जीवाणु मिथ्या- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीवाणु मिथ्या

प्रणब खरेल, गौरव केसी

काठमाडौँ — महिलाको त्यो आवेग : सन् १९९७ मा पुलित्जर पुरस्कारबाट सम्मानित ज्यारेड डायमन्डको बहुचर्चित पुस्तक ‘गन्स, जर्म्स एन्ड इस्टिल : द फेट्स अफ ह्युमन सोसाइटिज’ भित्रको एउटा दृष्टान्तबाट प्रसंगको थालनी गरौँ ।

पपुवा न्युगेनियाको एक अस्पतालमा लामो समयदेखि अज्ञात जीवाणुबाट ग्रसित रुग्ण पुरुषको निमोनियाको कारक पहिल्याउन चिकित्सकलाई हम्मे–हम्मे परेको थियो । आफूबाट सम्भव नदेखेपछि चिकित्सकले बिरामी हुनुपूर्व ती पुरुषको अन्य व्यक्तिसँग भएको यौन संसर्गबारे कोट्याउन उनकी पत्नीलाई आग्रह गर्छन् । जब श्रीमतीले यसबारे बुझ्न खोज्छिन्, शय्याग्रस्त ती पुरुष लाजले भुतुक्कै हुन्छन् । आफूलाई तन्नाभित्र गुट्मुट्याउँदै झिनो आवाजमा स्थानीय भाषामा श्रीमतीलाई उनले केही कुरा सुनाउँछन् ।


श्रीमान्को स्वास्थ्यमा पूर्णतया चिन्तित महिला एकाएक आवेगमा चिच्याउन पुग्छिन् र क्रोधित मुद्रामा सुतिरहेका श्रीमान्माथि झम्टिन्छिन् । उपचारार्थ चिकित्सकले सम्हाल्नुअगावै महिला नजिकै रहेको बोतल उठाउन पुग्छिन् र श्रीमान्को टाउकोमा बेस्कन बजार्दै कक्षबाट बाहिरिन्छिन् । आश्चर्यचकित पार्ने यस घटनाका प्रत्यक्ष साक्षी चिकित्सकले पछि मात्रै थाहा पाउँछन्– आफूले पटकपटक भेडासँग करणी गरेको र त्यसैको परिणामस्वरूप बिरामी भएको हुन सक्ने भेद पुरुषले पत्नीसामु खोलेका रहेछन्, जसले ती महिलालाई यतिबिधि क्रोधित बनायो ।


जनावर र मानव


‘लिथल गिफ्ट अफ लाइभस्टक’ अर्थात् ‘चौपायको घातक उपहार’ नामक शीर्षकमा रहेको यो माथिको दृष्टान्तलाई डायमन्डले अतिरञ्जित तवरमा आफ्नो पुस्तकमा प्रासंगिक बनाउन खोजेका छन्, जसलाई सविस्तारमा पछि पुस्टि गरिँदैन । लामो समयदेखि महामारीविद् वा विषाणुज्ञले स्थापित गरेको मान्यतालाई निरन्तरता दिँदै डायमन्डले पनि भयावह संक्रमित रोगको प्रमुख कारक जनावरलाई नै बनाएका छन् ।


यो परिकल्पना महामारी विज्ञान वा रोगविज्ञानको स्थापित मानक हो । मानव सभ्यताको इतिहासमा संक्रामक रोग फैलँदा जनावरलाई बलिको बोका वा प्रमुख अभियुक्त बनाइएको पाइन्छ । मानवले जंगलबाट बस्तीमा सरेदेखि प्राकृतिक रूपमा रमाइरहेका जनावरलाई आफ्नो अधीनमा ल्यायो । जनावरमाथि उपनिवेश कायम गर्दै कतिपय जनावरलाई घरपालुवा बनायो । मानिसको दिनानुदिनको क्रियाकलापमा जनावरले मानिसलाई सघाए । कतिपय समाजमा त जनावर धार्मिक रूपमा पनि पुजिए । कुनै बेला जनावर सम्पत्तिका प्रतीक पनि थिए । अत्यधिक परिमाणमा जनावरको स्वामित्व रहेको व्यक्तिको आर्थिक–सामाजिक पहिचान पनि उच्च हुन्थ्यो । तसर्थ, जनावरले नै समाजमा व्यक्तिको आर्थिक मनोबल र पहिचान उच्च बनाएको थियो । अहिले पनि नेपाल र हिमालयको यस भेगमा त्यस्ता पशुचरकहरू छन्, जसको आर्थिक उपार्जन पूर्णतया जनावरमै आश्रित छ ।


स्थापित अभियोग


यति हुँदाहुँदै पनि सर्वत्र इतिहासमा असंख्य र अगणनीय संख्यामा मानव हातबाट पशुवध भए र कैयौँ पशुका प्रजाति पृथ्वीबाटै नष्ट पारिए । तर, पनि जबजब इतिहासमा मानवले महामारीको सामना गर्नुपर्छ, त्यसको दोष जनावरलाई लगाउने गरिएको छ । चाहे डायमन्ड हुन् वा अन्य विज्ञ, अधिकांशले प्रतिपादन गरेको ‘मानव संक्रमित रोग सिद्धान्त’ को प्रमुख कारक परापूर्वकालदेखि जनावर नै हो भन्न मान्यता स्थापित गरिँदै आएको छ । कालक्रममा घोडा, भेडा, गाई, सुंगुर, ऊँट, कुकुर, बिरालो, मुसा, खरायो, बाँदर, झिँगा, लामखुट्टे, उपियाँ, परेवा, कुखुरा आदिजस्ता जनावर, कीरा, फट्यांग्रा र पन्छीलाई रोग संक्रमणका प्रमुख अभियुक्त मानिए । हाल आएर हाम्रो छिमेकी चीनमा देखापरेको डरलाग्दो रोगाणुलाई चमेरोसँग जोडियो ।


संसारभरका हामी मनुवा, जो ओखतिमुलो र रोग विज्ञानमा अनभिज्ञ छौँ, यस शक्तिप्रमुख–अड्कल वा बौद्धिक अनुमान र विज्ञानकेन्द्रित एकांकीलाई शिरोपर गर्न बाध्य छौँ । हामीसँग अन्य विकल्प छैन । शीतलारोग, क्षयरोग, दादुरा, बिफर र संक्रामक ज्वरो गाई–बस्तुबाट फैलिन्छ भने डरलाग्दो रुघाखोकीजन्य रोग र अन्य वैज्ञानिक नामकरण गरिएका रोगहरू सुंगुरबाट सर्छन् भन्ने मान्यता स्थापित गरिएको छ ।


एउटा उदाहरण हेरौं । हिमालय भेगमा दूधको उपभोग अत्यधिक छ । बालबच्चादेखि वृद्धसम्म– हामी गाईको दूध खाएर हुर्किएका छौं । मानवीय आवश्यकता गाईसँग जोडिएर पनि होला हिन्दु समुदायकाले गाईप्रति मोह बढाउँदै पवित्र जनावर मानेका । त्यही गाईको दूधमा क्षयरोग जीवाणुको सम्भावना उच्च देखिएको मान्यतालाई कुनै समयमा स्थापित गरियो । तर, बजारमा प्यास्टराइज गरी प्याकेटमा बिक्री वितरण गरिने दूधमा भने यो मान्यता लागू हुँदैन । अर्थात्, यो दूध पिउन सुरक्षित मानिन्छ । त्यसोभए, दूधमा देखिने टीबीको जीवाणु स्थानीय पहाडी गाईमा देखापर्छ वा युरोपबाट आयातित जर्सी गाईमा ? वा दुवैमा ? तसर्थ, यस्तो माहोलमा बजार धेरै सक्रिय हुन्छ र सबै कुरा निर्धारण गर्छ ।


त्यस्तै कोरोना भाइरसका कारण मास्क र स्यानिटाइजरको अत्यधिक उत्पादन, विक्री–वितरण एवं भविष्यमा नाफामुखी औषधि कम्पनीहरूले उत्पादन गर्ने भ्याक्सिनको बजार पनि सहजै पूर्वानुमान गर्न सकिन्छ । इतिहासमा कुनै प्रजातिको बाँदर र मुसालाई जन्डिस रोगको कारक मानियो । युरोपमा धेरै मानिसको ज्यान लिएको महामारी प्लेगको प्रमुख कारक मुसा र घोडामा रहेको उपियाँ मानियो । यिनै कारण देखाउँदै इतिहासमा मानवले धेरै जनावरको वध गर्‍यो । सन् १९९० को मध्यमा ‘म्याड काउ डिजिज’ को नाममा चालीस लाखभन्दा बढी गाई युरोपमा मारिए । केही वर्षअघि ‘बर्डफ्लु’ को जिम्मेवार कुखुरा र परेवा हुन् भन्ने प्रचार गर्दै हजारौँ संख्यामा ती चरा नष्ट गरिए ।

रोगको इतिहास यसैगरी लेखिन्छ । हामीले यसलाई ऐतिहासिक तथ्य र सत्यका रूपमा स्विकार्नुपर्ने हुन्छ । एउटा बुझ्नुपर्ने तथ्य के छ भने अन्य कुरासरह रोग पनि उत्पादित हुन्छन् र शक्तिकेन्द्रले यसलाई नामकरण गर्दै विश्वव्यापी रूपमा प्रचार–प्रसार गर्छन् । संसारका अधिकांश रोग पाश्चात्य समाजद्वारा निर्मित छन् र समग्र रोगको अवधारणा पाश्चात्य बायोमेडिसिनमा आधारित छ भन्ने तर्क चिकित्सा इतिहासकार जेएन हेजले आफ्नो पुस्तक ‘द बर्डेन्स अफ डिजिज : एपिडेमिक्स एन्ड ह्युमन रेसपोन्स इन वेस्टर्न हिस्ट्री’ मा गरेका छन् । हेजका लागि मानव, रोगका सिकारी–सिकार दुवै हुन् र रोग विज्ञानसम्मत मात्र नभई सामाजनिर्मित पनि हो ।


अध्ययनहरूका अनुसार, जनावर र मानवमा लाग्ने धेरै रोग एकअर्कासँग मिल्दाजुल्दा हुन्छन् । इतिहासमा जब संक्रमित रोगको प्रकोप फैलिन्छ, त्यसले मानिसलाई मात्रै होइन जनावरलाई पनि सिध्याएको छ । डायमन्डका अनुसार, घना आवादी भएको बस्तीमा रोग संक्रमणको सम्भावना बढी देखिन्छ । हजारौं वर्षदेखि युरोपका बासिन्दा यिनै घना बस्तीमा बस्दै आइरहेका छन् । र, यी अनेक किसिमका रोगबाट ग्रसित थिए । अंग्रेजको भ्रमण सँगसँगै रोगले पनि संसार–यात्रा गरेको थियो ।


अर्थात्, जब युरोपियनहरू संसारका अन्य देशमा विभिन्न उद्देश्यले स्थानान्तरण भए, आफूसँगै तिनले रोगलाई पनि लिएर गए । तसर्थ, डायमन्डका भनाइमा घना आवादीमा बसोबास गर्ने युरोपियनबाटै शीतला, क्षयरोग, कडा प्रकृतिको रुघाखोकी, दादुरा, टाइफाइड, कुकुर खोकी, टाइफस, भिरिंगी, सिफिलिसलगायत अन्य संक्रामक रोगहरू स्थानीयमा फैलिए । प्रसंगमा अमेरिकी इन्डियनहरूमा फैलिएको दादुरालाई प्रकाश पार्नुपर्दा, १९ औं शताब्दीमा रैथाने आदिवासी अमेरिकीहरूलाई श्वेत युरोपियन र अमेरिकनहरूले उपहारस्वरूप कम्बल वितरण गरेका थिए । त्यो कम्बलको प्रयोगले ठूलो संख्यामा आदिवासी अमेरिकीहरूको ज्यान लियो । पछि थाहा भयो ती वितरित कम्बल दादुरा संक्रमित रहेछन् । यस घटनाले पछि विवादको उग्ररूप लियो । आदिवासीहरूको जनसंख्या सखाप पार्न श्वेत अमेरिकीहरूले उद्देश्यपूर्ण ढंगले कम्बल वितरण गरका थिए पनि भनियो ।


अन्त्यमा


यसप्रकारको भयानक रोग वा जीवाणुको विस्फोटको कारक कसलाई मान्ने ? प्राकृतिक विपत्तिसरह रोग पनि आउँछ र जान्छ । त्यसपछि बन्ने त इतिहास मात्र हो । दुवैमा अन्तर्निहित प्रलय–चरित्रको प्राकृतिक मात्राले जैविक क्षति ल्याउने हो । व्यावहारिक ज्ञानको बुझाइमा पनि रोग निम्ताउने जीवाणु पृथ्वीमा सर्वत्र पाइन्छन् । पानी, माटो, हावा, खाना, मानव र जनावरको दिसा–पिसाब, प्रयोगविहीन सडे–गलेका अनावश्यक सामग्री, कुइएका खाद्यान्न वा नगाडिएका शव वा सिनोमा यत्रतत्र जीवाणु पाइन्छ । केही परिकल्पनाबाहेक कसैलाई पनि यी रोगयुक्त जीवाणुहरू पृथ्वीमा कहिले र कसरी आए भन्ने थाहा छैन ।


तसर्थ, यी वर्तमानमा निर्मित प्रक्रियागत अवधारणाहरू हुन् । पृथ्वीमा देखापरेको अस्तव्यस्तता र विध्वंसको मूल्यांकन गर्दा यस भूमण्डलको पर्यावरणीय क्षति, रक्तपातपूर्ण युद्ध, ठूला नरसंहार र प्राकृतिक स्रोत–साधनहरूको प्रदूषणको प्रमुख जवाफदेही मानिस हो । त्यसैगरी नाफा र शक्तिका भोका मानव नै रोगाणुका प्रमुख कारक हुन्, जनावर कदापि हुन सक्दैनन् । रक्तपिपासु मानवले प्राकृतिक रूपमा आश्रित जनावरको बासस्थानलाई अतिक्रमण गर्दै उनीहरूको स्थानबाट तिनलाई अलग्याए । समग्र मानव इतिहासमा अनगिन्ती संख्यामा आफ्नो स्वाद र मनोरञ्जनका लागि जनावरको हत्या गरे ।


प्राकृतिक पर्यावरणमा असर पर्ने गरी हामीले अप्राकृतिक तवरबाट जैविक असन्तुलन ल्याउँदै आनुवंशिकीय रूपान्तरित जनावरहरू उत्पादन गर्‍यौँ । त्यसैगरी, अदृश्य जैविक हातहतियारका अविष्कारक पनि हामी नै हौँ । अपराधशास्त्रमा थपिएको नयाँ अपराधमा पर्छ ‘जीवाणु अपराध’, जुन मानवनिर्मित हुन्छ र मान्छेले यसलाई आफ्नो शत्रुमाथि गैरकानुनी रूपमा प्रयोग गर्छ । पृथ्वीको पर्यावरण ध्वस्त बनाउनेजस्ता मानवका घातक अनि विनाशकारी क्रियाको दोष हामी कसरी जनावरमाथि थोपर्न सक्छौँ ?

प्रकाशित : फाल्गुन २४, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

सर्पभन्दा विषालु पुरुषको सम्झनामा

हरिमाया भेटवाल

काठमाडौँ — उ मेर पनि एउटा सिँडी रहेछ अनुभवको । त्यसबेला भोगाइका कति नै खुड्किला चढेकी थिएँ र ! जिम्मेवारीको बोझ ठूलो थिएन । स–साना थिए मेरा दुब्ला खुट्टा पनि । खुट्टाजस्तै साना थिए सपना पनि । उमेरले नै पढायो, अनुभवले नै बढायो सपनाको आकार, सपनाको रङ ।

खुट्टाको साइज उत्रै भए पनि सपनाको साइज बढ्दै थिए दिन प्रतिदिन । उमेरसँगै कति परीक्षा फेल भएँ, कति पास ! तर, फेल भएपछि पलाउँदोरहेछ पास हुने रहर । २०५७ सालमा (अपहरणमा परेपछि) झन्डै–झन्डै जीवन नै समाप्त हुनबाट बँचेकी म जिन्दगीका सिँढी चढ्ने कुरा त छोडौँ, हिँड्नसमेत डराउने डरपोक भएकी थिएँ ।

मलाई सबैभन्दा बढी डर मान्छेहरूसँग लाग्थ्यो, त्यो पनि पुरुषसँग । हिँड्दै गर्दा मेरो बाटोमा तगारो उनीहरूले नै त हालेका थिए । आज पनि कहिलेकाहीँ सम्झिन्छु, महिलाको सबैभन्दा ठूला दुश्मन पुरुष नै हुन्, उनीहरूकै कारण महिला सधैँ पछाडि परेका हुन् तर लगत्तै फेरि सम्झिन्छु, सबैभन्दा नजिकका मित्र पनि त उनीहरू नै त हुन् । यो पनि एउटा भ्रम हो । मनभित्र सधैं एउटा भ्रमको तराजु बोकेर तौली–तौली बाँच्दोरहेछ मान्छे ! साँच्चै भन्दा त्यो समय पुरुष–दुश्मन मभित्र बढी नै हावी भएको थियो । बाटोमा हिँड्दा म पुरुषतिर हेर्नसमेत डराउने भएकी थिएँ । बरु गोमन सर्पसँग डर लाग्दैनथ्यो तर पुरुष त्योभन्दा बढी विषालु लाग्थे ।

कारण एउटै थियो, पुरुषले मलाई मृत्युनजिक पुर्‍यायो । मलाई मृत्युनजिक पुर्‍याउनेमा महिला थिएनन्, ती सबै पुरुष थिए । २०५७ देखि २०५८ सम्म मैले आफ्नै कोठाभित्र बसेर मृत्युको जोड–घटाउ गरिरहेँ । मेरो हिसाबमा माइनस–माइनस कहिल्यै प्लस भएन । जति प्लस जोडे पनि सधैँ माइनस मात्र भैरह्यो । गजबकै हुँदो रहेछ उमेरसँगै जीवनको हिसाब पनि !

आमा भन्नुहुन्थ्यो, ‘बोली नफुटेको बच्चाले पनि हिसाब जानेको हुन्छ । एक मात्रै चीज दिए मान्दैन, सप्पै दे भन्छ ।’ सानो छँदा जानेको हिसाबको सूत्र ठूलो हुँदा फेरिँदै जाँदो रहेछ र फेरि जीवनको अर्को सूत्र प्रयोग गर्दोरहेछ मान्छे । कहिलेकाहीँ सूत्र नजानेरै पनि सकिँदो रहेछ जीवन । जीवन बाँच्ने सूत्र खोज्दा–खोज्दै म पहिलोपटक पुगेकी हुँ विपस्यना केन्द्र, जतिबेला जीवनदेखि असाध्यै थाकेकी थिएँ म । जीवनको सबैभन्दा ऊर्जावान समयमा अर्थात् ३१ वर्षको त्यो उमेरमा लाग्थ्यो, म हरेक काम गर्न सक्छु । ओहो ! आज सम्झिन्छु, जित्न र जिउनका लागि नै त होला जीवनको रेसमा कति कति ठाउँमा विभक्त थिएँ म ।

त्यसबेलाको आँटले नै होला म जिम्मेवारीले पनि छरिएकी थिएँ, कर्मले पनि छरिएकी थिएँ । लाग्थ्यो, म सबै काम गर्न सक्छु तर मेरो निडर जीवनलाई कायर र डरपोक बनाउने ती पुरुष जसलाई मैले जीवनमा एक दिनसिवाय फेरि कहिल्यै देखिनँ, सिर्फ त्यही अपहरणको दिनबाहेक । तर, त्यही एक दिनको सम्झनाले मान्छेका हजारौँ दिन अर्थहीन भएर सकिँदारहेछन् । म बाँचेर केही गर्न चाहन्थेँ । अर्थोक नसही आफ्ना स–साना छोराछोरीलाई पढाउन चाहन्थेँ, आफैँसँग राखेर । तर, मलाई आफ्नै मृत्युको घन्टी बजाइदिएर उनीहरूले फेरि बन्द गरेनन् त्यो घन्टी । मलाई निदाउनसमेत नदिने त्यो आवाजले म हरसमय झस्किइरहेँ, चस्किइरहेँ । बाथरुममा पसेर नुहाउँदै गर्दा पनि लाग्थ्यो, ‘यो मेरो अन्तिम नुहाइ हो । फेरि नुहाउने बेला म यो धर्तीमै हुनेछैन । म मरिसकेकी हुनेछु ।’

संसार अटाउन सक्ने मेरो टाउकोमा त्यसबेला मृत्युको शंखघण्ट मात्र अटेसमटेस भएर बजिरहे । त्यो हुनुको पनि एउटा कारण थियो– अपहरणमा शारीरिक पीडा नपाए पनि मानसिक पीडाको पहाड मैले थेग्न नसक्ने भारीको थियो । पैँतालीस किलोको मेरो ज्यानमा लाग्थ्यो, सय किलोको मृत्यु बसेको छ । जीवन संघर्षको एउटा पाटो हो भन्ने बुझेको मान्छेले आत्महत्या गर्दैन भन्ने सम्झेर पनि म आफैँले आफैँलाई समाप्त गर्ने कुरा जस्तै दुःखमा पनि सोच्न सकिनँ । त्यसैले म त्यो डरबाट, त्यो भयबाट फुत्त बाहिर निस्कन चाहन्थेँ । बल्लबल्ल चार वर्षपछि बूढानीलकण्ठमाथिको विपस्यना जान कस्सिएँ एकाएक म । त्यहाँ जान सुझाव दिनुभएको थियो, मेरो माल्दाइले । जानु एक हप्ताअघि नै जमलमा गएर भरेकी थिएँ निवेदन । मार्चको–१ तारिख दिउँसो १२ बजे लगाउने केही लुगा झोलामा बोकेर निस्किएँ एकान्त यात्रामा ।

१२ दिनसम्म मैले मलाई नै भरमार सम्झाउनु थियो, आफ्नै लागि मात्र निकाल्नु थियो समय । सम्झिएँ— मैले आजसम्म आफैँलाई मात्र १२ दिन कहिले पो दिएकी छु र ? सधैँ घरपरिवार भन्यो, आफ्नै बित्तो काम कत्ति कत्ति ! माइत गएर पनि १२ दिन ढुक्कले बसेको रेकर्ड छैन मेरो । छोराछोरी, लोग्ने भन्यो, भान्सा भन्यो ! ओहो १२ दिन सबैसँग सम्बन्धविच्छेद हुँदा कस्तो अनुभव हुँदो हो ! थोरै कौतूहलसँगै निराशाको भारी पोको बोकेर म त्यहाँ पुगेकी थिएँ । न रेडियो, न टीभी, न मोबाइल, न कसैसँग बोलचाल ! मौन बसेर पनि मौन बस्न नसक्ने त्यो समय । मुख नबोलेर के भो र आँखा चिम्लिएपछि मन बोलेको बोलेकै हो ! मैले त्यहीँ गएर लामो समय पलेँटी कस्न सिकेँ, पलेँटी जसरी नै मन कस्नुपर्ने रहेछ भनेर सिकेँ । जीवनप्रतिको दृष्टिकोण पनि त्यहाँ पुगेरै बुझ्ने कोसिस गरेँ । रातभरि मलाई निदाउन नदिने त्यो भय पनि त्यहीँ पुगेर मारेँ । मभित्रका थुप्रै राग, तृष्णा, प्राप्ति सबै मारिरहँदा विपस्यना केन्द्रले आफूभित्रको बाँच्ने दृढता भने घनघोर जिउँदो बनाइदियो मभित्र ।

थुप्रै कमजोरीसहितकी मैले केही कमजोरीलाई अझै मार्न सकेकी छैन तर कोसिसमा सधैँ छु । आफूलाई सत्य लागेको कुरा बिनाडर प्वाक्क बोलिहाल्ने मेरो बानी भने पूरै मार्न सकेकी छैन अझै । जीवनका खास घटनाले मान्छेलाई नै बदलिदिँदो रहेछ । बस्दा–बस्दै म आफैँले थाहा पाउनेगरी बदलिएँ । ११ दिनको बसाइमा मैले चिनेकी पूर्वपरिचित एक जना नेता बहिनी पनि थिइन्, जो आज पनि नेता नै छिन् । मलाई थाहा थियो, उनले आत्महत्या गर्न एकैचोटि थुप्रै स्लिपिङ ट्याबलेट खाएकी थिइन् रे ! तर, समयमै अस्पताल पुर्‍याएपछि उनी बाँचेको कथा मैले सुनेकी थिएँ कसैबाट । यो घटना गुपचुप पारियो पछि ।

तीन दिनको मौन बसाइमा मेरो नजिकै बसेकी ती बहिनी ध्यान गर्न बसेकै बेला हलै थर्किनेगरी रोइन् क्वाँ–क्वाँ । उनलाई सेविकाहरूले बाहिर निकाले । सायद सम्झाए होलान् एक घण्टा जति, उनी भित्र आइनन् । एक्लै आँखा चिम्लिएर पलेँटी कसी बसिरहँदा विगतका धेरै कर्म सम्झिन थाल्दोरहेछ मान्छे । राम्रा–नराम्रा कर्म, सुख–दुःखका भोगाइ, सबैसबै सम्झिएर दुःखी हुँदा पानी पर्दापर्दै छेवैमा चट्याङ परेर तर्सिएजस्तै बन्दो रहेछ मान्छे । सायद यस्तै भएर उनी रोएकी हुन् । बेलुका मौन बसाइ सकेपछि हलबाट कोठामा पस्नुअघि बाटोमा मैले उनको अनुहार हेरेँ– चौबीस, पच्चीस वर्षकी लाग्ने उनका आँखा कुनै बालकका निर्दोष आँखाझैं देखिए । चार दिन कटेपछि भने अलि बानी पर्दै गएको हो कि जस्तो लाग्न थालेको अनुभूति गरेकी थिएँ मैले ।

महिला साधकले सेविकालाई कानेखुसी गरेर बाहिर आफ्ना समस्या राख्थे । कहिलेकाहीँ गुरुहरूले पनि के–कस्तो छ भनेर विशेष ध्यान दिन्थे । साह्रै मिहिनेत गरेर तयार पारिएको खानेकुरा खाँदा पकाउनेको प्रेमले खानेकुराबाट बाफ होइन, प्रेम निस्केको अनुभूति दिलाउँथ्यो । एकान्तमा विगत सम्झिँदै एकोहोरिएका केही महिला–पुरुष बिरामीजस्ता देखिन्थे । कसैलाई धेरै ट्वाइलेट लाग्थ्यो, कसैलाई खोकी धेरै लाग्थ्यो । कोहीकोही होमसिकले हेर्दै निराशजस्ता देखिन्थे । तर, जब बेलुका साढे आठ बज्थ्यो, गुरु गोयन्काको प्रवचन सुनेर साधकको त्यो निराश अनुहारमा फुर्ती निस्किन्थ्यो । बेलुका विश्रामका लागि कोठामा पुग्दा एक खालको आनन्दको अनुभूति हुन्थ्यो । तर, लामो समय पलेँटी मारेर बस्दा भने बानी नहुनेलाई थोरै कठिन हुनु स्वाभाविक देखिन्थ्यो ।

थोरै आँखा खोलेर यसो हेर्‍यो, सबै शान्तसँग पलेँटी कसेर बसिरहेकै देखेपछि आफू मात्रै उठेर बाहिर निस्कन मन नलाग्दो रहेछ । तर, खुट्टा अति निदाएपछि भने ट्वाइलेट जाने बहानामा पनि खुट्टा तन्काउन निस्कन्थेँ म । म प्रायः बेलुका टीभीमा गुरु गोयन्काको प्रवचन हेर्न निकै लालायित हुन्थेँ । यसरी हामीले आफैँसँग जुधेर दस दिन काट्यौँ । हो त्यही बोली खुलेको दिन सबैभन्दा पहिले उनै नेता बहिनी हाँस्दै मेरो नजिक आइन् र मलाई अंगालो हालेर रुँदै भनिन्, ‘अबदेखि कहिल्यै आत्महत्या गर्ने कुरा दिमागमा आउन दिन्नँ ।’ मैले उनको ढाडमा बिस्तारै सुम्सुम्याएर सान्त्वना दिएँ । साँच्चै एकचोटि विपस्यना जाने मान्छेले हत्तपत्त आफूलाई खत्तम गर्ने कुरा सोच्नै सक्दैन । लाग्यो, एकान्त यस्तो एउटा जंगल रहेछ, जहाँ हरकोही पुग्नु जरुरी रहेछ जीवन बुझ्न । कहिलेकाहीँ त लाग्छ, निस्कौँ मान्छेहरूको यो जंगलबाट र पसौँ प्रकृतिको जंगलमा ।

तर, कर्तव्यको तराजु बोकेर बाटो छेक्न आउँछन् सम्बन्धहरू ! रहरको एक हूल जुलुसले नाराबाजी गर्न थाल्छ आफैँभित्र । अनेकन भोकहरू आँखीझ्यालबाट टाउको निकालेर ट्वाल्ट्वाल्ती मतिरै हेर्न थाल्छन् । कहाँ सजिलो रहेछ र मौन बस्नु ? आफैँभित्र घनघोर युद्ध चर्काएर, आफैँभित्रका विकार फाल्न जति गाह्रो काम अरू केही छैन रहेछ जीवनमा । हिजोसम्म लाग्थ्यो, जीवनले भोगेको संघर्षपूर्ण क्षण नै सबैभन्दा गाह्रो काम हो । तर, अहँ ती गाह्रा काम यो गाह्रोअघि घुँडा टेक्न पुग्छन् ।

मान्छे रिसले, अहम्ले, लोभले, प्राप्तिले भरिएको एउटा घडा रहेछ । थुप्रै घडा आफैँभित्र फोरेर एउटा घडा मात्रै बाँकी राख्न जो–कोहीको ताकतले भ्याउने कुरै रहेन । बिचरा म त झन् वामे सर्दै गरेकी एउटी पीडित थिएँ त्योबेला ! आजभन्दा १४ वर्षअघि कहाँ अहिलेकी म थिएँ र ! ‘जा तँलाई हामीले मुक्त गर्दियौँ । तर, याद राख्नु तैँले फेरिरहेको त्यो सास हामी जहिल्यै जुनसुकै बेला जहाँकही पनि बन्द गर्दिन सक्छौँ ।’ अपहरणकारीले भनेको यो अन्तिम शब्दले मेरो निद्रा मात्रै खाएन, धमिराले काठ खाएझैँ कुटुकुटु खायो मेरा धेरै रात । डाक्टरकोमा जाँदा डिप्रेसनको दबाई खानु भन्ने सुझाव दिए । तर, मेरा सारा डरको औषधि नै विपस्यना केन्द्र बन्यो ।
अहिले सम्झिन्छु, उमेरभन्दा धेरै ठूला समस्याले किचेपछि कमजोर मान्छेले आत्महत्या गर्दा रहेछन् ! आजभोलि जताततै आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सायद समस्याबाट बाहिर निस्कने बाटो नदेखेर होला मान्छेहरूले यसो गरेका ! तर, त्यस्तो बेला कोही असल मान्छेको सुझावले यस्ता घटना हुनबाट बच्न सकिने रहेछ । मैले म आफैँलाई पहिलोपटक माया गरेको दिन, पहिलोपटक सम्झाएको दिन, पहिलोपटक संकल्प गरेको दिन आज पनि सम्झन्छु कहिलेकाहीँ ।

यदि म त्यहाँ नपुगेकी भए मेरा कुनै किताब आउने थिएनन् बजारमा । मभित्रको मलाई बाँच्न हौस्याउने, मभित्रको मलाई लेख्न हौस्याउने विपस्यना केन्द्र हो भन्दा पक्कै अनर्थ लाग्ने छैन । आज पनि म त्यो एकान्तलाई पटक–पटक ग्रहण गर्ने गर्छु । आफैँभित्रका जीवनका केही रहस्यको पर्दा खोल्नु छ भने त्यो एकान्तमा तपाईं पनि एकपल्ट पुगी विपत्सी भएर त हेर्नोस् !

प्रकाशित : फाल्गुन २४, २०७६ १३:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×