मुन्दुम : लयको महासागर- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुन्दुम : लयको महासागर

किरात राई समुदायभित्र मात्र मुन्दुम गायन गर्ने चार–पाँच सय धामी र रिसिमी होलान् । भन्नुको अर्थ अहिलेसम्म करिब पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन, नेपाली समाज र संगीतका लागि ।
भोगीराज चाम्लिङ

सांगीतिक क्षेत्रमा एउटा ठट्टा खुबै प्रचलित रहेछ, ‘किरात राई समुदायको कुनै गायक–गायिका भेटियो भने उसलाई कुन जिल्लाको भनेर नसोध्नू । बरु सीधै सोध्नू— खोटाङ कुन ठाउँको हो ?’ हुन पनि हो, ‘राई इज किङ’ अर्थात् राजेशपायल राईदेखि अहिलेकी ‘हिट’ गायिका मेलिना राईसम्म खोटाङकै हुन् ।

किन किराती समुदाय संगीतमा यसरी अगाडि आइरहेको छ ? संगीत क्षेत्रमा किन उनीहरूको उपस्थिति बाक्लो छ ? यसका थुप्रै कारण होलान् तर एउटा हो— किराती समुदाय मुन्दुम परम्परामा हुर्किएको हुनाले संगीतसँग उनीहरूको जन्मजात लगाब ।
किरात राई मात्र नभएर सिङ्गै किराती समाजमा संस्कार गर्दाका बखत नछुङ (धामी) र रिसिमीहरूले मुन्दुम गायन गर्छन् । हजारौं वर्षदेखि उनीहरूको जीवनको अभिन्न पक्ष भएर अहिलेसम्म निरन्तर छ मुन्दुम गायन । त्यसकारण मुन्दुमको लय सुन्दै हुर्किएका किरातीहरू गीत–संगीतमा आएनन् भनेचाहिँ आश्चर्यको कुरा हुन्छ । उनीहरू साहित्यमा, अभिनयमा, ललितकला इत्यादिमा आएनन् भनेचाहिँ आश्चर्य हुन्छ । उनीहरूले नयाँ सिद्धान्त निर्माणको कुरा गरेनन् भनेचाहिँ आश्चर्य हुन्छ ।

मेरो विचारमा किराती संगीतलाई दुई भागमा विभाजन गर्न सकिन्छ— मुन्दुमी र लोकगीत । मुन्दुम समग्र किरातीहरूमा प्रचलित आदिम संस्कारगीत हो । किराती लोकगीत–संगीतको बीउ मुन्दुम नै हो । यसका थुप्रैमध्ये चार मौलिक विशेषता निम्न बुँदामा समेट्न सकिन्छ : एक, नछुङ (धामी) अथवा संस्कार गर्ने व्यक्ति मात्र मुन्दुमको गायक हुन्छ । आम सर्वसाधारणले मुन्दुम गाउनु हुँदैन, हानि गर्छ भन्ने मान्यता छ । तर, धामीहरू किराती समाजका मुन्दुमी गायक मात्र होइनन्, आदिम समाजले विकास गरेको बौद्धिक पनि हुन् । उनीहरू गायक पनि हुन्, व्याख्याता पनि हुन् ।

दुई, मुन्दुम गायनको लयमा विविधता छ । २०६८ सालदेखि मुन्दुम संकलन र अध्ययन गर्दाको मेरो अनुभवले भन्छ, मुन्दुम गायन गर्ने लयमा विविधता मात्रै होइन, ज्यादै धेरै विविधता छ । जति छन् धामीहरू, त्यतिथरी नै छ लय पनि । त्यसैले गीत–संगीतको आँखाबाट हेर्दा मुन्दुम भनेको लयको महासागर हो । मुन्दुमी लयको विविधता एक धामी र अर्को धामी अथवा एक रिसिमी र अर्को रिसिमीबीच मात्रै छैन, एउटा संस्कार र अर्को संस्कारबीच पनि छ । त्यही धामीले एउटा संस्कार गर्दा एउटा लयमा मुन्दुम गायन गर्छ, त्यही धामीले अर्को संस्कार गर्दा अर्को लयमा मुन्दुम गायन गर्छ । किरात राई समुदायभित्र मात्र चार–पाँच सय हाराहारीमा मुन्दुम गायन गर्ने धामी र रिसिमीहरू होलान् । भन्नुको अर्थ अहिलेसम्म पनि चार–पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन नेपाली समाज र संगीतका लागि ।

अर्को महत्त्वपूर्ण कुरा, धामीहरूले चिन्ता बस्दा सबैभन्दा पहिला एउटा आवाज निकाल्छन्— सुइऽऽऽ । यो अर्थबिनाको ध्वनि मात्र हो । तर, मलाई लागेको चाहिँ के भने यो आदिम ध्वनि हो जुन सिकार खेल्दा अथवा सामूहिक संकेत गर्नुपर्दा प्रयोग हुन्थ्यो । अहिले पनि सिकारी र फिरन्ते जीवनमै रहेका राउटेहरूले सिकार गर्नुपर्दा यस्ता सांकेतिक ध्वनि निकाल्ने गरेको पाइन्छ जो । यसरी हेर्दा मुन्दुम भनेको सिकारी युगका ध्वनिदेखि कृषियुगसम्मका शब्द–संगीतको मौखिक संग्रह हो ।

मान्छेहरूले यसरी गाउन सक्ने भएको कहिलेदेखि होला ? वैज्ञानिकहरूका अनुसार हाम्रो नाक चुच्चो भएर माथि उठेको १५ लाख वर्ष भयो । भन्नुको अर्थ गाउनका लागि चाहिने श्वासप्रश्वास प्रणालीको विकास १५ लाख वर्षपहिले भयो । त्यो बेला हाम्रा पुर्खाहरूले गीत गाए कि गाएनन्, त्यो आफ्नो ठाउँमा छ तर गायनका लागि अनुकूल शारीरिक विकास भने १५ लाख वर्ष पुरानो हो । आवाज र बोलीको विकास गर्नु मानवजातिका लागि धेरै ठूलो उपलब्धि थियो (द ओरिजिन अफ म्युजिक, सम्पादक निल्स डब्ल्यू वालिन, बिजोर्न मर्कर एन्ड स्टेभन ब्राउन) जसको उपज हो अहिलेको मानवजातिको सवर्तोमुखी उच्चत्तम विकास ।

मानवशास्त्रीहरू के अनुमान गर्छन् भने मान्छेले लगभग ४ लाख वर्षपहिले अथवा अझ अगाडि नै प्रारम्भिक स्वरूपको संगीतको विकास गरे । चार–पाँच लाख वर्षपहिले नै मानव पुर्खाहरूको मस्तिष्कको आकार बढिसकेको थियो र त्योसँगै संवेगात्मक क्षमता पनि विकास भएको थियो । सम्भवतः त्यसबखत मान्छेले शारीरिक हाउभाउ मात्र होइन, आफ्नो भावना अभिव्यक्त गर्न आवाजको पनि प्रयोग गर्न थालेको थियो (एन्टोन किल्लिन, ‘द ओरिजिन अफ म्युजिक’, सन् २०१८) । संगीतको विकास लाखौं वर्ष र हजारौं पुस्ताको सिर्जनात्मक देन हो । सामूहिक श्रमको उपज हो । किनभने, आदिम समयमा संगीत मनोरञ्जनभन्दा आवश्यकता थियो ।

कामलाई अझ बढी उत्पादनशील बनाउन पुर्खाहरूले धुनको विकास गरेका थिए (मार्क्सवाद र संगीत, अनुवाद निनु चापागाई, २०६७) । त्यो पछि गएर समाज र संस्कार–संस्कृतिको अभिन्न अंग बन्न पुग्यो जसको प्रत्यक्ष साक्ष्य हो मुन्दुम । तीन, मुन्दुमी संगीत संस्कारसँग अभिन्न रूपमा सम्बद्ध रहेको छ । जन्मदेखि मृत्युसम्म हरेक संस्कार र संस्कृतिमा नछुङ (धामी) हरूले मुन्दुम गाउने गर्छन् । संस्कारसँग नजोडिएको भए सायद मुन्दुमी संगीत बाँकी रहने थिएन । फेरि मुन्दुम नजोडिएको भए संस्कार पनि जीवन्त हुने थिएन ।

चार, मुन्दुम गायन गर्दा एकै खालको मात्र धुन निस्कने बाजा प्रयोग हुन्छ । मुन्दुम गाउँदा प्रयोग हुने बाजा भनेको मूलतः ढोल, थाल, झ्याम्टा र घण्टी हो । जसरी सारंगीको तार रेट्दा थरीथरी धुन पैदा हुन्छ, मुन्दुम गायन गर्दा बजाइने यी बाजाबाट त्यस्तो विविध धुन पैदा हुँदैन । यी बाजाका लयका आधारमा धामी या आम किरातीहरूले नृत्य गर्ने गर्छन् जसलाई सिली टिप्नु, सिली गर्नु भनिन्छ । त्यस्तै गरेर पात बजाउने प्रचलन पनि किरात राई जातिमा ज्यादै धेरै छ । रूखका चिल्लो पात ओठमा च्यापेर निकालिने धुनले किरात राई बस्तीका रनवन घन्किरहेको हुन्छ । सम्भवतः सिकारी जीवनमा छँदाको बखत प्रयोग सुरु भएको आदिम बाजा हुनुपर्छ पात ।

पुरातत्त्वविद्हरू अनुमान गर्छन् कि हातको ताली नै पहिलो बाजा हो । त्यस्तै लाठी जुधाएर आउने आवाज, ढुंगा बजाएर आउने आवाज नै प्रारम्भिक बाजा र संगीतका ध्वनि हुन् । त्यसपछि मानवले प्रयोग गरेको संगीतको साधन भनेको पशुपन्छीहरूको हाड हो । सायद त्यसैको झल्को आजकलका धामीहरूले चलाउने सामग्रीमा देख्न सकिन्छ । उनीहरूले पशुपन्छीका हाड आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्ने गर्छन् । चिन्ताहरू गर्दा उनीहरूले यस्तो हाड थानमा राख्ने गर्छन् र कतिपय संस्कारमा बजाउने पनि गर्छन् । त्यस्तै अर्नाको सिङ पनि किरात राई धामीहरूले प्रयोग गर्ने अर्को बाजा हो जसले प्राग्ऐतिहासिक समयको झल्को गराउँछ ।

उत्तर अमेरिकाका सिकारी जीवन बिताइरहेका एउटा जातिको अध्ययनले के देखाएको छ भने उनीहरूका बाजाबाट एक प्रकारको मात्र आवाज आउने गर्छ जसमा ठोक्दा बज्ने ढोल, घर्षण गर्दा बज्ने बाजा अनि गोरुको सिङजस्तो बाजाहरू पाइएका छन् । उनीहरूको ढोल छालाले मोहरेर बनाइएको हुन्छ । काठका लठ्ठीहरू जुधाएर आवाज निकालिन्छ । किरातीहरूले अहिले प्रयोग गर्ने बाजाहरू पनि यस्तै छन् । उनीहरू संस्कार गर्दा, सामाजिक नृत्यहरू गर्दा, युद्धका नृत्य गर्दा संगीत बजाउने गर्छन् । उनीहरूका शब्दभन्दा ध्वनि मात्र निकाल्छन् । र, त्यस्तै सांकेतिक नृत्य गर्छन् । जस्तो कि किरात राईहरूको साकेला र लिम्बूहरूको केलाङ नृत्य । समाजका सबैभन्दा जान्ने मान्छेले गीत गाउँछ अथवा जसले गीत गाउँछ उसलाई सबैभन्दा धेरै ज्ञानी मानिन्छ ।

जस्तो कि किराती धामीहरू । उनीहरूले गीतमा आफ्नो अलिखित इतिहास, सामाजिक नियमका कुराहरू गर्छन् । आत्मिक कुरा, आफ्नो थातथलो र प्रकृतिप्रेमका कुराहरू गर्छन् । बिरामी निको पार्ने, रोग हटाउने कुराहरू गर्छन् । जस्तो कि किराती मुन्दुम । यो सानो तुलनाले पनि किरातीहरूको मुन्दुमको लय र बाजाहरूको आदिमता आकलन गर्न सकिन्छ ।

आजसम्म मानवजातिले विकास गरेको संगीतबारे अध्ययन गरेका विद्वान् विलियम एल बेन्जोन समग्र संगीतलाई तीन चरणमा विभाजन गरेर हेर्छन् । उनी के भन्छन् भने प्रथम चरणको संगीतमा ताल या लयमा नियन्त्रण गरेर धुन निकालिन्थ्यो । यो भनेको भाषाको विकास भएको लगभग एक लाख वर्षदेखि लेखनकलाको विकास नभएसम्मको अवधि थियो । सायद यही अवधिको बाजा हो अहिले प्रचलित किराती धामीको ढोल ।

दोस्रो चरण थियो रागमा आधारित संगीतको । यो भनेको लेखनकला र सहरको विकास अनि कृषि गरेर स्थायी बसोबास गरिसकेपछिको अवधिको संगीत हो । यो अवधिमा विकास गरिएका किराती बाजाहरू हुन् थाल, झ्याम्टा र घण्टी । अनि तेस्रो चरणचाहिँ औद्योगिक क्रान्तिपछिको अवधि हो जुन ताल र रागलाई एकताबद्ध गरेर विकास भयो (‘स्टेजेज इन द इभोलुसन अफ म्युजिक’, सन् १९९३) ।

मुन्दुमचाहिँ ताल या लयमा नियन्त्रण गरेर गायन गरिने प्रथम चरणको संस्कारगीत हो । यसमा रागको कुरा हुँदैन । बरु यसमा दस हजार वर्षअघि खेतीपाती सुरु भएको कागुनी प्रजातिका अन्नहरूको सन्दर्भ खुबै आउँछ । आत्मवाद र पितृपूजाको कुरा महत्त्वपूर्ण विषयका रूपमा आउँछ । आदिम मानवहरूले विकास गरेको चिन्तन ‘एनिमिजम’ (जीवात्मवाद) को कुरा एकदमै धेरै आउँछ । जुन कुराका आधारमा मुन्दुम र मुन्दुमको लय आदिम हो भन्न सकिन्छ ।

एनिमिजम अर्थात् जीवात्मवादी अवधारणाले पशुपन्छी र प्रकृतिलाई पनि मानवीकरण गर्छ अर्थात् मानवस्व रूपमा परिकल्पना गर्छ । चराचुरुंगीहरू मानवसँग संवाद गर्छन्, मानवका सहयोगी बन्छन् । पशुहरू मानवसँग संवाद गर्छन्, मानवका सहयोगी बन्छन् । यसप्रकारका अनेकौं मुन्दुमी मिथक छन् । जस्तो कि सुम्निमा (नाइमा) का लागि केटा खोज्न जाने लमी चरा थियो । सुम्निमा (नाइमा) गर्भवती हुने बखत पानी खोज्न जाने चराहरू नै थिए । किरात राईहरूले खुबै श्रद्धा गर्ने मातृहरू तयामा र खियामा पनि चरा नै थिए । अन्य पशुप्राणीसँग सम्बन्धित यस्ता मिथकहरू पनि थुप्रै पाइन्छन् तर मुन्दुममा संगीतसँग सम्बन्धित मिथक चराको मात्र पाइन्छ ।
मुन्दुमी मिथकअनुसार आदिम समयमा मान्छे होइन चराहरू धामी थिए । त्यो चराधामीलाई अहिले पनि मुन्दुममा ‘मबुमी कुपुमी’ भनेर पुकार गरिन्छ । खस–नेपाली भाषामा यो भनेको काफलपाक्यो चरा हो ।

मुन्दुमअनुसार त्यही मबुमी कुपुमी (काफलपाक्यो) चराबाट सिकेर मानवहरू धामी बनेका हुन् । र, प्रथम मानवधामी हर्कबुङ थियो । किरात राईहरू हर्कबुङका सन्तान मानिन्छन् । चराहरूलाई प्रथम धामी मान्नुको अर्थ हो— चराहरूबाट गायन कला अनुकरण गर्नु । गायन मात्रै होइन, बाजाका तालहरू पनि चराबाट सिकेको कुरा मुन्दुममा आउँछ । धामीले घरपरिवारको शान्तिसुरक्षा अथवा मृतात्मालाई बाटो लगाउने चिन्ता गर्दा ढोलको एउटा ताल बजाइन्छ जसलाई धोबी ताल भनिन्छ । धोबी चरा भुइँमा जसरी उफ्रिन्छ, कुद्छ त्यही चालको अनुकरण गरेर बजाइने ताल हो धोबी ताल । यसरी किराती गायन र वाद्यवादन दुवै चराबाट धेरै हदसम्म प्रभावित भएको मुन्दुमी मिथकबाट थाहा हुन्छ । पुरातात्विक अध्ययनहरूले पनि यो कुरा तथ्ययुक्त रहेको देखाउँछ ।

आजसम्मको अध्ययनको कुरा गर्दा मानवले प्रयोग गरेको सबैभन्दा पुरानो बाजा ४० हजार वर्ष पुरानो बताइएको छ । र, त्यो बाजा बाँसुरी हो । र, त्यो बाँसुरी चराको नलीहाडबाट बनेको छ जुन जर्मनीमा उत्खननका क्रममा प्राप्त भएको हो । ती बाँसुरी गिद्ध र हाँसका हाडबाट बनाइएका हुन् (एन्टोन किल्लिन, ‘द ओरिजिन अफ म्युजिक’, सन् २०१८) । यस्तै चराकै हाडबाट बनाइएको बाँसुरी जर्मनीकै गेइसेनक्लोस्टेर्ल गुफा र फ्रान्सको इस्तुरिज गुफामा पनि फेला परेको छ जुन ३२ हजार वर्ष पुरानो मानिन्छ (रिचार्ड जी क्लेन एन्ड ब्लेक एडगर, द डन अफ् ह्युमन कल्चर, सन् २००२) ।

बाजाहरूमध्ये सबैभन्दा बढी पाइएको चराका हाडहरूकै हो । पुरातत्त्वविद्हरूले चराबाहेक बाह्रसिंगेको अगाडिको खुट्टाको नलीहाडलगायत पशुहरूका हाडबाट बनेका बाजाहरू पनि फेला पारेका छन्, तर तुलानात्मक रूपमा कम । सायद प्वाल पारेर बाँसुरी बनाउने कलाको विकास गर्नुभन्दा पहिले प्वाल नपारिएका हाड बजाइन्थ्यो जुन किराती धामीहरूले अहिले पनि आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गरिरहेका छन् । चराकै हाडबाट बाँसुरी किन ? सायद यो प्रश्नको जवाफ मुन्दुमले केही हदसम्म दिएको छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

गुमाउँदै विरासत

कान्तिपुर संवाददाता

सरस्वती हृदयालंकार नामक संगीतग्रन्थ सिमरौनगढका महराज न्यानसिंह देवद्वारा एक हजार इ. मा लेखिनुले नै मैथिली संगीतको पाकोपनालाई दर्साउँछ । मिथिलाका प्रसिद्ध संगीत घरानामध्ये अहिले अमता घरान मात्रै अस्तित्वमा छ । रामचतुर मल्लिक, विदुर मल्लिक, अभय मल्लिक गायकीमा आदरपूर्वक लिइने नाम हो ।

माँगैन खवासका गायिकीलाई पछ्याउनेहरू पनि देखापरेका छैनन् । दरभंगा राजघरानामै आश्रित ती संगीत घरानासँगै कुनै बेला उस्ताद बिसमिल्लाह खानजस्ता महान् संगीतज्ञ हुर्किए, दरभंगा अहिले आफैं खण्डहरमा रूपान्तरित भइसकेको छ ।
मैथिली संगीतको अवस्था दक्षिण एसियाको अन्य भाषिक, सांस्कृतिक समुदायभन्दा पृथक् छैन । इथ्निक संगीतको स्रोत र आधार लोकसंगीतभित्र नै खोज्नुपर्ने हुन्छ । मान्छेको डीएनए परीक्षण गर्दा देखिने मिश्रणले जसरी जातीय श्रेष्ठताको दम्भलाई धराशायी पार्छ त्यसरी नै संगीतको डीएनए परीक्षण गर्दा आफ्नो रैथानेपनप्रति आशंका जन्माउँछ ।

मैथिलीमा गीत–संगीत सबभन्दा शक्तिशाली विधा हो । अनुष्ठान, श्रम, संस्कारका कुनै चरण गीतबिना पूर्णता पाउँदैन । धेरैजसो अवस्थामा वाद्यको प्रयोग हुँदैन । वाद्य नहुनाका कारण संगीत अपूर्ण हुँदैन । अहिले पनि मंसिर, पुसतिर मिथिलाको गाउँमा बिहानीतिर परातीको शब्दसहित धुन सुन्न पाइन्छ । बीस–बीस घण्टा काम गरी मालिकको भखारीमा धान भर्ने मजदुरको घर अझै पनि रित्तै छ ।
कखन हरब दुःख मोर
हे भोलेनाथ...
दुखही जनम भेल
दखही गमाओल
सुख सपनहुँ नइ भेल
हे भोलेनाथ...

यो गीत समकालीन समाज संघर्ष, वेदना, पीडा र विवशतालाई मात्रै फ्रकट गर्दैन, सामन्ती त्रूरताविरुद्धको अभिव्यक्ति दिन्छ । मेसिनी युग र कृषि कार्यमा मेसिनको बढ्दो प्रयोगले यो गीतले सार्थकता गुमाउने हुन सक्छ । दसैंमा रसनचौकी, दाहामा तासा, महावीर झन्डामा झरी, दसैं र छठमा ढोल, विवाह, व्रतबन्ध र मुण्डनमा ढोल पिपही यस्ता अनेकौं उत्सव र अनुष्ठान जहाँ भिन्न–भिन्न वाद्यको प्रयोग हुन्छ । तर गीतसँग यी वाद्यहरूले संगत गर्न सकेन । यसमध्ये पिपही प्रकारान्तरले सहनाईको रूपमा विकसित भयो, ढोल तबलाको रूपमा विकसित भएको हुनुपर्छ तर अरू वाद्यहरू आफ्नो स्वरूप त्यसप्रकार परिष्करण गर्न सकेन, जसकारण गीतसँगको सांगीतिक यात्रा अगाडि बढ्न सकोस् ।

यी वाद्यमध्ये कतिपयको उल्लेख विश्वकोशीय ग्रन्थ वर्ण रत्नाकर (१२६०–१३४० मतान्तर १२८०–१३४०) मा भएको छ । वर्णरत्नाकरको कलारूप र वाद्य वर्णनमा सुरतरिया, डाक, डौकी, डेञडी, डमरु, धोन्धसी, मजिरा, कठताल, किदला, चङ्गु, चुटकल, बाँसी, पुहिल, सिङ्गा, वजा बदुतँ, डफिला, डलोरी, विरहा, बेली, विरह, देई मन्त्रणा, भीषणा, सिरप्रदोशई, ठमरण, चउपई, चेड्गा, चाञ्चली, लोरिक नाचो, नगनी, मएना, बडती (प्रथम कल्लोल १३ क) को नाम उल्लेख छ । यसमध्ये केही वाद्ययन्त्र अझै पनि प्रयोगमा छन्, केहीले समयानुसार नाम र रूप परिवर्तन गरिसके ।

छाल वाद्यमा ढोलक मिथिला संगीतको पुरानो साथी हो र त्यही वंशका नाल, तबला पनि त्यत्तिकै सघनताका साथ प्रयोग भइरहेको छ । मृदंगलाई शास्त्रीय वाद्य मानिए पनि मिथिलामा अप्रत्याशित रूपमा लोकवाद्यको रूपमा प्रयोग भइरहेको छ । भगैत अर्थात् महराईमा झ्याली, करताल, मृदङ्ग, टुभकीको प्रयोग गरिन्छ । यो बोलप्रधान नभई स्वरप्रधान गीतको श्रेणीमा आउँछ । शब्द यसमा अस्पष्ट हुन्छ । पछिल्लो क्रममा लोकनाट्यहरूमा हारमोनियम, ढोलक, नाल, नङारा संगै कलारनेटको प्रयोग बडो अचम्भित पार्छ । कलारनेट कसरी कहिले र के कारणले मैथिली लोकसंगीतको अङ्ग बन्यो अनुसन्धानै गनुपर्ने हुन्छ । यो दूध र पानीको मिश्रण होइन जसले एकअर्काको अस्तित्व स्वीकार गर्छ, यो त तेल र पानीको मिश्रण हो जसको घुलन हुँदैन ।

मिथिलाको मौलिक संगीतले यस्ता बिजातीय वाद्यलाई पनि आफ्नै रङ र मौलिकतामा ल्याई छाड्यो । आफ्नो स्वर र शब्दको शक्तिले पनि मैथिली संगीतलाई खासै अबघात यी वाद्यहरूको प्रयोगबाट भएन । खासमा समकालीन संगीतज्ञ र गायकले मैथिली संगीतको मौलिक पहिचान क्षतिग्रस्त गरिदिएका छन् । अहिले सिर्जित होइन उत्पादित गीत संगीतलाई बजारले उत्पादन गरिरहेको छ । जटजटिन, झिझिया, धोबिया, कजरी, चैताबर, बारहमासा, भगैतजस्ता पारम्परिक गीत–संगीतहरूलाई उत्पादित गर्दा माथि उल्लेख गरिएभन्दा पनि प्रोग्रामिङ गरिन्छ, त्यसमा अहिले उपलब्ध किबोर्ड, पैड, गिटार र अन्य उपलब्ध त्यसप्रकारका विभिन्न बाजाहरूको प्रयोग गरिन्छ ।

मैथिलीमा चार दशकपहिला एउटा गीतकारको उदय हुन्छ– काशीकान्त झा मधुप । उनी तत्कालीन लोकप्रिय हिन्दी गीतहरूको संरचनामा आधारित मैथिलीमा गीत लेख्छन् । मधुपको प्रशंसा गरिन्छ, प्रशस्ति गाइन्छ । उनीद्वारा रचित गीत हिन्दी मौलिक गीतभन्दा श्रेष्ठ रहेको प्रमाणित गरिन्छ । मैथिली संगीतमा पैरोडी संगीतको दीर्घकालीन रोगको भाइरस त्यहीबेला भित्रियो ।

प्रकाशित : माघ ११, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×