हथि मिसा : नेवार नायिकाको गोप्य प्रतिरोध - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हथि मिसा : नेवार नायिकाको गोप्य प्रतिरोध 

नेपालभाषाको साहित्यमा विशिष्टपना भएको विधा हो– ‘बाखं म्ये’ (गीतिकथा) । अज्ञात कविहरुले लेखेका गीतिकथामध्ये लोकप्रिय सिर्जना हो– ‘सिलु म्ये’
राजेन्द्र महर्जन

तीन सय वर्षअघि नेवार जनमानसमा एउटा विश्वासले घर गरेको थियो– ‘लोग्नेस्वास्नीको जोडी सिलु तीर्थ (गोसाइँकुण्ड) गएर फर्किनासाथ विछोडिनुपर्छ, त्यसैले कसैको पनि दम्पती सिलु जानुहुँदैन ।’ तत्कालीन समाजले यस्तो निषेधात्मक विश्वास थोपरेर पुरुष–महिलालाई तर्साइराखेकै कारण कम मात्रै नेवार दम्पतीले एकसाथ तीर्थयात्रा गरे होलान् ।

यस्तै विश्वासको शासन–अनुशासन फैलाउन नेपालभाषामा लेखिएको र गाइएको ‘बाखं म्ये’ (गीतिकथा) हुन सक्छ ‘सिलु म्ये ।’ तर, यही रचनाकी नायिकाले भने अन्धतामाथि प्रश्न उठाउँदै श्रीमानसँगै तीर्थयात्रा गर्छे, ‘हथि’ (हठ) गर्दै । यसका रचनाकारले पनि दोहोर्‍याएको निषेधात्मक विश्वासको पर्खाल ‘हथि मिसा’ (हठी महिला) लाई पटक्कै स्वीकार्य हुँदैन । उसले पर्खाल नाघ्न खोज्दा लेखकको सन्देश र नायिकाको आचरणबीच मेल नखाने अवस्था आउँछ । सयौं वर्षदेखि नेवार समाजले गाउँदै आएको ‘सिलु म्ये’ गीतिकथामा महिलाले गरेको प्रतिरोध अनौठो खालको छ ।


प्रत्येक वर्ष ‘गुँला पुन्हि’ (साउने पूर्णिमा) मा गरिने सिलु तीर्थको यात्रासँग सम्बन्धित यस गीतिकथाको रचनाकार अज्ञात नै छ । रचनाअनुसार, अज्ञात रचनाकारले अन्तिम मल्ल राजा जयप्रकाश मल्लको कालमा यो गीतिकथा लेखेको देखिन्छ । यस गीतिकथामा नेपालका छत्रपतिले प्रतिपालन गरेको भन्दै तत्कालीन राजाको प्रशंसा गरिएको छ, सँगै राजाहरूबाट हुने महिलाको अपहरणको चित्रण पनि छ । यही ठूलो विरोधाभासबीच यस गीतिकथाकी नायिकाले गरेको प्रतिरोधको प्रगतिशील अर्थ र जनमुखी मूल्य उल्लेखनीय छ ।


जब राजाबाट अपहरण हुन्छ

यो गीतिकथा एक नेवार दम्पतीको सिलु–यात्राको क्रममा हुने उतार–चढावको वृत्तान्त हो । यसमा नायकले सँगै नआउन चेताए पनि श्रीमान्सँगै सिलु तीर्थसम्म पुगेकी नायिकालाई राजाले अपहरण गरेको कथा सुनाएर निषेधात्मक विश्वासको प्रचार गरिएको छ । गीतिकथाको थालनीमा कान्तिपुरको नायकको मनमा सिलु तीर्थ जाने रुचि जागेको देखाइन्छ । उसमा तीर्थस्थल पुगेर स्नान गरियो भने पुण्य कमाइन्छ भन्ने धार्मिक धारणा प्रबल हुन्छ । तीर्थ जाने रहर जागेपछि घरसल्लाह हुन्छ, आमाबुबासँग अनुमति मागिन्छ । त्यसैले बिदाबारी भई पुण्य कमाउन ऊ सिलु तीर्थतिर लाग्छ ।


सुरुमा नायक एक्लै सिलु तीर्थ गएको भान हुन्छ । तर, उसकी श्रीमती पनि उसको पछिपछि लागेकी हुन्छे । जब राजाले अपहरण गर्न सिपाही खटाउँछ, यात्रामा त नायिका पनि नायकसँगै रहेको भेउ पाइन्छ । अज्ञात रचनाकारले गीतिकथाको बीचमा मात्रै नायिकालाई उपस्थित गराएर कौतूहलपूर्ण बनाउन खोजेको हुनसक्छ ।


उनीहरू कान्तिपुरबाट धमाथू (धर्मस्थली), न्यागमानि (पाँचमाने), रानिपौवा, गांचो, धैबु व्यासि (धैबुङ), धुंच्या पौवा (धुन्चे), चन्द्र सिलु हुँदै सिलु तीर्थ (गोसाइँकुण्ड) पुग्छन् । त्यहाँ पुगेपछि नाटकीय मोड आउँछ, राजाले नायिकाको अपहरण गराउँछ । यही क्रममा दम्पती एकसाथ सिलुको तीर्थाटनमा जाने कि नजाने भन्ने प्रश्नमा नायक र नायिकाबीच विवाद भएको थाहा पाइन्छ । गीतिकथाको आधाआधीसम्म पुग्दा पनि विवाद भएको भेउ पनि कतै पाइँदैन । राजाका सिपाहीले नायिकाको अपहरण गरेपछि नायकले दुःखमनाउ गर्दै यसबारे सङ्केत गर्छ ।


नायकले ठान्छ, आफूसँगै सिलु नआऊ भनी रोक्दारोक्दै पनि साथसाथै आउने नायिकाको हठकै कारण बर्बाद भएछ । उसले पत्नीको हठकै कारण राजाबाट अपहरण भएको र बित्याँस परेको भाव पोख्छ । र, पत्नी अपहरित भएपछि नायक अनारको बोटमुनि रोइबस्छ । राजाको सुपाल (डोलीजस्तो) चढेर गएकी नायिकाले आफ्नो पति रोइरहेको आवाज सुन्छे ।


नायिकाले आफ्नो पति रोइरहेको गुनासो गर्दा राजाले होच्याउँछ ‘तिम्रो श्रीमान् होइन, कुकुर रोएको’ भन्दै । नायिकाले ‘कुकुर रोएको होइन राजा, मेरो प्रभु वा स्वामी नै रोएको हो’ भनी प्रतिवाद गर्छे ।


डोलीमा बसेर हेर्दा नायिकाले ‘आफ्नो लोग्नेलाई पनि आफूजत्तिको योग्य महिला फेरि पाउँछौ’ भनी पतिलाई आश्वस्त पार्न खोज्छे । त्यसबेला लोग्नेले ‘तिमी जत्तिको पाउन तपस्या नै गर्नुपर्ने’ भन्दै श्रीमतीप्रति सम्मान भाव व्यक्त गर्छ ।


नेपालभाषाको साहित्यमा विशिष्टपना भएको विधा हो– ‘बाखं म्ये’ (गीतिकथा) । अज्ञात कविहरुले लेखेका गीतिकथामध्ये लोकप्रिय सिर्जना हो– ‘सिलु म्ये ।’ सिलु म्येका अनेक संस्करणमध्ये यो गीतिकथा कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लको शासनकाल (१७९२–१८२५ साल) को सुरू अवधिमा लेखिएको हो ।

नायिकाले राजाबाट पाइएको तारी (ताडी) फूल आफ्नो प्रभुलाई लगाइदिने प्रण गर्छे र कथालाई छोट्याएर नाटकीय रूप दिइन्छ : राजाले उपहार दिएको फूल श्रीमान्लाई लगाइदिएको भनाइसँगै । ‘नेपालभाषाया प्राचीन काव्य सिर्जना’ अध्येता जनकलाल वैद्य लेख्छन्, ‘राजाले उपहार दिएको फूल श्रीमान्लाई लगाइदिएँ’ भन्नुको अभिप्राय नायिकाको सङ्कल्प वचन अभिव्यक्त गराउनु हो । आफूलाई अपहरण गर्ने राजालाई त्यागेर आफ्नै प्रभु स्वामिसँग दाम्पत्य जीवन जिउन आउने सङ्कल्प नायिकाबाट अभिव्यक्त गराएर गीतलाई संयोगान्ततिर ढल्काइएको छ (वैद्य २०५९, २५७) ।’


विछोडको चेतावनी र नायिकाको प्रयास

यस सिलु म्येमा नायिकाको माया नायकतिरै केन्द्रित रहेको र पुनः दाम्पत्य जीवनको सङ्कल्प गरिएको स्थितिमा पनि अनाम रचनाकारले भने निश्चित उद्देश्यका लागि गीतिकथा रचना गरेको भान हुनेगरी १५औं चरण लेखेको पाइन्छ । त्यस चरणमा रचनाकारले श्रीमान्–श्रीमती सँगसँगै सिलु तीर्थ गएमा फर्कनासाथ विछोड हुन्छ, त्यसैले कसैको पनि दम्पतीले एकसाथ सिलु तीर्थको यात्रा नगर्नू भनी उपदेश नै दिएका छन् । वैद्यका अनुसार, ‘यही उपदेश यस गीतिकथाको केन्द्रविन्दु हो ।’


यही उपदेशभन्दा भिन्न छ नायिकाको प्रयास । ‘नायिकाको दृढ संकल्प र सत्प्रयासको मनमोहक छनक’ले सन्देशलाई टेर्दैन । ‘राजाले दिएको तारी फूल आफ्नो प्रभुलाई सिउरिदिएँ’ भन्ने नायिकाका शब्दले सामाजिक विश्वासलाई नाघ्छ । आफूलाई अपहरण गर्ने राजालाई छाडेर नायिकाले आफ्नै ‘प्रभु स्वामी’ लाई अँगाल्न आउने उसको संकल्प पोखिन्छ । यही अभिव्यक्तिका कारण यो गीतिकथा संयोगान्ततिर ढल्केको छ, वियोगान्त उपदेशभन्दा भिन्न बाटोमा लाग्दै । संयोगान्त शब्द र भाव हुँदाहुँदै पनि अज्ञात साहित्यकारले दम्पतीको सिलु यात्रा वियोगान्त हुने उपदेश दिन्छन् । यो पहिलेदेखि समाजमा व्याप्त अन्धविश्वासकै पक्षपोषण हो ।


खासमा अनाम साहित्यकारको रचनाको मूल मर्म उनको हेराइ र खुला सन्देशभन्दा भिन्न छ । मूल कथा, त्यसको गुप्त सन्देश र रचनाकारको उपदेशबीच यस्तो अन्तरविरोध कसरी पैदा हुन्छ ? रचनाकार र नायकको हेराइ एवं विचारसँग नायिकाको मतमा अन्तर रहे पनि रचनाकारचाहिँ आफ्नो पुरातन भनाइ थोपर्न किन उद्यत हुन्छ ? यी प्रश्न अध्ययनयोग्य देखिन्छ । मल्लकालीन नेवार समाजमा रचनाकार र नायककै जस्तो अन्धविश्वास बलियोसँग जरो गाडेर बसेकोमा शङ्का छैन । ‘दम्पतीहरू सिलु तीर्थ गएर फर्कनासाथ विछोड हुने भएकोले कुनै पनि श्रीमान् श्रीमती एकसाथ सिलु जानु हुँदैन’ भन्दै समाजले निषेधाज्ञा जारी गरेको प्रस्टै देखिन्छ । यही गीतिकथाले सङ्केत गर्छ, राजा जयप्रकाश मल्लको शासनकालभन्दा पहिलेदेखि नै नेपाल उपत्यकामा यस्तो निषेधाज्ञा जारी गर्ने चलन थियो (वैद्य २०५९, २५७) ।


यही निषेधाज्ञाको पुनःउत्पादन गर्ने र त्यही अनुकूलको मानसिकता निर्माण गर्नेगरी यस रचना तयार गरिएको तथ्य बुझ्न कठिन छैन । समाजका सत्तासीन वर्ग, शासक तप्का र साहित्यकारहरूको जे–जस्तो गुप्त वा खुला उद्देश्य भए पनि सामाजिक मनोविज्ञानमा अन्तरद्वन्द्व तीव्र रहेको सत्य बुझ्न पनि गाह्रो छैन । उदाहरणका लागि, यस गीतिकथाकी नायिकाको विद्रोही विचार, मनस्थिति र व्यवहारलाई लिन सकिन्छ । उसले ‘दम्पतीहरू सिलु तीर्थ गएर फर्कनासाथ विछोड हुने’ विचार, विश्वास र मनोविज्ञानमाथि चुनौती सिर्जना गर्दै बस्छे, नायकसँग बाझ्दै, तर्कले चित्त बुझाउन खोज्दै कठिन यात्रामा पुरुष सँगसँगै हिँड्दै । यात्राको क्रममा राजाजस्तो सर्वशक्तिवान् व्यक्तिबाट अपहरित हुँदा पनि, अनेक लोभलालचमा नफँसीकन, शक्तिशालीहरूसँग पनि पटक्कै नडराईकन उसले विभिन्न चाल चल्दै समाजको निषेधाज्ञालाई तोड्ने आँट गर्छे । राजाको यौनपिपाशु व्यवहारविरुद्ध ‘गोप्य प्रतिरोध’ (हिडन रेसिस्टेन्स) द्वारा उसले सफलता प्राप्त गरिछाड्छे । यसले देखाउँछ, समाजको निषेधाज्ञा र त्यसअनुकूलको मनोविज्ञान सिर्जना गर्ने साहित्यलाई हाँक दिनेगरी व्यक्तिको निर्माण भएको रहेछ, त्यसको अगुवाइ पनि विवाहित महिलाले नै गरेकी देखिन्छ ।


यस गीतिकथामा अज्ञात साहित्यकारका लागि नायिकाको उपस्थिति आफ्नो उपदेश सिद्ध गर्न नकारात्मक भूमिका खेल्ने गौण पात्रको रूपमा मात्रै रहेको देखिन्छ । तर, नायिका भने साहित्यकारले निर्दिष्ट गरेको भूमिकामा मात्रै सीमित रहँदैन, ऊ रचनाकारको कठपुतली मात्रै भइरहँदैन । साहित्यकारको आशय र उपदेशको सीमा नाघेर नायिकाले लेखकको मानसिकता र उद्देश्यलाई पनि चुनौती दिन्छे । यो यस गीतिकथाको सबैभन्दा विचारणीय र उल्लेखनीय पाटो हो । अन्य कोणबाट हेर्दा तीनवटा परिदृश्यको सम्भावना छ– १) यो समाजको निषेधाज्ञालाई तोड्ने लेखककै सिर्जजनात्मक चतुर्‍याइँ पनि हुन सक्छ, २) यो लेखकको कलमसँग पात्रले गरेको विद्रोह पनि हुनसक्छ, ३) पात्रको निर्माण र कथाको बहावसँगै लेखकीय उपदेशको अन्तरविरोध पनि हुन सक्छ ।


जे होस्, अज्ञात साहित्यकारले यस गीतिकथामा सिलु तीर्थ नपुग्दासम्म नायिकाको उपस्थिति र सहयात्रालाई उजागर नै गर्दैनन्, अज्ञात नै राख्छन् । यस्तो लाग्छ, नायिकालाई नकारात्मक परिस्थितिका लागि जिम्मेवार ठहर्‍याउन मात्रै उपस्थित गराइन्छ । सिलु तीर्थ पुगेपछि राजाबाट नायिकाको अपहरण हुँदा मात्रै नायकसँग नायिकाले पनि सहयात्रा गरिरहेको र उनीहरूबीच बाटोमा द्वन्द्व भएको तथ्य पनि उजागर गरिन्छ । उनीहरूको वैचारिक द्वन्द्व सामाजिक निषेधाज्ञा स्विकार्ने कि नस्विकार्ने भन्नेमा भएको प्रस्ट रूपमा देखिन्छ । श्रीमान्चाहिँ सामाजिक निषेधाज्ञाको पक्षमा देखिन्छ र उसको मनमस्तिष्क त्यसैबाट ढालिएको पाइन्छ । तर, पत्नीचाहिँ सामाजिक निषेधाज्ञालाई बेवास्ता गर्दै, तोड्दै आगडि बढ्न चाहन्छे ।


साहित्यकारले सामाजिक निषेधाज्ञाको पक्षमा गीतिकथा बगाउन खोज्दाखोज्दै पनि नायिकाको संघर्षले गर्दा अन्तै मोडिन्छ । यसरी चिप्लिएर कुद्ने पात्रहरू नै ‘पात्र भनेका लेखकका मुठ्ठीका माखो हुन्’ भन्ने भनाइका लागि चुनौती हुनसक्छन् ।


दोस्याउने भाष्यविरुद्ध द्रोह

यस गीतिकथा हेर्दा मुख्य द्वन्द्व त महिलाहरूलाई तीर्थस्थलबाट अपहरण गर्ने/गराउने राजा र प्रजाबीच नै हुनुपर्ने हो । एक नारी, त्यसमा विवाहित महिलाको अपहरणसँगै राजासँग महिला, महिलाकी पति र आम रुपमा प्रजाजनबीच अन्तरविरोध देखिनुपर्ने हो । तर, सामाजिक सीमाका कारण हुनसक्छ, तत्कालीन सामन्ती समाज, त्यसमा पनि नेवार समाजको अन्तरविरोध बाह्य रूपमा होइन, आन्तरिक रूपमै प्रकट भएको पाइन्छ ।


यस्तो आन्तरिक अन्तरविरोधले आफैंभित्र समस्या खोज्छ, समाधान पनि आफैंभित्र मात्रै खोतल्छ, समाजको शक्ति–संरचना (पावर स्ट्रक्चर) र शक्ति–सम्बन्ध (पावर रिलेसन) मा खोज्दैन । त्यही कारण श्रीमान्ले चेताउँदा–चेताउँदै पनि श्रीमतीको ‘जिद्दी’तिर रचना केन्द्रित छ । यसै क्रममा नायकले आफूले चेताउँदा–चेताउँदै पनि श्रीमती सँगसँगै आएकै कारण राजाबाट अपहरण भएको र स्वास्नीकै हठका कारण बित्याँस परेको भाव पोखिन्छ ।


यस रचनामा ‘सिलु नआऊ’ भनी रोक्दारोक्दै पनि सँगै आउने नायिकाको हठकै कारण राजाबाट अपहरण भएको ठान्ने नायक र कविको ठम्याइमाथि पनि प्रश्न उठ्न सक्छ । खासमा निश्चित उपदेश दिन, त्यसलाई वैधता र सहमति प्रदान गर्न नायिकाको हठलाई आरोपित गरिएको देखिन्छ । जब कि समस्या राजाबाट महिलाहरूको अपहरण हुने प्रचलनका कारण सिर्जना भएको तथ्य यस गीतिकथाबाट पनि छिपेको छैन । महिला र पुरुषबीच, आम महिलापुरुष र राजाबीच, राजा र साहित्यकारबीचको शक्ति–सम्बन्ध (पावर रिलेसन) यसमा पनि प्रकट भएको छ, जुन शक्ति–संरचना (पावर स्ट्रक्चर) कै अभिव्यक्ति हो । शक्ति– संरचना र शक्ति–सम्बन्धले अनेक खालको लेखन, साहित्य, मानसिकताको उत्पादन–पुनरुत्पादन गरिरहेको छ । यस गीतिकथा पनि त्यसबाट अछुतो हुने कुरै भएन, अन्य सिर्जनाजस्तै । निश्चित उद्देश्यपूर्तिका लागि रचना र गायनकै निरन्तरताका कारण पनि अनेक खालका अन्धविश्वासले जरो गाडिरहेको तथ्यलाई बेवास्ता गर्न सकिँदैन । अनेक खालका अन्धविश्वास खासमा त्यस्ता विश्वासका आयाम हुन्, जसले पुराना शक्ति–संरचना र शक्ति–सम्बन्धलाई कायम राख्न मद्दत गर्छन् ।


राजा–महाराजाबाट अपहरित हुन सक्ने कटु यथार्थबीच धार्मिक अन्धविश्वासको डर–त्रास देखाएर लामो दूरीको विकट यात्रा नगर्न महिलाहरूलाई चेताउने र कज्याउने क्रममा यस्तो गीतिकथा रचिएको अनुमान गर्न कठिन छैन । यसरी चेत्ने र कजिने महिलाहरू घरपालुवा नारीमा रूपान्तरण हुने तथ्य स्पष्ट छ, जुन यस गीतिकथाकी नायिकालाई स्वीकार्य थिएन । यस गीतिकथाको सारले त्यस्ता अपहरण, डर–त्रासबाट बचेर एकसाथ जिउने/मर्ने दृढ संकल्पतिर जनमानसलाई डोर्‍याउँछ भने केही उपदेशात्मक शब्दले त्यस्तो दृढ संकल्पलाई खण्डित गर्छ । त्यस्तै, विकटको यात्रा, लामो दूरीको तीर्थाटन भनेको पुरुषको मात्रै, पुरुषार्थ देखाउन सक्ने राजा–महाराजाको पेवा हो भन्ने मानसिकता तत्कालीन समाजमा व्याप्त भएको हुन सक्छ । त्यसको प्रतिविम्बन अज्ञात साहित्यकारका कलम, शब्द र उपदेशमार्फत पोखिएको हुन सक्छ ।


यति हुँदाहुँदै पनि राजा वा शक्तिशाली व्यक्तिहरूबाट आममहिलामाथि हुने यौन–हिंसाको पक्ष उजागर गर्न यो रचना सक्षम देखिन्छ । साहित्यकारले चाहेर होस् या नचाहेर, यसमा महिलाको जुक्ति–बुद्धिको तीक्ष्णता र जुझारुपना प्रकट भएको छ, जुन निकै प्रभावशाली छ ।


यस गीतिकथामा आफ्नो पतिका साथ पत्नी पनि जिद्दी गर्दै विकट यात्रामा साथै निस्कन्छे र राजाबाट अपहरित हुँदा पनि आफ्नै लोग्नेसँग सँगसँगै जिउने गरी फर्कने संकल्प गर्छे, तारी (ताडी) फूलको सुन्दर संकेतबाट । मल्लकालीन एक नेवार महिलाको संकल्प र सङ्केत गीतिकथामा जबर्जस्ती थोपरिएको सन्देश बोक्ने महिलाको छविभन्दा भिन्नै देखिन्छ । महिलाको आँखाबाट हेर्दा यस गीतिकथाकी नायिका पुराना विश्वासमाथि प्रश्न गर्ने, श्रीमान्सँगै सहकार्य गर्न सक्ने, प्रेमका खातिर राजा–महाराजाको प्रतिवाद गर्न सक्ने वा सत्तासीन व्यक्तिहरूका शक्तिसँग अनेक जुक्ति–बुद्धि लगाएर जुध्न सक्ने जुझारु महिलाको रूपमा प्रकट झएको देखिन्छ ।

प्रकाशित : फाल्गुन २४, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

पुरुषका लागि ‘वरशिक्षा’

भीमनिधि तिवारी (१९६८ फागुन ३०–२०३० जेठ १९) को ‘वरशिक्षा’ किताबबारे उति चर्चा भएको पाइँदैन । तिवारीको जन्मजयन्ती र अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा यसै काव्य–कृतिमाथिको समीक्षा :
लीला लुइटेल

काठमाडौँ — नेपाली साहित्यमा ‘वधूशिक्षा’ नामक कृतिमा अभिव्यक्त गरेका धारणालाई माध्यम बनाएर भानुभक्तको आलोचना गर्ने क्रम घटेको छैन, दिनप्रतिदिन बढिरहेको छ । नेपाली साहित्यमा ‘वधूशिक्षा’ मात्र नभई ‘वरशिक्षा’ पनि लेखिएको छ भन्ने धेरैलाई थाहा नभएकै बुझिन्छ ।

सुप्रसिद्ध साहित्यकार भीमनिधि तिवारीद्वारा लेखिएको ‘वधू–वर शिक्षा’ नामक कृति पहिलोपटक २०१२ सालमा तत्कालीन मुस्ताङी राजा अंगोन जेम्पल तेनजिन ट्रटुल पर्वलको सहयोगमा प्रकाशन भएको हो । यही काव्य २०२५ सालमा तिवारी साहित्य समितिद्वारा पुनः प्रकाशन भएको जानकारी पाइन्छ । यो काव्य सिर्जनाको कारकका सम्बन्धमा भीमनिधि तिवारीले भूमिकामा यसरी व्यक्त गरेका छन्, ‘विसं २०१०, असार २९ गतेका दिन नेपालमा सर्वप्रथम भानुजयन्ती मनाइयो ।

सरस्वती सदनमा भएको श्रद्धाञ्जली समारोहमा कतिपय साहित्यकार र नेताहरूले भाषण गरे । किन्तु मैले त्यसै मञ्चबाट केवल एउटा प्रतिज्ञा गरें— भानुभक्त आचार्यज्यूले वधूशिक्षा लेखेर नारीजातिलाई स्थायी उपहार दिनुभयो, म वरशिक्षा लेखेर पुरुषजातिलाई समर्पण गर्नेछु । वधूशिक्षा पढेकी बुहारी जुन घरमा आउलिन् त्यहाँ वरशिक्षा पढेको छोरो रहला । फलतः नेपालीको त्यो घर, घर नभएर मन्दिर होला । रचना आर्को वर्षको जयन्तीसंममा समाप्त हुनेछ र यो पनि त्यही छन्दमा लेखिनेछ जसमा आचार्यज्यूले लेख्नुभएको थियो । अनि शैली भाषा पनि त्यस्तै सरल बनाउने
प्रयत्न गरिनेछ ।’

यसरी प्रतिज्ञा गरिएको समयभित्रै भीमनिधि तिवारीले २०१० चैत १३ गते वरशिक्षा लेखिसकेर सन्तोषको सास फेरेका थिए । ‘वधू–वर शिक्षा’ काव्यमा वधूशिक्षाअन्तर्गत भानुभक्तकै ‘वधूशिक्षा’ लाई समावेश गरिएको छ । यसरी समावेश गर्दा भानुभक्तको वधूशिक्षामा भूमिकाका रूपमा रहेको तारापतिलाई सम्बोधन गरिएको प्रस्तावनाचाहिँ समाविष्ट छैन । यस काव्यमा भानुभक्तको ‘वधूशिक्षा’ को समाप्तिपछि वरशिक्षाको प्रारम्भ गरिएको छ ।

पूर्वार्द्ध र उत्तरार्द्ध गरी दुई भागमा संरचित वरशिक्षाको दुवै भागमा ६६/६६ श्लोक समाविष्ट छन् । प्रकृतिको अनुपम दृश्यको वर्णनबाट सुरु गरिएको यसको पूर्वार्द्ध भागमा बिहान उठेदेखि एउटा पुरुषले गर्नुपर्ने अनेक कर्तव्यका बारेमा विस्तृत रूपले सम्झाइएको छ । आफ्नो नित्यकर्म सकिएपछि खाली पाउले बगैँचामा गएर बोटबिरुवाको हेरविचार गर्नुपर्ने भाव अभिव्यक्त यस भागमा माटोमा गरिने कामलाई सर्वोत्तम व्यायामका रूपमा चर्चा गरिएको छ ।

माटो र श्रमको सम्मान नगर्ने मान्छे मुर्दासमान हुन्छ भन्ने अवधारणाको प्रस्तुति पाइने यस काव्यमा विद्याको महत्ता प्रस्तुत गर्दै धूम्रपान, मद्यपानजस्ता कुलतको विरोध गरिएको छ । बजारिया खाना स्वास्थ्यको प्रतिकूल रहेको अवधारणा अभिव्यक्त यस काव्यमा खेलको महत्त्व पनि देखाइएको छ । यसमा तिवारीले अनावश्यक खर्च गर्नु बुद्धिमानी नभएको कुरा अभिव्यक्त गर्दै मितव्ययी भएर सादा जीवन व्यतीत गर्न सल्लाह दिएका छन् । मद र घमण्डले मानिसलाई पतनको खाडलमा जाक्छ भन्ने भावनाको प्रस्तुति पाइने यस काव्यमा शिष्ट आचारका साथ मृदुभाषी भई निःस्वार्थ भएर सेवा गर्नुपर्ने सन्देश प्रवाहित गरिएको छ । प्रस्तुत काव्यमा संसारमा अनेक धर्म प्रचलनमा रहे पनि संसारमा सबैभन्दा ठूलो मानवधर्म नै रहेको दृष्टिकोण कविको रहेको छ ।

वरशिक्षाको पूर्वभागमा विवाह बन्धनमा नबाँधिएको पुरुषले दैनिक जीवनमा गर्नुपर्ने आचरण एवं व्यवहारको सविस्तार व्याख्या गरिएको छ भने उत्तरार्द्ध भागमा चाहिँ विवाहको आवश्यकता तथा विवाहपछि पत्नी एवं परिवारप्रति पुरुषले गर्नुपर्ने कर्तव्य र व्यवहारका बारेमा उल्लेख गरिएको छ । आफूसँग विवाह हुन लागेकी कन्याबारे अरूको भर नपरी वर स्वयंले बुझबुझारथ गरेर विवाह गर्नुपर्ने भावको प्रस्तुति पाइने यस काव्यमा विवाहको प्रयोजन र महत्त्व बुझेर मात्र विवाह गर्नुपर्ने र बोक्रे रवाफका लागि विवाहमा फाल्तु खर्च गर्न नहुने विचारको अभिव्यक्ति पाइन्छ । विवाह गरेकी पत्नी अशिक्षित भएमा आफैँले उचित शिक्षाको व्यवस्था गरिदिनुपर्ने दृष्टिकोणको प्रस्तुति पाइने यस काव्यमा नारी शिक्षाको महत्त्व दर्साइएको छ ।

नारीलाई शिक्षा नदिइने तत्कालीन अवस्थामा नारीशिक्षाका सम्बन्धमा तिवारीको यस्तो दृष्टिकोण आउनु सराहनीय पक्ष हो । नारीलाई पतिको छाया, दासी तथा जुत्ता मान्ने पितृसत्तात्मक संकीर्ण एवं अमानवीय दृष्टिकोणको विरोध पाइने यस काव्यमा नारीलाई पुरुषसरह अस्तित्व भएकी व्यक्तिको रूपमा चर्चा गरिएको छ । पत्नीलाई गोडाको जल ख्वाउने, उसलाई खसालेर बोल्नेजस्ता नेपाली समाजमा व्याप्त कुप्रचलनहरूको आलोचना गरिएको यस काव्यमा नारीलाई पुरुषको प्रेरक, उत्साहबर्धक, हितचिन्तक रूपमा व्याख्या गर्दै सौन्दर्य एवं ममताकी प्रतीकको रूपमा उभ्याइएको छ ।

नारीलाई सतीत्वको घेराभित्र बन्दी बनाई आफू स्वेच्छाचारी भएर हिँड्ने पुरुषको स्वेच्छारिताको विरोध गरिएको यस काव्यमा नारीलाई मुठीभित्र होइन दिलभित्र राख्नुपर्ने भाव अभिव्यञ्जित छ । यस काव्यमा कविले नारीलाई घरभित्रका झन्झटिला काममा मात्र गुम्स्याएर नराखी बेलाबेला मनोरञ्जन गराउनुपर्ने दृष्टिकोण पनि प्रस्तुत गरेका छन् । म लोग्ने हुँ भनेर आफ्नो अहंकार एवं प्रभुत्व दर्साउँदै पत्नीलाई दोस्रो दर्जाको नागरिक ठानेर व्यवहार गर्ने संकीर्ण पुरुषलाई यस काव्यमा कविले मानसिक रोगीको संज्ञा दिएका छन् । समग्रमा भन्दा स्वस्थ्य, सदाचारयुक्त एवं व्यावहारिक जीवन बाँच्नाका लागि ध्यान दिनुपर्ने कुराको वर्णनमा कवि यस काव्यमा केन्द्रित देखिन्छन् ।

वरशिक्षामा अभिव्यक्त श्लोकका भावहरू एक्काईसौँ शताब्दीको वर्तमान समयमा अगि सारिएका महिला शिक्षा, महिला समानता तथा महिला सशक्तीकरणका नाराहरूकै निकट देखिन्छन् । यस दृष्टिले हेर्दा यस काव्यमा भीमनिधि तिवारीको दृष्टिकोण मानवतावादी, समतावादी, प्रगतिशील एवं नारीवादी देखिन्छ । समाजमा व्याप्त पितृसत्तात्मक संकीर्णताको उन्मूलनका साथ समतामूलक एवं प्रगतिशील समाजको कामना अभीष्ट रहेको यो कृति शार्दूलविक्रीडित छन्दमा संरचित छ ।
नेपाली समाजमा छोरीबेटी र बुहारीहरूलाई सदाचारी बनाउनाका लागि वधूशिक्षा पढाइयो, अनि पढ्न नजान्ने छोरीबुहारीलाई सुनाएरै पनि घोकाइयो तर तिनै नेपाली पुरुषहरूले नेपालीमा लेखिएको वरशिक्षा आफूले पनि पढेनन् आफ्ना छोराहरूलाई पनि पढाएनन् अझ भनौँ पढाउन चाहेनन् । अरू कुरा त छोडौँ नेपाली साहित्यमा रुचि राख्ने अधिकांश पाठकलाई वरशिक्षा लेखिएको कुरोसमेत जानकारी नभएको बुझिन्छ ।

पत्नीलाई मानवीय व्यवहारका साथ आफ्नो समकक्षमा राख्नु आफ्नै अस्तित्वमाथिको प्रहार हो कि भन्ने त्रासले पितृसत्तात्मक संकीर्ण मानसिकता सदैव त्रसित रह्यो र पत्नीलाई दासीकै रूपमा व्याख्या गर्न कसरत गरिरह्यो । आफूचाहिँ शास्त्रद्वारा निर्दिष्ट कतिपय आचारसंहिताहरूलाई यो वा त्यो बहानामा सहजतापूर्वक त्याग्दै गयो तर नारीका सन्दर्भमा चाहिँ सदैव परम्पराको हवाला दिइरह्यो ।

परिवर्तनको हिमायती भएको हवाला दिएर फुक्काफाल भएर हिँड्न रुचि राख्ने पुरुषले नारीलाई चाहिँ मानवीय दृष्टिले हेर्नसमेत कन्जुस्याइँ गरिरह्यो । वरशिक्षा भन्नेबित्तिकै के लेखिएको रहेछ त भनेर एकपटक पढ्न त परै जाओस् भनौँ नामसमेत लिन नचाहनुको कारण स्पष्टै छ । हुन त वरशिक्षामा दिइएको शिक्षा ग्रहण गरेर सदाचारी हुनाका लागि स्वेच्छाचारी पुरुषलाई कसैले बाध्य पार्न सक्ने थिएन । यति हुँदाहुँदै पनि वरशिक्षा लेखिएको कुरा जानकारी पाउने कतिपय व्यक्तिहरूले पढेर पनि यसको चर्चा गर्न नचाहेकै कारण यो सदैव ओझेलमै रह्यो ।

साक्षर छोरीबुहारीलाई पढ्न दिएर अनि निरक्षरलाई आफैँले सुनाएर भए पनि वधूशिक्षामा उल्लिखित आचरणहरूको अवलम्बन गराउन रुचि राख्ने पुरुषले चाहिँ वरशिक्षा लेखिएको छ भन्ने जानकारीसमेत राख्न नचाहनुचाहिँ विडम्बनाको पराकाष्टा नै हो । वरशिक्षा भन्नेबित्तिकै यसलाई पुरुषका विरुद्धमा छाँटिएको अनर्गल एवं वाहियात उपदेश सम्झेर यसको अवहेलना गरिएको अनुमान गर्न सकिन्छ ।

‘वरशिक्षा’ नामक कृति ‘वधूशिक्षा’ भन्दा पृथक् अवधारणाका साथ देखापरेको सिक्वेल लेखन हो । अग्रज लेखकका कृतिको खण्डन गर्न, त्यसमा अभिव्यक्त मतमाथि आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्न तथा त्यसै विषयभन्दा पृथक् रहेर पाठकलाई केही नयाँ दिन पनि सिक्वेल लेखन गर्न सकिन्छ । यसखाले सिक्वेल लेखन एकप्रकारको चुनौती पनि हो, किनकि पूर्ववर्ती लेखकको कृतिजत्तिकै लोकप्रिय बनाउनुपर्ने मनोवैज्ञानिक दबाब अनुज लेखकलाई रहेको हुन सक्छ ।

लोकप्रिय भएर समाजमा एउटा स्थान बनाइसकेको अग्रज लेखकका कृतिमा उल्लिखित विषयभन्दा विपरीत विषयमा सिक्वेलको सिर्जना गर्दा त्यो त्यत्तिकै लोकप्रिय नहुने सम्भावना पनि त्यत्तिकै प्रबल हुन्छ । पितृसत्तात्मक संकीर्णताले जरो गाडेको तत्कालीन समाजमा पुरुषलाई शिक्षा दिने हेतुले अग्रज कविको कृतिका विपरीत सिक्वेल लेखन गर्दा भीमनिधि तिवारीले चुनौतीलाई आत्मसात् गरेकै हुन् ।

‘सहनशीला सुशीला’ जस्ता नाटकमा प्रस्तुत नारी आदर्शको व्याख्या गर्ने नाटककारको कवि दृष्टिकोणमा आएको परिवर्तन र प्रगतिशीलताको संकेत पनि हो वरशिक्षा । प्रस्तुत कृति सारै कमजोर भएर चर्चित नभएको होइन । यसको उचित चर्चा एवं प्रचार–प्रसार हुन नसक्नु र नगरिनुमा चाहिँ नेपाली साहित्यमा व्याप्त भालेवाद नै मुख्य कारकका रूपमा रहेको देखिन्छ ।

प्रकाशित : फाल्गुन २४, २०७६ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×