‘ज्ञानकर्मको पर्यावरण चाखलाग्दो छैन’- कोसेली - कान्तिपुर समाचार

‘ज्ञानकर्मको पर्यावरण चाखलाग्दो छैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — भास्कर गौतमले जापानको क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । करिब एक दशक मार्टिन चौतारीमा अध्येता रहेका उनी हाल विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सका अध्यक्ष हुन् । उनका लेखहरु जर्नलमा प्रकाशित छन् र उनले धेरै पुस्तकको सह–लेखन, सह–सम्पादन गरेका छन् ।

तीमध्ये ‘करेज इन केयोस : अर्लि रेस्क्यु एण्ड रिलिफ आफ्टर दि अप्रिल अर्थक्वेक’ (२०७२), ‘मधेस विद्रोहको नालीबेली’ (२०६४), ‘माओवादी विद्रोह : सशस्त्र संघर्षको अवधि’ (२०६४), ‘सहरीकरण : जीविकाका विविध आयाम’ (२०६३), ‘नेपालमा गरिबी बहस’ (२०६१) आदि प्रमुख पुस्तक हुन् । उनीसँग गरिएको किताब–वार्ता :



तपाईंको विचारमा पढ्नु केका लागि होला ?

आफ्नो वरिपरिको परिवेश, मानवीय जीवन र जगत्लाई बुझ्न मानवजातिले पढ्ने गर्छ । म पनि त्यही उद्देश्यसहित पढ्छु । आधुनिक विश्वमा पढाइको दुइटा महत्त्वपूर्ण पाटा छन् । पहिलो, नवीन सीप र मानवीय सिकाइसँगै पढाइ जीविकोपार्जनको आधार बनिरहेको छ । दोस्रो, यो संसार विभेदकारी छ । यसलाई समतामूलक र न्यायप्रधान बनाउनसमेत पढ्नुपर्छ । यहाँ पढाइ परिवर्तनको आधारभूत साधन हो ।


हालसालै पढेको र हृदयस्पर्शी कुनै किताब ?

पछिल्लो समय पढेमध्ये दुइटा पुस्तक मन पर्‍यो । एउटा, टोनि जोसेपको ‘अर्ली इन्डियन्स’ हो । जोसेपले दक्षिण एसियालाई केन्द्रमा राखेर मानवीय उत्पत्तिदेखि निकट विगतसम्मको प्रभावशाली वर्णन गरेका छन् । उनले जनसंख्याको आनुवांशिक पक्षलाई पुरातत्त्वको क्षेत्रमा भएका अनुसन्धान र भाषाशास्त्रमा भएका कामसँग जोडेर कथ्य रचेका छन् । हामी बसेको भौगोलिक परिवेशमा मानवसभ्यताको उत्पत्ति, प्रारम्भिक कृषिज्ञान, सहरीकरणका प्रारम्भिक प्रयासहरू र आर्यहरू कसरी अन्तिम निर्णायक प्रवासी हुन पुगेबारे पुस्तकमा चाखलाग्दो व्याख्या छ । अर्को, जेनी ओडेलको ‘हाउ टु डु नोथिङ ः रेसिस्टिङ द एटेन्सन इकोनोमी’ हो । अनुसन्धानको जगमा लेखिएको यस पुस्तकको कथ्य काव्यिक र दार्शनिक छ । लेखनमा इतिहास, दर्शन, विज्ञानका अनुसन्धान, साहित्य, पर्यावरण र पत्रकारिताको कथ्यशैली समेटिएको छ । मानवीय अवधानमा आधुनिक सञ्चार र प्रविधिको प्रभाव आक्रमक र वास्तविक दुवै हुँदाहुँदै पनि त्यो मूलतः सतही छ भनेर तर्क गरिएको छ । प्रकृति, कला, साहित्य र संगीतमा गहिरिने मानवीय चिन्तनलाई सञ्चार–प्रविधिले आधारभूत रूपमा भंग गर्न नसक्ने भन्दै ओडेलले मानवीय सम्बन्धका गहन आयाममाथि घतलाग्दो पुस्तक लेखेकी छन् ।


किताब असाध्यै मन पर्‍यो भने त्यसलाई के गर्नुहुन्छ ? देखिने ठाउँमा सजाउनुहुन्छ या सिरानीछेउ राख्नुहुन्छ ?

साथीसंगीसँग चर्चा गर्छु । समय र अवस्था हेरी अरूलाई पढ्न सिफारिस गर्छु । कसैलाई पुस्तक देखाउने वा अरू केही देखाइदिने कुरामा मेरो कुनै रुचि छैन ।

नेपाली साहित्यमा प्रकाशित पछिल्ला आख्यान/गैरआख्यानमाथि तपाईंको खास टिप्पणी सुनाउनुस् न ?

सोचेजसरी पछिल्लो समयमा निस्केको आख्यान/गैरआख्यान पढ्ने मेसो मिलेको छैन । मैले काम गरिरहेका विषयमा धेरै केही ननिस्केकाले समेत यस्तो भइरहेको छ । तथापि निर्धक्कसँग भन्न सकिन्न, आफ्नो निजत्व, संकुचित भौगोलिक परिवेश र राष्ट्रिय काल्पनिकीभन्दा फराकिलो चिन्तनले प्रायः कृतिमा ठाउँ पाउँदैनन् । परिणाम हामीले मानवीय अवस्थाका जटिलता र अनेकौं गहन पक्षहरूबारे गहिरिएर सोचिरहेका छैनौँ । चिन्तन नै सीमित भएपछि गहकिला पुस्तकको उत्पादन दुर्लभ हुने भइहाले ।


तपाईंले पढेका सामाजिक–राजनीतिक–ऐतिहासिक किताबमध्ये पाठकलाई कस्ता किताब रिफर गर्नुहुन्छ ?

समाजविज्ञान, दर्शन, समालोचना आदि विभिन्न विधाका शोधपूर्ण किताबमा मेरो रुचि छ । शोधमा आधारित पुस्तक संरचनागत जटिलता र मानवीय अवस्था बुझ्न उपयोगी हुन्छ । त्यस्तै पुस्तक पढ्ने सल्लाह दिन्छु । उदाहरणका लागि, माइकल गोल्डम्यानको ‘इम्पेलियल नेचर’ जस्तो एथ्नोग्राफिक कार्य पढिनुपर्‍यो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको एथ्नोग्राफीमा आधारित यस पुस्तकले ज्ञानको अर्थराजनीतिमा फसेको विकासको खाका प्रारम्भदेखि नै असफल हुने किसिमले कोरिएकोले विकासोन्मुख राष्ट्रहरूको हितमा छैन भन्छ । नेपालबारे अनुसन्धान गर्ने विदेशी अध्येताले यस्तो किसिमको शोधकार्य गर्ने आँट गरेको देखिँदैन । नेपालका अध्येताहरूमा समेत यस्तो काम गर्ने रुचि देखिएको छैन । विकासको चर्चा गर्दा मार्टिन चौतारीले प्रकाशन गरेको तात्सुरो फुजिकुराको ‘डिस्कोर्सेस अफ अवेरनेस’ मा गोल्डम्यानको भन्दा भिन्न तर्क छ । नेपालमा विकासका अभ्यासले केही हदसम्म काम गरिरहेको तर्क फुजिकुराले प्रभावशाली साथ गरेका छन् । यी दुवै पुस्तक नेपाली भाषामा अनुवाद गर्न सके अहिले भइरहेको विकास–समृद्धिको बहसलाई आलोचनात्मक तवरबाट हेर्न ठूलो सहयोग पुग्छ ।


नेपालीमा कस्ता पुस्तक लेखिनुपर्ला ? कस्ता लेखिएकै छैनन् ? कारण के हुन सक्छन् ?

काम गर्ने विषय धेरै छन् । जुन क्षेत्रमा काम भए पनि मूल कुरा हाम्रो स्थापित वैचारिकीका सीमाहरू औंल्याउन सक्ने पुस्तक लेखिनुपर्छ । नेपाली र नेपालका अन्य भाषामा शोधमूलक पुस्तकको ठूलो खडेरी छ । नलेखिएका पुस्तकका सूची धेरै लामो हुन्छ । उदाहरणका लागि, नेपालको प्राकृतिक सौन्दर्यबारे धेरै गुनगान हुन्छ । तर, पर्यावरणसँग जोडर हाम्रो बसोबासको इतिहास खासै लेखिएको छैन । त्यसैले हामीलाई हिमाली, पहाडी वा मधेसी बसोबासको संस्कृति, त्यहाँको जनजीवनको आर्थिक प्रणाली र उत्पादनमा आएको फेरबदल, श्रम र प्रविधिको अभ्यासमा भइरहेको तीव्र परिवर्तन, यी पक्षहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता नभएको राज्य आदिबारे हुनुपर्ने जति ज्ञान छैन । त्यस्तै काठमाडौँको वैभव, यहाँको कला–सम्पदा वरिपरि जे जस्तो सामाजिक–सांस्कृतिक काम हुन सक्थ्यो, त्यस्तो काम नेपाली वा अंग्रेजीमा नगन्य छ । नेवार भाषामा के–कति त्यस्तो काम उपलब्ध छ, मलाई थाहा भएन । अरू पनि धेरै विषय छन् ।यस्ता किताब नलेखिनुका धेरै कारण हुन सक्छन् । एउटा प्रमुख कारण आजका जनप्रतिनिधिहरू हिजोका राणाकालीन शासककै शैलीमा नेपाली श्रम विश्व बजारमा बेच्न आतुर हुनु हो । हाम्रो शासकीय मनोवृत्तिमा तात्त्विक सुधार आएको छैन । त्यसैले ज्ञानको क्षेत्रमा राज्यको लगानी बढाउँदै मानवीय क्षमतामा सुधार ल्याउन जनप्रतिनिधहरूमा कुनै सोच छैन । अनुसन्धानमा लगानी गर्ने चाहना त झन् छैन । त्यसैले अभावबीच शोधकार्य भइरहेको छ । यो क्षेत्रको प्रवर्द्धन गर्न जनप्रतिनिधहरू जति छिटो संवेदनशील हुन सके त्यति राम्रो ।


किताब छान्ने कसरी ? आफ्नो अनुभव ?

मूलतः अनुसन्धानको आवश्यकताले नै किताब छानिन्छ । मलाई विभिन्न विषयमा एकैपटक रुचि भइरहने हुनाले मेरो पढ्ने क्षेत्र फराकिलो छ । हाल म धार्मिक अभ्यास र दर्शन, पर्यावरण र मानवीय समाज तथा मार्क्सवादी पठन संस्कृतिबारे काम गर्दै छु । यिनै विषयको किताब छान्छु ।


नेपाली समाज–इतिहासमाथि लेखिएका किताबका अति कमजोर पक्ष के होलान् ?

अपवादबाहेक इतिहास लेखन कालक्रम र वंशावली वरिपरि केन्द्रित भयो । इतिहासलेखन हिरो खोज्न र वीरगाथामै रुमल्लियो । वैकल्पिक इतिहास लेख्छु भन्नेहरू ‘हिजोका नायकलाई आज खलनायक’ बनाउने घात–प्रतिघातको खाकामै अल्झिए । कुनै पनि कालखण्डमा ऐतिहासिक अवस्थाको सामाजिक थिति तथा वैचारिक अवधारणासँग घर्श्रण चलिरहन्छ । यस्तो प्रक्रियाले आममानिसको जीवन र संघर्षलाई अनेकौं किसिमले प्रभावित पारिरहेको हुन्छ । तर, वीरगाथा, वंशावली र कालक्रममा केन्द्रित विधिले सर्वसाधारणको संर्घष, मानवीय अवस्था र सामाजिक जनजीवनलाई राम्ररी समेट्न सक्दैन । समाज–इतिहासमाथि लेखिएका पुस्तक यहीँ चुकिरहेका छन् ।


पठनले केलाई सघाउँछ ?

मेरा लागि पढ्नु समतामूलक र न्यायप्रधान समाज निर्माणार्थ ज्ञान आर्जन गर्न सहयोग पुर्‍याउनु हो । सामूहिक स्वतन्त्रता सम्भव रहेकाले त्यस्तो सम्भावनालाई वैचारिक रूपमा जीवित राख्नु र व्यावहारिक रूपमा त्यस्तो जीवनपद्धतिको खोजलाई सघाउनु हो ।


पढेमध्ये ॅबेस्ट बुक’ कुन लाग्छ ?

एउटै बेस्ट भन्ने छैन । थिएन पनि । समय, अवस्था र आवश्यकतासँगै मन पर्ने लेख र कृतिहरू परिवर्तन हुन्छन् । तथापि मलाई अल्बर्ट कामु, जँन बर्जर, युआर आनन्थमुर्थी र महाश्वेता देवीका केही कृति मन पर्छन् ।


हुर्कंदै गर्दा घर वा स्कुलको पुस्तकालयमा कस्ता खाले किताब थिए ?

घरमा संस्कृत वाङ्मय र ज्यातिषका केही पुस्तक थिए । स्कुलको पुस्तकालय राम्रै थियो । तर, विश्व इतिहास, अंग्रेजीका केही जासुसी उपन्यासबाट म छिट्टै नेपाली साहित्यतर्फ लागेँ । त्यसबेला पढेकामध्ये मलाई गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, बालकृष्ण समको ‘नियमित आकस्मिकता’ र दौलतबिक्रम विष्टको ‘चपाइएका अनुहार’ मन परे ।


किताब छान्न पूर्वअध्ययनले कत्तिको काम गर्छ ?

धेरै काम गर्छ । धेरै पढाइ अध्ययनको सिलसिलामा हुने भएकाले काम गर्नुपूर्व लाइब्रेरी रिचर्स गर्ने, त्यो विषयको दायराको मेसो पाउने, आधारभूत पुस्तक ठम्याउने र त्यसैअनुसार पुस्तक छान्ने गर्छु ।


स्कुल वा क्याम्पसका सुरुआती दिनमा पढेका कस्ता किताब जीवनमा उपयोगी भए ?

ती दिनहरूमा म हिन्दी र रुसी साहित्यतर्फ तानिएँ । मेरा मित्र उत्पल सुधांशुको घरमा अंग्रेजी र हिन्दी साहित्यका पुस्तक थिए । सम्भवतः हिन्दी साहित्यले रचेको परिवेश सहजै बुझ्ने भएकाले म सुरुदेखि त्यसतर्फ तानिएँ । त्यसबेला मैले शरदचन्द्र चट्टोपाध्यायका प्रायः पुस्तक, फणिश्वरनाथ रेणु र निर्मल बर्माका रचना पढेँ । लक्ष्मीप्रसाद देवकोटाका कविताहरूसँगै अज्ञेय, सूर्यकान्त त्रिपाठी ‘निराला’ र जजानन माधव मुक्तिबोधका कविताहरू रुचाएँ । कनीकुथी मिर्जा गालिब, फैज अहमद फैद र साहिर लुधियानभीका रचनाहरू पढेँ । रुसी साहित्यमा टोल्स्टोय कनेर पढियो भने एन्टोन चेखोव र फ्योदोर दोस्तोयभ्स्की रुचिसाथ पढेँ । त्यो समयको पढाइले मूलतः दुइटा कुरा उपयोगी भयोजस्तो लाग्छ । पहिलो, केही लेखपढ गर्ने लत बसेकाले भाषामा रस बस्यो । लेखपढ जीविकाको माध्यमसमेत बन्ने आधार तयार हुँदै गयो । दोस्रो, मानवीय जीवनको सीमा र क्षणभंगुरता बुझ्ने कार्य पढाइबाटै प्रारम्भ भयो । पछि दार्शनसम्बन्धी केही कृति पढेपछि, संसार नै हासिल गरे पनि त्यो कुनै समयको क्षणिक कहानी मात्र हुनेछ भन्ने जीवनदृष्टिले ममा त्यहीँ बेलादेखि घर बसायो ।


तपाईंसँग कति किताब छन् घरमा ? तीमध्ये प्रिय पाँचको लिस्ट?

खोइ यकिन भएन । अनुसन्धानका लागि काम चलाउने सानो पुस्तकालयजस्तो संग्रह छ भनौँ । त्यो पनि संग्रह गर्ने रहरबाट जन्मिएको होइन । लेखपढ गर्ने कार्यसँगै बन्दै गयो । पाँचओटा पुस्तकको नाम लिनुपर्दा पिएरे जोसेप प्रोधोनको ‘वाट इज प्रोपर्टी’, कार्ल मार्क्सको ‘इकोनोमिक एन्ड फिलोसोफिक मेनुस्क्रिट्स अफ १८४४,’ जेक रान्सियरको ‘डिस्एरिमेन्ट : पोलिक्टिस एन्ड फिलोसोफी’, पिएरे क्लेस्ट्रर्सको ‘सोसाइटी एगेन्स्ट द स्टेट’ र डेभिड ग्रेबरको ‘डेट : द फ्रस्ट ५००० इयर्स’ को नाम लिन्छु ।

लेखन–अनुसन्धानमा बेहोर्नुपरेको प्रमुख अप्ठेरो के हो ?

अनुसन्धानमा मलाई प्रत्यूष वन्तले डोर्‍याउनुभएको हो । उहाँको छत्रछायामा आफूलाई हुर्काउने अवसर पाएकाले मैले धेरै अप्ठेरो बेहोर्नुपरेन । साहित्यको पठनपाठनबाट समाजविज्ञानतर्फको फड्को मात्र मार्नुपर्‍यो । के काम गर्ने, शोधकार्यका लागि कस्तो विधि अपनाउने, विषयअनुसार के कसरी पढ्ने–लेख्ने आदि कुराहरू उहाँसँग काम गर्दागर्दै त्यही प्रक्रियामा सिकियो । सबैलाई यस्तो अवसर नजुर्ने भएकाले मैले लेखन–अनुसन्धानमा जे–जति सिकेँ, त्यसका लागि उहाँप्रति कृतकृत्य छु । उहाँको अभिभावकत्वमा धेरै कुरा सहज हुँदाहुँदै पनि अध्ययन–अनुसन्धानको समग्र अवस्था टीठलाग्दो छ । दीर्घकालीन सोचसहित लगानी गर्ने नीति राज्यले लिएको छैन । स्रोत–साधनको ठूलो अभाव र अनुसन्धानमुखी पूर्वाधारको कमी छ । नेपाली प्राज्ञिक जगत्मा रहेको रचनात्मक शून्य काल्पनिकीले ज्ञानकर्मको वातावरण अपेक्षाकृत चाखलाग्दो छैन । न ज्ञानको माग हुने न खपत हुने पर्यावरणमा हामी बाँचेका छौँ । त्यसैले सदैव अप्ठेरो परिस्थितिमा काम गरिरहनुपरेको छ ।

प्रकाशित : माघ १८, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

संवेदनशील दस्तावेज 

नेपालको परराष्ट्र सम्बन्धमा काम गरेका मानिसमाथि लेखिएको हुनाले यस किताबलाई ‘परराष्ट्रका पात्र’ भनिएको छ, र यसमा नेपालको परराष्ट्र सम्बन्धको इतिहासको विकासक्रम पनि पढ्न पाइन्छ ।
डा. जयराज आचार्य

काठमाडौँ — पूर्वपरराष्ट्र सचिव तथा राजदूत डा. मदनकुमार भट्टराई लिखित ‘परराष्ट्रका पात्र’ किताबमा सुरुमै एउटा इन्कारनामा छ, ‘शैक्षिक पृष्ठभूमिले मेरा दुई उपाधि अन्तर्राष्ट्रिय सम्बन्धसँग गाँसिए पनि यो पुस्तक अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास होइन । कूटनीतिक सेवामा झन्डै चार दशक आबद्ध रहे तापनि यो नेपालको परराष्ट्र नीतिको समष्टिगत निचोड पनि होइन ।

मैले कहिले विज्ञान, कहिले कानुन, कहिले शिक्षाशास्त्र, कहिले जनप्रशासन, कहिले राजनीतिशास्त्र र अन्त्यमा अन्तर्राष्ट्रिय सम्बन्धबारे पढेँ । त्यसैले एकै विधामा सुरुदेखि नै जग हालेर अध्ययन नगरेको व्यक्तिबाट वस्तुगत वा अपेक्षित परिणाम नआए पाठकले आश्चर्य मान्नुपर्दैन । मैले जे लेख्ने जमर्को गरे पनि मेरो शैक्षिक पृष्ठभूमिका कारण यो पुस्तक खिचडीजस्तो बन्यो कि भन्ने पनि लागेको छ ।’

तर, लेखकले यसो भने पनि किताब निकै चाखलाग्दो र संग्रहणीय छ । नेपालको परराष्ट्र सम्बन्धमा काम गरेका मानिसबारे लेखिएको हुनाले यस किताबलाई ‘परराष्ट्रका पात्र’ भनिएको छ, र यसमा नेपालको परराष्ट्र सम्बन्धको इतिहासको विकासक्रम पनि पढ्न पाइन्छ । नेपालको परराष्ट्र मामिला उहिले जैसीकोठामार्फत हेरिन्थ्यो भने त्यसपछि मुन्सीखानामार्फत । २००७ सालपछि मात्र यस मामिला हेर्ने अड्डाको नाम परराष्ट्र मन्त्रालय भएको हो । परराष्ट्रका ‘पात्र’ पढ्दा ती पात्रको ‘पृष्ठभूमि’ र ‘प्रवृत्ति’ बारे पनि रोचक जानकारी मिल्छ ।

किताबमा डा. भट्टराईले नेपालको परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्रीलगायत आजसम्मका परराष्ट्रमन्त्रीहरूको सविस्तार जानकारीमूलक परिचय दिएका छन् । उनीहरूमध्ये कतिपयको खासगरी केशरशमशेर, बहादुरशमशेर, कृष्णशमशेर, विजयशमशेर, शारदाशमशेर आदिको त तीनपुस्ते, चारपुस्तेसम्म नालीबेली खुलाइएको छ । कोइरालाहरू र तिनका अर्जेल, आचार्य, दीक्षितसितको सम्बन्ध र राजनीतिक नालीबेली पनि यस किताबमा उल्लेख गरिएको छ । विगतमा नेपालको परराष्ट्र सेवाको कुन पदमा को, कसरी र किन पुगेछन् भन्ने थोरबहुत जानकारी पनि मिल्छ । २००७ सालको परिवर्तनअघि र केहीपछिसम्म पनि सरकारी जागिर पाउनेहरू शासकवर्गको नातेदार या प्रिय पात्र नै हुन्थे ।

२०१३ सालमा निजामती सेवा नियमावली बनेपछि मात्रै त्यसबाहेककाले लोक सेवा आयोगको जाँच पास गरी सरकारी जागिरमा प्रवेश गर्न पाउने भएको कुरा पनि पुस्तकमा उल्लेख छ । नेपाली राजनीति र कूटनीतिका केही प्रमुख हस्ती बीपी कोइराला, सूर्यप्रसाद उपाध्याय, हृषीकेश शाह र गिरिजाप्रसाद कोइरालाबारे छुट्टै अध्याय नै छ किताबमा, जुन सटीक, सन्तुलित र विश्लेषणात्मक दृष्टिले न्यायोचित देखिन्छ । जसमध्ये गिरिजाप्रसाद कोइरालाबारे गरिएको पेचिलो टिप्पणी निकै विचारोत्तेजक र मननयोग्य छ ।

लेखकका अनुसार, पटकपटक पार्टीभित्र र बाहिर विवादमा आउने गिरिजाबाबुप्रति आम रूपमा गरिने मूल्यांकन सन्तुलित देखिँदैन । कांग्रेस पार्टीभित्रै पनि उनका अत्यधिक प्रशंसक रहे भने उत्तिकै आलोचक पनि । लेखक भन्छन्, ‘नेपालमा ‘बेबी किङ’ को अवधारणा उनको थियो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र घोषित हुनुमा पनि उनको नेतृत्व महत्त्वपूर्ण रह्यो । तसर्थ गिरिजाप्रसाद नेपालको लामो द्वन्द्वपूर्ण राजनीतिक संक्रमणका समाधानका माध्यम हुन् वा उनी स्वयम् समस्याको एउटा अंगका रूपमा रहे ? यसबारे भविष्यले मूल्यांकन गर्ने नै छ भन्ने अपेक्षा राखौं ।’ (पृ. २१६) ।

डा. भटराईको यो भनाइ बडो महत्त्वपूर्ण छ । गणतान्त्रिक नेपाल आर्थिक–सामाजिक विकास गरेर सुदृढ र समुन्नत राष्ट्र बन्न सक्यो भने गिरिजाप्रसादले जस पाउनेछन्, तर त्यो जस पनि अरू धेरैले दाबी गर्नेछन् । नेपाल अस्थिर र अन्तर्राष्ट्रिय शक्तिहरूको क्रीडाभूमि हुन गयो भने गिरिजाप्रसादले अपजस पाउनेछन् । राम्रोको जस आफूले लिने र नराम्रोको अपजस अरूमाथि थोपर्ने मानवीय स्वभाव हुन्छ । विश्वभरि नै ऐतिहासिक पात्रहरू यही नियतिको सिकार भएका छन्— उदाहरणका लागि जुलियस सिजर, पृथ्वीनारायण शाह, भीमसेन थापा, जंगबहादुर र राजा महेन्द्र ।

किताबको महत्त्वपूर्ण अंशमध्ये एकमा लेखिएको छ, ‘त्यसबेला परराष्ट्र मन्त्रालयको वास्तविक अधिकारको प्रयोग शक्तिशाली एवं दिमाग भएको भनिएका परराष्ट्र सचिवबाट हुन्थ्यो । यसको रेखदेख र सुपरिवेक्षण राजदरबारको सचिवालयले गर्थ्यो । ... यदाकदा दुई शक्तिशाली व्यक्ति र संस्थाबीच मतभिन्नता देखिएको खण्डमा त्यसको निरूपण प्रधानमन्त्रीसमेतको उपस्थितिमा मन्त्री वा आवश्यक परे राजा सामुन्ने पनि पुर्‍याई गरिने प्रचलन थियो ।’ (पृ. २४३) ।

मैले सुनेको कुरा यतिखेर उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । एक दिन तत्कालीन परराष्ट्र सचिव खनाल र तत्कालीन प्रधानमन्त्री कीर्तिर्िनधि विष्टलाई राजा महेन्द्रले डिनर खान दरबारमा बोलाए । डिनरपछि राजाले भने, ‘खनालजी, यो भारतीय सैनिक सल्लाहकार टोली र हाम्रो उत्तरी सीमामा रहेका भारतीय चेकपोस्ट हटाउनुपर्‍यो भनेर तपाईं एउटा भाषण लेख्नोस्, म पढ्छु । ती यहाँ बसेको सत्र वर्ष भइसक्यो, अब ती फिर्ता जानुपर्छ ।’ त्यो सुनेर खनालले भने, ‘तर, यो एउटा डिप्लोम्याटिक मिसफायर हुन सक्छ । सरकारले भनेको कुरा भारतले मानिदियो भने त हिरो भइन्छ, मानेन भने कता जाने नि ?’ अनि राजाले भने, ‘ओहो, मैले यस्तो सोचेको थिइनँ, त्यसो भए यिनले पढ्छन्’ भनेर उनले कीर्तिनिधि विष्टलाई औँल्याए । अनि फेरि खनालले भने, ‘भाषण नगरौं सरकार । सबै विषय समावेश गरेर एउटा अन्तर्वार्ताजस्तो छापौं र हेरौं भारतको कस्तो प्रतिक्रिया हुन्छ । यसबाट दुइ देशबीव तनाव बढ्नेजस्तो देखिन थाल्यो भने हामीमध्ये कोही एकले जागिरबाट हात धुनुपर्ने पनि हुन सक्छ ।’ ‘ठीक छ, त्यसै गरौं त’ भन्ने कुरा भयो । अनि राजाले भने, ‘यो कुरा हामी तीन जनालाई मात्र थाहा होस्, गेहेन्द्रबहादुर राजभण्डारीलाई पनि नभन्नुहोला ।’ राजभण्डारी त्यतिखेर परराष्ट्रमन्त्री थिए । अनि खनालले घर गएर अन्तर्वार्ता टाइप गरे । त्यो छोटो तर सबै गम्भीर कुरा भएको अन्तर्वार्ता कीर्तिर्िनधि विष्टको नामबाट ‘द राइजिङ नेपाल’ मा छापियो (जुन २४, १९६९) ।

छापिएको एक–दुई दिन त त्यो अन्तर्वार्ता नदेखेजस्तो गर्‍यो काठमाडौंस्थित भारतीय दूतावासले । तर, तीन दिनपछि तत्कालीन भारतीय राजदूत राजबहादुर सिंहदरबार आएर यदुनाथ खनाललाई भेटे र भने, ‘भाषा त जम्मै तिम्रैजस्तो छ नि ?’ अन्ततोगत्वा दिल्लीमा भएको वार्ताबाट भारतीय सैनिक सल्लाहकार टोली र नेपालको उत्तरी सीमामा रहेका भारतीय चेकपोस्ट हटाउने सहमति भयो र ती हटे । यसरी खनालले खेलेको भूमिकालाई राजा महेन्द्रले मात्र होइन, तत्कालीन भारतका विदेश सचिव टीएन कौलजस्ता दिग्गज कूटनीतिज्ञहरूले पनि मानेका थिए (हेर्नुस् यसै किताबको पृ. १७२) । भारत, चीन र अमेरिकामा राजदूत तथा दुईपटक परराष्ट्र सचिव भई यति सफल कूटनीतिक भूमिका निर्वाह गरेका खासगरी नेपाल–भारत सम्बन्धका भुक्तभोगी खनाल भन्थे, ‘नेपालले आन्तरिक रूपमा आर्थिक–सामाजिक विकास नगरे ऊ आफ्नो परराष्ट्र सम्बन्धमा या कूटनीतिमा मात्र सफल हुन सक्तैन ।’

हालको सन्दर्भमा नेपाल–भारत सम्बन्धमा कालापानी–लिपुलेक र सुस्तालगायत प्रबुद्ध व्यक्तिले बनाएको रिपोर्टका साथै सन् १९५० को सन्धि र बीआरआई तथा एमसीसीजस्ता गम्भीर विषयहरू उठिरहेको हुनाले नेपालले कुन तहमा कस्तो कूटनीति अँगाल्नुपर्छ भन्नेतर्फ पनि मनन गराउन पुस्तक सफल छ । किताबमा नामानुक्रमणिका (इन्डेक्स) पनि भइदिएको भए अझ राम्रो हुनेथियो । सम्बन्धित पादटिप्पणी मूल पाठ जहाँ छ, उही पेजमा दिँदा पाठकलाई पढ्न सजिलो हुने थियो । केही महत्त्वपूर्ण विषयमा नाम उल्लेख नहुँदा कौतूहल नमेटिने अवस्था छ । जस्तो कि पृष्ठ २४२–२४३ मा डा. भट्टराई लेख्छन्, ‘एक पूर्वप्रशासकको भनाइमा सन् १९६० को परिवर्तनपछि देशले अवलम्बन गरेको राजनीति र मुलुकको संवेदनशील स्थितिलाई प्रतिविम्बित गर्दै सरकारका उच्च प्रशासकहरूलाई बोलाई राजा महेन्द्रले ‘मलाई तिमीहरूको बुद्धि धेरै चाहिन्न, तिमीहरूले आफ्नो कार्यसम्पादनमा केवल इमानदारी, निष्पक्षता र विवेक प्रयोग गर ।

सरकारी कार्यमा गोप्यता जुनसुकै हालतमा पनि कायम गर’ भनी स्पष्ट निर्देशन दिएका थिए ।’ त्यो ‘एक पूर्वप्रशासक’ को थिए ? खुल्दुली रहिरहन्छ । साथै यो कुरा जनप्रशासनको सिद्धान्तसम्बन्धी एउटा गम्भीर विषय हो । यसबारे छुट्टै लेख आवश्यक छ ।

प्रकाशित : माघ १८, २०७६ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×