रामायणको लंका : श्रीलंका कि भारतमा ?

श्रीलंकाका प्राचीन धार्मिक साहित्यमा कतै पनि रावण र रामको कथा उल्लेख छैन । सिलोन (श्रीलंका) को मुख्य जनसंख्या पालि भाषा बोल्ने सिंहालीहरुको छ, उनीहरु रामायणले उल्लेख गर्ने राक्षस अर्थात् रावणवंशी होइनन् ।
सबै तथ्यले ‘लंका’ को ‘श्रीलंका’ सँग कुनै पनि साइनो छैन भन्ने देखिन्छ । विद्वान्‌ले लंका भारतमा पर्छ भन्ने मतैक्यता छ । त्यसो भए भारतको कुन ठाउँमा पर्छ त रामायणको ‘लंका’ ? 
भोगीराज चाम्लिङ

आम बुझाइ छ— वाल्मीकि रामायणमा उल्लेख भएको रावणको राजधानी ‘लंका’ अहिलेको ‘श्रीलंका’ टापु हो र भारत–श्रीलंकाबीच समुद्रमाथि नलले पुल बनाइदिएपछि रामका सेनाहरू लंका पुगेका थिए । एकथरी विद्वान् यसैमा विश्वास गर्छन् । यद्यपि आलोचनात्मक चेतनासहितका अधिकांश विद्वान्ले भने फरक मान्यता राखेको पाइन्छ । 

लंका : श्रीलंका (सिलोन) होइन

खासमा श्रीलंका (सिलोन) मा रामायण उति लोकप्रिय छैन (आनन्दा गुरुगे, द सोसाइटी अफ् द रामायण, सन् १९६०, पृष्ठ ६८) । तर, एस. कृष्णस्वामी अयङ्गर के मान्यता राख्छन् भने बौद्ध साहित्यभन्दा पहिलेको तमिल साहित्यले यो टापुलाई रामायणसँग जोडेको छ, त्यसैले ‘लंका’ लाई ‘श्रीलंका’ सँग जोड्न कुनै कठिनाइ छैन (सम् कन्ट्रिब्युसन अफ् साउथ इन्डिया टु इन्डियन कल्चर, सन् १९२३, पृष्ठ ६८) ।

अर्का विद्वान् आनन्दा गुरुगे पनि रामायणमा उल्लिखित सागर, समुद्र, लवणांभस शब्द सिलोन (श्रीलंका) सँग सम्बन्धित छ र वानर–निवास मलय पर्वत श्रीलंकाको मध्यभागमा अवस्थित छ (आनन्द गुरुगे, पृष्ठ ६८–६९) भन्ने मान्यता राख्छन् । वाल्मीकि रामायणमा कतिपय स्थानमा ‘लंका’ को समानार्थी शब्दका रूपमा ‘मलय’ शब्द प्रयोग भएको छ । तर, यो एउटा पहाडको नाम नभएर सबै पहाडलाई बुझाउने द्रविड भाषाको शब्द हो । मलय शब्दको यही अर्थ खुट्याउन नसकेर श्रीलंकाको मलय पर्वतमा वानरहरूको निवास थियो भन्ने गरेका हुन् (राय कृष्णदास, ‘राम वनवासका भूगोल : किष्किंधा से लंका तक’, नागरीप्रचारिणी पत्रिका, वर्ष ५४, अंक २–३, संवत् २००६, पृष्ठ ११४) । हर्मन ज्याकोबी पनि भारतबाट रामकथा विस्तार हुने क्रममा लंकालाई श्रीलंका (सिलोन) का रूपमा व्याख्या गर्न थालिएको बताउँछन् (आनन्दा गुरुगे, पृष्ठ ६८) । उनी के पनि भन्छन् भने रामायणमा विन्ध्य या महेन्द्र पर्वतदेखि १०० माइल फैलिएको सागरको किनारमा लंका थियो भन्ने वर्णन छ जबकि श्रीलंकाको फैलावट यति छैन (हर्मन ज्याकोबी, द रामायण, सन् १९६०, पृष्ठ ६८) ।

अर्को महत्त्वपूर्ण कुरा– श्रीलंकाका प्राचीन धार्मिक साहित्यमा कतै पनि रावण र रामको कथा उल्लेख भएको पाइँदैन (उमाकान्त प्रेमानन्द शाह, द वाल्मीकि रामायण : क्रिटिकल्ली इडिटेड फर द फस्ट टाइम, द उत्तरकाण्ड, सन् १९७५, पृष्ठ ४२) । त्यस्तै सिलोन (श्रीलंका) को मुख्य जनसंख्या पालि (आर्य) भाषा बोल्ने सिंहालीहरूको छ, उनीहरू रामायणले उल्लेख गर्ने राक्षस अर्थात् रावणवंशी होइनन् । यी सब कुराले ‘लंका’ को ‘श्रीलंका’ सँग गोरु बेचेको साइनो पनि छैन भन्ने देखिन्छ (टी. परमशिव अइयार, रामायण एन्ड लंका, भाग १ र २, सन् १९४०, पृष्ठ ७–८) । त्यसो भए भारतको कुन ठाउँमा पर्छ त रामायणको ‘लंका’ ?

लंका : भारतको अमरकंटक हो

रावणद्वारा पञ्चावटीनजिक अपहरित सीता खोजी गर्न वानर दल (सेना) खटिएको वर्णन किष्किंधाकाण्डमा छ । विन्ध्य पर्वतका जंगल र गुफाहरूमा सीताको खोजी गर्ने क्रममा उक्त दल अन्तिममा यस्तो स्थानमा पुग्छ, जहाँ प्रश्रवण (नदी उद्गमस्थल) शैल (पर्वत) थियो, जसको पाश्र्वमा लवणांबुधी लहरा थियो । सुग्रीवले दिएको एक महिनाको समय सकिएकाले विन्ध्य पहाडको टाकुरामा बसेर चिन्तित मुद्रामा भोकै प्राण त्याग गर्ने मनस्थितिमा पुगेका बेला उनीहरूलाई जटायुका भाइ संपातिले आफूले ‘विन्ध्य पर्वतको महेन्द्रद्वारमा पहरा दिइरहेका बेला काँधमा स्त्री बोकेर कालो मान्छे गएको’ सूचना दिन्छन् । उनले रावणको ठेगाना पनि यसरी बताइदिन्छन्, ‘यो सागरमा द्वीप छ, त्यसमा त्रिकुट भन्ने पर्वत छ । त्यसको शिखरमा रावणको राजधानी लंकापुरी छ । रावणले सीतालाई त्यतै लगेका छन्’ (राय कृष्णदास, पृष्ठ. ११०–११५, एच.डी. संकालिया, द रामायण इन् हिस्टोरिकल पस्र्पेक्टिभ, सन् १९८२, पृष्ठ १४३) ।

रामायणअनुसार, रामले १४ वर्ष वनबास गुजारेका भूगोलहरू पञ्चावटी, ऋष्यमुक, पम्प, किष्किंधा, लंका इत्यादि हुन्, जुन विन्ध्य पर्वतमा पर्छ । विन्ध्यकै दक्षिण भएर नर्मदा नदी बग्छ । त्यस्तै अरण्यकाण्डअनुसार, लंकासहित यी स्थान चित्रकुटबाट दक्षिण, नर्मदा नदीभन्दा उत्तरमा पर्छ । पुरातत्त्वविद् एच.डी. संकालियाका अनुसार, राम–वनवासका यी भूगोल भारतको छोटा नागपुर ‘प्लेटु’ (पठार) मा पर्छ, जुन अहिले पूर्वी मध्यप्रदेश, पश्चिम उडिसा, पश्चिम बंगाल र दक्षिण बिहारमा विभाजित छ (रामायण : मिथ अर् रियालिटी ?, सन् १९७२, पृष्ठ ४८) ।

रामायणमा वर्णित उल्लिखित भूगोल, नदी र सन्दर्भलाई भाषा, इतिहास, भूगोल, मानवशास्त्र, वनस्पति विज्ञानका आधारमा विश्लेषण गर्दै भारतको मध्यप्रदेशस्थित अमरकंटक क्षेत्र नै लंका हो भन्नेमा विद्वान्बीच लगभग मतैक्यता देखिन्छ ।

१. ‘लंका’ नामको इतिहास

सिलोन (श्रीलंका) लाई ‘लंका’ का रूपमा चिनाउने प्रचलन धेरै पछि विकास भएको हो (सर्दार एम.भी. किबे, लोकेसन अफ् लंका, सन् १९४७ ,पृष्ठ १७) । यसरी चिनाउनेहरू बौद्ध धर्मावलम्बीहरू हुन् । लंका नामको प्रयोग सर्वप्रथम ‘दीपवंश’ ग्रन्थमा भएको छ, जुन सन् ३०२ देखि ४७७ का बीचमा तयार भएको हो (हर्मन ज्याकोबी, पृष्ठ ७०), जबकि रामायण यसभन्दा १२००–१३०० वर्ष पुरानो हो ।

प्राचीन संस्कृत साहित्यअनुसार, हालको श्रीलंका ताम्रपर्णी अथवा सिंहाला हो, लंका होइन (एच.डी. संकालिया, पृष्ठ १५०) । सम्राट अशोक (शासनकाल इसापूर्व २६८–२३२) ले श्रीलंकालाई ताम्बपण्णी भनेर उल्लेख गरेका छन् (हर्मन ज्याकोबी, पृष्ठ ६९) । त्यस्तै थुप्रै संस्कृत ग्रन्थमा श्रीलंका (सिलोन) र लंकालाई अलगअलग भूगोलका रूपमा प्रस्तुत गरिएको छ ।

जस्तो कि मार्कण्डेय पुराणमा लंकाका जनताको उल्लेख छ, साथै सिंहाला (श्रीलंका) का जनताको पनि (उमाकान्त प्रेमानन्द शाह, पृष्ठ ४३) । राजशेखरकृत ‘बालरामायण’ नाटकमा ‘लंकापति’ रावण र ‘सिंहलपते’ राजशेखरको उल्लेख छ । ‘भागवत पुराण’ मा पनि जंबुद्वीपका आठमध्ये लंका र सिंहल दुई उपद्वीप उल्लेख छ । वराहमिहिरको ‘बृहत्संहिता’ र ‘मार्कंडेय पुराण’ मा पनि भारतका दक्षिणी देशहरूको नाममा लंका र सिंहल उल्लेख छ ।

नक्सा स्रोत : एच.डी. संकालिया, द रामायण इन् हिस्टोरिकल प्रस्फेक्टिभ

‘महाभारत’ मा पनि लंका र सिंहलका अलगअलग राजाहरूको नाम उल्लेख छ (राय कृष्णदास, पृष्ठ ११४) । र, वराहमिहिरले नै लंकालाई विन्ध्य क्षेत्रका जनपदमध्ये एक भनेर उल्लेख गरेका छन् (उमाकान्त प्रेमानन्द शाह, पृष्ठ ३७) । त्यति मात्रै होइन, भारतको शोणपुरस्थित कुमारसोमेश्वरदेवको अभिलेखमा शोणपुरलाई ‘पश्चिम लंका’ भनिएको छ (उमाकान्त प्रेमानन्द शाह, पृष्ठ ४३) ।

त्यस्तै ‘महाभारत’ मा समुद्रले अलग्याएका आधारमा भारतलाई ९ भागमा विभाजन गरिएको छ, जसमा लंकाको नाम छैन । यदि भारतभन्दा बाहिर भएको भए अवश्य पनि लंकाको नाम उल्लेख हुन्थ्यो । यसले देखिन्छ– लंका भारतको अहिलेको भूगोलभित्रै पर्छ, समुद्रमा होइन (राय कृष्णदास, पृष्ठ ११५) । यी तथ्यले सिंहल/सिलोन (श्रीलंका) र लंका अलगअलग हुन् अनि लंका भारतमै पर्छ भन्ने स्पष्ट हुन्छ ।

२. गोण्डविरुद्ध उराँवको लडाइँ

समग्र विन्ध्य पर्वत र जंगलमा, खासगरीकन मध्यप्रदेशको मुख्य भूभाग ओगट्ने दण्डकारण्य क्षेत्रमा द्रविड आदिवासीहरू गोण्ड, उराँव र शवरहरूको बसोबास छ । र, समग्र भारतमै गोण्डहरू मात्रै यस्तो जाति हो, जसले आफूलाई रावणवंशी भनेर चिनाउँछ । लगभग ४०० वर्षअगाडि शासन गर्ने प्रतापी गोण्ड राजाले सुनको मुद्रामा ‘श्री संग्रामशाही देव – पौलस्त्य वंश’ भनेर उल्लेख गरेका छन् । पौलस्त्य वंश भनेको रावणवंशको वैकल्पिक नाम हो । यी गोण्डहरूको सघन बस्ती मध्यप्रदेशको अमरकंटक क्षेत्रमा छ (राय कृष्णदास, पृष्ठ, ११६, डा. हीरालाल, पृष्ठ १५३–१५४) । इतिहासको प्रारम्भिककालदेखि नै गोण्डहरू मध्यप्रदेशमा बसोबास गरिरहेका छन् र अझ त्यसभन्दा पनि अगाडिदेखि त्यहाँ बसिरहेका हुन् । त्यही भएकाले उनीहरूको लोकगीतमा लंका र राजा रावणको सन्दर्भ उल्लेख हुन्छ (एच.डी. संकालिया, पृष्ठ १६४) । ग्रियर्सनले रेकर्ड गरेको गोण्ड लोकगीतअनुसार, उनीहरूले अहिले पनि रावणलाई विशेष श्रद्धा गरिरहेकै छन् (एच.डी. संकालिया, पृष्ठ १६२) ।

गोण्डहरूका छिमेकी उराँव र शबर हुन् तर परम् शत्रु । रामायणमा अमरकंटक क्षेत्रमा बसोबास गर्ने शबरको उल्लेख छ तर उराँवका बारेमा प्रत्यक्ष उल्लेख छैन । प्रख्यात मानवशास्त्री शरद चन्द्र राय (द उराँव अफ् छोटा नागपुर : देअर हिस्ट्री, इकोनोमिक लाइफ एन्ड सोसल अर्गनाइजेसन, सन् १९१५, पृष्ठ १९) का अनुसार शवर, कोर्कु र उराँवहरू आफ्नो पुर्खा रामायणका वानरलाई मान्छन् (डा. हीरालाल, पृष्ठ. १५९, एच.डी. संकालिया, पृष्ठ ४९) । सम्भवत: रामायणमा उल्लिखित वानरचाहिँ उराँव हुन् । किनभने, उराँवको अर्थ हुन्छ– वनराज । रामायणमा वानर र वनचर भन्ने जुन शब्द प्रयोग भएको छ, त्यसमा ‘वनचर’ शब्द ‘वनराज’ सँग निकट छ । रामले गोण्डहरूका विरोधी यिनै उराँवहरूलाई साथमा लिएर रावणमाथि विजय प्राप्त गरेका थिए (शरदचन्द्र राय, पृष्ठ. १९, राय कृष्णदास, पृष्ठ ११७) ।

त्यस हिसाबले मेकल शृङ्खलामा पर्ने अमरकंटकलाई लंका मान्नु अस्वाभाविक कुरा होइन, जुन आदिवासीहरूको गीतमा समेत उल्लेख हुन्छ । बेतुल र अमरावती जिल्लाको सीमावर्ती क्षेत्रमा मात्र बस्ने कोर्कु(स) आदिवासीहरूले बोल्ने मुन्डारी भाषामा ‘रावण लंकाबाट आए अनि मैदानमा मल्लयुद्धका लागि तयार भएर उभिए, हेर्न आउनुहोस् आमा तथा दिदीबहिनीहरू’ भन्ने भावको लोकगीत गाइन्छ । त्यस्तै यहाँ हरेक वर्ष रावणका छोरा मेघनादका नाममा पर्व नै मनाइन्छ (डा. हीरालाल, पृष्ठ १५४) ।

३. द्रविड भाषामा लंका

डा. हीरालाल (‘अवधि–हिन्दी प्रांत मे राम–रावण युद्ध’, कोशोत्सव स्मारक संग्रह) ले एउटा रोचक सन्दर्भ प्रस्तुत गरेका छन्, ‘...गाउँका किसानहरूलाई पनि सँगै लग्यौं । नर्मदाको किनारमा पुगेपछि सोध्यौं– ‘सन् १९२६ मा बाढी कहाँसम्म आएको थियो ?’ एक किसानले तुरुन्तै उत्तर दिए– ‘लंकासम्म ।’ हामीले आश्चर्यचकित हुँदै सोध्यौं– ‘लंका कहाँ पर्छ ?’ उनले तुरुन्तै एउटा टाकुरातर्फ संकेत गरे ।... टाकुरा अवलोकन गर्दा त्यो सबैभन्दा अग्लो थियो । मैले सोधेँ, ‘यसलाई किन लंका भनिन्छ ? के यहाँ कुनै बेला रामलीला (युद्ध) भएको थियो ?’ किसानले उत्तर दिए, ‘होइन साहेब, यस्तो उबडखाबड जमिनमा कहाँ रामलीला हुन सक्छ ? त्यो कुरा त धेरै पुरानो हो । यस्तो अग्लो टाकुरालाई लंका नै भनिन्छ ।’... मेरो विश्वास थियो, लंका शब्दको प्रयोग दक्षिण भारतमै हुन्छ । परंतु यो त अमरकंटकको पनि उत्तरी गाउँमा अकस्मात् फेला पर्‍यो’ (राय कृष्णदास, पृष्ठ. ११६) ।

लंका संस्कृत होइन, शवर भाषाको शब्द हो । वाल्मीकि रामायणअनुसार, दण्डक जंगल र वरपर शवरी आदिवासीहरूको बसोबास क्षेत्र हो भने विरधहरू दण्डक जंगलको मुखमा बसोबास गर्ने आदिवासी हुन् । शवरहरूको भाषामा लंकाको अर्थ हुन्छ– ‘माथि, अग्लो, आकाश’ (जी. रामदास, ‘एबोरिजिनल नेम्स् इन द रामायण’, जर्नल अफ् द बिहार एन्ड उडिसा रिसर्च सोसाइटी, भोल्युम ११, मार्च १९२५, पृष्ठ ४२–४३) । उडिया र तेलुगु क्षेत्रमा अझै पनि यही अर्थमा यो शब्दको प्रयोग भइरहेको छ । जति समुद्रको टापु भन्ने अर्थमा लंका शब्दको प्रयोग हुन्छ, त्यसरी नै पहाडको चुचुरा भन्ने अर्थमा पनि प्रयोग हुन्छ (डा. हीरालाल, पृष्ठ १५४) ।

४. रावण र राक्षसहरू

रामायणअनुसार, रामले बालीलाई मार्न सक्ने आफ्नो शौर्य र क्षमता प्रमाणित गर्न सातवटा सालको रूखलाई एउटै धनुवाण प्रहार गरी छेडिदिएका थिए । त्यस्तै वानर र राक्षसबीच युद्ध हुँदा अथवा वानरबीच लडाइँ हुँदा पनि वानरहरूले सालको रूख उखेलेर लाठीका रूपमा प्रयोग गर्थे । सालको रूख गोण्ड, उराँव, शवरहरू बस्ने भारतको पूर्वी मध्यप्रदेश, दक्षिणी बिहार (छोटानागपुर पठार) र पश्चिमी उडिसा क्षेत्रमा पाइन्छ (एच.डी. संकालिया, पृष्ठ १४४) ।

रामायणको युद्धकाण्डमा रावणलाई सालकण्टक भनेर साल रूखसँग सम्बन्धित देखाइएको छ (एच.डी. संकालिया, पृष्ठ १६३) । जी. रामदास (एबोरिजिनल नेम्स इन् रामायण) का अनुसार, रामायणको उत्तरकाण्डमा सालकटंकटा शब्द उल्लेख छ, जुन गैरआर्य शब्द हो । तमिल भाषाको कुटुकुटु र मलयालम भाषामा कुटुकुटले दुईवटा कडा वस्तु जुधाउँदा आउने आवाजलाई बुझाउँछ । द्रविड भाषाका यिनै शब्द संस्कृतकरण भएर कटंकट बन्न पुगेको हो (उमाकान्त प्रेमानन्द शाह, पृष्ठ ४४, ४६) । यस आधारमा पनि भन्न सकिन्छ कि साल वृक्ष पाइने अमरकण्टक र त्यसवरपरको क्षेत्र नै लंका हो (एच.डी. संकालिया, पृष्ठ १४८, उमाकान्त प्रेमानन्द शाह, पृष्ठ ४७) ।

५. अमरकंटक प्रश्रवण क्षेत्र रामायणमा विन्ध्य पर्वतलाई प्रश्रवण (नदी उद्गमस्थल) भनिएको छ । त्यो प्रश्रवण अमरकंटक नै हुनुपर्छ किनभने त्यहाँबाट तीनवटा नदीहरू शोण, नर्मदा र मही छुट्टिन्छन् (सर्दार एम.भी. किबे, पृष्ठ १७, जी. रामदास, पृष्ठ ३४६) । यति मात्रै होइन, रामायणअनुसार लंका त्रिकुटमा पर्छ । र, अमरकंटकको प्राचीन नाम त्रिकुट हो । यसैले नर्मदा नदीलाई त्रिकुटा पनि भनिन्छ (राय कृष्णदास, पृष्ठ ११८) ।

६. ‘सागर’ ताल हो, समुद्र होइन

रामायणमा रामका सेनाहरू ‘सागर’माथि निर्माण गरिएको पुल तरेर लंका प्रवेश गरेको वर्णन छ । सामान्यतया सागर भन्नासाथ हामी समुद्र भनेर बुझ्छौं तर यो शब्दले पानीको विशाल दह अथवा ताललाई पनि बुझाउँछ । जस्तो कि महोवामा चण्डालहरूले निर्माण गरेको किरात–सागर, विल्हरीको लक्ष्मण सागर, बरोडा सहरको बीचमा ठूलो पोखरीको रूपमा रहेको सुरसागर । अजमेरको अझ ठूलो पोखरी आनासागर (डा. हीरालाल, पृष्ठ १५८, उमाकान्त प्रेमानन्द शाह, पृष्ठ ४७) । सागर नाम भएका यस्ता तालहरू भारतको बस्तर र राइपुरमा पनि थुप्रै छन् (एच.डी. संकालिया, पृष्ठ १४९) ।

जहाँसम्म अमरकंटकस्थित सागरको कुरा छ, रामायणअनुसार जुन जलसागरमा लंका थियो, जुन जलसागरमा सेतु (पुल) बनाइएको थियो, जुन जलसागर हनुमानले पार गरेका थिए, त्यसको नाम लवणार्णव या लवणांभस थियो । त्यसैको अवशेष हो, अमरकंटकको दक्षिणमा अहिलेसम्म पनि रहेको लवण परगना (लवण सागर) । यो भूभाग होचो भएकाले प्राचीनकालमा यहाँ पानी जमेको थियो । बिस्तारै पानी सुक्दै अथवा निकास भएर बाहिर गएपछि अहिले यो दलदलमा परिणत भएको छ । सम्भवत: रामकालसम्म यहाँ पानीको जलाशय (झील) थियो (राय कृष्णदास, पृष्ठ ११७) । र, त्यही लवण पर्गनामा उहिले लंका अवस्थित थियो (डा. हीरालाल, पृष्ठ. १५९, सर्दार एम.भी. किबे, पृष्ठ १९) ।

लवण पर्गनामा एउटा पहाड छ, जसको चुचुरामा किल्ला छ भनिन्छ । नर्मदा नदीको मुहानबाट २ माइल टाढा रहेको भृगु आश्रमबाट त्यो चुचुरा देखिन्छ । उन्नाइसौं शताब्दीको साठीको दशकमा ब्रिटिस शासनकालमा मध्यप्रदेशका तत्कालीन चिफ कमिस्नर सर रिचार्ड टेम्पल त्यो चुचुराको किल्लामा पुगिछाड्ने भनेर हात्ती चढेर गएका थिए तर दलदलमा खुट्टा गाडिएर हात्ती हिँड्न नसकेपछि फर्किए (डा. हीरालाल, पृष्ठ १८) । यसबाट सजिलै अनुमान गर्न सकिन्छ– रामको समयमा यहाँ कति धेरै पानी जम्मा भएको थियो (राय कृष्णदास, पृष्ठ ११७) ।

यसरी दक्षिणमा दलदल, उत्तरमा पानीको ताल, पूर्वमा समुद्रजस्तै फैलिएको शोण नदी हुनाले अमरकंटक क्षेत्र पुग्न पुलबिना सम्भवै छैन । त्यसकारण लंका पुग्न रामले पुल नबनाईकन धरै थिएन (डा. हीरालाल, पृष्ठ. १५८) । केही विद्वान्हरूले रामायणमा प्रयोग भएको ‘नलसेतु’ शब्दको अर्थ ‘नलले सेतु (पुल)’ बनाए भन्ने लगाएका छन् । तर, यो सही अथ्र्याइ होइन किनभने ‘नल’ ले ‘सेतु’ (पुल) बनाएका भए रामायणमा ‘नलम् सेतुम–करयत’ भनेर लेखिनुपथ्र्यो । ‘नलसेतु’ शब्दले ‘साँगुरो नहर’ भन्ने मात्र अर्थ दिने भएकाले (एच.डी. संकालिया, पृष्ठ १४९) खासमा साँगुरो नहर तरेर रामका सेनाहरू लंका प्रवेश गरेका थिए । प्रकाशित : असार १३, २०७७ ११:१९

प्रतिक्रिया
पठाउनुहोस्

पृथ्वीको पुरातन रिस

मांसप्रतिको अति आसक्तिले हामी हरेक किसिमका जंगली जनावरको मासु खान थालेका छौं । हामी जे पनि खान र जे पनि पचाउन सक्छौं । तर, हाम्रोसामु उभिएको वैज्ञानिक तथ्यलाई अस्वीकार गर्छौं ।
अरुण गुप्तो

भाइरोलोजी (भाइरससम्बन्धी अध्ययन) र सेरोलोजी (शरीरको प्रतिरक्षा क्षमताबारे अध्ययन)को सम्बन्ध बल्ल बुझ्दै छु । यी दुई विषयमाथि अध्ययन गर्नुअघि प्रकृतिमाथि घोत्लिनु आवश्यक छ । भाइरसको अध्ययनअघि प्रकृति र मानवीय सम्बन्धको संकटबारे बुझ्नु पनि आवश्यक छ । भाइरस, प्रकृति र मान्छेको सम्बन्ध बुझ्न त्यति सजिलो छैन । विज्ञानविहीन बुझाइको कुनै अर्थ पनि हुँदैन ।

विकसित राष्ट्रका नेताहरूले क्लाइमेट चेन्जजस्ता तथ्यलाई वैज्ञानिक दृष्टिकोणबाट नहेर्नु विपद्को ठूलो कारण बन्दै छ । विपद्सँगै हामी धर्म र विज्ञानमाथि पनि घोत्लिनुपर्छ । धर्म आफैँमा पूर्ण ज्ञान होइन, त्यसमा वैज्ञानिक दृष्टिकोण आवश्यक हुन्छ । उदाहरणस्वरूप, आकाशका नक्षत्रसम्बन्धी मिथकको प्राचीन सम्बन्ध धर्मसँग छ । त्यो एउटा पुरातन वैज्ञानिक बुझाइ थियो । केही शताब्दीको विज्ञानको खोजले त्यसमाथि विश्वलाई अर्कै ज्ञान दिएको छ । वैज्ञानिक दृष्टिकोणलाई पर सार्दै नक्षत्रले मेरो दैनिक जीवनमा प्रभाव पार्छन् भन्ने आस्था राख्नु धर्मकै अपमान हो ।

भाइरसलाई लिएर अन्तर्राष्ट्रिय आक्षेप, तनाव र फेक न्युज व्यापक छन् । बीबीसीको एउटा लेखअनुसार, फेसबुक पोस्टमा धेरैजसो आप्रवास, इस्लाम, यहुदी, एलजिबिटी, अभिजात वर्ग र केही धार्मिक समुदायलाई भाइरसका लागि दोषी देखाइएको छ । मानिसहरू गलत ज्ञान र जानकारीमै मस्त छन् । भाइरसबारे वैज्ञानिक तथ्य र ज्ञानमा मानिसको रुचि छैन ।

000

औद्योगिक विकासको व्यापक तीव्रता अहिलेको ठूलो चिन्ताको विषय हो । प्रकृति–इतिहासकार सर डेविड एटेन्बोरोको चिन्ता हामीले उनका थुप्रै लेखमा पढिसकेका छौं । समुद्रले कार्बन अवशोषित गर्न त सक्छ तर हामी यसको सीमा पार गर्दै छौं ।

मासु खाने क्षमताले मानिस ग्रीक देउता कोरोनसझैं बन्दै छ । कोरोनसले आफ्ना सन्तानहरू खान खोजेको थियो । कोरोनसको छोराले नै उनको संहार गरे । कोरोना र कोरोनसको जैविक सम्बन्ध त छैन । तर, कोरोनसको बानी हामीसँग छ । मांसप्रतिको अति आसक्तिले हामी हरेक किसिमका जंगली जनावरको मासु खान थालेका छौं । हामी जे पनि खान र जे पनि पचाउन सक्छौं । तर, हाम्रोसामु उभिएको वैज्ञानिक तथ्यलाई अस्वीकार गर्छौं । जेनेटिक पथोजेन रोगजनक सूक्ष्म जीव हो, जो मानव र जनावरको श्वास–प्रश्वास, दूषित खाद्य वस्तु र पानी, हात–मुखको सम्पर्क आदिबाट प्रसार हुन्छ । हाम्रो रोगनासक क्षमता कमजोर हुँदा पाथोजिनले समस्या उत्पन्न गर्छ र यो फेरि अर्को शरीरमा सर्छ ।

एसियाका वेट बजारहरूमा मासु खान सिभेट बिरालो, सर्प, सालक, चमेरो, ओट्टर, मयूर, ब्वाँसोका बच्चाहरू, मारमोटजस्ता अप्राप्य जीवजन्तु बेचिन्छन् । हाम्रै मासु बजारको पनि सूक्ष्म निरीक्षण गरिँदैन । भाइरसका लागि उहान वेट बजारलाई मात्रै दोष दिनु अन्तर्राष्ट्रिय सञ्चारको पूर्वाग्रह हो । हामी आफ्नो खाने–बस्ने क्षमताभन्दा बाहिर जोर–जबरजस्ती गर्दै छौं ।

सेक्सपियरको एउटा भनाइ प्रासंगिक हुन जान्छ । ‘रोमियो र जुलियट’ नाटकमा एक पात्रले भन्छ, ‘यदि आफ्नो औंला चाट्न सकिएन भने परिकार नमिठो ठहरिन्छ ।’ नेपालको भान्सामा पाक्ने हाम्रो ‘स्वादिष्ट’ व्यञ्जन पनि विदेशीलाई पटक्कै मिठो नलाग्न सक्छ । नाटकको त्यो पात्रले आफ्नो भन्साको कुरा गरेका होलान् । केही जनावर भान्साका लागि उपयुक्त नहुनुमै हाम्रो कल्याण छ । भाइरस आतंकले अहिले औंला र मुखबीचको दूरी बढेको छ । मेरा एक आतंकित साथीले खाना खाँदा पनि औंलाको प्रयोगमा निषेध गरेका छन् । भन्छन्, ‘म समस्यामा छु, मासु पाउनै गाह्रो छ । पाए पनि काँटा–चम्चाले खाँदा साग खाएजस्तो लाग्छ ।’ उनका काका पञ्चायतकालका सांसद थिए । काका भन्थे, ‘मुखबाट तान्दा मासु कानसम्म तन्किएन भने, के काम १ बरु हलुवा खाऊ, मासु किन खाने ?’ सायद उनी कोभिड–१९ र वेट बजारका मानिस थिए ।

000

भाइरसको प्रकोप वायु प्रदूषणसँग सम्बन्धित छ । यो तथ्य प्रमाणित भएको त छैन तर डब्लूएचओका केही रिपोर्टअनुसार, उच्चवायु प्रदूषण भएका देशमा कोभिड–१९ को प्रकोपमा वृद्धि भएको देखिन्छ । यो भाइरसले फोक्सोलाई नराम्रोसँग हानि पुर्‍याउँछ । कमजोर फोक्सो छ भने अवस्था झन् डरमर्दो हुन्छ ।

अहिले मानिसले गर्मीमा पनि शीतलता अनुभव गर्नु, भारत विहारबाट पनि स्वच्छ हिमशिखर देखिनु, सहरभित्र पनि जंगली जनावर हिँड्नु भाइरस–उपहारको विडम्बना हो । भारतीय वातावरणविद् बन्दना शिवा भन्छिन्, ‘कोरोना भाइरसको फैलावट विश्वव्यापी देखिन्छ । जब हामी अरू प्रजातिको आवासमा आक्रमण गर्छौं, व्यावसायिक फाइदा र लोभका लागि बिरुवा जनावरहरूमा (प्राणीशास्त्रीय र जैविक) हेरफेर गर्छौं र मोनोकल्चर फैलाउँछौं, भाइरसले पनि संसार यात्रा गर्छ ।’ संसारका अन्य वस्तु हाम्रा लागि कच्चा माल होइनन् । प्रकृति हाम्रा लागि कच्चा मालको रूपमा देखियो भने कोरोनाजस्तै अरू विकराल रूप हामीसामु आउँछन् । अस्ट्रेलियाका प्राध्यापक क्रोजिएर द रोजा लेख्छिन्, ‘अस्ट्रेलियाको आगोको बारेमा हामीले सुन्दै–पढ्दै आएका छौं । उपनिवेशवादका बेला अस्ट्रेलियाका झाडीलाई स्त्रीस्वरूप बुझिन्थ्यो । झाडीलाई कठोर, बाँझो र पोषण गर्न नसक्ने पुरुषको विजय इच्छा पूर्ण गर्न र बाँच्न नदिने शत्रुरूपी प्रकृतिको रूपमा देखिन्थ्यो । आफ्नो अक्षमतालाई हतियार बनाएर कहिले स्त्रीमाथि, कहिले प्रकृतिमाथि आक्षेप गर्ने प्रवृत्तिलाई वातावरणीय चिन्तनले खण्डन गर्छ ।’

अहिले काठमाडौंमाथिको नीलो आकाश देख्दा म जेम्स लभलकको गाया परिकल्पनाको सिद्धान्त सम्झन्छु । गाया अथवा पृथ्वी आफैंलाई नियमन र संहार गर्ने शक्ति हो ।

अरू करोडौं प्राणीजस्तै पृथ्वी मानिसको पनि हो । तर, पछिल्लो मानिस सोच्न थालेको छ– पृथ्वी हाम्रो मात्रै हो । आफू बिग्रेको अनुभव गरेपछि पृथ्वीले आफूलाई सुधार्न, व्यवस्थित गर्न मानवजातिको नास गर्न एक छिन पनि सोच्दैन । नक्षत्रको पूजा गरेर वा होम गरेर पृथ्वीको पुरातन रिसलाई छल्न सकिँदैन । थप प्रताडना प्रतीक्षा गर्नु मानवजातिको भाग्य हुन सक्छ ।

प्रकाशित : असार १३, २०७७ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×