कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कथा : तेमाल कोर्वा

फूलमान वल

झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू नाच्न थाले । म झिकु खोला किनारको मनोरम बोटानिकल पार्कमा थिएँ । एक छिन खुब रन्थनिएँ । सहरबाट गाउँ हिँडेको– कहाँ आइपुगें म ?

कथा : तेमाल कोर्वा

बोहोरे दोभान उही थियो तर पानीघट्ट थिएन । पलाञ्चोक र तेमाल जोड्ने लोभलाग्दो पक्की पुल बनिसकेछ । यही झिकु खोलामा थुप्रैपटक सेलो गाउँदै दुवाली फर्काएको हुँ, सानो छँदा । खिर्रोको स्याउला कुटेर माछा मारेको पनि थिएँ । पौडी खेल्दा पानी छ्याप्दै जिस्किन आउने पलाञ्चोके आस्याङका छोरी पम्फा र रामशलीहरूको रातो रिबन... ।


अहो, झिकु खोलामा त एउटा सिंगै युग बगेर गएछ !


क्षितिजमा उदाउँदै गरेको जूनको गर्भिनी उज्यालोमा हामी प्रेमगीत गाउँथ्यौं यहाँ । घट्टको एकतमास लय, गंगटा र गोलभेंडाको अचार अनि ढिँडोको आदिम स्वाद । आहा !


एकाएक विस्मृतिको दोधारे विन्दुमा उभिन पुगें । आश्चर्य ! घडी र पलाहरूको यो कस्तो विस्मयकारी टाइमल्याप्स । पत्तै नदिई कसरी बिलाइगएछ समय ?


फेरि झ्याउँकिरीहरूले गीत गाए ।


म पाइडल घुमाउँदै अघि बढें । अघिल्तिर कालापत्रे सडकले रोमाञ्चककारी अँगालो फैलायो । अचम्म ! कुनै समय मैले पसिना चुहाउँदै घाँसको भारी बोकी हिँड्ने दुःखको दुरूह गोरेटो यहीँनेर थियो । अहिले सफाचट टुरिस्टबस दौडिरहेछन् । आश्चर्यको तुमुल तुवाँलो उठ्यो मनभित्र । पुल नटुंगिँदै पारिपट्टि ठूलो होर्डिङबोर्डमा ‘तेमाल कोर्वा (पदयात्रा)’ को नक्सा कोरिएको थियो । कस्तो विरोधाभास– आफ्नै गाउँ जान आज म नक्सा हेर्दै छु !

पक्कै मलाई डिमेन्सिया भएको हुनुपर्छ ।
...
सहरमा हराएको पनि ठ्याक्कै पच्चीस बर्ष भएछ । एक दशक जति त कोमामै बिताएँ हुँला । कोमाबाट ब्युँझिँदा देशमा जनयुद्ध र लोकतान्त्रिक आन्दोलन टुंगेर गणतन्त्र आइसकेको थियो ।


थाहा छैन– तिनताक के भएको थियो, मैले फेरि कोमामा जानुपर्‍यो । त्यो एक प्रकारले हाइबरनेसन थियो सायद । दोस्रोपटक ब्युँझिँदा देशले नयाँ संविधान पाइसकेको थियो । प्रदेशहरू निर्माण भइसकेका थिए ।


‘तपाईंका लागि पहाडी यात्रा निकै उत्तम हुनेछ,’ डाक्टर आत्माले एक दिन मलाई प्रेमपूर्वक सुझाइन् ‘त्यहाँका नागबेली बाटामा अक्सिजनको प्रेमिल नदी बगिरहेको भेटाउनुहुनेछ । यो सहर तपाईंको स्वास्थ्यका लागि हानिकारक छ ।’


त्यसपछि उनैले प्रेमपूर्वक साइकल उपहार दिएर गइन् । गइन् किनभने त्यसयता उनी कहिल्यै फर्केर आइनन् । मैलेचाहिँ आफूलाई अलिक ब्युँझिएको महसुस गरें । मनको भित्री कुनामा भने कुनै स्वैरकाल्पिक उपन्यासको पात्र हुँ कि भन्ने दिग्भ्रम कायमै रह्यो ।
यही दिग्भ्रमकै बीच साइकलको पाइडल खिचेको हुँ– काभ्रेको तेमाल गाउँतिर । तामाङ सभ्यताको यो उद्गमथलोमा पक्कै पनि मेरो बाल्यकालका यादहरू छरिबसेका होलान् । म त्यही यादहरूको बिस्कुन टिप्न हिँडेको हुँ ।

...

होर्डिङबोर्ड नाघ्नेबित्तिकै पारिपट्टिबाट ढ्याङग्रो र डम्फुको लयदार आवाज आयो । अलिक पर दुई भव्य गेट देखें । बौद्ध र बोन वास्तुकला मिश्रित एन्टिक शैलीको प्रवेशद्वार । सबैभन्दा माथि डम्फु, त्यसपछि ढ्याङ्ग्रोको क्लासिक डिजाइन । बीचको काठमा कुँदिएको थियो– ‘तेमाल कोर्वा’ । ढुंगा बिछ्याइएको सफा र फराकिलो चोकमा मानिसहरू एकतमास किन झुम्मिरहेका छन् ?
मैले फेरि सानदार ब्रेक दबाएँ ।


‘तेमाल कोर्वामा स्वागत छ है !’, तामाङ मौलिक परिधानमा सजिएकी एक युवती अघिल्तिर उभिन आइपुगिन्– ‘फ्याफुल्ला !’
गाउँ आउने पयर्टकको स्वागतमा ढ्याङ्ग्रो र डम्फु बजाउँदै मान्छेहरू नाँच्दै रहेछन् । म पनि पर्यटकसँगै मिसिएँ । कुलाकी र गोइलो लाएका मूल ताम्बाले सगुनस्वरूप रक्सीमा टोटलाको फूल चोबल्दै भुइँ, आकाश र चार दिशा छर्के । युवतीको एउटा समूह सगुन बाँड्न थाल्यो ।


‘ल्हास्सो ऽऽऽ...’


परबाट युवतीहरूको अर्को समूह टोटलाको फूलको टीका लाउँदै आइपुग्यो । दाहिने गालामा चिटिक्क कोठीवाली युवतीले मेरो निधारतर्फ फूल अघि बढाइन् । मैले उनलाई चोरी आँखाले हेरें । उनका नयनमा पनि मुस्कान दगुर्‍यो । म कतै हराएँ । मलाई उनको एकजोर आँखा मनपर्‍यो । यी आँखालाई पहिले कतै देखेको हुनुपर्छ । याद बिर्सेर हिँडेको मान्छेलाई कसले पो याद राख्छ र ?
सहरको कोमामै छँदा चीनको युनान पुगेको सम्झें । दोङबा र मिला गाउँका आदिवासीले ७ वर्षअघि यसरी नै स्वागत गरेको थियो मलाई ।

...
हो त, गाउँ साँच्चिकै बदलिएछ !


मनभरि विस्मय बोकेर रूपटार जंगल उक्लें । हरियालीबिच नागबेली पक्की बाटो बनिसकेछ । उत्तरतिर जुगल हिमाल मुसुक्क हाँस्यो । उसैलाई हेर्दै हुर्केको थिएँ म । गाईबाख्रा चराउँदै यही जंगलमा डण्डी–बियो खेलेको हुँ । अहिले त चरण र बन्यजन्तु संरक्षण गरी दुई क्षेत्रमा बाँडिएछ । अचानक, एउटा खरायो फुत्त उफ्रियो झाडीबाट । हठात ब्रेक दबाएँ । यही बेला हरिण र मयूरको लुकामारी चल्यो । लौ, भुइँ जुरेली र तित्राले खेलेको जुहारीको लय पुरानै छ त !


रूपटार चौर पुगेपछि तीनछक परें । फराकिलो पार्क, फूलैफूलले ढकमक्क । मुलगेटमा लेखिएको थियो– ‘वेलकम टु लभ पार्क’ । कुनै समय मैले घाँसको भारीसित लुटुपुटु खेलेको यहीँनेर त हो !


पार्क हरिया घाँसे मैदानमा फैलिएको रहेछ । बीचबीचमा बिछ्याइएको ढुंगे बाटाको कोरियोग्राफी उत्तिकै लोभलाग्दो । बाटा छेउछाउ रंगीचंगी फूल । एउटा प्रेमजोडी जामुनको रूखमुनि गुनगुन गर्दै थियो । उनीहरू पक्कै पाँचखाल वा भेंडाबारीतिरबाट आएको हुनुपर्छ । अलिकपर फेमेली पिकनिकको समूह नाचिरहेको देखें ।


पार्ककै बीचमा आलिंगनबद्ध यो प्रेमिल सालिकचाहिँ कसको ?


‘रूपरानी र ह्रिन्जेनदोर्जेको’ फूल गोड्दै गरेको माली मुस्कुराए, ‘तपाईं शिलालेख पनि पढ्न सक्नुहुनेछ ।’


लौ, गाउँलेहरूको लबज नि फेरिएछ । कस्तो विनयी ! कति भलाद्मी !


म सालिकतिर दौडिएँ । सानु छँदा हजुरबाले सुनाउनु हुने उही प्रेमकथा ढुंगामा खोपिएको थियो– ‘तेमालका अन्तिम राजा ह्रिन्जेनदोर्जेका दुई रानी थिए, धामोरानी र रूपरानी । रूपरानी घाँस–दाउरा गर्न यही जंगल आउँथिन् । फूलहरूबाट रङ सापटी लिएर उनी अनुहारमा लाली पोत्थिन् । कोइलीसँग मित लाउँदै सेलो गाउँथिन् । मयूरसँग हाँसखेल गर्दै नाच्थिन् । एक दिन राजा ह्रिन्जेनदोर्जे यही बाटो भएर ल्हासा जाँदै थिए, रूपरानीको चुम्बकीय जादूले तान्यो । दुवै जना प्रेममा परे । रूपरानी कान्छी बनेर ह्रिन्जेनको तेमाल दरबार भित्रिइन् । ह्रिन्जेनले आफ्नो प्रेमको स्मृतिस्वरूप जंगलको नाम नै ‘रूपटार’ राखिदिए ।’


‘छप्लक्क !’


सालिक छेवैमा प्रेमपोखरी र मिनी झरना रहेछ, बुदुना माछा फुत्त उफ्रियो । म झस्केको देखेर माली मज्जाले हाँसे । पार्कको सौन्दर्य झन् अप्रतीम बन्यो । भकुन्डे, नमोबुद्ध, कानपुर मात्रै हैन, दोलालघाट र सुनकोसीपारि सैलुङदेखिका प्रेमी आउँदा रहेछन् यो पार्कमा ।

पहेंलो घाम महाभारत पर्वतमाथिको आकाशबाट ओरालो झर्दै गर्दा म गाउँ उक्लिँदै थिएँ । यही हो मेरो पियारो डहुन्हान गाङ, अर्थात् पीपल चौतारा । यहाँ आइपुग्दा उपल्लो तेमाल जाने बाटो आधा हुने भएकाले बटुवाहरूले ‘आधाबाटो’ भन्दाभन्दै यो गाउँको नामै कुनै समय ‘आधाबाट’ बनेको थियो । अहिले गाउँलेहरू तामाङ भाषाको पुरानै नाममा फर्किएछन् । सल्ला चौताराछेउ ठडिएको भव्य गेटमा ‘डहुन्हान गाङमा स्वागत छ’ लेखिएको थियो ।


गाउँमा संघीयता यसरी आएछ ।


बाटाहरू पूरै पिच, चिटिक्क र सफाचट । दुवैतिर ढुंगा बिछ्याइएको पब्लिक लेन । हरेक आधा किलोमिटरको दूरीमा फोहोर फाल्ने चोयाको कलात्मक थुन्छे । सफा र सुकिला मानिसहरू पब्लिक लेनबाट एकदम अनुशासित भएर हिँड्दा रहेछन् । एक जनालाई सोधिहेरें– उनी वडापालिकामा स्वयंसेवा गरेर फर्किरहेका रहेछन् । अर्कोलाई सोधें– उनीचाहिँ स्थानीय अर्ग्यानिक फ्याक्ट्रीबाट ड्युटी सकाएर घर फिर्दै रहेछन् । एक युवतीलाई जिज्ञासा राखें– उनी कलेज सकाएर सामुदायिक फिल्म हलतिर हतार–हतार दौडिरहेकी थिइन् । परबाट एउटी अधबैंसे आइन्– उनी कम्युनिटी सपिङ सेन्टरमा अर्ग्यानिक तरकारी बेच्न गइरहेकी रहेछिन् । रोजगारी त यसरी सिर्जना भएछ गाउँमा ।


लौ, पच्चीस वर्षअघिको मेरो घर जाने पुरानो बाटो खै त ? अनि पूर्वेलीहरूको त्यो आँपको बोट ?


टाउकोमा कुलाकी टोपी भिरेका एक युवकले मलाई निकै गहिरोसित नियाले । उनले त मलाई होमस्टे बस्न आएको पाहुना पो ठानेछन्– मुसुक्क हाँस्दै ढुंगा बिछ्याइएको बाटोतिर औंल्याइदिए । म साइकल घिर्सार्दै लुरुलुरु उतै लागें ।


एकै छिनमा पम्परागत वास्तुकलाले भरिपूर्ण मौलिक र भव्य टोल देखियो । घरहरूमा साँझबत्ती झलमल्ल थियो । सबै घर होमस्टेमा बदलिएछन् । एउटा ठूलो घरको आँगनमा पर्यटक झुरुप्पै थिए । त्यो घरको दोस्रो तलाको कलात्मक झ्यालछेउ लेखिएको थियो– ‘तामाङ आर्ट एन्ड थिएट्रिकल सेन्टर’ ।


टोलको बीचैमा तीनतले ठूलो घर ठिंग उभिएको देखें । छानोचाहिँ प्यागोडा शैलीको थियो । वर्षौंअघि मैले छोडी हिँडेको घर यही हुनुपर्छ । एकाएक मेरो श्वास बढेर आयो । मुटु ढक्क फुल्यो । आँगनमा कपाल सेतै फुलेको बूढामान्छे पर्यटकलाई तेमाल क्षेत्रमा मात्रै पाइने बुद्धचित्त मालाको महत्त्व बताइरहेका थिए ।


मलाई देख्नासाथ ती बूढामान्छे एक्कासि झस्के । बुबाले मलाई एक पलकमै चिन्नुभयो । फोटोकपी न हुँ । सुरुमा त उहाँ केही बोल्न सक्नुभएन । अलिकपछि आमालाई डाक्नुभयो आँगनमा । आमा हेरेको हेर्‍यै हुनुभयो ।


यत्ति नै बेला पर थिएटरतिरबाट एक युवती हातमा खादा बोकेर मुस्कुराउँदै आइन् । अचम्म ! दिउसो तेमाल कोर्वाको पहिलो गेटमा टोटलाको फूल मेरो निधारमा सजाइदिने उनै युवती थिइन् । आँखामा उस्तै मुस्कान नचाउँदै उनी नजिक–नजिक आइन् । अन्तिममा हल्का झुकेर मलाई खादा लगाइदिइन् ।


‘यिनी टुरिस्ट हैनन्, तिम्रो जेठो दाइ हुन्’ एकाएक बुबाको गला अवरुद्ध भयो ।


म अवाक भएँ । सहर पस्दा कान्छी बहिनी तीन वर्षकी मात्रै थिइन् । अहिले तरुनी भइसकिछन् । बुबाको कुरा सुनेपछि बहिनीका दुवै आँखा भरिला भए । सायद त्यो खुसीको आँसु थियो । मैले बहिनीलाई गम्लाङ्ग अँगालो मारें । एउटा सिङ्गो समयलाई अँगालो मारिरहेको अनुभूति भयो मलाई । आमाले यो दृश्य हेर्न सक्नुभएन । दौडिँदै भित्र पस्नुभयो ।


साँझ बहिनीले मलाई थिएटर पुर्‍याइन् । उनका आँखा अझै ओसिला थिए । थिएटरभित्र मिनि आर्ट ग्यालरी पनि रहेछ । तेमालको इतिहास, सभ्यता, रहनसहन सबै झल्किने थाङ्का चित्र भित्ताभरि सजिएका थिए । पर्यटकको स्वागतमा नाचगान गर्ने स्टेज भव्य लाग्यो । पृष्ठभूमिमा लेखिएको थियो– ‘सेलोघर’ ।


गाउँभरिकै पर्यटक साँझपख यहीँ जम्मा हुँदा रहेछन् । कान्छी बहिनीलाई गाउँसभाले नै कार्यक्रम चलाउने जिम्मेवारी सुम्पेको रहेछ । सुरुमा किशोरी समूहले सेलो गायो । यसपछि आमा समूहले परम्परागत नृत्य गर्‍यो । ताम्बा र बोन्बोहरूको प्रस्तुति निकै बेजोड थियो । सांस्कृतिक प्रस्तुति सकेपछि एउटै टिकटमा गेङ, आलुम, खाप्से, आइराकलगायतका तामाङ परिकार खुवाउने नियमित सेड्युल रहेछ सेलोघरको ।

...

साँझ अबेरसम्म आमा कौसीमा मौन बसिरहनुभयो ।


यतिका वर्ष रुँदारुँदै सायद उहाँको आँसु सकिएको थियो । मलाई हेर्न छिमेकबाट भाउजू, ठूलाबा–ठूलीआमा र अरू नचिनिएका थुप्रै हाम्रो घरमा झुम्मिए, मानौ म अर्कै ग्रहबाट आएको मान्छे हुँ । एलियन हुँ ।


बुबाको अनुहारमा चाहिँ अनौठो खुसी दौडिरहेको थियो ।


यही बेला कान्छी बहिनीले कालो रङको पुरानो ट्याङ्का मेरो अघिल्तिर ल्याएर राखिदिइन् । माहोलमा सन्नाटा छायो । म पूरै अवाक भएँ । सहर पस्नुअघि एउटा अप्रिय अतीतलाई मैले यही ट्याङ्काभित्र कैद गरिराखेको थिएँ । बहिनीले हतार–हतार ट्याङकाभित्रबाट रातो डायरी निकालिन् । यादहरू कैद गरिएको त्यो पुरातात्त्विक डायरी मेरै थियो । डायरी निकाल्दै गर्दा पानाहरूबीचबाट एउटा चिठ्ठी भुइँमा फ्यात्त खस्यो । योचाहिँ मैले पाएको पहिलो र अन्तिम प्रेमपत्र थियो ।


‘म्हेन्दो कहाँ छिन अचेल ?’ अनायसै मेरा ओठ थरथराए ।


‘खै, के था ?’ बुबा फुस्फुसाउनुभयो, ‘युद्धमा गएपछि फर्केर आएकी छैन ।’


मेरो अनुहार क्लान्त बनेको हुनुपर्छ सायद । मैले पुराना दिन सम्झें । उनी युद्धमा गएको र म सहर पसेको एउटै समय थियो । उनकै कमान्डरले अपहरणको फरमान जारी नगरेको भए सायद यति बेला म बुद्धचित्तको बोट स्याहारिरहेको हुन्थें होला, यही गाउँमा । छेउमा म्हेन्दो हुने थिइन् या अरू नै कोही, कम से कम मैले सहरमा कोमाको सकसचाहिँ खेप्नुपर्ने थिएन ।

...

‘चु नोन बोर्ला सिगो’ (यो पनि लिएर जानुस्) भोलिपल्ट बिहान घर छाड्नुअघि कान्छी बहिनीले ‘तेमाल कोर्वा’ को गाइडबुक थमाइदिइन् । तीन दिन र सात दिनको दुईखाले रुट रहेछ, तेमाल कोर्वाको । मैले छोटो रुट रोजें । गाइड बुकअनुसार दोस्रो रात मैले तेमालकै अर्को गाउँ ठूलोपर्सेलमा बिताउनुपर्ने रहेछ ।


गाउँको सिरानबाट साइकल पूर्वतिर घुमाएँ । वातिगेनको जंगल हुँदै पिचबाटो सर्स्युंखर्क तेर्सिने रहेछ । गोरेटो बाटो त हिँडेकै हुँ– स्कुल पढ्ने बेला । सर्स्युंखर्क पुगेपछि थाहा भयो– मैले पढेको स्कुल त तेमाल क्षेत्रकै नमुना क्याम्पसमा बदलिएछ ।


स्कुलपछिल्तिरको जंगलमा साइकल रोकें । जनचेतना बहुमुखी क्याम्पसको फराकिलो र भव्य संरचना प्रस्ट देखियो । आँगनछेउ सतीबयरको रूख उस्तै रहेछ । टिफिनको बेला यहीँनेर सुस्ताउँथ्यौं हामी । सतीबयरका मसिना पात सुम्सुम्याउँदै गर्दा यादहरू एकाएक सल्बलाउन थाले । कसैको दुई थोपा याद टिलपिल–टिलपिल गरेझैं लाग्यो पातहरूमा । मैले प्रेमपत्र इन्कार गर्दा आँखा छोप्दै म्हेन्दो रोएको यही सतीबयरको रूखमुनि थियो । युद्धमा जानुअघि उनले अन्तिम चिठ्ठी थमाएको पनि यहीँनेर थियो । दुर्भाग्य ! त्यो चिठ्ठी मेरो मनमा हैन, ट्याङ्कामा थन्कियो ।


मलाई अतीतले डसेजस्तो हुन थाल्यो । मनमा बेचैनी भुलुक्क उम्लेर आयो । हुन त यस्तो बरोबर भइरहन्छ । यस्तो बेला हमेसा आँखा चिम्लिदिने गर्छु र निस्फिक्री लामो स्वास तानिदिन्छु । यसपटक पनि त्यसै गरें । आश्चर्य ! ब्युँझिँदा दुई घण्टाको यात्रा पार गरेर सुनकासशी किनारको चुखाबेंसी सहर झरिसकेको रहेछु ।


सहर भव्य र सभ्य थियो । कुनै बेलाको ढुंगा र बालुवाको चउरमा भव्य टुरिस्ट बसपार्क बनेछ । केही टुरिस्ट सुनकोसीको छालसित छिल्लिँदै थिए । सहरको कोमामै छँदा थाइल्यान्डको पटाया बिच पुगेको सम्झें ।


‘लेट्स् भिजिट टु अनोदर हिस्टोरिकल प्लेस अफ तेमाल’, लन्चपछि एक गाइडले माइकबाट बोले, ‘ह्रिन्जेनदोर्जे पार्क ।’
‘यिएएएएस...!’ झन्डै दुई सय जनाको टुरिस्ट झुन्डमा खुसी तरंगित भयो ।


केही मिनेटमै हामी सुनकोसी किनारको एउटा चौडा पार्कमा पुग्यौं । लौ, कहाँ बिलायो यहाँको सुक्खा बगर ? पार्कको बीचमा त अग्लो भ्यु टावर पो ठडिएको छ ! खुसीले पागल हुँदै म टावरतिर दौडिएँ, दुरबिन सोझ्याइहालें । बोल्दे फेदिचे मुनिको रानीदह आँखै अघिल्तिर ड्याम्म ठोक्किन आइपुग्यो ।


पार्क बनेको यही बगरमा पृथ्वीनारायण शाहका सेना र तेमालका अन्तिम राजा ह्रिन्जेनदोर्जेबीच लडाइँ भएको थियो– विसं १८१९ असोज २ गते । तेस्रोपटक तेमाल आक्रमण गर्दा पनि जित्न नसकेपछि ‘मित लाउने’ बहानामा राजा ह्रिन्जेनलाई यहीँ काटेर सुनकोसीमा मिल्काएका थिए गोर्खा फौजले । यो सुनेपछि एउटी रानीले तेमाल दरबारमै आत्महत्या गरिन् । अर्की रानी रुँदैरुँदै सुनकोसी किनारैकिनार राजा खोज्न हिँडिन् । तल घुमाउने दहमा राजाको टाउको घुमिरहेको देखेपछि त्यहीँ हाम फालिन् । त्यसयता यो दहको नामै बस्यो– रानीदह ।


‘माफ गर्नुहोला’, सम्झनाको रानीदहमा डुबिरहेको बेला पछिल्तिरबाट गाइडको आवाज आयो, ‘टुरिस्टलाई पहिलो प्राथमिकता दिनु हामी तेमालेको कर्तव्य हो ।’


गाइडको नम्र मिजासमा म पग्लिएँ । दुरबिन उनलाई थमाएपछि एक छिन सोचमग्न बनें । आखिर रानीदह त मेरो आफ्नै रगतमा पनि बगिरहेकै छ । बिस्तारै मलाई आफू को हुँ भन्ने चेतले बेस्सरी चिमोट्यो । जैविक हिसाबले त ह्रिन्जेनदोर्जेकै जेठो छोरो लोपोन छ्योइकुको नवौं पुस्तामा जन्मेको हुँ । आत्मिक हिसाबले चाहिँ म को हुँ त ?


‘खट्याक...खट्याक...खट्याक...’


जवाफमा साइकलको पाइडल तीव्र गतिले चलेको आवाज मात्रै आइरह्यो मानसपटलमा । खासमा म बेतोडसित रानीदहको भित्ता माथि–माथिको पिच बाटोमा साइकल कुदाइरहेको रहेछु । पीडाको पसिना पुछेपछि बोल्देफेदिचेको पिपल चौतारीमा उत्तानो परेर एक छिन आरामले सुस्ताउन मन लाग्यो ।


लौ, माथिको अक्करे भीरमा त ग्रेटवालजस्तै बाटो पो देख्छु त ? अनि ती कमिलाजस्ता मानिस के गर्दै छन् त्यहाँ ?


‘सुनकोसीको पानी अपलिफ्ट गरेको रुट हो यो,’ छेवैको कफी सपबाट एउटी वेट्र्से मुस्कुराउँदै आइपुगिन्, ‘कफी लिनुहुन्छ कि सर ? यहाँको तेमालकानो कफी निकै स्वादिष्ट र लोकप्रिय छ ।’


मेरो ध्यान अक्करे भीरतिरै थियो । वेट्रेसका अनुसार कमिलाजस्ता आकृति त क्यानोनिङ गर्ने पर्यटकहरू पो रहेछन् ।


उसबेलाको खडेरीग्रस्त तेमाल सम्झें । लामो निःश्वास तानें । पानी अपलिफ्ट गर्दा बनेको अस्थायी बाटोलाई हाइकिङका लागि ग्रेटवालजस्तै स्वरूपमा ढालिएको रहेछ । अक्करे भीरमा चाहिँ क्यानोनिङ । कस्तो क्रियटीभ अनि कम्बो प्याकेज !


स्मृतिको घनघोर जंगलभित्र एक्कासि सहरको कोमा देखापर्‍यो । सुनकोसीको पानी तान्ने परिकल्पना उतिखेरै भएको हो कि भन्ने लागेर आयो । सम्झनाको बलेसीमा सरकारका उतिबेलाका सचिव उमेश मैनाली, उपसचिव नारायण मैनालीसहित म पनि परियोजनाको संस्थापक टिममा थिएँ कि भन्ने भ्रमको बाछिटाहरू पैदा भए । स्मृतिदंशा बल्झिने खतरा बढेपछि मैले फेरि बेस्सरी आँखा चिम्लिदिएँ ।


यसपटक ब्युँझिँदा ठूलोपर्सेल पुगिसकेको थिएँ ।


लौ, ठूलोपर्सेल त ठमेल बनिसकेछ ! होटलै होटलको जंगल । डान्सबार, कल्चरल सेन्टरहरू, सेलो दोहोरी साँझ । आफ्नो मौलिक पहिचान भने ठूलोपर्सेलले जोगाइराखेको रहेछ । जताततै पुरातात्त्विक स्तूप र लुङदरहरू । बस्ती माझमा एउटा ठूलो घ्याङ देखियो । मल्लकालीन ६ घ्याङअन्तर्गत पर्ने यो गुम्बा जीर्णोद्धार गरेर भव्य बनाइएको रहेछ । मूल लामाबाट थाहा पाएँ, तेमालका पुराना ६ वटै घ्याङ विश्व सम्पदा सूचीमा चढिसकेका रहेछन् ।


गुम्बाकै छेउबाट मैनालीटोल हुँदै एउटा चिल्लो सडक चापाखोरीतिर तन्किँदो रहेछ । भित्तापट्टि ठूलो होर्डिङबोर्डमा लेखिएको थियो– ‘आर्थिक समृद्धिको आधार : एकघर एक बुद्धचित्त स्याहार ।’ साँझपख होमस्टेको नानाबाट थाहा पाएँ– तेमालले आफ्नै स्थानीय कृषिप्रणाली र अर्थव्यवस्थाको मोडल तयार पारेको रहेछ । स्कुलहरूमा स्थानीय पाठ्यक्रम । इको सिस्टम बिग्रन नदिन सुनकोसी र रोसीमा माछा मार्न पनि बन्देज !
...

भोलिपल्ट बिहानै याङवेल लेक उक्लें ।


चुचुरोमा भ्यु टावर बनेछ । पर्यटकहरू तेमालका सबै होटलबाट सबेरै यहाँ आइपुग्दा रहेछन्, सगरमाथाको टुप्पोमा घाम झुल्केको हेर्न । उत्तरतिर सुनकोसी र दक्षिणतिर रोसीखोलाको नागबेली बहावको दृश्य उत्तिकै रोमाञ्चक । सैलुङ र महाभारत पर्वतको सौन्दर्य झनै अप्रतीम ।


‘सर, अब तेमाल म्युजियम जानुहुन्छ कि ह्रिन्जेन दरबार ?’ एउटा गाइडले नम्र लबजमा सोधे, ‘म सामुदायिक गाइड हुँ । पैसा पर्दैन । हाम्रो तलब यहाँहरूले काट्नुभएको टिकटमै जोडिएको हुन्छ ।’


म उनकै पछि लागें । टोलीमा एक जापानी, तीन भारतीय र सात जना चिनियाँ पर्यटक पनि थपिए । उनले सबैभन्दा पहिले तोङसुम कुण्ड लगे । आठौं शताब्दीमा गुरु पद्मसम्भवले तपस्या गरेको यो गुफामा भुटान, चीन र भारतको लद्दाख तथा हिमाञ्चल प्रदेशका धार्मिक पर्यटक ओइरिँदा रहेछन् । पहिले उराठलाग्दो खरपाखाको यो गुफामाथि अहिले एक सय आठ फिट अग्लो पद्मसम्भवको भव्य मूर्ति देखें । गुफा पुग्न एक हजार आठवटा एन्टिक शैलीको सिँढी ओर्लिंदै गर्दा मलाई आठौं शताब्दीको कुनै अज्ञात समयमा हिँडिरहेजस्तो आभास हुन थाल्यो ।


मलाई फेरि स्मृतिदंशाको डरले चिमोट्यो । पुरानो समयभित्र पसेर निस्कनै सकिएन भने मेरो हालत के होला ?


मैले गाइड र पर्यटक टोली त्यहीँ छाडिदिएँ । कुद्दै माथि छ्योर्तेन डाँडा आइपुगें र पार्किङबाट साइकल निकालेर ग्योइखार गाउँतिर हतार–हतार पाइडल खिचें । अचम्म, पद्मसम्भवले यारी न्हाक्बो नामक खराब आत्मालाई बज्र प्रहार गर्दा पोखरी सुकेकाले तामाङ भाषामा ‘ग्योइखार’ (सुकेको पोखरी) रहेको यो थलोमा त पयर्टकहरू बोटिङ गर्ने सुन्दर दह पो बनिसकेछ ! अलिक मास्तिर जंगलमा ‘पद्मसम्भव रक गार्डेन’ को बोर्ड टाडैबाट देखियो, गार्डेर्नभित्र युवा–युवतीहरू रमाइरहेका थिए ।


‘तेमाल म्युजियममा यहाँलाई स्वागत छ,’ जंगलबीचको फराकिलो चौरमा भव्य संग्रहालय देखियो । तामाङ वास्तुकला फ्युजन गरी बनाइएको यो पुरातात्त्विक भवनभित्र पस्दै गर्दा स्थानिय परिधानमा सजिएकी एक युवतीले मुस्कुराउँदै स्वागत गरिन् । यिनलाई मैले पहिल्यै कहीं देखेको हुनुपर्छ । सम्झिन खोजें, तर, स्मृतिमा धूमिल बादल छाइरह्यो ।


उनै युवतीले घुमाइन् संग्रहालय । तामाङ इतिहास, जनजीवन, संस्कृतिदेखि समसामयिक परिस्थिति झल्किनेसम्मका सामग्री संगृहीत थिए भित्र । डम्फुको सिर्जनाकर्ता पेङदोर्जेको बेग्लै सेक्सन रहेछ । ताम्बा, बोन्बो र लामा दर्शनका पुराना ग्रन्थ लोभलाग्दा थिए । राजनीतिक खण्डमा तेमालका सबै पूर्वनेताहरूको मूर्ति र पोट्रेट राखिएका रहेछन् ।


‘यो कसरी सम्भव भयो ?’


‘अब पहिलेजस्तो रहेन,’ तिनै युवती मुस्कुराइन्, ‘समृद्धिका लागि व्यक्तिगत अहम् र द्वन्द्वबाट माथि उठेर सभ्य राजनीतिक संस्कृति विकास गरेका छन् नेताहरूले ।’


युवतीको अनुहारमा फेरि मुस्कान नाच्यो । म उनलाई पछ्याउँदै अर्को सेक्सनभित्र पसें । संग्रहालयभित्र भव्य आर्ट ग्यालरी देखा पर्‍यो । उनी ग्यालरीकी क्युरेटर पनि रहेछिन् । ग्यालरीको कन्टेम्पररी सेक्सनमा उनले अनौठा मान्छेहरूका मूर्ति देखाइन् । मूर्तिमध्ये कसैका आँखा त कसैका कान थिएनन् । हातमा भने टोटलाको फूल । युवतीका अनुसार सुरुमा मूर्तिहरूको हातमा बन्दुक थमाएका थिए मूर्तिकारले । मुलुकमा संघीयता घोषणा भएकै रात बन्दुक अचानक टोटलाको फूलमा बदलियो ।


‘हाम्रो संस्कृतिमा टोटलाको फूललाई प्रेमको प्रतीक मानिन्छ’, युवतीले भनिन्, ‘त्यो रात अचम्मै भयो ।’


युवतीले बोल्दै गर्दा मैले उनलाई गहिरोसित नियालें । मलाई उनी एकदमै रहस्यमयी लाग्न थाल्यो । उनको चिल्लो र सपाट गाला गर्दनतिर हल्का सोरिएको थियो । कपालले छोपिएको पछिल्तिरको भागमा केही खतजस्तो देखिन्थो । कहीँ त मैले उनलाई देखेकै हुनुपर्छ । कोमामा गएपछि मेरो पनि त अनुहारको हुलिया बदलियो नि !


एकै छिनपछि हामी चित्रकला सेक्सनमा पुग्यौं । भित्ताभरि थाङ्कादेखि फ्युजन गरिएका कन्टेम्पररी आर्ट सजिएका थिए । संग्रहालयको यो खण्डमा गिफ्ट सपजस्तै कर्मसियल सेक्सन पनि रहेछ । पर्यटकहरू धमाधम चित्र किन्दै थिए । केही चित्रकार लाइभ क्यानभास कोरिरहेका थिए । छेवैको इजेलमा चाहिँ एउटा अधुरो क्यानभास देखियो । युवतीले अरू पर्यटकलाई जस्तै मलाई पनि त्यही क्यानभास छेउ लगेर लाइभ चित्रकला देखाउन थालिन् ।


‘तपाईं पनि यसरी चित्र कोरेर बेच्नुहुन्छ ?’


‘अँ... कहिलेकाँही’, युवती गम्भीर बनिन्, ‘तर, यो चित्रचाहिँ बेच्दिनँ । यो चित्र मैले रंगले हैन, हृदयले बनाउन लागेकी हुँ ।’


यसपछि उनले लामो श्वास तानिन् । मलाई ती युवती झन्–झन् रहस्यमयी लाग्न थाल्यो । उनी भने क्यानभासमा एकतमास कुची चलाउन थालिन् । बिस्तारै वाटर कलर चित्रमा मेरोजस्तै एक जोर आँखा देखियो । म झस्किएँ । पुरानो ट्याङका सम्झें । स्कुलछेउको सतीबयरको रूख सम्झें । ओठ बेस्सरी काम्न थाल्यो– ‘म्हेन्दो !’


युवती एकाएक क्यानभास रंग्याउन छाडेर मतिर फनक्क फर्किइन् । उनका आँखामा विस्मय भाव तरंगित थियो ।
‘तपाईंले मेरो नाम कसरी थाहा पाउनुभयो ?’


यही बेला मेरो मोबाइलमा रिङटोन बज्यो । यसपटक म साँच्चिकै झस्किएँ । ब्युँझिँदा काठमाडौंको ओछ्यानमा असिन–पसिन थिएँ । धुलिखेलबाट जगत भाइले फोन गरेका रहेछन् । उनी हतास मनस्थितिमा भन्दै थिए– ‘दुखद खबर छ दाइ । दलहरूको मनमुटावका कारण तेमाल संग्रहालय नबन्ने भयो ।’

प्रकाशित : कार्तिक २३, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?