१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

म गंगा, पृथ्वीको धमनी

हाम्रो जन्म केही करोड वर्षअघि भएको हो । हाम्रो पुर्ख्यौली कथा पनि निकै रोचक छ । अहिले हामी बग्ने धरातल गोन्डावाना र युरेसियन नामका भूतख्ताहरुबीच रहेको टेथाइस समुद्रमुनि थियो । 
अजय दीक्षित

दक्षिण एसियामा किन हो कुन्नि म गंगा नदी सभ्यता, मोक्ष, पुण्य र स्वच्छताको पर्याय बनेकी छु । म मात्र होइन, सखी सिन्धु छन्, उता हिमालपारि उद्गम भएर बह्मपुत्र बग्छ, हाम्रा अनगिन्ती भाइबहिनीहरू छन् । हामी सबै सभ्यताका आधार हौँ, बहुउपयोगी छौं, र पवित्र पनि ! सर्वदा अविरल र स्वच्छ बग्दै रहने विश्वास थियो हामी सबैको । 

म गंगा, पृथ्वीको धमनी

हिजोआज हाम्रो यो विश्वास डगमगाउन थालेको छ । यसरी नै तपार्इंर् ंमान्छेहरूले हाम्रा जलाधार र हामीमाथि हस्तक्षेप गरिरहने हो भने हाम्रो अस्तित्व छिट्टै संकटमा पर्नेछ । जलवायु परिवर्तनले वर्षाको चरित्रलाई पारेको प्रभाव हामी नदीहरूमाथि झन् थपिएको छ । हामीहरू, सिमसार एवं समस्त जलको दुरुपयोगलाई रोक्नुहोस्, हामीलाई नास हुन नदिनु होस् । हामी बिन्ती गर्छौं, संरक्षणको यात्रा सुरु गर्नुहोस्, अन्यथा, तपार्इंर्हरूकै जीवनमाथि सबभन्दा ठूलो बज्रपात आइपर्नेछ ।


भूतख्ताका घर्षण, अवतरण र यात्रा


हाम्रो जन्म केही करोड वर्षअघि भएको हो । हाम्रो पुर्ख्यौली कथा पनि निकै रोचक छ । अहिले हामी बग्ने धरातल गोन्डावाना र युरेसियन नामका भूतख्ताहरूबीच रहेको टेथाइस समुद्रमुनि थियो । गोन्डावानाबाट छुट्टिएको भारतीय भूतख्ता युरेसियन भूतख्तासित ठोक्किन आएपछि टेथाइस समुद्र खुम्चियो ।


चेपुवामा परेको जमिनमाथि उठ्न थाले, हिमाल, महाभारत, (शिबालिक) चुरे शृंखला र मैदान बने । सूर्यको तापले बंगाल र अरब समुद्रको पानी बाफ (बादल) बनेपछि मनसुनी हावा र पश्चिमी वायु, वर्षा र हिमपातका सिलसिला सुरु भए । वायुले बाफलाई आकाशमा पुर्‍याए, जलचक्र स्थापित भयो ।


हामीहरू हिमाल, महाभारत, चुरे, बिन्ध्या पर्वतमाला एवं मैदानी भू–भाग हुँदै, बग्दै बंगाल र अरब समुद्रमा पुग्यौं । हामी नदी मात्र नभएर सम्यता पनि हौं । हाम्रा किनाराहरूमा सभ्यता विकास भए, अझै छन्, भविष्यमा पनि रहिरहनुपर्नेछ ।

भागीरथी, मन्दाकिनी, अलकनन्दा, यमुना, महाकाली, कर्णाली, सरयू, गोमती, मोहना, राप्ती, गण्डकी, वाग्मती, कमला, कोसी अनि कन्काई (महानन्दा) मेरा बहिनीहरू हुन् । नेपालबाट बग्ने महाकाली, कर्णाली र बबई भारतमा पुग्दा

नाम बदलिएर क्रमशः शारदा, घाघरा र सरयू बोलाइन्छन् ।


हामी त नदी थियौं । लिंग, जात केही थिएन । तर, तपाईंहरूले हामीमध्ये कसैलाई केटा त कसैलाई केटी बनाइदिनुभएको छ । यति मात्रै होइन, एउटै नदीलाई कतै केटा त कतै केटीको नाम दिनुभएको छ । कैलाश पर्वतको पश्चिमी मोहडामा उद्गम भई पाकिस्तानमा बग्ने सखी सिन्धुलाई उपल्लो भेगतिर शेर दर्या (सिंह नदी), आब्बासिन (नदीहरूका पिता) को नामले पनि बोलाइन्छ (अलबिना, ए., २००५, द इम्पायर्स अफ द इन्डस्, द स्टोरी अफ अ रिभर) ।


भाइहरू रबी, ब्यास, सतलज, झेलम र चेनाव भारत र पाकिस्तानबाट आएर सखी सिन्धुमा मिल्छन् । सिन्धु अरब सागरमा विलय हुन्छिन् । कैलाश पर्वतबाट निस्केको यार्लुंगसाङ्पो आसाममा बह्मपुत्र हुन्छ भने बंगलादेशमा पुगेपछि जमुना, कतै भाइ त कतै बहिनी । नारायणी भारतमा गण्डक हुन्छिन् ।


भूगोलले पनि हामी बग्ने स्वरूपलाई निर्धारण गरिदिएको छ । झारखण्डको राजमहल काटेपछि म गंगा स्वयं दुई धारमा बाँडिएकी छु– पद्मा र हुग्ली भन्छन् मलाई । दामोदर र रूपनारायण हुग्लीका भाइहरू हुन् । पूर्वी बंगालतर्फ (बंगलादेश) लागेपछि पद्मालाई पद्दाको नामले पनि बोलाइन्छ ।


मेघालय र बंगलादेशबाट आएकी बहिनी मेघना पद्मामा समाहित हुन्छिन् । मेघना र बह्मपुत्रलाई बोक्दै पद्मा बंगालको खाडीतर्फ लाग्छिन् । बहिनी पद्मा र हुग्ली अनगिन्ती धारहरूमा विभाजित भई सुन्दर–वन हुँदै बंगालको खाडीमा विलय हुन्छिन् ।


म, मेरी सखी र भाइबहिनीहरूको फैलावट क्षेत्र हाल विश्व जनसंख्याको करिब १५ प्रतिशत मान्छेको बासस्थान हो । मौसमअनुसार, हाम्रो व्यबहार पनि बदलिने गर्छ । वर्षायाममा हामी अलि आक्रामक हुन्छौं । भल–बाढीका साथमा प्रशस्त ढुंगा, बालुवा र माटो ओसार्छौं, मैदानी भेगमा लगेर थुपार्छौं ।


पहाडहरू कोतरेर हामीले धरातलमा माटो ल्याउने गरेका हौं । वर्षायाममा माटो त के, उस्तै परे सानासाना पहाडै गर्‍यामगुरुम सोहोरेर ल्याउनु हाम्रो जन्मजात चरित्र हो । हामीले माटो नथुपारे खेत मलिलो रहन सक्दैन । अझ मिहिन माटो बगाएर समुद्रमा पुर्‍याउँछौं ।


जलविज्ञान, साहित्य र त्रिवेणी


विज्ञानका अनुसार, हाइड्रोजनका दुई र अक्सिजनको एक परमाणु मिलेर हाम्रा आधार पानीको अणु बनेको हो । अमेरिकी विज्ञान र प्रविधि काउन्सिलका अनुसार, ‘जलविज्ञानले पृथ्वीका पानीहरू, तिनका उपलब्धता र वितरण, तिनका रासायनिक र भौतिक गुण, तिनको पर्यावरणलगायत समस्त प्राणी जगत्सितको सम्बन्ध व्याख्या गर्छ ।’


पौराणिक ग्रन्थले जलविज्ञानको मर्मलाई समेटेको छ । एउटा व्याख्या भन्छ, सूर्यको तातोले आकाशमा पुगेको पानी, बादल बनी वर्षामा परिणत हुन्छ, नदी, पोखरी र समुद्रमा सञ्चित हुन्छ । हामीबारेका बुझाइ खालखालका भए पनि व्याख्यामा निर्मल जलचक्रको मान्यताले मेल खान्छ ।


एकथरी मानिस मलाई असाध्यै माया गर्छन् । दक्षिण एसियाका धेरै बसिन्दाले मलाई माता (आमा, माई) भन्दै पूजा गर्छन्, उनीहरूले १०७ नाम दिएका छन् (शिव, २००२, वाटर वार्स), श्रद्धाले गंगाजी भन्छन् । अंग्रेजी भाषीहरूले मलाई ‘ग्यान्गेज’ भनी बोलाउँछन्, सायद गंगाजीको अपभ्रंस हो । इडन बगैंचाका चारमध्ये एक ‘पिसन’ नदीसँग मलाई जोडिएको छ (सिंह आर, १९९२, द गंगाज) ।


म मेरा बहिनी, भाइहरूले कवि र गायक परिकल्पनामा महत्त्वपूर्ण स्थान पाएका छौं । पूर्वी बंगाल (बंगलादेश) मा पद्मा र बहिनी धारहरूमा डुंगा–यात्रा गर्दै रवीन्द्रनाथ टेगोरले गीताञ्जली सिर्जना गर्ने प्रेरणा पाए । कवि शिरोमणि लेखनाथ पौड्यालले रचेका छन् : ‘गंगामा भुक्ति मुक्ति दुई दिदीबहिनी नित्य खेल्छन् कपर्दी ।’


भुपेन हजारीकाले गाएका छन् :

‘हे, गंगा तु वहेती हे क्यों ?’

हिन्दु धर्मावलम्बीहरूले स्नान गर्दा वाचन गर्ने श्लोकमा सिन्धु, यमुना, सरस्वती, विन्ध्या शृंखलापारिका गोदावरी, नर्मदा, काबेरी र मसहित हामी सात दिदीबहिनी समेटिएका छौं ।

गंगे च यमुने चैव गोदावरी सरस्वती ।

नर्मदे सिन्धु कावेरी जलेद्रस्मिन् सन्निधिं कुरु ।।

अर्थात्

हे पवित्र नदीहरू, मैले स्नान गर्ने पानीमा उपस्थित हुनुहोस् ।


तर, मलाई एउटा कुराले सधैं अचम्मित पार्छ— श्लोकमा अरू भाइबहिनीहरू किन छैनन् । ब्रह्मपुत्र पनि छैन । मेघदूतका रचयिता महाकवि कालीदासले ‘पृथ्वीको नाडी’ मानेका हिमालय पर्वतमालालाई (सिंह आर, १९९२, द गंगाज) कैलाश पर्वतदेखि पूर्व, उत्तर र दक्षिण तीन तीरबाट घेरेका छौं । जलको आदर गर्ने श्लोकलाई त्यसबेलाको ‘नदी–गान’ भन्दा

कसो होला ?


हामी भाइबहिनीको मेलले तीर्थस्थल जन्माउँछ, जहाँ मान्छेले त्रिवेणीको परिकल्पना गर्छन् । मान्छेको कल्पनामा मात्र जीवित बहिनी सरस्वती इलाहावादमा म (गंगा) र यमुनासित भूमिगत बाटो हुादै मिल्न आउँछिन् । सखी सिन्धु र बहिनी यमुनाको बीचबाट बगेर अरब सागरमा पुग्ने घग्गर नदी नै सरस्वती हुन् भनेर मान्नेहरू पनि छन् (सन्याल एस २०१५, द इन्क्रिेडिब हिस्ट्री अफ इन्डियाज जियोग्राफी) । बहिनी सरस्वती सुकेकी छन्, बग्दिनन् ।


हरेक १२ वर्षमा इलाहावाद त्रिवेणीमा लाग्ने कुम्भमेलामा आस्थाका करोडौं पुजारीहरूसहित अनगिन्ती मानिस भेला हुन्छन् । उता नेपालको धनकुटाको तल्लो फाँट बहिनी सुनकोसी, भाई तमोर र अरुणको त्रिवेणी हो । भाइ अरुण तिब्बतबाट हिमाली शृंखला छिचोल्दै नेपालभित्र बग्छ । त्रिवेणीबाट पहाड काटेर कोसी चतरा आइपुग्छिन्, नेपाल हुँदै, विहारको कुरुसेलामा आएर मसित मिल्छिन् ।


यस क्षेत्रका बसिन्दाहरूको भविष्य हाम्रा जलाधारहरूका सन्तुलन र स्वच्छतामा टिकेको हुँदा तिनको रेखदेख गर्नु धेरै बुद्धिमानी बाटो हो । संरक्षणका गोरेटा खन्न तपार्इंर् मान्छेहरूले नयाँ कल्पनासहित प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र लोकविद्या मिलाएर पूर्ण ज्ञान सिर्जना गर्न सके सबैको भलो हुने थियो ।


वेलगाम दोहन, प्रदूषण र ह्रास

तपाईंहरुले आफ्ना सीमितता र प्रकृतिको भूमिका तथा देनलाई लेखाजोखा गर्न बिर्सनुभएको छ । प्रकृतिमा अन्तरनिहित भएर समाज र हामी जीवित छौं भन्ने वास्तविकता बिर्सेर, प्रकृति भर्सेस विकासको तर्क तपाईंहरुले स्वीकार गर्नुभयो । प्रकृति र जैविक विविधताको व्यापक विनाशले आज तपाईंहरुलाई नै तर्साइरहेछ ।


तपाईंहरुकै भाषामा भन्ने गरेको राज्यलगायत बजारले सोचेअनुरूप उपयोग नभएका हामी नदीहरू खेर गएका हुन भन्ने तर्क थाल्नुभयो । सन् १९०० पछि संयुक्त राज्य अमेरिकामा त अझ सुरिएर हामी नदीको सबै पानीको गन्तब्य सिँचाइ, बिजुली उत्पादन र उद्योग मात्रै हो भन्ने नीति लागू गरे ।


यो नीतिले उनीहरूलाई केही फाइदा त दियो तर तल्लो भेग, त्यहाँ बस्ने मानव समुदाय, हामी दिदीबहिनी र भाइहरूको बग्ने अधिकार, हामीमा आश्रित तर बोल्न नसक्ने प्राणीहरू एवं जलचर (माछा, डल्फिन, गोहीका प्रजाति) का आवश्यकता र चासोलाई बेवास्ता गर्न थाले । यही दृष्टिकोणले यस क्षेत्रको जलयात्रा पनि डोरिन थाल्यो ।


हाम्रा पिँध र किनाराबाट तपाईंहरु जथाभावी ढुंगा र बालुवा निकाल्ने गर्नुहुन्छ । तपाईंहरुको घर र पूर्वाधार निर्माणका लागि सिमेन्ट जडान गर्न यी आवश्यक छन् तर तपाईंहरु तातै खाऊ जलि मरौं जसरी असन्तुलित उत्खनन गर्न लाग्नुभएको छ । अरू त छाडौं घर निर्माण गर्ने वैकल्पिक सामग्रीको खोजीसम्म पनि सुरु गर्नु नै भएको छैन ।


बेलाबेला जथाभावी उत्खनन गर्नुहुन्न भन्नु त हुन्छ तर राज्यको नियमन संयन्त्रलाई भताभुंग पार्नुभएको छ । आफ्ना गुटका सदस्य मात्रले फाइदा लिने, राज्यको स्रोतमा कब्जा जमाउने नियत अवलम्बन गर्नुभएको छ । अनियन्त्रित दोहनका गतिविधि दिनदहाडै भइरहेका छन् (निटी फाउन्डेसन, २०१९, नेपालल्स क्लेप्टोक्राटिक नेटवर्क) ।


आवश्यक परेरै होला तपार्इंर्हरूले थुप्रै संरचना निर्माण गर्नुभएको छ, तपाईंहरुका संगठन र विज्ञहरूसित यसो गर्ने क्षमता छ । प्रविधि खरिद गर्न पाइन्छ, राज्यशक्ति पनि सहयोगी छ । तर, जलको उचित संरक्षण गर्न सक्नुभएको छैन न त गुणस्तरीय खाने पानी आपूर्तिको उचित प्रबन्ध । विपन्न परिवार एवं महिलाहरूले खानेपानी र सरसफाइको अभावमा भोग्ने पीडालाई तात्त्विक रूपले कम गर्नुभएको छैन । जल प्रदूषण निरन्तर छ । जसले हाम्रो रूप र गति नै हेरिनसक्नु भइसक्यो ।


हामीले नदीहरूको मात्रै होइन, भू–जलको बेलगाम दोहन गर्नु हुन्छ ? ठूलाठूला पम्प प्रयोग गरेर, वर्षाले भर्न नसक्ने गहिरा भू–जलाशयबाट पानी तान्नु हुन्छ, व्यापारिक खेती र सहरी क्षेत्रमा विलासिताका लागि प्रयोगमा लगाउनु हुन्छ ?

हामीले हाम्रा किनारमा सामाजिक र सांस्कृतिक जग निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यौं । कसैलाई विभेद नगरी जलचक्रका धागासरह हामी निरन्तर बगिरह्यौं, भविष्यमा पनि बिनाविभेद निरन्तर रहन चाहन्छौं । साँच्चै भन्दा तपार्इंर्हरूको जस्तो हाम्रो भाषामा विभेद भन्ने मान्यता र शब्दै छैन ।


तर तपार्इंर्हंरूले राजनीतिक तथा सामाजिक सिमाना र बन्देज निर्माण गर्दै हाम्रो लय बिथोल्नुभयो । पानीको प्रयोगमा विभेद र सीमान्तीकरण सुरु गर्नुभयो । समाजमा ठूलो बोलवाला भएकाहरूले सरकारी नीतिलाई आफ्नो हितमा सजिलै बंग्याउन सक्ने परिपाटी बसाल्नुभयो । यो विभेद समाजमा झनझन जकडिन थालेको छ ।

नदी, ताल तलैया, भू–जल र वर्षाको खण्डित लेखाजोखा गर्दै प्रशासनिक हैकमको जलविकास बाटो स्थापित गर्नुभएको छ । तपार्इंर्हंरूका सिँचाइ, जलविद्युत्, खानेपानी, व्यवस्थापन गर्ने राज्यका संगठनहरू एकअर्कासित समन्बय नगरी आ–आफ्नो ढंगले काम गर्छन् ।


तपाईंहरुमध्ये कोही राज्यले सकेन, भन्दै एकांकी बजारको शरणमा पुगी नदी र जलनिधिको पूर्ण निजीकरणको वकालत गर्नुहुन्छ । केही जलसेवा आपूर्तिमा बजार संलग्न छ, तर बजारको नियमन गर्नुहुन्न । हामी नदी तपाईंहरुको सिर्जना होइनौं । हावा, पानी र माटो निर्माण गर्ने क्षमता तपाईंहरुमा छैन भन्ने हेक्का अझै पलाएको छैन ।


पोखरी, कुण्ड, तालतलैया र सिमसारमा बुल्डोजर दगुराउनुहुन्छ, मास्नुहुन्छ । चौरहरू देख्यो कि कंक्रिटले ढाकी हाल्नुहुन्छ । भू–जल भरिन पाउँदैन, जलचक्र खण्डित हुन्छ हामी नदीहरू ह्रास हुन्छौं भन्ने सोच्नुहुन्न, न त विपन्नहरू अन्यायमा पर्छन् भन्ने वास्तविकता ।


प्रकृतिसँग प्रेमसहित बातचित गर्ने सच्चा मानव आत्माहरूले सुरु गरेका जल संरक्षणसम्बन्धी केही स्थानीय सत्प्रयास पनि छन् तर यतिले हाम्रो खस्कँदो यात्रा रोकिएको छैन । हामी बग्ने बाटाहरूलाई जानीजानी हडपेर साँघुरो पार्नुभएको छ । तपाईंहरुका सहरहरू अव्यवस्थित, कुरूप र प्रदूषित छन्, ढकमक्क हरियालीबिनाका छन्, बासिन्दामैत्री छैनन् ।

जल आपूर्ति संकटमा परेको सहरमै केही समयपछि विकराल बाढीका घटना निरन्तर हुन थालेका छन् ।


हाँडीघोप्टे पानी परेपछि जब हामी गडगडाउँदै बग्छौं, तपाईंहरु संकट भोग्नुहुन्छ, हामीलाई सराप्नुहुन्छ,– ऐया र आत्था गर्दै । तर केही दिनपछि सबै बिर्सनुहुन्छ । जल–सुशासन स्थापित गर्न तपाईंहरु चुक्नुभएको छ । धेरै के भनौं र, हामीमाथि गरिने अन्याय अन्तिममा गएर मानव जातिको हितमा छैन है ।


जल–विवेक, निर्मलता र स्वच्छता


वर्तमान जलसंकटका एउटा कारण हो, खण्डित जलचक्र अपनाइएको (स्विकारिएको) दृष्टिकोण र विधि । समुद्र र बादलको बीचमा रहेर हामी जमिन, जंगल, समुदाय, प्रयोगहरू, आस्था र सभ्यतालाई जीवन्त राख्छौं ।

हामी नदीहरू पृथ्वीका धमनी हौं, खेर गएका होइन, र जाँदैनौँ पनि, बग्नु हाम्रो धर्म हो । हामी अनवरत स्वच्छ रहनुपर्छ । कुम्भमेलामा आउने बहुसंख्यक मान्छे पवित्र जल र नदीका मान्यताले प्रेरित भएका हुन्, अन्यथा होइन । दुर्भाग्य, यो मान्यता तपाईंहरुका क्रियाकलापमा देखिँदैन ।


अत्याचारको पनि एउटा सीमा हुन्छ । तपाईंहरु त आफ्ना मलमूत्र सोझै हाम्रा शरीरमा मिल्काउनुहुन्छ, बगाइहाल्छन् भन्ने अल्पदृष्टि राख्नुहुन्छ । प्राकृतिक पानी घर–घरमा ल्याउनुहुन्छ, बाथरुममा विष्टासित फ्लस गर्नुहुन्छ । सफा पानीमा बिष्टा मिसाउने संस्कारको विडम्बनाले खै तपाईंहरुलाई कहाँ पुर्‍याउँछ कुन्नि ?


पानीले ढल बगाउने संस्कार तपाईंहरुले तत्काल बदल्न सक्ने आशा त हामीले गरेका छैनौं । तैपनि, ढलचक्र र जलचक्र भिन्दाभिन्दै रहने विधि त सुरु गरे हुन्थ्यो नि । प्रशोधन नगरेको ढल जलचक्रमा नमिसाउन सामूहिक वाचा गरेर अघि बढेदिए कम्तीमा पनि चित्त बुझाउने ठाउँ त रहने थियो ।


अब हामी तपाईंहरु मान्छेलाई केही आह्वान गर्छौं । जल र नदी संरक्षणलाई नयाँ यज्ञको रूपमा अगाडि लैजानुहोस् । के, कसरी र कस्ता विधि छान्ने भन्ने प्रश्नका जवाफ खोज्ने दायित्व तपाईंहरुको हो । प्राकृतिक विज्ञानले तपाईंहरुलाई के, कति भन्ने प्रश्नको जवाफ दिन्छ, न्याय र शासन पद्धतिका लागि सामाजिक विज्ञान आबश्यक छ, लोकविद्याले स्थानविशेष समुदायका मान्यतालाई अपनत्व दिन्छ ।


एक्ला हिसाबले तिनका प्रयोग अपुरा छन् । प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र लोकविद्याको सम्मिलन गर्नुहोस् । संयोजित विधिलाई पवित्र जलको मान्यताको जलप लगाउनुहोस् । विवेकको आधार ज्ञान, ज्ञानको सूचना र सूचनाको आधार तथ्यांक हो । हिजोआज तथ्यांकको बाढी आएसरह छ, त्यसलाई विवेक बनाउन तपार्इंर्हंरूको अथक मिहिनेत जरुरी छ ।


जल–विवेकबाट निर्देशित भई यस्तो शासन पद्धति सुरु गर्नुहोस् जसले तपार्इंर्हंरूको आवश्यकता परिपूर्तिका साथै हामी नदी पनि निरन्तर स्वच्छ बग्न सक्ने पारोस्, हाम्रा डगमगाएको विश्वास उकास्ने काम गरोस् ! हामी सबै स्वच्छ र अविरल रहने संस्कृति जल संकट समाधानको सहयोगी छ ।


त्यस्तो संस्कृतिका लागि हामीहरूले नयाँ नदी–गान बनाउने निधो गर्‍यौँ । जसका लागि हामीले भेला बोलायौं । मैले अगुवाइ गरेको एउटा छलफलमा जल अध्येता अजय दीक्षितलाई बोलाएर भन्यौं, ‘हामी सबै नदीको संरक्षित र साझा भविष्यबारे एउटा ‘नयाँ बृहत् कल्पना’ तयार गर ।’ तिनले तत्काल एउटा खेस्रा तयार पारेर सुनाए, तर त्यति छन्द

मिलेको थिएन ।


उनले शिक्षक टीकाराम शर्माको सहयोग लिएछन् । त्यसपछि सुनाएको नदी–गानले हामी दंग पर्‍यौं । गानले हालको नेपाल, भारत, तिब्बत (चीन), बंगलादेश, दक्षिण–भारत, पाकिस्तान, हिमाल, महाभारत, चुरे र विन्ध्या शृंखलातिरका प्रतिनिधि चौधवटा नदीलाई समेटेको छ । हामीले सहर्ष मञ्जुरी दियौं । त्यो नयाा नदी–गान सुन्नुहोस् है तः


‘गंगा, मेघना र भाई ब्रह्मपुत्रहरू,

महाकाली र कर्णाली, नारायणी, कौशिकीहरू ।

अविरल बहेका छन् वाग्मती, कमलासरी,

बेतवा, रोहिणी, सिन्धु, नर्मदा जलसुन्दरी ।

गोदावरी नदीजस्ता स्वच्छ यी जलसम्पदा,

प्रेम र आदरले हामी, सम्झन्छौं गर्वले सदा ।’’


हामी आशा गर्छौ, तपाईंहरु मानिसहरूले नदी, पोखरी, कुण्ड, ताल, सिमसार र भूजलको सन्तुलित प्रयोग गर्नुहुनेछ । त्यसो भयो भने हाम्रो विश्वास छ तपाईंहरु सन्तान–दरसन्तानले जल संकट भोग्नुपर्ने छैन, कञ्चन बग्दै गरेका मेरा दिदीबहिनी र भाइहरूलाई हेर्न, अनुभव गर्न र आनन्द लिन पाउनेछन् । तपार्इंर्हंरूको शरीरभित्र पनि दुई तिहाइ पानी नै छ नि । सत्य यही हो–पानीबिना जीवन सम्भव छैन ।

आगे तपाईंहरुकै विचार !

प्रकाशित : चैत्र ८, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?