कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नारी–पुरुष सम्बन्धबारे साहसिक दृष्टि

पुस्तक
गीता त्रिपाठी

काठमाडौं — म वर्षात् होइन
बादलको आसमा छैन
म त त्यो मेघ हुँ
जसको अस्तित्वबिना
वर्षात्को अस्तित्व छैन...

नारी–पुरुष सम्बन्धबारे साहसिक दृष्टि

म वर्षात् होइन

बादलको आसमा छैन
म त त्यो मेघ हुँ
जसको अस्तित्वबिना
वर्षात्को अस्तित्व छैन...

सानु शर्माका यी काव्यिक हरफहरू कुनै कवितासङ्ग्रहबाट साभार गरिएका होइनन् । एउटा धारिलो उपन्यासको प्रवेशद्वारमा आकर्षक साइनबोर्डको शब्दचित्रजस्ता यी अभिव्यक्तिले पाठकलाई उपन्यासको आरम्भमै सौन्दर्यको आनन्दले रन्थनाइदिन्छन् । जब उपन्यासको आरम्भ हुन्छ, त्यहीँदेखि तनावको आरम्भ हुन्छ र त्यही तनावसँग जोडिएर अनेक विसङ्गत भोगाइहरू लस्कर लाग्न थाल्छन् । नारी–पुरुषका प्रेम र नृशंसतामा युगौँदेखि स्थिर बनेको समाजका अँध्यारा पक्षहरूले आँखामा आँसुभन्दा आक्रोश उमाल्न थाल्छन् । बाँकी आनन्द कथानकको बुनोटको भाषिक क्षमतामा भेटिन्छ ।
‘विप्लवी’ शीर्षक यस उपन्यासमा प्रस्तुत घटना, पात्र र परिवेशले शीर्षकको परम्परागत अर्थलाई नियन्त्रण गरेका छन् । पितृसत्तामा क्रान्तिका नायक, प्रतिनायक र खलनायक सबै पुरुष नै हुँदै आएका छन् । पुरुष पात्रको साहस र शौर्यको गाथा विप्लव शब्दले बोक्दै आएको धेरै भयो । खासगरी राजनीतिक परिवर्तनमा होमिएका वर्गीय नेतृत्व समाल्ने विद्रोही चरित्रलाई नेपाली साहित्यका विविध विधामा क्रान्तिको (प्रतीकात्मक, सकारात्मक) अर्थमा विप्लव भनिएको पाइन्छ, तर प्रस्तुत उपन्यासमा स्वको पहिचानका निम्ति परिवार र राष्ट्रिय–अन्तर्राष्ट्रिय समाजसँग विद्रोह गरिरहेकी नारीको नायकत्वमा ‘विप्लवी’ शब्दको आविष्कार भएको छ । त्यसैले क्रान्ति शब्दमा भोगाइसापेक्ष अनेक अर्थ सम्भावित छन् । अर्थहरूको खुलापन नै अहिले प्रचलित शब्दहरूको शक्ति पनि हो । ‘विप्लवी’ उपन्यासमा प्रयुक्त नयाँ अर्थ बोक्ने पात्रलाई पितृसत्ताले कहिल्यै क्रान्तिको प्रतीकका रूपमा स्विकारेको छैन । त्यसैले पनि परम्परागत सोच र शक्तिको बलियो स्तम्भलाई ढाल्ने यस उपन्यासको विषयगत विस्तार निकै साहसिक छ र सँगसँगै यसबाट समाजका भित्री तहमा अझैसम्म अवशेष भइनसकेका रूढ शक्तिकेन्द्रहरू विचलित हुने पनि निश्चित छ ।
‘विप्लवी’ उपन्यासको आरम्भ र विस्तार रैखिक ढाँचामा भएको छ । घटनाहरूको विकासमा प्रशस्त कुतूहल दिन सफल यस उपन्यासकी नायिका सासा (सहर्षा) सम्भ्रान्त र शिक्षित परिवारकी एक्ली सन्तान भएकीले उसको जीवनको पूर्वाद्र्ध सुखी, शान्त र सभ्य छ । मातापिताको आदर्श प्रेमको छहारीमा हुर्किएकी सासाको चरित्र निर्माणमा बाबाको शान्त र स्वनिर्णयको सम्मान गर्ने स्वभाव तथा आमाको प्रेमप्रतिको समर्पणभावले निकै अर्थ राखेको छ । त्यसैले ऊ आफूले प्रेम गरेको पात्रमा बिनासर्त समर्पित भई वैवाहिक जीवनको आरम्भ गर्ने निर्णयमा पुगेकी हो । एमबीबीएस पढिरहेकी सासाको विवाहमा मातापिताको सहमति नभए पनि उसले प्रेमका आधारमा जीवनको निर्णय गरेर एउटा निम्नमध्यमवर्गीय परिवारको सङ्कुचित मानसिकताको साँगुरो परिवेशमा आफूलाई सीमित गरीगरी धेरै कुरामा सम्झौता गर्दै जानुमा उसको उदात्त चरित्र प्रतिविम्बित छ । उपन्यासकी समाख्याता सासाले संस्मरणात्मक शैलीबाट अघि बढाएको परिवेश चित्रणमा उसका चरित्र विकासका सन्दर्भहरू उपन्यासको अन्तसम्म नै मुख्य कथानकको सहयोगी भएर सँगसँगै हिँडेका छन् ।
प्रेमको नाटक रची सम्पन्न परिवारका छोरीबाट आर्थिक शोषण गर्ने वीरेन्द्र विगतदेखि वर्तमानसम्मैका चरित्र विघटन हुँदै गएका वर्गीय–असत्–पात्रको प्रतिनिधि हो । अझ उसलाई उक्साउने उसकी आमा, निरीहतामा बाँचेको बाबु र भाउजूका व्यक्तिगत सामानमा हक जमाउने बहिनीहरूको चरित्रले सासाको विवाहोत्तर जीवनको विकट भोगाइलाई दृश्यात्मक बनाएको छ । तीन जना सहपाठी नारी चरित्रहरूको नि:स्वार्थ मित्रता, भगिनी स्नेह र उत्प्रेरणाका आधारमा उपन्यासमा तीनै जनाको चरित्रले फैलिने मौका पाएको छ । सासा र सन्ध्या यस उपन्यासका जुझारु व्यक्तित्व हुन् र तिनको प्रतिरोध नेपाली समाजको परम्परागत पितृसत्तात्मक सोचबाट विकृत बनेको समाजको सांस्कृतिक प्रहारसँग छ । ज्योति भने जुझारु हुँदाहुँदै पनि पितृसत्ताको कठोर मानसिकताले पेलिएकी कारुणिक पात्र बन्न पुगेकी छ । परिवार र समाजका आँखामा आदर्श पतिको रूप धारण गरेको डाक्टरले ज्योतिलाई विवाहपछि दिएको शारीरिक र मानसिक यातना अवर्णनीय छ । नेपाली समाजमा बाह्य चरित्रका आधारमा व्यक्तिको उच्च मूल्याङ्कन गरिन्छ । मानवीय दुर्बलताहरूको सम्भाव्यतातिर आँखा चिम्लिने प्रवृत्ति छ । द्वैधचरित्रधारी, अहम् र यौनकुण्ठाले ग्रस्त पात्रलाई छोरी सुम्पिएपछि फेरि उसको जीवनको मर्मतिर फर्केर नहेर्ने पितृसत्तात्मक परिवार व्यवस्थाले ज्योतिलाई हिंसा सहन बाध्य पारेको हो । अन्तमा त्यो यातनालाई लामो समयदेखि हेर्दै आएको शिक्षित ड्राइभरले ज्योतिको कल्पनातीत असहायपनमा उद्धार गर्नु उच्च मानवताको दृष्टान्त हो भने त्यो हदसम्म पुर्‍याएर अझ ड्राइभरसँग भागेको हल्ला फिँजाउनु तथाकथित मनोरोगी डाक्टरको नीचताको पराकाष्ठा हो । यसरी नै सन्ध्याको आर्थिक हैसियत र उसको सुन्दरताविहीन अनुहारलाई हेरेर उसको जीवनको उपहास गर्ने समाजको मानसिक हिंसाले उसलाई अन्तत: सङ्घर्षशील र जुझारु बनाएको हो । यही जुझारुपनामा ‘विप्लवी’ को एउटा स्वरूप स्पष्ट उभिन्छ । ज्योतिको अन्तिम पीडाको अभिव्यक्तिलाई भिडियो रेकर्ड गरेर डाक्टरको चरित्रलाई उदाङ्गो पार्ने र ज्योतिको आत्मसम्मानलाई फिर्ता ल्याउने योजनामा रहेकी सन्ध्याको उद्देश्यमा ज्योतिको आत्महत्याले अन्तिम सफलता पाउन नसके पनि सन्ध्याले डाक्टरलाई त्यस समाजमा ससम्मान बाँच्न दिएकी छैन । यस समाजमा टिक्न अनेक प्रपञ्चमा आफूलाई अभ्यस्त बनाउनुपर्ने कला सिकेकी प्रतिभाशाली र आफ्नै मिहिनेतले आरोहतिर उक्लिँदै गरेकी सन्ध्याको जीवन बुझाइ निकै सकारात्मक, मनमोहक र प्रेरक लाग्छ ।
उपन्यासको मुख्य कथानकलाई सासाले डोर्‍याएकी छ । वीरेन्द्रकी प्रेमिका हुँदा सर्वस्व प्राप्त गरेको भ्रममा परेकी ऊ विवाहपछि वीरेन्द्रकी आमाको अन्धविश्वासी र पितृसत्ताको प्रवक्ता चरित्रबाट छटपटिएर बिस्तारै बिउँझिँदै गएकी छ । वीरेन्द्रको अर्थ र यौन पक्षको आसक्ति सासाका अगाडि उदाङ्गिएपछि उपन्यासको अन्तिम उत्कर्ष सुरु हुन्छ । यसअघि सासाले आफूले पाएको छात्रवृत्तिलाई स्वीकार गरी जर्मनीमा एमडी गर्न जाने निर्णयबाट नयाँ मोडको प्रारम्भ भएको थियो । यसपछिको सासाको जीवन नियमित आकस्मिकताबाट डोरिएको छ । नाटकीय रूपमा हवाइजहाजको यात्रामा दुई नाबालक छोराहरूसहित भेटिएको आदित्य स्वराजसँगको नयाँ सम्बन्धमा मातृत्व र प्रेमको सम्भावित स्वर्णिम पथको कल्पना गरिरहेकी सासाले एमडी सकेलगत्तै आदित्यसँग मानसिक र दैहिक सम्बन्धलाई स्वीकार गर्नुमा अवचेतन कामनाको प्रबलता छ । त्यसलाई उद्दीप्त पार्नमा वीरेन्द्रको उत्तरदायित्वविहीन चरित्र र आदित्यको समर्पित चरित्रबीचको तुलनासँगै सासाको अवचेतन मनको द्वन्द्वले काम गरेको छ ।
समग्रमा ‘विप्लवी’ उपन्यास नारी समस्यामूलक मात्र नभएर सामाजिक समस्यामूलक उपन्यास हो । यस उपन्यासले अझै पनि वर्गीय सम्बन्धबीच प्रश्न उठाएको छ । सम्पन्नता र विपन्नताका बीच देखिने अनमेल स्थिति केवल आर्थिक असमानतासँग मात्र गाँसिएको हुँदैन, यो त परिवेशसापेक्ष हुर्काइले बनेको एउटा ठूलो मानसिक समस्या पनि हो, जसले दैनिक जीवनमा संस्कारका रूपमा प्रकट भएर पूरै जीवनलाई ध्वस्त बनाउँछ भन्ने प्रमाण ‘विप्लवी’ को मूल कथ्यमा छ । प्रस्तुतिका आधारमा यो उपन्यास आम नेपाली पाठकका निम्ति लेखिएको उपन्यास हो । प्रतीक र विम्बको नगण्य प्रयोगसँगै सरल र सहज भाषाशैलीमा पनि मनमोहक व्यङ्ग्यचेतको प्रधानताले उपन्यासलाई बोझिलो हुनबाट बचाएको छ भने प्रस्तुतिमा पनि निखार ल्याएको छ ।
सासाको दुर्घटनाग्रस्त बनेको प्रेम जीवनले दिएको मानसिक तनावले उसको निर्णयपूर्वका अवस्थालाई निकै आवेगी र हठी अनुभव गराएको छ । कतिपय ठाउँमा जवाफी प्रतिकारमा उत्रिएकी सासा विशिष्ट पात्रभन्दा आम नारी चरित्रको प्रतिनिधिसम्म मात्र अनुभव हुन्छे । सहनशीलता र विद्रोही दुवै स्वरूपमा सासाको अस्तित्व चेतनाले परिपाक पाउन सकेको छैन । मातृत्वचेतना प्रबल भएर अन्तमा वीरेन्द्रसँगको वैवाहिक सम्बन्ध तोड्न पुगेकी सासाको आदित्यसँगको सम्बन्ध र गर्भाधानप्रति पाठकमा तिरस्कारभावले ठाउँ लिँदैन । दोस्रोपटकको अन्तिम निर्णयपूर्वको सासाको दैनिकीले भने नेपाली समाजमा शिक्षित नारीले पाएको दोहोरो जिम्मेवारी र कष्टका व्यावहारिक पक्षको सटीक चित्रण गरेको छ । आदित्य स्वराजसँगको निराशाजनक पछिल्लो भेट र सासामा आकस्मिक रूपमा आएको अस्तित्व चेतनाले मातृत्व चेतनाभन्दा माथि उठेर नारी अस्तित्ववादी चेतनाको आरम्भ
भएको छ ।
समाजमा पुरुष र नारी विद्रोहको स्वरूप अत्यन्त फरक छ । नारीहरू स्वअस्तित्वका निम्ति पितृसत्तात्मक मानसिकताका आफ्नै वर्गसँग समेत जुध्न विवश छन् । समाजमा वैयक्तिकताको जति नै सम्मान हुन थाले पनि सम्बन्धगत आधारमा भने नारी–पुरुषको सम्बन्ध प्राकृतिक अधिकारका प्राथमिकतामा पर्न सकेका छैनन् । त्यसैले पनि ‘विप्लवी’ को विशाल अर्थभित्र कतिपय पाठकलाई औपन्यासिक कथानक झीनो र एकाङ्गी लाग्न सक्छ तर यही झीनो कथ्यभित्र सारा मनोविज्ञान निर्माण भएको हुन्छ । अधिकांश नारी समस्या र भोगाइका क्षण–प्रतिक्षणका मार्मिक संवेदनाहरू घरबाटै सुरु हुन्छन्, घरसँगै समाप्त हुन्छन् । त्यसैले यहाँका कतिपय घटनाको विकासक्रमसँग सन्तुष्ट हुन नसके पनि असहमत हुन सकिन्न । ‘विप्लवी’ मेघको परिकल्पनामा वर्षात्को लक्षणार्थ बोकेको उपन्यास हो । यसमा पाठकको बोध र ग्रहण क्षमताका आधारमा सीमित र विस्तृत दुवै किसिमको समाजशास्त्रीय विश्लेषण गर्न सकिने आधारहरू प्रशस्त छन् ।

प्रकाशित : मंसिर ९, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?