१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘भगवान्’ राम : उमेर १६०० वर्ष !

‘नायक’ रामलाई एउटा ‘वंशको नायक’ बाट ‘राष्ट्रको नायक’ का रुपमा स्थापित गरियो । सामान्य मरणशील मान्छेबाट अलौकिक शक्ति भएका विष्णुका अवतारका रुपमा प्रस्तुत गरियो । भारतमा चौथो शताब्दीतिर मात्र अवतारवादको सिद्धान्त विकास भएको हो र यसपछि नै रामलाई ‘भगवान्’ को तहमा उकालिएको हो ।
भोगीराज चाम्लिङ

सुरुमा वाल्मीकि रामायण २४ हजार श्लोकको थियो, अहिले झन्डै १ लाख श्लोकको छ (अल्ब्रेख्त वेबर, अन द रामायण, जर्मनबाट अंग्रेजीमा अनुवाद सन् १८७३(, पृष्ठ १०२, एम. विन्टरनित्ज, अ हिस्ट्री अफ इन्डियन लिटरेचर, भोल्युम १, सन् १९२७, पृष्ठ ५००) । त्यस्तै सुरुमा पाँच काण्डको थियो, अहिले सात काण्डको छ ।

‘भगवान्’ राम : उमेर १६०० वर्ष !

पछि थपिएका ती दुई काण्ड थिए बालकाण्ड र उत्तरकाण्ड । यही दुई काण्ड नै हो जसले रामलाई मरणशील मान्छेबाट भगवान् विष्णुका अवतारका रूपमा प्रस्तुत गरेको छ ।

बालकाण्ड

पहिलो काण्ड अर्थात् बालकाण्ड मूल रामायणको अंग होइन भन्ने कुरा लामो समयदेखि स्वीकार गरिँदै आएको हो । कथा र विषयवस्तुमा त थुप्रै अन्तरविरोधी कुरा छँदै छन्, भाषा र शैलीका हिसाबले पनि दोस्रो काण्डदेखि छैटौं काण्डका तुलनामा बालकाण्ड र उत्तरकाण्ड न्यून स्तरको मानिन्छ । त्यस्तै खासखास गुदी कुरामा समेत बालकाण्डको सम्बन्ध अन्य काण्डसँग देखिँदैन (एम. विन्टरनित्ज, पृष्ठ ४९६) ।

एउटा रोचक कुरा के भने भारतको जोधपुरस्थित प्यालेस लाइब्रेरीमा फेला परेको रामायणको देवनागरी लिपिमा लेखिएको पाण्डुलिपि (जीएच भट्ट, द वाल्मीकि रामायण : क्रिटिकल्ली इडिटेड फर द फस्ट टाइम, द बालकाण्ड, सन् १९६०, पृष्ठ हहष्ख) मा बालकाण्डका श्लोकलाई अयोध्याकाण्डमा समावेश गरिएको छ । यदि हस्तलिखित रूपमा उतार्नेको गल्ती होइन भने प्रारम्भमा बालकाण्डको नाम अयोध्याकाण्ड थियो र रामायणको सुरुआत अहिलेको बालकाण्डको पाँचौं सर्गबाट हुन्थ्यो, जसमा रामको जन्म तथा उनका भाइहरूबारे उल्लेख गरिएको छ । त्यस्तै ११ औं शताब्दीका क्षेमेन्द्रले पनि ‘रामायण–मञ्जरी’ मा बालकाण्ड उल्लेख गरेका छैनन् बरु बालकाण्डका विषयवस्तुलाई अयोध्याकाण्डमा समावेश गरेका छन् । अर्को रोचक कुरा, पद्म पुराणले चाहिँ रामायणको ६ काण्ड भएको उल्लेख गरेको छ तर अयोध्याकाण्डको उल्लेख छैन । बरु अयोध्याकाण्डको विषयवस्तु बालकाण्डमा समावेश छ (जीएच भट्ट, पृष्ठ xxxi) ।

जीएच भट्टका अनुसार, बालकाण्डको सुरुका चार सर्ग मूल रामायणका अंग होइनन् । यो रामायणलाई अन्तिम रूप दिने बखतमा थपिएको हो । यसप्रकारको परिचयात्मक खण्डहरूको प्रयोग महाभारत र पुराणहरूमा भएको देखिन्छ । यस हिसाबले हेर्दा ऋष्यशृंग र राजा सगरको जुन सन्दर्भ बालकाण्डमा छ, ती मूल रामायणका अंग होइनन् । ऋष्यशृंगको सन्दर्भ उत्तरभन्दा दक्षिण भारतमा प्राप्त पाण्डुलिपिमा बढी विकास भएको देखिन्छ । बालकाण्डको सार जो अग्नि पुराणमा दिइएको छ (जीएच भट्ट, पृष्ठ हहहष्) त्यसमा ऋष्यशृंगबारे उल्लेख छ तर आश्चर्यजनक रूपमा राजा सगरबारे केही पनि बताइएको छैन । त्यसैले पनि ऋष्यशृंग र राजा सगरको सन्दर्भ मूल रामायणको अंग नभएर पछि थपिएको हो भन्ने स्पष्ट हुन्छ । अर्को कुरा, राजा सगरको सन्दर्भ रामायणमा दुईपटक आउँछ, जसलाई लेस्नीले हरिवंश र विष्णु पुराणसँग तुलना गरेका छन् । त्यस्तै मिथिला र अयोध्याका राजाहरूको जुन वंशावली उल्लेख छ, त्यसलाई किर्फेलले पद्म पुराणसँग तुलना गरेका छन् । रामायणका दोस्रोदेखि छैटौं काण्डहरूभन्दा बालकाण्ड पुराणहरूसँग अलि निकट देखिन्छ अर्थात् पुराणीय विशेषता बढी देखिन्छ (जीएच भट्ट, पृष्ठ xxxii) । पुराण जो अलि पछिकै रचना हुन् ।

रामायणको बालकाण्डमा रामको कुण्डली दिइएको छ । यो झन् पछि थपिएको अंश हो भन्ने कुरा कसरी स्पष्ट हुन्छ भने भारतीय अथवा हिन्दू पञ्चाङ्गमा बारहरूको उल्लेख गर्ने परम्परा इसाको चौथो शताब्दीबाट मात्र सुरु भएको हो (एचडी संकालिया, द रामायण इन द हिस्टोरिकल पर्स्पेक्टिभ, सन् १९८२, पृष्ठ २१) । भारतीय ज्योतिष परम्पराका धुरन्धर इतिहासकार शंकर बालकृष्ण दीक्षित र रोबर्ट सिवेलले पनि सात बारहरूको प्रचलन ग्रीस, इजिप्ट या चल्दियामध्ये कुनै एउटा देश अर्थात् युरोपेली मुलुकबाट सुरु भएको बताएका छन् (हिस्ट्री अफ इन्डियन इस्ट्रनोमी, भाग २, सन् १९८१, पृष्ठ २७७, द इन्डियन क्यालेन्डर, सन् १८९६, पृष्ठ २) । अर्को कुरा, राम जन्मको वर्णन गर्ने क्रममा नक्षेत्रहरूको अवस्थाका बारेमा पनि रामायणको दक्षिणी भारतीय पाण्डुलिपिमा उल्लेख गरिएको छ तर उत्तरी पाण्डुलिपिमा उल्लेख नै छैन (जीएच भट्ट, पृष्ठ हहहष्ष्) । एडोल्फ होल्जम्यान्नले पनि भारतमा जुन राशिको कुरा गर्ने गरिएको छ, त्यो ग्रीकहरूबाट प्रभावित भएर सुरु भएको हो भनेर बालकाण्डबारे प्रश्न उठाएका छन् (हर्मन ज्याकोबी, द रामायण, ओरियन्टल इन्स्टिच्युट अफ बरोडा, जर्मन भाषाबाट अनुवाद सन् १९६०, पृष्ठ २४) ।

लेजेन्डरको आक्रमण (इसापूर्व ३२६) र त्यसलाई पछ्याउँदै भएका पछिका आक्रमण (इसापूर्व ३०० देखि सन् २००) का क्रममा ग्रीक (यवन), शक, पार्थियन (पल्हव) र कुसानहरू भारतमा प्रवेश गरेसँगै विज्ञान, कला र संस्कृतिका विद्वान्हरू पनि भारतमा प्रवेश गरे । उनीहरूले नै भारतमा वैज्ञानिक ज्योतिष सिद्धान्त पनि प्रवेश गराएका हुन्, जसलाई भारतमा सिद्धान्त ज्योतिषका रूपमा चिनिन्छ (सम्पादकद्वय एसएन सेन एन्ड केएस शुक्ला, हिस्ट्री अफ एस्ट्रोनोमी इन इन्डिया, सन् २०००, पृष्ठ २८२) ।

बालकाण्ड र उत्तरकाण्डमा रामलाई विष्णुको अवतारका रूपमा प्रस्तुत गरिएको छ, जबकि दोस्रोदेखि छैटौं काण्डमा रामलाई वीर पुरुषका रूपमा वर्णन गरिएको छ (एम विन्टरनित्ज, पृष्ठ ४९६, हर्मन ज्याकोबी, पृष्ठ ५०, अल्ब्रेख्त वेबर, पृष्ठ ६५, उमाकान्त प्रेमानन्द शाह, द वाल्मीकि रामायण ः क्रिटिकल्ली इडिटेड फर द फस्ट टाइम, द उत्तरकाण्ड, सन् १९७५, पृष्ठ ५१) । बालकाण्ड र उत्तरकाण्डबाहेक अन्य केही काण्डमा पनि रामलाई विष्णुका अवतारका रूपमा नदेखाइएको होइन तर ती पछि थपिएका अंश हुन् । यसरी ‘मानव राम’ बाट अर्धभगवान्का रूपमा ‘राष्ट्रिय वीर पुरुष राम’ र ‘सर्वव्यापी भगवान्’ का रूपमा रामलाई प्रस्तुत गरिँदा धेरै लामो समय बितेको छ (एम विन्टरनित्ज, पृष्ठ ५०१) ।

यस क्रममा रामायणका ‘नायक’ रामलाई एउटा ‘आदर्श नायक’ का रूपमा स्थापित गरियो, एउटा ‘वंशको नायक’ बाट ‘राष्ट्रको नायक’ का रूपमा स्थापित गरियो । यसै क्रममा उनलाई सामान्य मरणशील मान्छेबाट अलौकिक शक्ति भएका विष्णुका अवतारका रूपमा प्रस्तुत गरियो (हर्मन ज्याकोबी, पृष्ठ ५०) । यहाँ स्पष्ट हुनुपर्ने कुरा के भने भारतमा चौथो शताब्दीतिर मात्र अवतारवादको सिद्धान्त विकास भएको हो र यसपछि नै रामलाई भगवान्को तहमा उकालिएको हो (एचडी संकालिया, पृष्ठ २१) । चौथो शताब्दीको मानिने कालिदासको ‘रघुवंश’ पुस्तकले पनि रामलाई विष्णुकै अवतारका रूपमा चित्रण गर्नुले (उमाकान्त प्रेमानन्द शाह, पृष्ठ ५१) यही कुरा पुष्टि हुन्छ ।

बालकाण्डमा विष्णुको मात्र उल्लेख छैन, महादेवको पनि उल्लेख छ । स्कन्द, कार्तिकेय, सदानन र कुमारसम्भवको उल्लेख छ । कुमारसम्भव त कालिदासको प्रसिद्ध कृति भइहाल्यो । शिवका छोराका रूपमा कुमारको कथा इसाको चौथो शताब्दीमा विकास भएको हो । वैदिक साहित्यमा उल्लेख भए पनि स्कन्दलाई स्वतन्त्र देउताका रूपमा पूजा गर्न थालिएको भनेको मौर्यकाल (इसापूर्व ३२२–१८५) मा हो । अनि गुप्तकाल (सन् २७५–४५५) को प्रारम्भमा भारतमा स्कन्द–कार्तिकेयका मन्दिरहरू बनेका छन् तर क्रमशः ओरालो लागेर शैव सम्प्रदायभित्र समाहित हुन पुग्यो (एचडी संकालिया, पृष्ठ २५) ।

त्यस्तै बालकाण्ड र उत्तरकाण्डमा थुप्रै स्थानमा कथावस्तु विशृंखलित र टुटेको छ । महाभारत र पुराणहरूमा जस्तै ः ब्राह्मण मिथक र किंवदन्तीहरू घुसाइएका छन्, जुन कुरा दोस्रोदेखि छैटौं काण्डमा विरलै भएको पाइन्छ (एम विन्टरनित्ज, पृष्ठ ४९६) । त्यस्तै रामायणमा सुरुमा वाल्मीकिलाई ऋषिका रूपमा मात्र देखाइएको छ । तर, बालकाण्ड र उत्तरकाण्डमा वाल्मीकिलाई रामका समकालीन व्यक्तिका रूपमा देखाइएको छ । यसबाट के स्पष्ट हुन्छ भने रामायणमा श्लोक थप्ने पछिका कविहरूका लागि वाल्मीकि पनि हिरो (नायक) भइसकेका थिए (एम विन्टरनित्ज, पृष्ठ ५०१) ।

बालकाण्डमा शक, पल्हव, यवन र यवन–मिश्रिता (इन्डो–ग्रीक) हरूको उल्लेख छ, जसले बालकाण्डको समय पत्ता लगाउन महत्त्वपूर्ण योगदान दिएको छ । ग्रीकहरूले दोस्रोपटक आक्रमण (इसापूर्व १८५) गरेर भारत प्रवेश गरेर पाटलिपुत्र, मध्यमिका, राजस्थान नजिकको चितौर कब्जा गर्नुभन्दा पहिले ग्रीक अथवा इन्डोग्रीकका बारेमा भारतीयहरूलाई खास थाहा थिएन । ग्रीकहरूपछि भारत आउनेहरूमा शक र कुशानहरू हुन् । त्यसपछि आभिर, हुणहरू आए र सबैभन्दा पछि आएका हुन् गुजरहरू । रामायणमा पछि आएका यी आभिर र हुणहरूका बारेमा कतै उल्लेख भएको पाइँदैन । त्यसैले बालकाण्ड इसाको दोस्रो शताब्दीभन्दा पहिलेको र दोस्रो ग्रीक आक्रमणपछाडिको हो (एचडी संकालिया, पृष्ठ २३) भन्न सकिन्छ ।

रामायणमा विश्वामित्रले वैशालीको उत्पत्तिको कुरा गर्ने क्रममा समुद्रमन्थनको कुरा गरेका छन् र आकस्मिक रूपमा वरुणीको उत्पत्तिबारे पनि बताएका छन् । वरुणीलाई वरुणकी छोरीका रूपमा चिनाइएको छ । वरुणी देखापर्नासाथ भगवान्हरूले हारालुछ गरेको वर्णन बालकाण्डमा छ । यसमा हामीले वरुणी रक्सीको साँचो कथा थाहा पाउनुपर्ने हुन्छ । केही संस्कृत विद्वान्हरूले भनेझैं यो ऋग्वेदको वरुणसँग जोडिएको कुरा नै होइन बरु समुद्रमार्गबाट भारत भित्रिएको वरुणी रक्सीको कुरा हो । वरुणी इसापूर्व पहिलो शताब्दीमा ठूलो अनुपातमा दुईतिर समाउने भएको ठूलो भाँडा अम्खोरामा भूमध्यसागरबाट भारतमा निकासी गरिएको रक्सी हो (एचडी संकालिया, पृष्ठ २४) ।

बालकाण्डमा तामा (तम्र), फलाम (कृष्णअयस), सिलावर/चाँदी (त्रपु) र सिसा (शिशक) को उल्लेख छ । यति मात्रै भनिएको छैन, शिवको फलाम/तामाको विशाल धनुवाणको कुरा गरिएको छ, जुन ६ फुट लामो र आठवटा पांग्राले गुडाइन्छ । फलामको यति विशाल निर्माणकार्य चौथो–पाँचौं शताब्दीतिर विकास भएको हो, जसको प्रमाण दिल्लीको फलामे स्तम्भ हो (एचडी संकालिया, पृष्ठ २५) ।

उत्तरकाण्ड

बालकाण्डजस्तै रामायणको सातौं काण्ड अर्थात् उत्तरकाण्ड पनि पछि थपिएको हो भन्ने कुरामा कुनै शंका छैन (एम विन्टरनित्ज, पृष्ठ ४९५) । तर, कति पछाडि थपिएको हो ? यसबारे आंशिक जवाफ कालिदासको ‘रघुवंश’ र भवभूतिको ‘उत्तररामचरितं’ ले दिन्छ । कालिदासले ‘रघुवंश’ मा जुन पद्यांश प्रयोग गरेका छन् लगभग उही पद्यांश रामायणको उत्तरकाण्डमा प्रयोग भएको छ – वाच्यस्त्वया मद्वचनात्स राजा / वह् नौ विशुद्धामपि उत्समक्षम् । मां लोकवादश्रवणादहासीः / श्रुतस्य कि तत्सदृशं कुलस्य ।।

त्यस्तै गरेर ‘उत्तररामचरितं’ मा भवभूतिले केही नयाँ काम गरेका छन् । उनले लव र कुशलाई वाल्मीकिसँगै रामकोमा गएको दृश्यको सट्टा रामलाई चाहिँ बरु आश्रममा गएको देखाएका छन् । यी दुई सन्दर्भका आधारमा एचडी संकालियाले उत्तरकाण्डलाई चौथोदेखि सातौं शताब्दीका बीचमा अथवा अझ त्यसभन्दा अगाडि रामायणको अंश बनिसकेको (संकालिया, पृष्ठ १३०) बताएका छन् । यसमा उमाकान्त प्रेमानन्द शाहले चाहिँ उत्तरकाण्डलाई पाँचौं शताब्दीभन्दा पछाडिको होइन भनेर ठोकुवा गरेका छन् ।

उमाकान्त प्रेमानन्द शाहका अनुसार, कालिदासभन्दा अगाडि नै रामायणको उत्तरकाण्ड अस्तित्वमा थियो भन्ने कुराको प्रमाण कालिदासको रघुवंशको श्लोक १४–१५ हो । सीता त्याग, लवण–वध, कुश–लव जन्म, शम्बुक वध, लक्ष्मणको मृत्यु र रामचन्द्रको ‘स्वर्गारोहण’ जस्ता सन्दर्भहरू जो रघुवंशमा दिइएको छ, यसबाट उत्तरकाण्डबारे कालिदास भलिभाँति परिचित थिए भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले उमाकान्त प्रेमानन्द शाह उत्तरकाण्डलाई पाँचौं शताब्दीभन्दा अगाडिकै हो, पछाडिको होइन (द वाल्मीकि रामायण, पृष्ठ ५१) भन्ने मान्यता राख्छन् ।

उत्तरकाण्डमा गन्धर्वदेश र गन्धर्वविषयको उल्लेख छ । यी देश तथा विषय (जिल्ला) हरूमा गन्धर्वहरूको शासन थियो अर्थात् सैलुसका सन्तानहरूले शासन गर्थे । सैलुस नाम भारतीय या संस्कृत नभएर विदेशी नाम हो । सम्भवतः पर्सियन, ग्रीक, इन्डो–ग्रीक, सिथियन, पार्थियन, शक र कुशानहरूमध्ये कोही कसैको नाम हो, जसले इसापूर्व ५०० देखि सन् १०० सम्म शासन गरेका थिए । उत्तरकाण्डमा राजा युद्धजित भन्छन्, ‘यी गन्धर्वहरूलाई परास्त गरेर दुईवटा सहर कब्जा गर’ (एचडी संकालिया, पृष्ठ १३२) । रामायणअनुसार, यी दुई सहरमध्ये भरतका छोराहरूमध्ये तक्षले तक्षशिलामा, पुष्करले पुष्करावती कब्जा गर्छन् । र, यी दुई सहर इन्डो–ग्रीक या पार्थियनहरूले बसाएको हुन सक्ने सम्भावना धेरै छ (एचडी संकालिया, पृष्ठ १३३) । तक्षशिलाका प्रथम संस्थापक तक्षक थिए, जो नाग जातिका थिए । यी नागहरू कुनै बेला पन्जाब, हरियाणा र मध्यप्रदेशका केही भागमा बसोबास गर्थे । उनीहरूलाई आर्यहरूले निरन्तर लखेटिरहेका कारण चौथो शताब्दीमा उत्तरी र मध्य (केन्द्रीय) भारतमा मात्र केही नाग शासकहरू बाँकी रहेका थिए, जसले गुप्त शासन स्थापित गरिँदा प्रतिरोध गरेका थिए (एचडी संकालिया, पृष्ठ १३५) । यसबाट रामायणमा थप्ने कार्य ग्रीक र सिथियनहरू भारतमा आउँदासम्म पनि जारी रहेको थियो (हर्मन ज्याकोबी, पृष्ठ ५१) भन्ने देखिन्छ ।

मूलतः गन्धर्वहरूको सन्दर्भलाई आधार बनाएर विद्वान् एचडी संकालियाले रामायणको उत्तरकाण्ड इसाको पहिलो शताब्दीमा रचना गरिएको हो तर्क गरेका छन् । उनका अनुसार, उत्तरकाण्डको अन्तिम सर्गका रूपमा भगवान् विष्णुको आंशिक अंग (अवतार) भएकाले रामलाई कालले स्वर्गमा फर्कन अनुरोध गरेको भन्ने बखतसम्म निरन्तर थप्ने कार्य भइरहेको थियो । यसरी नै बालकाण्डमा पनि राम र उनका भाइहरूसहित चारजनालाई नै विष्णुको अंशका रूपमा देखाइएको छ । यसबाट जो कसैले पनि पूर्ण आत्मविश्वासका साथ भन्न सक्छ कि बालकाण्ड र उत्तरकाण्ड एकै समयमा अझ एकै व्यक्तिद्वारा रचना गरिएको हो । संकालियाकै अनुसार, भारतमा अवतारवाद चौथो शताब्दीमा आएर पूर्ण रूपमा स्थापित भएकोले उत्तरकाण्ड रचनाको पछिल्लो समयसीमा चौथो शताब्दी मान्न सकिन्छ । यही अवधिमा मध्यप्रदेशका मन्दिरहरूमा रामायण र भागवत्का कथाहरूलाई मूर्तिकलामा अंकित गरिएका छन् । त्यसभन्दा अगाडि यस्तो भएको थिएन । त्यसभन्दा पहिले रामलाई भगवान्का रूपमा पुज्ने चलन नै छैन । यसको साक्ष्य रघुवंश पनि हो जुन चौथो शताब्दी हाराहारीकै हो (एचडी संकालिया, पृष्ठ १३६) ।

लेखक विमल सुरीले ‘प्रकृत पौमचरियम’ पुस्तक लेखेका छन्, जसलाई रामको जीवनीको जैन (भाषा) संस्करण मानिन्छ । यो पुस्तक महावीरले निर्वाण प्राप्त गरेको ५३० वर्षपछि अर्थात् इसाको चौथो शताब्दीमा लेखिएको मानिन्छ । अझ भीएम कुलकर्नीले त यो पुस्तकलाई तेस्रो शताब्दी अन्तिमताकाको मानेका छन् । कुलकर्नीको निचोड के रहेको छ भने प्रकृत मौमचरियम पुस्तक वाल्मीकि रामायणबाट बेस्सरी प्रभावित रहेको छ । र, कुलकर्नी के पनि भन्छन् भने विमल सुरी रामायणको उत्तरकाण्डबारे परिचित छन् । यसबाट के स्पष्ट हुन्छ भने उत्तरकाण्ड इसाको चौथो शताब्दीको सुरुमा अस्तित्वमा मात्र थिएन, वाल्मीकि रामायणकै अंग भइसकेको थियो (उमाकान्त प्रेमानन्द शाह, द वाल्मीकि रामायण, पृष्ठ ५१) ।

शताब्दीऔंमा बालकाण्ड र उत्तरकाण्डसहित रामायणमा लगभग ७६,००० श्लोक थपिएछ । त्यस्तै रामलाई ‘भगवान्’ बनाइएको पनि लगभग १६०० वर्ष भएछ !

प्रकाशित : श्रावण ३१, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?