सेतो इन्द्रेणी

मेरी आमा ३२ वर्षको हुँदा बाबा बित्नुभयो । बाबा बितेपछि मेरी आमाको इन्द्रेणीबाट रङहरु हराउँदै गए । बाबाले आफूसँगै आमाका सबै रङ लिएर उडिदिनुभयो, कतै अन्तहीन यात्रामा । रातो रङ असाध्यै मन पराउने मेरी आमा बाँचुन्जेल सेतो रङमा बन्द हुनुभयो । उज्यालो देखिने सेतो रङ त्यसपछि सधैं अँध्यारो देखियो ।
शिक्षा रिसाल

मैले २१ वर्षपछि धेरै हिम्मत जुटाएर आमालाई सोधें, ‘तपाईंलाई बाबाको याद आउँदैन ?’आमा केही बोल्नुभएन । मतिर हेर्नुभयो अनि मुसुक्क हाँस्दै भन्नुभयो, ‘आउँछ, किन नआउनू !’



मुस्कानका साथ सुरु भएका शब्दले भुइँ टेक्न नपाउँदै आमाका आँखा भरिए । सोधें, ‘बाबाले छोडेर गएपछि आफूलाई कसरी सम्हाल्नुभयो ?’ आमा केही बोल्नुभएन । सायद ती अँध्यारा दिनहरू कोट्याइदिएँ । मैले आमा रोएको निकै कम देखेकी छु । उहाँ सित्ती रुनुहुन्न । अथवा रोएको देखाउनुहुन्न ।


अझ बुबाको सम्झनामा आमाले आँसु बगाएको हामीलाई याद छैन । हुन त रुनु मात्र कसैलाई सम्झनु होइन । दुःख सामना गर्ने सबैका आफ्नै तरिका हुन्छन् । कोही रोएर आफ्नो दुःख मेटाउँछन्, कोही मनमा गाँठो पारेर बाँचिरहन्छन् । आमा सायद ‘दोस्रो वर्ग’ मा पर्नुहुन्छ ।


आमा बरु बाबाले गर्ने उट्पट्याङ कुराहरू सम्झेर हाँस्नुहुन्छ । बुवाले जिस्क्याएका कुराहरू सम्झेर मुसुमुसु गर्नुहुन्छ ।

मेरी आमा ३२ वर्षको हुँदा बाबा ब्रेन ह्यामरेज भएर बित्नुभयो । म ९ वर्षकी थिएँ । बाबा बितेपछि मेरी आमाको इन्द्रेणीबाट रङहरू हराउँदै गए । बाबाले आफूसँगै आमाका सबै रङ लिएर उडिदिनुभयो, कतै अन्तहीन यात्रामा । रातो रङ असाध्यै मन पराउने मेरी आमा बाँचुन्जेल सेतो रङमा बन्द हुनुभयो । उज्यालो देखिने सेतो रङ त्यसपछि सधैं अँध्यारो देखियो ।


असारको त्यो रात झमझम पानी परिरह्यो । आमा रातभर निदाउन सक्नुभएन । अलिअलि आँखा लागेजस्तो हुन्थ्यो, फेरि झसंग हुनुहुन्थ्यो । बाबा रातभर घर फर्किनुभएको थिएन । मोबाइल थिएन, अफिसमा फोन गर्दा उठेन । चिन्तैचिन्ताले हामी गलिसकेका थियौं ।


भोलिपल्ट बिहान घरमा फोन आएपछि थाहा भयो— बाबालाई राति कसैले पाटन अस्पतालमा भर्ना गरिदिएको रहेछ । मलाई अझै राम्रोसँग याद छ त्यो दिन । असार १५ को दिन धुम्म परेर निरन्तर झरी परिरहेको थियो । अहिले लाग्छ— त्यो दिन उदासीमा रोइरहेको थियो ।


फोन आउनेबित्तिकै आमा र काका अस्पताल जान आत्तिनुभयो । आमालाई त्यो दिन मैले धेरै राम्री देखें । असाध्यै राम्री । हत्तपत्त ट्याक्सी नचढ्ने आमाले ट्याक्सी रोक्नुभयो । म बिहान ८ बजे नै स्कुल जान लागेकी थिएँ । आमालाई बाटोबाट ‘बाई बाई’ भनें ।


त्यो दिन मेरो स्कुलमा केही विशेष कार्यक्रम थियो । कार्यक्रम सानो होस् या ठूलो– बाबा सधैं मेरो स्कुल आउनुहुन्थ्यो । मैले गाएको गीत सुन्नुहुन्थ्यो, मेरो नाच हेर्नुहुन्थ्यो । मेरा लागि खुसी हुँदै ताली पिट्नुहुन्थ्यो । म दंग पर्थें । मेरो लागि संसारको सबैभन्दा ठूलो खुसी त्यही थियो । तर, त्यो दिन बाबा आउनुभएन । मञ्चमा म नाचिरहेकी थिएँ तर मेरा आँखा दर्शकदीर्घामा नाचिरहेका थिए ।


मैले बाबालाई देखिनँ । मलाई स्कुलका कार्यक्रमहरू कहिल्यै त्यति लामा लाग्दैनथे । कहिल्यै नसकियोस्जस्तो हुन्थ्यो । तर, त्यो दिन मलाई घर पुग्ने हुटहुटीले घेर्‍यो । कापी, कलमसँगै अनुहारमा रङ पुरस्कार लिएर म दौडिएँ । घर पुगेपछि थाहा भयो— बाबाको अझै होस आएको रहेनछ ।


हजुरआमाले भन्नुभयो, ‘बिहान दहीचिउरा खान बिर्सिस् । आज खानुपर्छ । खा ।’

‘बाबाको के खबर आयो ?’

‘बेलुकासम्म होस आउला ।’

हजुरआमाले आशा देखाउनुभयो । अब मलाई बेलुकाको पर्खाइ थियो । मैले दहीचिउरा खाएँ । पुरस्कार टेबलमा राखें र ऐना हेर्दै रमाएँ । मैले सोचेकी थिएँ— बेलुका बाबाआमा आउनुहुन्छ अनि म दिनभरिको कहानी सुनाउँछु । पुरस्कार देखाउँछु । बाबाले फेरि लामो आलाप लिएर नारायणगोपालको गीत गाउनुहुनेछ अनि आमा ‘ह्या कस्ता–कस्ता गीत सुनाउने हो बच्चाहरूलाई’ भन्दै चिढिनुहुनेछ ।


बेलाबेला फोनको घण्टी बज्थ्यो, झसंग हुन्थें । हरेक पटकका घण्टीले हाम्रो मुटुको गति बढाउँथे । राति ८ बजे बल्ल फोन आयो । बाबाले संसार छोड्नुभएछ । म र दिदी आत्तिएर रुन थाल्यौं । त्यो खबर सुन्नेबित्तिकै हजुरआमा बेहोसजस्तै हुनुभयो । हजुरआमाले न हामीलाई सम्हाल्न सक्नुभयो न आफूलाई । हजुरबा अल्जाइमर्स पीडित भएकाले एकोहोरो हुनुहुन्थ्यो । दुई वर्षको भाइ मस्त निदाइरहेको थियो ।


त्यो रात आएको फोनले हाम्रो जिन्दगीबाट मुटु चुँडेर लग्यो । मृत्युसँग त्यति नजिकबाट साक्षात्कार भएको त्यो पहिलो दिन थियो । जिउँदाका जन्ती र मर्दाका मलामी– छिमेकी सायद त्यसैले चाहिन्छन् । एकै छिनमा गाउँभरिका मानिस भेला भए । हजुरआमालाई सम्झाउन थाले । दिदी र म एक–अर्कालाई अँगालो हालेर रोइरह्यौं । त्यो रात न आकाशबाट झरी बर्सिन रोकियो न हाम्रा आँखाबाट आँसु । आकाश र हामी सँगसँगै रोइरह्यौं । न आकाश झरेर सकियो न हामी रोएर सुस्तायौं ।

जो आउँथे भन्थे, ‘यिनीहरू बिचरा टुहुरा भए !’

‘टुहुरा’ शब्दले शरीरका हरेक अंग निचोरिए । आँसुले मेरो अनुहारको रङ बगायो । इन्द्रेणीजस्तो मेरो अनुहार छिनमै जमेको तलाउजस्तो भयो । बारीमा मकैका पात बजिरहेका थिए । आज पनि जब पानी पर्छ र मकैका पात बज्छन्, मलाई त्यही दिनको झरीले भिजाउँछ ।


त्यसपछि घरका सामान सार्न थालियो । किरिया बस्ने ठाउँ बनाइयो । भाइ सानै भएकाले र हजुरबुबा धेरै वृद्ध भएकाले पशुपतिबाट एक जना बाजेलाई किरियापुत्री ल्याइएको थियो । कुर्ने मान्छेका लागि ओछ्याउन दरी र टाट चाहिन्छ भनेर त्यही कोठाबाट लगेछन्, जहाँ बाबाको हार्मोनियम थियो, जहाँ एकै छिन अघि म कल्पनाको संसारमा डुलिरहेकी थिएँ ।


बाबाको हार्मोनियम नजिक गएँ र थिचें । एउटा धुन बज्यो । त्यो धुन मुट छेडेर आँखाबाट निस्कियो । ‘ए, को हो त्यो, मान्छे मर्‍या घरमा बाजा बजाउने ?’ तलबाट चर्को आवाज आयो । म तर्सिएँ । तर्सिंदा हातबाट खसेका रंगीन पेन्सिल टिपेर फुस्रो ढोकाको कुनामा लुकें । जोडसँग मुख बन्द गरें । मुख मात्रै बन्द भयो, आँखा भएनन् । बगिरहे ।

तल केही मान्छे कराएको आवाज आयो । आमा आउनुभयो होला ! हतारहतार गएर हेरें । बिहान रातो साडीमा घर छोडेकी आमा सेतो धोती र परालको चप्पलमा आउनुभयो । उहाँको स्वरूप देखेर मेरो मुटु त्यही परालजस्तै त्यान्द्रै त्यान्द्रामा चुँडियो ।


अघि हार्मोनियमको आवाजमा कराउने व्यक्ति फेरि सुरबिनाको हार्मोनियमझैं फत्फताए, ‘कति रोइरहेका ? मर्ने मरेर गइसके ।’ मैले पहिलोपटक ढुंगाको मुटु बोकेर हिँड्ने मान्छे देखें । मलाई टुहुरो हुनुको पहिलो बोध थियो त्यो ।

म आमालाई अँगाल्न चाहन्थें । आमालाई बोलाउन चाहन्थें । आफू रुन र उहाँलाई रुवाउन चाहन्थें । तर, १३ दिनसम्म आमालाई ‘छुनु हुँदैन’ भनेर मलाई आमाबाट अछूत बनाइदिए । अहिले आएर लाग्छ— हाम्रा संस्कारहरू कति निर्दयी छन् !


मैले २१ वर्षपछि कुरा खोतलें । आमाले त्यस दिनका कुरा बताउन थाल्नुभयो, ‘म अस्पताल पुग्दा आईसीयूमा राखिएको थियो । मैले हेर्न सकिनँ । त्यतिबेला मन कति आत्तिएको थियो । तर पनि केही हुँदैन, होस आएपछि ठीक हुन्छजस्तो लागेको थियो । सास फेरेजस्तो लाग्थ्यो । बोल्न खोज्नुभएको जस्तो लाग्थ्यो ।’ एक छिनपछि डाक्टर आएर आमालाई भनेछन्, ‘उहाँको होस आयो भने पनि पूरै जिन्दगी बोल्न सक्नुहुन्न । हिँडडुल पनि गर्न सक्नुहुन्न । होस आएन भने बचाउन सकिँदैन ।’


यो बताइरहँदा आमाका आँखाबाट बरर आँसु बगे । म महसुस मात्र गर्न सक्छु— त्यतिबेला अस्पतालमा आमाको मन कति चिसिएको होला ! ‘अरूलाई लाग्थ्यो होला– जिउँदो लास हुनुभन्दा मरेकै बेस् । तर, मलाई जसरी भए पनि गुमाउनु थिएन । मृत्यु त कसले चाहन्छ र !’ आमा रोकिँदै–रोकिँदै एक्कासि भक्कानिनुभयो ।


आमाले चाहेजस्तो भएन । ढुंगाजस्तो भए पनि श्रीमान् बाँचे हुन्थ्यो भन्ने कामना गरेकी आमाको पुकार ‘भगवान’ ले सुनेनन् । मान्छेले आफ्नो इच्छाअनुसार अमूक ‘भगवान्’ त बनायो तर आँखामा पट्टी र कानमा कपास कोचिदियो ।

आमाले अस्पतालको स्मृति सुनाइरहँदा मेरा आँखा भिजिसकेका थिए ।


‘मैले कसैलाई सम्झिइनँ । मेरो दिमाग खालीजस्तै भयो । त्यसपछि के–के भयो । अरूले जे–जे भने, मैले खुरुखुरु गरें । एउटा मूर्तिजस्तो भएर बसिरहें । चुरा फुटाइदिए । सिन्दूर पुछिदिए । यो लुगा फेर भने, फेरें । मलाई संसारमा केही नै छैनजस्तो भयो । सबै बिरानो लाग्यो । एकदम रित्तो ।’


आमासँग मेरो धेरै कुरामा झगडा पर्छ । उहाँलाई धेरै कुरा सरल लाग्छ । केही कुरालाई गम्भीरताका साथ लिनुहुन्न । सबै कुरा सजिलै अपनाउन सक्नुहुन्छ । तर, उहाँको यो लडाइँ सजिलो थिएन । बुवा गएपछि आमाका संघर्षका दिन बल्ल सुरु भएका थिए ।


‘अब यिनीहरू टुहुरा भए’ भन्ने वाक्य त्यसपछिका दिनमा मैले हरेक क्षण भोग्न थालें । आमा डिप्रेसनमा धकेलिनुभयो । एक्लै रुने, एक्लै बस्ने, एक्लै बोल्ने गर्न थाल्नुभयो । सबैले भन्थे, ‘अब आमा पनि यस्तै भए छोराछोरीको के हालत होला ?’


हामी आमाको मनबाट दुःख हटाउन जे गर्न पनि तयार थियौं । तर, हामी सबै बालखै थियौं । त्यतिबेला डिप्रेसनलाई कसैले बुझेका थिएनन् । त्यो केवल एउटा पागलपन थियो, अरूका लागि । बिस्तारै बुबाको स्मृति धमलिँदै गयो अरूको मनबाट । तर, हाम्रो परिवार ‘मुभ अन’ हुनै सकेन । एक्लोपन, वियोग र जिम्मेवारीको बोझले आमालाई निल्नसम्म निल्यो । मनभरि रुन पनि पाउनुभएन ।


फेरि हाम्रो संस्कृति र संस्कारले त्यो पीडालाई कम हुन दिएन । हाम्रा कतिपय संस्कारहरू निर्मम छन् । बाबा बित्दा आमालाई माइतीको एकदम जरुरत थियो । एउटा महिलाले आफ्नो सर्वस्व गुमाउँदा उसलाई आफ्नो मान्छेको काँध चाहिन्छ । बाबा बित्दा दाजुभाइ, भदा, माइती आदि हेर्नु हुँदैन, जानु हुँदैन भनेर रोक लगाइयो । न माइतीबाट कोही भेट्न आए न आमा जान पाउनुभयो ।


आफ्नो माया गर्ने दाइले ‘नानी हामी छौं तिम्रो साथमा’ भनेर अँगालिदिएको भए आमालाई कति ढाडस मिल्थ्यो होला ! तर, छुने त परैको कुरा– आमालाई दाइभाइ, भदा कसैको अनुहार र बोली सुन्न हुन्न भन्ने कुरीतिले बाँधियो ।

माइत मात्र गएर बस्न पाएको भए आमा मानसिक रूपमा बलियी हुनुहुन्थ्यो होला ! आफन्तको काँधले आमाको लत्रिएको संसार कति बलियो गरी उभिन्थ्यो होला ! तर, त्यसो भएन । आमा एक्लै हुनुभयो । एक्लै पछारिनुभयो । एक्लै बजारिनुभयो । एक्लै दर्फरिनुभयो ।


तर, फेरि आफैं उठ्नुभयो पनि । आफूलाई बिस्तारै समय दिनुभयो । बालबच्चाका लागि बाँच्नुपर्छ भन्ने बोध भयो । दिनहरू बिते । दुईपटक मृत्युलाई जितेर अहिले बाँच्न सक्नुभयो । हामीलाई बुबाआमा दुवैको माया दिनुभयो । दुई दशक लामो लडाइँ एक्लै लड्नुभयो । र, जित्नुभयो । केही महिनाअघि मात्र मेरो नाता पर्ने ठूलीआमा बित्नुभयो । पेट दुखेर अस्पताल पुगेकी ठूलीआमा उतैबाट अन्तहीन यात्रामा निस्किनुभयो । ठूलोबुबा र भाइ एक्ला भए ।


ठूलोबुवा ५७ वर्षको हुनुहुन्छ । अस्ति भर्खर उहाँ घरमा आउँदा मैले गहिरोसँग नियालेकी थिएँ । उदास र टोलाएका आँखा । फुंग रङ उडेको कान्तिविहीन अनुहार । उहाँलाई देख्दा लाग्थ्यो– गहिरो शोकमा हुनुहुन्छ ।


तर, ठूलीआमा बितेको दुई महिना पनि पूरा नहुँदै उहाँ विवाह गर्न केटी खोज्दै हुनुहुन्छ भन्ने खबर सुनेर म एक छिन शून्य भएँ । यो खबरले मेरो शरीरमा भयंकर ठूलो करेन्ट हान्यो । नातेदार, आफन्ती र इष्टमित्र सबै उहाँका लागि वधू खोज्दै हिँडेको सुनेपछि मैले आमाको अनुहार हेरें । उहाँले चुपचाप मलाई हेर्नुभयो ।


हुन त सबैलाई आफ्नो जिन्दगी बाँच्ने पूरा अधिकार छ । कोही न कोही सहारा चाहिन्छ पनि । तर, ठूलीआमाको सट्टा ठूलोबुवा बितेका भए ? कसैले ‘ऊ अब एक्लै भई’ भन्दै विवाहको चाँजोपाँजो मिलाउँथ्यो होला ? उनलाई सेतो धोती र परालको चप्पल थमाउँथ्यो ।


उनको सप्तरंगी जीवनबाट हरेक रङ खोसेर कतै गाडिदिन्थ्यो होला । मेरी एक जना माइजू धेरै राम्री हुनुहुन्छ । बैंसमा उहाँको निकै चर्चा चल्ने गर्थ्यो रे ! तर, विवाहको केही वर्षपछि मामा बित्नुभयो । उहाँहरूकी एउटा छोरी छन् । अहिले १५ वर्षकी भइन् । मामा स्वर्गबास हुँदा माइजू २८ वर्षकी मात्र हुनुहुन्थ्यो । अहिलेकी मजत्रै ।


परिवारमा कसैले भनेछन्, ‘उसले बिहे गर्छु भनी भने बिहे गरिदिन्छौं ।’ तर, माइजू केही बोल्नुभएनछ । पछि पनि कहिल्यै विवाहबारे केही भन्नुभएनछ । परिवारले त्यति भन्नु पनि ठूलो कुरा हो । तर, ‘गर्ने भए गर’ भन्नु र ‘गर्न मन भए हामी खोजिदिन्छौं, गरिदिन्छौं’ भन्नु र नभन्नुमा केही त फरक होला ।


माइजूले अर्को बिहे गर्न इच्छा देखाउनुभएन । वा भन्न सक्नुभएन । कसैले यस्तो पनि भनेछन्, ‘कहाँ बिहे गर्नु अब ? छोरीको मुख हेरेर बस्नुपर्छ । नत्र छोरीको के हुन्छ ?’ सोच्छु— माइजूको ठाउँमा मामा भएका भए ?

परिवार, आफन्तहरू ‘जीवन बर्बाद हुन्छ’ भन्दै केटी खोज्न लाग्थे । बुढेसकालमा दुःख पाउँछ भन्दै इष्टमित्र छटपटिन्थे । विवाहको तयारी हुन्थ्यो । दुई महिना या दुई वर्ष मात्रको कुरा हो । गहिरो प्रेम थियो भने पाँचै वर्ष । तर, पुरुषहरू यत्तिकै एक्लो बसेको प्रायः देख्दिनँ । नेपालमा त्यस्ता कैयौं उदाहरण छन् । चलेका सेलिब्रिटी, लेखकको जीवन सबैलाई थाहै छ । जति प्रेम होस्, श्रीमतीका बारेमा किताबै किन नलेखियोस्— पुरुषले एक दिन अवश्य दोस्रो बिहे गर्छ । यसमा केही गलत देख्नु हुँदैन । कसैको साथ खोज्नुमा केही अपराध छैन ।


तर, यही सुविधा महिलालाई किन छैन ? किन उसको पति मर्दा ऊ जहाँ पनि रुँदै हिँडोस् भनेर आस गरिन्छ ? अभिनेत्री श्वेता खड्का शोकमा रुँदै हिँड्दा सारा देश उनीप्रति करुणादायी देखियो । तर, केही समयपछि बितेका अर्का सेलिब्रिटीकी श्रीमती हाँस्दै हिँड्दा आलोचना खेप्नुपर्‍यो ।


पति मरेको केही दिन या महिनामै हाँसेको या रमाएको देखियो भने मान्छेहरू भन्छन्–

कस्ती आइमाई रहिछ, एक थोपो आँसु छैन !

– लोग्ने मरेको वर्ष दिन भएको छैन, यस्तो छ ताल !

– पक्कै अरूसँग सल्केको हुनुपर्छ !

तर, पुरुष रमाउँदा वा हाँस्दा तिनै मान्छे भन्छन्–

– केटा मान्छे भएर पनि रुँदै हिँडोस् त बिचरा !

– अझै यत्रो जीवन बाँकी छ, किन दुःखी हुनु नि !

– केटा भन्या केटै हो नि । केटालाई जे गरे पनि सुहाउँछ !


ती मामालाई पक्कै परिवारले दोस्रो विवाहका लागि दबाब दिन्थे होलान् तर माइजूलाई दिएनन् । ‘सहारा चाहिन्छ’ भन्दै ५७ वर्षका बूढालाई बिहे गराउन तम्सिने समाज २८ वर्षे माइजूका पक्षमा किन केही बोल्दैन ? मेरै नाता पर्ने एक जना भाउजूले गत वर्ष आत्महत्या गर्नुभयो । कारण कसैलाई थाहा छैन । मानिसहरू भन्छन्— उहाँ डिप्रेस्ड हुनुहुन्थ्यो । ‘औषधि खान्थी’ भन्दै कुरा काट्ने पनि भेटिए ।


‘दुई वर्षको छोरा छोडेर मर्न सक्ने कस्तो अपराधी ?’ धेरैले यसै भने । त्यो घटनाको दुई महिना नबित्दै दाइको विवाह गरिदिन सबै नातेदार लागिपरे । यो लेखिरहँदा वधू फेला परिसकेकी छैनन् । प्रयास अझै जारी छ । मेरी आमा र मेरो सोचाइ, बुझाइ, भोगाइमा ठूलो अन्तर छ । पुस्तान्तरले हो या फरक व्यक्तित्वका कारण । आमाले जे भोग्नुभयो, जे देख्नुभयो र जे बाँच्नुभयो— सोच त्यसरी नै विकास भएको छ । उहाँ भगवान्लाई पूजा गरेर आनन्द महसुस गर्नुहुन्छ । म उहाँका लागि फूल र धूप ल्याइदिएर आनन्द महसुस गर्छु ।


आमा कहिलेकाहीँ भगवान्सँग एक्लै बोलिरहँदा केही प्रश्न गर्दिनँ, बरु जिस्क्याउँछु । आमा कृष्ण र रामको पूजा गर्नुहुन्छ तर मलाई राम र कृष्णहरूसँग समस्या छन् । यो कुरामा पनि हाम्रो धेरै बहस हुन्छ । कृष्ण कमजोर प्रेमी थिए । प्रेमको अलाप गर्दै सारा जगत्लाई आफ्नो भक्त बनाउने उनी राधाका अपराधी हुन् । उनी ‘दिलफेक आशिक’ थिए । जहाँ जो भेट्टियो, उसैसँग सल्किने । हाम्रो समाज पनि कस्तो ! सोह्र हजार आठ श्रीमती ल्याउनेको पूजा गर्छ तर सच्चा प्रेमी राधाको कतै केही आदर गर्दैन । पूजा राधाको हुनुपर्थ्यो । तर, भगवान् बनाउनेहरू पनि पितृसत्ताको चरम भोगी छन् । त्यसैले राधालाई सधैं कृष्णको छेउमा उभ्याइन्छ ।


राम कृष्णभन्दा अलि राम्रा हुन् तर सीतामाथि उनले पनि अन्याय गरे । अग्निपरीक्षा र अयोध्या फर्केपछि उनलाई त्याग गर्न पितृसत्ताले दिएका दबाबका विरुद्ध उनी लडेनन् । द्रौपदी, कुन्तीहरूका कथा सबैलाई थाहै छ ।


मैले आमालाई धेरैपटक सोधेकी छु, ‘तपाईंले किन फेरि बिहे गर्नुभएन ?’ ‘के–के बोल्छे, चुप लाग्’ भन्दै उहाँ रिसाउनुहुन्थ्यो । तर, अहिले हाँस्दै भन्नुहुन्छ, ‘मैले बिहे गरेको भए तिमीहरूको हालत कस्तो हुन्थ्यो ? अहिलेसम्म

बाँच्थिस् तँ ?’

‘हाम्रो किन सोच्ने त ? आफ्नो सोच्नुपर्थ्यो नि, यति स्मार्ट मान्छे !’

‘भोलिपर्सि छोराछोरी पाएपछि थाहा पाउलिस्– कति सजिलो, कति गाह्रो हुन्छ,’ आमा तर्किनुहुन्छ ।

‘बाबा रहेर तपाईं नभएको भए ?’ म प्रतिप्रश्न गर्छु ।

आमा लामो सुस्केरा हाल्दै भन्नुहुन्छ, ‘तेरो बाउले त बिहे गरिहाल्थे होला अर्को । तिमीहरूको झन्

बिजोग हुन्थ्यो ।’

आमाहरू धरती हुन् । पिताहरू आकाश हुन् । आकाश बदलिरहन्छ । कहिले दिन, कहिले रात । कहिले उज्यालो, कहिले अँध्यारो । कहिले धुम्म । कहिले खुला ।

आकाश असीम छ । जीवनका लागि चाहिने ऊर्जा दिन्छ । तर, सिञ्चित गर्ने त धरती हुन् । आकाश जति परिवर्तनशील भए पनि एकनास रहने धरती हुन् । हुर्काउने, बढाउने र फैलाउने । त्यही धरती टेकेर सपनाको संसारमा हामफाल्छौं हामी ।

र, समय आइसक्यो हामीले पनि धरतीबारे सोच्ने । सेतो धरतीबारे सोच्ने ! प्रकाशित : चैत्र ८, २०७६ १३:३२

प्रतिक्रिया
पठाउनुहोस्

माफी पाऊँ डीपी सर !

कहिले दार्शनिक–चिन्तकजस्तो, कहिले चामत्कारिक वक्ताजस्तो, कहिले चुम्बकीय लेखकजस्तो । कहिले पश्चिमी दर्शन, चिन्तन र रोमान्टिसिजमको एउटा पात्रजस्तो । उहाँ रङहरुको हिसाब–किताबमा होइन, रङहरुमा बाँच्नुभयो, अझ आफैं रङहरु भएर । डीपी सरबारे म के लेखूँ ? सम्झनाहरु ठेलमठेल छन् । 
सञ्जय घिमिरे

डीपी सर रहनुभएन । सधैंभर चर्का स्मृतिका कुरा गर्ने सरलाई आखिरमा विस्मृतिको रोगले लग्यो । यो खबर सुनेदेखि एक किसिमको नोस्टाल्जियामा छु । कहाँबाट सुरु गरौं लेख्न ? 

एउटा यस्तो व्यक्ति, जो कहिले दार्शनिक–चिन्तकजस्तो, कहिले चामत्कारिक वक्ताजस्तो, कहिले चुम्बकीय लेखकजस्तो । कहिले पूर्वीय धर्म, अध्यात्म र अनुशासनको ज्ञाताजस्तो । कहिले पश्चिमी दर्शन, चिन्तन र रोमान्टिसिजमको एउटा पात्रजस्तो ।

कहिले उमेरमा मात्तिएको सुदूर गाउँको एउटा उन्मत्त ठिटोजस्तो, जो अक्सर मौकाको पर्खाइमा हुन्छ । तर, खासमा एउटा यस्तो प्रोफेसर, जो साँच्चिकै प्रोफेसरजस्तो । अर्थात् ज्ञान, चिन्तन, बोली र लेखनमा लय भएको एउटा मान्छे । त्यस्तो मान्छेको बारेमा म के लेखूँ ? सम्झनाहरू ठेलमठेल छन्, स्मृति उकुसमुकुस ।

यसैले कठिन भइरहेको छ उहाँका बारे लेख्न । सम्झिरहेको छु— उहाँसँग मृगस्थलीतिर डुलेको, ‘रंगीला’ फिल्म हेर्न गएको, कुनै एउटी युवतीलाई उहाँको सान्निध्यमा पुर्‍याएको । उहाँसँगका संवादहरूको रोमाञ्चकता र गहिराइका बारेमा त के भनिरहनु ?

के गरिएन ? र, के भएन उहाँको साथ संगत सान्निध्यतामा ? २५ वर्षअघिको लक्ष्मीपूजाको दिन, जुन दिन मैले लक्ष्मी–पुत्र होइन, सरस्वती पुत्र उनै डा. दुर्गाप्रसाद भण्डारी (डीपी सर) लाई पहिलोपटक भेटेको थिएँ— काठमाडौं, पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी स्कुलको प्रांगणमा, जहाँ हरेक वर्ष लक्ष्मीपूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा कार्यक्रम हुने गर्छ ।

त्यो दिनको कार्यक्रममा प्रमुख अतिथि थिए पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र प्रमुख वक्ता थिए— डा. डीपी भण्डारी । म भर्खर राजधानी काठमाडौं छिरेको, शरीर र विचारले पनि एउटा दुब्लो–पातलो मान्छे । कत्तिले लुरे पनि भन्थे । त्यो कार्यक्रममा भण्डारी सरको भाषण सुनेपछि म यसरी प्रभावित भएँ कि, मञ्चबाट ओर्लनेबित्तिकै मैले उहाँलाई निकै आँट जुटाएर सोधें, ‘सर म तपाईंसँग कुरा गर्न चाहन्छु । तपाईं मलाई समय दिन सक्नुहुन्छ ?’

उहाँले मलाई बहुत विनम्रतापूर्वक आफ्नो घरको ठेगाना दिनुभयो । एउटा प्रोफेसर, त्यो पनि अंग्रेजीको, जसले मजस्तो उमेर, शरीर र विचारको दुब्लो–पातलो मान्छेलाई आफ्नो घरमा आमन्त्रित गरिरहेको छ । मलाई खपिनसक्नुको खुसी र छटपटी भएको थियो त्यतिबेला । केही दिनपछि उहाँको घर खोज्दै म पुगेँ उहाँलाई भेट्न । उहाँलाई भेट्न जाँदा म जीवन र जगत्बारेका अनगिन्ती जिज्ञासाहरूले भरिएर पुगेको थिएँ ।

तिनै जिज्ञासामध्येबाट चार जिज्ञासा मैले सरसमक्ष राखें । जिज्ञासाहरू धूमिलप्रायः रूपमा अझै सम्झनामा छन् । तीमध्ये एउटा जिज्ञासा थियो— सर, प्रायः सबै धर्म–उत्पत्तिका सन्दर्भहरू दुःखहरूसँग जोडिएका छन्, जस्तो हिन्दुमा युद्धका कथाहरू छन्, बौद्धमा सिद्धार्थ गौतमले दरबार छाडेका कथाहरू छन्, क्रिस्चियनमा सुलीमा चढाइएका सन्दर्भहरू छन् । यसको साटो यदि धर्म सुखबाट उत्पत्ति भएको भए अझ राम्रो हुन्थ्यो कि ?

हो, यो एउटा यस्तो प्रश्न भैदियो, जसले भण्डारी सरसँगको संगत बाक्लो बनाइदियो । उहाँले त्यतिबेला दिनुभएको जवाफ अहिले पूरापूर सम्झनामा छैन, तर त्यसपछि उहाँले मेरा लागि आफूसँगको सान्निध्यताको ढोका खोली दिनुभयो । र, यो सान्निध्यता अझ–अझ गहिरिँदै र बाक्लिँदै गयो ।

यसै पनि हामी त्यतिबेला ‘सुरुचि’ साप्ताहिकमा मीनाक्षीका नाममा उहाँले लेखेका लेखहरूका फ्यान छँदै थियौं । एकदमै प्रेमिल सम्बोधन मीनाक्षीलाई, तर विचरण समाज, राजनीति, जीवन–जगत्का विशाल र गहिरा समुद्रहरूमा । अद्भुत लेखनशैली थियो, भण्डारी सरको । चिन्तन र तर्कलाई सरल रूपमा राख्ने । निकै उदारतापूर्वक राख्ने ।
प्रेम र यौनका बारेमा उहाँका लेखन पढेर वा युवतीहरूसँग अलि बढी निकट हुने उहाँको व्यवहारलाई लिएर कतिपय मान्छेहरू ठान्थे, ‘भण्डारी सर अलि छाडा हुनुहुन्छ । प्रेम र प्रणयमा अलि बढी रमाउनुहुन्छ आदि ।’

हामी पनि त्यसै ठान्थ्यौं । र, युवतीका नाम राखेर पाठक पत्रहरू पठाउँथ्यौं । हामीले सिर्जना गरेका नक्कली पाठक– युवतीहरूलाई उहाँ जवाफ फर्काउनुहुन्थ्यो । हामी पुलकित हुन्थ्यौं । ती शर्मिष्ठा वा शीला थिएनन् । अहिले स्वीकार गर्नैपर्छ– ती हामी नै थियौं ।

अहिले भन्नैपर्ने भएको छ— भण्डारी सर माफ गर्नुहोला, हामी कच्चा थियौँ । हामी ठान्थ्यौँ— हामीले तपाईंलाई झुक्याइरहेका छौं । खासमा हामी झुक्किरहेका थियौं । तपाईं अक्सर भन्ने गर्नुहुन्थ्यो, ‘नेपाली समाज ढोंगी छ, सोचेभन्दा बढी ढोंगी... !’

हो, हामी पनि त्यस्तै थियौं । अझै पनि त्यस्तै छौं । पशुपतिका नागा बाबाका लिंग वा टुँडालका चित्रहरू हेरर उत्तेजित हुने तर तिनैका बारे कुरा गर्न डर मान्ने वा तिनका भाव र गहिराइहरूमा पुग्न नसक्ने हाम्रो चरित्र उस्तै छ— विरोधाभासले भरिएको । तर, तपाईं त्यहाँभन्दा माथि हुनुहुन्थ्यो भण्डारी सर । तपाईंमा जस्तो विराट बुझाइ हामी बिचराहरूसँग कहाँ थियो र सर ? तपाईंको सौन्दर्यचेत र जीवनका खास रङरूपहरूलाई हेर्ने तपार्इंको सोचलाई हामीले मदालसा, शर्मिष्ठा वा शीलासँगका हल्काफुल्का प्रेमका रूपमा बुझेका थियौं ।

‘सुरुचि’ साप्ताहिकमा भण्डारी सरका लेख पढेर उद्वेलित हुने हामी संयोगले पछि आफैँ उहाँका लेखहरू लिन घरमा जाने ठाउँमा पुग्यौं । ‘हिमालय टाइम्स’ मा आबद्ध रहँदा मित्र देवेन्द्र भट्टराई र म अक्सर साताको एकपटक लेख लिन उहाँको घरमा जान्थ्यौं । त्यो लर्कोमा यदाकदा थानेश्वर सापकोटा, शीला सैंजूहरू पनि जोडिन्थे । हाम्रो काम हुन्थ्यो— उहाँले किरिमिर लेखेको लेख पढेर उहाँलाई सुनाउने वा उहाँले बोल्ने अनि हामीले टिप्ने ।

देवेन्द्र र मैले यो काम कैंयौं महिनासम्म गरिरह्यौं । हाम्रो सम्बन्ध बाक्लिँदो थियो । कहिले मृगस्थलीतिर, कहिले पुरानो बानेश्वरको पुस्तक पसलतिर– हामी भण्डारी सरसँगै हुन्थ्यौं ।
०००००
त्यसैताका उर्मिला मातोडकर, आमिर खान, जैकी श्राफ अभिनीत एउटा चलचित्र आयो– रंगीला । रामगोपाल बर्माको यो फिल्ममा एआर रहमानको म्युजिक थियो, जसमा उर्मिलाका उत्तेजक नृत्य र भावभंगिमा थिए । यो २०५२ सालको असोज अन्तिम साता हुनुपर्छ, देवेन्द्र र मैले सल्लाह गर्‍यौं— भण्डारी सरलाई ‘रंगीला’ फिल्म हेर्न लिएर जानेबारे । सरलाई अनुरोध गर्‍यौं । सहजै अनुमति पायौं । र, गयौं विश्वज्योति हलमा । अहिलेजस्तो टिकट लिन सजिलो थिएन । त्यसमाथि उर्मिलाको उत्तेजक नृत्यको युवा क्रेज । मुस्किलले टिकट लिइयो । सर बीचमा, म र देवेन्द्र दायाँ–बायाँ ।

एउटा प्रोफेसरलाई बीचमा राखेर हामी उर्मिलाका उत्तेजक नृत्य हेरिरहेका थियौं । सर हामीसँग भएभन्दा बढी रंगीला र उर्मिलामा रमाइरहनुभएको थियो । जसै फिल्म सकेर हामी हलबाहिर निस्केर मण्डला बुक्सतिर लाग्यौं, बाटैमा अभि सुवेदी, एमपी लोहनी, माधवलाल महर्जन सरहरू भेटिनुभयो । अभि सरले विनयी स्वरमा नमस्कारको अभिवादनसँगै सोध्नुभयो, ‘सर, यी केटाहरूसँग कता हिंड्नुभएको र ?’

डीपी सर, बडो स्वादिलो लयमा हाँस्नुभयो सुरुमा । अनि विश्वज्योतितिर इसारा गर्दै भन्नुभयो– ‘ए, रंगीला हेर्न आएको थिएँ । ३/४ जना केटीले हत्ते गरेर ल्याए, मजै आयो... रमाइलो रैछ ।’ अनि फेरि डीपी सर हाँस्नुभयो, राम्रैगरी ।
एक छिन अरू अर्थ–अनर्थका केही कुरा भए, बाटोमा उभिएरै । अनि हामी मण्डलातिर छिर्‍यौं ।

यो एकदमै प्रश्नातीत घटना थियो, हाम्रा लागि । हिजो मात्रै, फिल्म हेर्न जाने अफर म र देवेन्द्रले गरेका हौं । बाल्कोनीको टिकट ‘ब्ल्याक’ मा किनेर देवेन्द्रले ल्याएको छ । हलभित्र फ्रुटी, केक ख्वाउँदै डीपी सरलाई हाम्रा बीचैमा राखेर ‘रंगीला’ हेराएका छौं । अब कहाँबाट आए एकाएक यी केटीहरू ?

ट्याक्सीमा जमलबाट पुरानो बानेश्वर डीपी सरका घरतिर फर्कंदै गरेका बेला देवेन्द्रले जिज्ञासा राख्यो, ‘सर, यो त हामीमाथि सरासर अन्याय भयो नि ! सारा गर्ने हामी, सरलाई उर्मिला देखाउने हामी । अनि नामचैं केटीहरूको ?’
ट्याक्सीको अघिल्लो सिटमा बस्नुभएका डीपी सरले आफ्नो सनातनी ‘मु लवज’ निकाल्दै टाउको पछाडि फर्काउनुभयो र, रमाइलो मानिरहेको स्वरमा भन्नुभयो, ‘तिमीहरूलाई के थाहा छ ? तिमेरु अज्ञानी नै छौ । अब यसरी रंगीला हेर्न केटीहरूले ल्याएका थिए, केटीहरूका बीचमा बसेर हेरें भनेपछि यी बूढाहरू भित्रभित्रै जलिरहन्छन्... हेर्दै जाऊ न ! रातभर सुत्नै सक्दैनन् अब... हाहाहा !’
०००००
म आज पछाडि फर्किएर सोच्छु— यो तहको प्रोफेसर आज कोही होला नेपालमा, जो जीवनलाई त्यसका रङहरूमा भोग्छ, बिनाढोंग, बिनाघमण्ड, बिनातथाकथित सामाजिक भय ! भण्डारी सरले उर्मिलाको उत्तेजक नृत्य र तिघ्रामाथि पछि एउटा लेख नै लेख्नुभयो– ‘रंगीलाकी उर्मिला र सेक्सी जनमानस’ शीर्षकमा । त्यसमा सम्झेसम्मको सार थियो, ‘प्रिय, नेपाली मानस सेक्सग्रस्त छ, विरोधमा ग्रस्त छ, समर्थनमा पनि ग्रस्त ।

त्यसैले रंगीला यति लोकप्रिय भयो । निर्देशकले त्यहाँ सेक्स नभए पनि सेक्स भन्ने भ्रान्ति दिन सकेको छ । यहाँ सेक्सको अर्थ हुन्छ, नायक–नायिकाको हाउभाउबाट, स्पर्श, नृत्य आदिबाट द्रवित हुने, श्रावित हुने र मनमा दुई–तीन दिनसम्म गुदगुदी, टिटिलेसन आइरहने । जतिजति ३–४ स्वास्नीका स्वामी लामो टुपी पालेका, तीनधर्के टीका लगाएका, भागवतवाचन गर्ने, लामो पूजापाठ गर्ने पण्डित पुरोहितहरूदेखि लिएर समाजका अन्य पाखण्डी राजनीतिज्ञ र स्कुल शिक्षकसम्म सक्दो निन्दा गर्नेछन्, त्यति नै यहाँका युवायुवतीहरू, प्रौढहरू, पोर्नोग्राफी मन पराउनेछन् ।

रंगीला हेर्ने त उनीहरूको अधिकारभित्रै आउँछ, समाज स्वीकृत अधिकार । कुनै बेला जब काठमाडौंमा भीड थिएन, धूवाँ थिएन, गाडीहरू एकदमै कम थिए, स्वतन्त्र रूपले सडकमा विचरण गर्दागर्दै अभिसाररत साँढे र गाई देखेर यहाँका फुर्सदवाला नगरवासीहरू सिट्ठी बजाउँथे, आज रंगीला हेरेर सिट्ठी बजाउँछन् ।’
०००००
अनि, कतिपय लेखहरूमा भण्डारी सर आफ्नी प्रेमिकाहरूलाई डोलीमा चढाउनुहुन्थ्यो र, हामीलाई डोलेहरूका रूपमा चित्रण गर्नुहुन्थ्यो । भण्डारी सरका यस्ता लेखहरू पढ्न युवायुवतीहरू हुरुक्क हुन्थे । सरका लेखहरूमा तिघ्रा वा वक्षस्थलका कुरा मात्र हुँदैनथे, त्यहाँ लोभ, मोह, काम, क्रोध, समाज र राजनीति पनि जोडिएको हुन्थ्यो । बुद्धका मन्त्रहरू, कुरान, वेद, उपनिषद्, बाइबल... के हुँदैनथ्यो त्यहाँ ? लेखनमा विम्बहरूको प्रयोग गर्न पनि भण्डारी सर माहिर हुनुहुन्थ्यो । २०५१ सालमा जब तत्कालीन एमालेले अल्पमतको सरकार बनायो, त्यतिबेला उहाँले एउटा लामो लेख लेख्नुभएको थियो ‘कान्तिपुर’ दैनिकमा, जसको शीर्षक थियो, ‘हेमा मालिनीको गालामा झुसे दाह्री ।’ यो लेख निकै चर्चित भयो, धेरैका मुखमा शीर्षक र गुदी कण्ठस्थ थियो ।

भलै, नेपाली समाज र कतिपय पढे–लेखेका भनाउँदाहरूसमेत डीपी सरका कतीपय व्यंग्यहरू बुझ्ने हैसियत अहिले त राख्दैनन्, त्यतिबेला अझ के राख्थे र ? मलाई सम्झना छ— एकताका पुरानो बानेश्वरस्थित विनोद भट्टराईको घरमा प्रत्येक शनिबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आउने गर्नुहुन्थ्यो, जहाँ सर पनि पुग्नुहुन्थ्यो । जब भण्डारी सर र भट्टराईबीच संवाद र ठट्टा सुरु हुन्थ्यो, तब यस्तो लाग्थ्यो जीवनका सबै रङहरू यहीं छन् ।

भण्डारी सर र कृष्णप्रसाद भट्टराईजस्तो दार्शनिक, आध्यात्मिक र मानवीय चेतको जोडी, जसको ठट्टामा पनि अनन्त गहिराइ हुन्छ, त्यो परिहास र विनोदप्रियता ! त्यस्तो जोडी अब पाउनु कहाँ ? यसरी भण्डारी सर रङहरूको हिसाब–किताबमा होइन, रङहरूमा बाँच्नुभयो । अझ आफैं रङहरू भएर बाँच्नुभयो ।

एक दिन पुरानो बानेश्वर चोकको एउटा रेस्टुरेन्टमा भण्डारी सर, डा. पुरुषोत्तम बास्कोटा र किशोर नेपालका बीचमा म थिएँ । उहाँहरू मदिरा पिइरहनुभएको थियो । र, संवाद विषयका रूपमा आएकी थिइन्— एउटी युवती । त्यो दिन ५० काटेका ती बूढाहरूका संवाद सुनेर म बालक–बबुरो भएको थिएँ, आफैंसँग लज्जित पनि ।

त्योबेला ती युवतीको रूप र रङमा भण्डारी सर मोहित हुनुहुन्थ्यो । तर, त्यो मोहमा उत्ताउलोपन थिएन । गहिरो सौन्दर्यचेत र मानवीय प्रेम थियो । ती युवतीका साथ हामी यदाकदा भण्डारी सरका घरमा जान्थ्यौँ ।

सर, ती युवतीलाई अलिक बढ्ता माया गरेको देखाउन म र देवेन्द्रलाई अलि भिन्न व्यवहार गरेजस्तो गर्नुहुन्थ्यो । सँगै बसेकी ती युवतीलाई डीपी सरले पाकेका जहाजी केरा ल्याएर ‘ल खाऊ’ भनेर बोक्रा छोडाउँदै दिनुहुन्थ्यो, हामीलाई भने तिहारमा पकाएर रहेका दाउराझैं बनिसकेका एक–एक सेलरोटी हातमा राखिदिनुहुन्थ्यो । त्यो प्रेम, त्यो अपनत्वको के कुरा भयो र ? अनि हामी जिस्क्याउँथ्यौं । यस्ता निजी सन्दर्भहरू कति छन् कति । अझ मैलेभन्दा बढ्ता निजात्मक कुरा देवेन्द्रले देखे–भोगेको छ । देवेन्द्रले चितवनदेखि नगरकोटसम्मका डीपी सरसँगका यात्राबारेका अनेक अन्तरंग बात सुनाएको थियो, डीपी सर छँदै–डीपी सरकै सामुमा ।
०००००
सामान्यजनका लागि भण्डारी सर कहिलेकाहीं हल्का रूपमा प्रकट भैदिनुहुन्थ्यो पनि । तर, अहिले बुझ्दा लाग्छ— कहिले कृष्णजस्तो, कहिले रजनीशजस्तो, कहिले खुशवन्त सिंहजस्तो, कहिलो पहाडिया पठ्ठोजस्तो, कहिले बनारसको पण्डाजस्तो । कहिले सुकराजजस्तो, कहिले लाओत्सेजस्तो । एउटा प्रोफेसर, साँच्चिकै प्रोफेसरजस्तो ।
चेतनाले भरिएको र खारिएको एउटा प्रोफेसर, जो शरीरसँग र आफ्नै स्मृतिसँग हार्‍यो र लड्यो ।

हामी तपाईंलाई सम्झिरहनेछौं । र, पखर्नेछौं— हाम्रो समाजमा तपाईंजस्तै चिन्तक, तपाईंजस्तै प्रोफेसर, जो साँच्चिकै प्रोफेसर थियो । सर, तपाईंलाई जस्तै स्वर्ग वा नर्कको मलाई पनि विश्वास छैन, भरोसा छैन । तपाई सधैंजसो आफ्ना भाषण वा आलेखमा सम्झना गरिरहनुहुन्थ्यो, कवि खलिल जिब्रानलाई । आज तपाईं बितेर गएपछि म यो दूरोदेशबाट तपाईंको पावरफुल चस्मा, अलिकति उछिट्टिन खोजेका बज्र दाँत र अट्टाहासको मनकारी हाँसो सम्झिरहेको छु । अनि सम्झिरहेको छु, उनै जिब्रानको भनाइ साभारमा, ‘कुनै मान्छेले जीवन कति सुवासपूर्ण सौन्दर्यसित बाँच्यो भन्ने सत्य त्यसबेला थाहा हुन्छ, जब उसको मृत्यु हुन्छ । र, त्यो मृत्युले कतिलाई अश्रुपूर्ण बनायो, कति बिह्वल पार्‍यो भन्नेबाट थाहा हुन्छ ।’
म यतिखेर अश्रुपूर्ण, विह्वल मुद्रामै यी पंक्ति लेखिरहेको छु । हार्दिक श्रद्धाञ्जली छ प्रिय डीपी सर ।

प्रकाशित : चैत्र ८, २०७६ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×