३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोनाकालको स्मृति–चित्र तिमीलाई

सम्झिनु यो चिठी मैले तिमीलाई गरेको स्मृति हस्तान्तरण हो। तिम्रो वर्तमान समयलाई बुझ्नसघाउने यो अनुभवजन्य इतिहास पनि हो।
शिवानीसिंह थारू

विक्रम संवत् २११७
आजभन्दा सय वा डेढ सय सालअघि यो चिठी लेखिएको भए यसको सुरुआत माफीबाट हुने थियो । केही यसप्रकारले– ‘प्रिय संसारा माफ गर्नु तिम्रो चिठी अबेर गरी पाएँ । जवाफ दिन त्यसैले ढिला भयो ।’ 

कोरोनाकालको स्मृति–चित्र तिमीलाई

सञ्चारको माध्यम वामे सर्दै गरेको दुनियाँ थियो । ढिलो गरी चिठी पाउनु र त्यसको जवाफ लेख्दा ढिला भइहाल्नु, आम विशेषता थियो । त्यसैले प्रायः चिठीको व्यहोरा यसरी नै सुरु हुन्थ्यो । तर, यसको मिठास नै माफी माग्नुमा घोलिएको हुन्थ्यो । पर्खाइको पिराइ, जवाफ कुर्नुको छटपटी यही लाइनले सन्चो पारिदिन्थ्यो ।तर, विक्रमको २११७ मा चिठी लेखिँदैन । भिडियो कल गरिन्छ । भिडियो कलमा बोलिन्छ, पोखिइँदैन ।

मैले तिमीलाई आजसम्म चिठी लेखेकी छैन । यो पहिलो हुनेछ । तर मेरो प्रिय, यो चिठी मेरो जिन्दगीको अन्तिम चिठी पनि हुनेछ । अब धेरै दिन छैन मेरो । कारण तिमीलाई थाहै छ । त्यसै पनि अस्सी पुग्न लागेको मेरो जरजर शरीरले विश्राम खोजिरहेछ । हिजो एउटा कुराले म नबिथोलिएकी भए, सायदै यो चिठी लेख्ने थिएँ । तर, जब यो चिठी लेख्न बसेँ खै के भयो के भयो ∕ विषय सम्झेरै लामो सास तान्न पुगेछु । गह्रौं सास फुकाउन्जेल जाँगर मर्दै गयो । औंलामा च्यापेको कलम पनि खुकुलो भई भुइँमा खसेछ । मैले नलेख्ने निधो गरेँ । सोचेँ जेको बारेमा लेख्न जाँदै छु, त्यसबारे धेरैले धेरै कुरा लेखिसकेँ । मैले के नै नयाँ कुरा लेख्ने हो र ? तर, त्यतिबेलाका त्रासद भोगाइहरू सम्झेर मेरा आँखा चिसमिरा हुँदै आए । अनि त मैले आफूलाई रोक्न सकिनँ । लेख्न थालेँ ।

सम्झिनु यो चिठी मैले तिमीलाई गरेको स्मृति हस्तान्तरण हो । तिम्रो वर्तमान समयलाई बुझ्न सघाउने यो अनुभवजन्य इतिहास पनि हो ।

प्रिय संसारा ∕ मेरी नातिनी ∕ भोलि तिमीले आफ्नो एक वर्षको छोरो अयनलाई खोप लगाउन जाँदै छौ । सानु अयनलाई भोलि नोभल–कोरोना भ्याक्सिन लगाइनेछ । र, ऊ कोभिड–१९ रोगबाट सुरक्षित हुनेछ ।

हिजो तिमीले यो कुरा फोनमा भन्दा म बोल्दाबोल्दै एक छिन टोलाएकी थिएँ । अनि तिमीले ‘मामी... मामी... सुनीरा’ हो ?’ भन्दै मलाई झस्काएकी थियौ ।

सुन्न त म सुनिराखेकै थिएँ । तर, आवाजले दिएको जानकारीभन्दा आवाजले बोकेको मामुली भाव सुनिराखेकी थिएँ । तिम्रो स्वरमा सुनिएको हलुकापनले म टक्क रोकिएकी थिएँ । उद्बोधित भएजस्तो, उदेक लागेजस्तो, म टोलाएकी थिएँ । र, एकाएक विसं २०७७ सालमा पुगेकी थिएँ । आजको मितिले चालीस वर्ष भइसकेछ ।

यसबीच यो दुनियाँ द्रुत गतिले फनफनिएर विज्ञान र प्रविधिको स्वैरकल्पना भएको छ । एकातिर मान्छेका शरीरमा रोबोटीय एन्टीबडी प्रवेश गराएर रोग प्रतिरोधात्मक शक्ति बढ्न सक्ने बनाइएको छ । सँगसँगै थ्रिडी प्रिन्टिङद्वारा बन्दुक पेस्तोलहरू प्रिन्ट गरेर जो कोहीले पनि घरमै हतियार बनाउन सक्ने भएका छन् । एकातिर ‘स्पेस एक्स’, ‘ब्लु ओरिजिन’, ‘भर्जिन ग्यालेक्टिक’ जस्ता निजी अन्तरिक्ष उडान कम्पनीहरू पृथ्वीबाट चन्द्रमामा पानी–पँधेरो गरिराखेका छन् । र, हेर्दाहेर्दै चन्द्रमा ‘फन पार्क’ मा परिणत भएको छ । सँगसँगै मंगल ग्रहको उपनिवेशका लागि शीतयुद्ध पनि सुरु भइसकेको छ ।

कतै मानव सभ्यताको पाइला मानवताको संरक्षण र विध्वंसतिर सँगसँगै अघि बढिराखेको त छैन ? यो प्रश्न तिम्रो पुस्ताका लागि ।

मानव जाति आफ्नो अस्तित्वको उच्चतम बिन्दुसम्म पुग्ने हुन् या आफ्ना पाइलासहित मेटिने हुन्, थाहा छैन । एउटा सत्यचाहिँ के हो भने, विज्ञान र प्रविधिले त्यसतर्फ बढिरहेको पाइलामा रफ्तार थपिदिएको छ । त्यसैले तिमी बाँचिरहेको संसारको लय द्रुतबाट द्रुततम हुँदै गएको छ । तर, कल्पना गर यो द्रुततम संसार एकाएक रोकिएको । कामदेखि कामसम्मको यो हतार टक्क थामिएको । कुम–कुम ठोक्किने भीडभाड संसारमा मान्छेबीचको सम्पर्क चटक्क चुँडिएको । खालि सडक, खालि आकाश, पूराका पूरा खालि सहरमा केवल एउटै आवाज सुनिएको । टिक...टिक...टिक... ।

गर्न सक्छौ यस्तो कल्पना ?

फिल्मी ∕ भनिराखेकी होला मनमनै । विज्ञानमा पाएको उपलब्धिले मान्छेमा अहं पलाएको छ । प्रविधिले त्यो अहंलाई जायज बनाइदिएको छ । हामी पनि हाम्रो समयको यस्तै संसारमा बाँचिरहेका थियौं । विज्ञान र प्रविधिले ल्याएको सुविधामा हामी अभ्यस्त भएका थियौं । यदि कुनै अदृश्य डरसित डर थियो भने, त्यो केवल परमाणु हतियारसहितको तेस्रो विश्वयुद्ध होला कि भन्नेसित थियो । ब्याक्टेरिया वा भाइरसले महादेशहरूमा धावा बोल्लान्, स्वास्थ्यकर्मीहरू पीपीईरूपी कम्ब्याट लगाएर, हातमा थर्मल गन बोकेर युद्धको अग्रपंक्तिमा लडाइँ गर्लान् ∕ हामीले कसरी कल्पना गर्न सक्नु ? तर, त्यस समयका महामानव (सुपरह्युमन) को परीक्षण गर्न आइपुग्यो यस्तो काल । जतिबेला हामी हेरेका हेरै जड भयौं ।

त्यो थियो कोरोनाकाल । त्यही कोरोनाकाल जतिबेला पहिलोपटक कोभिड–१९ देखिएको थियो । जतिबेला नोभल–कोरोनाको भ्याक्सिन बन्नु त के सोचिएको पनि थिएन । जतिबेला एउटा सूक्ष्म विषाणुले संसारमा त्राहित्राहि मच्चाएको थियो ।

त्यो समय हाम्रो पुस्ताको स्मृतिमा सुसाइरहेको छ । त्यस्तो स्मृति बुढेसकालमा चर्को हुन थाल्दो रहेछ । हो हामी बूढाबूढी भुलिबस्छौं छिनकै कुराहरू, भर्खर भए–गरेका काम कुरा केही याद रहन्न । तर, ‘लङ टर्म मेमोरी’ चाहिँ झन्झन् टड्कारो भएर आउने रहेछ । त्यसैले होला मेरी हजुरआमा बुढेसकालमा उहीउही स्मृति उग्राइरहिन्थन् । टीबीले उनका सारा भाइबैना सखाप भएको कथा सुनाइरहन्थिन् । त्यसरी नै मेरी आमाले पनि बुढेसकालमा हैजाको प्रकोप फैलिएको बेलाको घटना बयान गर्थिन् ।

हामीले उनीहरूका कुरा सुनिदिएका थियौं । उनीहरू टुक्राटाक्री प्रसंग जोडेर त्यतिबेलाको समय छाम्न पुग्थे । मलाई याद छ मैले दुवैलाई सोधेकी थिएँ— कति सालको कुरा हो ? उनीहरू एक छिन गम्ने गर्थे, ठ्याक्कै भन्न सक्दैनथे ।

अहिले आएर मलाई लाग्छ मिति र सालको साथसाथै हजुरआमा र आमाले धेरै कुरा भन्न छुटाउने रहेछन् । वा आफूभित्र अनुभूत गर्न सके पनि अभिव्यक्त गर्न सकेनन् । आज म पनि उनीहरूकै अवस्थाबाट गुज्रिराखेकी छु । आज भइरहेका धेरै कुराले मलाई कोरोनाकालको झझल्को दिन्छ । अनि प्रसंग निस्किनासाथ म त्यसबेलाका कुराहरूसित जोड्न पुगिहाल्छु (ठ्याक्कै हजुरआमा र आमा कै उत्साहमा) । तर, अव्यक्त आत्मानुभूति मभित्रै रहिआएको छ । र, अघिल्ला पुस्ताका जस्तै मचाहिँ छुटाउन चाहन्नँ, भन्न । मेरो मानसिक भूगोलको खोचमा सुसाइरहेको गहिरो स्मृति ।

म तिमीलाई सुनाउन चाहन्छु कोरोनाकालको ‘शून्यता’ । वर्णनातीत सूक्ष्मता म स्पर्श गराउन चाहन्छु । म कोर्न चाहन्छु कोरोनाकालको ध्वनिचित्र । हो, कोभिड–१९ महाव्याधिमा सबैभन्दा पहिला यदि कुनै कुराले हामीलाई सन्न बनाएको थियो भने, त्यो थियो ‘शून्यता’ । निःशब्द ‘मौनता’ । अंग्रेजीमा ‘साइलेन्स’ । हामीले मात्र होइन विश्वका सबै देशका नागरिकले आ–आफ्ना भाषाका ‘मौनता’ बाँचेका थिए । र, यो ‘मौनता’ लकडाउनले ल्याएको थियो । त्यतिबेलाको सबैभन्दा प्रभावकारी उपाय, जसको सुरुआत चीनबाट भएको थियो ।

सन् २०१९ को डिसेम्बरमा पहिलोपटक नोभल कोरोनाको केस देखियो चीनको वुहानमा । हुबेई प्रान्तको अरू सहरमा नसरोस् भनेर चीन सरकारले वुहानमा ‘लकडाउन’ गर्‍यो । ‘लकडाउन’ अर्थात् सबै किसिमको सार्वजनिक यातायात बन्द । कलकारखाना, कार्यालय, विद्यालय, व्यापारिक स्थल सबै बन्द । अनि जब वुहानका बासिन्दाहरूलाई घर बाहिर ननिस्कन उर्दी जारी भयो पश्चिमा सञ्चारमाध्यमले ‘लकडाउन’ लाई अमानवीय भनेर प्रचार गर्न थाले । यो तरिकालाई कम्युनिस्टहरूको तानाशाही शैलीसित दाँजे ।

पश्चिमा सञ्चारमाध्यमले त्यहाँको रिपोर्टिङ जसरी गरिरहेका थिए, त्यो हाम्रो यथार्थभन्दा बाहिरको थियो । वुहानका एघार लाख बासिन्दा घरभित्रै थुनिएको दृश्य अकल्पनीय थियो । खतरनाक भाइरसबाट बच्न हाम्रो सरकार भइदिएको भए के गर्थ्यो भन्नेतिर नसोची हामी आफूलाई भाग्यमानी ठानिरहेका थियौं । धन्न ∕ हामी तानाशाही देशका नागरिक होइनौं भनेर ।

वुहान एकाएक ठप्प पारिएको थियो । जनवरीको कुहिरोमा ढाकिएको वुहान सुनसान बनेको थियो । परित्यक्त सहरझैं बिलकुल मृत । हवाइजहाजको रनवे जत्रो सडकमा एकला दुकला साइकलवालहरू कुहिरोमाझ देखिन्थे र कुहिरोमै बिलाउँथे । भत्किएको खालि घरमा परेवाको फडफडाहट सुनिएझैं एउटा चिसो अनुभूति दिएर जान्थे । भित्र गगनचुम्बी भवनका अपार्टमेन्टमा कैद वुहानवासी चुपचाप मृतकको संख्या गनिरहेका थिए । अनि जब दिन ढल्थ्यो, साँझको रिमरिम सुनसानलाई चिर्दै एकअर्काको हौसला बढाउन राष्ट्रिय गीत गाउन थाल्थे । गीत सक्किएपछि आ–आफ्नो अपार्टमेन्टबाट चिच्याउन थाल्थे– ‘वुहान च्या–यो ∕ वुहान च्या–यो ∕’ यसको शाब्दिक अर्थ ‘तेल थप’ भए पनि यसको भावार्थ ‘संघर्ष जारी राख ∕’ भन्ने थियो ।

वुहानको अँध्यारो आकाशमा यो आवाज गुन्जिँदा हामीले उनीहरूप्रति टीठ मानेका थियौं । विडम्बना ∕ मार्चसम्ममा सारा संसारले त्यही नियतिबाट गुज्रिनुपर्‍यो ।

चीनबाट विश्वव्यापी हुँदै कोभिड–१९ जब पहिलोपटक नेपालमा देखियो, हामीकहाँ पनि ‘लकडाउन’ सुरु भयो ।

विसं २०७६ साल चैत ११ । चालीस वर्षपछि पनि गते र साल ठ्याक्कै याद भइरहनुको कारण छ । किनभने १० गतेको साँझ हामी एक्कासि अत्तालिएका थियौं । ‘नेपालीको इम्युन तगडा छ,’ भन्दै खेलाँची गरिरहेको सरकारले अचानकसित घोषणा गर्न पुगेको थियो– भोलिदेखि ‘लकडाउन’ हुन्छ भनेर ।

विसं २०४५ सालमा भारतीय नाकाबन्दी, ‘४६ सालमा पहिलो जनआन्दोलन । फेरि ‘६२/६३ सालमा दोस्रो जनआन्दोलन र २०७२ मा अर्को भारतीय नाकाबन्दी । यी सब बेहोरेको हाम्री आमाले ‘लकडाउन’ अर्थात् बन्दाबन्दीलाई नाकाबन्दीकै हाराहारीमा बुझिन् । अनि त हामीलाई रातको ९ बजे नै दौडाइहालिन् नुन, आलु र चामल किनेर ल्याउन । उनको अनुभवमा नेपाली हुनु भनेको नुन, आलु र चामल घरमा जगेडा राखिराख्नु पनि हो । नेपालमा आन्दोलन र नाकाबन्दीको चक्र चलिरहन्छ रे ।

तर, ‘लकडाउन’ हाम्री आमाले सोचेको जस्तो न आन्दोलनको बेलाको कर्फ्युजस्तो थियो, न नाकाबन्दीमा हुने अभावमा स्वाभिमानको घुट्कोले चित्त बुझाउने बेलाको जस्तो थियो । पाँच वर्षअघि महाभूकम्प गएको बेलाजस्तो नि थिएन । जतिबेला खुट्टामुनिको जमिनभन्दा एकअर्काका हात र काँधमा भर पर्ने बेला थियो, ‘लकडाउन’ एउटा पर्खाइजस्तो थियो । कोरोना भाइरसरूपी टाइमबम कुनै पनि बेला पड्किन सक्ने समयको पर्खाइजस्तो । त्यसबाट बच्न मान्छेहरू आ–आफ्ना बङ्करमा लुकिरहेका त थिए । तर, त्यो टाइमबम आफूमध्ये जोकोही पनि हुन सक्ने आशंकाले आतंकित बनाइरहेको थियो । कहिले लाग्थ्यो– कुनै पनि बेला हामी यो ऐंठनबाट ब्युँझनेछौं, कहिले लाग्थ्यो यो निस्सास पर्खाइको अन्त्य छैन ।

संक्रमणको भयले हामी एकअर्काबाट थुनिएर बस्यौं । एकअर्काबाट थुनिँदाथुनिँदै हामी आफ्नै शून्यमा खस्दै गयौं ।

‘लकडाउन’ भन्दा अघि हामी ‘साउन्ड ओभरकिल’ को समयमा बाँच्दै आएका थियौं । अर्थात् ध्वनिको कोलाहलले हाम्रो श्रवणशक्ति लाटिएसरह थियो । एक ध्वनि अर्कोबाट छुट्टिन छाडी सबै ध्वनि एउटै जस्तो सुनिने गरेको थियो । ‘लकडाउन’ भएपछि जब जनजीवन एकाएक थामियो । चारैतिर झ्याप्प चकमन्नता छायो ।

हल्ला शान्त थियो । भए पनि वातावरणमा शान्तिको आभास थिएन । भयमिश्रित सन्नाटा अजिब किसिमको थियो । यो सन्नाटामा मौनताको स्वाँऽऽ मात्र सुनिन्थ्यो । बिस्तारै बिस्तारै सुनिन थाल्यो, सांसारिक हल्लाको चर्कोमा मन्द हुन पुगेका ध्वनिहरू । जस्तो – पातहरूका बीचबीचबाट सरसराइरहेको हावा ∕ सिमेन्टको भुइँमा खस्रिरहेको पोलिथिन झोला ∕ चरक्क घाममा अम्बाको चिचिला झर्दाको पट्टपटट्ट ∕ डोरीमा फडफडाइरहेको सुकाइएका सर्टका बाहुला ∕ बात्तिँदै गएको एम्बुलेन्सको साइरनको प्रतिध्वनि ∕ अनि दिग्दारीमा लामो सास फेर्दा मुखबाट फुत्किने ‘श्शऽऽ ।’

सुक्ष्म ध्वनिले हामी आफैंलाई आफूतिर फर्कायो । कोठाका आँखा नजाने उपेक्षित कुना, हात नपुग्ने अप्ठेरो चेप, सौन्दर्य हराएर अर्थ मात्र रहिरहेको खित्रिङमित्रिङले यतिन्जेलको बेवास्ता सम्झायो । छिट्छिटो सफा गरेर बाहिर हतारिनुपर्ने थिएन । त्यसैले फुर्सदमा बडो स्याहारका साथ तिनलाई स्पर्श गरियो । त्यहाँ राखिछाडिएको बिहाको कार्ड, बगरका ढुंगा, बिग्रेको फाउनटेन पेन पुछ्दापुछ्दै त्यसबाट उडेको धूलोले सम्झनाका घुर्मैलो बादल ल्यायो । स्मृतिहरूमा टोलाइरहँदा त्यसले उदास बनायो । जिन्दगी बोध गर्नका लागि जीवनचर्याको अभाव हुँदा, हामीसँग समय मात्र बाँकी थियो बोध गर्न ।

तर, जब जिन्स प्यान्टको खल्तीमा च्यापिएर बसेको पार्किङ टिकट भेटियो, थुप्रिएका भिजिटिङ कार्डको चाङमा जब फिल्म टिकटको अधकट्टी फेला पर्‍यो, हामीलाई कोरोनाकाल भन्दा अघिको ‘सामान्यपन’ याद आयो । मन एक्कासि त्यही समयमा फर्किन लालायित भयो । उही रोजाना जिन्दगीको घिसिरपिटिरको चाह भयो । किनभने यतिन्जेल घरभित्र थुनिएको एक महिना भइसकेको थियो । त्यसमाथि चैत–वैशाखको वसन्त एक्लै फक्रिरहेको देख्दा लाग्थ्यो, हामीलाई नै रुँगिबसेको छ । हावा स्वच्छ भएको थियो र आकाश नीलो न नीलो । चराचुरुंगीको चिरबिर कुनै आवाज तल नदब्बी चारैतिर गुन्जायमान थियो । लाग्थ्यो, ब्रह्माले सुरुदेखि सृष्टिको रचना गर्न थाले ।

तर ‘लकडाउन’ लम्बिँदै गइराखेको थियो । बाहिर निक्लिन नपाएको छटपटीले हामीमा बेचैनी बढ्न थाल्यो । बिहान–बेलुका एकछिन निक्लिन पाए पनि सहरमा भुताहा सन्नाटा छाएको हुन्थ्यो । ‘मौनता’ को अनुभूति सुरुमा आवाजको शून्यता मात्र थियो । बिस्तारै यो हाम्रो मानसमा उत्रिन थाल्यो । भौतिक शून्यता शनैःशनैः मनको शून्यतामा गहिरिँदै गयो । त्यो भासमा हामीले आफूलाई नितान्त एक्लो पाउन थाल्यौं । सायद आफैंसँग बोल्न थाल्यौं ।

अनि एक दिन सर्वत्र फैलिएको शून्यलाई चिर्दै यस्तो आवाज सुनिन थाल्यो, जसले हामी सबैलाई भेदेर भित्रैसम्म हाल्लाइदियो । त्यो आवाज थियो श्रमजीवीको घरफिर्ती ‘लङ मार्च’ को ।

एकाएकको लकडाउन कसैका लागि सहज थिएन । झन् ज्यालादारी श्रमिकहरूका लागि त यो भोकमरीको सजाय थियो । सबै वर्गका लागि एउटै निर्णय गर्दा सायद सिंहको दरबारबाट कण जत्रा देखिने श्रमिक वर्ग ख्याल गरिइँदैनन् । वा यस्तो एकछत्र निर्णयको ‘कोल्याटरल ड्यामेज’ श्रमिक वर्गले बेहोर्नुपर्छ । त्यसैले जीविकोपार्जनका लागि एक भूगोलबाट अर्को भूगोलसम्म पुगेका ज्यालादारी मजदुर विलखबन्दमा परे । भारत पुगेका नेपाली श्रमिक दाजुभाइहरू त झन् शरणार्थीझैं फर्किन बाध्य भए । त्यसपछि पूर्वपश्चिम उत्तर–दख्खिन नभनीकन उनीहरू घर फिर्न सयौं किलोमिटर हिँड्न थाले । भोकैप्यासै घाम खप्दै हिँडिरहे । बाटोभरि डर मान्दै, स्थानीयहरूको हेला सँहदै, सुरक्षाकर्मीहरूको डन्डा खाँदै । थुनिएर भोकभोकै मर्नुभन्दा संक्रमित भए पनि घरै पुग्नु जाती । श्रमिक जिन्दगीले तेर्साएको बाँच्नुको सर्त ∕

कसैलाई हारगुहार नगरी चुपचाप गम खाँदै हिँडेका थिए श्रमिकहरू । उनीहरूको मौन हिँडाइ नै निरीहताको चिच्याइ थियो । पत्रिकामा देखिएका यात्रारत पाइला, मर्माहत बनाउने उनीहरूको बयान, खबरहरूका बीचबाट टोलाइरहेका मलिन अनुहार, काफी थियो नेपाली मनलाई उकुसमुकुस बनाउन । अझ प्रवासिएका नेपाली श्रमिकका ‘आह’ को एक अंश कहन पनि पर्याप्त छैन चिठीको यो चौकुना । तर, प्रिय संसारा तिम्रो समयको समाजको चेतना खोतलेर हेर्नु । कुनै कुनामा त्यो समयका पिँधमा पिल्सिएकाहरूको आक्रोश अझ पनि हुनुपर्छ ।

अब म तिमीलाई बताउन जाँदै छु, मलाई डर लागेको क्षण ।

उसो त मृत्युसन्त्रासले हामी सबै नै अधमरा भएका थियौं । तर, म चाहिँ आफू मर्नबाट होइन, आफ्ना प्रियजनलाई जुन प्रकारले गुमाउनुपर्थ्यो त्यसले तर्सिएको थिएँ । किनभने २०७७ को जेठ १ गते संक्रमित भएर मरेको पहिलो केसपछि जे जे देखियो, त्यसले एउटा क्रूर यथार्थ उद्घाटित गर्‍यो ।

कोभिड–१९ सित जुधिरहेको बिरामीको जब मृत्यु हुन्थ्यो, ऊ संक्रमित शव हुन्थ्यो । चाँडोभन्दा चाँडो त्यो शवलाई सुरक्षित रूपमा दफनाउनु वा जलाउनु अनिवार्य हुन्थ्यो । त्यसैले त्यो शवलाई प्लास्टिकको पत्रैपत्रले बेर्नुपर्थ्यो । त्यसरी बेरिएको शवले आफ्नो निजत्व हराउँथ्यो । उसका आकार, प्रकार, अनुहार प्लास्टिकले झनै निर्जीव बनाउँथ्यो । स्ट्रेचर भए शव शवैजस्तो देखिन्थ्यो । स्ट्रेचर नभएको अवस्थामा सकीनसकी बोकिएको त्यो लास मिल्काउने सामानको पोकाझैं प्रतीत हुन्थ्यो ।

आइसोलेसन वार्डमा राख्नुअघि देखेको आफ्नो मान्छे एकैचोटि प्लास्टिकको पोका बनेर आउँदा कस्तो लागेको होला ? कस्तो लागेको होला पीपीई लगाएका अचिनारु मलामीहरूले आफ्नो प्रियलाई लगिरहँदा ?

लागेको होला– गह्रौं नमानी बोकिदिए हुन्थ्यो, अलि आरामसित जमिनमा सुताइदिए हुन्थ्यो वा दाहगृहको चितामा पूरै नजलाइन्जेल बसिदिए हुन्थ्यो ।

टाढैबाट बिदाइ गरिरहेका ती आफन्तलाई दौडिएर एकपटक च्याप्प अँगालोमा बेरेर रुने संवेग जाग्थ्यो कि जाग्दैनथ्यो होला ?

कोभिड–१९ को संक्रमणमा ज्यान गुमाउनेहरूले एकदमै एक्लो मरण मरेका थिए । र, आफ्ना प्रियलाई त्यसरी गुमाउनुपर्दा बाँचेकाहरूले बडो क्रूर यथार्थ भोगेका थिए ।

अझ भारतबाट फर्किएका गरिब श्रमिकहरूले त भयानक मृत्यु पाएका थिए । भेडाबाख्राझैं कोचिनुपर्ने क्वारेन्टाइनमा घिडघिडो लाग्दा पनि नजिक गएर पानी खुवाउने कोही हुँदैन्थ्यो । तिनै क्वारेन्टाइनमा घटेको एउटा त्रासदी भन्दै छु । बाँके जिल्ला नरैनापुरको क्वारेन्टाइनमा बम्बइबाट फर्केका युवा थिए । एक दिनअघिदेखि नै उनको हालत बिग्रिँदै गएको थियो । तर, अस्पताल टाढा थियो । एम्बुलेन्स भएर पनि चालक र स्वयंसेवकसित पीपीई नभएकाले उनीहरू नजिक जान डराए । उनलाई उठाएर अस्पताल पुर्‍याउनु त टाढाको कुरा ।

ती युवक रातभरि छटपटिए । बिहान ६ः४० बजे उनको मृत्यु भयो । आँखैअघि छटपटिँदा त कोही नजिक गएनन् । झन् संक्रमित लास छुन को अघि सरोस् ∕ क्वारेन्टाइनको चौरमा उनको लास लावारिसझैं बिहानदेखि साँझ आठ बजेसम्म त्यतिकै रहिरह्यो । छरपस्ट लडेका कुर्सी र टेबलमाझ । अर्धनग्न त्यो लासछेउ गएर लुगा ओढाइदिने पनि कोही भएन । उनका बुबा, पत्नी, छोराछोरी टाढै उभ्भिएर लासलाई नियालिरहे । दिनभरि उनको अर्धनग्न लास एक टकले हेर्दै रोइरहे ।

यी सबैको साक्षी बन्नुपरिरहेको आम नेपालीलाई भने सकस भइसकेको थियो । ‘लकडाउन’ बढेको बढ्यै गरे पनि सरकारले न क्वारेन्टाइन व्यवस्थित बनाइरहेको थियो, न पीसीआर परीक्षणको दायरा बढाइरहेको थियो । सोचेजस्तो संक्रमित संख्या घट्नुको सट्टा झन्झन् बढ्दै गइराखेको थियो । यस्तोमा आत्तिनुपर्ने नेताहरू आरामसित बसेर आफूआफूबीच ‘को पार्टी अध्यक्ष, को प्रधानमन्त्री’ को बाघचाल खेलिरहेका थिए । हद पार भएपछि जनताका धैर्य आक्रोश बन्यो । युवाहरू त्यसपछि सडकमा उत्रिए र ‘इनफ इज इनफ’ भन्दै आन्दोलन सुरु गरे ।

चार–चार महिना भइसकेको थियो भाइरससँग डराउँदै बसेको । यसबीच लक्षण नभएका संक्रमितहरू बढी देखिन थाले । यसले रोग प्रतिरोधात्मक शक्ति बलियो भएमा कोभिड–१९ सँग लड्न सकिने हिम्मत दियो । रोगसित लड्ने मनोबल उच्च भएमा निको हुन सक्ने आस दियो । विश्व स्थास्थ्य संगठन (डब्लूएचओ) ले पनि भ्याक्सिन नबनेसम्म सार्स–कोभ २ सँगै बाँच्नुको विकल्प छैन भन्यो ।

यसैगरी यो हाम्रो नयाँ यथार्थ बन्यो । यही नै नयाँ सुरुआत पनि ।

प्रिय संसारा हरेक सय सय वर्षमा महाव्याधिको चक्र आउँछ रे । त्यस हिसाबले अर्को चक्र कि तिम्रो बूढेसकालको अन्त्यतिर देखिनेछ । नभए तिम्रो छोरा अयनको पुस्ताले भेट्नेछ । त्यतिन्जेल विज्ञान कहाँदेखि कहाँ पुगिसकेको हुनेछ भनी तिमीले तर्क गरौंला । प्रविधि केबाट के भइसकेको हुनेछ भनी ढुक्क भइराखौंला । कोभिड–१९ देखिनुअघि हामी पनि ढुक्क थियौं । किनभने हामी ‘स्टेम सेल थेरापी’ को समयमा बाँचिरहेका थियौं । ड्रोन उडाउने समयका अवतार थियौं । तर, जब ‘सार्स–कोभ २’ ले महाव्याधि ल्यायो हामीसँग त्यसबाट बच्ने उपाय बडो प्राथमिक स्तरको थियो । हात धुने, मास्क लगाउने, भौतिक दूरी राख्ने र सकेसम्म घरबन्दीमा बस्ने ।

तिमीहरूको पालोसम्म रोग नलाग्ने एक से एक उपाय सोचिएला, रोग लागेमा संक्रमितलाई पातालसम्म पछ्याउने ट्रेसिङ एप होला, ज्यानै जान लागेमा बायोटेक्नोलोजीको चमत्कारले बचाउला । तैपनि रूप फेरिरहने विषाणु र कहिल्यै नदेखिएको जीवाणुबाट त्यसले तत्काल बचाउन सक्दैन । त्यससित लड्न औषधि वा भ्याक्सिन चाहिन्छ । र, त्यो बन्न केही समय लाग्नेछ । त्यतिन्जेल महाव्याधिलाई बेहोर्न खालि एउटै कुराले सकिनेछ । त्यो हो ‘मानवता’ ।

कोरोनाकालमा मान्छेहरू केवल कोभिड–१९ बाट मात्र मरेका थिएनन् । जो भोकै–प्यासै घर हिँडेका थिए, ती धपेडीले मरे । कोही क्वारेन्टाइनमा सामान्य उपचार नपाएर मरे । कोही एम्बुलेन्समा लगिदिने नभएर मरे । धेरै महिला सुत्केरी हुन नपाएर मरे । कोही अस्पतालले भर्ना लिन नमानेर मरे । कोही भने आस मरेर आत्महत्या गरे । संक्रमणबाट निको भइसक्दा पनि टोलछिमेक र गाउँलेहरूले गरेको घृणाको त हिसाबै छैन । के हामी प्रत्येकमा सहृदयी भाव भइदिएको भए उनीहरूको दुःख आधा कम हुँदैनथ्यो ? यस्तो त्रासदी बेहोर्न बल पुग्दैनथ्यो ? कम से कम यस्तो मृत्यु त मर्नु पर्दैनथ्यो !

हो यस्तो बेला डर जायज हुन्छ । मान्छे एकअर्काप्रतिको संवेदनाभन्दा माथि उठ्न सक्दैन । तर, महाव्याधिमा चाहिने संवेदना मात्र हैन, सहानुभूति पनि हो ।

‘हरि’ नभएका मन थिएनन् भन्न खोजेका होइन । तर, महाव्याधि त्रास, मृत्यु र विक्षिप्तता मडारिएको अन्धकार हो । करुणाले भरिएको मानवता त्यो अन्धकारमा बल्ने दियो हो । अन्धकारको सुरुङ पार गर्न केहीको मानवीय उज्यालोले मात्र सम्भव छैन । मानवताको दियो हामी प्रत्येकले बालेमा नै अन्धकारबाट सँगसँगै निस्किन सक्छौं । याद राख्नु एक–दुईमा त्यो दियो निभ्नु भनेको एक अंगुल अन्धकार बढ्नु हो ।

त्यसैले भविष्यका लागि मानवता सँगालेर राख्नु । मानवद्वेषी भावबाट बचाएर राख्नु । आत्मकेन्द्रित युगबाट अक्षोभ्य राख्नु । मानिसको मानवताको परीक्षा यही बेला हुनेगर्छ ।

मेरो प्रिय संसारा ∕ भोलि तिमी सानु अयनलाई नोभल कोरोना भ्याक्सिन लगाउन जाँदै छौ । अब बुझेकी होला जुन सहजताले तिमीले नोभल–कोरोना खोपको नाम लिएकी थियौ, त्यही सहजताले म किन लिन सक्दिनँ । हाम्रो पुस्ताले सन् १९१८ को ‘स्पेनिस फ्लु’ सर्लक्क बिर्सेझैं हामीपछिको हरेक पुस्ताले ‘कोभिड–१९’ को महाकाल नर्बिसियोस् । त्यसका लागि तिमीले यो चिठी भविष्यमा अयनलाई पढाउनु । ऊ पछि र पछिको पछिले पनि पढून् । किनभने हरेक वर्तमानले भविष्यकाल र भूतकालमा एकैपटक सास फेरिरहेको हुन्छ ।

सदैव प्रेम,

तिम्रो हजुरआमा

प्रकाशित : भाद्र ६, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?