘वादी’ हुनु पर्दैन- कोसेली - कान्तिपुर समाचार

बोल्न कुनै ‘वादी’ हुनु पर्दैन

समाजमा केही महिला ‘ एक्कै लुम भए पनि पोते लगाऊ न’ वा ‘ एक्कै धर्को भए पनि सिन्दूर लगाऊ न’ भन्ने आग्रहबाट दिक्क भएका छन् भने केही महिला शारीरिक रुपमा महिलासँगै आकर्षित भएको कुरा व्यक्त गर्न नपाएर छटपटाइरहेका छन् ।
नारायणी देवकोटा

साउन पहिलो साता सोफिया थापाले गाएको ‘तीजमा हुने विभेदलाई बहिष्कार गरौं’ भन्ने आशयको गीत हिन्दु अतिवादीका धम्कीका कारण युट्युबबाट हटाइँदै गर्दा श्रीमती मारेर जन्मकैद भुक्तान गरिरहेका एक अपराधी लोकतन्त्रको योद्धाको जस्तो आत्मविश्वासका साथ हात हल्लाउँदै जेलबाट बाहिरिँदै थिए ।

लगत्तै ‘राम्री भएको घमण्ड गरेको’ आरोप लगाउँदै पवित्रा कार्कीलाई एक पुरुषले अनुहारमा एसिड छ्यापे । त्यसैबेला कसैको नाम उल्लेख नगरी आफू यौन दुर्व्यवहारमा परेको भनाइ सार्वजनिक गरेकी एक नायिकामाथि ‘शक्तिशाली’ नायक–निर्माता क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मुद्दा दायर गर्दै थिए ।

यस्ता घटना सार्वजनिक भइरहँदा मानिसहरू फलानो विषयमा महिलावादी बोले कि बोलेनन् ? फलानो विषयमा मात्रै किन बोले ? कुन विषयमा किन बोले, कुन विषयमा किन बोलेनन् ? के फन्टासी हो ? के रियालिटी हो ? कुनचाहिँ प्राथमिक हो ? कुनचाहिँ द्वितीयक हो ? भनेर सार्वजनिक बहसमा उत्रिरहन्छन् । के हरेकले हरेक विषयमा बोल्नु जरुरी छ ?

महिलाका रहर, अप्ठेरा, सपना अनि महिलामाथि भएका दुर्व्यवहार, शोषण र हिंसाको विरुद्धमा बोल्ने मानिसलाई महिलावादी करार गरिदिन्छन् केही पढे–लेखेका मानिसहरू । महिलावादी (नारीवादी) हुनु भनेको पुरुषका हरेक कदमको विरोध गर्नु र महिलाका जस्तासुकै कुरामा पनि आँखा चिम्लेर समर्थन गर्नु हो भन्ने मानक स्थापित छ । यस्तो नजरले घरमा श्रीमान्लाई बस्न—खान पनि नदिने र पारपाचुके पनि नगर्ने महिलालाई पनि र वर्षौंसम्म कैयौं विभेद एवं दमनका चाङमुनि पिसिएर बल्लबल्ल आफूले भोगेका विभेदबारे बोल्न साहस जुटाउने महिलालाई पनि एकसाथ महिलावादी देखिदिन्छ । यसरी देख्ने नजर पुरुषका मात्रै छैनन् । ‘महिलाको विषयमा महिला नै बोल्नुपर्छ’ भन्ने महिलाहरूको पंक्ति अझ अगाडि सर्छ ।

यस्तो पंक्तिमा रहेकाहरू नै फेरि सामाजिक सञ्जालमा ‘म यति पढेकी मान्छे, श्रीमान् मर्दा सती जान्छु’ भनेर लेखिदिन्छन् वा यसरी लेखेको कुरा सहमतिसहित सेयर गर्छन् । सती नै जान तयार भएपछि त छाउगोठमा बस्नु, बलात्कारमा पर्नु, एसिड छ्यापिनु, घरेलु हिंसाको सिकार हुनु ठाउँअनुसार अनौठो हुने नै भएन । र, श्रीमान्ले गरेको मानसिक हिंसालाई ‘ऊ डिप्रेसनमा परेको, ऊ त्यस्तै सन्की भएको, उसको बानी नै त्यस्तै (कचकचे, छुच्चो मुख, छाडा बोलिहाल्ने, कसैको शरीरमा हात लगाइहाल्ने) भएको’ आधारमा हिंसा नै नगनिने भयो ।

यो पंक्तिमा प्रसिद्ध छ, शेरा तामाङले नेपालको पूरै महिला आन्दोलनलाई लेबल लगाएर लेखेको ‘विकासे नारीवाद’ लेख । अहिले उक्त बहस ‘महिलामाथिको दुर्व्यवहार, हिंसा र शोषण पुँजीवादले गरेको छ र पितृसत्तालाई मुख्य शत्रु देख्नु फेन्टासी हो’ भन्नेमा पुगेको छ । तर, मानव समाजका पाँच प्रकारका संरचनात्मक विभेदमध्ये जात/वर्ण व्यवस्था, वर्ग व्यवस्था र लैंगिक विभेद विशेष छन् भनेर समाजशास्त्रमा अहिले आम रूपमा स्वीकार गरिएको छ ।

यस्ता विभेद कसैको जिन्दगीमा एक्लाएक्लै त कसैको जिन्दगीमा अन्तरसम्बन्धित भएर प्रकट भएका हुन्छन् । उदाहरणका लागि उच्च जात वा गोरा सामुदायिक धनी महिला, महिला भएकै कारण हिंसामा पर्छिन् भने त्यो विभेद लैंगिकताका आधारमा मात्रै हुने भयो । कुनै धनी दलित वा काला जातिकी महिला घरमा महिला भएकै कारण हिंसामा पर्छिन् र समाजमा दलित वा काली भएकै कारण विभेदमा पर्छिन् भने त्यो लैंगिकता र जातीय विभेद दुवै भयो । यदि अर्की महिला, जो दलित वा काला जातीय परिवारकी हुन् र गरिब पनि छिन् भने उनी महिला भएकै कारणले पनि, दलित भएका कारणले पनि र गरिब भएका कारणले पनि तीन तहको विभेदमा पर्ने अवस्था हुन्छ ।

यी तमाम विभेदसँग लड्न ठाउँ वा परिस्थितिअनुसार, फरक–फरक आन्दोलन, अभियान वा कार्यक्रम बन्ने गरेका छन् । जस्तै, केही वर्षअगाडि रातो टीका, रातो पहिरन अभियान सुरु भयो । उक्त अभियानसँग जोडिएको गीत ‘लाऊ चेली सिन्दूर लाऊ, निको पार हृदयको घाउ’ निकै चर्चित भयो । विशेषगरी हिन्दु धर्ममा विश्वास राख्ने ‘विधवा’ महिलाले रंगहीन जीवन बिताउनुपरेको आफ्नैजस्तो अवस्था भोगेका साथीहरू मिलेर सञ्चालन गरेको अभियान थियो त्यो । ठीक त्यति नै बेला हिन्दु परिवारमा हुर्केका कामकाजी (घर र कार्यालय दुवैमा काम गर्ने) महिलाहरूले सिन्दूर–चुरा–पोते कम लगाउन, साडी–चोलोभन्दा कुर्ता–सुरुवाल लगाउन र छोटो कपाल पाल्न थालेका थिए ।

त्यही समय काठमाडौंका सोही वर्गका कतिपय महिलाहरू सांस्कृतिक रूपमा महिलामाथि थोपरिएका बोझविरुद्ध ‘वुमन इन ब्ल्याक’ अभियान चलाएर हप्तामा एक दिन भए पनि कालो कपडा लगाउँदै थिए । समाजमा केही महिलाले आफ्नो नाक–कानमा भएका सुनका गहना धितो राखेर सानातिना व्यापार–व्यवसाय सुरुआत गर्दै गर्दा, नक्कली नै भए पनि आफ्ना परम्परागत गहनाहरूको संरक्षण गर्न जनजाति महिलाहरू सजिएर टुँडिखेलमा भेला हुँदै थिए ।

आज ७० भन्दा बढी देशका महिला गर्भपतन गर्न पाउनुपर्ने कानुनी अधिकारका लागि लडिरहेका छन् भने त्यस्तो कानुन भएका कतिपय देशका महिला गर्भपतनको अधिकारको दुरुपयोगका कारण शारीरिक हिंसा भोग्न बाध्य छन् । यौन बजारमा बेचिएर नारकीय जीवन गुजारेपछि उम्कन सफल महिलाहरू मानव बेचबिखनविरुद्ध काम गरिरहेका छन् भने कति महिला ‘यौन व्यापार आफ्नो रोजीरोटीको माध्यम भएको हुँदा यौनकर्मलाई कानुनी मान्यता दिइनुपर्छ’ भनेर पैरवी गरिरहेका छन् । यही समाजमा केही महिला ‘एक्कै लुम भए पनि पोते लगाऊ न’ वा ‘एक्कै धर्को भए पनि सिन्दूर लगाऊ न’ भन्ने आग्रहबाट दिक्क भएका छन् भने केही महिला शारीरिक रूपमा महिलासँगै आकर्षित भएको कुरा व्यक्त गर्न नपाएर छटपटाइरहेका छन् ।

यस्ता फरक–फरक अभियान किन सञ्चालन हुन्छन् भन्ने विषय आउँदा उक्त अभियानको नेतृत्वकर्ता को हो भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको जीवनदर्शन, उसले निर्माण गर्ने सामाजिक कार्यक्रम, अभियान, योजना वा नीतिहरू वस्तुगतभन्दा विषयगत बढी हुन्छन् । आफू बाँचेको जीवन, आफूले हासिल गरेको ज्ञान र बुझाइको दायरामा नै रहेर उसले काम गरेको हुन्छ, जसलाई हामी ‘स्व’ भन्ने गर्छौं । यसको उदाहरणमा पत्रपत्रिकामा बन्ने स्केचहरूलाई पनि लिन सकिन्छ, जहाँ नेतृत्वदायी पदको चित्रण गर्दा टोपी लगाएको पुरुष बनाइएको हुन्छ ।

स्केच बनाउनेले महिलालाई हेपेर त्यसो गरेका हुँदैनन्, बरु दैनिक जीवनमा देख्दादेख्दै उनीहरूको ‘स्व’ मा ‘पुरुष मात्रै नेतृत्वदायी पदमा हुन्छन्’ भन्ने छाप बसेका कारण त्यसो भएको हुन्छ । राजनीतिक नेतृत्वको मुखबाट निस्कने ‘चौरजहारी हत्या काण्ड दलितका कारण घटेको’, ‘बलात्कार र हत्या संसारभरि जहाँ पनि हुने’ वा ‘चेपाङ बस्तीमा जलेको घर नभएर छाप्रो र गुन्द्री मात्रै जलेको’ जस्ता अभिव्यक्ति पनि यसकै उदाहरण हुन् । मानिसले जति नै क्रान्तिकारी गफ गरे पनि उसको ‘स्व’ बेला–बेलामा छल्किएर निस्किहाल्छ ।

के गर्ने, के नगर्ने ?

असहयोगी सामाजिक संरचना (आर्थिक, सांस्कृतिक, कानुनी र राजनीति) का कारण धेरै महिला आफूले लिएका निर्णय तथा उठाएका मुद्दा फिर्ता लिन र राखिएको लक्ष्य छोडेर बीच बाटोमै अलमलिन बाध्य छन् । त्यसैले कुनै दिन कुनै महिलाको पीडामा ‘ऐया’ भनेबापत हरेक महिलामाथि भएको हिंसामा बोलिदिनैपर्ने, आन्दोलन गरिदिनैपर्ने बाध्यता कसैलाई छैन । कुनै पनि मानिस आफूलाई अप्ठेरो पर्दा बोल्न स्वतन्त्र छ । साथै अरूलाई अप्ठेरो पर्दा बोलिदिन वा कानुनअनुसार अगाडि बढ्न वा कानुन नै परिवर्तन गर्ने अभियान सञ्चालन गर्नसमेत स्वतन्त्र छ ।

तर, यसरी बोलेकै कारण संसारभरिका विभेदबारे जानकारी राखिदिनुपर्छ वा पुँजीवाद, समाजवादजस्ता अमूर्त अवधारणालाई धानिदिनुपर्छ भन्ने बाध्यता कसैलाई छैन । धानिदिनुपर्ने आग्रह वा अपेक्षा पनि महिला हिंसाकै रूप हुन्, चाहे त्यो आग्रह बौद्धिक वर्गले गरोस् वा अरू कसैले । त्यसैले, आफूलाई वा अरूलाई अप्ठेरो हुँदा सकेसम्म बोल्ने हो । नबोल्न पनि सकिन्छ । तर, यसरी बोल्नका लागि कुनै ‘वादी’ हुनु पर्दैन ।

प्रकाशित : भाद्र २०, २०७७ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

बोरोबुद्दुर : बिनाव्याख्या

बोरोबुद्दुरका स्तूप ठ्याक्कै नेपाली घण्टीका आकारमा कुँदिएका छन् । सीमापारिका घण्टी र नेपाली घण्टी बनोट मिल्दैनन्, ती फरक हुन्छन् । आजभोलि पुराना मन्दिरमा प्रशस्तै घण्टी देखिन्छन् ट्युनिङ नमिलेका र फलाम मिसाइएका ।
सौरभ

१. बोरोबुद्दुरको अर्थ के हो भन्ने अहिलेसम्म थाहा पाइएको छैन (नेट) । बोरोबुद्दुरको सोझो नेपाली अर्थ हुन्छ— बडाबुद्ध । बोरोबुद्दुर इन्डोनेसियास्थित एक बौद्ध तीर्थस्थल हो । यहाँ निर्मित छन् बौद्ध चैत्यहरू । आयाताकार ठूलो छ ।

२. बोरोबुद्दुरका चार कुनामा मकरधारा छन् । मकरधाराको उत्पत्ति नेपालमा भएको हो । (हेरे हुन्छ- नलेखिएको एउटा लेखोट –असंगति ।)

३. बोरोबुद्दुरमा नेपालका मन्दिरहरूमा हुनेजस्तै दिक्पाल छन् । दिक्पालहरू प्रायः सिंहरूपी हुन्छन् । तिनमा एउटा सिंह हुन्छ, एउटा सिंहिनी ।

४. बोरोबुद्दुर नेपालको मण्डला शैलीमा निर्मित छ । मण्डला शैलीको सबैभन्दा राम्रो नमुना बौद्धस्थित स्तूपा हो ।

५. बोरोबुद्दुर २५ सय स्क्वायर मिटर आयातको छ, जसमा एक वर्गमिटर बराबर चार मानिसको दरले १० हजार मानिस अट्छन् ।

कैलाशकूटको माथिल्लो तलामा वाङ हुयनत्सेको सातौं शताब्दीको भनाइअनुसार दस हजार मानिस अट्थे । उचाइ र आयातको प्रेरणा त्यतिबेलाको सर्वाकर्षक कैलाशकूटबाट लिइएको देखिन्छ ।

६. बोरोबुद्दुर इस्वीको ८०० मा निर्माण गरेको मानिएको छ । तर, सन् ८ सय हचुवाको निर्णय हो । यसमा अझै विवाद छ ।

कैलाशकूट इस्वीको ७औं शताब्दीमा निर्माण भएको मानिएको छ । दुवैका तह संख्या तीन हुन आउँछन्, देखिएको र अनुमान गरिएको गरी ।

७. बोरोबुद्दुरको चैत्य घण्टी (तल्लो भाग) मा माथि र तल चुच्चो भएका घण्टी र प्वाल कुँदिएका छन् । जम्मा ७२ प्वाल परेका चैत्य छन् । जो नेपाली आँखिझ्याल शैलीकै अनुसारका छन् । बज्रयानमा ९ शुभ अंक हो । अष्टमंगलको चलन छ .७२ हुन्छ ।

८. बोरोबुद्दुरका स्तूप ठ्याक्कै नेपाली घण्टीका आकारमा कुँदिएका छन् । सीमापारिका घण्टी र नेपाली घण्टी बनोट मिल्दैनन्, ती फरक हुन्छन् । आजभोलि पुराना मन्दिरमा पारितिरका प्रशस्तै घण्टी देखिन्छन् ट्युनिङ नमिलेका र फलाम मिसाइएका । रुचि हुनेहरूले तुलना गरी त्यहीं हेरे हुन्छ ।

९. ढुंगाको पूर्ण प्रयोग छ । नेपालका चैत्यहरू पनि प्रस्तरकै बनाइन्छन् । खासगरी पाटन जिल्लामा यस्ता चैत्यहरू जति भने पनि देख्न सकिन्छ ।

१०.प्रस्तरद्वारको छाना पगोडाकारको छ, नेपाली छानोजस्तै । प्यागोडाकार नेपालको हो । र, यतैबाट उत्तर लागेको हो भन्नेबारे प्रशस्तै लेखिसकिएको छ ।

११.छानो बीचमा छेप्व छ । छेप्व नेपाली द्वारकै बीचमा हुन्छ । छेप्वको एउटा ठूलो नमुना नयाँसडकको ढोकामा देखिन्छ ।

१२.बुद्ध जन्म चित्रित प्यानेलमा मायादेवीले रूखको हाँगो समातेको शैली ठ्याक्कै सालभञ्जिका शैली हो । नेपालकै हो । मायादेवीको लुम्बिनीस्थित सोही शैलीको मूर्ति निरीक्षण गर्नलाई आठौं शताब्दीका कलाकार नेपाली नभएर इन्डोनेसियन वा भारतीय हुन सक्दैन ।

१३.ताराले चमर बोकेकी छन् । तिब्बती वा भारतीय अष्टमंगलमा चमर हुँदैन, नेपालीमा मात्रै हुन्छ । तिब्बतीमा धर्मचक्र हुन्छ ।

१४.व्याख्यामा, मायादेवीले प्लक्ष रूखको हाँगा समातेको बताइएको छ । लुम्बिनीमा त्यस्तो प्लक्ष (काब्रो) को रूख अद्यापि छ । ८२ फिट गोलाइको, कोटियामाई भनी पूजा गरिने र सो कोटियाको उल्लेख ललितविस्तरमा छ (नेट) ।

१५.पहिला चारपाटे ढुंगा एकमाथि अर्को राख्ने, अनि कुँद्ने चलन छ । यो एक दृष्टान्त हो । यो ठ्याक्कै नेपालकै चलन हो ।

१६.(गोपाल राजवंशावलीअनुसार शिवदेव (विसं ६६७–६८१) मा बौद्ध बने— ले अरू धेरै कुरा संकेत गर्छ ।) यो ठ्याक्कै मण्डलामाथि बसेको छ । बोरोबुद्दुरको कलाकारले यसैको विस्तृत अनुकरण गरेको छ ।

१७.बुद्ध मूर्तिहरू खोपामा राखिएका छन् । खोपाको देउता, क्वपा द्यो नेवारहरूको चलन हो । कैयन् पुराना भवनहरूमा देउतै नराखे पनि खाली खोपाहरू पनि हुन्छन् । यो एक विशेषता हो नेपाली वास्तुको ।

१८.रक्षक सिंहले दायाँ खुट्टा उठाएको छ । नेपालको मानांकमा ठ्याक्कै त्यस्तै छ, सिंहले दाहिने खुट्टा उठाएको छ ।

१९.यसमा जोर्नीमा दाँतीले बाँध्ने प्रविधिको प्रयोग छ । जो नेपालमा खासगरी सिकर्मीहरूको प्रविधि हो । यसलाई अंग्रेजीमा ‘लक’ भन्ने चलन छ ।

२०.बज्रलेपको प्रयोग भएको अनुमान छ । पुरानो ढाँचाले घर बनाउँदा १९ औं शताब्दीसम्म पनि नेपालमा बज्रलेपको प्रयोग हुँदै थियो ।

२१.यो स्तूपको नाममा मन्दिर हो भन्ने मानिएको छ । नेपालमा बौद्ध मन्दिरहरू स्तूप मात्र हुँदैनन् पनि ।

२२.कमलको पत्रदल तल–माथि दुवैतिर हुने चलन नेपालकै हो ।

२३.स्तूपमा आयुध (हातहतियार) हुने चलन नेपालकै हो । यसो भन्दा धेरैलाई पत्यार लाग्दैन । तर, लुम्बिनीका स्तूप उत्खननपछि जगमा भेटिएका सामग्रीको तस्बिर हेरे हुन्छ ।

२४.ढुंगाको काम पाटनकाहरूले गर्छन् ।

२५.स्थानीयहरू बोरोबुद्दुर र जाभा– बोरोबुद्दुरबीचको एक मन्दिरलाई नेपालका गुणधर्मले बनाएका भन्दछन् पनि । मन्दिरका बारेमा पुरानो ‘हिमाल’ मै त्यस्तो भनाइ छापिएको छ–

अरनिको झैं विदेशमा गएर आफ्नो कलाको प्रदर्शन गर्ने नेपाली शिल्पकारहरूमा आक्कलझुक्कल गुणधर्मको नाम पनि आउँछ । उनले आठौं शताब्दीमा इन्डोनेसियाको प्रसिद्ध र विशाल बोरोबुद्दुर बनाएको हुन सक्छ भनेर स्व. स्वयम्भूलाल श्रेष्ठले एक लेखमा भारतीय लेखक हरिनन्दन ठाकुरको किताब ‘धर्ती के चारों ओर’ को उद्धरण दिँदै लेखेका थिए । त्यस किताबमा गुणधर्म नेपालकै कलाकार थिए भनिएको छ (पेज ९, हिमाल, कात्तिक–मंसिर २०५३) 

प्रकाशित : भाद्र २०, २०७७ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×