‘रित्तो पेट रित्तै हुनेभैग्या’

‘क्या गर्नु त भाउवा ! विकास त भयो तर धनीहरूका लागि । बाटो बन्यो । गाडी गुड्न थाल्यो । अहिले काम पाइँदैन, कामै नभएपछि रित्तो पेट रित्तै हुनेभैग्या । धेरै मान्ठले गर्ने काम एउटै गाडीले एकैछिनमा गरिदिन्छ । आफ्नो खेतमा फलेको अन्नले खाना पुग्दैन ।’
कुन्साङ

बिहानको एघार बजेको थियो । घाम उदाएको थिएन । यस्तो लाग्थ्यो– बादलको बर्को ओढेर घाम कतै चुपचाप निदाइरहेको छ । पैंतालीस मिनेटअघि नेपालगन्जको बाफिदो गर्मी चंखेली हिमाल काट्नेबितिकै सेलाइगयो । चंखेली हिमाल पुग्नेबितिकै जहाजभित्रै सर्र बहने चिसो हावाले भनेझैं लाग्छ– वेलकम टु हुम्ला !

ह्योम्बु (काठमाडौं) पसेको ६ वर्ष भयो । यो ६ वर्षको अन्तरालमा जम्मा दुईपटक हुम्ला जान पाएँ । हुन त जहाजमा बसेको केही मिनेटमै हुम्ला सदरमुकाम सिमकोट पुगिन्छ । त्यहाँबाट पाँच घण्टा हिँडेपछि आफ्नै गाउँघर पुग्छु । दिनरात गाडीमा लामो यात्रा गर्नुपरेन । तर, बादल माथि–माथिबाट उडेर पटक–पटक हुम्ला गइरहन भनेजस्तो सजिलो पनि त छैन ।

खैर, जसो–तसो गरेर म हुम्ला आइपुगें । झोला थन्क्याएर सिमकोट बजार डुल्न निस्किएँ । उही चिने–चिनेजस्तो लाग्ने मान्ठाहरू थिए । रित्तो थैलो काखी च्यापेर चामल निकाल्न खाद्य संस्थानतिर दौडिनेहरूको हतारो उस्तै थियो । खाद्य संस्थानअघिको भीड त्यस्तै । डोकोमा साग, स्याउ, आरू र दाउरा बेच्नेहरूको जाँगरिलो आवाज पनि उस्तै सुनिन्थ्यो ।

तर, अहिलेको सिमकोट दुई वर्षअघिको भन्दा निकै फरक भइसकेको छ । पहिला यही बाटोमा दाउरा बोकेका गधा, घोडा, जोपा, तोल्व र खच्चडहरूको लस्कर देखिन्थ्यो । अहिले धूलो, धूवाँ उडाउँदै केही गाडीहरू गुडिरहेका छन् । ढुंगा, दाउरा र सामान ओसार्ने खच्चडमध्ये लम (सुरुमा हिँड्ने) को घाँटीमा झुन्डिएको करङ, लिङ्स्याङ र ठिलु (घण्टी) को मिठो धुनसँगै सहर ब्युँझिन्थ्यो । लमको निधारमा टाँसिएको सानो ऐना परबाटै टलक्कै टल्किन्थ्यो– जस्तो टाक्तेल हिमालको चुचुरोमा घाम लाग्दा हिउँ टल्किन्छ । हिउँदमा मान्ठाहरू बाटो छेउछाउमा बसेर सुल्पा तान्दै घाम ताप्थे, गाला मार्थे (गफ गर्थे) । ठट्टा गर्नेहरू ठट्यौली पारामा हिउँको डल्लो बनाएर एकअर्कालाई हानाहान गरेर रमाइलो गर्थे । बैकिनी (आइमाई) हरू यही बाटोमा बसेर घाम ताप्दै ओखर फुटाउँथे, ताको (धागो) काढ्थे, छोछोरीहरू बाटोमै खेलिरहेका हुन्थे । सबै शान्त थियो ।

सिमकोट बजारको खाल्डाखुल्डी बाटोमा चामल बोकेको एउटा ट्याक्टर धूवाँ उडाउँदै गुडिरहेको थियो । पानी नपर्दो हो त कति धूलो उड्थ्यो होला । केटाकेटीहरू गाडी हेरेर रमाइरहेका थिए । कोही गाडीको पछिपछि कुद्दै थिए । ६ वर्षअघि हुम्लाबाट नेपालगन्ज पुग्दा पहिलोपटक मैले गाडी देख्या थिएँ । जहाज चढ्दा डर लाग्या थिएन । बाफ्रे ∕ गाडी देखेर खुब डर लाग्यो । गाउँबाट आएकालाई सहरसँग अजिबको डर हुँदोरहेछ ।

रानीवनबाट हेर्दा पूरै सिमकोट बजार छर्लंग देखिन्छ । उहिले अन्नबाली उम्रिने जग्गामा अहिले घरैघर उम्रिएका छन् । फापर, चिनु, मर्सी, कागुनी, आदि फल्दा–फुल्दा सिंगै सिमकोट बजार अनेकन रङका फूलहरूको एउटा फूलबारी लाग्थ्यो । अहिले पनि सिमकोट बजार हराभरा छ, रंगी देखिन्छ । तर फापर, चिनुको ठाउँमा घरहरू उभिएका छन् । फरकफरक रङका जस्तापाताहरू जताततै टल्किएका छन् । अहिलेको सिमकोटबाट उहिलेको सिमकोट लगभग हराइसकेको छ । सिमकोट नितान्त भिन्नै भएको छ ।

***

सिमकोट बजारलाई एक फन्को मारेर दुइटा झोला बोकेर म सरासर गाउँतिर लागें । लगभग पाँच घण्टाको उकालो–ओरालो बाटो । आमाले पहिले नै भनेकी थिइन्, ‘बाटोमा फोटो खिच्दै नबस्, छिट्छटो आइज । मोटर बाटो बनाइरहेको ठाउँबाट ढुंगा खस्छ ।’ नभन्दै बाटो निकै नराम्रो थियो । बाटो फराकिलो बनाउँदा ठाउँठाउँमा रूखहरू काटिएका थिए । पहिले च्याखुरा, डाँफेको संगीतमय आवाजसँगै उकालो–ओरालो बाटो पार गर्‍थ्यौं । अहिले गाडीको कर्कस आवाज मात्रै सुनिन्छ, पूरै जंगलमा । गाडीको कर्कश आवाजसँग तर्सेर च्याखुरा, कालिज र डाँफेजस्ता चराहरू पनि टाढा–टाढा गइगए । कत्ति घोडा जोपा लोटे (लडे) । गाडीको बाटो बनाउने ठाउँबाट खसेको ढुंगाले गाईगोरु, घोडा हिँड्ने बाटो बन्द भएको थियो । रूखहरू काटिएका नांगा डाँडा शोकमग्न देखिन्थे ।

हिल्सा–सिमकोट हिँड्ने पैदल रुटमा यही हो । तर, बाटोमा खासै मान्ठा भेटिएन । पैदल रुटमा पर्ने होटलका साहुजीहरू कोही त आउला भन्ने आशा बोकेर ढुकिबसेका थिए । पानीनौला शाही होटलका साहुजीको निन्याउरो अनुहार मलाई देखेर उज्यालो भयो । पानीनौलाको चिसो पानीको गिलास मेरो हातमा थमाउँदै उनले भने, ‘हब्री (माथि) बाट बाटो बनिगो । अब यो बाटो भएर कोही हिँड्दैनन् । गाडी गुड्न थालेदेखि सबैको भाउ बढ्या छ । हामी गरिबले महँगो ठाउँमा जग्गा किनेर होटल बनाउन सक्दैनौं । तैपनि कोही पाहुना आइजाला कि भनेर ढुकिबस्या छौं ।’ उनका लागि यही होटल सबथोक हो । यहीँको कमाइले छकलबाहाको छाक टार्नु छ, बच्चाहरूलाई पढाउनु छ ।

सिमकोट लाक्नाबाट उँधो सिमकोटतिर फर्केर सुल्पा तानिरहेका बाजेले पनि नाकबाट धूवाँ निकाल्दै भनेका थिए, ‘क्या गर्नु त भाउवा ∕ विकास त भयो तर धनीहरूका लागि । बाटो बन्यो । गाडी गुड्न थाल्यो । बजारमा घरहरू बने । जताततै बजार बन्न थाल्यो । धेरै जग्गाजमिन हुने धनीहरू जग्गा बेचेर झन् धनी भैग्या । हामी गरिब झन्–झन् गरिब भैगयौं । पहिले यही बाटो भएर गधा, खच्चडमा ढुंगा ओसार्‍थ्यौं । कुइरेको झोला हिल्सा पुर्‍याउँथ्यौं । हिल्साबाट सामान ढुवानी ल्याउँथ्यौं । सकेजति पसिना बगाउँथ्यौं, भोको पेट भरिन्थ्यो । अहिले काम पाइँदैन, कामै नभएपछि रित्तो पेट रित्तै हुनेभैग्या । धेरै मान्ठले गर्ने काम एउटै गाडीले एकैछिनमा गरिदिन्छ । आफ्नो खेतमा फलेको अन्नले खाना पुग्दैन । अब हामी गरिबहरूको काम खोसियो ।’ विकास सबैको बराबर नहुँदो रहेछ । उनको कुरा निकै कहालीलाग्दो सुनिन्थ्यो । कुनै समय उनले पनि सडक बनेको सपना देखे होलान् । गाडी चढेर सरर घुमेको कल्पना गरे होलान् । तर, अहिले उनको आँखामा कुनै सपना र कल्पना बाँकी थिएन ।

***

म गाउँ पुग्दा रात परिसकेको थियो । बिजुली नपुगेको मेरो गाउँ साँझसँगै निदाइसकेजस्तो लाग्थ्यो । एकदम चुपचाप र सुनसान थियो । परबाट आफ्नो गाउँलाई धीत मरुन्जेल हेर्ने इच्छा रातले निलिदियो । बिहानै उठेर थाराबाट गाउँ हेरें । गाउँ पनि केही भिन्नै भैसकेको थियो । भोजपत्र र माटोले छाएको चिटिक्क घरहरूको बीचमा आठ, नौ घर नीलो, रातो टिनले छाएका थिए । बर्खायाममा पानी नचुहिने र हिउँदमा हिउँ फाल्न नपर्ने भए पनि टिनले छाएका घरहरूले सुन्दर गाउँ कुरूप देखिएको थियो । आफ्नो मौलिकता, आफ्नोपन गुमाइरहेको गाउँ न गाउँजस्तो देखिन्थ्यो, न सहरजस्तो । हावाको लयमा नाच्ने लुङ्दार र लटरम्म फलेको स्याउ, पाक्दै गरेको फापर, चिनु, लरे, सिमी आदिले भने वातावरण रंगीचंगी बनाएको थियो । उहिले हजुरआमाले सुनाउने टुङ (कथा) मा वर्णन गरिएको स्वर्गजस्तै लाग्थ्यो ।

हाम्रोतिर लामो समयपछि बाहिरबाट आएका मान्ठहरूलाई सबैले पाहुना बोलाउने चलन छ । एक जना भाउजूले उनको घरमा बोलाइन् । सफा घर, धोएर मिलाएर राखेका भाँडाकुँडाहरू टन्नै थियो । तर, उनले पुरानो कराईमा पानी उमालेर चिया बनाइन् । अचम्म लाग्यो, यत्तिका राम्रा भाँडाहरू छाडेर उनले किन कराईमा पानी उमालिन् ? ती भाउजूले धोएको सेतो भाँडोमा मोसो लाग्छ भनेर पुरानो कराईमा पानी उमालेकी रहिछन् । उनले सहरको जस्तो सेतो भाँडा सजाएकी रे । आमाले भनेपछि पो थाहा भयो । गाउँमा यत्तिसम्म सहरको प्रभाव परेको रहेछ ।

बाटो बनाउँदा ब्लास्टिङ गरेको आवाजले तर्सेर उँभो हिमाल चढेका थिए बाँदरहरू । गाउँमा देखिने बाँदर खर्कमा भेटिए । खर्क जाँदा मसँग चार जना ११ र १२ वर्षका भाइबहिनीहरू थिए । भीरको बाटो एकदमै नराम्रो थियो । त्यो भीरबाट लोट्यो भने बाँच्ने आसै थिएन । ‘हामी एक–एक गरेर लाइन लागेर हिँडौं,’ मैले भनें । बच्चाहरू को पहिले हिँड्ने भन्ने विषयमा झगडा गर्न थाले । झगडा गर्दागर्दै एउटाले भन्यो, ‘जो सबभन्दा धनी छ ऊ सबभन्दा अघि, जो गरिब छ ऊ सबभन्दा पछाडि हिँड्ने ।’ उसले यसो भन्नेबित्तिकै सबै जना एकपछि अर्को गर्दै चुपचाप लाइन लागे । म एकटकले हेरेको हेर्यै भएँ । सबैभन्दा अघि हिँडिरहेकी बहिनीतिर हेरेर सोधें, ‘ऊ कसरी सबैभन्दा धनी भयो ?’ ‘उसको घर सबैभन्दा ठूलो छ । खपु (झ्याल) पनि ठूल्ठूला छन्, नीलो कलर गरेको टिन हालेको छ नि त त्यसै ऊ सबैभन्दा धनी भयो ।’ बीचको एक जना बोल्यो । लाइनको अन्तिममा चुपचाप हिँडिरहेको भाइतिर देखाउँदै उसले थप्यो, ‘उसको घरमा टिन हालेको छैन्, खपु पनि सानासाना छन् । भाँडाकुँडा पनि सेतो छैन ।’

साना स्कुले भाइबहिनीको कुरा सुनेर छक्क परें । पहेँलो, नीलो जस्तापाताले छाएको घर र सहरको जस्तै मिलाएर राखेको भाँडाकुँडाले गाउँमा यो धनी त्यो गरिब भनेर वर्ग निर्माण गरेको थियो । समाजले निर्माण यो मानसिकताले स–साना भाइबहिनीलाई पनि गाँजेको छ । लामो समय टाढा बस्दा गाउँ यस्तो भयो होला, उस्तो भयो होला भन्ने जोकोहीलाई लाग्छ । पहिलेको गाउँ मगजका बसिरहेको हुन्छ । अझ भनौं आफ्नो गाउँभन्दा टाढा बस्नेहरूले गाउँको यादहरू साथ लिएर हिँड्छन् । वर्षौंदेखि आफूसँगै लिएर हिँडेको सुन्दर याद र कल्पनाहरू भत्किँदा नरमाइलो लाग्दोरहेछ । माटोले छाएको तीनतले घरले गरिबी होइन गाउँको आफ्नोपन, आफ्नो मौलिकता प्रतिविम्बित गर्छ । ती स–साना भाइबहिनीहरूलाई कसरी बुझाउनु ? कसरी सम्झाउनु ? मलाई पहिलोपटक आफ्नै गाउँ नरमाइलो लाग्यो ।

प्रकाशित : भाद्र १३, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

बार्ले : एक सहरमा दुई देश

हामी यस्तो रेस्टुराँनजिक पुग्यौं, जसको बाहिर टेबलमा खाना खाइरहेका मानिस बेल्जियमतिर थिए भने किचेनको भाग नेदरल्यान्ड्समा थियो । खानेमान्छे एउटा देशमा बस्छ र बिल तिर्न अर्को देशमा पुग्छ । एक देशमा उभिइरहेको वेटर बोलाउने बित्तिकै अर्को देशमा आइपुग्छ ।
जीवा लामिछाने

बूढापाकाहरू भन्थे– दुइटा नाउमा खुट्टा नराख्नु । यो अर्ति–उपदेश सुन्दै हुर्किएको मैले यसपालि एकैचोटि दुई देशमा खुट्टा राख्ने अवसर प्राप्त गरें । यो मैले कहिल्यै कल्पना नगरेको दृश्य थियो । प्रिय पाठकहरू समक्ष त्यही नौलो अनुभव साट्न यो आलेख लेखियो ।

***

कोरोना–कहरले कतै निस्कनै दिएन । आफू बसेको सहरबाट बाहिर ननिस्केकै ६ महिनै पुग्न लागेको थियो । कोरोनाले ल्याएको कठिनता र अड्चनले सबै उल्लासलाई बिर्साइदिएको थियो । तर, तनाव, दुःख त आउँछन्–जान्छन् । यो एक ऋतुझैं चक्र हो ।

बितेका तीन दशकमा एउटै सहरमा यति लामो समय बसेको मेरो पहिलो अनुभव रहेछ । सामान्य अवस्था भएको भए महिनामा दुई–तीन नयाँ ठाउँमा यात्रा गर्नैपर्थ्यो । यात्रा मेरो स्वभाव बनिसकेको थियो । ६ महिनाको बन्दाबन्दीमा परेपछि छटपटी हुनु स्वाभाविक थियो ।

लकडाउन खुकुलो हुन थालेपछि परिवारसंग यात्रामा कतै जाने योजना बन्न थाल्यो । तर, जाने कहाँ ? युरोपेली संघका देशहरूले एक–आपसमा यात्रा खुकुलो पारे पनि मानिसहरूले पूर्ववत् अवस्थामा झैं अझै निस्फिक्री हिँड्न–डुल्न सुरु गरिहालेका छैनन् । हजारौं मानिसको ज्यान लिनेगरि फैलिएको महामारीको त्रास कायमै छ ।

महामारी बिस्तारै कम हुनु अनि युरोपको मौसमले लोभ्याउनु–एकैसाथ भयो । यो मौका सदुपयोग गर्दै हामीले जर्मनीसँगै सीमा जोडिएको देश बेल्जियमको समुद्री तट ‘उस्टेन्ड’ र अरू केही पर्यटीकीय गन्तव्य घुम्ने योजना बनायौं । र, २८ जुलाई २०२० का दिन फ्र्यांकफर्टबाट सपरिवारै निस्कने भयौं । हनाउ सहर निवासी मित्र ज्योतिन्द्र जोशी र उनको परिवार पनि यात्रामा साथ दिन तयार भए ।

हाम्रो पहिलो लक्ष्य एउटा सानो यस्तो सहर थियो, जहाँको अन्तरदेशीय सिमाना बडो विचित्रको छ । गति नियन्त्रणबिना गाडी सवार गर्न मिल्ने जर्मन अटोबाहन (राजमार्ग) पार गर्न हामीलाई धेरै समय लागेन । तीन घण्टामै जर्मन सीमा नाघेर बेल्जियम प्रवेश गर्‍यौं । बेल्जियमको पोर्टसिटी आन्त्वेरप पार गर्दै बार्ले सहर पुगियो । बार्ले पुग्न साँघुरो सडक पार गर्नुपर्छ । साँघुरो सडकका दुवैतिर रोपिएका रुखहरूले त्यहाँको सौन्दर्य आकासिएको लाग्थ्यो । सडक पार गर्दा दायाँ–बायाँ देखिने आकर्षक महलहरूले भन्थे— त्यस क्षेत्रमा सम्पन्न मानिसहरू बसोबास गर्छन् ।

युरोपमा यस्ता धेरै गाउँ छन् । तर, कोरोनाको त्रासमा पनि यही गाउँ सम्झेर हिँड्नुको कारण विशेष थियो । यो त्यही गाउँ हो, जसले दुई देशको सीमालाई आफूभित्र अटाएको छ । संसारमा सिमानाका कारण हुने अनेक विवाद सुनिरहँदा यहाँचाहिँ सिमानाका रमाइला थुप्रै किस्सा सुन्न–देख्न पाइन्छ । त्यही हेर्न, अनुभूत गर्न हामी बार्ले पुगेका थियौं ।

सानो–सुन्दर सहरबीच दुई देशका सिमाना कोरिएका थिए— कतै सडक र फुटपाथको बीचबाट कोरिएका छन्, कतै देशको राष्ट्रिय–पहिचानसहितका झन्डा राखिएका छन्, कतैचाहिँ दुई देश छुट्याउने सांकेतिक अक्षर ‘बी’ र ‘एनएल’ मात्रै लेखिएका छन् । सडकमा सीमा निर्धारण गरी लेखिएका संकेत चिह्न ‘बी’ र ‘एनएल’ छ्याप्छ्याप्ती देख्न पाइन्छ ।

‘बी’ लेखिएको छ भने बुझ्नुस्, त्यो क्षेत्र बेल्जियम अधीनस्त हो । अनि ‘एनएल’ अक्षरले भन्छ— त्यो नेदरल्यान्ड्स हो । सम्झनामा रहिरहने कुरा के भने सडकमा एक छिन हिँड्दा ‘बी’ तिर पुगिन्छ, एकै छिनमा ‘एनएल’ तिर । सडकमा जेब्राक्रसजस्तै सेतो क्रस चिह्नले सीमा छुट्याइएको छ, जसलाई नाघ्दै गर्दा मैले यो यात्रा–निबन्धको सुरुमै उल्लेख गरेको ‘दुई डुंगामा खुट्टा’ भन्ने बूढापाकाका आहान सम्झिएको थिएँ ।

***

यो सानो सहर वरपर ३० वटा यस्ता साना भू–भाग (आनक्लेभ) रहेछन् । केही भाग बेल्जियमको अधीनमा छन् भने केही भाग नेदरल्यान्ड्सको । ३० भाग जमिनमध्ये २२ टुक्रा जमिन बेल्जियम आनक्लेभ, एक डच आनक्लेभ र ७ बेल्जियम सबआन्क्लेभ रहेछन् । नजिकैको रेस्टुराँमा एक खुट्टा बेल्जियम र जीउ नेदरल्याण्डमा राखेर मैले गुगल सर्च गरें । गुगलमा बेल्जियमको अधीनमा रहेका यी भागहरू बेल्जियमको सिमानाबाट केही पर डच क्षेत्रभित्र रहेका ससाना थुम्काजस्ता देखिए ।

आखिर यस्तो अद्भुत सिमाना कसरी बन्यो ? सन् १८३१ मा बेल्जियम र नेदरल्यान्ड्स दुवै फरक–फरक राष्ट्र भए । दुवै राष्ट्रका सिमाना छुट्याउन गाह्रो थिएन । केवल यही ठाउँलाई कसरी मिलाउने भन्ने समस्या थियो । सिमाना छुट्याउनुअघि गाउँलेलाई सोधियो । गाउँलेले दुवै सरकारले गरेको निर्णय मान्ने राय व्यक्त गरे । त्यसपछि जहाँ जहाँ सिमाना गाडियो, गाउँको नाम देशको राष्ट्रभाषाअनुसार थोरै फरक पर्न गयो । नेदरल्यान्ड्सतिर यो गाउँको नाम बार्ले नस्सो भनियो भने बेल्जियमतिर बार्ले हेर्टोग । तर, कुन ठाउँ नेदरल्यान्ड्स, कुन ठाउँ बेल्जियम पर्छ, यो याद नगर्ने हो भने मेसो पाउनै सकिँदैन । सन् १८३१ मै गाउँलेको सहमतिमा सिमाना छुट्याउन सेतो धर्का कोर्ने निर्णय भयो, जुन आजपर्यन्त कायम छ । त्यही बेला छुट्याइएको सिमानाको रोचक पक्ष के छ भने हिँड्दा–हिँड्दै सिमाना कुनै घरलाई चिरा पारेर अघि बढ्छ । सिंगो घरको आधा भाग एउटा देशमा र आधा भाग अर्को देशमा पर्छ । कतिपय रेस्टुराँ, क्याफे, बार, सिटी हल आदि पनि यसरी दुई देशको सिमानामा निर्माण भएका छन् ।

‘त्यसो भए दुई देशका बीचमा भएका त्यस्ता संरचना कुन देशको अधीनमा होलान ?’ मेरो प्रश्नमा यस्तो जवाफ प्राप्त भयो, ‘जुन देशमा त्यो घरको मूलढोका पर्छ, त्यो घरका मानिस त्यही देशका नागरिक हुन् ।’ कतिसम्म भएको रहेछ भने कुनै घरको मूलढोका एउटा देशमा र बाँकी पूरै घर अर्को देशमा पर्छ भने पनि मूलढोकाले ऊ कुन देशको नागरिक हो भन्ने निर्णय गर्ने रहेछ ।

सडक पार गर्दा एउटा यस्तो घरनजिक पुगियो, जहाँ सीमा निर्धारण गर्ने सेतो धर्का ठीक मूलढोका हुँदै घरलाई चिर्दै अघि बढेको रहेछ । घरको एकातिर नेदरल्यान्ड्सको झन्डा छ भने अर्कोतिर बेल्जियमको ।

कहिलेकाहीं देशको नियम परिवर्तन हुँदा यहाँका नागरिकले पनि आफ्नो मूलढोका परिवर्तन गरेका कथा सुन्न पाइयो । दुईमध्ये एक देशमा करको दररेट बढ्यो भने सिमानाका घरबेटीले मूलढोका परिवर्तन गरेर आफू अर्को देशको नागरिक भएको घोषणा गर्न पाउने रहेछन् । मूलढोका नै परिवर्तन गरेका केही घरका किस्सा सुन्यौं हामीले ।

मानवीय स्वभावअनुरूप, एक देशमा आर्थिक मन्दी भयो भने त्यसबाट बच्न अर्को देशको नागरिकता लिन त्यहाँका नागरिक स्वतन्त्र छन् । करको दर परिवर्तन हुँदा मात्रै होइन, कुनै दण्ड सजायमा परिवर्तन हुँदा पनि कतिपय मानिसले अर्को देशको नागरिकता लिएको उदाहरण रहेछ ।

हामी यस्तो रेस्टुराँनजिक पुग्यौं, जसको बाहिर टेबलमा खाना खाइरहेका मानिस बेल्जियमतिर थिए भने किचेनको भाग नेदरल्यान्ड्समा थियो । खाने मान्छे एउटा देशमा बस्छ र बिल तिर्न अर्को देशमा पुग्छ । एक देशमा उभिइरहेको वेटर बोलाउनेबित्तिकै अर्को देशमा आइपुग्छ ।

सिमानामा घर हुनेहरूले हरेक विषयमा फाइदा उठाउने रहेछन् । बार्ले नसाउ नगरपालिकाबाट कुनै कार्य सञ्चालनको अनुमति नपाएमा त्यही विषय अर्कोपट्टिबाट अनुमति लिएर सञ्चालन गर्दा रहेछन् । कुनै क्याफे, बारमा एकातिरको समय सकिएर बन्द गर्नुपर्ने बेला भयो भने टेबल–कुर्सी अर्कोपट्टि फर्काएर अबेरसम्म व्यापार गर्दा रहेछन् ।

कतिसम्म भने एउटै पलङमा सुतेका श्रीमान्–श्रीमती पनि फरक देशमा सुतिरहेका हुन सक्छन् भन्ने कथन यहाँ रमाइलोसँग सुनाइँदो रहेछ । एउटै घर चिरिएर देशको सिमाना बनेपछि यसो हुनु अस्वाभाविक भएन ।

सानो सहर भए पनि यहाँ प्रसस्त रेस्टुराँ, बार, पव देखिन्थे । कोरोनाको समयमा पनि टेबलहरू भरिभराउ थिए । अन्ततिर व्यापार खस्किरहँदा यहाँचाहिँ चहलपहल चलिरहेकै थियो ।

कोरोना लकडाउनमा भने यहाँ केही असहजता थपिएको रहेछ । त्यतिबेला सेन्जेन देशहरूले आ–आफ्नो खुला सीमा–नीतिमा केही परिवर्तन गरेका थिए । मानिसको खुला आवागमनमा नियन्त्रण लगाइएको थियो । नेदरल्यान्ड्सले बेल्जियमभन्दा केही दिनअघि नै लकडाउन खुकुलो पारेपनि बेल्जियमतिर बस्ने मानिसहरू खानपिन र किनमेललाई नेदरल्यान्ड्सको अधीनमा पर्ने रेस्टुराँ, पसलतिर त्यतिबेला जान नपाउने रहेछन् । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या डच क्षेत्रमा भन्दा बेल्जियममा बढी थियो ।

जताजता सिमाना देखिन्छ, त्यतैत्यतै केहीबेर हिँड्यौँ । एउटा बियर पसल देखियो । पसलबाहिर साइनबोर्डमा ‘यहाँ ६ सयथरीका बियर पाइन्छ’ लेखेको देखेपछि मलाई उत्सुकता जाग्यो । हामी पसलमा प्रवेश गर्यौं । त्यहाँको दृश्य झनै चकित पार्ने खालको थियो । समान्य देखिने यो पसलको बीच भागबाटै दुई देशको सिमाना निर्धारण गरिएको रहेछ । बेल्जियमपट्टि रहेको सेल्भ्सबाट एक बोत्तल बियर निकालेर नेदरल्यान्ड्सतर्फ रहेको काउन्टरमा गएर मैले त्यसको बिल भुक्तानी गरें ।

दुई देश भएपछि दुईथरी कानुन भइहाल्छ । दुवै देशमा मदिरा सेवन गर्ने उमेर फरक छ । करको मूल्य फरक छ । सोच र शैली फरक छ । तर, जतिसुकै फरक भए पनि दुई देशका यी नागरिकले आफूलाई सहजै ती विषयमा ढालिसकेका छन् । यही भद्रगोल सीमा अवलोकनका लागि यहाँ वार्षिक हजारौं पर्यटक पुग्दारहेछन् । नगरको आम्दानीको मुख्य स्रोत पर्यटन भएको छ । अनौठो सीमा–कथा सुनाएर व्यापार चलेको छ । शताब्दीऔंदेखि यो परम्परा कायम छ ।

***

एक दशकपछि अर्थात सन् २०३१ मा यो नगरले आफ्ना पुर्खाले मान्दै आएको स्वतन्त्र गाउँको परिकल्पनाको २ सय वर्ष पूरा हुँदै छ । तर, स्थानीयहरू यो गाउँ आठ सय वर्षदेखि यसैगरी मिलेर बसेको बताउँछन् । मध्ययुगीनकालमा त्यस क्षेत्रलाई दुई ड्युकहरूको सम्पत्तिका रूपमा छुट्याइएको रहेछ । त्योबेला ब्रावन्तका ड्युक हेर्टोगको अधीनमा रहेको ठाउँलाई बार्ले हेर्टोग भनियो । त्यसैगरी अहिलेको डच अधीनस्थ बार्ले नसाउ क्षेत्र ‘हाउस अफ नसाउ’ को अधीनमा परेको रहेछ । उनीहरूले असल छिमेकीको उदाहरण पेस गरेझैँ ती दुई पुर्खाले छुट्याएको सम्पत्तिलाई अहिले पनि मिलेमतोमा बाँडफाँड गरेका रहेछन् । यो परम्परा कैयौं वर्षसम्म उनीहरूका वंशजहरूले पनि कायम राख्दै आए । सन् १९९५ को एउटा सानो विवादित गाउँ बेल्जियमलाई हस्तान्तरण गरेपछि यो विवाद पनि सदाका लागि अन्त्य भएको बताउँछन् स्थानीय बासिन्दा ।

विकासका योजना पनि दुवैतर्फका स्थानीय निकाय मिलेर तय गर्दा रहेछन् । दुई मेयरहरूले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ता हेरें । दुवैले दुवैतर्फको विकासमा ध्यान दिएको र हरेक काम गर्दा सल्लाह गरेर निर्णय गरेको बताइरहेका थिए । उनीहरूको अन्तर्वार्ता हेर्दा लाग्थ्यो— उनीहरू दुई देशका फरक नगरपालिकाको विकासको कुरा गर्दै छैनन्, ओल्लो घर र पल्लोघरको नाली कसरी मिलेर सफा गर्ने भन्ने योजना बनाइरहेका छन् ।

***

दुई भागमा बाँडिएका अरू केही सहरको यात्रा गर्ने मौका मैले यसअघि पाएको थिएँ । सोभियत संघमा अध्ययन गर्दाताका सन् १९८७ मा म पहिलोपटक बर्लिन पुगेको थिएँ । शीतयुद्धकालमा जर्मनी पूर्वी र पश्चिम भागमा विभाजन भएको थियो । सहरको बीच भागबाटै बर्लिनको ठूलो पर्खाल उभिएको थियो । यो पर्खालले झन्डै तीन दशकसम्म एकै सहरका जनतालाई एकअर्काबाट टाढा पुर्‍याएको थियो । जर्मनीको एकीकरणसँग भत्किएको उक्त पर्खाल कथाजस्तै लाग्नेगरि अहिले पूरै सहर एक भएको छ । पर्खाल उभिँदाका पीडादायी अवस्था र पर्खाल भत्किएपछिका खुसीका फोहोराहरू देख्नुलाई मैले जीवनका सुखद संयोगमध्ये एक मानेको छु ।

अर्को विभजित राजधानी निकोसिया सहर हो । यो सहर सिप्रियोट निकोसिया र टर्किस निकोसियामा विभजित छ । क्यारेबियन क्षेत्रको सेन्ट मार्टिन द्वीप पनि फ्रेन्च र डच क्षेत्रमा विभाजित छ । उक्त स्थानमा सन् २०१७ मा पारिवारिक यात्रामा पुगेका थियौं ।

तर, सबै सिमानामा यस्तै सुखद दृश्य देख्न कहाँ पाइन्छ र ? म केही कडा नियन्त्रण भएका सीमा क्षेत्रहरूमा पनि पुगेको छु र परैबाट हेरेर फर्केको छु । मोजाम्बिकसँग सीमा जोडिएका दुई देश, दक्षिण अफ्रिका र स्वाजिल्यान्डको सीमानजिक केही समयअघि पुग्दा प्रवेशाज्ञाका कारण सिमानाबाटै ती देशहरूलाई हेर्दै निरीह भएर म फर्केको थिएँ, जहाँ चराचुरुंगी र जंगली जनावर निर्बाध रूपमा दुवैतर्फ घुमफिर गरिरहेका थिए । त्यतिबेला मलाई लाग्यो, प्राणीहरूमा आफूलाई सर्बश्रेष्ठ ठान्ने मानवजाति आफैंले कोरेको सीमाका कारण बन्धनमा बाँधिएको छ । यस्तै सीमाका रूपमा चित्रित भएको दुई कोरियाबीच रहेको ‘डीएमजेड’ पुग्ने उत्कट चाहना हुँदाहुँदै पनि त्यहाँ भने अझै पुग्न सकेको छैन । विश्वका छक्क पार्ने अनेक सिमानाबारे जोरन निकोलिकले आफ्नो किताब ‘द एट्लास अफ अनयुजल बोर्डर्स’ मा लेखेका छन् ।

मार्क्सले वर्गविहीन र सीमाविहीन राज्यको कल्पना गरेका थिए । जुन बेला मार्क्सले यस्तो सीमाविहीन राज्यको कल्पना गरेका थिए, त्योबेला यो स्वप्नझैँ लाग्थ्यो । तर, मार्क्सको विचारलाई नमान्ने युरोपका २६ देशले सीमाविहीन राज्यको थालनी गरेका छन् । कुनै एक सदस्य देशको प्रवेशाज्ञा लिएको मानिस अरू कुनै पनि सदस्य राष्ट्रमा निर्बाध रूपमा यात्रा गर्न पाउँछ । सेन्जेन भिसा जोन नाम दिइएको यो प्रयोग सीमाविहीन देशको राम्रो प्रयोग मानिन्छ । तर, यो गाउँ त सेन्जेन जोनको भिसाभन्दा अझ एक पाइला अघि भएझैँ लाग्यो ।

आखिर उत्तर कोरिया र दक्षिण कोरियाको पनि सिमाना नै हो । उनीहरू त झन् एकै जाति, भाषा र संस्कृतिका मानिस हुन् । र, नेदरल्यान्ड्स र बेल्जियमको यो सानो सहर बार्ले पनि सीमा सहर नै हो । एकातिर निर्बाध हिँड्न र नागरिकतासमेत परिवर्तन गर्न पाइन्छ । अर्कातिर सीमा छेउछाउ हिँड्दा पनि गोली खाने डर हुन्छ । सीमाविहीन भूगोलको कल्पना गरेर निर्बाध रूपमा संसार घुम्न चाहने यात्री म, अहिले सिमानाका यी दुई फरक दृष्टिकोण सम्झिइरहेको छु ।

प्रकाशित : भाद्र १३, २०७७ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×