कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रिन्ट अन डिमान्ड

डीसेम्बरको पहिलो साता म दिल्ली पुगेको थिएँ  । उद्देश्य थियो, दिल्ली विश्वविद्यालयको शिक्षा विभागले आयोजना गरेको दक्षिण एसियाली उच्च शिक्षासम्बन्धी सम्मेलनमा कार्यपत्र पेस गर्ने  ।

प्रिन्ट अन डिमान्ड

दिल्ली जाँदा, सदाझैँ मार्टिन चौतारीको पुस्तकालयका लागि केही पुस्तक ल्याउने जिम्मा मेरो थियो । म मात्र किन, चौतारीका सदस्य र शुभेच्छुक विदेशबाट फर्किंदा चौतारीको पुस्तकालयका लागि पुस्तकहरू किनेर ल्याउँछन् ।

प्रत्यूष वन्तले भनेर चौतारीका लागि पुस्तक बोकेर आएका नेपाली र विदेशी दर्जनौं होलान् । यो महिना मात्रै इन्डिया, सिंगापुर, अमेरिका, बेलायतबाट काठमाडौं आएका चौतारी–शुभेच्छुकहरू पुस्तक बोकेर थापाथली आएका थिए । त्यसैले चौतारीको पुस्तकालय आजको दिनमा समाज–विज्ञानका महत्त्वपूर्ण र नयाँ–नयाँ पुस्तक पाइने प्रमुख स्थान बनेको छ ।

म दिल्ली पुग्नुअघि नै मनोहर पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्सका मालिक अजय जैनलाई प्रत्यूषजीको इमेल पुगिसकेको थियो— रमेश दिल्ली आउँदै छ, यी किताब र जर्नलका अंक जम्मा गरेर राखिदिनू, चौतारीले सदाझैं पाउने डिस्काउन्टसहित । अजयसँग प्रत्यूषजीको पुरानै चिनजान हो । पहिले–पहिले पनि यताबाट चौतारीले पठाएको सूचीअनुसार, मनोहरले पुस्तक जम्मा गरेर पठाइदिने गरेको थियो ।

सम्मेलन सकेर घर फर्कने अघिल्लो दिन म मनोहर बुक्स जाने भएँ । यसबीच मैले अजय र रमेश जैनको इमेल पाइसकेको थिएँ । मैले आफ्नो मोबाइलमा उबर इन्स्टल गरें, ट्याक्सी डाकें अनि लागें अन्सारी रोड, दरियागन्ज । हो त्यही दरियागन्ज, जहाँ क्याम्ब्रिज युनिभर्सिटी प्रेस, अक्स्फोर्ड युनिभर्सिटी प्रेसलगायत दर्जनौं प्रकाशकको पसल छ, जहाँ आइतबार–आइतबार पुस्तक–हाट लाग्छ, जहाँ सेकेन्ड ह्यान्डदेखि, क्लासिक साहित्यिकदेखि नयाँ, सस्ता, पाइरेटेडसम्मका किताब किन्न पाठकको भीड लाग्छ ।

म बिहीबार पुगेको थिएँ, त्यसैले भीडभाड थिएन । मोटर, टेम्पु, मोटरसाइकल, रिक्साको झर्कोलाग्दो ट्याँ–टुँचाहिँ अवश्य थियो । मनोहर बुक्सको पसलमा पुगेर मैले आफू काठमाण्डूबाट पुस्तक लिन आएको बताएँ, अजयसँगको पूर्वकुराकानीको सन्दर्भसहित । अजय कामविशेषले दिल्लीबाहिर भएको मैले जानकारी पाइसकेको थिएँ । मेरो पहिलो जम्काभेट भएका कर्मचारी हाँ–हुँ गर्न थाले । मैले ‘रमेश जैन हैं क्या ?’ भनेर सोधें । उनले मुक्ति पाएझैं ‘हाँ हैं, आप मिलना चाहेंगे !’ भने । मैले ‘अँ’ भनेपछि उनले मालिकलाई फोन लगाए । उताबाट ‘पठाइदेऊ’ भनेपछि म अर्को कामदारको पछि लागेर एक तलामाथि पुगें, जहाँ रमेश जैन आफ्नो टेबलको वरपर पुस्तकको खात राखेर काममा व्यस्त थिए ।

मैले आफ्नो परिचय दिँदै आउनुको कारण बताएँ । उनले बस्न भने, चिया अफर गरे र मेरो अर्डरबारे केटाहरूसँग सोधपुछ गरे । अजयलाई पनि फोन लगाए । मैले आशा गरेजस्तो पुस्तक खोजेर, पोको पारेर, बिल बनाएर तम्तयार पारेर राखिएको रहेनछ । त्यसैले कर्मचारीले पुस्तकहरू खोजेर ल्याउँदासम्म म रमेश जैनसँग मूलतः पुस्तक प्रकाशनकै वरपर गफिएर बसें ।

अजयका बाबु हुन् रमेश । मनोहर बुक्सका संस्थापक । सन् १९७० मा अजय जन्मेकै वर्ष उनले यो व्यवसाय र प्रकाशन सुरु गरेका रहेछन् । मलाई लागेको थियो, यो उनको पुस्तैनी पेसा होला । त्यसैले मैले कन्फर्म गर्न तिम्रो ‘पुस्तैनी व्यवसाय हो यो ?’ भनी सोधें । होइन रहेछ । मैले उनी कसरी पुस्तक व्यवसायमा छिरे भन्ने कुरा जान्न चाहें । उनले भने, ‘मेरा काकाहरू पढन्ते थिए । उनीहरू खुब किताब किन्थे, पढ्थे । म पनि किताबमा रमाउन थालें । बाहिरी प्रकाशकका किताब राम्रा हुन्थे—छपाइ, बाइन्डिङ राम्रो हुन्थ्यो । तर, हामीकहाँबाट हुने प्रकाशन त्यति गतिला हुन्थेनन् । त्यसैले हामीकहाँबाट पनि गतिला किताब छाप्न किन नसकिने भनेर यतातिर लागियो ।’

गुडगाँवका रमेश पुस्तकको व्यवसाय गर्न दिल्लीको यो इलाका छिरे । ‘म यहीँ नजिकै बस्थेँ,’ उनले भने । बुढेसकालमा उनी पुनः गुडगाँव फर्किएका छन् । बिहान–बेलुकै करिब डेढ–डेढ घण्टा लाग्छ आउन–जान । तर, उनी खुसी छन् आफू जन्मे–हुर्केको ठाउँ फर्किंदा । यद्यपि, उनले थपे, ‘वो गुडगाँव अब् कहाँ ?’

मैले सोधिनँ, उनले यो पाँच दशकमा कति किताब छापे । तर, पाँच दशकमा छापेकामध्ये सयवटा पुस्तक उनी रिप्रिन्ट गर्दै रहेछन् । ‘९५ वटाको काम सकेर छापी पनि सकियो,’ उनले अर्को कुनामा रहेको पुनर्मुद्रित पुस्तकको खात देखाउँदै भने । बाँकी पाँचवटा यही वर्ष (सन् २०१९) भित्र आउँछ रे । ‘म तिनै पुस्तकको काम गर्दै थिएँ,’ उनले थपे ।

रमेश जैन अहिले पुस्तक प्रकाशनको काम मात्र हेर्छन् । बाँकी काम उनका छोरा अजयको भागमा छ ।

मैले ती पुस्तकको ‘प्रिन्ट रन’ बारे सोधें । उनले भने, ‘एक सौ पचास ।’ सायद उनलाई लाग्यो, म अलमलिएँ, त्यसैले थपे, ‘अब् तो पीओडी आ गया है ना ।’ मलाई पीओडीबारे थाहा नभएको होइन, तथापि मेरो दिमागले तत्काल त्यो सूचनालाई प्रशोधन गर्न ढिलाइ गरेकै हो । सम्भवतः मेरो दिमागमा नेपालका खासगरी नयाँ प्रकाशकहरूले अलि ठूलो संख्यामा पुस्तक छाप्न भारततर्फ लाग्ने गरेको जानकारी घुमिरहेको थियो ।

हाम्रो कुराकानी पीओडी अर्थात् ‘प्रिन्ट अन डिमान्ड’ तर्फ मोडियो ।

मेरो चासो ‘कस्ट इम्प्लिकेसन’ मा थियो । ‘अलि महँगो पर्दैन र ?’ मैले सोधें । ‘पर्दैन,’ प्रश्न खस्नेबित्तिकै उत्तर झ‍र्‍यो । म घोरिएँ । मैले अविश्वास गरेजस्तो लाग्यो होला उनलाई । जैनले थपे, ‘हो, अलिकति महँगै पर्छ । तर, भण्डारण, कर्मचारी, इत्यादिको हिसाब गर्ने हो भने उस्तै हो । अझै सस्तो पर्ला ।’

‘अहिले विश्वका ठूला प्रकाशनगृह सबै पीओडीमा गैसके,’ जैनले भने । हामी प्राज्ञिक प्रकाशकहरूको कुरा गर्दै थियौं, जो वर्षमा सयौं–हजारौं टाइटल (पुस्तक) छाप्छन् । रुटलेज, अक्स्फोर्डजस्ता प्रकाशकका वर्षका ५–६ हजार टाइटल प्रकाशन हुन्छन् । उनीहरूलाई विभिन्न महादेश–देशका सहरमा गोदाम राख्नुपर्थ्यो । तर, अब त्यति झन्झट रहेन ।

प्रकाशकलाई क्रेता–वितरकको माग आउँछ । प्रकाशकले प्रेसलाई अर्डर दिन्छ । साथै, पठाउने ठेगाना पनि दिन्छ । मुद्रकले सोहीअनुरूप छाप्छ र सीधै वितरककहाँ माल झारिदिन्छ । पहिलेजस्तो प्रेसबाट माल आएपछि चेक–जाँच गरेर वेयरहाउसमा राख्न कर्मचारी खटाउनुपरेन । न माग आएपछि प्याक गरेर पठाउनुपर्‍यो । खर्च जोगियो ।

मार्टिन चौतारीबाट हामीले पनि पुस्तक प्रकाशन गर्छौं । आफूले गरेका अनुसन्धानमा आधारित पुस्तक व्यापारिक प्रकाशकले नछाप्ने, छापे पनि प्रि–प्रेसको काम गर्न नचाहने र नसक्ने पुस्तक हामी छाप्छौं । बजारमा ह्वारह्वार्ती बिक्री हुने किताब हुँदैनन् हाम्रा । न मुलुकभरिका पुस्तक पसलमा पु‍र्‍याउन सक्छौं ।

(पुस्तक पु‍र्‍याउनै नसकिने होइन तर बिक्री भएको पैसा फिर्तै आउँदैन ।) त्यसैले, कति प्रति छाप्ने भन्ने तय गर्न हामीलाई सधैँ हम्मे पर्छ । कारण, कम छापौं प्रतिकपी मूल्य ज्यादै महँगो पर्छ । अलि धेरै छापौं भण्डारण गर्ने ठाउँ हुँदैन । पीओडी त्यसैले हाम्रा लागि पनि काम लाग्ने प्रविधि भएकाले म चाख लिएर उनका कुरा सुनिरहेको थिएँ ।

हामी चियाको चुस्कीसँगै कुराकानी गरिरहँदा जैनको अघि टेबुलमा दुइटा अर्का प्रकाशन गृहका पुस्तक पनि थिए । ती दुवै निकै पहिले निस्केका पुस्तक पछि स्क्यान गरेर पुनर्मुद्रण गरिएका हुन् । सायद अलि पहिले भए ती पुस्तक रिप्रिन्ट नहुन पनि सक्थे । तर, अहिले हुन्छन् । किनकि ५–१०–२०–५० जति संख्यामा पनि तुरुन्तै छाप्न सकिन्छ, पुनः टाइप गराइराख्नु पर्दैन ।

कतिपयले ई–कपीका कारण मुद्रित कपीको ‘एलजी’ लेखिसके पनि जैन हार्डकपीका दिन सकिएको ठान्दैनन् । ‘पुस्तकालयहरू इलेक्ट्रोनिकतिर गएका छन् र भएका किताब पनि फ्याँकेका छन् तर उनीहरू पछुताउनुपर्नेछ,’ जैन भन्छन् । किताबलाई हातमा लिएर सुमसुम्याउँदाको अनुभव, मसीको त्यो गन्ध इलेक्ट्रोनिकबाट कहाँ पाउनु ? त्यसैले उनी ठान्छन्, मानिसहरू फिजिकल कपी नै पढ्न चाहन्छन् । मैले कुराकानी नेपालतर्फ मोडेँ । मनोहरबाट नेपाल र नेपालीको कुनै नयाँ प्रकाशन हुँदै छ कि भनेर सोधेँ । ‘खोइ, खासै छैन । एउटा एडिटेड भोल्युमको कुरा भएको छ । मेन स्क्रिप्ट हात परेको छैन । लेखहरू सम्पादन हुँदै छन् भन्छ,’ उनले एकै सासमा भने ।

‘तपाईंको प्रकाशनबाट छापिएको नेपालसम्बन्धी सबैभन्दा चलेको किताब त हृषीकेश शाहको होला होइन ? उनको किताब त अझै राम्रै बिक्री हुन्छ होला ?’ मैले सोधें । उनले सम्मतिमा टाउको हल्लाए र थपे, ‘सायद लेखकहरू बितेपछि उनीहरूका किताब पनि मानिसले बिस्तारै बिर्सन्छन्जस्तो छ ।’ त्यसपछि हामीबीच शाहबारे अलि लामै गफ भयो । जैनले आफ्ना लेखक शाहका मनमौजी र जुवाडे आनिबानिबारे किस्सा सुनाए ।

चिया सकिइसकेको थियो । इमेलबाट अर्डर दिएका केही किताब र मनोहरले निकाल्ने साउथ एसिया जर्नलका अंकहरू लिएर उनका कर्मचारी आए । मैले पैसा तिरें । उनलाई धन्यवाद दिँदै म आफ्नो मुकाम दिल्ली विश्वविद्यालयको गेस्टहाउसतर्फ फर्किएँ ।

प्रकाशित : पुस ५, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?