३४ इन्च 'डी'

शिवानीसिंह थारू

आज म जिन्दगीको पत्रैपत्रमा लुकाइराखेको अन्तरकुन्तर खोल्न जाँदै छु । जुन अन्तरकुन्तर मैले आफैंसित गुटमुटाएकी छु । जसलाई यदाकदा फुकाएर सोच्दा म लाज, घीन र रोषले भरिन्छु । अहिले आएर थकथकाउँछु । मैले पहिल्यै आमालाई भनेको भए हुन्थ्यो । मेरा बहिनी वा दिदीहरूलाई नै भनेको भए हुन्थ्यो । नभए मेरा साथीहरूलाई भनेको भए पनि हुन्थ्यो ।

कम से कम मसित जोडिन पुगेका पूर्वप्रेमीलाई नै भनेको भए हुन्थ्यो । कालकदा तिनीहरू छोरीका बाबु बन्दा बाबु–छोरीको संवादलाई प्रोत्साहित गर्दा हुन् । तर मैले कसैलाई भनिनँ, भन्न सकिनँ । किनभने यस्ता कुरा भन्नु हुँदैन भनेर हामीलाई चुप लगाइएको छ । भन्दा ‘लाज हुन्छ’ भनेर पहिल्यै सजाय तोकिएको छ ।


तर आज म उघ्रिन जाँदै छु । छताछुल्ल हुन जाँदै छु । यसरी छताछुल्ल हुनु भनेको पोखिनु होइन । निख्रिनु हो । आजाद हुनु हो ।
यो अनुभूति आफ्ना अंग बचाउँदै हिंडिरहेका महिलामा समर्पित । र, त्यसबाट मुक्ति पाउने प्रयत्नमा समर्पित । यो अनुभूति उन्मुक्त हुन नपाएका शारीरिक अंगमा समर्पित । ३४ इन्च ‘डी’ । अर्थात् छाती ३४ इन्च र स्तनको घेरा कप ‘डी’ । यो मेरो स्तनको नाप हो । शरीरमा मेरो छातीको क्षेत्रफल । यो नाप म पूरापूर तन्नेरी हुँदा पूर्ण भएको हो । स्तनजनित भोगाइ म ३४ इन्च कप ‘डी’ भएपछि सुरु भएको होइन । जबदेखि यसको ‘एकादेशमा...’ सुरु भयो, तबैबाट भएको ।


कक्षा तीन पढ्दादेखि मेरो छाती टुसुक–टुसुक टुसाउन थाल्यो । मेरा चिचिला देखिन सुरु हुँदा ममा कुनै ग्लानि वा लज्जाबोध थिएन । झिझ्याहट मलाई एउटै कुराको हुन्थ्यो । आमाले भित्रबाट समिज लगाउन करकर गर्नुहुन्थ्यो । लुगामाथि लुगा खापेर लगाउन मलाई मन पर्दैन्थ्यो (अहिले पनि पर्दैन)। तराईमा जन्मेको मान्छे । जेठको घाम खाएको र चैतको बयारमा बयेलिएको शरीर न पर्‍यो । धेरै पानी खेलाउनुपर्ने र पातलो लुगा लगाउन मन पराउने ‘फितरत’ नै बन्यो । झन् त्यतिबेला नेपालगन्जबाट काठमान्डु आएको मात्र दुई वर्ष भएको थियो । त्यसैले भित्रबाट समिज लगाउन अटेरी गर्दा आमाले छाती देखियो भनेर हकार्नुहुन्थ्यो । मनमनै देखियो त के भयो भन्ने हुन्थ्यो । भए पनि समिजचाहिं लगाउन थालियो ।


जब कक्षा पाँचमा पुगेँ मेरो छाती झन्झन् चुचुरिन थाल्यो । अरू साथीहरूका दाँजोमा मेरो छाती असामान्य तरिकाले बढेको थियो । मलाई के थाहा यो खान्दानी वरदान हो । तर त्यतिबेला मलाई त यो श्रापजस्तै लाग्दै थियो । यही वर्षबाट मलाई छात्रावासमा राखिदिने भए । यो छात्रावास स्कुलले खोलेको थिएन । बाहिरका शिक्षकशिक्षिकाहरू मिलेर खोलेका थिए । हाम्रो स्कुलका छात्राहरू पनि बस्ने भएकाले मलाई राखिन लागिएको थियो । अनि म खुरुखुरु बस्न मानें । तर बसेको केही महिनापछि ममाथि जे भयो, त्यसले सदाको लागि म फेरिएँ । त्यतिबेला नेपाल टेलिभिजनको जगजगी थियो ।


हामीलाई ‘बार्बापापा’ कार्टुन खुब मन पर्थ्यो । जुन नेपाली समाचारभन्दा पहिले आउँथ्यो । हाम्रा सिनियरहरूलाई ‘नाइट राइडर’, ‘फल्टी टावर्स’ जस्ता सिरियल मन पर्थ्यो, जुन आठ बजेको नेपाली समाचारपछि आउँथ्यो । त्यसमध्ये एउटा बेलायती ‘साइफाई’ सिरियलको निकै चर्चा हुन्थ्यो । ‘डाक्टर हुँ’ । अजिबोगरिब वैज्ञानिक ‘डाक्टर हुँ’ को पात्रले सबैको ध्यान तानेको थियो । केही नबुझे पनि मलाई नि हेर्न तलतल लाग्थ्यो । त्यसको पार्श्व संगीत मलाई डरलाग्दो लाग्थ्यो । र त्यसले ममा एक किसिमको रोमाञ्चकता भर्थ्यो ।


त्यस्तै एउटा शुक्रबार थियो । ‘डाक्टर हुँ’ प्रसारण हुने दिन । होमवर्क चाँडो सक्काउनेले ‘बार्बापापा’ देखि ‘डाक्टर हुँ’ सम्मको कार्यक्रम हेर्न पाउने प्रस्ताव ल्याइएको थियो । म कस्सिएँ । ख्वाइँख्वाइँ पारेर होमवर्क सकेँ । नभन्दै सबैलाई उछिनेछु ।
मैले टीभी कोठामा जान अनुमति पाएँ, जुन शिक्षकशिक्षिका बस्ने भवनमा थियो । स्टडी हलबाट म ‘बार्बापापा’ को शीर्षक गीत गाउँदै टीभी कोठामा पुगेँ । कोठामा टीभी चलिरहेको थियो ।


टीभी हेर्दै बसेका थिए हाम्रा नृत्य सिकाउने शिक्षक । तिनी छात्रावासको म्याडमका श्रीमान् थिए । कोठामा भएको एक मात्र कुर्सीमा तिनी बसेका थिए । टीभी हेर्न पाउने ‘ज्ञानी’ छात्राहरूका लागि भुइँमा दरी बिछ्याइएको थियो । म पुग्दा त्यहाँ कोही थिएन । म थपक्क गएर दरीमा बसेँ । ती सर फरासिला थिए । के–के भन्दै छात्राहरूलाई हँसाइरहन्थे । स्कुल र छात्रावासमा कडा अनुशासन थियो । फरासिला शिक्षक विरलै हुने गर्थे । त्यसकारण त्यस्ता शिक्षकसित विद्यार्थीहरू झ्याम्मिहाल्थे । कोठामा सर र म मात्र भए पनि तिनीसित रमाउँदै बसेकी थिएँ । ठट्टैठट्टामा सरले मलाई आफूनिर बोलाए । उठेर म उनको कुर्सीनिर गएँ ।


सरले मेरो ढाडमा ढ्याप्प पारेर हात राखे र आफूतिर ताने । म उनको शरीरमै ढेप्पिन पुगें । त्यसपछि उनले मेरो टिसर्ट माथिबाट हात पसाले । अनि मेरो छाती माड्न थाले । मलाई असाध्यै पीडा भयो । ‘के गर्‍या सर ?’ भन्दै म आफूलाई छुटाउन खोजें । तर उनी चुपचाप छाती माडिरहे । म उनको बलियो पकडमा ‘प्लिज...प्लिज’ भन्दै छटपटाइरहें । तर उनले मलाई छाडेनन् । म रुन थालेपछि उनलाई टीभी कोठामा कोही आउन लागेजस्तो लाग्यो । अनि बल्ल उनले मलाई छाडे ।


मुटु ढुकढुकाउँदै म दरीको पुछारतिर बस्न पुगें । टाउको निहुराएको निहुरायै म त्यत्तिकै बसिरहें । अरू छात्राहरू पनि कोठामा आउन थाले । हेर्दाहेर्दै होमवर्क सक्काएर आउने छात्राहरूले कोठा भरिन थाल्यो । तर कसैले मतिर याद गरेन । तर्सिएको, निन्याउरो अनुहार लगाएको म, लाजले घोप्टिरहें । मानौं यो घृणित कार्य सबैले देखेका हुन् । र यो घटित हुनुमा मेरो पनि उत्तिकै दोष छ । त्यहाँ बसुन्जेल मैले टीभीतिर हेरिनँ । न हेर्न सकें कुर्सीमा ‘सर’ भई बसेका ती दुराचारीलाई । तिनीचाहिं केही नभएझैं सबैसित ट्याउँट्याउँ बोलिरहे । उनको सहजपना देखेर म भ्रमित भएँ । गलत हो कि सामान्य, ठम्याउन सकिनँ । तर मलाई दिगमिग किन लाग्यो त ? बुझ्न सकिनँ । त्यस रात मेरो निमोठिएको छाती कोल्टो फेर्दावर्दा चस्किन्थ्यो । म आफ्नो हात त्यता लाग्नबाट बचाउँथें । हात लाग्नेबित्तिकै म झस्किन्थे । मलाई मेरो हात सरकै झैं लाग्न थालेको थियो । जत्ति चस्के पनि जत्ति झस्के पनि मैले मेरो स्तनलाई एक पटक पनि हेरिनँ । मलाई घीन लागेर आयो ।


त्यसपछि मलाई होमवर्क छिटो सक्काउने हतार कहिले भएन । अरू टीभी हेर्न जाँदा मचाहिं डोरमेटरीमा गएर जोहाना स्पाइरीको ‘हाइडी’ का कथाहरू पढ्न थालें । तर त्यो घटना भएको एक हप्तासम्म म आफूदेखि घिनाउँदै बसेकी थिएँ । सरलाई देख्दा नि सिकसिक लाग्थ्यो । उनी आइरहेको देख्दा म टाढैबाट आफ्नो बाटो फेर्थें । उनको म्याडमलाई देख्दा भन्दिऊँझैं लाग्थ्यो । यस्तो विचार मात्रले पनि मेरो धक खुम्चिएर आउँथ्यो । पढ्न बस्दा मनमा कुरा खेल्थ्यो । म साथीहरूलाई हेर्थें । उनीहरू निमग्न पढिरहेका हुन्थे । उनीहरूलाई मलाई जस्तो भएको छैन र भविष्यमा हुनेवाला पनि छैन भन्ने लाग्थ्यो । कारण तिनका स्तन मेराभन्दा स्यानस्याना थिए । म उनीहरूभन्दा फरक छु । उनीहरू चोखा छन् र म गिजोलिएकी छु ! मलाई हीनताबोध हुन थाल्यो । यतिन्जेलसम्म मेरो मासिक धर्म सुरु पनि भएको थिएन । बालिकाबाट किशोरी हुनुअगावै मेरो मनस्थिति जेल्लिसकेको थियो ।


छात्रावासका दुइटा भवन थिए । ती दुईलाई जोड्ने डोरो जत्रो गल्ली थियो बीचमा । दुई जना पास हुन परेमा दुवैले छड्केछड्के हिंड्नुपर्थ्यो । त्यो घटनाको हप्ता दिनपछि एक दिन म त्यही गल्लीबाट पास हुँदै थिएँ । झवास्स सरलाई पनि आइरहेको देखें । गल्लीको बीचमै म अड्किन पुगें । फर्केर जाऊँ निकै पर आइसकेको छु, अगाडि भागूँ ठाउँ थिएन । म ठाउँको ठाउँ अडिएँ । उनी केही नबोली सरासर आए । डरले म कक्रक्क परें । निरुपाय मैले छातीलाई पाखुराले बेस्सरी थिचें, ढाड आफ से आफ कुप्रियो । त्यसपछि म कोल्टो फर्केर उभिरहें । उनी नजिक आए । उनका आँखा नाचिरहेका थिए । उनले मेरो स्तनतिर आँखा लगे । मुस्कुराए । उनको मुस्कानमा मैले र्‍याल र सिँगान देखें । दिगमिगाउँदै उनीबाट मैले नजर हटाएँ । उनले लामो सास भरे र जोडसित सास फ्याँक्दै पास भए । उनको वासना मेरो अनुहारलाई छोएर गयो ।


त्यसको गन्ध मैले आजसम्म पनि बिर्सेकी छैन । कहिलेकाहीं छेउबाट कोही पास हुँदा त्यस्तै गन्ध आउँछ । सासमा सुपारीको गन्ध र शरीरबाट गुलियो बसाउने बडी स्प्रेको हस्को । म आफ्नो सास थुनिहाल्छु । यो गन्धले आज पनि वाकवाकी लाग्छ ।
त्यस दिन आफूलाई बचाउन ढुंगासरी बनाएको शरीर सधैंका लागि अख्रक्क पर्‍यो । निकै नजिकबाट लोग्नेमान्छे पास भइराखेको छ भने मेरो शरीर त्यही मुद्रामा कक्रिन थाल्यो । हात अगाडि ल्याई पाखुराले छेल्यो, ढाड हल्का कुप्रायो र थोरै छड्के उभियो । हुँदाहुँदा सामुन्नेको केटा आफूसित बोल्दा उसका आँखा मेरा स्तनतिर चिप्लियो भने पनि मेरो शारीरिक मुद्रा त्यही हुन थाल्यो । यसो गर्दागर्दै म त कुप्रिन थालेछु । सानीआमाहरूले टक्कै याद गरे । यो त कुप्रिँदै गएकी छ भन्न थाले । अनि मलाई ढाड सोझ्याउन हकारिरहे । उनीहरू अगाडि पर्दा ढाड तन्काउँथे । तर त्यो बिस्तारै ‘डिफल्ट’ मा आइहाल्थ्यो । मानसिक रूपमै कुप्रिएको ढाड के गरी सोझियोस् !


यौन दुर्व्यवहार मैले आफैंमाथि खेपेको मात्र होइन । एसएलसी पास नहुँदै दुईदुई पटक त्यसको साक्षी पनि हुनुपर्‍यो । पाटनको मंगलबजारबाट म र मेरी साथी हिंड्दै आइरहेका थियौं । ठ्याक्कै मदन स्मारक स्कुल कटेपछि मेरी साथी एक्कासि चिच्याई र भुइँमा थचक्क बसी । अत्तालिएर मैले के भयो भनी सोधें । ऊ केही नभनी टुक्रुक्क बसेको बसै भई । मैले धेरैपल्ट झक्झक्याएपछि बल्ल ऊ बोली । अघिन उताबाट हिँड्दै आइरहेको मान्छे हाम्रो छेउबाट पास हुँदा उसको स्तन च्याप्प समाइदिएछ । रिसले मैले पछाडि फर्केर हेरें । कसैलाई देखिनँ । पछ्याउँदै गएर लात्तीले ढाडमा भकुर्न धेरै ढिला भइसकेको थियो ।


अर्को एक साँझ आमा र म झम्सिखेलमा हिंडिरहेका थियौं । एक्कासि आमा जोडले कराउनुभयो । र पछाडि फर्केर पास भएको साइकलवाललाई बेस्सरी गाली गर्नुभयो । मैले के भयो भनी सोध्दा भन्नुभयो । साइकलवालाले आमाको स्तन छोएर गएछ । त्यसपछि आमाले मलाई सधैं बाहिर जाँदा भन्नुहुन्छ, ‘अगाडि छोप् । खुकुलो लुगा लगा ।’ यति भएपछि म आजीवन रक्षात्मक स्थितिमा हिंड्ने भएँ । त्यसैले मेरो शरीरको ढाँचा नै बिग्रियो । फोटाहरूमा हेर्नुपर्छ । छाती गह्रुङ्गिएझैं कुम हल्का झुकेकै हुन्छ । अझ पनि म स्तनतिर आँखा चिप्ल्याउने सोमतहीन आँखाहरूले छोइन्छु । फरक यत्ति छ पहिला म आफ्नो छातीलाई छोप्न निकै यत्न गर्थें । स्कार्फले, सलले, ह्वाङ्लाङे सर्ट आदिले । तर अहिले म उन्मुक्त भएर हिंड्छु । यसको कारण जिन्दगीले चिमोटेर गएको एउटा सत्यले हो, जुन म पुछारमा भन्नेछु ।


म लोग्नेमान्छेसित तर्किन थालें । बाहिरकाहरू अविश्वासिला त्यसै पनि भइहाले । घरमा दाइहरूले स्नेहपूर्वक अँगालो हाल्दा पनि म झस्किन थालें । बुबाले माया गरेर निधार चुम्दा कसोकसो लाग्न थाल्यो । सबै लोग्नेमान्छेप्रति म सशंकित हुन थालें ।


छात्रावासमा म पाँच वर्ष बसुन्जेल त्यो सरको नजिक परिनँ । छात्रावासमै ठूली हुँदै गर्दा बरु उनलाई हेपेर बोल्न थालें । उनलाई मैले कहिले ‘गुड मर्निङ’ वा ‘गुड आफ्टरनुन’ ले अभिवादन गरिनँ, जुन हाम्रालागि अनिवार्य हुने गर्थ्यो । बस्दै गर्दा त्यहाँ अरू छात्राहरूले पनि त्यस्तै दुर्व्यवहार खपे । भित्रभित्रै गाइँगुइँ भयो । प्रायःले आफ्ना कुरा एकअर्कासित बाँडे । तर मैले कहिल्यै मुख खोलिनँ । केवल आफ्नो अस्वाभाविक स्तनमाथि दोष थुपारेर बसिरहें । किनभने मैले मेरो स्तनसित घृणा गर्न लागिसकेछु । र मेरो यो घृणा झन्झन् बढ्दै गयो ।


पालो आयो नेपाल टेलिभिजनमा प्रस्तोताको रूपमा काम गर्न थाल्दाको । टेलिभिजनमा मैले भर्खर काम सुरु गरेकी थिएँ । सुटिङको दिन थियो । म माइक लिएर क्यामेराको अगाडि ठिक्क परेकी थिएँ । क्यामेराम्यानले फ्रेम मिलाइरहेका थिए । यही बेला उनले मतिर आँखीभौं टेढो पारेर हेरे । के भयो दाइ ? मैले सोधें । उनले एउटा कुरा छ भने र मलाई छेउतिर लगे । फ्रेममा के नमिलेको होला भन्ठानेर म उनको पछि लागें । त्यसपछि उनले ‘माइन्ड नगर है’ भन्दै भन्न थाले । ‘तिम्रो जीउ स्यानो तर छाती मात्र किन यत्रो ?’

म अवाक भएँ । यो प्रश्न थिएन । प्रश्नको रूपमा छेडखानी थियो । निरीह अनुहार लगाएर म कताकता हेर्न थालें । म नसम्हालिँदै उनले अर्को टिप्पणीले टोक्से । ‘थरूनीहरूको यस्तै भएर चोली लगाउँदा छोउँछोउँ लाग्दो हुन्छ है !’ मेरो स्तनलाई तिनले जातसित जोड्न खोजे । अहिले भएको भए जतिवटा उमेर खाएकी छु त्यति नै थप्पड तिनको चित्तमा डाम्थें होला । तर त्यतिबेला आत्मविश्वासले खारिन बाँकी म, साह्रो लज्जित भएँ । अपमानले मुखभरि पित्त भरिएर आयो । तीतो घुँट घुटुक्क निल्दै ‘खोइ ?’ भन्दै उम्कें । अनि क्यामेराअघि आफ्नो निच मारेर कार्यक्रम चलाउन थालें । भित्रभित्र मलाई आफ्नो छाती भारी लाग्दै आयो ।


टेलिभिजनमा अर्का थिए खलखली पसिना निकाल्ने पुड्को क्यामेराम्यान । छेउमा आई उभिन्थें र आफ्ना पाखुराले मेरो छाती छुन खोज्थें । ‘के गरेको ?’ सातो जानेगरी एक दिन कराएपछि उनको र मेरो बोलचाल बन्द भयो । धेरैपछि सूची दाइ हाम्रो टिममा आएपछि बल्ल ढुक्क हुन थाले । अर्का एकजना प्रसिद्ध हास्य कलाकार उस्तै बेसोमती रहेछन् । २०५९ सालको गाईजात्रा वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा भइराखेको थियो । मैले उद्घोषण गर्दै थिएँ । मञ्चमा प्रहसन चलिरहेको थियो । हामीहरू ह्विङमा बसेर पालो पर्खिरहेका थियौं । तिनी त्यहाँ गफिँदै बसेका थिए । कुरैकुरामा उनले मलाई सोधे । ‘तिम्रो ब्राको साइज कति हो ?’ मेरो छेउको नृत्यांगना बहिनी सन्न भइन् । मचाहिं नसुनेझैं गरी मञ्चतिर फर्केर उभिरहें । गतिछाडाहरूको छिल्याइँ सुन्यो, अर्को दिशातिर मुख फर्कायो ! बास् । अर्थात् जिन्दगीको यो विन्दुसम्म आइसक्दा म त आपत्तिजनक छेडखानीहरू पचाउन थालेछु ।


अब यी अनुभूतिहरूबाट एक पाइलापछि सह्रौं र केलाऔं । कलिलै हुँदा आफ्नो छाती माडिनुमा मैले आफेनो छातीलाई दोषी किन देखें ? माडिएको छाती सुम्सुमाउनुको सट्टा त्यसैलाई घृणा गर्दै बस्नु आफूलाई दोषी देख्नु हो । के यो स्यानैमा छोरीमान्छे भएर बचेर हिंड्नुपर्छ भनेर दिमागमा भरिदिएको उपज हैन ? त्यसैले मेरो छाती माडिनुमा मैले बच्न नजानेर हो भन्दै आफैंलाई दोषी किटेको होइन त ?


त्यसपछि वयस्क हुँदा स्तन लक्षित छेडखानीलाई मैले स्वाभाविक रूपमा किन लिएँ ? र त्यो बिस्तारै मेरो मानसिकतालाई किन पच्दै गयो ? के यो समाजको संस्कारजन्य व्यवहारमा अभ्यस्त भएको होइन र ?


हिंस्रक आँखासित जुध्नुको सट्टा उल्टै आफूलाई छोपछाप पारेर किन हिँडें ? आफू यौन दुर्व्यवहारमा परें मैले कस्तो लुगा लगाएकी थिएँ भन्ने प्रश्नबाट बच्न होइन ?
यी सबैको उत्तर – हो ! हो !! र हो !!! नै ।


त्यसो भए हामी कहिलेसम्म ‘बच्दै’ हिंड्ने ? जबसम्म प्रत्येक छोरीमान्छेले मार्सल आर्ट सिक्दैनन् ? (अहिले त झन् हरेक दिन पाँच जना महिला बलात्कृत भइराखेको प्रहरी आँकडाहरूले देखाइरहेका छन् ।)


मलाई थाहा छैन समाजले ‘टेस्टोसटेरोन’ युक्त संस्कारमा हुर्काएका छोरामान्छेहरू कहिले सभ्य र मानवीय बन्ने हुन् । मचाहिं अब आफूलाई बचाउन आफ्नो शरीरलाई खुम्च्याएर हिंड्दिनँ । यो संसारमा मेरो भागको धर्ती र हावामा फैलिएर हिंड्नेछु । म मेरो ३४ डी सानले अग्लाएर हिंड्नेछु । यो मेरो अस्तित्वको अग्लाइ हो ! मान हो । जब आफूलाई बचाउँदै हिँड्नु छ भने शरीर तन्काएरै किन नलड्ने । पीडित मानसिकतामा आधा मासु भएर किन हार्ने । यसले हामीलाई ‘रियाक्टिभ’ हैन ‘प्रोएक्टिभ’ हुन जागा राख्छ । त्यसैले सबैले मनलाग्दो टिप्पणी गर्ने मेरो अंगमाथि मैले गर्व गर्न थालेकी छु । आफैंले गुनासो भरिएका आँखाले हेर्ने मेरो अंगलाई मैले प्रेम गर्न थालेकी छु ।


तर यो चेत मलाई तबै मात्र आयो जब जिन्दगीको ‘फर्स्ट एक्ट’ सक्किसकेको थियो । र ‘सेकेन्ड एक्ट’ को सुरुआतले जिन्दगीको ‘थर्ड एक्ट’ सम्म नपुगिने संकेत दिँदै थियो । २०७३ साल भदौको एक दिन । बिहानीपख उठ्ने तरखरमा ओछ्यानमै जीउ यताउति तन्काउँदै थिएँ । यही उपक्रममा छातीमा हात पुग्यो । म झसंग भएँ । दाहिने स्तनको जरामा मैले गाँठोको स्पर्श पाएँ । पहिला मलाई लाग्यो यो स्तनकै गिल्टागिल्टी हो । त्यसपछि लाग्यो कतै यो मेरो भ्रम त होइन । यो हो कि त्यो होमा मैले निकै बेर गाँठोलाई छामिरहें । जति छाम्यो त्यति गाँठो ठूलो हुँदै आएजस्तो लाग्यो ।


भोलिपल्ट म ब्रेस्ट सर्जिकल अन्कोलोजिस्टकहाँ गएँ । स्तन खोलेर देखाउनुपर्ने भएकाले म महिला डाक्टरकहाँ पुगेकी थिएँ ।
क्लिनिकको बेडमा सुताएपछि डाक्टरले मेरो स्तन छाम्न थालिन् । मेरो गाँठो भएको ठाउँमा उनले छामिरहँदा उनको अनुहार हेरिरहें । केही बेर छामिसकेपछि उनी गम्भीर भइन् । र भनिन्, ‘गाँठो ठूलो छ ।’


उनको अनुहारले ननिको संकेत दिइराखेको थियो । मैले हतास भएर सोधें, ‘क्यान्सर हो ?’
यसरी सोध्दा उनले मलाई नआत्तिन भनिन् । र मलाई अल्ट्रासाउन्ड र म्यामोग्राम गर्न लगाइन् । म त्यतैपट्टि लागें ।
यो सबै गरिरहँदा म भित्रभित्रै शून्य हुँदै थिएँ । त्यहाँ जँचाउन आउने महिलाहरू कि त आफ्ना श्रीमान्सित थिए कि चाहिं जनाना आफन्तसित । म भने एक्लै जँचाउने वर्ने गरिरहेकी थिएँ । यतिबेला मलाई कसैको आवश्यकता थियो सायद । मानसिक रूपमा साथ दिन । डाक्टरले जे भने पनि दह्रिली भएर सुन्न । तर म जिन्दगीभर ‘कमजोर छुइनँ’ को भूमिका निर्वाह गर्दागर्दै आफैंलाई पनि जताउने भएछु । म आफैंप्रति क्रूर बनेकी थिएँ । संघर्ष चुपचाप बेहोर्ने आमैआमाका माझ पालिएकीले होला । म एक्लै आफ्नो अभिभावक बनेर सक्दो हिम्मतिलो बन्ने प्रयास गरिरहें ।


अल्ट्रासाउन्ड र म्यामोग्रामको रिपोर्ट आयो । दाहिने स्तनमा मकैको फुलाजत्रो गाँठो देखियो । त्यसलाई ‘क्यालसिफिकेसन’ भन्दा रहेछन् । अर्थात् क्याल्सियमको कण स्तनमा जमेर ढिक्का बनेको अवस्था । र, त्यसलाई ‘म्याक्रो क्यालसिफिकेसन’ भनिन्छ । त्यो ‘माइक्रो’ भए क्यान्सर हुँदो रहेछ । तैपनि बायोअप्सी गर्नुपर्ने भयो । गाँठो सम्भावित क्यान्सर हो कि होइन पत्ता लगाउन ।


मेरो अपरेसन भयो । स्तनबाट सिस्ट निकालेर बायोअप्सीका लागि पठाइयो । त्यसको रिपोर्ट नौ दिनपछि मात्र आउने भयो ।
म घर फर्किएर आएँ । नौ दिनसम्म मैले कुर्नुपर्ने भयो । मलाई क्यान्सरको जोखिम छ कि छैन भनेर थाहा पाउन । यदि खतरा छ भने के गर्ने ? एन्जेलिना जोलीको जस्तो डबल मेस्टेकटमी गर्ने ? अर्थात् सावधानी अपनाउन दुवै स्तन काटेर फ्याल्ने । मैले डराई डराई मेस्टेकटमी गुगल गरेर हेरें ।


मेस्टेकटमी गरेका महिलाहरूका फोटा देख्दा आङ सिरिङ्ग भयो । स्तन काटिएका तिनका छाती छुराका गहिरा घाउले युद्धका घाइतेझैं देखिन्थे । तर उनीहरूको मुस्कानमा लडाकुको विजयीभाव थियो । क्यान्सरसित लड्न सकिन्छ, जितिन्छ । मेरो आत्मबल भने धरमराउन थालेको थियो । मलाई निराशाले छोप्यो । म ऐनाअगाडि उभेर निर्वस्त्र भएँ । र आफैंलाई नजिकबाट नियाल्न थालें । त्यतिन्जेल मैले आफूलाई यति गढेर हेरेकी थिइनँ । मेरो शरीरमा सबैभन्दा सुन्दर अंग मलाई मेरो स्तन लाग्न थाल्यो ।


मलाई याद आयो, शिक्षकले दुर्व्यवहार गरेदेखि आफ्नो स्तनसित घृणा हुन थालेको । मलाई याद आयो, हुर्कंदै गर्दा साथीहरूका स्तनसित आफ्नो स्तन दाँज्दा हीनताबोध हुने गरेको । मलाई याद आयो, छाती लक्षित छेडखानीले गर्दा आफ्नै शरीरमा असहज महसुस गरेको । मलाई याद आयो, पत्रिकाको वर्गीकृत विज्ञापनमा स्तनको आकार घटाउने अपरेसनको विज्ञापन चाख मानेर पढेको । जसलाई मैले जीवनभर तिरस्कार गरिरहें, त्यही अंग नै काटिएर फालिन सक्छ । र त्यसबिना म कति अधुरो देखिनेछु ।


मेरा आँखाबाट आँसु झर्न थाल्यो । बर्रर्र त्यो झरी नै रह्यो । यी आँखाबाट आँसु होइन पश्चात्ताप रोइरहेको थियो । नौ दिनपछि बायोअप्सीको रिपोर्ट आयो । डाक्टरले गाँठो क्यान्सर होइन भनेर क्लिन चिट दिइन् । आँखा चिम्लेर मैले लामो सास फेरें । दिमाग छ्यांग हुँदै आयो । बाहिर भदौको चिरिक्क घाम लागेको थियो । त्यै पोल्ने घाम पनि घमाइलो लाग्न थाल्यो । तत्कालै डाक्टरले मलाई सचेत गराइन् । भनिन्— पूरा ढुक्कचाहिं नबस्नू । त्यो गाँठोलाई नियमित निगरानीमा राखिराख्नुपर्छ । त्यसैले एकेक वर्षमा म्यामोग्राम गर्ने सल्लाह दिइन् ।


यो भोगाइपछि मैले अरूका आँखाबाट होइन, आफ्नै आँखाले आफ्ना ‘नमिलेका’ अंगलाई हेर्न थालें । मैले आफैंलाई प्रेम गर्न सिकेकी छु । आफू जस्तो छु त्यस्तै हुनुमा गर्व गर्न थालेकी छु । यसले असुरक्षाहरूसित जुझ्न आक्रामक बनाउँदो रहेछ । यस्तो चेतना मेरो दिमागमा पहिल्यै भरिदिएको भए म खुँखार आँटिली हुने रहेछु । आँटिला र आक्रामकका हुँकार नै काफी हुन्छ दुराचारी नियतहरूलाई सावधान गर्न ।


अब म आफूलाई कमजोर ठान्दिनँ । त्यसैले म मार्सल आर्ट सिक्दिनँ । मलाई राज्यको कानुनले पहरा दिओस् । अपराधीलाई सजाय हुन्छको नजिर बसालेर सम्भावित दुराचारी र बलात्कारीलाई खबरदारी गरोस् । हिंड्दिनँ म आफूलाई छोपछाप पारेर अरूको नजरबाट बच्दै बचाउँदै । ‘टेस्टोसटेरोन’ युक्त मानसिकतालाई समाजले दुईखुट्टे जातिबाट मानव बन्न सिकाओस् । यस्ता अनुभूतिलाई सानातिना मानिरहे समाजको ‘डीएनए’ मै खोट देखिन सक्छ । फेरि नखनिनु त्यो समाजशास्त्रीमाथि जसले भगवान् ब्रह्मादेखि खोट निकाल्दै अहिलेको समाजसम्मलाई ‘बिरामी’ भनेर घोषणा गरोस् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

कर्नाड जे भन्थे

कान्तिपुर संवाददाता

गिरीश कर्नाड बिते । यो खबर एकैछिनमा जतासुकै छरियो । उनी एकै छिनमा ट्विटरको ट्रेन्डिङ भए । थिएटर क्षेत्रका सबैले सेयर गर्ने लिङ्क भए । गिरीश कर्नाड साधारण मान्छे थिएनन् । आधुनिक भारतीय नाट्य क्षेत्रमा ठूलो प्रभाव पारेका एक नाटककारको अन्त्य भएको थियो । कुनै विधामा प्रभाव पार्ने मान्छेले छोडेर जाँदा छुटेको प्रभाव पनि देखिन्छ ।

मानौँ उनी हेलिकप्टर थिए र उड्ने बेलामा वरपरका बिरुवालाई हल्लाएर गए । उनका नाटक पढ्ने पाठक, खेल्ने कलाकार तथा हेर्ने दर्शक सबै वरपरका बिरुवा थिए । म पनि हल्लिएँ । उनले साहित्य रंगभूमि प्रतिष्ठान पुनेमा दिएको प्रवचनको यो अनुवाद पनि त्यही झंकारको विस्तारित रूप हो । यसमा उनले नाटक लेखन अभिनय तथा नाट्य संरचनाका विविध पक्षहरूको बारे चर्चा गरेका छन् :


नाटक हुनु भनेको के हो ? सबैभन्दा पहिला यसको जवाफमा स्पष्ट हुनुपर्छ । हामी सामान्यतया नाटक भन्नासाथ त्यसलाई संवादसँग दाँजेर हेरिरहेका हुन्छौं । तर यसमा हुने संवाद सामान्य रूपमा गरिने कुराकानीजस्तो हैन । रेलमा जाँदै गर्दा मानिसहरू बोलिरहेको कुरा सुनेजस्तो पनि हैन । मान्छे बोलिरहेका छन् । विवाद गरिरहेका छन् ।


रोमाञ्चक कुरा भइरहेको हुन्छ । तर उनीहरू निस्किएर जानासाथ सबैथोक बिर्सिइन्छ किनकि त्यो केवल केही व्यक्तिबीच भएको वार्तालाप थियो । विचारको आदानप्रदान थियो । त्यो कुराकानीले उनीहरू कहाँबाट आएका थिए वा कहाँ गइरहेका छन् भन्नेबारेमा केही पनि बताउँदैन । र, त्यो कुरामा रुचि दिने समय तपाईंसँग छैन किनकि कतै जानु छ । मैले भन्न खोजेको कुरा के हो भने सामान्य कुराकानी र नाटकको संवादमा फरक छ । संवाद सुन्नलाई दर्शकहरू आएका छन् । उनीहरू दुई पात्रबीच आदानप्रदान हुने संवाद सुन्छन् । संवादले दर्शकलाई ती पात्रहरू को हुन् र कहाँबाट आए भनेर बताउनुपर्छ ।


एउटा संवादले गर्नुपर्ने पहिलो काम पात्रहरूको निर्माण हो । मानौँ ए वा बी पात्र छन् । ती को हुन्, कहाँबाट आए ? भन्ने कुरा संवादले खोल्दै जान्छ । त्यसकारण नाटक विगतमा के भएको थियो र भविष्यमा के हुन्छ भन्ने कुराको समष्टिगत रूप हो । हरेक पात्रले विगत र भविष्यलाई सँगै लिएर आएको हुन्छ । एउटा कुशल नाटककारले आफ्नो हरेक वाक्य वा संवादमा विगत र भविष्यलाई मिसाएर ल्याउन सक्नुपर्छ । संवादले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण छ । पात्रहरूले के गर्न खोजिरहेका छन् ? सामान्य रूपमा हामीलाई कथा भन्न खोजिरहेका होलान् । प्रायः सबै जना कथा सुन्न इच्छुक पनि हुन्छन् ।


तर त्यहाँ वास्तवमा के भइरहेको छ भन्ने कुरा जहिल्यै महत्त्वपूर्ण हुन्छ । हरेक नाटकमा एक पात्रले अर्को पात्रलाई मनाउन खोजिरहेको हुन्छ । मानिसहरू नाटकमा एक्सन हुनुपर्छ भन्छन् । तर त्यसको मतलब उनीहरू स्टेजमा यता र उता दौडिनुपर्छ भन्ने हैन । एक्सन जहिल्यै पनि संवादमा हुन्छ । र, संवादमा भएको एक्सनमा एक पात्रले अर्को पात्रलाई मनाउन खोजिरहेको हुन्छ । मन्थराले कैकेयीलाई आफ्नो छोरो राजा हुनुपर्छ भनेर सम्झाउन खोजिरहेको जस्तो । वा लेडी म्याकवेथले राजालाई मार्न भनेर म्याकवेथलाई कर गरिरहेको जस्तो ।


यी सबै हामीले सुनिरहेका नाटकका चर्चित कथाहरू हुन् जहाँ एक पात्रले अर्को पात्रलाई मनाउन खोजिरहेका छन् । मनाउने प्रयत्न सानो सल्लाह वा शरीरको सानो हाउभाउमार्फत पनि भइरहेको हुन सक्छ । दुई पात्रले एकअर्कालाई मनाउने क्रममा सम्पूर्ण प्रक्रिया निर्माण हुँदै जान्छ । त्यसपछि दोस्रो तहको मनाउने प्रयत्न हुन्छ जहाँ बोलिएको संवाद स्वयंले दर्शकलाई यी संवाद सुन्नलायक छन् भन्दै मनाउँछन् । त्यसो गर्न नसके दर्शक सजिलै अल्छी मानिहाल्छन् ।


यसरी हरेक नाटकमा दुईखाले प्रयास भइरहेको हुन्छ । पहिलो पात्रहरू एकअर्कालाई मनाउने प्रयत्न गर्छन् र दोस्रो ती पात्रले बोलेका संवाद दर्शकलाई मनाउने प्रयास गर्छन् । कुनै दृश्य वा समग्र नाटक सुन्नलायक छ भन्ने कुरा पनि यही प्रक्रियाबाट थाहा हुन्छ । त्यसरी एकअर्कालाई मनाउने प्रयत्नको बीचमा एउटा पात्र अर्को पात्रको प्रस्तावमा असहमत हुन सक्छ । असहमतिले द्वन्द्वको सिर्जना हुन्छ । यी थिए हरेक नाटककारले आफ्नो दिमागमा राख्नैपर्ने आधारभूत कुरा ।


अब केहीबेर अन्य सीमितताहरूबारे कुरा गरौँ जुन केवल रंगमञ्चका सीमितता हुन् । एउटा उपन्यासमा यतिमै सक्नुपर्ने सिमाना हुँदैन । २ हजारभन्दा धेरै शब्द नाघे पनि कुनै समस्या हुँदैन । तर, नाटक त्यसरी बढिरहन सक्दैन । एक समय थियो जतिबेला मानिसहरू पूरै रातभर नाटक हेर्थे । तर त्यहाँ उनीहरूलाई सुत्न दिइन्थ्यो । त्यस्तो सुविधा अहिले हामीसँग छैन । हामीलाई २ वा साढे २ घण्टाभन्दा नलम्बिने नाटक लेख्नुपर्ने बाध्यता छ । वास्तवमा एउटा नाटकको लम्बाइ कति हुने भन्ने कुरा त्यसमा भएको गुदीले निर्भर गर्छ । दर्शकलाई २ वा साढे २ घण्टा थेग्नु र बाँधेर राख्नु चानचुने कुरा हैन । सकिएन भने उनीहरू चाँडै घर हिँड्नेछन् । फेरि यसलाई उपन्यासजस्तो आज अलिकति पढेर बाँकी भोलि पढ्छु भन्न पनि मिल्दैन ।


रंगमञ्चमा दर्शकको सीमितता रहन्छ । हाम्रोमा ५५० वा ६०० भन्दा धेरै मानिसले एकैपल्ट नाटक हेर्न सक्दैनन् । यदि अन्तिममा बस्ने दर्शकले अभिनय गर्ने पात्रको अनुहारको भाव देख्न सकेन भने त्यहाँ रंगमञ्चको शोभा हराउँछ । दर्शकले स्टेजमा के कुरा कसरी भइरहेको छ भन्ने कुरा स्पष्ट देख्न पाउनुपर्छ । र नाटकले एकै ठाउँमा जम्मा भएका विविध स्वभाव, समूह वा उमेरका दर्शकको ध्यान आफूतिर खिचेर राख्न सक्नुपर्छ । नाटकले अरूलाई उत्सुक राखिरहन सक्नुपर्छ ।


कथाले केही हदसम्म बाँध्न सक्ला तर प्रस्तुति हुँदै गर्दा यदि दर्शकको मनमा मैले यति पैसा किन तिरेँ ? म यहाँ किन बसिरहेको छु ? वा मैले यो सबै दुःख किन पाइरहेको छुजस्ता प्रश्न आए र जवाफ आएन भने नाटक अप्ठ्यारोमा पर्छ । यस्ता कुनै पनि माग उपन्यास वा अन्य विधाले राख्दैनन् किनकि तिनलाई घरमा पढ्न सकिन्छ । नाटक वा थिएटरको विशेषता नै यही हो, यसलाई हेर्न दर्शक पैसा तिरेर आएका छन् । मतलब दर्शकको ध्यान यसले खिच्नुपर्छ ।


नाटक गरिरहँदा कहिल्यै पनि पछाडि फर्किन सकिँदैन । पहिला के थियो भनेर पनि खोज्न पाइँदैन । नाटक अगाडि बढिरहनुपर्छ । त्यसैले नाटककार कुनै दृश्य वा सूत्रधार वा पात्रहरूमार्फत के भनिरहेको छु भन्ने कुरामा जहिल्यै पनि स्पष्ट हुनुपर्छ । नाटक लेख्नु भनेको घर बनाउनुजस्तै हो । मूलढोका कहाँ राख्ने, अरू सबै सुविधाहरू कहाँ राख्ने, कुन चीज कहाँ सुहाउँछ, पछिल्लो ढोका कहाँ राख्ने, कुन स्थानबाट हुलाकी आउँदा राम्रो हुन्छ यी सबै कुराहरू एउटा घरको समग्र संरचनामा निर्भर हुन्छ । यही कुरा नाटकमा पनि लागू हुन्छ वा भनौ लागू हुनुपर्छ । अरूको लेख्ने तरिका फरक हुन पनि सक्छ । तर मैले लेख्ने तरिकाचाहिँ यही हो ।


मैले भनिरहेको थिएँ स्टेजमा सामान्य रूपमा केही हुनुले मात्र दर्शकलाई कुनै पनि प्रभाव पार्दैन । त्यसले कुनै न कुनै पात्रलाई असर गर्नुपर्छ । वास्तविक जीवनमा त्यस्तो नहुन सक्ला तर पनि नाटकमा उत्प्रेरणा चाहिन्छ । मैले भनिसकेँ एउटा नाटक राम्रोसँग बनाइएको घरजस्तै त हो तर बनिसकेको घरमा कुन चीज किन छन् भन्ने कुरा त्यहाँ बस्नेहरूलाई थाहा हुनुपर्छ । त्यो किन छ भन्ने कारण खोतलिरहनुपर्छ । भारतमा त यो झनै महत्त्वपूर्ण छ ।


मेरो नाटकहरू अमेरिकामा प्रस्तुत हुँदा त्यहाँका कलेज पढिरहेका कलाकारहरू पनि यो किन जरुरी छ भनेर हरेकपल्ट सोधिरहेका हुन्थे । केहीले म यो संवाद बोल्दिन पनि भन्थे । केही महिलावादी कलाकारहरू महिलाविरोधी संवाद नबोल्ने भनेर चर्को बहस गर्ने । तर भारतमा कलाकारहरू प्रश्न एकदमै कम गर्छन् । यसलाई गलत नबुझियोस् तर उनीहरू नाटक पाए निभाउँछन् तर नाटकमा कुन कुरा किन भइरहेको छ भन्ने प्रश्न एकदमै कम सोध्छन् । प्रश्न नै नसोधी त्यसमा भरपूर काम गर्ने प्रयत्न गर्छन् । दोष हाम्रो पनि छ । हामी कलाकारलाई प्रश्न गर्न सिकाउँदैनौँ । किन भइरहेको छ भन्ने खोज्न लगाउँदैनौँ । यो बोझ कलाकार र नाटककार दुवैले वहन गर्नुपर्छ । यो विशेषगरी एक नाटककारले अझै धेरै निभाउनुपर्ने जिम्मेवारी हो ।


विश्वका धेरै उत्कृष्ट नाटकहरूको संरचना ख्याल गर्दा नाटककारले विशेष ध्यान दिएर निर्माण गरेको थाहा हुन्छ । सेक्सपियरको ‘ह्याम्लेट’ लाई नै हेरौँ । कथा सामान्य छ । ह्याम्लेट पढ्नलाई देश बाहिरको युनिभर्सिटी जान्छ । उसको बाबु मारिएको तथा आमाको अर्कैले यौन शोषण गरेको थाहा पाएपछि फर्किन्छ । सबैको दोषी अंकल हो भन्ने आशंका गर्छ तर निश्चित भइहाल्न सक्दैन । ह्याम्लेटले पछि त्यहाँ लेयरटिस पनि छ भनेर पत्तो लगाउँछ । ऊ आफ्नै प्रेमिका ओफिलियाको दाजु हुन्छ । उसको कथा पनि उस्तै छ । ऊ पनि युनिभर्सिटी जान्छ ।


आफ्नो बुबा मारिएको र बहिनी पागल भएको सुनेपछि फर्किन्छ । ह्याम्लेटको अंकल नै त्यसको जिम्मेवार हो भन्नेमा निश्चित हुन सक्दैन । अन्तिममा सोच्छ सायद ह्याम्लेट नै त्यसको दोषी हो । यसरी नाटकको अन्तिम दोहोरो संघर्षमा एकातिर ह्याम्लेट र अर्कोतिर लेयरटिस आइपुग्छन् । दुवैका कथा लगभग एउटै छन् । सेक्सपियरले जानीजानी एउटै कथा दुईपल्ट दोहोर्‍याउँछन् ।
ह्याम्लेट नाटकको मुख्य दुःखान्त पात्र बन्छ भने अर्कोतिर लेयरटिस सानो पात्र रहन्छ । तर क्लाइमेक्समा दुवैले एकअर्काको सामना गरिरहेका छन् । गणितीय हिसाबमा भन्ने हो भने दुई भिन्न समीकरण एकअर्कासँग जुधिरहेको जस्तो । यो संरचना संयोगले बनेको हैन । त्यहाँ नाटककारको सचेत उपस्थिति देखिन्छ ।


सेक्सपियरकै ‘किङ लियर’ नाटकमा पनि यस्तै संरचना देखिन्छ । उनले दुई गलत छोरीलाई विश्वास गर्छन् तेस्रो असल छोरीलाई विश्वास गर्दैनन् । पछि धोका पाउँछन् र पागल हुन्छन् । र, पश्चात्तापमा परेर भौँतारिइरहन्छन् । त्यसै बेला उनले द ड्युक अफ ग्लस्टरलाई भेट्छन् । ग्लस्टरको आँखा पनि उसले विश्वास गरेको छोराले फुटाइदिएको छ । त्यहाँ पनि उस्तै कथा दोहोरिन्छ । किङ लियर र ग्लस्टर दुवैले गलत सन्तानलाई विश्वास गरेकाले दुःख पाएका छन् ।


उस्तै पृष्ठभूमि भएका दुई पात्र अन्तिममा पागल र दृष्टिविहीन भएर सँगै हिँडिरहेका छन् । यो पनि कुनै संयोग हैन । यसलाई सेक्सपियरको महानता भन्नेहरू पनि छन् । तर संरचना भन्ने कुरा कहिल्यै पनि प्राकृतिक रूपमा आउँदैन । त्यसको निर्माण गर्न नाटककारले कडा मिहिनेत गर्नुपर्छ । कुनै गायकले आलाप लगाउँछ भने त्यो त्यत्तिकै तयार भएको हुँदैन । घण्टौँ घण्टाको कडा मिहिनेत त्यसमा परेको हुन्छ । र, नाटककारले पनि यस्तो गर्नुपर्छ । लेख्नुभन्दा पहिला अरू नाटकहरू पढ्नुपर्छ । विश्लेषण गर्नुपर्छ । कुन कुरा किन भइरहेको छ भनेर प्रश्न गर्नुपर्छ । संरचनामा काम गर्नुपर्छ ।


यस्तो काम पश्चिमा विश्वमा मात्र हैन पूर्वमा पनि भइरहेको छ । उदाहरणका लागि ‘शाकुन्तल’ नाटकलाई लिन सकिन्छ । यसको पहिलो दृश्यमा शकुन्तला कानवाको आश्रममा छिन् जहाँ कुनै पनि वैवाहिक सम्बन्ध छैन । शकुन्तलाकी आमा अप्सरा थिइन् । उनले विवाह गरिनन् । उनलाई त्यहाँ छोडेर गइन् । शकुन्तलाका सबै नजिकमा साथीहरू दासी थिए । कानवा उनका पिता होइनन् । उनी प्रायःजसो छद्म परिवारमा छिन् ।


तर त्यसरी सुरु भएको नाटकको अन्त्यमा दुस्यन्त र शकुन्तला एउटा परिवार भएको मानिसको आश्रममा पुगेका छन् । त्यहाँ हरेक मानिस एकअर्कासँग जोडिएका छन् । दुस्यन्तले उनका श्रीमती र छोरा भेट्छन् । र, सम्बन्धहरू विकास हुन्छन् । पहिलो दृश्यमा देखिएको अवस्था उल्टिएर अन्तिममा सबैलाई नजिक ल्याइपु‍र्‍याइएको छ । र यो पनि संयोग होइन ।


एउटा नाटकमा संरचना र अन्य विषय समेटिनुका साथसाथै छुट्न नहुने अर्को कुरा भनेको सत्यको वास्तविक अनुभूति हो । कुनै भावना सक्कली हैन भन्ने कुरा सजिलै छुट्टिन्छ । उत्कृष्ट नाटक र सामान्य नाटकको अन्तर यतिमै देखिन्छ । नक्कली भावनाको कुनै प्रस्तुतिले कसैलाई मनाउन सक्ला, आँखामा आँसु ल्याउला, हँसाउला पनि । तर के तिनले आफ्नो सत्यताको बलमा तिमीलाई छुन सक्छन् कि सक्दैनन् ? यो मुख्य कुरा हो ।


अनुवाद : सुरज सुवेदी
Twitter: @SurajWritesNP

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्