कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पुरस्कारको कर्मकाण्ड

सयवर्षे परमायुमा संस्कृतिविद् सत्यमोहन जोशीले ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ को दोसल्ला ओढे, मंसिर २३ मा  । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रत्येक चार वर्षमा दिने सर्वाधिक धनराशिको सरकारी पुरस्कार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट पाउँदा उनी खुसी नै भए  ।

पुरस्कारको कर्मकाण्ड

चार लाखको थैली समातेका जोशी मंसिर २८ मा प्रज्ञा भवन, कमलादीमा १५ हजार १ रुपैयाँ राशिको तुलसीमान श्रेष्ठ लोकसंस्कृति तथा लोकसाहित्य सम्मान लिँदा पनि बेखुसी देखिएनन् ।
केही महिनायताका सञ्चारमाध्यम नियाल्ने हो भने नेपाली साहित्यिक पुरस्कारहरू ‘सेन्चुरी ब्वाय’ मय छन् । हरेक साताजसो पुरस्कार पाउनेमा ‘शताब्दी वाङ्मय पुरुष’ जोशी र ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरे नै देखिन्छन् । पुरस्कारको ओइरो हेर्दा थाहा हुन्छ, पुरस्कारदाता उमेर र स्वास्थ्यको निकै ख्याल राख्छन् । जोशी र घिमिरेका हकमा शतायु नै टाकुरा योग्यता भैदियो ।
देशकै ज्येष्ठ नागरिक पुरस्कृत हुनुमा अन्यथा सोच्ने फुर्सद कसलाई ? गैरसरकारी पुरस्कारलाई निजी तजबिजी मान्न सकिए पनि सरकारी पुरस्कारमा सय वर्षको मापदण्ड राख्नु के उचित हो ? जोशीलाई पृथ्वी प्रज्ञा–पुरस्कार पाउन सय वर्षै किन कुर्नुपर्‍यो ? प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य जोशीलाई नै पृथ्वी प्रज्ञा–पुरस्कार किन ? चार लाखको पुरस्कार पाउनेले १५ हजार लिने कि नलिने ?
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं पुरस्कार सिफारिस समितिका संयोजक जगमान गुरुङका शब्दमा, जोशीलाई सय वर्ष पुग्यो भनेर पृथ्वी प्रज्ञा–पुरस्कार दिइएको होइन, बरु पृथ्वीनारायण शाहमाथि आदिवासी–जनजातिले जाति, भाषा, संस्कृति मास्ने खुनी हमला गरेको आरोप लगाइरहेको सन्दर्भमा त्यसलाई असत्य सावित गर्ने अस्त्र हो । ‘जोशी ऋषितुल्य छन्, उनलाई उहिल्यै दिनुपर्ने हो,’ फलित ज्योतिषी पृष्ठभूमिका उपकुलपति चार वर्षपछिको पनि भविष्यवाणी गर्छन्, ‘अझै दिनुपर्ने अर्का समन्वयकारी पात्र छन्, वैरागी काइँला । जीवनकालमै भ्याइएन भने मरणोपरान्त पनि दिन सकिने मिल्छ ।’
२०६२/०६३ को राजनीतिक परिवर्तनपछि नेपाल प्रज्ञा–प्रतिष्ठानका त्रिभुवन प्रज्ञा–पुरस्कार, महेन्द्र प्रज्ञा–पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, वीरेन्द्र प्रज्ञालंकार आदि खारेजीमा परे । राजाहरूका नामको पुरस्कार राख्नै नहुने बहस चले पनि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहका नामको पुरस्कार भने हटाउन नहुने प्राज्ञिक मत सदर भयो ।
२०३१ मा स्थापित पृथ्वी प्रज्ञा–पुरस्कार २०६० सम्म बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, लैनसिंह बाङ्देल, गोविन्दबहादुर मल्ल गोठाले अनि २०६७ पछि मोदनाथ प्रश्रित र तारानाथ शर्माले पाएका छन् । जोशी स्वयंले २०५७ मै त्रिभुवन प्रज्ञा–पुरस्कार पाइसकेका छन् ।
प्रज्ञा–पुरस्कार मापदण्ड तथा कार्यविधि २०६९ मा यो पुरस्कार पाउन नेपालको वाङ्मय क्षेत्रमा सुदीर्घ साधना गर्ने साधकमध्ये वरिष्ठ र सुप्रसिद्ध हुनुपर्ने उल्लेख छ । तर, २०७० मा ध्रुवचन्द्र गौतम र मोदनाथ प्रश्रित पृथ्वी प्रज्ञा–पुरस्कारका लागि सिफारिस भए । तर, गौतम आजीवन सदस्य भएकाले प्रश्रितको भाग्योदय भयो । दुई वर्षपछि प्रश्रित स्वयं आजीवन सदस्यमा सामेल भइहाले । ‘पहिले पृथ्वीनारायण शाहको अस्तित्वै नमान्ने रत्नाकरजस्ता प्रश्रित पृथ्वीको सालिकमा एक्लै सिंहदरबार गएर पुष्पगुच्छा चढाउन पुग्ने वाल्मीकि बने,’ उपकुलपतिको तर्क छ, ‘तारानाथ शर्मालाई भने पृथ्वी जयन्ती मनाउन नसक्ने अशक्त अवस्थामा पुरस्कार दिनुपर्‍यो ।’
जोशी २०५२ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको २७ औँ नम्बरमा आजीवन सदस्य भएका हुन् । आजीवन सदस्यले बहालवाला प्राज्ञले पाउने मासिक पारिश्रमिक सुविधाको एकतिहाइ भत्ता नियमित बुझ्छन् । उनीहरूलाई रोजिन्दै कार्यालय जानु पर्दैन । ४७ आजीवन सदस्यमध्ये २५ दिवंगत भइसकेका छन् । ‘हामीकहाँ एकथरीले ७७ वर्ष नाघेपछि र अर्का थरीले ८४ वर्ष नाघेपछि ठूलो आयु मानी त्यसलाई धार्मिक रूप दिने चलन छ,’ इतिहासकार महेशराज पन्त असहमति पोख्छन्, ‘चलनै मान्ने हो भने ज्वाइँ, भान्जाभान्जी आदि कुटुम्बलाई पो टीकाटाला गरेर दक्षिणा दिने हो, आफ्नै भाइभैयादलाई सरकारी ढिकुटी किन पोस्ने ?’
उपकुलपति गुरुङको शब्दमा, पुरस्कार सम्मान मात्र नभएर आर्थिक सहयोग पनि हो । ‘पैसा कसैलाई धेरै हुन्न, अलिकतिको पनि खरखाँचो भैरहन्छ ।
जोशीले आजीवन भत्ता लिन्छन्, मोदनाथले पनि लिन्छन्,’ उनी जोशीको अवस्था चित्रण गर्छन्, ‘बाहिर जतिसुकै ठूला मान्छे भने पनि उसका आफ्नै कथाव्यथा हुन्छन् । जोशीको घरको अवस्था हेर्नुस्, छोराछोरी घरमा छैनन्, बूढीमाउ बिरामी । पाहुना जाँदा चिया पकाएर दिने मान्छे पनि छैनन् ।’
प्रज्ञा–प्रतिष्ठानले सर्वश्रेष्ठ पुरस्कार दाबी गरे पनि शताब्दीपुरुषले पाउँदासमेत खासै ठूलो खबर बन्न सकेन । पृथ्वी प्रज्ञाजस्तै अधिकांश सरकारी पुरस्कार चर्चामै छैनन्, जनआकर्षण पनि छैन । संस्कृति मन्त्रालयका राष्ट्रिय प्रतिभा पुरस्कार अनि नेपाल प्रज्ञा–प्रतिष्ठान आदिका विभिन्न पुरस्कार राजनीतिक कार्यकर्ता र नातागोतालाई बाँडेर करोडौं धनराशि स्वाहा पारिएको छ । ‘लोक संस्कृतिका माध्यमबाट पञ्चायतको न्यारेटिभ्स निर्माणमा निर्वाह गरेको आधारभूत भूमिकाका निम्ति जोशीलाई प्रज्ञा–प्रतिष्ठानले गुन तिरेको हो,’ विश्लेषक आहुति भन्छन्, ‘जोशीलाई पृथ्वी प्रज्ञा–पुरस्कार दिनु भनेको माधव घिमिरेलाई मानार्थ जर्नेल दर्ज्यानी दिएजस्तै हो ।’
आफ्नो अध्ययन र अनुभवका आधारमा आहुति पुरस्कारको राजनीति नै ठान्छन् यसलाई । ‘नेपाल सरकार र अन्य संस्थाले दिने पुरस्कारको चयन समितिमा बसेका आधारमा म के भन्न सक्छु भने कृति वा व्यक्तिको छनोट वैचारिक र राजनीतिक प्रतिबद्धताले नै निर्धारण हुन्छ,’ उनी भन्छन्, ‘सत्ताधारी साहित्यिक पुरस्कारको विकल्प खोज्न प्रगतिवादी धारामा स्थापित पुरस्कारबारे पनि त्यहीखाले गुनासा पटकपटक सुनिएकाले अबको छलफल पुरस्कारको छनोट होइन, बरु सिंगै पुरस्कारको राजनीतिबारे हुनु जरुरी छ ।’

उपरीमाथि थुपरी
तथ्य बोल्छ— एकै खालका मानिसले घरीघरी पुरस्कार पाइरहन्छन् । १२४६ पृष्ठको भीमकाय ग्रन्थ ‘नेपाली पुरस्कारको इतिहास’ का लेखक डिल्लीराम मिश्रका अनुसार, सबैभन्दा धेरै पुरस्कार बटुल्ने कवि माधवप्रसाद घिमिरे हुन् । उनले ती पुरस्कार थन्क्याउने संग्रहालय माग गरिसकेका छन् । ‘मलाई श्रद्धाका साथ डेढ सयभन्दा बढी पुरस्कार, सम्मान र तक्मा दिइएको छ,’ उनी भनिरहेका छन्, ‘अहिलेसम्म मैले त्यसको संरक्षण गरिरहेको छु । अब राज्यले त्यसको जिम्मा लिएर संग्रहालयका रूपमा राख्ने व्यवस्था गरोस् ।’
घिमिरेलाई पछ्याइरहेका सत्यमोहन जोशीले मदन पुरस्कार नै तीनचोटि पाएका छन्, २०१३, २०१७ र २०२८ मा । पुरस्कार पाउनेमा दोस्रो भए पनि नगदमा घिमिरेलाई जोशीले नै उछिनेका छन् । घिमिरेले भने मदन पुरस्कार पाउन बाँकी छ । उमेरमा घिमिरे जोशीभन्दा सात महिना जेठा छन् ।
जोशी र घिमिरेलाई पछ्याउने मदनमणि दीक्षित, मोदनाथ प्रश्रित, वासुदेव त्रिपाठी, चूडामणि बन्धु आदि छन् । युवा पुस्ताका सरुभक्त, दिनेश अधिकारी, युवराज नयाँघरे, श्रवण मुकारुङलगायत पनि पुरस्कार पाइरहनेमा गनिन्छन् । उमेरका आधारमा मात्रै पुरस्कार दिएर डम्पिङ साइट बनाउन खोजिएको एक युवा लेखक जिकिर गर्छन् ।
नोबेल पुरस्कार विजेता भौतिकशास्त्री इभार गिभरले भनेका छन्, ‘नोबेल पुरस्कारको पूर्वयोजना बनाएर अनुसन्धान गर्नु सम्भव छैन तर पुरस्कारको महत्त्वाकांक्षा राख्ने व्यक्ति अध्ययनशील, कल्पनाशील, परिश्रमी, दृढनिश्चयी, अलिकति भाग्यमानी भने हुनुपर्छ ।’ जोशी र घिमिरेचाहिँ ‘धेरै नै भाग्यमानी’ ठहरिए ।
पुरस्कारले पछ्याएका मात्र होइन कि पुरस्कारलाई पछ्याउने पनि त्यत्तिकै छन् । पुरस्कारलोलुप लेखकहरूको विशेषता के भने हजारदेखि लाखसम्म र्‍याल चुहाउँछन् । ‘घूस खानेले करोड मात्र खान्छु भन्दैन । सय, हजार, लाख जति पनि खान्छ,’ आहुति थप्छन्, ‘लेखकले यतिउति भन्दैनन् । यसमा लिने र दिने दुवैको स्वार्थ हुन्छ ।’
‘नेपाली पुरस्कारको इतिहास’ अनुसार, सरकारी र निजी क्षेत्रका झन्डै आठ सय पुरस्कारमध्ये आधाजसो त साहित्यमै छन् । तीमध्ये धेरैजसो फगत कर्मकाण्डीय छन् । पुरस्कार ‘लिन्या र दिन्या’ बाहेक कसैलाई थाहा छैन, कसले पायो ? किन पायो ? कसरी पायो ? कतिपय प्रचार या घोषणामै सीमित भए, कतिपय एकाध वर्षमै हराए । कतिपय अनियमित छन् ।
इतिहास केलाउँदा २०१० सालमा उद्योगपति शम्भुलाल श्रेष्ठले स्थापना गरेको तीन सय राशिको श्रेष्ठ सिरपाः पहिलो साहित्यिक पुरस्कार हो । त्यसको दुई वर्षपछि आएको मदन पुरस्कार सुरुमा चार हजार राशिको थियो । सय वर्षको कीर्तिमानी इतिहास भएको साझा प्रकाशन पुरस्कार दिनै नसक्ने हालतमा छ भने पुरस्कारको ‘डन’ बनेको साहित्यिक पत्रकार संघ आफैं पुरस्कार दिने, आफैं फिर्ता लिनेमा कहलिएको छ । प्रज्ञा–प्रतिष्ठानले मायादेवी प्रज्ञा–पुरस्कार स्थापना गरे पनि वितरण गरेको छैन, पासाङ ल्हामु प्रज्ञा–पुरस्कार बेपत्ता सूचीमा छ । व्यथित काव्य पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भवानी पत्रकारिता पुरस्कार, पण्डितराज सोमनाथ पुरस्कार, वीरसा हासने पुरस्कार, मुस्याचु पुरस्कार, गुरुवाचार्य कथा पुरस्कार, देवकोटा स्मृति पुरस्कार आदि नामी पुरस्कार बेपत्ता सूचीमै छन् ।
भूपालमानसिंह कार्कीका नाममा राखिएका पाँच लाखसहितका १८ पुरस्कार अहिले स्थगनमा छन् । कार्कीकै पुरस्कारका हर्ताकर्ता दम्पती नरेन्द्र–इन्दिरा प्रसाईंको नइ प्रकाशनको छातामुनिसमेत २८ वटा पुरस्कार छन् ।
स्थिति कतिसम्म भैसक्यो भने नइ दम्पतीले लाइन लगाएर पुरस्कार दिन थालेपछि प्रगतिशील लेखक संघले २०७३ पुसमा लेखक–स्रष्टाहरूलाई ‘तथाकथित’ पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र पदक, पुरस्कार सम्मान अस्वीकार गर्न सार्वजनिक आह्वान नै गर्‍यो । ‘यस्ता संस्थाको विगत, उसका क्रियाकलापबारे कुनै मूल्यांकन नगरी आफ्नो लेखकीय स्वाभिमान र गरिमालाई भुलेर कथित मूल्यहीन पुरस्कार, पदक र सम्मानको मोहमा प्रतिबद्ध स्रष्टाहरू नै फस्नु अझ दुःखद कुरा हो ।’
कतिपय पुरस्कारको अभिलेख, मण्डल, कार्यालय, अक्षयकोष र मापदण्ड केही देखिँदैन । फगत आफ्नो घरको भित्तामा सम्मानपत्र टाँस्ने र परिवारमा धाक लगाउने आत्मरति मात्र भएको छ । पुरस्कारबारे एउटा किस्सा छ । घटराज भट्टराईले नइको पुरस्कार पाउँदा तारानाथ शर्माले बधाई दिएछन् । उनले ‘आधा बधाई मात्र दिनुस्’ भनेछन् । त्यसको मतलब खाममा आधा मात्र रकम रहेछ ।
लेखक भएर पुरस्कार पाउने हो, पुरस्कार पाएर लेखक हुने पनि होइन । संयोग, काकताली र दुर्घटनाबाहेक पुरस्कारदाताले जहिल्यै आफ्नो छत्रछायामा अटाउने पात्र नै खोज्छन् । ‘कतिपय संस्थाले साहित्यलाई अतिरञ्जित महत्त्व दिएका छन् तर पुरस्कृत पुस्तक पढ्न थाल्यो भने पाँच पाना मेलो सर्दैन,’ लेखक खगेन्द्र संग्रौला भन्छन्, ‘आख्यानमा बीपी र कवितामा भूपीलाई कसैले चुनौती दिएको छैन । तर, बागी भएकाले उनीहरूले पुरस्कारै पाएनन् ।’
इतिहासकार पन्त अनुसन्धानकर्मीका निम्ति पुरस्कारभन्दा पनि मेहनताना, विद्वतवृत्ति या अप्रकाशित कृति छाप्ने व्यवस्था महत्त्वपूर्ण रहेको औँल्याउँछन् । पुरस्कारका लागि सत्पात्रकै खडेरी पर्दै गएको उनको विश्लेषण छ ।
रोचक के भने साझा प्रकाशनको सञ्चालक पदमा लड्दा कवि जनार्दन जोशीले बाबुका नाममा रामप्रसाद साहित्य पुरस्कार घोषणा गरे । तर, चुनाव हारेपछि त्यो पुरस्कारको नामै लिएनन् । ‘थुप्रै व्यक्ति र संस्थाले आफ्नो परिवार या राष्ट्रिय प्रतिभाका नाममा लहैलहै, रहर या प्रभावमा पुरस्कार राखेका छन्,’ मिश्र भन्छन्, ‘दुई सयभन्दा ज्यादा पुरस्कार न बन्द घोषणा भएका छन्, न कसैलाई दिइएका छन् ।’

पुरस्कारमा व्यापार
आहुतिको अध्ययनमा साहित्यिक पुरस्कारहरूका प्रमुख तीनवटा उद्देश्य देखिन्छन् । पहिलो, कुनै सम्पन्न व्यक्तिको प्रतिष्ठालाई दीर्घजीवी बनाउनु । दोस्रो, निश्चित विचार र राजनीतिलाई प्रोत्साहित गर्नु । तेस्रो, पुस्तकको व्यापार बढाउनु । अधिकांश पुरस्कारको हैसियत पारिवारिक मात्र छ । तिनीहरूको ध्येय जीवित र मृतक सदस्यको श्रीवृद्धि गराउनु हुन्छ ।
दोस्रोखाले पुरस्कार राजनीतिक आस्थामा आधारित छन् । पछिल्लो समय तिनको छाया सरकारी
पुरस्कारमा परिरहेको छ । पुस्तकको व्यापार
बढाउने हैसियतका पुरस्कार भने दुर्लभ छन् । ‘मदन पुरस्कारबाहेकका खुद्रा पुरस्कार लेखकले मात्र लाने हो, बजारमा १० थान किताब पनि बढी बिक्री छैन,’ प्रकाशक बुक हिलका भूपेन्द्र
खड्का भन्छन्, ‘मदन पुरस्कार कविताबाहेकले पाए ५ देखि १० हजारसम्म किताब बिक्री भएको छ ।’
पछिल्लो समय लेखकको ध्याउन्न कि पुरस्कारमा छ कि व्यापारमा । एकथरी युवा जमातलाई ताकेर ‘युधीर थापाका नाति’ मार्का पल्प फिक्सन लेख्ने छन् भने अर्काथरी चैतभित्र भ्याई–नभ्याई रातारात किताब छापेर मदन पुरस्कार भाक्ने । प्रकाशकका अनुसार, मदन पुरस्कारको उत्कृष्ट सूचीले समेत किताबको बिक्रीमा एक–डेढ हजारको फरक पर्ने गरेको छ । मदन पुरस्कारको मोह कस्तो छ भने लेखकहरू उत्कृष्ट सूचीमा नपरे प्रकाशकलाई धम्काउँछन्, ‘मेरो किताब किन दर्ता नगरेको ?’ कोड नम्बर लेखिएको मदन पुरस्कार गुठीको मेल फरवार्ड नगरे तिनको गन्थन सकिँदैन ।
त्यसो त न पुरस्कार पाउने व्यक्ति योग्य र नपाउने अयोग्य हुन्, न त पुरस्कार पाउने कृति असल, नपाउने कमसल । तर, बर्सेनि मदन पुरस्कार र पद्मश्री पुरस्कारमा लेखकहरूको उछिनपाछिन हेर्न लायककै हुन्छ । पद्मश्री पुरस्कारले उत्कृष्ट सूचीमा आउने अनावश्यक दबाब र सिफारिस दुई वर्ष पनि झेल्न सकेन । ‘कतिपय लेखकले पहिले कम्तीमा उत्कृष्ट सूचीमा पारिदेऊ भनेर घुर्क्याउने अनि पुरस्कार नपाएपछि नदिने भए किन उत्कृष्ट सूचीमा राखेको भनी धम्काउने गर्न थाले,’ खेमलाल–हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर सुनाउँछन्, ‘त्यही नैतिक प्रश्नका कारण हामीले बजारमै गएर र प्रकाशकबाट सूची लिएर किताब किन्ने गरेका छौं ।’

२०६३ मा चितवनमा स्थापित यो पुरस्कारले पहिले मदन पुरस्कारकै शैलीमा पुस्तक दर्ता गर्थ्यो र उत्कृष्ट सूची निकाल्थ्यो । सुरुमा ५० हजार राशिको यो पुरस्कारको थैली अहिले ३ लाख पुगेको छ । ‘मदन पुरस्कारको इतिहाससँग पद्मश्रीको तुलना गर्नै मिल्दैन,’ समीर थप्छन्, ‘सामान्य रूपमा हेर्दा फर्म्याट एउटै देखिए पनि मदन पुरस्कार नेपाली भाषाका सबैखाले किताबलाई हो भने पद्मश्री नितान्त साहित्यकै किताबलाई ।’
लामो इतिहास बोकेको मदन पुरस्कार विवादमा पनि अग्लै छ । किताब दर्ता नगरिएकाले नपाउने अनि मूल्यांकन समिति सार्वजनिक नगरिनेजस्ता आलोचना पनि खेपेकै छ । १० उत्कृष्ट सूची निकाल्ने भने पनि पाँच–सातमै खुम्चिएको छ । ‘जुरीका सबै सदस्यले छानेका पुस्तक उत्कृष्ट सूचीमा पर्छन्, कसैकसैले मात्र छानेका पुस्तकमाथि अन्याय भएको हुन सक्छ । सबैलाई राख्दा सर्ट होइन, लङ–लिस्ट बन्न जान्छ,’ मदन पुरस्कार गुठीका सदस्यसचिव दीपक अर्याल भन्छन्, ‘काठमाडौँबाहिर निस्केका किताबबारे थाहा नहुने भएकाले दर्ता गर्नु बाध्यता हो । गुठीले आफ्नो मुखपत्र नेपालीमा बेलाबखत जुरीको खुलासा गर्दै आएको छ ।’
मदन पुरस्कार गुठीले १५ वर्षपछि भर्खरै राशिमा दुई लाख बढाएर चार लाख पुर्‍याएको छ । ‘हाम्रा लागि सबै लेखक समान हुन्, सबैप्रति उत्तिकै सम्मान छ । त्यसैले गुठीबाहिरका निर्णायक राखेर छनोट गर्छौं । त्यसमा केही कमीकमजोरी भएको हुन सक्छ,’ अर्याल स्विकार्छन्, ‘कहिलेकाहीँ पाठक र जुरीले मन पराएको फरक हुँदा अलिअलि विवाद हुन्छ नै ।’
त्यसो त कतिपय स्थितिमा लेखकहरूलाई पुरस्कारबाट घाटा पनि हुन्छ । आहुतिकै अनुभवमा उनले २०४९ मा ‘तपस्वीका गीतहरू’ का लागि १० हजार राशिको कृष्णहरि पुरस्कार पाउँदा साथीहरू रिसाएर बोलचालै बन्द गरे । एक वर्षसम्म एउटा कविता पनि लेख्न सकेनन् । मदन पुरस्कार विजेता लेखकहरूले कृतिभन्दा कामचलाउ किताब मात्र लेखिरहेको सुनिन्छ । पुरस्कार पाएपछि लेखकीय श्री साँच्चै समाप्त हुन्छ त ? ‘आफूले पुरस्कार पाएको कृति सबैभन्दा गतिलो हो भन्ने भ्रम हुन्छ कतिपय लेखकलाई । त्यसका कारण प्रतिभा कुण्ठित र भ्रमित अनि आतंकित हुन्छ,’ उनको तर्क छ, ‘त्यस्ता लेखक प्रचारको लपेटामा परेर मनोवैज्ञानिक द्वन्द्वमा फस्छन् ।’

अस्वीकार पनि
पुरस्कारको प्रसंगमा सबै लोभीपापी छन् भन्ने पनि होइन । युवा वर्ष मोती पुरस्कार दुईपटक अस्वीकार गरिएका घटना पनि छन् । २०४८ मा नरेन्द्रराज प्रसाईंसित दिइएको संयुक्त पुरस्कार किशोर पहाडीले लिएनन् । २०६३ मा मोमिला जोशीसित दिइएको संयुक्त पुरस्कार रामप्रसाद ज्ञवालीले पनि लिएनन् । पुरस्कार स्वीकार र बहिष्कार गर्नु व्यक्तिको अधिकार हो । त्यतिबेला दुवै जनाले पुरस्कार नलिनुमा राजनीतिक कारण देखाएका थिए ।
पुरस्कार गुठीहरूले राम्रा किताब निस्केनन् भनेर पुरस्कार रोकेका घटना पनि दुर्लभ छन् । मदन पुरस्कार गुठीले २०२०, २०२३–२४, २०२५, २०३४–३५ मा पुरस्कारको साटो विद्वतवृत्ति दिएको सन्दर्भ स्मरणीय छ ।
केही सातापहिले श्रीलंका पुगेका बेला आख्यानकार सञ्जीव उप्रेतीले प्रकाशकलाई सन्देश पठाए, ‘मैले पहिले पनि भनिसकेको छु वा भन्न बिर्सेको रहेछु भने पनि फेरि जानकारी गराउँछु— मेरो हंससहित (आगामी प्रकाशनसमेत) कुनै पनि किताब कुनै पनि पुरस्कारका लागि दर्ता नगरिदिनू । पाठकले दिएको पठन प्रतिक्रिया मेरा लागि कुनै पुरस्कार र सम्मानभन्दा माथि छ ।’
त्यस्तै गत वर्षको मदन पुरस्कारको मनोनयन सूचीमा ‘ज्ञ’ परेपछि लेखक कुमार नगरकोटीले प्रकाशकलाई एक डोज झपारे । उनले नयाँ कथासंग्रह ‘कल्पग्रन्थ’ को अग्रभागमै लेख्न आग्रह गरिरहेका छन्, ‘यो किताब कुनै पनि पुरस्कारका लागि समावेश हुनेछैन ।’ प्रकाशकले फेसबुकमा लेखे, ‘कोहीकोही लेखक मपु दर्ताको अधकट्टीसमेत मगाउँछन्, कुनै लेखकलाई आफूलाई पुरस्कार मोहभन्दा माथि राख्न चाहन्छन्, रोजाइ आ–आफ्नो हो ।’ अर्का लेखक बुद्धिसागरले त्यस्तै भनेको प्रकाशकको फेसबुक भित्तोमा उल्लेख छ । पुरस्कारमा पारदर्शिता नभएकोमा खिन्न यी लेखकहरूको दाबी छ, राम्रो लेखकलाई पुरस्कारको जरुरत पर्दैन ।
अर्चना थापाले पनि आफ्नो कथासंग्रह ‘कठपुतला’ पुरस्कारका लागि कतै दर्ता गरिनन् । तर, उनले दर्ता गर्नुनपर्ने पुरस्कार पनि पाइनन् । ‘पुरस्कारबारे सबै कुरा सर्वजाहेर नै छ । यहाँ त जसले जसलाई पनि पुरस्कार दिएको देख्छु,’ उनी भन्छिन्, ‘मैले लेख्नुलाई नै ध्येय बनाएको छु । लेख्ने धोको नै पुगेको छैन, पुरस्कार त दोस्रो प्रश्न हो ।’
पुरस्कारमा अन्तर्राष्ट्रिय मानस्तर कायम होस् भन्ने कामना व्यर्थ होइन । तर, ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्मा राजनीतिमा नभएको न्याय र निष्पक्षता साहित्यमा मात्र खोजिनु मूर्खता ठान्छन् । ‘राजनीतिमा पनि कुनै कुनै नेता इमानदार भेटिन्छन्,’ शर्मा भन्छन्, ‘साहित्यिक पुरस्कारमा पनि एकाध इमानदार होलान् ।’

प्रकाशित : पुस ५, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?