कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दुरू–फकं’ को दुःख

समयले कोल्टे फेर्दा सिंहको नियति मुसाको जति पनि हुँदो रहेनछ । आखिर यो संसारमा ठूलो र सर्वशक्तिमान को रहेछ ? हात्ती कि लामखुट्टे ? सिंह कि मुसा ?
पुरुषोत्तमलोचन श्रेष्ठ

सभ्यता जति उत्कर्षमा पुग्छ, महामारी उति नै प्रचण्ड भएर फैलिन्छ । कोरोना अनुभूतिलाई विगतका महामारी र दुर्भिक्षहरूसित जोडेर हेर्दा यी दुवै एकपछि अर्को गरी प्रायः सँगसँगै आउने जुम्ल्याहा दैत्यदेव रहेछन् भन्ने आभास हुन्छ ।महामारीका दुई रूप देखापर्छन्— प्रकृतिउत्पन्न र मानवनिर्मित । दोस्रोचाहिँ शत्रु–देशलाई परास्त गर्न जैविक हतियारको रूपमा प्रयोगमा ल्याइन्थ्यो ।

युद्ध–इतिहास यस कुराको साक्षी छ । महामारीको सर्वप्राचीन विवरण इपू १२०० तिरको इन्फ्लुएन्जा/फ्लु महामारीलाई मानिएको छ । यो महामारी बेबिलोन, पर्सिया, मध्यएसिया, मेसोपोटामियालगायत दक्षिण एसियामा फैलिएको थियो (मोरित्ज (१९२१) द फ्लु, रिट्राइभ्ड, २०२०, साभार विकिपेडिया : लिस्ट अफ इपिडेमिक्स) । सिन्धुघाँटी सभ्यताको पतन पनि झन्डै उही समयतिर, महामारी र दुर्भिक्षकै कारण भएको आभास हुन्छ ।

नेपालमा सभ्यताको थालनी गर्ने गोपाल वंश (इपू १४००–६०० अनुमानित) थियो । पशुपतिनाथको स्थापना पनि यही युगमा भएको मानिन्छ । सभ्यतासँगै महामारी आउने विषय एवं महामारी शान्त पार्न महादेवको पूजा गर्ने नेपाली संस्कृतितिर समेत फर्केर हेर्दा त्यो युगमा पनि महामारी चलेको हुन सक्छ । महाभूकम्पजस्तै महामारी पनि प्रत्येक एक सय वा एक सय बीस वर्षको अन्तरालमा चल्ने कुराको अनुमान लोककथन, वंशावलीबाट हुन्छ (नयनाथ पौडेल (सं), भाषा वंशावली, पुरातत्त्व विभाग, २०२०, पृष्ठ १०२) । किरातकाल (६००–३०० इपू अनुमानित) पनि महामारीबाट आक्रान्त हुन पुगेको दृष्टिगोचर हुन्छ । राजा हुमतिको राज्यकालमा ‘विसूचिका’ (हैजा/छेराउटी) नामको महामारी फैलिएर धेरै संख्यामा नरनारी, सैनिक मरेका थिए (भाषा वंशावली, पृष्ठ ४८–४९) । लिच्छवि राजा सुपुष्पदेव (इपू ३०० अनुमानित) को पालामा चाँगुको दूधे कर्कलोको कारणले देशमा ठूलो ‘मह्रं’(महामारी) फैलिएको थियो, सो मह्रं शान्त पार्न श्रावण शुक्ल द्वितीयाको दिनमा दूधे कर्कलोको पायस पकाएर ढोकामा राखी नौ दिनसम्म सर्सिउँ, रायो र पिँडालुले अभिषेक गरेपछि मह्रं निवारण भएको कुरा गोपालराजवंशावली (गो.वं.) को ३० पत्रबाट ज्ञात हुन्छ ।

श्रावण शुक्ल द्वितीयाको दिनमा कर्कलोको पायसले चाँगुनारायणलाई भोग चढाउने चलन छ, हनुमानढोका राजदरबारमा कलशयात्रा पनि चलाइन्छ । रायो, सर्सिउँलगायत पिँडालुसमेत राखेर होम गर्ने चलन छ (चाँगुनारायणमन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायबाट प्राप्त जानकारी) । कर्कलो र पिँडालुका अनेकथरीका तरकारी–अचार बनाएर देवतालाई चढाउने खाने, उत्सव मनाउने चलन (सकिमना पुन्ही) नेवारहरूमा छ । घण्टाकर्ण चतुर्दशीका दिनमा कर्कलो, सिस्नु र चाक्लो आकारको एक प्रकारको काँढे–घाँस (च्वाकं) र ‘बकं’ नामको बिरुवा आदिले घण्टाकर्णको प्रतिमा सजाएर राँको जुलुस निकाली दोबाटो चौबाटोमा लगी ‘भूतप्रेत, महामारी भगाउने’ चलन छ । खान नहुने दूधे कर्कलोलाई नेवारीमा ‘दुरू–फकं’ भनिन्छ । गो.वं.मा आएको ‘दुरू–फकं’ जंगलमा त्यत्तिकै फल्ने एक प्रकारको विषालु कर्कलो हो । र, त्यसैको विषाक्त असरका कारणले महामारी फैलन पुगेको प्रतीत हुन्छ ।

लिच्छवि राजा मानदेव प्रथम (इसं ४६४–५०५) को राज्यकालमा ठूलो उत्पात भएको थियो । पौष पूर्णिमाको दिनमा होली गरेपछि सो उत्पात शान्त भएको कुरा गो.वं. को २१ पत्रमा परेको छ । सो दिनमा सिस्नुको पायसले चाँगुनारायणलाई भोग लगाई कलशयात्रा गर्ने परम्परा छ । सोही क्रममा पुजारी समूहले बोकेर ल्याएको कलशयात्रामा उनै चाँगुनारायणलाई अपशकुन देखाउन दोबाटो, चौबाटोमा माटाका खाली भाँडाहरूको ढोका नै बनाएर राख्ने चलन छ । पौष पूर्णिमाकै दिन पनि होली उत्सव गरेर देशमा आइपरेको उत्पातलाई शान्त पार्न सकिन्छ भन्ने नूतन मान्यता यसले प्रस्तुत गरेको छ । सिस्नुको पायसले चाँगुनारायणलाई भोग लगाउने, कलशयात्रा गर्ने र त्यससित जोडिएको कथा एवं तदनुरूपको माटाका टुटे–फुटेका, खाली भाँडाको ढोका बनाउने चलनलगायत यसै दिनमा नेपालमण्डलका नेवारहरूले माटाका भाँडाकुँडाहरू बाटोमा लगी फुटाउने ‘छ्यालापुन्हि’ को सम्बन्ध पनि पाँचौं शताब्दीमा फैलिएको सो महा–उत्पात/महामारीसित रहेको र त्यसबाट सिर्जित संस्कृति थियो भन्ने कुरा ज्ञात हुन्छ ।

मध्यकाल (इसं ८८०–१७६९) को अनेक कालप्रवाहमा अनेक महामारी आए, ती एक्लै आएनन्, तिनका साथमा दुर्भिक्ष र अझ यदाकदा महाभूकम्प पनि पछि–पछि लागेर आए, धनजनको अपार क्षति पुर्‍याउँदै, दूरगामी असर छाड्दै गए । गो.वं.को अध्ययनबाट पूर्वमध्यकालमा चलेका केही डरलाग्दा महामारीहरूको जानकारी मिल्छ । गो.वं.को ३२ पत्रमा ने.स.२३५ मा एउटा महामारीको चर्चा आएको छ । धनवज्र वज्राचार्यले त्यसको नेपाली अनुवाद यसरी गरेका छन् ‘बिफर फैलिएर असाध्य मानिस मरे । ...यसको शान्तिका लागि देवता स्थापना गरिएपछि मात्र देशमा महामारी फैलिन छोड्यो (शान्त भयो)’ (वज्राचार्य, मल्ल, १९८५, दि गोपालराजवंशावली, पृष्ठ ८८) । पूर्वमध्यकालका एक प्रसिद्ध राजा सिंहदेव (इसं ११०१–११२३) हुन् । यिनैको राज्यकालमा यो महामारी चलेको थियो, बिफर फैलिएर देशमा अनगिन्ती मानिस मरेका थिए, शीतलामाईको मन्दिर स्थापना गरेपछि सो ‘म्रकाह’ महामारी शान्त भएको थियो भन्ने कुरा यस पत्रबाट थाहा पाइन्छ ।

अमृतदेवको (इसं ११७५–११७८) पालामा पनि महामारी र दुर्भिक्ष आएको थियो (गो.वं.२५ पत्र) । अरिमल्लदेव (इसं १२००–१२१६) र उनकै छोरा अभयमल्ल (इसं १२१६–१२५५) हरूका पालामा पनि उस्तै महामारी दुर्भिक्ष भएका थिए । अभयमल्लको राज्यकालमा बारम्बार महामारी दुर्भिक्ष मात्र आएन, नेस ३६४ माघकृष्ण पञ्चमीको रातिदेखि सात दिनसम्म परेको ठूलो हिमपातले पशुहरू मरे, नेस ३७५ आषाढशुक्ल तृतीया सोमबारको दिनमा महाभूकम्पसमेत चल्यो, अनेक देवल घरहरू भत्के, अभय मल्ललगायत तीन भागमा एक भाग प्रजाको मृत्यु भएको थियो (गो.वं. २५, ३८ पत्रहरू) । जयदेव (इसं १२५४–१२५७) को राज्यकालमा पनि महाभूकम्प, महामारी र दुर्भिक्ष भए, धेरै जनताहरू मरे (गो.वं.२५ पत्र) ।

नेसं ४४८ भाद्र शुक्ल नवमीको दिन पनि ठूलो महामारी फैलिएको थियो । सो महामारी कम समयमै तीव्र रूपमा फैलन पुगेको देखिन्छ, जसले गर्दा महामारी फैलिएको ६ महिनापछि, नेसं ४४९ (इसं १३२९) फाल्गुण शुक्लदेखि त झनै विध्वंसात्मक हुन पुग्दा भाद्रसम्ममा दिनमै सय जनाजति मानिस मर्न थालेका थिए, लोकले बत्ती बाल्न सकेनन् । यसरी ठूलै महामारी भएकाले यसलाई ‘महामरक’ भनिएको छ । यसको जड ‘कनि’ भएकाले ‘कनिमरक’ नाम पाएको विदित हुन्छ । ‘कनि’ ले बुझाउन खोजेको कुरा विशेष महत्त्वको छ । कमलप्रकाश मल्लले ‘कनि’ को अर्थ मकै अनुमान गर्दै यसलाई ‘मेज्–डेथ् (?)’ लेख्न पुगेका छन् (पूर्ववत्, पृष्ठ १४९) । डा. महेशराज पन्तले यो महामारी मकैसित सम्बन्धित नभएको भन्दै ‘यो कुन प्रकारको महामारी हो भनी निर्णय गर्न सके राम्रो हुन्थ्यो’ भनी लेखेका छन् (‘मरकले राजालाई पनि छोडेन’, २० वैशाख, २०७७, शनिबारको कान्तिपुर, पृष्ठ ५) ।

नेवारीमा मकैलाई ‘कःनि’ भनिन्छ । आँखा नदेख्ने ‘अन्धी’ लाई नेवारीमा ‘कनि’ भनिन्छ । ‘कनिमरक’ को चर्चा गर्दा उक्त पत्रमा ‘म्वतं, च्यालःवु मछाल्व लोकन’ अर्थात् ‘लोकले बत्ती बाल्न सकेनन्’ भन्ने कुरा पनि आएको छ । यताबाट आँखाको ज्योति नै गुम्ने सङ्क्रामक रोगसित गाँसिएर फैलिएको महामारी यो थियो भन्ने कुरा ज्ञात हुन्छ । विशेषगरी, अन्धो भएर मृत्यु हुने यो महामारीको सङ्क्रमण पहिले महिलामा देखिएको र त्यसपछि सर्वत्र फैलिएर महामारीको रूप लिन पुगेको हुँदा यसको नाम ‘कनिमरक’ रहन गएको जानिन्छ ।

जयस्थिति मल्ल (इसं १३८२–१३९५) को राज्यकालमा पनि महामारी र दुर्भिक्ष भएको देखिन्छ । नेसं ५०१ मा फैलिएको सो ठूलो उत्पातका कारण श्रावणदेखि कार्तिकसम्ममा डेढ हजार मानिस मरे, असिना परेर अन्नबाली फलेन (गो.वं.५९ पत्र) ।

उत्तर मध्यकाल (इसं १३९५–१७६९) मा पनि अनेक महामारी आए, अनगिन्तीलाई लगे । यस्तै एउटा प्राचीन महामारी बिफर थियो, जसको विनाशकारी मारले इस्वीको सत्रौं–अठारौं शताब्दीतिरको नेपालमण्डललाई पनि बारम्बार सताइरहेको देखिन्छ ।

युरोपमा इस्वीको चौधौं शताब्दीतिर देखापरेको एक महाप्रलयकारी महामारी प्लेग थियो, जुन ‘ब्ल्याक–डेथ्’ नामले चर्चित रह्यो । मुसाबाट सर्ने यो रोग मध्य, पूर्वी एसियाबाट रेशममार्ग हुँदै युरोपलगायत संसारभरि नै फैलिन पुगेको देखिन्छ । कुनै देशको त कुल जनसंख्याको आधाभन्दा बढीको मृत्यु हुने गरी फैलन पुगको यो महामारीले विश्वमा २० करोडभन्दा बढी मानिसको मृत्यु भएको विदित हुन्छ (‘ब्ल्याक–डेथ्’, विकिपेडिया) । यो महामारी अठारौं शताब्दीतिर नेपालमण्डलमा पनि फैलियो, हजारौंको संख्यामा दोपाया, चौपाया सोत्तर पारेपछि शान्त हुन पुगेको देखिन्छ । यो महामारी नेसं ८३६ चैत्रदेखि नेसं ८४२ भाद्र महिना गरी सात वर्षसम्म चलेको थियो (भाषा वंशावली, पृष्ठ १०२–१०४, डी.आर. रेग्मी, १९६६, मेडियाभल नेपाल, तेस्रो भाग, पृष्ठ १२८–१२९) । तात्कालिक स्रोतअनुसार, यो महामारी फैलिएर मानिस मर्नुअघि मुसा, कुखुरा, भेडाबाख्रा, गाईभैँसी, हात्तीघोडा आदि मरे, त्यसपछि प्रत्येक घरका मानिस मर्न थाले, प्रत्येक गाउँ र वनका मृग, बँदेल आदि जीवजन्तु मर्न थाले, कान्तिपुरमा मात्र दिनमै १००/१२० जना मानिस मरे, ‘यस्तो उपद्रव यसअघि न त सुन्नमा आयो न त देखियो नै’, पृथ्वीमा सर्वत्र पशुपक्षी, जीवजन्तु मरे’, यसको ‘इपिसेन्टर’ कान्तिपुर देखियो । वंशावलीअनुसार, ‘चैत्र महिनादेखि कान्तिपुरमा मर्‍या । असारमा ललितपुरमा मर्‍या । भक्तपुरमा मर्‍या । यस्तै तरहसँग रोग फैलियो ...।’

महामारीबाट बच्न दरबार/सहर छाडी किंडोलमा गएर ‘क्वारेन्टिन’ मा एक्लै बसेका भाष्कर मल्लले मन थाम्न नसकी, दरबारमा आउँदा त्यही दिन महामारीको चपेटामा परेर उनी नेसं ८४२ भाद्रकृष्ण ११ मा मरे ...‘सात वर्षसम्म महामारी आई रोग समन नभै रोगका पीडाले श्रेष्ठभाज्युहरू धेरै मरण भया । ...’ सात वर्षसम्म चलेको यस महामारीले १८,७१४ जना मानिस मरेका थिए (डी.आर. रेग्मी, १९६६, मेडियाभल नेपाल, दोस्रो भाग, पृष्ठ १६६) । महामारी प्रचण्ड हुँदै गएको समयतिर, इसं १७१६ मा नेपाल आएका पादरी फ्रेयरले यस महामारीका बारेमा ‘तीन महिना पनि नपुग्दै जलाइएका लासहरूको संख्या बीस हजार पुगेको’ विवरण दिएका छन् (उही, पृष्ठ १६६) । नेपालको इतिहासमा, आजसम्म आएका महामारीमा यति धेरै नरसंहार गरी उत्पात मच्चाएको यो सायद पहिलो प्रलयकारी महामारी थियो । यसले सामाजिक, धार्मिक, आर्थिक आदि अनेक क्षेत्रमा असर पुर्‍याएको देखिन्छ ।

रणबहादुर शाहको राज्यकालमा फैलिएको बिफरलाई पनि इतिहासले बिर्सेको छैन । सो महामारीले उनकी प्रेयसी–पत्नी कान्तिवतीको इसं १७९९ मा मृत्यु भयो । त्यो घटनाले कुपित भएका राजाले देवीदेवताहरूको मन्दिर, मूर्ति तोडफोड गरे । त्यसले यहाँका जनताहरूको मन रुवायो, किनकि ती तिनका पूर्वजका पालादेखिका सुख, दुःख पोख्ने मनका मीत थिए, मनोबल बढाई रोगव्याधि हटाउन अदृश्य ऊर्जा प्रदान गर्ने, आस्था र विश्वासका देवता थिए । नेवार संस्कृति र सभ्यतामाथिको कठोर प्रहार थियो त्यो । राजाको रिस त्यतिले मात्र मत्थर भएन, उनले निरपराध कलिला बच्चाहरूलाई नेपालमण्डलबाट निष्कासन गर्न लगाए । संस्कृति शिरोमणि हरिराम जोशीको विचारमा ‘नेपालबाहेक विश्वमा कुनै त्यस्तो देश छैन जहाँका क्रूरतम शासकले आफ्नै देशका जनतालाई बिनाअपराध अमानवीय ढंगले देशनिकाला गरेको होस् ।’

चीनको उहानबाट उद्भव भएको कोरोनालाई बेलैमा सबैले यो सारा मानवजातिको महासंकट हो भन्ने बुझिदिएको भए आज यस्तो प्रलय आउने थिएन । यहाँनेर चाँगुनारायण मन्दिरको पश्चिमपट्टिको सत्तलको काष्ठथाममा उत्कीर्ण त्यो अनौठो आकृतिको स्मरण हुन्छ, जसमा एकजोडी फिस्टेचराले हात्तीको पुच्छर चुच्चोले च्यापेर सो हात्तीलाई तलतिर तुन्द्रुंगै झुन्ड्याइरहेको छ । त्यसैगरी भक्तपुर राजदरबारको भैरवचोकको पूर्वपट्टिको काष्ठझ्यालमा उत्कीर्ण ती तीन आकृतिहरूको पनि स्मरण भएको छ, जहाँ एक भ्यागुतोले सिंहको जगर समाएर आच्छु–आच्छु पारेका छन् । मध्यखण्डमा मुसाहरूको समूहले बाघलाई चारैतिरबाट घेरेर आक्रमण गरी उस्तै रजाइँ गरेका छन् । तेस्रो खण्डमा एउटा भ्यागुतोले हात्तीलाई निल्नै लागेको छ र, त्यस्तो अद्भुत दृश्य देखेर सँगैको रूखको हाँगोमा बसेको एउटा कागले आश्चर्यमिश्रित भावमा सो भ्यागुतोलाई जिस्क्याइरहेको छ (श्रेष्ठ, ‘भैरवचोकका कलाकृति’, भक्तपुर : १/१७/२०५५) ।

जुन बेला पत्याउनै नसकिने गरी प्लेगको महामारी फैलिएर नेपालमण्डलमा हरेक दिन सयौं मानिस मरिरहेका थिए, त्यसबेला भक्तपुरमा भूपतीन्द्र मल्ल (इसं १६९६–१७२२) राज्य गर्दै थिए । उनको मृत्यु सो महामारी मत्थर हुनुभन्दा ४ महिनाअघि (नेसं ८४२, वैशाख शुक्ल तृतीया) भएको देखिन्छ (रेग्मी, १९६६, पूर्ववत्, पृष्ठ २४४) यसरी यस क्षणमा सो महामारीका एक प्रत्यक्षदर्शी राजा भूपतीन्द्र मल्ल विरचित तल प्रस्तुत गीतको स्मरण पनि झलझली भइरहेको छ(केदारराज राजोपाध्याय, ‘भैरवचोक : एक परिचय’, खोपृङ् २०५१, पृष्ठ ४८) :

कसरी पत्यायनौ हे नारायण, कसरी पत्याएनौ !

कर्ममा लेखेर ल्याएको सहनुपर्दो रहेछ रे ।

अद्भुत भयो आज यो संसारको रीत रे ।।

भंगेरो नअटाउने खोपाबाट हात्तीले चियाएर हेर्‍यो रे ।

तोरीको गेडा नछिर्ने प्वालबाट फर्सी झर्‍यो रे ।।

कसरी पत्याएनौ हे नारायण कसरी पत्याएनौ ।

सिंहको जगर समाएर भ्यागुतोको रजाइँ रे ।।

दुईवटा हात्तीलाई समाएर लामखुट्टेले चपाइ–चपाईकन खान्छु भन्यो रे ।

माछा सरी जान्छु भन्यो (लामखुट्टेले) संसारमै नभएको कुरा सुन्न पर्‍यो रे ।।

यो गीत गाउन लगाउने भूपतीन्द्र मल्ल नरपति रे ।।

– (नेवारी गीतको भावानुवाद : पंक्तिकार)

समयले कोल्टे फेर्दा सिंहको नियति मुसाको जति पनि हुँदो रहेनछ । आखिर यो संसारमा ठूलो र सर्वशक्तिमान् को रहेछ ? हात्ती कि लामखुट्टे ? सिंह कि मुसा ? यसको निष्पक्ष–फैसला पाठकवृन्दबाट नै होस् भन्ने चाहन्छु । प्रकाशित : श्रावण १७, २०७७ ११:५६

प्रतिक्रिया
पठाउनुहोस्

त्यसपछि आमा माकुरा हुनुभो

माकुराको बच्चाले आफ्नै माउ खाएजस्तै हामीले नै हाम्रो आमाको पाठेघर रोगी बनाएका हौँ। हामीले नै आमालाई चिथोरीचिथोरी खाएका हौँ । हाम्रै कारणले आमा यतिखेर माकुरा हुनुभएको छ ।
भूपाल राई

आमालाई कोरोना के हो थाहा भएन । त्यसको कैफियत हात उहाँसम्म पुगेन पनि । तर, त्यसलाई सम्बोधन नगरी आजका कुनै पनि घटना पूरा हुँदैन भन्ने यथार्थबाट म पूरापूर जानकार छु । त्यसैले कोरोनाकालकै छायामुनि म यतिखेर आमाको दुःखान्त यादमा छु ।

म देखिरहेको थिएँ- ठीक यही संकटका बेला मेरो घरमा एक अर्को संकट थपिन गैरहेको थियो । र, स्पष्ट चाल पाइरहेको थिएँ, त्यो संकट झन्झन् नजिक आउनेवाला थियो । बिस्तारै–बिस्तारै मेरो आँखैअगाडि आमा शिथिल बन्दै जानुभएकोथ्यो । हरेक बिहान हेर्थें, यस्तो लाग्थ्यो— आमा क्रमशः सिद्धिरहनुभएको छ । हरेक रात आमाको जीर्ण शरीरबाट जीवनको एक दिन चोइटिएर खसिरहेको छ ।

त्यसो त म मात्र होइन सारा दुनियाँ लकडाउनले आक्रान्त थियो नै । ठीक यत्ति नै बेला त्यस्तो दुःखान्त विपत्ति थप हुनु र त्यसको प्रतक्ष भोक्ता हुनु अवश्य मेरो मात्र एक्लो अनुभव थिएन । तर, हरेक दिन एउटा जिउँदो अस्तित्व नामेट हुँदै गरेको दृश्यपटमा आफ्नै चेतनाले आमालाई सिद्धिँदै गएको हेर्नु बेग्लैखालको पीडा थियो, जसले मलाई आफ्नै अगाडि तेर्सिरहेको विश्वजनिन संकटको आयतन अरू थप सघन भएको अनुभूति बाँडेर गयो ।

चालु महाव्याधिले प्रदान गरेको बहुपक्षीय प्रलय निःसन्देह कल्पनातीत थियो र छ । तर, मानिसहरूले प्रलय सँगसँगै पनि बाँच्ने कला सिके । संकटकै घडीमा पनि नीहरूको जिजीविषाको जाँगर मरेन । कत्तिले कविताको बाढी बगाए । आख्यानको आँधी उडाए । अनलाइन वार्ता र संगोष्ठीहरूको पहिरो चलाए । तर, मैले त्यस्तो केही गर्न सकिनँ । सेल्फ क्वारेन्टाइन र आइसोलेसनको लामो फुर्सदलाई मैले पटक्कै उपयोग गर्न सकिनँ । यसर्थ कि कोरोना मेरालागि डरलाग्दो कोलाहल थियो । ढाँट्दिनँ, कोलाहलमा म केही गर्नै सक्दिनँ । अरू त अरू मैले यो विषयमा एक पातो डायरीसमेत लेख्न सकिनँ । बरु लामो लकडाउनको कहालीलाग्दो छायामा व्यथित मात्रै भइरहेँ । भित्रभित्रै विचलित बनिरहेँ । चढ्दो तनाव र उद्विग्नताका साथ जसोतसो लकडाउन सुरु भएको चैतको आधा महिना त गालेँ । तर, अगाडि तेर्सिरहेको अनिश्चित भयदेखि झन् बढी विचलित भैरहेको थिएँ । सौभाग्यवश वैशाखको पहिलो सातातिर कुनै उपायद्वारा मैले हिँडडुल गर्न मिल्ने एउटा आधिकारिक कागज फेला पारेँ र त्यसैको आडले दिनको एकचोटि मोटरसाइकलबाट सहर र रिङरोड परिक्रमा गर्न थालेँ । यसरी म कोरोनाको कोलाहलभन्दा पनि घरबन्दीको एकाकीपन र छटपटीबाट तंग्रिन खोजिरहेथेँ ।

ठ्याक्कै यस्तै बेला ममाथि त्यो विपत् थपिन पुगेको थियो, जसको संकेत मैले माथि गरिसकेको छु ।

जेठको पहिलो सातादेखि आमाका नियमित शारीरिक क्रियाहरू बिस्तारै अवरुद्ध हुन थाले । सबभन्दा पहिले खाद्यक्रिया बन्द भयो । त्यसपछि खुट्टाले आफ्नो कर्म छोड्यो । क्रमशः दिसापिसाब अवरुद्ध हुनुको साथसाथै बिस्तारै ओठबाट शब्दहरू हराउँदै जान थाले । यस्तोमा हस्पिटल लैजाऊँ, जताततै कोरोनाको त्राहिमाम छ । नलैजाऊँ आमाको सास क्षीण हँॅदै गैरहेछ । के गर्ने ? स्वयं टिचिङ हस्पिटलको नर्सिङ स्टाफ मेरी कान्छी दिदीसमेत किंकर्तव्यजिमूढ छिन् । बाह्रैकाल बजार लाग्ने टिचिङ हस्पिटल मसानघाटजस्तो सुनसान छ । अन्त्यमा हामीलाई कोरोना त्रासभन्दा आमाको यन्त्रणाले जित्यो र त्यही यन्त्रणाको बलले हामीलाई टिचिङ हस्पिटलसम्म पुर्‍यायो ।

आमालाई हस्पिटल राखेको बेला यता देश भने एकाएक राष्ट्रवादको चर्को नसामा बहुलाइरहेको थियो । साराका सारा दल मिलेर संसद्भवनबाट लिपुलेक र लिम्पियाधुरा समेटिएको एक थान कागजको नक्सा पारित गरिरहेका थिए । सामाजिक सञ्जालका भित्ताहरू राष्ट्रवादको रङले रंगिरहेका थिए । तर, साराका सारा राष्ट्रवादीहरू एक भइरहेको बेला यता म एक जना अराष्ट्रवादी तत्त्व भने यस्तो थिएँ, जो नेपाल आमालाई बँचाउन छोडेर आफ्नो आमाको ज्यान बचाउन लागिपरेको थिएँ । के म स्वार्थी थिएँ ? अथवा एक राष्ट्रद्रोही ? अथवा म के थिएँ ? जो आफैँलाई थाहा थिएन ।

यसरी, जतिखेर राष्ट्रवादको वर्षाकालीन वर्षात् दर्किरहेको थियो, कवि गीतकारहरूका मौसमी गीत र कविता फुरिरहेका थिए । गायक संगीतकारहरूको राष्ट्रवादी स्वर उर्लिरहेको थियो । सडक राष्ट्रवादको वाणी पाएर वाचाल थियो । ठीक त्यति नै खेर यता मेरी आमाको कण्ठबाट भने सम्पुर्ण भाषा हराइरहेको थियो ।

आमालाई के रोग लागेको थियो, त्यसबारे उहाँ अनजान हुनुहुन्थ्यो । मात्र हामी चार छोरा–छोरी रोगबारे छलफल गर्थ्यौं । एलोप्याथी कोर्सका प्रयासहरू काम नलाग्ने भएपछि दिदीले अनेक वैकल्पिक औषधि खोज्दै ल्याउने गर्थिन् । आमा भन्नुहुन्थ्यो, ‘मलाई के रोग लागेको छ र अनेक खाले औषधिहरू दिन्छौ ?’ आमालाई थाहा थिएन, उहाँको त्यो वृद्ध र जर्जर पाठेघर, जसभित्र उहाँका जीवित र मृत गरी सात–सात जना सन्तानका भ्रूण परिपोषित भएका थिए, त्यही पाठेघरभित्र अन्तिम स्टेजको क्यान्सर हुर्किरहेको थियो । उहाँकै पाठेघरभित्र विकसित भएर जन्मिएका सन्तानमध्ये हामी जीवित चार छोरा–छोरी यतिखेर आफैँ बुढ्यौलीको यात्रामा छौँ । यतिखेर मलाई कताकता लागिरहेछ, माकुराको बच्चाले आफ्नै माउ खाएजस्तै हामीले नै हाम्रो आमाको पाठेघर रोगी बनाएका हौँ । हामीले नै आमालाई चिथोरीचिथोरी खाएका हौँ । हाम्रै कारणले आमा यतिखेर माकुरा हुनुभएको छ ।

उमेरभरि गाउँमा अँगेनाको धूवाँले डढाएर आमा फोक्सोको दीर्घरोगी पनि हुनुहुन्थ्यो । काठमाडौं आएपछि पनि त्यो रोग उहाँको अभिन्न साथी बनिरह्यो । २०७२ माघ ९ मा बाबा बित्नुभएपछि झन् उहाँमा एक्लोपनको मनोरोग थपिएको थियो । केही वर्षअगाडि हामीले गाउँबाट चुल्हो यतै सारेका थियौँ । पछिल्लो समय आमा हरेक बिहान चुल्होमा तितेपाती र पानी चढाउनुहुन्थ्यो । सम्भवतः चुल्हाबासमा रहनुभएका बाबाको कल्पनामा उहाँ आफ्नो एक्लोपनको सहारा भेट्नुहुन्थ्यो ।

सबै अंगहरू क्रियाशून्य भएर पनि आमाको चेतनाले भने ठाउँ छाडिहालेको थिएन । हस्पिटल नबस्ने अड्डी उहाँको सुरुकै दिनदेखि थियो । तैपनि आमाको स्थिति यस्तो थियो, सारा कोरोना जोखिम मोलेर पनि हस्पिटल राख्न हामी बाध्य थियौँ । मलाई देख्नासाथ जहिले पनि इसाराले ‘घर लैजा’ भन्नुहुन्थ्यो । एक दिन बडो मुस्किलले आमाले कान्छी दिदीको हात तान्नुभयो र आफ्नो मुखनिर दिदीको कान लगेर सासले केही भन्न खोज्नुभो । त्यसपछि क्रमशः मलाई अनि फेरि ठूली दिदीलाई तानेर त्यसै गर्नॅभो । आमाको बोलीमा शब्द होइन, केवल सास मात्रै थियो । कसैले केही बुझिरहेका थिएनौ, तैपनि मैले आमालाई आश्वस्त पार्ने आशयले ठूल्ठूलो स्वरले भनेँ, ‘मैले सब बुझेँ । चिन्ता लिनु पर्दैन आमा ! म सब काम गर्छु...।’

आमाको धूमिल हुँदै गएको चेतनग्रन्थिले मेरो कुराको अर्थ ग्रहण गर्‍यो कि गरेन मलाई थाहा भएन । तर, एकै छिन अगाडिको आमाको त्यो दारुण दृश्य सहन गर्न नसकेर म क्याबिनबाट बाहिर निस्केँ । सम्झेँ, आमा जहिले पनि गाउँमा लाथालिंग छाडेको जग्गाजमिनको कुरा गर्नॅहुन्थ्यो । सायद उहाँलाई त्यो चिन्ता थियो । अनि उहाँलाई थप अर्को चिन्ता कान्छी दिदीको बारेमा थियो, जो यतिका उमेरसम्म अविवाहित रहेर आमालाई स्याहारेर बसिरहेकी थिइन् । कतै यिनै चिन्ताले आमालाई विचलित बनाइरहेको त थिएन ? मानिसको अन्तिम घडीमा शरीरका जम्मै आंगिक क्रियाहरू अवरुद्ध भएर पनि जब चेतनक्रिया सक्रिय भैरहन्छ, पीडाको भार झन् बढी हुँदोरैछ । मैले झट्ट मनमनै एउटा भयावह र अप्रिय कामना गरेँ— चाहे जुनसुकै अवस्थामा होस्, आमाको यो असह्य पीडा छिट्टै अन्त्य होस् ।

हस्पिटल राखेको तेह्रौं दिनमा डाक्टरले आमालाई आईसीसीयू वार्डमा सार्ने सल्लाह दियो । तर, कान्छी दिदी मानिरहेकी थिइनन् । भन्थिन्, ‘अन्तिम दिनसम्म म आफ्नै हातले आमालाई स्याहार्छॅ ।’ दिदीलाई थाहा थियो, त्यो वार्डमा सारेपछि आमासँगै बस्न मिल्दैनथ्यो । तर, बिरामीको गम्भीर अवस्थाबारे डाक्टरले सम्झाएपछि आमालाई त्यो सघन वार्डमा सारेर म त्यो बेलुका दिदीहरूलाई छाडेर घर फर्कें । रातको ९–१० बजिसकेको थियो । घर पुगेको मात्रै थिएँ, लगत्तै दिदीको रोदनमिश्रित फोन आयो । तत्कालै फेरि हस्पिटल फर्कें— आमाको कष्टकर श्वास–प्रश्वास, एकै छिनअगाडिसम्मको त्यो वणर्नातीत यन्त्रणा सब शान्त भएको थियो । आमा लामो निद्रामा हुनुहुन्थ्यो ।

एक छिनपछि एक जना डाक्टर आएर एउटा कागजमा हस्ताक्षर गर्‍यो । त्यो कागज आमाको ‘डेथ सर्टिफिकेट’ थियो । आश्चर्य ! एक जना डाक्टरको एक हस्ताक्षरमा अहिलेसम्मका सबै कुरा समाप्त भएको थियो । लगभग पौने एक शताब्दी लामो आमाको जीवनयात्रा, यात्राले आर्जन गरेका सब उहापोह, सबै सबैमा पूर्णविराम लागेको थियो । अचम्म ! एक हस्ताक्षरले आमा, आमा रहनुभएन ।

***

महामारी र लम्बिँदो लकडाउनसँग व्यक्तिको शरीर–विशेष मात्र नभएर सामाजिक र नैतिक प्रश्न पनि जोडिएको थियो । भौतिक दूरीको महत्वबारे हेक्का राख्नैपर्थ्यो । त्यसैले मैले आमाको देहान्तबारे कसैलाई सूचना गरिनँ । मात्र आफ्नो जिल्लाका सांसद सुदन किरातीलाई त्यही बेलुका फोनमा भनेँ ‘सुदन, आमा बित्नुभो । कहीँ कतै हल्ला नगर्नू । यो कोरोनात्रासको बेला कसैलाई नैतिक संकटमा नपार्नू । मात्र दुई–चार जना मानिस ठीक पारिराख्नू । भोलि बिहान वनकालीमा भेटौँ ।’

भोलिपल्ट वनकाली पुग्दा पो अवगत भयो, कसैलाई नभन्नू भनेको खबरले त रातभरि डढेलो लगाएछ । हेर्छु, भौतिक दूरीको अवज्ञा गरेर नैतिकताको अपार भीड लागिरहेको थियो त्यहाँ । मैले आफैँलाई प्रश्न गरेँ, ‘के यत्रो कोरोना सन्त्रासमा पनि मानिसभित्रको मानवीयता अझै ज्युँदै छ ?’ त्यही मानवीयता र संकटको बीचोबीच आमा त्यसपछि हामीबाट पशुपतिको वनकालीमै छुट्टिनुभो । संकट पनि कस्तो ? सधैँ आफ्नो घर र जग्गाजमिनको मात्र कुरा गरिरहनुहुने आमाले अन्त्यमा वनकालीको त्यो अनजान र अनचाह माटोमा विलीन हुनुपर्‍यो ।

तेस्रो दिन, कोही एक जना शुभचिन्तकले मलाई फोनमा सोधे, ‘आमालाई के रोग थियो ?’

मैले भने, ‘पाठेघरको क्यान्सर !’

‘कति वर्षको हुनुहुन्थ्यो ?’

‘८७ वर्षको...’

अन्त्यमा उनले भने, ‘लौ, आमाले तपाईंहरूलाई लामो समय दिनुभएछ । दुःख नमान्नू ।’

८७ वर्षको उमेर कति लामो हो ? म यतिखेर, खासगरी यस दुःखद घडीमा केही तर्क गर्ने सामर्थ्य राख्दिनँ । तर, उनले भनेको त्यही लामो उमेरमा २०७७ जेठ २५ गतेको दिन आमाले हामीलाई छाडेर जानुभो । कोरोनाको अनिश्चितकालीन घातमाथि थप अर्को मानसिक संघात हामीमाथि थपेर जानुभो ।

थाहा छ, संसारका सबै आमाहरू सधैँ बाँचिरहँदैनन् । ‘पुरानो पात’ नामको भौतिक प्रक्रियाको उपदेश सुन्दा अस्वाभाविक पनि लाग्दैन । तर, एक जना डाक्टरको एउटा हस्ताक्षरमा जसरी एउटा अस्तित्व हठात् समाप्त हुन्छ । यत्रो मानवीय सभ्यताले निर्माण गरेको ‘आमा’ भन्ने एउटा गुरुत्तम शब्द जसरी कुनै एउटा ओठबाट बिस्तारै लोप हुँदै जान्छ । के त्यो त्यत्तिकै सामान्य छ ?

तर, त्यसपछि आमा साँच्चि नै माकुरा हुनुभो ।

प्रकाशित : श्रावण १७, २०७७ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×