प्रजाको 'पाप’, श्री ५ को 'पुण्य’

पृथ्वीनारायण शाहले ‘असिल हिन्दुस्थाना’ बनाउन थाल्नुअघि नै जात र कुलको धर्म-नियम उल्लंघन गर्नेहरुको पतिया गर्ने चलन थियो । शाहले जितेका मल्ल राजाहरु मात्रै होइनन्, लिच्छवि राजाहरु पनि हिन्दु धर्म र वर्ण-जातको नियमअनुसार राज र दण्डित गर्ने शासक थिए ।
राजेन्द्र महर्जन

१९४६ सालमा भक्तपुरमा जन्मिएका पद्मसुन्दर मल्ल नेपालका प्रथम इलेक्ट्रिकल इन्जिनियर र अमेरिका भ्रमण गर्ने पहिलो नेपाली पनि हुन् । जब उनी जापान र अमेरिकाबाट अध्ययन सक्याएर १९८१ सालमा फर्के, उनलाई काठमाडौं उपत्यका पस्न दिइएन, जात नै पतित गरियो ।

हिन्दु शासकका नजरमा उनको ‘अपराध’ थियो, बिनाअनुमति परदेश जानु । उनको ‘पाप’ थियो, समुद्रपार यात्रा गर्नु । उनको ‘दोष’ थियो, अछूत र म्लेच्छहरूसँग संसर्ग गर्नु ।

यिनै कानुनी-धार्मिक कसुरका आधारमा राणा शासकहरूले न उनलाई पतिया दिए, न त ‘असिल हिन्दुस्थाना’ मै छिर्न दिए । ‘असिल हिन्दुस्थाना’ को राजधानी काठमाडौं उपत्यका छिर्न र निस्किन राहदानी जरुरी थियो । म्लेच्छ देशबाट फर्केपछि, काढिएको जात फिर्ता लिन र शुद्ध-पवित्र हुन पतिया गर्नुपर्थ्यो ।

यसरी जातपतित र देश-प्रवेशमा निषेध गरिनेमा नेपालको विद्युतीय क्षेत्रका अगुवा पद्मसुन्दर मल्ल अपवाद थिएनन् । हिन्दु राष्ट्रमा प्रजाका अपराध र पापका लागि ‘प्रायश्चित’ (व्यक्तिगत) र ‘चन्द्रायण’ (सामूहिक) जस्ता पतिया सामान्य थियो, हिन्दु शासकहरूले जातपतित र देशनिकालाको सजाय दिनु पनि असामान्य थिएन । कतिसम्म भने हिन्दु पण्डितहरूले जंगबहादुरलाई समेत १९०६ सालमा बेलायत जान रोक्न खोजेका थिए भने फर्केपछि त पतिया नै गराएका थिए ।

शुद्धीकरणको धार्मिक राजनीति

पृथ्वीनारायण शाहले ‘असिल हिन्दुस्थाना’ बनाउन थाल्नुअघि नै जात र कुलको धर्म-नियम उल्लंघन गर्नेहरूको पतिया गर्ने चलन थियो । शाहले जितेका मल्ल राजाहरू मात्रै होइनन्, लिच्छवि राजाहरू पनि हिन्दु धर्म र वर्ण-जातको नियमअनुसार राज र दण्डित गर्ने शासक थिए । काठमाडौंमा भास्कर मल्ल (महीन्द्रसिंहदेव) राजा रहेको बेला नेपाल-तिब्बत आएका इटालियन फादर इपालितो दिसेदेरीले १७७९ सालमा लेखेका थिए, मुगल भूभागबाट नेपाली भूमिमा छिर्नुअघि नेवार यात्रीहरूले चालीस दिनसम्म गोमूत्रले नुहाएर, गोमूत्र पिएर, कहिलेकाहीँ गोबर खाएर शुद्धीकरणको प्रक्रिया पूरा गर्नुपर्थ्यो । शुद्धीकरणमा पूजापाठ र सेवनका लागि प्रयोग गरिने पञ्चगव्य हुन्, हिन्दु धर्ममा पवित्र मानिने गाईको दूध, दही, घिउ, मूत्र र गोबर ।

गोर्खाली शासक शाहले १८२५ सालमा नेपालमाथि कब्जा गरेपछि शुद्धीकरण प्रक्रियालाई देशव्यापी फैलाएका थिए भने शाह-राणा शासकहरूले १९१० सालमा मुलुकी ऐन बनाएर पतियालाई सजाय र असुलीको रूप दिएका थिए । रिचर्ड बर्घटका अनुसार आफ्नो मुलुक (रिल्म), शासन र प्रजाको शुद्धता-पवित्रता रक्षा गर्नु तथा तिनमाथि प्राधिकार कायम गरिराख्नुलाई आफ्नो हक र दायित्व ठान्दै पतिया र सजायलाई नियमित प्रक्रिया बनाइएको देखिन्छ ।

त्यसैले भोट (तिब्बत) सम्मको आर्थिक कारोबार र चीनसम्मको कूटनीतिक यात्रापछि नेपाल फर्केकालाई नुवाकोटमै धर्माधिकारीका प्रतिनिधि पण्डितले तीनदिने पतिया गर्न भ्याउँथे, समुद्रपार, मुग्लान र मधेसबाट आएका नेपालीलाई जस्तै । अशुद्ध भूमिको यात्रा, अछूतहरूसँग संसर्ग र गाईजस्तै देखिने याकको मासुको भक्षणका कारण ‘बिटुलिएका र कुजात भएका’ नेपालीलाई पानी पतियामार्फत जन्मिएको जात फर्काउन र शुद्ध हुने ‘मौका’ दिइन्थ्यो । हनुमानढोका दरबारमा बस्ने हिन्दु राजाबाट सुनपानी छर्किंदै धर्माधिकारीबाट पतिया पुर्जी पाएपछि मात्रै उनीहरूले पवित्र भूमिमा टेक्न पाउँथे ।

जगदीशचन्द्र रेग्मी लेख्छन्, न्यायाधीशको अर्थमा निकै उल्लेख भएको धर्माधिकार, धर्माधिकरण र धर्माधिकारी राजधानीमा राजासँगै रहन्थे भने राजधानीको मुख्य अदालतमा त्यहाँका कर्मचारीलाई न्यायसम्बन्धी सल्लाह दिने गर्दथे । राजधानीबाहिरका अदालतमा मुख्य धर्माधिकारीका प्रतिनिधि खटिएका हुन्थे । उनीहरू अस्वस्थ नेपालीको सुस्वास्थ्यका लागि होइन, पापीहरूको पापमोचनका लागि खटाइएका धार्मिक राज्यका प्रतिनिधि थिए । बर्घटका अनुसार, बिटुला र कुजात ठहर्‍याइएकालाई नेपाल (काठमाडौं उपत्यका) छिर्न र खसेको जात पाउन मात्रै पतिया गरिने होइन, शुद्ध-पवित्र भएका प्रजामाथि हिन्दु राजाको प्राधिकार लाद्न पनि शुद्धीकरण गरिने हो । त्यही प्राधिकार विस्तारसँग आर्थिक-राजनीतिक-सांस्कृतिक स्वार्थ जोडिएको हुन्छ, जुन धर्माधिकार र प्रतिनिधि पण्डितहरूमार्फत पूरा गरिन्छन् ।

प्रजाबाट रकम कुम्ल्याउने प्रपञ्च

हिन्दु राजाहरूले थिति (विधान) नै बनाएर पतियाको रूपमा ‘प्रायश्चित’ र ‘चन्द्रायण’ (चान्द्रायण) को अधिकार धर्माधिकार (राजगुरु वा बडागुरुज्यू) लाई सुम्पेको इतिहास छ । यस्ता प्रथा धार्मिक रूपमा शुद्धीकरणको संस्कार मात्रै होइन, प्रजाबाट रकम कुम्ल्याउने विधि-विधान पनि हो । राजेश गौतम लेख्छन्, राणाकालमा जातभात, पानीमा हुने पतित कामको पतिया अथवा शुद्धीकरण दिँदा धर्माधिकारले ऐनमा तोकिदिएअनुसार दस्तुर लिने गर्थे । यसरी लिएको दस्तुर जग्गाको किसिम (अबल, दोयम, सिम र चहार) र कस्तो खालको पतिया दिनुपर्ने हो, हेरी ऐनमा तोकिदिएअनुसारले हुन्थ्यो ।

भीमबहादुर पाण्डे थप्छन्, ‘थाहा नपाई हुने पाप मोचनको प्रक्रिया पूरा गर्न राणा शासनकालमा बडागुरुज्यूको नाममा चान्द्रायण रकम प्रजाबाट उठाइन्थ्यो । गाउँलेहरू चान्द्रायण रकम तिर्न कत्ति मनखत मान्दैनथे- सालभरि काम गर्दा अन्जानमा लागेको पापलाई काठमाडौंको महलमा अयसले बसेका बडागुरूज्यूले पखाल्दछन् भन्ने अन्धविश्वास हुँदा ।’

राजाराम सुवेदी खोतल्दै लेख्छन्, बझाङमा उठाइने छत्तीसेकरमध्ये एक थियो चन्द्रायण (पतिया) । चन्द्रायण करको नाममा पापमोचनका लागि प्रत्येक प्रजालाई तिराइने साढे दुई रुपियाँ करको केही हिस्सा धर्माधिकारीले राखी बाँकी रकम राजालाई पठाउने गर्थे । ब्राह्मण, क्षत्री, वैश्य र मतवाली क्षत्रीका लागि ब्राह्मण धर्माधिकारी हुन्थे भने पानी नचल्ने जातका लागि सुनार । झलक सुवेदी भन्छन्, लाहुरेहरूको पतिया गर्दा पनि धर्माधिकारीकै ढुकुटीमा ठूलो मात्रामा रकम जम्मा हुन्थ्यो भने सिमानामा केही दिनको पतियाको क्रममा केही लाहुरेचाहिँ धोती न टोपी हुन्थे ।

जनकलाल शर्मा जोड्छन्, पतिया लिँदा गोदानका लागि सत्र पैसा र त्यसको दानप्रतिष्ठा भनेर चार पैसा बडागुरुज्यूको कोषमा जम्मा हुन्थ्यो भने मुद्दा लाग्ने काम गरेबापत एक-दुई रुपियाँ जरिवाना लाग्थ्यो । सरकारी कोषमा जाने पतिया र जरिवाना रकम सानो भए पनि बाहिरी घूसको रकम ठूलो हुन्थ्यो । यस्तो भाते मुद्दामा नेपाल र भारतका नेपालीहरू बाहिरी खर्चकै कारण घरबारविहीन पनि हुन्थे ।

पतियाको विशेषता हो- प्रजाले जति धेरै संख्यामा ‘पाप’ गर्छन्, त्यति धेरै मात्रामा धर्माधिकारी र राजाको फलिफाप हुन्छ । फ्रान्सिस ह्यामिल्टनका अनुसार, शाह-राणाकालमा दण्डका दुई भेद थिए, एक- जातअनुसार गर्नुपर्ने कर्म नगरे लाग्ने प्रायश्चित र अरू अपराधका लागि गरिने दण्ड-सजायँ । प्रायश्चितसम्बन्धी ‘अर्थदण्ड’ धर्माधिकारको आम्दानी हुन्थ्यो भने अरू अपराधसम्बन्धी ‘अर्थदण्ड’ श्री ५ को ढुकुटीको आम्दानी हुन्थ्यो । पापको दण्डस्वरूप उठाइने रकम धर्माधिकारको आमदानी मानिन्थ्यो, जुन आठ भाग लाग्थ्यो । राजा, गमस्ता (संकलनकर्ता), धर्माधिकारले एक-एक भाग र बाँकी पाँच भागमा पाँडे, अर्जेल, खलाल र अग्निदण्डले पाउँथे । यी पाँच थर बाहुनले पाउने भाग त्यस थरका प्रत्येक परिवारमा बाँडिन्थ्यो ।

कृष्णकान्त अधिकारीका अनुसार १९०८-१० सालतिर जंगबहादुरकालीन नेपालमा धर्माधिकारीले वार्षिक ४५ सय रुपियाँ तलब पाउँथे भने सबै खालका कर असुलीबाट मुक्त बिर्ता पनि पाउँथे । अनेक किसिमका बिर्तासँगै अदालती कारबाही र अदालती आम्दानी दुवै वा भिन्नाभिन्नै हुने अधिकार पनि दिइएको हुन्थ्यो । राजा गीर्वाणयुद्धविक्रमले १८६५ सालमा दैवज्ञ केशरी पण्डितलाई ‘धर्म्माधिकारीको मान पगरी’ दिँदै आदेश दिएका थिए, ‘विर्ता गरि वक्स्याको जग्गा वाहिक धर्म्माधिकारको रकम भरमुलुकमा जात भात पानी संसर्ग षत छितको कुरा पर्दा जात भात वसि जाचि ईन्का मार्फत आयाको मान्छेका सहीले प्रायश्चित गर्नु ।’

फ्रान्सेली क्रान्तिअघिका पादरीजस्ता

‘कचहरी (अदालत) पिच्छे यक यक पण्डीत राषि सास्त्र वमोजिम अदालत चलाउनु’, ‘अदालतको पैसा दरबारभित्र नहाल्नु’, हालियो भने ‘असत्यको दोस्’ लाग्छ । यसरी पृथ्वीनारायण शाहले अदालतको आम्दानी चोखो हुँदैन भनेको मानिन्छ । जबकि गोर्खाली राजमा अनेक ‘अपराध’ र ‘पाप’ को फैसलापछि असुलिएको रकम अड्डामा दाखिल गरिएका उदाहरण छन् । तागाधारीले जाँडरक्सी खान नहुने नियम हुँदाहुँदै कसैले झुक्किएर मद्य खाएमा धर्माधिकारबाट ‘पतिया’ पाई शुद्ध हुने र आफ्नै जातमा कायम रहने चलन थियो । तर, त्यसरी झुक्याएर मद्य खुवाउनेलाई दास वा दासी (कमारा) बनाएर अदालतले बिक्री गरी पाइएको धन आफ्नो आम्दानीमा राख्ने गर्थ्यो । अदालतमा चल्ने मुद्दाबाट उठेको पैसाले दान-धर्मको काम चलाइए तापनि पतियासम्बन्धी पैसाचाहिँ धर्माधिकारीको खान्की मानिन्थ्यो । यस्तै खान्कीको भाग उनका प्रतिनिधिहरूले पनि पाउने गरेको रेग्मीको अन्दाज छ ।

टीआर वैद्य, त्रिरत्न मानन्धर र शंकरलाल जोशीको ठहर छ, धर्माधिकार, राजगुरु र बडागुरुज्यूजस्ता उच्च पद, प्रतिष्ठा र सुविधा उपभोग गर्ने मौका पाएका ब्राह्मणहरूको समूह फ्रान्सेली राज्यक्रान्तिअघिका उच्चपदस्थ पादरी-पुरोहित वर्गजस्तै थियो । उनीहरू सबैखाले सुविधासम्पन्न दरबारजस्ता ठूला महलमा बस्थे र राणा शासकहरूबाट प्राप्त कृपाको भरपूर उपभोग गर्थे । शासकहरूबाट पाइने प्रचुर दान-दक्षिणा, बक्सिस र कोसेलीका कारण उनीहरू राजसी जीवन भोग्न सक्षम थिए ।’ यसरी श्रमिक प्रजाबाट चुसेर मोटाएको सामन्ती राज्य तथा त्यसका सञ्चालक शासक र पुरोहित-धर्माधिकारका लागि ‘समृद्धिको स्वर्ग’ उहिल्यै विद्यमान थियो । जति बेसी ‘पाप’, त्यति धेरै ‘पुण्य’ को जमानामा पतियाबाट पनि धर्माधिकार पुरोहितको समृद्धिको स्वर्ग बन्न सम्भव भएको थियो ।

त्यसैले जयनारायण निरौला लेख्छन्, ‘त्यतिखेरका राजगुरु भ्याटिकन सहरमा पोपजस्तै थिए, जसको सामाजिक र धार्मिक जीवनमा ठूलो प्रभुत्व थियो । समाजमा यिनीहरूको राणाहरूको भन्दा तल्लो तहको स्थान थियो, तापनि धार्मिक दृष्टिकोणले उनीहरूभन्दा माथि... ।’ राणा शासकहरूलाई श्री ३, शाह शासकहरूलाई श्री ५ भन्ने चलन रहेको बेला राजगुरूलाई श्री ६ लेखिन्थ्यो, जसले उनीहरूको हैसियत र हाँकधाँकलाई देखाउँछ ।

शासकहरूबाट हिन्दु धर्मशास्त्रअनुसार वर्ण र जातभातको व्यवस्था रेखदेख गर्ने जिम्मा पाएका थिए कट्टरपन्थी ब्राह्मणहरूले । उनीहरू आफूलाई ब्रह्माको मुखबाट जन्मिएकाले श्रेष्ठ र पवित्र ठान्थे र अरूचाहिँ नीच र अपवित्र । यस्तै शास्त्र, प्रथा र अभ्यासको पक्षपोषण गर्ने वर्ण र जातका पण्डितबाटै धर्माधिकार नियुक्त गरिन्थ्यो । उनीहरू शस्त्रको रक्षार्थ शास्त्र रचना गर्थे, शास्त्रको आधारमा शस्त्रको पक्षपोषण, व्याख्या-विश्लेषणसँगै न्याय-अन्याय छुट्याउँथे । शस्त्र र शास्त्रको गठजोडकै परिणामस्वरूप शस्त्रधारी राजाहरूले शास्त्रधारी पण्डितहरूलाई अहिले कानुन र न्यायमन्त्रीसरहका धर्माधिकारीसँगै राजगुरु वा बडागुरुज्यूको पदले सुशोभित गर्दै आएका थिए ।

शस्त्र र शास्त्रको गठजोड

‘...वाहाँ देषिय श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहबाट दुनियाँको जानअन्जान प्रजा प्राणी लालावाला केही चुक्या विरायामा धर्माधिकार तुल्याई राजाले गर्न्या भयो । सभासदले गर्न्या भयो । धर्मशास्त्रले गर्न्या कार्य धर्माधिकारका शीरहाली बक्सिदो भयो... ।’

यसरी पृथ्वीनारायण शाहले आफूलाई वेद पढाएका र पुरोहितको काम पनि गरेका मोक्षेश्वरलाई ‘धर्माधिकरण’ बनाएका थिए । त्यस्तै, हरिदत्त उपाध्यायलाई ‘शास्त्रज्ञ धर्माधिकारी’ र सन् १८३५ मा श्री गुरु पण्डितराज जनार्दन पण्डित’ लाई धर्माधिकार पद दिएका थिए ।

शाहका पुर्खा राम शाहले १८९६ सालमै ‘थरघर’ (भारदार थर) का अर्ज्याललाई धर्माधिकार, खरिदार र भान्से पद दिनू भनी स्थिति बाँधेका थिए । दिनेशराज पन्तका अनुसार अर्ज्याललाई धर्माधिकारी बनाउने थिति पालना गर्ने क्रममै नारायणदास अर्ज्यालका खनाति मोक्षेश्वर अर्ज्याल पद दिइएको बुझिन्छ । नारायणदास अर्ज्याल लमजुङका राजकुमार द्रव्य शाहलाई गोर्खा राज्य दिलाउने अभियानको अगुवाइ गर्ने र उनको राज्याभिषेक गराउने पण्डित थिए । पृथ्वीनारायणदेखि जंगबहादुरले नियुक्त गरेका धर्माधिकारी होऊन् वा राजगुरु, सबैजसो उच्च पदको लेनदेनमा शस्त्र र शास्त्रको गठजोड देखिन्छ ।

पृथ्वीनारायण शाहले देखेको ‘असिल हिन्दुस्थाना’ को सपनालाई जंगबहादुर कुँवर राणाले संवैधानिक स्वरूप दिएका थिए । राणा शासनको उदयसँगै जंगबहादुरले विजयराज पण्डितलाई राजगुरु पद त्यत्तिकै सुम्पेको थिएन । हिंसा र षड्यन्त्रमार्फत राणा शासनको उत्थानमा योगदान दिएकै कारण उनलाई यस्तो पद बकस दिइएको थियो । त्यसपछि विजयराज पण्डितसँगै उनका सन्तानलाई, विशेषत: कुमाई बाहुनहरूलाई राजगुरु वा बडागुरुज्यूसँगै धर्माधिकार पद आरक्षित गरिएको थियो । धर्माधिकारका लागि जुन विशेष अधिकार, हैसियत, सम्मान, सुविधा र आम्दानीको व्यवस्था गरिएको थियो, त्यही कारण एउटै जातका कुमाई ब्राह्मण र पूर्वीया ब्राह्मणबीच पनि द्वन्द्व भएको इतिहास छ ।

जम्माजम्मीमा, पतिया गर्ने गराउने धर्माधिकार वा धर्माधिकरण वा धर्माधिकारी राज्यको त्यस्तो प्रमुख अंग हो, जसले हिन्दु धर्मशास्त्रअनुसार पाप-धर्म वा न्याय-अन्यायका मुद्दा हेर्थ्यो । धर्मशास्त्रले देखाएको बाटोमा चल्ने शस्त्रधारी राज्यको न्यायिक अंग वा राजाका गुरु (राजगुरु) को रूपमा स्थापित धर्माधिकारीजस्तो उच्च पदमाथि ब्राह्मण पण्डित-पुरोहितको एकाधिकार थियो । धर्मशास्त्र वा ज्ञानमाथि प्रभुत्वसँगै राज्यका धार्मिक-सांस्कृृतिक नीतिनिर्णय र अभ्यासमा वर्चस्व रहनेगरी बनाइएको यस पदमा आसीन हुने पण्डित-पुरोहितका लागि राज्यबाट तलब, बिर्ता, सुविधासँगै ‘पापी-अपराधी’ वा प्रायश्चितकर्ता प्रजाबाट असुलिने जरिवाना रकम र चन्द्रायण करको समेत व्यवस्था गरिएको थियो ।

शाह र राणा शासनकालको मात्रै इतिहास हेर्दा पनि भन्न सकिन्छ, नेपाललाई असिल हिन्दुस्थाना बनाउन उद्यत शासकहरूले पाप र अपराधअनुसार पापमोचन र दण्डसजायँको एक मुख्य अस्त्रको रूपमा, प्रायश्चित र सजायको पलस्वरूप रकम उठाउने विधिको रूपमा, हिन्दु धर्मका वर्णव्यवस्था, जातभात, छोइछिटो, शुद्ध-अशुद्धको मूल्यमान्यता र संस्कार लाद्ने विधानको रूपमा पतियाको प्रक्रिया र धर्माधिकारीको पद सिर्जना गरिएको छ । धर्माधिकारी र पतिया प्रथालाई मलजल गर्ने राजतन्त्रको अन्त्यपछि पनि शुद्धीकरणका अनेक विधिविधानमा पतिया प्रक्रिया जारी रहेझैं न्याय र कानुनका संरचनामा धर्माधिकारीकै गरुडे छाया अझै देखिन्छ, एक वर्णको एकाधिकारको रूपमा । प्रकाशित : जेष्ठ १७, २०७७ १०:४३

प्रतिक्रिया
पठाउनुहोस्

असहिष्णु मिडियाका विपक्षमा

भारतका मिडिया आजको ग्लोबल नागरिकको अवधारणा, दोहोरो नागरिकको वैचारिक दृष्टिकोण, सांस्कृतिक राष्ट्रवादबारे प्रस्ट छैनन् । सिमानामाथि छलफल गर्न उनीहरु असक्षम छन् ।
अरुण गुप्तो

मनीषा कोइरालाले नेपालको सिमानामाथि बोल्नासाथ भारतका हिन्दीभाषी टेलिभिजन च्यानलले दक्षिण एसियाको प्रसिद्ध अभिनेत्रीमाथि आक्षेप लगाए, ‘भारतका खाओगी, चीनका गाना गाओगी !’

संसारका कुनै पनि जानकार वर्गले सांस्कृतिक व्यापकताको परिवेशमा मनिषाको अभिव्यक्तिलाई बुझ्न सक्नेछ । संकुचित सांस्कृतिक धारणा बोकेका मानिस यस्ता स्वतन्त्र विचारलाई सम्मान गर्न सक्दैनन् । मनीषा त नेपाली हुन् र भारतीय संस्कृतिमा योगदान गरेकी अभिनेत्री, जहाँ उनको बहुसांस्कृतिक योगदान छ ।

हामी ब्रिटेनमा भएको क्रिकेट प्रतियोगिताका दृश्यहरू याद गरौँ । भारत र ब्रिटेनबीचका खेलमा ब्रिटेनमा बस्ने भारतका हजारौँ आप्रवासी बेलायती नागरिक भारतको विजयमा भारतकै झन्डा बोक्दै खुसी हुन्छन् । उनीहरू अनेकौँ भाव प्रदर्शन गर्छन्, जुन विषयलाई भारतीय मिडियाले पटाका बनाएर विस्फोट गर्छ । कुनै पनि भारतीय रिपोर्टरले तिनलाई भन्दैन, ‘खाते हो ब्रिटेन कि और गाते हो भारत कि १’ मनीषामाथिको आरोप मिडियाको मानसिक दरिद्रता हो । अशिक्षा हो । राजनीतिक राष्ट्रवाद र सांस्कृतिक राष्ट्रवादबारे पछि कुरा गरूँला । अहिले केही दृष्टान्त हेरौँ ।

अमेरिकामा भएको फुटबल विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी राष्ट्रहरूको संयुक्त राज्य अमेरिकासँग खेल हुँदा आफूले छोडेको देशको समर्थन गरेको देखिन्छ । अस्ट्रेलियामा बसेका धेरै भारतीयले त्यही गर्छन् । हजारौँ लेटिनोहरू आफ्नो देशकै समर्थन गर्छन् । झन्डा बोक्दै क्रिकेट मैदानमा आफ्नो देशको गीत गाउँदै नृत्य गर्दा आफ्नो देशप्रति प्रेम, अन्य देशप्रतिको रिस, उल्लास, गर्जन आदि अनेकौँ भाव प्रकट हुन्छन् । अस्ट्रेलियामा बसेर भारत हारेपछि प्रवासी भारतीयहरू रुन्छन् र जितेपछि नाच्छन् । मनीषाले त सभ्य भाषामा आफ्नो विचार मात्रै राखेकी हुन् ।

नेपालका मिडियाले यस्तो भड्काउने परम्परा कहिल्यै नसिकून् । भारत त दृष्टान्त राख्ने भाषा र विचारको थलो हो । यति धेरै द्वेष किन ? एकपटक बंगलादेशले क्रिकेटमा भारतलाई हराउँदा भारतीय च्यानलका एक एङ्कर रिसले पागल बने । भारतका नामी क्रिकेट उद्घोषक हर्ष भोग्लेले अङ्ग्रेजी कमेन्टरीमा भारतको विरोधी देशबारे बोल्दा हिन्दी फिल्म जगत्का महानायक अमिताभ बच्चनले ट्विट गर्दै त्यस कमेन्टरीलाई पूर्वाग्रही भनेका थिए । तर, उनीहरूले भाषाको अन्तर्राष्ट्रिय सन्दर्भ पनि हुन्छ भन्ने बुझेनन् । बच्चनले भोग्लेमाथि व्यङ्ग्य गरेपछि उक्त कमेन्टरी हटाइएको थियो । हिन्दी कमेन्टरीको स्वरूप भारतमुखी हुन्छ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले एक पत्रकारसँग भनेका थिए, ‘भारतीय ब्याट्सम्यान मन पर्दैन भने भारतमा नबस ।’ यस्तै कुरा मलाई एक शिक्षकले सोधेका थिए, ‘नेपाली क्रिकेट खेल हेर्दैनौ ?’ ‘हेर्दिनँ । नेपाली फुटबल पनि हेर्दिनँ ।’ अनि उनले भने, ‘तिमी कस्तो नेपाली ?’

यो उनको राष्ट्रियताले भरिएको औसत टिप्पणी थियो । मलाई ब्राजिलको खेल हेर्न मन पर्छ । पाकिस्तानका खेलाडी मन पर्छ । टैगोरका गीत र सिद्धिचरणका कविता मन पर्छन् । नेपाली क्रिकेट हेर्दिनँ । माथि उल्लिखित एङ्कर, कोहली, बच्चन र शिक्षक एउटै स्केलमा पर्छन्- असहिष्णु । कोही हिंसात्मक । कोही क्षुद्र । कोही कुण्ठित । मिडियामा असभ्य भाषा, उत्तेजनाले भरिएको अशान्त स्वर बोकेका अशिक्षित एङ्करले गर्दा अन्तर्राष्ट्रिय समाजमा भारतको हास्यास्पद चरित्र देखिएको छ । यिनीहरू आजको ग्लोबल नागरिकको अवधारणा, दोहोरो नागरिकको वैचारिक दृष्टिकोण, सांस्कृतिक राष्ट्रवादबारे प्रस्ट हुन सकेका छैनन् । त्यसबारे पारदर्शी छैनन् । सिमानाबारे छलफल गर्न अक्षम छन् ।

मनीषाको भाषा असाध्यै सभ्य र बौद्धिक छ । उनी रिसाएर बोले पनि उनीसँग वाक् स्वतन्त्रता हुन्थ्यो । राष्ट्रलाई कसले के दिएको छ भन्ने विषय एक प्रतिगामी विचारधारा हो । यसबारे पछि छलफल गर्न सकिन्छ । एक छिनका लागि मानौँ एउटा राष्ट्रले एउटी अभिनेत्रीलाई धेरै धन-मान दिएको छ तर त्यसका लागि मनीषाले पनि आफ्ना रचनात्मक गतिविधि, बौद्धिक शक्ति, कला-कौशल, अभिनय आदि दिएकी छन् । उनी बलिउडमा एक विचारकका रूपमा स्थापित छिन् । भारतीय धरातलमा उनको बहुसांस्कृतिक योगदान आफैंमा कदरयोग्य छ । नेपाल, बंगलादेश, पाकिस्तान, इरान, अमेरिका, बेलायतका कलाकारको संलग्नताले कुनै देशको कला-संस्कृतिलाई प्रतिष्ठा प्राप्त हुन्छ । हलिउडको विश्वव्यापी प्रभाव विदेशी कलाकारको बहुसांस्कृतिक सम्मान गर्नाले पनि हुन जान्छ । कलाकारको योगदानको सम्मान गर्नु सभ्य शत्रुको पनि सांस्कृतिक कर्तव्य हो । भारत त नेपालको पुरानो मित्र मात्रै होइन, मिथकीय धरातलका सहभागी पनि हो ।

अन्त्यमा सांस्कृतिक राष्ट्रवादको तथ्य बुझ्नु रुचिकर हुन्छ होला । उत्तरऔपनिवेशिक लेखकहरूमा होमी भाभाजस्ताले सांस्कृतिक राष्ट्रवादबारे गम्भिर छलफल गरेका छन् । संस्कृतिसँगको सम्बन्ध राजनीतिक र नागरिकताको निकायबाट मात्रै हुँदैन । देशप्रतिको प्रेम र भावना त्यस देशको नागरिक नभए पनि सम्भव हुन्छ । स्मृति, इतिहास र भावनाले पनि राष्ट्रियता ल्याउँछ । मेरो तर्क के हो भने एकजना बेलायती-भारतीय बेलायतविरुद्ध भारतको जितमा खुसी हुँदैमा ऊ बेलायतविरोधी हुन जाँदैन । यति सांस्कृतिक साक्षरता भइदिएको भए भारतीय मिडियाले मनीषा कोइरालाको अपमान सायद गर्दैनथे । ती मिडियाको सांस्कृतिक र शैक्षिक पतन डरलाग्दो छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×