कथाहरूभित्रको (अ)कथा

प्रतिक्रिया

कार्तिक १०, २०७५

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर दैनिकको २० असोज अंक ‘कोसेली’ मा प्रकाशित ‘गाउँका कथाहरू’ शीर्षकको पुस्तक समीक्षा पढेपछि केही लेख्न मन लाग्यो । पुस्तकका लेखक रमेशरञ्जन झा र समीक्षक रोशन जनकपुरी दुवै यथार्थभन्दा निकै पर गएर प्रस्तुत भएका छन् ।

समीक्षकले गर्ने धर्म भनेको सृजनाको ‘दूधको दूध र पानीको पानी’ छुटयाउनु नै हो । दुई/चार आना यताउति हुन सक्नु मानवीय स्वभावका रूपमा लिन सकिन्छ । तर, लेखकको यशोगान र भजनमै आफूलाई शिर–पुच्छर प्रस्तुत गर्नु समीक्षकको ‘अधर्म’ हो, पाठकमा वितृष्णा जगाउने कुरा हो । समीक्षा र कथाभित्रका कमजोरी यहाँ बुँदागत रूपमा राखेको छु ।


पुस्तक समीक्षामा ‘...विविध पात्रसँग संवाद गरेको महसुस गर्न सक्छ’ पछिका वाक्य भूतकालमा लेखिएका छन् । त्यहाँ ‘ग्याप’ छ, सन्दर्भ मिल्दो छैन । समीक्षकले क्रमबद्धतालाई ध्यानमा राख्नैपर्छ । समीक्षामा त्यो महसुस गर्न पाइएन ।


समीक्षामा ‘कथाको विशिष्टता भनेको चित्रात्मकता र ग्राम्यशैलीका तिखर संवाद हुन्’ भन्ने आशय/वाक्य ब्रेक्ररसहित तीन ठाउँमा परेको छ, यसले स्तुतिगान मात्रै देखाउँछ ।
समीक्षामा नटुआ (स्त्रीको स्वाङ गर्ने र नाटकहरूमा स्त्रीपात्रको भूमिका गर्ने) उल्लेख छ । मिथिलामा ‘नटुवा’ नाचसँग सम्बन्धित छ, नाटकसँग होइन । ‘नटुवा’ को अर्थ समग्र रूपमा नाच गरेर मनोरञ्जन प्रदान गर्ने पात्र हो, तर लेखाइमा ‘नाटकको स्त्रीपात्र’ भनी अपव्याख्या गरिएको छ । नाटकमा ‘नटुवा’ होइन ‘छक्कडबाजी’ भन्ने हुन्छ । कुवंरब्रिजभान, सलेह नाच, अल्हारुदल, गोपीचन्दजस्ता मौलिक नाचमा मात्रै ‘नटुवा’ हुन्छ ।


‘फुलवा हरण’ विशुद्ध मिथक र कल्पनामा आधारित छ । तर, समीक्षकले ‘सामाजिक यथार्थ बयान’ भनेका छन् । यसले हामीजस्ता मैथिली पाठकलाई दिग्भ्रमित बनाएको छ ।
पुस्तकको नाम ‘गाउँका कथाहरू’ राखिएको छ, तर पुस्तकमा जातीय विभेद, ब्राह्मणवादी आडम्बरका कुराहरू नगन्य रूपमा समेटिएको छ । मिथिला क्षेत्रमा कथित उच्च जातिकाले भ्रामक र काल्पनिक कथा रचेर खास जातिविशेषलाई देवतुल्य बनाउँदै आएका छन्, यसबारे पनि कथा मौनप्राय छ । मिथिला क्षेत्रमा जकडिएर रहेको मनुवादी संस्कृतिको विपक्षमा पुस्तकले कहीं केही बोल्दैन । पुस्तकमा विवशता र बाध्यताका कुरा त परेका छन् तर त्यो बिकाउ र आत्मरति उद्देश्यले मात्र ।


मैथिली र मिथिला परिवेशमा लेखिएको यो पुस्तक समग्र तराई–मधेसलाई प्रतिनिधित्व गर्दैन । तर, पुस्तकको समीक्षा हेर्दा समग्र मधेस क्षेत्रलाई प्रतिनिधित्व गर्ने भान पर्न सक्छ ।
मिथिलाका कथित उच्च जातिकाले बोल्ने भाषा शैली पुरस्तकको अर्को कमजोरी हो । ग्राम्य परिवेश भन्ने तर धनुषाकै वरपर रहेर अधिकांश कथा लेखिएका छन्, त्यसैले विविधता खड्किन्छ । कथाका धेरै शब्दावली सामान्य मैथिलीजनले बुझ्न र उच्चारण गर्न नसक्ने खालका छन् ।


मिथिलामा ‘पोइल’ जाने चलन विरलैको घटना हो । यो क्षेत्रमा जसरी बयोवृद्ध बाआमालाई वृद्धाश्रममा पठाइन्न, त्यसरी नै ‘पोइल’ जाने हँुदैन । तर, कथामा ‘पोइल’ वरपर रहेर यसलाई सामान्यीकरण गरिएको छ ।


सोझा श्रमजीवी र अभिजात्य वर्गको उल्लेख पुस्तकमा छ । तर, मिथिलाकै शासनजाति र त्यसले हरेक शासन प्रणालीमा पाएको अंश/अवसरका बारे कतै उल्लेख छैन । ‘शिल्पी समुदाय’ का श्रम मुद्दालाई कथामा उठाइएको छैन । विकृतिलाई मात्रै उजागर गरिएको छ । यसको उदाहरण ‘बघवा’ लाई लिन सकिन्छ । ‘चोरी/डकैती’ गर्ने समुदाय भनेर ‘बघवा’ को कथामा अमूक जातिलाई होच्याउने गरी चित्रण गरिएको छ । अझ यसलाई ती जातिको ‘पेसा’ कै रूपमा अपव्याख्या गरिएको भान हुन्छ, यो अबुझपना हो ।


‘चायवाली’ कथाचाहिं नाटक र चलचित्रका पात्र हुन सक्छन्, वास्तविक जीवनमा यो विरलै घटना हो । कथा ‘बहुविवाह’ लाई प्रश्रय दिने गरी प्रस्तुत भएको भान हुन्छ । कथाको प्रस्तुतिमा बेमेल छ । टीबी सरुवा रोग हो, श्रीमान्को मृत्यु भएको भनिएको छ । तर, पुस्तकमा क्षयरोग भनेको सरुवा रोग भनेर सामान्य रूपमा बुझ्ने गरी आउन सकेको छैन । क्षयरोगी पति मरेपछि उनका प्रेमिका सौतालाई पनि आफैंसँग राख्ने कुरा उल्लेख छ । यो सकारात्मक भए पनि ‘सरुवा रोग’ प्रति सचेतना र ‘बहुविवाह’ लाई निरुत्साहित गर्ने भाव कथामा खड्किन्छ ।


पुस्तकमा ‘यात्रा’ र ‘बदनाम सहर’ मिथिला क्षेत्र असान्दर्भिक छ । कथामा गर्भवती भएकै अवस्थामा बिदेसिएका पतिलाई अस्वीकार गरिदिने महिला पात्र ‘दौना’ लाई स्वाभिमानी भनिएको छ, तर पतिको विवशताबारे कथा मौन छ ।


कथा समग्र मिथिलाको ग्राम्य परिवेशलाई समेट्न सकेको छैन । ‘जनकपुर भनेको मिथिला र मिथिला भनेको जनकपुर’ शैलीमा कथाकार प्रस्तुत भएका छन् । होच्याएर बोल्ने भाषा शैली पुस्तकमा छयापछयाप्ती भेटिन्छ । ‘फुलवा’ आफैं एउटा होच्याउने शब्द हो । आफूभन्दा सानोको नाम अगाडि मिथिलामा ‘वा’ जोड्ने चलन पुरानै हो । तर, सम्भ्रान्त र कुलीन जातिमा ‘वा’ प्रत्यय जोडिएको विरलै पाइन्छ । कथाकार स्वयम् ‘मालिक जाति’ का रूपमा प्रस्तुत भएका छन् । ‘बघवा’ को ‘वा’ पनि त्यही रूपमा पुस्तकमा परेको छ ।
पुस्तकमा उल्लिखित शब्दावलीहरू कन्जुस बाबु, पोइल जानु, चोरी/डकैती, अपहरण... जस्ता विकृति र विसंगति मात्रै मिथिलामा छैन, त्यहाँ भएका सकारात्मक पक्ष पनि कथामा आउन सक्थे ।
—दिनेश यादव
कलंकी, शिवनगर काठमाडौं

कान्तिपुर

Link copied successfully