१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘युवाहरूको गीत’ को यादमा

क्लासिक
खगेन्द्र संग्रौला

याङ मो (१९१४ अगस्त २५– १९९५ डिसेम्बर ११) क्रान्तिकारी एवं सिर्जनशील चिनियाँ लेखक हुन्  । सन् १९५८ मा प्रकाशित  ‘द सङ अफ युथ’ याङ मोको चर्चित उपन्यास हो  ।

‘युवाहरूको गीत’ को यादमा

१९५९ मा चिनियाँ क्रान्तिको दसौँ वार्षिकोत्सवको अवसरमा यस उपन्यासमा आधारित फिल्म पनि सार्वजनिक भयो । साठी–सत्तरीको दशकमा यो उपन्यास खुब पढियो । र, बजारले यसलाई ‘बेस्ट सेलर’ को संज्ञा दियो । यसलाई नेपालीमा २०४१ सालमै अनुवाद गरेका थिए— लेखक खगेन्द्र संग्रौलाले । याङ मो स्मृति दिवसका सन्दर्भमा संग्रौलाको अनुवाद अनुभूति :

सै जुनीमा औतार फेरिरहनेहरूका लागि स्मृतिहरू खतरनाक हुन्छन् । तिनले तिनलाई तर्साउँछन्, गिज्याउँछन् र धिक्कार्छन् ।

म पोखरामा छु । यस घडीमा पोखरामा एउटा पूरक चुनावी सभा हुँदै छ । यो सत्ताधारी कम्निस्टको चुनावी सभा हो । अचम्म ! चुनावी मञ्च उदेकलाग्दो गरी कर्मकाण्डी भजनमय छ । मञ्चमा छन् शिरमा जटा धारण गरेका, निधारमा खरानी घसेका र गलामा रुद्राक्षका माला लगाएका चटके अभिनयकर्मीहरू । सशक्त माइकमा उच्च स्वरमा गगनभेदी भजन गुन्जिन्छ :

हरि पान चढाऊँ, फू चढाऊँ, दूबो चढाऊँ, मेवा
एक मनको लड्डु चढाई भक्त गर्छन् सेवा
श्री गणेशाय नमः, सबै मिली गरौँ भजन ।

दर्शक जमात भीडमभीड छ । भीडका पुर्जारूपी भक्तहरूमध्ये एक जना छन्, सत्तावृत्तका एक बडे नेता । वास्तवमा यी रिकुटे टाइपका नयाँ भक्त हुन् । यी भक्त सत्ताको देखिने भत्ता–सुरक्षा र नदेखिने के–के क–के भोग गरिरहेका छन् । भजनद्वारा अभिभूत भई यी नवभक्त भन्छन्, ‘म सन्त हनुपर्ने मान्छे, कहाँबाट राजनीतिमा आएछु ?’ यसो भन्दै यी स्खलित मनुवा आफ्नो अतीत, आफ्नो आदर्श र आफू हिँडेर आएको बाटोलाई थुकिरहेका छन् । एकबारको जुनीमा यो यिनको दोस्रो औतार हो ।

सम्झेर ल्याउँद ताज्जुब लाग्छ । आखिर हिजैको कुरा त हो । विद्रोहको बाटो हिँडेर भुइँमान्छेहरूका आँसु, रगत र उत्सर्गले आफ्नो पहिचान बनाई प्रतिष्ठा कमाएकाहरू मसँग भेट भइरहन्थे । कहिले जीवनका दोबाटामा, कहिले चौबाटामा, कहिले कतैका कुइनेटामा । मलाई भेट्दा तिनलाई दुईटा कुराको झल्याँस्स याद आउँथ्यो । माओका ‘सैनिक रचनाहरू’ को र याङ मोकृत ‘युवाहरूको गीत’ को । ती मलाई घ्याप्प अँगालो मार्थे, मुसार्थे र म्वाई खान खोज्थे । र, बडो भावुक हुँदै ती भन्थे, ‘कमरेड, यी अनुवादहरूप्रति हामी भारी कृतज्ञ छौँ । यिनैका विचार, आवेग र समरनीतिको सहाराले त हो हामीले जनयुद्ध लडेका ।’ अनि आज ? आज मलाई भेट्दा ती कि परैबाट तर्केर भाग्छन् । अथवा असजिलो मान्दै मसँग हात मिलाउँछन् र पक्राउ पर्न लागेको पटके चोरझैँ हत्तपत्त आफ्नो बाटो तताउँछन् । हिजो ती उदात्त आदर्शमा प्रतिबद्ध थिए, आज ती निकृष्ट उपभोगमा स्खलित भएका छन् ।

हिजो ती त्यागपथमा थिए, आज ती विलासपथमा छन् । हिजो ती भाग्य मान्छेको आफ्नै हातले लेखिन्छ भन्थे, आज तिनले भाग्यको लगाम काठको गणेशलाई सुम्पिदिएका छन् । हिजो ती ‘द्वन्द्वात्मक भौतिकवाद’ को रटना गर्थे, आज ती ‘हरि भजन’ मा झुम्मिएका छन् । हिजो ती नास्तिकताको पैरवी गर्थे र लौकिताउपर बहस गर्थे, आज ती महिष पूजन, पाइलोट बाबा ढोगन र सायद ‘हनुमान चालिसा’ जपनमा समेत मग्न छन् । ती हिजो ती टाउको टेकेर उभिएका थिए, आज ती मुन्टो टेकेर लत्रिएका छन् । हिजो आफ्नो आदर्शबाट स्खलित हुने सहयात्रीलाई ती सढेको अण्डासँग तुलना गर्थे । विडम्बनावश, कम्निस्ट हौँ भन्ने उनै जीवहरूको यत्रो जमात आज थोक हिसाबले सढाउ अण्डामा स्खलित भइरहेको छ । यो यसै जुनीमा यिनको दोस्रो
औतार हो ।

यस्ता अप्रीतिकर औतारीहरूको बिगबिगीमाझ म बडो उद्विग्न मुद्रामा थिएँ । तरुण मित्र दीपक सापकोटाले विद्युतीय यन्त्रमा मलाई ‘हेलो’ भने । गम खाँदै म चनाखो भएँ । पक्का पनि कुल्लीमा भर्ती गर्न यिनले ‘मलाई सम्झेका हुनन् । उनी बडो फुरनशील छन् । यिनको उर्वर मस्तिष्कमा घरीघरी के के फुरिरहन्छ । आफूलाई फुरेको कुरा यी शब्दशिल्पी कुल्लीलाई सुनाउँछन् । र, भन्छन्— यो गजपको विषय हो । नलेखी नहुने । र, यो लेख्ने सुयोग्य पात्र यस नरलोकमा तिमी हौ, र तिमी मात्र हौ । यी कुल्लीलाई यसरी विषयको महत्ताबोध गराउँछन्, फुर्क्याउँछन् र गाँजेर ‘ख’ गराउँछन् । सायद यिनलाई लाग्दो हो, गोर्खे कुल्लीहरू अल्छी र भुलक्कड छन् । त्यसैले त यी तिनलाई झिझ्याट लाग्ने गरी झकझक्याइरहन्छन्, स्मरण गराइरहन्छन् । विद्युतीय यन्त्रमा यिनले मलाई याङ मो र ‘युवाहरूको गीत’ को स्मरण गराए । जो कृतज्ञ छौँ भन्थे, ती हदै कृतघ्न भए । र, तिनलाई कालान्तरमा ‘युवाहरूको गीत’ को स्मृति घाँडो भयो । तर, दीपकले याङ मो र ‘युवाहरूको गीत’ बिर्सेका रहेनछन् । उनको यो स्मरणमा आदर्शप्रतिको निष्ठा कति छ र व्यवसायको गर्जो टार्ने धन्दा कति छ, त्यो म जान्दिनँ । जे होस्, उनको चञ्चल मस्तिष्कमा यो फुर्‍यो । मसँग थिएन, ‘युवाहरूको गीत’ उनैले हात लगाए ।

जिद्दीको भाकामा उनले मलाई भने— सात काम छाडेर भए पनि यो विषयमा लेख्नैपर्‍यो । लेख्न उनले मलाई दस दिनको भाका दिए । तर लेख्ने के ? लेख्ने विषयको चार किल्ला आफैँ बाँधेर उनले भने, ‘लेख्ने युवाहरूको गीतका घटना–प्रवृत्तिको इतिवृत्त वर्णन होइन । याङ मो को हुन् र के हुन् ? यो उपन्यास याङ मोद्वारा किन र कसरी लेखियो ? कुन प्रेरणा, आवश्यकताबोध वा संयोगले यसलाई नेपालीमा अनुवाद गरियो ? यसमा के त्यस्तो सम्मोहक तत्त्व छ, जसले गर्दा यो लाल वाम वृत्तमा यति धेरै पढियो ? अनि यति छिट्टै चीनमा पनि र नेपालमा पनि यसलाई किन यसरी बिर्सिइयो ? बस्, लेख्ने कुरा यी हुन् ।’

चालीस सालमा म चितवनबाट काठमाडौँ लखेटिएँ । लखेट्ने जीव थिए श्री रामकृष्ण पन्त । शाही सीडीओ, ऋषि देवकोटा ‘आजाद’ का जीवन हरणकर्ता । चितवन टेक्नु के थियो जल्लादी मुद्रामा तिनले मलाई भने, ‘विष्णुका बैरीलाई म... ।’ सतर्क हुँदै हेरेँ— हातमा अदृश्य राइफल छ, खल्तीमा नागरिक मार्ने हक छ । मार्ने राजकीय हक हुनेले मार्छु भन्नुको तात्पर्य मार्नु हो । जिउनलाई मसँग प्रिय आदर्श थियो, र काँधमा थियो दुई चिचिला सन्तानप्रतिको करुणामयी दायित्व । मलाई मरिहाल्न मन लागेन । तसर्थ अन्धकारको आवरणमा लुक्दै मैले काठमाडौँतिर टाप कसेँ ।

काठमाडौँ त जिउँदै आइपुगेँ तर अब गर्ने के ? बस्ने कहाँ ? खाने के ? बन्दीपुरे मित्र थिए एक जना, विद्या श्रेष्ठ । म तिनकहाँ अस्थायी शरणार्थी बनेँ । र, कामको खोजीमा म लागेँ भोटाहिटीतिर । त्यहाँ वैद्य दाइको देब्रे ढल्कुका पुस्तक पसल थियो । त्यसले अनुवाद प्रकाशन पनि गर्थ्यो । एक दिन दाइले मलाई ‘सङ अफ युथ’ नामक उपन्यास पढ्न दिए । त्यो चिनियाँ उपन्यास थियो, लेखक थिइन् याङ मो । मैले पढिसकेपछि दाइले केरकार गरे, ‘कस्तो लाग्यो ?’ ‘माल अब्बल छ,’ मैले भनेँ । ‘अनुवाद गर्ने हो ?’ दाइले सोधे । मलाई काम, दाम, माम तीनै थोकको खाँचो थियो । तसर्थ सहर्ष भनेँ, ‘गर्छु ।’ ज्यालाको दररेट तोकियो । र, मैले अनुवाद गर्ने इत्थमित्थ भयो ।

‘द सङ अफ युथ’ मैले टाइपराइटरमा अविराम पटटको लयमा गरेको पहिलो अनुवाद हो । यो टाइपराइटरको आफ्नै कथा छ । मेरा एक सदावहार साथी छन्, श्री स्वनाम साथी । एक दिन साथीले सोधे, ‘भेना, टाइपराइटर किन्ने हो ?’ ‘पैसा भए पो,’ प्रत्युत्तरमा मैले भनेँ । ‘सस्तो पाइया छ, किनम्,’ साथीले कर गरे । पहिले टीसीमा पढ्दा टाइप हान्न सिकेको थिएँ । कत्रो मिहिनेतले सिकेँ, त्यो सीपले कामै पाएन । ‘जे पर्ला, किन्छु,’ झ्याट्ट निधोँ गरेँ । र, यताउता यसोउसो गरेर टाइपराइटर किनेँ । रेमिङटन, मेड इन जर्मनी । माल नयाँसरह गजप छ ! छिपा अक्षर हान्छ । औँलाको चालमा, धड्कनको लयमा मुरली मकै पड्के सरी यो पड्किन्छ— पटट–पट्पट्, पटट–पट्पट्, पट्पट्–पट्पट्–पट्पट् ।



एकचालीस साल चैतमा छापिएको रहेछ यो । त्यो असहज घडीमा गर्नलाई मसँग अरू केही काम थिएन । जानलाई ठाउँ कहीँ थिएन । खुला हिँडिरहन मनमा कताकता सरकारी सुलसुलेको डर थियो । त्यसकारण म एमवी र काजीको ‘अर्द्ध भूमिगत’ शैलीमा गुप्तवासमा बसेँ । र, मैले दिनको झन्डै बाह्र घण्टाका दरले टाइप पड्काएँ । टाइपमा पहिलो पुस्तक अनुवाद गर्दा मनमा यसै पनि कौतुकमय उमंग र गहिरो आनन्द जागृत भयो । हस्त लेखनको भन्दा यो पटपटेको चाल कतिकति छिटो ! न कतै केरमेटको झमेलो छ, न साफी गर्ने लेठो छ । एकै पटकमा झिरिप्प छिपा ! वैद्य दाइले लेखेका रहेछन्, ‘यो कथित अनुवादको संक्षिप्त, सरल र अनुत्तरदायी बाटोचाहिँ होइन ।’ प्रकाशकीयको यो वाक्य पढ्दा मलाई अहिले हर्ष र गर्वबोध भयो । मेरो अनुवादमा हजार गल्ती होलान्, तर मैले निष्ठा र इमानसाथ यो कर्म गरेको छु ।

उपन्यासकार याङ मो को हुन् र के हुन् ? यो जिज्ञासाको मूर्त र सविस्तार उत्तर कतै फेला पर्दैन । नेपाल र चीनबीच भूगोलको दूरी जति छ, भावना र संस्कृतिको दूरी त्योभन्दा कतिकति धेरै छ । चीन र नेपालबीच दुर्लङ्घ्य पर्वतमाला छ । चीनसँग हाम्रो भूगोलको विकटतासँगै भाषाको विकटता पनि छ । आजसम्म एक जोडी चिनियाँ र नेपाली युवक–युवतीको बिहा भएको तपाईँलाई थाहा छ ? खै, मलाई छ थाहा छैन । बस्, यति भनेपछि यसबारे लामो गन्थन गर्नै परेन । याङ मोबारे मलाई जम्मा यत्ति थाहा छ, उनी क्रान्तिकारी एवं सिर्जनशील चिनियाँ नारी हुन् । जन्म— १९१४ अगस्त २५, मृत्यु— १९९५ डिसेम्बर ११ । जन्मथलो पनि बेइजिङ, मृत्युथलो पनि बेइजिङ । रोचक कुरा, उइकिपिडिया भन्छ— याङ मोको पेसा लेखन हो । यसको अर्थ उनी पूर्णकालिक लेखक हुन् । र, यसको अर्थ हो— ‘युवाहरूको गीत’ बाट आर्जित ख्याति र यसको बिक्रीले याङ मोलाई जीवनभरि प्राण धान्न सघायो । अर्को रोचक कुरा, याङ मोका आफन्तहरूबारे उइकिपिया मौन छ । यसले यतिमात्र भन्छ— निकट नातेदारका रूपमा याङ मोकी केवल एक भगिनी थिइन् । तिनको नाम हो बाई याङ । बस् ।

‘युवाहरूको गीत’ को कथ्य चीनको सन् १९३० को दशकको पूर्वार्द्धको हो, यो लेखियो सन् ५० को उत्तरार्द्धमा । सन् १९३१ मा जापानले उत्तरपूर्वी चीनका चारवटा प्रान्तलाई अजिङ्गंगले झैँ सुलुक्कै निल्यो । र, अन्य निकटवर्टी प्रान्तहरूलाई निल्न हिंस्रक नङ्ग्रा गाड्यो । चीनको इतिहासमा त्यो हुनुसम्म अँध्यारो काल थियो । चीन संकटको मुखैमा पुग्यो, र सर्वत्र गहिरो हतासा एवं भयावह सन्नाटा व्याप्त भयो । शासनको आसनमा गजधम्म बसेको थियो ढ्याके क्वमिन्ताङ ।

क्वमिन्ताङ ऊर्फ मिचाहा जापानीको नोकरतुल्य सेवक र चिनियाँ जनताको जघन्य उत्पीडक । जब १९३५ को हिउँद आयो, जाग्न थालेका पेफिङका विद्यार्थीहरू झुरुम्मै सडकमा उत्रिए । ‘चीनका जनता देश जोगाउन उठ’ भन्ने नाराको तुमुल ध्वनिले चिनियाँ आकाश गुन्जियो । बस्, युवाहरूको गीतको जायजन्म त्यही ध्वनि र त्यही गुञ्जनबाट सुरु भयो । त्यस उप्रान्त याङ मोकै कथनमा, ‘मिसिनगन र संगीन, काराबास र यातना वा फाँसीसामुसमेत एकरत्ती नदबी असंख्य श्रेष्ठ तरुणहरू बैरीसँग दृढता साथ लडे । एक जना योद्धा ढल्यो, अर्को जना उसको ठाउँमा खडा भयो । देशको भविष्य उज्ज्वल छ भन्ने कुरामा ढुक्क हुँदै केही मानिस हाँसीहाँसी मरे, अरू धेरै मानिस ढालिएका मानिसहरूका रक्ताम्य पाइला टेक्दै अघि बढे । यो उपन्यास एक तरुण बौद्धिकको समाजप्रति विरोधको हुंकार हो ।’

‘युवाहरूको गीत’ लिन ताओ चिङको कथा र व्यथा एवं घर्षण र गाथाबाट निर्मित एक भव्य विम्ब हो । तत्कालीन जाग्रत र क्रान्तिकारी युवाहरूको एक जाज्वल्यमान प्रतिनिधि विम्ब । उपन्यासकी नायिक उनै हुन्, उपन्यासको केन्द्र उनै र यसको समापन पनि उनै । उनी बेइजिङकी जमिनदारकी छोरी हुन् । उनकी आमालाई जमिनदारले बलात् रखौटी बनाएको थियो । पछि उसले अर्की महिलासँग बिहा गर्‍यो र ताओ चिङकी आमालाई छिःछिः, दूरदूरको हदै सिकार तुल्यायो । त्यो उत्पीडन र अपमान यति चरम थियो, उसले ताओ चिङकी आमालाई छोरीलाई माया गर्न पनि दिएन । अतिशय उदास र हतास आमा हाम्फालेर आत्महत्या गर्न विवश भइन् । सौतेनी आमाले ताओ चिङलाई जब एक धनाढ्य पुरुषको हातमा बेच्न खोजेको पोल खुल्यो, उनले त्यो नारकीय घर छाडेर सुटुक्क टाप कसिन् । त्यो टाप कसाइ निसासलाग्दो पिँजराबाट बन्धित सुगाको मुक्त आकाशमा मुक्तितुल्य थियो । सतहमा त्यो ताओ चिङको एक अविदित र अनिश्चित जगत्तिरको पलायन थियो । तर, त्यो पलायनको अन्तर्यमा वास्तवमा स्वतन्त्रता र मुक्तिको उमंगमय भ्रूण थियो । कालान्तरमा, संगत र संघर्ष एवं स्वयंको अन्वेषण र आविष्कारको जटिल प्रक्रियामा, त्यो भ्रूणले कोपिलाको रूप धारण गर्‍यो । त्यो कोपिलो फक्रिएर फुल्यो । र, त्यसको सौन्दर्य एवं सुवास चीनभरि व्याप्त भयो । त्यो उदात्त आदर्शको सौन्दर्य थियो, त्यो साहसिक उत्सर्गको सुवास थियो ।

जीवनका कठिन र कष्टकर उकाली–ओरालीबीच लिन ताओ चिङको कम्निस्ट चेतनासँग साक्षात्कार भयो । यसबीच बेइजिङको एक विद्यार्थीसँग उनको मायापिर्ती बस्यो र बिहा भयो । स्वरूपमा त्यो पठ्ठो सुन्दर फूलजस्तो थियो तर सारमा त्यो करेटको औतारमा गोचर भयो । पहिले इतिहास र शास्त्रहरू पढ्नुपर्छ, बुझ्नुपर्छ र खार्नुपर्छ— ताओ चिङलाई उसले अर्ती दिया— अनि मात्र क्रान्तिमा लाग्नुपर्छ । अज्ञानी अन्धकारमा छामछाम–छुमछुम गर्दै कहीँ कतै पुग्दैन । त्यस पठ्ठाको यो उपदेशमा यथास्थितिको पूजा–आराधना अन्तर्निहित थियो । यसरी ऊ ताओ चिङको अग्रगति र प्रगतिमा पलपल बाधक बन्यो । कालक्रममा यो बाधा ताओ चिङका लागि असह्य भयो र उनले त्यो अतीतमुखी र भविष्य–निषेधी करेटलाई सदाका लागि परित्याग गरिन् ।
ताओ चिङको चिनियाँ कम्निस्ट पार्टीसँग नाता गाँसियो । र, उनी पार्टी चिन्तनको आलोकद्वारा प्रेरित भई संघर्षका अनेक मोर्चाहरूमा डटिन् । मुक्ति यात्रामा मानव स्वरूपमा सद्दे तत्त्वहरू भेटिए, खोटाहरू भेटिए । निष्ठावान र इमानीहरूको स्नेह र सहयोग प्राप्त भयो, औसरवादी र बेइमानहरूले धोका दिएर सताए । भूमिगत जीवनको साह्रोगाह्रो र काराबासको कहरले लिन ताओ चिङलाई इस्पाततुल्य तुल्यायो । यात्रामा कमरेडको आवरणमा प्रकट हुने छद्म जासुसहरूले उनलाई जासुसको आरोप लगाए । कारागारमा प्रहरी अधिकारीहरूले उनीसँग मायापिर्ती बसेको स्वाङ पारे । यी सब चालहरू ताओ चिङलाई कलंकित र पतित तुल्याउने जाली कतुर्तहरू थिए । ताओ चिङ क्रान्तिकारी जीवनको यो कठिन परीक्षामा सानदार ढंगले उत्तीर्ण भइन् । र, उनी समस्त चिनियाँ युवाहरूको आकर्षण, प्रेरणा र अनुकरणको सम्मोहक गीततुल्य बनिन् ।

चीनको युवा संघर्षका लक्ष्य दुइटा थिए । एउटा, विदेशीको कब्जामा रहेको भूमिलाई मुक्त गर्नु । अर्को, समस्त चिनियाँ समाजलाई सामन्ती एवं औपनिवेशिक शोषण र दोहन तथा दासता र पछौटेपनबाट मुक्त गर्नु । कमान्डमा कम्निस्ट पार्टी थियो । जीवनपथको दिग्दर्शन गर्ने दर्शन मार्क्सवाद थियो । र, युवा संघर्षको अग्रभागमा खडा भएकी ताओ चिङका हातमा हसिया–हथौडा अंकित लाल झन्डा थियो । कम्निस्ट घोषणापत्रको भाषामा ‘जित्नलाई सारा संसार सामुन्ने थियो, गुमाउनलाई सिक्री सिबाय केही थिएन ।’ बस्, युवाहरूको गीतको कथासार
यस्तैयस्तै हो ।

उपन्यासको अन्त्यतिर, लाल युवा आन्दोलनको उत्कर्षको घडीमा, संग्रामी मानवसागर उर्लिन्छ । ताओ चिङ सागरको अघिल्लो भागमा हुन्छिन् । ताओ चिङको अनुहारमा रगत र आँसु लपतिएको छ । गलो बसको स्वरमा ताओ चिङ आह्वान गर्छिन्, ‘दास बन्न इन्कार गर्ने सबै मानिस हो, उठ र लड !’ ताओ चिङको उत्ताल आवेगयुक्त यो स्वरको अन्तरधारमा मलाई उपन्यासकार याङका यी उदात्त वचनहरू ध्वनित भएझैँ लाग्छ, ‘प्रकाश अन्धकारभन्दा बलशाली हुन्छ, उच्चता नीचताभन्दा बलशाली हुन्छ, स्वार्थीपनमाथि निःस्वार्थपनको र दुःखमाथि सुखको विजय हुन्छ, हुन्छ ।’
बस्, ‘युवाहरूको गीत’ सकियो ।

‘युवाहरूको गीत’ प्रकाशित भएको सुखद साल हो सन् १९५८ । सन् १९५९ मा चिनियाँ क्रान्तिको दशौँ वार्षिकोत्सवको औसरमा यस उपन्यासमा आधारित फिल्म सार्वजनिक भयो । साठी–सत्तरीको दशकमा यो उपन्यास लटालट बिक्यो, खुब पढियो र यसको औधी चर्चा भयो । र, बजारको भाषामा यसलाई ‘बेस्ट सेलर’ को संज्ञा दिइयो । जब सन् १९७६ आयो, याङ मो र ‘युवाहरूको गीत’ का दुःखका दिन सुरु भए । उक्त साल, सनातनी क्रान्तिकारीहरूको आक्षेपकारी भाषामा, शासनको बागडोर ‘पुँजी पन्थीहरू’ का हातमा पर्‍यो । त्यसपछि के भयो ? चतुर शासकको ‘कालो बिरालो’ र ‘सेतो’ बिरालोको कथनले बजार पिट्यो । अब व्यक्तिवादले टाउको उठायो । संस्कृतिमा स्वार्थी प्रतिस्पर्धा हावी भयो । लोभले त्यागलाई ओझेलमा पार्‍यो । सादगीलाई विलासिताले निस्तेज तुल्यायो । र, ‘पुँजी पन्थी’ संस्कृतिमा छिटो धनी हुनु पराक्रम र श्रेष्ठताको अब्बल मानक बन्यो । यस पृष्ठभूमिमा युवाहरूको गीत सक्रिय पठनबाट स्मृतिको नेपथ्यतर्फ धकेलियो । सन् १९८० मा याङ मोको ‘युवाहरूको गीत’ को ‘सिक्वेल’ अर्थात् उत्तरभाग प्रकाशित भयो । तर, पठन र चर्चाको बजारमा कतै पनि त्यसको अस्तित्वको खासै आभास भएन । बजार ‘जंक फुड’ तुल्य पठन सामग्रीहरूले ढाकिएको थियो ।

नेपाली लाल वाम वृत्तमा गोर्कीको ‘आमा’ पछि सर्वाधिक पढिएको उपन्यास हो— याङ मोकृत ‘युवाहरूको गीत’ । ‘आमा’ खास गरेर सहर–बजारका हुनेखाने पठितहरूले पढे । तर, ‘युवाहरूको गीत’ दुर्गम भेगका गाउँ–देहातका साक्षर गरिबहरूले पनि पढ्न भ्याए । यसलाई जनयुद्धको आँधीबेरीले बोकेर त्यता पुर्‍यायो । धर्मभीरुहरूका लागि ‘हनुमान चालिसा’ जस्तो हो, क्रान्तिकारी जमातका लागि यो उपन्यास त्यस्तै भयो । ‘युवाहरूको गीत’ युवाहरूका हातहातै सर्दै गयो, र यसलाई पालो पर्खीपर्खी पढियो ।

तिनताक क्रान्तिका नायकहरू यो अनूदित उपन्यासको जनजागरणकारी एवं सौन्दर्यबोधी भूमिकाप्रति मुखर रूपमै कृतकृत्य थिए । तर, अचेल ती यसबारे सर्वथा मौन छन् । ऊबेला ती जुन आदर्शका पैरवीकार एवं योद्धा थिए, अहिले ती त्यही आदर्शलाई कुल्चिँदै र थुक्दै हिँडिरहेका छन् । नायकहरू खलनायकमा पतीत भएका छन् । र, तिनका लागि ‘युवाहरूको गीत’ एकदमै त्याज्य बनेको छ । सकिने भए सायद तिनीहरू ‘युवाहरूको गीत’ को स्मृतिलाई मस्तिष्कका चिप्सहरूबाट सदाका लागि खुर्केर फाल्दा हुन् । दुर्भाग्यवश, सकिँदैन । बरा यी खलनायकहरू हदै दुःखी जीव हुन् । यिनलाई हिजो आफैँले बडो अनुरागपूर्वक मस्तिष्कमा अंकित गरेको ‘युवाहरूको गीत’ को स्मृतिले तर्साइरहेछ, गिज्याइरहेछ र धिक्कारिरहेछ ।

प्रकाशित : मंसिर २१, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?