कर्णालीको शिर खोज्दा

यात्रा
रमेश भुसाल

काठमाडौँ — पिछडिएको पश्चिमी तिब्बत । पिछडिएकै कर्णाली क्षेत्र । र, उस्तै उत्तरप्रदेश र विहार । भौतिक रूपमा पिछडिए पनि प्राकृतिक रूपमा अति सुन्दर । कैलाशमा शिव बसे । अयोध्यामा राम जन्मिए, लुम्बिनीमा गौतम बुद्ध । यी सबैलाई जोड्ने कर्णाली नदी । त्यसैलाई पछ्याउँदै हिँडेर, गुडेर, बगेर, डेढ महिना बिताउने हाम्रो योजना ।


मयूर आकारको पहाडको फेदैनिरबाट निस्केको मूल झन्डै २० मिटर तल उत्तरपश्चिमको गरुडा उपत्यकाबाट आएको एउटा नदीमा मिसिन्छ । कर्णालीको सबैभन्दा लामो दूरीको उद्गमस्थल गरुडा उपत्यका भए पनि यो मूल निस्केको पहाडकै नाममा तिब्बतमा यस नदीलाई माप्चा खम्बाब भनिएको हो ।


अघिल्लो साँझ ठमेलको एक होटलमा हाम्रा गाइडले सचेत गराए, ‘रसुवागढीमा सबैको मोबाइल र क्यामरा चेक हुन्छ, चिनियाँ अधिकारीहरूले सबै फोटो हेर्छन्, हटाउनु । कुनै किताब नबोक्नु, फाल्दिन सक्छन् । केरकार गर्छन् ।’


हजारौं फोटो सारेर सुत्दा बिहानको २ बजेको थियो । थाकेको ज्यान लिएर म बिहानै भैंसेपाटीबाट कलंकी हानिएँ । जीपीएस पनि नबोकेको राम्रो भनेका थिए गाइडले । जे पर्ला–पर्ला भनेर क्यामराकै खोलभित्र हालें । मलाई पूरै यात्राको नक्सा बनाउन मन थियो । जसका लागि देशान्तर र अक्षांश, यात्राको दूरी, जमिनको उचाइ चाहिन्थ्यो जुन जीपीएसले रेकर्ड गथ्र्यो । देखे फाल्देला, नदेखे गजब भइहाल्यो ।


असोज पहिलो साता । दसैं नजिकिँदै थियो । मानिसहरू घर फर्कने योजना बुन्दै थिए । फेसबुकको म्यासेन्जरमा केही साथी र आफन्तका सन्देश आइसकेका थिए, ‘ह्याप्पी दसैं, घर आउँदै छु, मिलाएर भेटम्ला है ।’ मैले उत्तर दिएको छैन । उनीहरू आउने बेला म कर्णाली नदीको किनारमा हुनेछु । नदी चिन्ने, प्रकृति र संस्कृति बुझ्ने यात्रामा ।


कैलाशदेखि गंगासम्मको ४५ दिने यात्रामा तीन देश पुगिन्छ— चीनको स्वशासित क्षेत्र तिब्बत, नेपालको उत्तरदेखि दक्षिण र भारतका सीमावर्ती प्रान्तहरू उत्तरप्रदेश र विहार । काठमाडौंबाट गाडीमा रसुवा हुँदै तिब्बतको केरुंग, सागा सहरबाट कैलाश पर्वत र मानसरोवर । कैलाशभन्दा दक्षिणपश्चिमबाट नेपालका हुम्ला, बाजुरा, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डोटी कैलाली हुँदै भारतको उत्तरप्रदेशस्थित बहराइच, अयोध्या । अनि उत्तरप्रदेश र विहारको सीमाको छप्रा जिल्लामा गंगा र कर्णाली नदीको दोभानमा यात्रा टुंग्याउने हाम्रो योजना थियो, झन्डै ११ सय किलोमिटरको कर्णाली नदीलाई शिरदेखि पुछारसम्म पछ्याएर ।

...

भैंसेपाटीबाट कलंकी जाँदा छेउछाउका धुलाम्मे घरहरू हेर्दै मनमनै भनें– अबको केही छिनमा फोक्सोलाई म चकित पार्छु । तर, मेरो यो योजना भोलिपल्ट चीन नपुगेसम्म सफल भएन । धूलो रोकिएन । बस चढेर जाने विदेश भारत मात्रै जस्तो लाग्थ्यो । चीन पनि थपियो । पासपोर्ट बोकेर बसमा पहिलो पटक विदेश ।


दर्जनौं पटक तिब्बती पठार चहारेका हुम्ली पेमा लामा गाइड समूहका नाइके थिए । ३५ वर्षदेखि संसारभरिका नदीका छाललाई पछ्याउँदै आएका मेघ आले हाम्रो टोली नेता । हामी उनलाई नदीमान्छे भन्छौं । उनी नदीका ताल पढ्छन् । र पछ्याउँदै बग्छन् । धेरैजसो छालमाथि उनको विजय हुन्छ । कहिलेकाहीं छालले जित्छ र डुंगा पल्टाइदिन्छ । ‘नदीमा हारजित भइरहन्छ भाइ । जिन्दगी बित्यो छालसँग खेलेर । मर्ने बेलासम्म खेल्न पाइएला कि नपाइएला । यो यात्रा जीवन्त हुनेछ,’ उनले आफ्नो हात मतिर ल्याए । हामीले हाई फाइभ गर्‍यौं । उनले ९० को दशकमा पहिलोपटक कर्णाली नदीमा डुंगामा बगेको सम्झे । त्यसपछि उनी सयौं पटक यो नदीमा बगेका छ्न् । उद्गमस्थलसम्म जान लागेको चाहिँ पहिलो पटक ।


पिछडिएको पश्चिमी तिब्बत । पिछडिएकै कर्णाली क्षेत्र । र, यस्तै उत्तरप्रदेश र विहार । भौतिक रूपमा पिछडिए पनि प्राकृतिक रूपमा अति सुन्दर । कैलाशमा भगवान् शिव बसे । अयोध्यामा रामले जन्मिए, लुम्बिनीमा गौतम बुद्ध । यी सबैलाई जोड्ने कर्णाली नदी । त्यसैलाई पछ्याउँदै हिँडेर, गुडेर, बगेर, डेढ महिना बिताउने हाम्रो योजना । टोलीमा नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष पनि रहेका उनै मेघ आले, फोटोग्राफर नवीन बराल, पानी तथा नदी विज्ञ सन्तोष नेपाल, चरिचरणक्षेत्र व्यवस्थापनविज्ञ विनय पासखल, मानवशास्त्री अस्टिन लर्ड र म । तिब्बतबाट नेपालको हुम्ला झरेपछि ग्रामीण पर्यटनविज्ञ प्राध्यापक प्रेम शर्मा, जलचर विज्ञ दीपनारायण शाह र भूगर्भशास्त्री क्यारेन बेनेट मिसिए ।

...


कतिबेला चिनियाँले बोलाउँछन् र जान पाइन्छ भनेर रसुवागढीभन्दा तीन किलोमिटर वरैबाट दर्जनौं ट्रक केरुंग जाने प्रतीक्षामा थिए । आजलाई नाका बन्द भयो । बाटोमै ट्रक राखेर केही ड्राइभर र सहचालक स्टोभ निकालेर खाना पकाउँछन् । कोही होटलतिर लाग्छन् । कोही गाडीमै रात काट्छन् । चिनियाँले बोलाएपछि तिब्बत छिर्छन् र सामान बोकेर फर्कन्छन् । ‘नेपालका प्रहरीसँग चिनियाँहरूको खासै संवाद हुँदैन । उनीहरूले पठाइदेऊ भनेपछि गाडी छोडिदिने हो, नभए रोक्ने हो,’ एक नेपाली सुरक्षाकर्मीले भने । हाम्रा सुरक्षाकर्मी चिनियाँ सुरक्षाकर्मीका आदेशपालक मात्र हुन् । ठूलो र सानो, गरिब र धनीको भेद प्रस्ट देखिन्थ्यो । अधिकार र भौतिक संरचना दुवैमा । चीनपट्टि अन्तर्राष्ट्रियस्तरका सेवासुविधा भएका कार्यालय छ, नेपालपट्टि सानो टहरो । दुई वर्षअघि त टिनले बारेको छाप्रो थियो ।


केरुंगबाट बग्दै आएको गिरोंग जांग्बो नदी नेपालमा त्रिशूली बन्छ । महादेवले त्रिशूल बझार्दा पानी निक्लेको भनिने गोसाइँकुण्ड क्षेत्र त्रिशूली नदीको उद्गमस्थल मानिन्छ । यसको एउटा शाखा तिब्बती सहर केरुंग अथवा गिरोंग उपत्यका छिचोलेर गहिरो खोंचबाट दक्षिणपूर्व बग्दै रसुवागढी आइपुग्छ ।

रसुवागढीस्थित नेपाल–तिब्बत नाकाको एक छेउमा रसुवा किल्ला छ । १८५५ मा भएको नेपाल भोट युद्धमा तिब्बत आक्रमण गर्न जंगबहादुर राणाले बनाएको किल्ला । कुनै बेला तिब्बतलाई युद्धमा जितेको बहादुरहरूको भूभाग अहिले विचित्रको हीनभावले ग्रसित छ । टीठलाग्दो मुख लगाएका सुरक्षाकर्मी, चिनियाँहरूको हेपाइ सामान्य मान्दै सुस्ताइरहेका सवारीचालकहरू र डरले ग्रसित टुरिस्ट गाइडहरूको मलिन अनुहार ।


हामीले चीनको विशाल भवनलाई पछाडि पारेर फोटो खिच्दै थियौं । पेमा लामा हत्तारिँदै आए, ‘चाँडो जाउँm अहिले फेरि रोक्छ ।’ हामी हतारहतार चीनतिर लाग्यौं । पुल कट्नेबित्तिकै पेमाले लाइन लाग्न भने । सबैको भिसा एउटा कागजमा छ जसमा नाम, पासपोर्ट नम्बर र जाने ठाउँहरूको सूची छ । हरेकको पासपोर्टमा पहेलो स्टिकटमा एउटा नम्बर टाँसिएको थियो । लाइन लाग्ने बेला पेमाले पासपोर्टमा भएको नम्बरअनुसार बस्न भनेपछि थाहा भयो, त्यो स्टिकर किन टाँसिएको रहेछ । भिसा कागजमा जुन रोलक्रम छ त्यसैअनुसार पासपोर्टमा नम्बर टाँसिदिएका रहेछन् काठमाडौंका भिसा अधिकारीले ।


हाम्रो सामान मेसिनचेक गरेर भित्र पठाइयो । सबैको मोबाइलमा भएका फोटा चेक गर्न एक महिला र पुरुष हरियो पोसाकमा थिए । कम्तीमा एक जनालाई ५ मिनेट लगाएर जाँचे । मेरो पालो आयो । सोचेको थिएँ, हिजो खिचेका केही तस्बिर मात्रै मोबाइलमा छ । अरू डिलिट गरिसकें । तर, डिलिट गरेका झन्डै २५ सय फोटा ट्रयास फोल्डरमा रहेछन् । मैले ट्रयासबाट हटाउन बिर्सेछु । रातभरि निद्रा मारेको अर्थ रहेन । फोटो फोल्डरमा कम फोटो देखेपछि उनले ट्रयास फोल्डर खोले । सबै फोटो हेरे । लगत्तै पासपोर्ट कन्ट्रोलमा पुगियो । पासपोर्ट केहीबेर राखेर दिए तर स्ट्याम्प लगाएनन् । तिब्बत छिरेको कि मलाई थाहा छ कि त चीन सरकारलाई । पासपोर्टमा केही प्रमाण छैन । जीपीएस र क्यामरा भएको झोला छेउको एक्स रे मेसिनबाट पास हुँदै थियो । मेरा आँखा उतै थिए । झोला पास भएपछि ढुक्क भयो । छिमेकीकहाँ जाँदा पनि कत्रो डर !


हामीलाई लिन एक नेपाली बोल्ने मानिस पासपोर्ट कन्ट्रोलनेर बसिरहेका थिए । हाम्रा तिब्बती गाइड रहेछन् । उनले टेक्न पाउने अन्तिम पाइला यही पासपोर्ट कन्ट्रोल रहेछ । सानैमा भागेर भारतको धरमशाला गएका उनी पछि तिब्बत फर्के । त्यसपछि विदेश जाने छुट छैन ।

सामान बोक्ने एउटा सानो ट्रक र मान्छे बोक्ने माइक्रोबसजस्तो अर्को गाडी हामीलाई कुरेर बसेका थिए । गाडी चढ्नेबित्तिकै भित्र दुइटा सीसी क्यामरा जडान गरेको देख्यौं । हामीपट्टि फर्काइएको । भित्र हुने कुरा रेकर्ड हुनेरैछ । हामी सजग भयौं । गिरोंग जांग्बोको तिरैतिर हामी चिल्लो बाटोमा ९०–१०० किलोमिटर प्रतिघण्टा गतिमा हुइँकियौं ।


सीमा कट्नेबित्तिकै कति धेरै कुरा फरक, भूगोल उस्तै भए पनि । उनीहरू दाहिने गाडी चलाउँछन्, हामी देव्रे । पुलवारि नेपालमा बिहानको ८ बज्दा पुलपारि सवा १० । बेइजिङकै समय । घाम–जूनले फरक नदेखे पनि राजनीतिक आँखाले फरक देख्छ । हामीले बाँधेको सिमानाले पारि चीन भन्छ वारि नेपाल । कुनै बेला मानिसहरू बिनारोकतोक वारिपारि गर्थे, बिहेबारी चल्थ्यो अहिले भिसा चाहिन्छ । नभए विशेष पास । समय बदलियो । चीन धनी र शक्तिशाली हुँदै गयो हामी झन्झन् कमजोर ।


केरुंग भविष्यलाई धेरै सोचेर बनाइएको नाकाजस्तो देखिन्छ । यस सुन्दर उपत्यकामा एउटा विकसित सहरमा हुनुपर्ने सबैजसो पूर्वाधार बनाइसकिएको छ । योजनाबद्ध तरिकाले चीनले तातोपानी नाका सारेर केरुंग पुर्‍याइसकेको छ । ‘पाँच वर्षअघि र अहिलेको तिब्बतमा धेरै फरक छ,’ पेमाले भने । पुरानो खोज्न धौ–धौ हुन्छ अहिले । पुरानो त केही घर र गुम्बा मात्रै हुन अरू सब नयाँ ।


सेनाले खोलेको स्याफ्रुबेंसी बेत्रावती सडक मात्र राम्रोसँग चालु हुने हो भने ७–८ घण्टामा केरुंगबाट वीरगन्ज पुगिन्छ । तिब्बतबाट नेपाल हुँदै भारत जोड्न यति छोटो र सजिलो बाटो अहिले अर्को छैन । बिहार र उत्तरप्रदेशमा ३० करोडभन्दा बढी मानिस छन् । दसवटा नेपाल बराबरको जनसंख्या । त्यही बजार पुग्न सजिलो भए काफी छ चीनलाई । त्यसैले रेल केरुंग आउँदै छ र काठमाडौं पनि आउने हल्ला छ ।


नेपाली धेरै देखिन्छन् केरुंगमा । खासगरेर रसुवा, सिन्धुपाल्चोक र नुवाकोटका मानिसहरू काम गर्न जाँदा रहेछन् । रेस्टुराँ, डान्सबारमा काम गर्न । कति ज्यालादारी मजदुरी गर्न ।

फेसबुक, ट्वीटर, इन्स्टाग्राम सबै सामाजिक सञ्जाल मोबाइलबाट हटाएर वी च्याट मात्र राखेको थिएँ । गाइडले फेसबुक पनि चेक गर्न सक्छ भनेका थिए त्यसैले । खासमा दलाई लामाका फोटा वा त्योसँग सम्बन्धित अन्य सामग्री कतै देखे केरकार गर्ने रहेछन्, उस्तै परे फर्काइदिने । केरुंग पुगेर घमाइलो दिनमा खुलेका हिमाल, चिल्ला सडकमा गुडिरहेका गाडीको छोटो भिडियो खिचेर मीनाक्षीलाई पठाएँ, ल है तिब्बत पुगियो भन्ने सन्देशसहित । केही सेकेन्डपछि वी च्याट बन्द भयो र सन्देश आयो, ‘योर वी च्याट एकाउन्ट ह्याज विन फाउन्ड सस्पिसियस, इट्स् ब्लक्ड ।’ भरपर्दो म्यासेजिङ एप भनिएको सिग्नल मैले म्यानमारमा डाउनलोड गरेको थिएँ । एक–दुई पटक चलाएको पनि थिएँ । साथी नवीन बरालको वी च्याट ब्लक भइसकेको थिएन । त्यसबाट मीनाक्षीलाइ एड गरेर सिग्नल डाउनलोड गर भन्ने सन्देश पठाएँ । त्यसपछि तिब्बतमा रहँदा त्यसैबाट घरसँग सम्पर्क गरें ।


तिब्बती गाइडको नाम मिंगमार रहेछ । प्रस्ट नेपाली बोल्ने । सबैलाई तिमी भन्ने । एउटै कुरा दोहोर्‍याइरहने । ‘तिमीहरूलाई म पहिल्यै भन्दिन्छु, हैन, देयर इज नो ह्वाई इन चाइना, ओके,’ उनले सुरुमै भनेका थिए । तर, हामी बेला–बेला प्रश्न गथ्र्यौं । उनले केही उत्तर दिन्थे । केहीचाहिं ‘देयर इज नो ह्वाई ओके’ भनेर टार्थे । बेलाबेला हामीलाई तिब्बतबारे सुनाउँथे । चीन आएपछि के भयो भनेर सुनाउँथे । तीब्बतमा विकास भएकामा खुसी थिए । चीनको शासनप्रति भने गुनासो थियो । मैले सीसी क्यामराले काम गरिरहेको छ कि भनेर सोधें । ‘छैन, हामीले तार छुटाइदिएका छौं । यो नभएपछि स्पिडको मतलब हुँदैन जसरी मन लाग्यो उसरी गुडाउन मिल्छ,’ मिंगमारले भने । हामी अलि ढुक्क भयौं । तर, उनले चीनप्रति गरेको टिप्पणी देख्दा मलाई अलिअलि डर लागिरहेको थियो, कतै हामीलाई उस्काएको त हैन भनेर ?


उनले आफ्नो कथा सुनाए । ‘१५ वर्ष भारतको धर्मशालामा बसें । स्कुल त्यही पढें । केही वर्षपछि नेपाल आएँ । दुई–तीन वर्ष पोखरा बसें । पछि परिवारलाई कहिल्यै भेट्न पाउँदिनँजस्तो लाग्यो । अनि तिब्बत फर्कें । थाहा थियो मलाई सजाय हुन्छ तर पनि फर्कें ।’ उनी बेलाबेलामा ‘बुझ्यो हैन’ भन्थे । हामी टाउको हल्लाउँथ्यौं । उनले थपे, ‘मलाई ३ वर्ष जेलमा राख्यो सरकारले । त्यसपछि बिस्तारै गाइडको रूपमा काम गर्न थालें । मेरो कुनै नराम्रो रेकर्ड छैन । मलाई विश्वास गर्छ सरकारले ।’ उनी पियक्कड थिए, नौ दिनसम्म नपिएको कुनै समय थिएन । हामीलाई लेक लाग्ने डर । उनी त ५ हजार मिटरमा पनि स्वाट्टस्वाट्ट ।

...


केरुंगबाट झन्डै दुई सय किलोमिटर उत्तरपश्चिममा सागा सहर भेटिन्छ । पश्चिम नेपालको हिमालपारि हुम्ला र मुगुभन्दा उत्तरको तिब्बती क्षेत्रमा अवस्थित छेमायुंगदुंग हिमनदीबाट सुरु हुने ब्रह्मपुत्र नदी (तिब्बतमा यार्लुंग जांग्बो भनिन्छ) सागा सहर हुँदै पूर्वतिर बग्छ । पूर्वमा भुटान पल्तिर अरुणाञ्चल प्रदेशबाट दक्षिणपश्चिम मोडिन्छ र आसाम पार गरेर बंगलादेश पस्छ । पश्चिमबाट बिहार हुँदै आएको गंगा नदी र पूर्वबाट आएको ब्रह्मपुत्र बंगलादेशमा मिसिन्छन् र बंगालको खाडीमा पोखिन्छन् । एसियाकै सबैभन्दा लामा र ठूला १० नदीमध्येको एक हो ब्रह्मपुत्र । यसको लम्बाइ झन्डै तीन हजार किलोमिटर छ । कैलाश पर्वत पुग्नु केही घण्टाअघि ब्रह्मपुत्र नदीको मुहान जाने बाटो देखाउँदै मिंगमारले भने, ‘म मुहानमै पुगेको छु ।’ सडकछेउमा गाडी रोकेर पिसाब फेर्न लाग्दै गर्दा उनले केही ढुंगा जम्मा गरिरहेको थिए ।


‘सबै जना यता आऊ म तिमीहरूलाई बुझाइदिन्छु,’ मिंगमारले बोलाए । बीचमा एउटा ढुंगा राखे । पूर्व, पश्चिम, उत्तर र दक्षिण पारेर अरू चारवटा । ‘बीचको कैलाश पर्वत हो । कैलाशको पूर्वपट्टिको हिमालबाट ब्रह्मपुत्र निस्किन्छ, यसलाई ताम्चोक खम्बाब अथवा घोडाको मुखबाट निस्केको नदी भनिन्छ । यो तिब्बतबाट भारत हुँदै बंगलादेश पुग्छ । पश्चिमपट्टिबाट सतलज नदी निस्किन्छ, यसलाई लांगचेन खम्बाब अथवा हात्तीको मुखबाट निस्केको नदी भनिन्छ यो भारतको पन्जाब पुग्छ । दक्षिणतिरबाट कर्णाली निस्किन्छ यसलाई माप्चा खम्बाब अर्थात् मयूरको मुखबाट निस्केको नदी भनिन्छ । यो नदी नेपालको हुम्लाबाट बगेर कैलाली झर्छ र भारतमा पुगेपछि घाघरा नदी बन्छ । उत्तरतिरबाट इन्डस् निस्किन्छ जसलाई सिंगी खम्बाब अर्थात् सिंहको मुखबाट निस्केको नदी भनिन्छ । त्योचाहिं जम्मु कश्मीर हुँदै पाकिस्तान कटेर अरबियन सागरमा मिसिन्छ,’ उनले बेलिविस्तार लगाए ।


तिब्बतमा माप्चा खम्बाब भनिने कर्णाली नदी नेपालको हुम्लास्थित हिल्सा नाका छिरेपछि कर्णाली बन्छ । कैलालीबाट दक्षिण लागेपछि घाघरा । अयोध्यामा यसलाई सरायु भनिन्छ भने त्यहाँबाट दक्षिणपूर्व बगेर बिहारको राजधानी पटनाभन्दा उत्तर पश्चिमस्थित छप्रा जिल्लामा गंगामा मिसिन्छ । गंगा नदीको सबैभन्दा ठूलो र दोस्रो लामो शाखा नदी कर्णाली हो । तिब्बतबाट भारतसम्म यसको लम्बाइ १०८० किलोमिटर छ भने नेपालमा यो ५ सय ७ किलोमिटरको दूरी बग्छ । नेपालका सबै ठूला नदी उत्तराखण्ड, उत्तरप्रदेश र विहारमा गंगा नदीसँग मिसिन्छन् । गंगाको ७० प्रतिशत पानी नेपालका नदीहरूबाट जान्छ ।

कैलाश पर्वतको दक्षिणमा दुइ ठूला ताल छन् (राक्षस ताल र मानसरोवर । झन्डै १५ मिटरको उचाइले मात्रै छुट्टिएका दुई तालबाट एकआपसमा पानी बगेर पनि जान्छ वर्षामा । राक्षस तालमा नुहाउने त कुरै भएन हेर्न पनि हुन्न भन्दा रहेछन् । मानसरोवर तालमा एक डुबुल्की मार्न मानिसहरू लाखौं खर्चेर हजारौं किलोमिटरको दूरी पार गरेर आउँछन् । हुम्लीहरू यो ताललाई लंकारी ताल भन्छन् । नेपालको हुम्ला, बाजुरालगायतका जिल्लामा स्थानीय मानिसहरूले कर्णाली नदी राक्षस तालबाट आएको हुनाले कर्णालीको विकास नभएको र पिछडिएको मान्दारहेछन् । तर, यो टोलीका वैज्ञानिकहरूले दुई दिन लगाएर गरेको स्थलगत अध्ययनबाट कतैबाट पनि राक्षस तालको पानी कर्णाली नदीमा मिसिएको देखिएन । राक्षस तालभन्दा दक्षिणमा रहेको गुर्लामान्दाता हिमालबाट निस्केका दुईवटा हिमनदीको पानी ४०–५० किलोमिटर उत्तरपश्चिमबाट बग्दै आएको अर्को शाखा नदीमा मिसिएको मात्र देख्यौं । त्यो नदी नै नेपाल छिरेपछि कर्णाली हुने हो ।


हामी राक्षस तालबाट दक्षिण झरेर कार्दुंग गाउँ हुँदै उत्तर लाग्यौं । मिंगमार घरीघरी रमाइला कुरा सुनाउँथे । पौराणिक कथा पनि भन्थे । कच्ची बाटोमा कर्णाली किनारैकिनार गुडिरहँदा उनले कैलाश पर्वतको कथा सुनाए, ‘हिटलरले दोस्रो विश्वयुद्ध हुनुअघि आफ्ना फौजका केही मानिसलाइ कैलाश पर्वत पठाएका थिए । समय नै परिवर्तन गरिदिने साँचो तिब्बतमा छ किनभने यो ब्रह्माण्डकै केन्द्रविन्दु हो भन्ने थाहा पाएर त्यो साँचो खोज्न यहाँ पठाएका थिए,’ आफैंले देखेजसरी मिंगमारले भने । खासमा हिन्दुहरू कैलाश पर्वतमा ध्यानमग्न भएर बसेका शिवजीसँग ब्रमाण्ड चलाउने शक्ति भएकाले उक्त स्थानलाई ब्रह्माण्डकै केन्द्रविन्दु मान्छन् ।


पछि खोज्दै जाँदा एउटा रमाइलो प्रसंग भेटें, सायद मिंगमारले यसैको आधारमा कथा बुनेको हुनुपर्छ । सन् १९३९ सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध सुरु हुनु केही महिनाअघि मात्रै जर्मन नागरिक अर्नेस्ट साफरको टोलीले जर्मनीको तर्फबाट पहिलो आधिकारिक तिब्बत भ्रमण गरेको रहेछ । तिब्बतको इतिहास, संस्कृति र जैविक विविधताको तथ्यांक संकलन गर्ने टोलीको रूपमा उनीहरू आएका रहेछन् । प्राणीशास्त्री साफरको नेतृत्वमा ब्रिटिस इन्डियाको अनुमति लिएर सिक्किमबाट ल्हासा, सिगात्सेलगायतका स्थानहरूमा भ्रमण गरेको सो टोलीलाई तिब्बत सरकारले दुई महिना बस्ने, अनुसन्धान गर्ने र फोटो खिच्ने अनुमति दिएको रहेछ । तर, सो भ्रमणलाई हिटलरका प्रोपोगन्डा मन्त्री जोसेफ गोएबल्सले राजनीतिक रङ हालिदिएका थिए । गोएबल्सले प्रोपोगन्डा गर्ने जर्मन पत्रिकामा सो टोली अलिखित मान्डेटसहित तिब्बत हिँडेको समाचार छपाएपछि भारतमा ‘द स्टेट्स्म्यान’ पत्रिकाले तिब्बतमा नाजीहरूको घुसपैठ भन्ने लेख छापेको रहेछ । त्यसपछि बेलायती अधिकारीहरूले साफरको टोलीलाई कलकत्ताबाटै फर्काउने प्रयास गरे पनि सफल भएनन् । सो टोली फर्किने बेला हिटलरलाई एक जोर लामा पोसाक, एउटा तिब्बती कुकुर र बौद्ध धर्मावलम्बीहरूले प्रयोग गर्ने कांग्युर धर्मग्रन्थ उपहार लगिदिएका थिए । सयौं फोटो र सयौं वनस्पति र वन्यजन्तुका नमुना संकलन गरेर टोली फर्केको केही दिनमै दोस्रो विश्वयुद्ध सुरु भएको थियो । सायद यसैलाई मिंगमारले हिटलरले पठाएको टोली भनेको हुनुपर्छ ।

...


मानसरोवर तालबाट उत्तरपश्चिमममा हामीले दुई रात टेन्टमा बितायौं । मिंगमारले एक स्थानीयलाई एक दिनका लागि हामीसँग हिँडेर मुहान देखाइदिन अनुरोध गरेका रहेछन् । बिहानै ६ बजेतिर म टेन्टबाट निस्कनेबित्तिकै एउटा सेतो एसयूभी गाडी देखेपछि तर्सें । कतै हामीलाई तिब्बती अधिकारीहरूले पछ्याइरहेका त छैनन् भनेर । मैले सोचेको थिएँ, एउटा झोला बोकेका मैलो कपडा लगाएर लुखुरलुखुर हिँडेर आउलान् तिब्बती गाइड भनेर । तिब्बत परिवर्तन भइसक्यो भन्ने पेमाको भनाइ मैले बिर्सेछु ।


एसयूभी गाडी हामी बसेको क्याम्पभन्दा माथि जाँदैनथियो । हामी उनकै पछि लागेर हिँड्यौं । अलि अगाडि कर्णाली तर्नुपर्ने थियो । बिहान घाम नलाग्दै हामी कर्णाली तर्दा पानी यति चिसो थियो कि बीचतिरै कतै मूच्र्छा परिएलाजस्तो । जुत्ता खोलेर एक मिनेटजतिमा नदी तरियो । पारि पुग्दा खुट्टा आफैंसग छन् कि छैनन्जस्तो भयो ।


आधा दिन हिँडेर एउटा ठूलो मूलमा पुग्यौं । मैले जीवनमा देखेको सबैभन्दा ठूलो मूलमध्ये एक थियो त्यो । मयूरको आकारको पहाडको फेदैनिरबाट निस्केको मूल झन्डै २० मिटर तल उत्तरपश्चिमको गरुडा उपत्यकाबाट आएको एउटा नदीमा मिसिन्छ । कर्णालीको सबैभन्दा लामो दूरीको उद्गमस्थल गरुडा उपत्यका भए पनि यो मूल निस्केको पहाडकै नाममा तिब्बतमा यस नदीलाई माप्चा खम्बाब भनिएको हो— स्थानीय गाडडले भने । माप्चा भनेको मयूर र खम्बाब भनेको मुख अर्थात् मयूरको मुखजस्तो पहाडबाट निस्केको नदी ।


पश्चिमी तिब्बत पिछडिएको क्षेत्र मानिन्छ । सन् ६० को दशकमा सुरु सडक निर्माण कार्यले ५–७ वर्षअघि मात्र पूर्णता पाएको हो । अहिलेका राष्ट्रपति सी चिनफिङले खास महत्त्वका साथ यहाँका विकास निर्माण काम गराइरहेका छन् । जताततै नयाँ सडक बन्दै छन् । हेरक गाउँलाई आधुनिकीकरण गरिएको छ । बिजुली पुर्‍याइएको छ । हरेकजसो गाउँमा नयाँ घर बन्ने क्रम तीव्र देखिन्छ । प्रत्येक घरका सदस्यलाई प्रतिव्यक्ति रकम दिएर सरकारी इन्जिनियरको डिजाइनअनुसार दुईतले घर बनाउने काम भइरहेको छ । मिंगमारका अनुसार चीनले सन् २०२० सम्म सबैलाई नयाँ घर, २०२५ सम्म सबै तिब्बतीलाई रोजगारी भनेको छ । राजनीतिक रूपमा बोल्न पहिलाजस्तो कडाइ अहिले छैन, बिस्तारै खुकुलो पारिंदै छ । योभन्दा पछाडिको पुस्ता चिनियाँ हुन्छ तिब्बती हुँदैन, योचाहिँ पक्का छ । हरेक गाउँका स्कुलमा बास्केटबल कोर्ट, केटाकेटी खेल्ने सरसामान देखिन्छ ।


धेरैजसो एउटा अंग्रेजी गीत हाम्रो गाडीमा बज्थ्यो । बबी म्याकफेरिनले गाएको– ‘डन्ट वरी वी ह्याप्पी । इन एभ्री लाइफ वी हाव सम ट्रबल, ह्वेन यू वरी यू मेक इट डबल’ । सुसेली हाल्दै गाइएको यो गीतले भन्छ— सबैको जीवनमा दु:ख हुन्छ, चिन्ताले दु:खलाई दोब्बर गरिदिन्छ, त्यसैले चिन्ता नगर, खुसी होऊ । यो बज्नेवित्तिकै मिंगमार खुसी हुँदै गाउन थाल्थे ।


विकास हुँदै जाँदा तिब्बतमा चिनियाँ प्रभाव बढ्दै छ । बिस्तारै तिब्बती संस्कृति हराउँदै छ । ‘तिब्बतमा अब जमिन मात्रै तिब्बती हुन्छ अरू सबै चाइनिज ।’ तिब्बतीहरू बाहिरका मानिससँग खासै कुरा गर्न चाहँदैनन् । केही भइहाल्ला भन्ने डरले हो कि । एउटा गाउँमा एक महिलासँग पेमाले माथि गुम्बामा जान पाइन्छ भनेर सोधे । सुरुमा हुन्छ भनेका उनले केही बेरपछि दौडिँदै आएर दुई सय मिटर जति परको प्रहरी चौकीमा सोधेर जाऊ भने । सायद उनी घरका अरू कोही सदस्यलाई सोधेपछि हामीतिर आएको हुनुपर्छ ।

संवाद गर्न तिब्बतमा गाह्रो छ । सागा सहरमा हामी सुप खान रेस्टुरेन्ट गएका थियौ । कफी, ब्रेड, केक सबै पाइने पश्चिमा शैलीको रेस्टुरेन्टको मेनु भने चाइनिजमा । काम गर्ने पनि चाइनिज मात्र बोल्ने । हामीले कति नै गरे पनि भेज सुप अर्डर गर्न सकेनौं । एक छिनपछि छेउमा राखेको मनिप्लान्टजस्तो बिरुवालाइ देखाएर भेज सुप भनेपछि बल्ल वेटरले बुझे । हामीले भेज सुप खायौं ।

...


हामी ताक्लाकोट झर्‍यौं । यो सहरलाई बुरांग वा पुरांग पनि भनिन्छ । कर्णाली नदीको तीरमा बसेको यो नेपालको हिल्सा नाका झर्नुअघिको सबैभन्दा ठूलो तिब्बती सहर हो । नगरको यसरी पुनर्निर्माण भइरहेको छ कि यो पूरै एउटा ठूलो व्यवस्थित होटलजस्तो बन्दै छ । नेपालले तिब्बतमा भएको विकासबाट धेरै कुरा सिक्न सक्छ । हाम्रा नेता चिनियाँहरूको निम्तोमा घुम्न त जान्छन् तर उनीहरूले गरिरहेको व्यवस्थित बस्ती विकास र योजनाबद्ध सहरीकरणका बारेमा बुझ्नभन्दा पनि फोटो खिचेर सामाजिक सञ्जालमा हाल्न धेरै समय खर्च गर्छन् । एकदम छरिएका तिब्बत बस्तीहरूलाई उनीहरूले व्यवस्थित सहरमा परिणत गर्दै छन् । ससाना गाउँहरूलाई कुनै एक ठाउँमा सारेर । हाम्रोजस्तो पहाडी, हिमाली भेगका लागि विकासको पहिलो काम भनेकै छरिएका बस्तीहरूलाइ समेटेर स–साना शहर र वा गाउँहरू बनाउनु हो । त्यसपछि जनघनत्व र व्यापारिक महत्त्वका हिसाबले सडक सञ्जाल बनाउने वा उद्योग खोल्ने । जता मन लाग्यो उतै डोजर झोंसेर घरघरमा सडक पुर्‍याउने ध्याउन्नमा लागेका हाम्रा नेताले पनि केही सिके हुने ।

तिब्बतका अधिकांश ठाउँका पहाडमा सोलारका ठूलाठूला प्लेट राखिएका छन् । जहाँ सकिन्छ त्यहाँ हावाबाट बिजुली निकालिएको छ । कर्णाली नदीमा दुईवटा जलविद्युत् आयोजना सञ्चालन गरिएका छन् । बनाइएका सडकहरूबाट निस्केको ढुंगा–माटो कतै छरपस्ट देखिँदैन हाम्रोमा जस्तो ।


नेपालीहरू हुम्ला, दार्चुलाबाट यहाँ काम गर्न ताक्लाकोट आउँछन् । यहाँभन्दा माथि जान उनीहरूलाई छुट छैन । पहिलापहिला कैलाश जाने गरेका सीमावर्ती जिल्लाका मानिस पनि अहिले जान पाउँदैनन् । त्यसका लागि काठमाडौंबाट भिसा लिनुपर्छ । केही मानिसले पुस्तौंदेखि यहाँ व्यापार गरिरहेका छन् । नेपालका दार्चुला र हुम्ला अनि भारतको धार्चुलाका मानिसहरूका लागि छुट्टै बजार बनाइदिएको छ सरकारले । ताक्लाकोट बजारको उत्तरमा कर्णाली नदीकै किनारमा ठूला भवन बनिरहेका छन् । ती सुपरमार्केट हुन् । ‘अब सबै नेपाली र भारतीयको दोकान पनि त्यतै सार्ने योजनामा छ सरकार,’ एक नेपालीले भने । जाडो महिनामा भारत र नेपालमा आएर सामान खरिद गर्छन् र गर्मी सुरु भएपछि ताक्लाकोट गएर व्यापार गर्छन् । कात्तिकदेखि फागुनसम्म त पूरै बन्द ।

...


‘सबै जना १० बजे रेडी हुनू, आर्मीले हामीलाइ साढे १० बजे बोलाएको छ,’ पेमाले भने । नवीन र मैले राति अबेरसम्म बसेर फोटो र भिडियो हार्ड डिस्कमा राखिसकेका थियौं । फोटो वा भिडियो चेक गरे भने फालिदेलान् भन्ने डरले हामीलाई सताइरहेको थियो । अस्टिन लर्ड भन्ने साथी हामीलाई नभनी पारिपट्टिको गुम्बा हेर्न गएछन् । उनी ११ बजेसम्म फर्किएनन् । मिंगमारले थर्काए, ‘अब तिमीहरूको साथी आएन, यतै बस आज पनि ।’ हामी केही बोलेनौं । ‘आर्मीले पूर्णिमाको रात सांस्कृतिक नाचहरू गर्छ । दिनभरि चेकिङ हुँदैन । अब हामीलाई साँझ मात्रै बोलाएको छ,’ हामीलाई जानकारी दिइयो । म र नवीन भने थप डरायौं । अस्टिन नआएपछि हामीले हाम्रा कुकलाई एउटा हार्डडिस्कचाहिँ चामलको बोरामा राखिदिन भन्यौ । खासै केही त थिएन तर दु:ख गरेर तिब्बतमा खिचेका तस्बिरका माया लागेको ।


चिन्ता पनि कति गर्नुपर्ने । ९ दिन ९ वर्षजस्तो भइसकेको थियो । साढे ११ बजेतिर अस्टिन आइपुग्यो । ढिला भइसकेको थियो । दिनभरि होटलमा कुर्‍यौं । साँझ साढे ५ बजे मेसिनमा सबै सामान चेक गरेपछि हामीलाई एउटा पास दिइयो । अब गाडीबाट झर्न पाइँदैन । हिल्सामा सामान चेक गर्ने मेसिन नभएकाले ताक्लाकोटमै सबै कुरा चेक गरेर पठाउँदा रहेछन् । हिल्सामा पासपोर्ट देखाएर बाहिर निस्कने मात्र ।


आधा घण्टामा सरर हिल्सा आइपुग्यौं । आफ्नो देश भनेको आफ्नै हो । अझ यो पनि नगर् त्यो पनि नगर्, उता पनि नजा यता पनि नजा । जहाँ भन्यो त्यहीं बस् भन्ने हैकममा बिताएका नौ दिनमा कम्ता सकस भएन । पासपोर्ट चेक गराएपछि बाहिर निस्केर मिंगमार र गाडीका दुई चालकलाई बिदाबादी गर्‍यौं । अँगालो मार्दै मिंगमारले भने, ‘राम्रोसँग जाउ, वी च्याटमा कुरा गरौंला ।’


हाम्रोतिरको कथा उस्तै छ । एउटा टेन्ट टाँगेर केही सुरक्षाकर्मी बसेका छन् । रजिस्टरमा नाम लेख्छन्, पासपोर्ट हेर्छन् र छाप हानिदिन्छन् । त्यसपछि नेपाल छिरियो । ‘एक जनालाई १०–१२ हजार दिएर ताक्लाकोटबाट चकलेट र अरू सामान ल्याइदे भनेको ५ दिन भयो फर्केकै छैन, त्यसलाई जान्याछु, आयो भने यहीं थुन्दिने हो,’ एक सुरक्षाकर्मीले सुनाए । सायद उनीहरू घर फर्कंदै थिए र केही सामान लान चाहन्थे । हुम्लातिरका एक व्यापारीलाइ पैसा दिएर पठाएका रहेछन् भोलि नै आउँछु भनेर चीन गएको ५ दिन हुँदा पनि नफर्केपछि चिन्तित भएका रहेछन् । प्रहरीलाई नै झुक्काइदिएछन् भन्दै हामी मुसुमुसु हाँस्यौं । ‘अब जाडो सुरु हुन्छ । हामी सिमिकोट झर्ने हो । हाम्रो पोस्ट पनि तिमीहरूले नै हेर्देऊ भनेर जाने हो चिनियाँलाई,’ उनले थपे । आफ्नो नाका अरूलाई जिम्मा लगाएर छाड्ने मुलुक विरलै होलान् यो पृथ्वीमा । काठमाडौं पशुपतिनाथको, हिल्सा कैलाशको कृपाले चलेको छ । सबै शिवजीकै जिम्मा ।


सबै तस्बिरहरु : नबीन बराल

प्रकाशित : मंसिर २२, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

वातावरण मन्त्रालय कसरी कमजोर ? 

वातावरण मन्त्रालयको मुख्य काम अन्य मन्त्रालयसँग समन्वय गर्ने हो तर कमजोर मन्त्रीकै कारण त्यो काम हुन सकेको छैन । 
रमेश भुसाल

काठमाडौँ — लालबाबु पण्डित वातावरणमन्त्री नियुक्त हुँदा धेरैले ‘कमजोर मन्त्रालय दिएछन्’ भनी टिप्पणी गरे । कतिले त सामान्य प्रशाशनमन्त्री भइसकेको मानिसलाई हेपेर वातावरणमन्त्री बनाइयो पनि भने ।

यसअघि कुनै ठोस योजना, राजनीतिक भविष्य र भित्रैबाट केही गर्ने चाहना नभएका तर मन्त्री मात्रै हुने रहरले थिचिएका मानिसले वातारण मन्त्रालयको जिम्मेवारी पाउने गर्थे । त्यसैले पनि वातावरणबारे चासो राख्ने बाहेकले पण्डितलाई कमजोर मन्त्रालय दिएको भनेर दु:खमनाउ गरेको हुन सक्छ ।
तर एकचोटि सोचौं त, योभन्दा महत्त्वपूर्ण मन्त्रालय कुन छ ? यही मन्त्रालय हो, जसले सास फेर्ने हावा कस्तो हुनुपर्छ र सफा कसरी गराउने भन्नेमा काम गर्न सक्छ । नियन्त्रणका उपाय खोज्न सक्छ । यो त्यही मन्त्रालय हो, जसले विकासका संरचना बनाउँदा हावा, पानी, माटो आदिको अवस्था कस्तो छ, कसरी बनाउन सकिन्छ भन्नेर निक्र्याेल गर्ने जिम्मेवारी पाएको छ । विश्वव्यापी रूपमा पृथ्वीको तापक्रम बढेकाले आइपरेको समस्या (जलवायु परिवर्तन) लाई कसरी समाधान गर्ने भन्नेबारे काम गर्न सक्छ । अनि यो त्यही मन्त्रलय हो, जसले देश विकासका खाकालाई पूर्ण रूपमा दिगो विकासमा डोर्‍याउन मार्गदर्शन गर्न सक्छ ।

यो शताब्दीको अन्तसम्ममा पृथ्वीमा दुई अर्ब गाडी हुनेछन् । अहिलेसम्म पृथ्वीमा ८ अर्ब टनभन्दा बढी प्लास्टिक उत्पादन भइसकेको छ, जसको १ प्रतिशत मात्रै पुन: प्रशोधन गरिएको छ । शताब्दीको अन्तसम्ममा पृथ्वीको तापक्रम झन्डै ४ डिग्री सेल्सियसले बढ्ने अनुमान छ । मानिसले हरेक दिन एक करोड १० लाख टन फोहोर उत्पादन गर्ने अनुमान छ । त्यति फोहोरको दैनिक व्यवस्थापन गर्नैपर्ने जिम्मेवारी पृथ्वीवासीको छ । ४ प्रतिशतको आर्थिक वृद्धिलाई मात्रै मान्ने हो भने पनि यो शताब्दीको अन्तसम्म सन् १९०० को दाँजोमा विश्वको अर्थतन्त्र एक हजार गुणा ठूलो हुनेछ । अहिलेसम्म पृथ्वीको झन्डै ७० प्रतिशत जैविक विविधता नाश भइसक्यो । हामीले जोगाउनुपर्ने बाँकी ३० प्रतिशतमध्ये पनि धेरै जोखिममा छन् र सँगसँगै ९ अर्ब मानिसले यो पृथ्वीमा मिलेर बस्नुपर्नेछ । यी सबै कुराको समाधान वातावरणमन्त्रीले गर्न सक्दैनन् । तर वातावरणमन्त्री यो समाधान गर्ने विश्वव्यापी समूहको
एक महत्त्वपूर्ण सदस्य हुन्, जसले आफ्नो तर्फबाट केही गर्न सक्छन् ।

धेरै राजनीतिकर्मी विकासको एकोहोरो रटान गर्छन् । त्यो बाध्यता पनि हो तर विकासका नाममा पैसा खन्याउने तर वातावरणीय प्रभावलाई वास्ता नगर्ने गरेकाले हामी कस्तो हविगतमा पुगेका छौं र यसै हुँदै गयो भने स्थिति कस्तो होला भनेर सोच्न जरुरी छ । हामीले सहर बनायौं तर हाम्रा सहर कति कुरूप छन् † सहर भई बग्ने नदी कति दूषित छन् † हावा पनि प्रदूषित छ । हामी सहज जीवन बनाउने योजना बुन्छौं तर नारकीय जीवन बाँच्न बाध्य छौं । के हामीले खोजेको यस्तै हो ? खोला देख्दा नाक थुन्नुपर्ने, सडकमा निस्के अनुहार छोप्नुपर्ने, पानी पिउँदा छेरौटी लाग्ने । हामी अलि गम्भीर हुने हो भने यस्तो अवस्था हटाउन सकिन्छ । स्वच्छ हावा, सफा नदी, हरिया जंगलसहितको विकास गर्नै नसकिने हो र ?

खासमा भ्रष्टाचार व्याप्त भएर यी समस्या देखा परेका हुन् तर धेरै मानिसले यस्ता कुरालाई बंग्याउँछन् र विकासको विरोध गरेको आरोप लगाउँछन् । हामी विकास पनि गर्न सक्छौं र वातावरण पनि कम विनाश गर्न सक्छौं । त्यसो गर्दा अलि बढी खर्च हुन्छ तर अहिले ठेक्कापट्टामा भइरहेको भ्रष्टाचारलाई घटाउने हो भने त्यही पैसाले सन्तुलित विकास गर्न सकिन्छ । पैसा नभएर होइन, पैसालाई व्यक्ति र समूहका मानिसले अपचलन गरेकाले यस्तो अवस्था आएको हो ।

वातावरण र विकास आपसमा द्वन्द्वात्मक विषय हुन् जस्तो लाग्न सक्छ तर यी एकअर्काका परिपूरक हुन् । विकासवादीलाई के लाग्न सक्छ भने पुल, बाटो, ठूला महल, सहर, फराकिला बाटा बनाएपछि जीवन सहज हुन्छ, त्यो विकास हो । ठूलो संरचना नै विकास हो भन्ने एकोहोरो बुझाइ छ । अर्का थरी मानिस छन्, तिनले वनजंगल, पानी, माटो केही चलाउनु हुँदैन र संरक्षण गर्नुपर्छ भन्छन् । त्यो पनि एकांगी सोच हो । सबै कुरा जोगाएर विकास गर्न सम्भव छैन र सबै कुरा मासेर गरेको विकासले जीवन कुनै पनि हातलमा सहज बनाउँदैन । यी दुईबीचको सन्तुलन नै उत्तम उपाय हो । सन्तुलन गर्ने महत्त्वपूर्ण भूमिका वातावरण मन्त्रालयले खेल्न सक्छ । तर यो सजिलो विषय होइन जति मानिसले सोच्छन् । यही सरकारका विकास आयोजना कार्यान्वयन गर्ने मन्त्रालयका मन्त्रीले वातावरणमन्त्रीलाई तारन्तार फोन गर्छन् र वातावरणीय प्रभाव मूल्यांकनको फाइल तुरुन्तै अगाडि बढाउन आग्रह गर्छन् । तर जंगल जोगाउने मुख्य उद्देश्यअनुरूप काम गरिरहेको अर्को मन्त्रालयका मन्त्रीले कुनै पनि हालतमा यो गर्ने नसकिने भएकाले त्यस्तो निर्णय नगर्न ताकेता गर्छन् । खासमा दुवै मन्त्री सही छन्, त्यो उनीहरूको जिम्मेवारी हो तर वातावरणमन्त्रीले दुवैलाई मनाएर सकेसम्म कम क्षति हुने गरी विकासका आयोजना अगाडि बढाउन मनाउनुपर्छ । दिनगन्तीमा प्रधानमन्त्री हुने यो देशमा आफ्नै कार्यकालमा धेरै निर्णय गराउन खोज्नु स्वाभाविकै हो । वातावरणमन्त्रीले भने मन्त्रालय छाड्ने बेला विकासविरोधी मन्त्रीको बिल्ला भिरेर निस्कनुपर्ने पनि हुन सक्छ ।

अहिलेको समस्या नियतवश काम नगरिदिएकाले भएको हो । काठमाडौंको रिङरोड फराकिलो बनाउँदा धूलो नउडाई काम गराउन कसले रोकेको थियो ? वातावरण प्रभाव मूल्यांकन नगरी वा गरिएको भए त्यसअनुसार काम नगर्नुमा के पैसाको अभाव थियो ? अर्बौंको लगानी गरी दुई दशकभन्दा बढी लगाएर ल्याउन लागेको मेलम्ची खानेपानी आयोजनाले यसरी मानिसको जीवनलाई अस्तव्यस्त पार्ने गरी पानीभन्दा अगाडि धूलो खुवाउन जरुरी थियो ? अब बिग्रेको फोक्सोलाई मेलम्चीको पानीले पखालौंला नि भनेर खुसी हुने ? यही खर्चमा वायुप्रदूषण नगरी यी आयोजना बनाउन सम्भव थिएन ? के यो बेवास्ताको उपज होइन ? भ्रष्टाचारको उपज होइन ? इच्छाशक्तिको अभाव होइन ? ठेकेदारको लापरबाही होइन ? विकास गरिँदा हुने भ्रष्टाचार कम गराउन सक्ने हो भने यही लागतमा योभन्दा धेरै राम्रो तरिकाले काम सम्पन्न गर्न सकिन्छ ।

म वातावरण मन्त्रालयले एक वर्षअघि नियुक्त गरेको वातावरण संरक्षण परिषद्को सदस्य हुँ, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्नुहुन्छ तर अध्यक्ष नै नदेखी एक वर्ष बित्यो । बैठक बस्ने त कुरै भएन । सयौं समितिको अध्यक्ष प्रधानमन्त्री हुने देशमा कतिको बैठक बसून् प्रधानमन्त्री पनि । राजनीतिक भर्तीकेन्द्रका रूपमा प्रयोग भइरहेका सयौं समिति एकैचोटि खारेज गर्न जरुरी छ । समिति बनाउने भए कर्मकाण्डी होइन, काम गर्नेखालको हुनुपर्छ ।

वातावरणमन्त्रीले पनि चाहिनेभन्दा बाहेकका अन्तर्राष्ट्रिय सभासम्मेलनमा धेरै समय खर्च गर्नु हुँदैन । देशभित्रै लथालिंग छ । मानिसले स्वच्छ हावामा सास फर्न पाएका छैनन् । नदीनालाको बिजोग छ । करोडको मूल्यमा बेच्नुपर्ने ढुंगा–गिट्टी, बालुवा कौडीमा ठेकेदारलाई बेच्ने र जनताको ढाड सेक्ने गरी उच्च मूल्यमा ती ठेकेदारले बेचेका निर्माण सामग्रीबाट पाइने मुनाफा बाँडेर लाभ लिनेको ठूलो भीड छ । त्यसैले व्यवस्थित तरिकाले राज्यले धेरै कर पाउने गरी वैज्ञानिक तरिकाले अध्ययन गरेर त्यसैअनुरूप ढुंगा–गिट्टी, बालुवा उत्खन्नन गराउनुपर्छ । देशमा चुनाव लड्ने बेला सबैभन्दा बढी पैसा खन्याउनेहरू तिनै हुन्, जसले प्राकृतिक स्रोत कौडीको मूल्यमा राज्यबाट लिइरहेका छन् र महँगोमा बेचेर केही लाभ राजनीतिक दलका नेता, कर्मचारी र अन्य समूहलाई दिई पूरै देशलाई भ्रष्टाचारमा लिप्त पारेका छन् । यसलाई व्यवस्थित गर्न अत्यावश्यक छ ।

यस्तै, गैरसरकारी संस्थाले मन्त्रीलाई धेरै ठाउँमा अनुचित रूपमा आफ्नो अभीष्ट पूरा गराउन प्रयोग गर्न खोज्छन् । उनीहरूका पछिपछि दौडन थाले दौडेको दौड्यै भए पनि अन्तिममा जहाँको त्यहीँ रहनेछ । त्यसैले परिणाम देखिने काममा लाग्नुपर्छ । यो गाह्रो छ तर असम्भव छैन । जस्तो– अबको दुई वर्षमा मुख्य सहरहरूमा यति प्रतिशतले वायुप्रदूषण घटाउने, त्यसका लागि योयो काम गर्ने योजना बनाउनुपर्छ । वातावरण प्रभाव मूल्यांकन शाखा केही कर्मचारीले धानिरहेका छन् । कर्मचारीको संख्या बढाएर चुस्त–दुरुस्त टोलीले समयमै कार्यसम्पादन गर्न सक्ने गरी जिम्मेवारी दिनुपर्छ । वातावरण मन्त्रालयको मुख्य काम अन्य मन्त्रालयसँग समन्वय गर्ने हो तर कमजोर मन्त्रीकै कारण त्यो हुन सकेको छैन ।

ठूलो बाटो, दर्जनांै विमानस्थल, फराकिला सडक, हजारौं मेगावाट बिजुली भएर मात्रै भएर सुखी भइँदैन, ती सडक, विमानस्थल, बिजुली प्रयोग गर्न स्वस्थ शरीर चाहिन्छ । स्वस्थ शरीरका लागि सफा पानी, स्वच्छ हावा, सफा जंगलका साथै अन्य जलचर, थलचर सबै चाहिन्छ । यी सबैका बारेमा सोच्नुपर्छ । विकास भन्नेबित्तिकै प्राकृतिक स्रोतको दोहन सँगसँगै आउँछ । बिनादोहन विकास सम्भव छैन तर विकास गर्दा केही संयमित हुन सकियो भने, कम क्षति हुने तरिका अपनाइयो भने त्यो विकास दिगो हुन्छ ।

भुसाल नेपाल वातावरण पत्रकार समूहका महासचिव तथा दक्षिण एसियाली समाचार अनलाइन ‘दी थर्डपोल’ का नेपाल सम्पादक हुन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×