कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मानवशास्त्रभन्दा माथि

इतिहास
अब मानवशात्रीहरूले आफूले अध्ययन गर्ने रैथानेहरूका स्तरीय जीवनीहरू रचना गरी उनीहरूले पाउनैपर्ने सम्मान कसरी प्रदान गर्ने भन्ने कुरा सिक्नुपर्ला ।
डा. बारबरा निमरी अजिज

काठमाडौँ — सन १९८० ताका नेपालमा तानाशाही शासन थियो । त्यसैले योगमायाको सेरोफेरोका घटनामा चासो राख्नु एउटा खतरा मोल्नु नै थियो । नेपालभरि नै असहमत व्यक्तित्वको रूपमा चिनिएकी पारिजात त्रसित हुनेवाला थिइन् । त्यसैले उनले मलाई लागिपर्न प्रेरित गरिन् । यसैको आधार लेखेको मेरो पुस्तक ‘हेर टु अ साइलेन्ट सङ’ काठमाडौंमा १७ वर्षअघि निस्किएको हो ।

मानवशास्त्रभन्दा माथि

जतिबेला म मानवशास्त्रीय अध्यन–अनुसन्धानमा एउटा लामो अवधिको अनुभव बटुलेर हिमालय भेगका बासिन्दाबारे विशेषज्ञता हासिल गरिरहेकी थिएँ, त्यतिबेला एउटा ऐतिहासिक परिघटनासँग सात्क्षात्कार गर्न पुगेँ । त्यो ऐतिहासिक घटना दिवंगत भइसके तापनि नि:सन्देह रूपले प्रतिभाशाली दुई महिलासँग सम्बन्धित थियो । यी दुईले बीसौं शताब्दीको प्रारम्भतिर असाधारण राजनीतिक काम गरेका थिए । मैले उनीहरूको कथा उजागर गर्ने अभिभारा दृढ निश्चयका साथ उठाएँ, पहिलो त नारीवादी रहस्योद्घाटनहरूबाट उत्प्रेरित भएर । जबकि म आपंैm पनि ‘महिला नायक’ को खोजीमा थिएँ । दोस्रो, म मानवशास्त्रको वैज्ञानिक निष्पक्षताका साम्राज्यवादी दाबीहरूबाट वाक्क भइसकेकी थिएँ । भन्नुको तात्पर्य यो मेरो पारम्परिक अनुसन्धान प्रणाली तथा शैक्षिक लेखन विधिबाट अलग्गिने कदम पनि थियो ।

म एक सामाजिक मानवशास्त्री, विशेषगरी ब्रिटिस स्कुलको इथ्नोग्राफर हुँ, गहन अन्तर्वार्तामा भर पर्ने र, हामीले दाबी गर्दै आएझैँ ‘वस्तुगत सहभागितामूलक निरीक्षण’ गर्ने । (वास्तवमा मेरो विचारमा नृवंश–शास्त्र (इथ्नोग्राफी) र पत्रकारिता सजातीय हुन, जति विद्वत् वर्गले स्विकारेका छन्, त्यसभन्दा बढी नै) ।


मेरा पात्रहरू दिवंगत भइसकेका थिए, त्यसैले म प्रत्यक्ष अन्तर्वार्ता अथवा व्यवहार निरीक्षण विधि अपनाउन सक्तिनथिएँ । ती महिलाहरू दन्त्यकथा पात्रमा परिणत भइसकेका थिए । र, ज–जसलाई उनीहरूबारे थाहा हुन सक्थ्यो, ती थोरै मानिस पनि निकै वृद्घ भइसकेका थिए । त्यसमाथि ती नेत्रीहरू त्यसबखतका राजनीतिक आन्दोलनकारी थिए । यो यतिखेरको कुरा थियो, जतिखेर नेपालमा राजा र उनका कर्मचारी तथा शक्तिसम्पन्न हिन्दु पुरोहितवर्गको आलोचना वर्जित थियो । विगतमा विरोध चर्किएका त्यस भेगमा मेरो आगमनपश्चात् पुन: विरोधका स्वर सल्बलाएको भए अर्को दस वर्षसम्म पुग्ने गरी दबाइने निश्चित थियो ।
ती महिलाका अद्भुत जीवनी हिमालयको अन्तर्यमा गडगडाएर बग्ने अरुण खोलाको बाफिलो किनारमा फक्रेको थियो । विगतका गौरव त्यहाँ कल्पना गर्न सकिन्थ्यो, जतिसुकै पृथक् र ध्यान नपुर्‍याइएको जस्तो अहिले देखिए पनि । त्यसैले पनि मैले दृढतापूर्वक खोजी गर्ने निश्चय गरेँ । मैले सम्पर्क बढाइरहेका ती व्यक्तिहरू त्यतिबेलाको तिनको संस्कृतिलाई कहीँकतैबाट पनि प्रतिनिधित्व नगर्ने पात्रहरू थिए । ती दुवै महिला विस्मयकारी र साधारणभन्दा अलग व्यक्तित्व थिए । खोजका लागि समाज–विज्ञानको पद्धति त अपनाउन सम्भवै थिएन । ती महिलाहरू चार दशकपूर्व मात्र बितेको भए पनि मैले प्रारम्भमा कुनै लिखित अभिलेख पाउन सकिनँ । मेरो अठोट त्यसबखत सम्मानित भयो, जब मलाई (सन् १९८०–१९८५) सन्न्यासी महिलाहरूको एउटा सानो जमातले स्वागत गर्‍यो । उनीहरूलाई ती दुवै आमूल परिवर्तनकारी महिलाबारे जानकारी थियो । हुन त त्यतिबेला तिनीहरू निकै
वृद्घ अवस्थामा पुगिसकेका थिए, तर मलाई सहयोग गर्दा सरकारले दुख: दिए पनि विचलित नहुने मनस्थितिमा थिए ।


ती महिलाहरूले उत्साहपूर्वक शक्ति योगमाया र दुर्गादेवीको बखान गरे— पहिली एक क्रान्तिकारी र दोस्री एक सुधारक थिइन् । एक समय उनीहरू ती दुवै महिलाका अनुयायी थिए । सत्तरी र असी वसन्त पार गरेका एकान्तवासी ती महिलाले पचास साठी वर्षपूर्व कसरी उनीहरू सामाजिक सुधारप्रति आस्थावान् र उद्वेलित भएका थिए भनी झलझली सम्झना गरे ।
उनीहरूको वर्णन आधारमा मैले दुईवटा शैक्षिक अभिलेख तयार पार्न सकेँ । तर, ती कथामा अझ बढी सिर्जनशील दृष्टिकोण आवश्यक थियो । प्रथम प्रयासमा मैले जीवनी लेखनबाट सुरु गरेँ । त्यस कार्यमा मलाई समकालीन नेपाली कवयत्री पारिजातले सहयोग गरिन् । उनले आपंैm संलग्न रहेको जोखिमपूर्ण राजनीतिक संघर्षसँग अवगत गराइन् । उनी र म मिलेर धेरै समयअघि दिवंगत भइसकेकी शक्ति योगमायाको जीवनवृतका विचारोत्तेजक अंशहरूको अनुवाद गर्न थाल्यौं । त्यसै क्रममा म नेपालका राजनीतिक यथार्थबारे पनि दीक्षित हुन थालेँ ।


त्यसबेला अर्थात् सन १९८० ताका नेपालमा तानाशाही शासन थियो । त्यसैले योगमायाको सेरोफेरोका घटनामा चासो राख्नु एउटा खतरा मोल्नु नै थियो । नेपालभरि नै असहमत व्यक्तित्वको रूपमा चिनिएकी पारिजात त्रसित हुनेवाला थिइन । त्यसैले उनले मलाई लागिपर्न प्रेरित गरिन् । यसैको आधार लेखेको मेरो पुस्तक ‘हेर टु अ साइलेन्ट सङ’ (मौन गीतका उत्तराधिकारी) काठमाडौंमा १७ वर्षअघि निस्किएको हो । यस प्रयासले मलाई शैक्षिक संसारबाट धकेलेर पत्रकारिता जगत्तिर उन्मुख गरायो । त्यहीताका नेपालले अहिलेसम्म जन्माएको शीर्ष विद्रोही महिला योगमायाबारे अरू तथ्य उजागर भयो, जसले गर्दा नयाँ पुस्ताका योग्य तथा समर्पित विद्वान्हरू आकर्षित भए ।

पत्रकार बारबराका साथ लेखक पारिजात ।


यी महिलाजस्ता बीसौं शताब्दीका प्रारम्भिक कालका विद्रोहीहरू र केही ऐतिहासिक पात्र साधारण इतिहासको पकडमा नआउने गरी दुरूह र निर्बन्ध हुने गर्छन् । र, आज हाम्रोसामु साहित्य कसरी प्राज्ञिक प्रयासलाई उछिनेर श्रेष्ठ र उज्ज्वल हुन सक्ने रहेछ भन्ने एउटा उत्कृष्ट प्रमाण देखापरेको छ । यस वर्षको सुरुमा प्रकाशित उपन्यास ‘योगमाया’ ले नेपालको सबैभन्दा प्रतिष्ठित साहित्यिक सम्मान मदन पुरस्कार प्राप्त गरेको छ । यस पुरस्कार संयुक्त राज्य अमेरिका निवासी नेपाली लेखिका नीलम कार्की निहारिकाले प्राप्त गरेकी छन्, जो नेपाली भाषामा लेख्छिन् । उनी आफ्ना पूर्वप्रकाशित महत्त्वाकांक्षी ऐतिहासिक उपन्यासहरूको निम्ति सुपरिचित छिन् ।


निश्चय नै म रोमाञ्चित भएकी छु, यस उपन्यास झन्डै चालीस वर्षअघि सुरु भएको मेरो र अन्य विद्वान्का प्रयासमाथि टेकेर निर्मित भएको छ । (रेडियो नेपालमा कार्यरत आफ्ना एक सहकर्मीले चार वर्षअघि निहारिकालाई आफ्नो सृजनात्मक ऊर्जा योगमायातिर लगाउने सल्लाह दिएका थिए) ।


निहारिकासामु हाम्रा विवरणको सीमाभित्र रहनुपर्ने कुनै बाध्यता थिएन । तथापि, उनले थप शोधकार्य गरेकी छन् । हालै भएको संवादमा उनले कसरी झन्डै सय वर्षपूर्व तिनै पहाडहरूमा योगमायाका राजनीतिक अभियानबारे सम्भव भएका सबैसँग अन्तर्वार्ता लिएको भन्ने तथ्य स्पष्ट पारेकी थिइन् । उनी अरुण उपत्यकाकी होइनन् तर योगमाया जन्मेको ठाउँबारे अरू बढी पत्ता लगाउन स्वयं त्यस भेगमै भ्रमण गरिन् । (यो कार्य त्यहाँका सामाजिक सञ्जाल तथा फोनद्वारा सम्पर्कपश्चात् त्यहाँका निर्धारित स्थलमा भेट गर्ने चाँजोपाँजो मिलाएर गरेकी थिइन्) । त्यस क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ तर उपन्यासकारले आधुनिक सञ्चार सुविधाको प्रयोग गरी आपैंmले स्थलगत अध्ययन सम्पन्न गरेकी थिइन्् । यति मात्र कहाँ हो र, उनले त्यस क्षेत्रमा आफ्नो आगमन, त्यहाँको परिवेश तथा परिस्थिति, उल्लेखनीय स्थानीय व्यक्तिहरूसँग त्यस इतिहासबारे उनीहरूको सम्झना कस्तो छ भन्नेबारे संवाद समेत समेटेर भिडियो रेर्कड तयार गरेकी थिइन् ।


उपन्यास ‘योगमाया’ म र उपन्यासकार पारिजातबीच भएको काल्पनिक संवादबाट आरम्भ हुन्छ । यसरी निहारिकाको आफ्नै ऐतिहासिक खोजलाई आकार दिन सघाउने महिलाहरूको पंक्तिलाई महत्त्व प्रदान गरिएको छ । ‘योगमाया लाई राष्ट्रको उच्चतम साहित्यिक पुरस्कारबाट गरिएको सम्मानले एक दक्ष युवा लेखिकालाई मात्र पुुुरस्कृत गर्दैन । अपितु विषय स्वयंले एउटी स्थानीय महिला योद्घाबारे व्यापक रूपमा ध्यान खिच्नेछ । र, यस्तो उत्साहलाई निरन्तरता प्रदान गर्ने छ, जुन कुनै बौद्घिक लेखबाट गर्न सम्भव छैन ।


यतिखेर नेपाल ‘निर्धन र जोखिममा पारिएका’ हरूमा केन्द्रित भनिएको, तर प्रशस्त प्रश्नले घेरिएका लंैगिक विकास परियोजनामा डुबेको छ । यहाँ प्रशस्त सहरीया शिक्षित महिलाहरू पश्चिमी नारीवादको अनुसरण गर्दै ‘हक खोसिएका’ आफ्ना गाउँले दिदीबहिनीलाई संस्थागत सहानुभूति मात्र दर्साउने गर्छन् । यस्तो समयमा यस उपन्यासले एउटी गाउँले महिलाले के कति गर्न सक्छे भन्ने ताजा दृष्टि प्रस्तुत गर्छ ।


अब सायद मानवशात्रीहरूले पनि आफूले अध्ययन गर्ने रैथानेहरूका स्तरीय जीवनीहरू रचना गरी उनीहरूले पाउनैपर्ने सम्मान कसरी प्रदान गर्ने भन्ने कुरा सिक्नुपर्ला ।
(अजिज मानवशास्त्री तथा रेडियो पत्रकार हुन् । रेडियोताहिर डट ओआरजीमा प्रकाशित यो लेखको अनुवाद सुकन्या वाइबा र डा. महेश मास्केले गरेका हुन् ।)

प्रकाशित : आश्विन २०, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?