वास्तविक परीक्षण

नेपालले प्ले–अफबाटै बाहिरिए पनि फेरि एसियन कप २०१९ को छनोट खेल्ने अवसर पाएको छ । यसमा नेपालको सम्भावना कस्तो छ ?

माघ १५, २०७३

राजु घिसिङ

दक्षिण कोरिया १६–० नेपाल । एसियन कप (सन् २००४) को छनोटमा १४ वर्षअघि इन्चोनमा बेहोरेको त्यो हारले नेपाली फुटबललाई ठूलै झट्का दिएको थियो । नेपाल महादेशीय प्रतियोगिताको अर्को संस्करणको छनोटमा सहभागी नै भएन । पूरा दुई वर्ष नेपालले अन्तर्राष्ट्रिय खेल नै खेलेन ।

एसियन च्याम्पियनसिपको छनोटमा फेरि नेपाल एक संस्करण बिराएर फर्कियो । तर, नेपालको यात्रा ओमानले प्ले–अफमै समाप्त पारिदियो । एसियन कप २०११ छनोटका लागि च्यालेन्ज कपको घुमाउरो बाटो पनि नेपालका लागि सुहाउँदो भएन । फेरि १६ औं संस्करण २०१५ को छनोट खेल्ने मौका मिल्यो तर अन्तिम प्ले–अफमा जोर्डनसँग बेहोरेको नौ गोलले नेपाली फुटबलको धज्जी उडाइदिएको थियो । वर्षात्ले रुझेको दशरथ रंगशालामा भने नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो ।
त्यस बेलाका कप्तान सागर थापाले अम्मानको नौ गोलले केही रात निद नै उडाइदिएको बताएका थिए । उनीसहित पाँच नेपाली फुटबलरलाई एसियाली फुटबल महासंघ (एएफसी) ले गत वर्ष ‘म्याच फिक्सिङ’ को आरोपमा आजीवन प्रतिबन्धमा लगाइदियो । डरलाग्दो रूप लिइसकेको फिक्सिङको कारण कारबाहीमा पर्ने त्रास वा नयाँ पुस्ताको प्रभावले हो नेपाली फुटबल ‘यु–टर्न’ नै भयो । नेपाली टिमले १५ महिनाभित्र चार उपाधि (साफ यु–१९, बंगबन्धु गोल्डकप, १२ औं साग र सोलिडारिटी कप) को उपाधि जित्यो ।
सफलताको आधारमा अहिले नेपाली फुटबल स्वर्णिम युगमा छ । यो पुस्तालाई भाग्यले पनि साथ दिएको छ । त्यसैले त प्ले–अफबाटै बाहिरिइसके पनि फेरि एसियन कप २०१९ को छनोट खेल्ने अवसर मिलेको छ । त्यो पनि अन्तिम चरणको छनोट । खासमा भारतसँग प्ले–अफमा हारेपछि दुई वर्षअघि नै नेपालका लागि एसियन कप २०१९ मा अगाडि बढ्ने बाटो बन्द भइसकेको थियो, जुन विश्वकप २०१८ को छनोटको माध्यम पनि थियो ।
एएफसीले आफ्नो मार्केटिङ पार्टनरको सर्त पूरा गर्न सोलिडारिटी कप आयोजना गरेको थियो । यसमा विश्वकप २०१८/एसियन कप २०१९ छनोटबाट बाहिरिएकाहरूलाई मात्र समावेश गरिएको थियो । 
सुजल श्रेष्ठको गोलसँगै नेपाल फाइनलमा १–० ले मकाउलाई हराएर च्याम्पियन बन्यो । यसबीच गुआमले एसियन कपको छनोटबाट नाम फिर्ता लियो । कुवेत निलम्बनमा पर्‍यो । दुई महिनाअघि मलेसियामा भएको सोलिडारिटी कपको सफलताको आधारमा नेपाल र मकाउको निम्ति एसियन कपको छनोट खेल्ने भाग्य खुलेको हो । यस अवसरलाई न भूत न भविष्यको रूपमा आयोजित सोलिडारिटी कपको उपहार मान्नुपर्छ ।
जोर्डनसँग २०११ मा खेलेयता नेपालले एसियाली फुटबलको शक्तिशाली टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छैन । फिलिपिन्ससँग तीन (मैत्रीपूर्ण) र प्यालेस्टाइनविरुद्ध दुई (च्यालेन्ज कप) र सिरियासँग एक (नेहरू कप) खेल खेल्नु नै नेपालको लागि ठूला टिमसँगको जम्काभेट थियो । एसियन कपको छनोट चैतमा सुरु भएर एक वर्ष चल्नेछ । अवुधावीमा सोमबार गरिएको छनोटको ‘ड्र’ मा समूह ‘एफ’ मा परेको नेपालले फिलिपिन्स, ताजिकिस्तान र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले १५ चैतमा मनिलामा फिलिपिन्सको सामना गर्दै छनोट यात्रा सुरु गर्नेछ । छनोट ‘होम एन्ड अवे’ को आधारमा सञ्चालन हुनेछ । फुटबलमा घरेलु मैदान र दर्शकले ठूलै अर्थ राख्ने गर्छ । मध्यपूर्वको द्वन्द्वको कारण यमनसँगको खेल तटस्थ भूमिमा हुनेछ । देशको एक्लो रंगशालाको रूपमा रहेको ‘दशरथ रंगशाला’ मकाभूकम्पले क्षतिग्रस्त बनाएको छ । त्यसैले नेपालको पनि ‘होम म्याच’ को मैदान निश्चित भइसकेको छैन । एएफसीको निरीक्षणले स्वीकार गर्‍यो भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स वा हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा राष्ट्रिय टिमले विपक्षीलाई निम्त्याउनेछ ।
नेपालले सन् १९८४ बाट एसियन कपको छनोट खेल्न थालेको हो । छनोटमा नेपालको यो सातौं सहभागिता हो । विगतका प्रतिस्पर्धा विपक्षी टिमलाई बढी गोल गर्ने अवसर नदिने भन्नेमा सीमित थियो । दक्षिण कोरियासँग १६–० को पराजय नेपाली फुटबल इतिहासकै सबभन्दा ठूलो हार हो । साँघुरो गोल अन्तरले हार्नु भनेको नेपाली खेलाडीको निम्ति छाती फुलाउने अवसर हुने गरेको थियो । यसपालिको नतिजा अलि भिन्न हुन सक्छ तर नेपाली टिमले छनोट पार गरेर फाइनल चरण पुग्ने लक्ष्य राख्नु भनेको अहिलेको स्थितिमा अस्वाभाविक देखिन्छ, सक्दै सकिन्न भन्नेचाहिं होइन ।
छनोटमा २४ देश सहभागी छन् । यसबाट प्रत्येक समूहका शीर्ष दुई गरी १२ टिम एसियन कपमा छनोट हुनेछन् । उनीहरूले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, इराक, चीन, कतार, यूएई (आयोजक), उज्वेकिस्तान, थाइल्यान्ड र सिरियासँग २०१९ मा फाइनल चरण खेल्नेछन् । यी ठूला टिमहरू एसियन कपमा छनोट भएपछि विश्वकप २०१८ को छनोटमा प्रतिस्पर्धा गरिरहेका छन् ।
जोर्डन, ओमान, बहराइन, उत्तर कोरियाजस्ता ठूला टिमको समूहमा नपर्नु नेपालका लागि सुखद हो किनभने लाजमर्दो अन्तरको हार सोच्ने गरिन्न । नेपाल प्रतिद्वन्द्वीअनुसार खेल्ने टिम पनि हो । किनभने नेपालले उत्तर कोरियासँगको हार १–० मा सीमित पारेको थियो र जोर्डनसँग पनि बराबरी नतिजा निकालेको थियो । ठूला टिम छैनन् भन्दैमा खुसी मान्ने स्थिति पनि छैन ।
तीनै प्रतिद्वन्द्वी फिफा वरीयतामा नेपालभन्दा माथि छन् । नेपाल १ सय ७५ औं स्थानमा छ भने यमन १ सय ४९, ताजिकिस्तान १ सय ३२ र फिलिपिन्स १ सय २२ औंमा छन् । उनीहरूले केही वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा नसोचिएका नतिजा हात पार्दै आएका छन् । यस्ता टिमसँग उत्कृष्ट खेल पस्किन सके नेपाली खेलाडीका निम्ति विदेशी क्लबको बजार पनि बढ्न सक्छ । अहिले गोलकिपर किरण चेम्जोङ (टीसी स्पोर्ट/माल्दिभ्स) विदेशी लिग खेल्ने एक्लो नेपाली फुटबलर हुन् । विमल घर्तीमगर र अन्जन विष्ट स्पेनको नन–लिग क्लब मार्बेला युनाइटेडमा ट्रेनिङ गरिरहेका छन् ।
फिलिपिन्स र यमनसँगका सबै मैत्रीपूर्ण खेलको नतिजा नेपालले गुमाएको छ । ‘खेल सजिलो छैन, तैपनि मिहिनेत गर्नुपर्छ हिम्मत हार्नुहुन्न,’ राष्ट्रिय टिमका सहायक प्रशिक्षक राजुकाजी शाक्यले भने । एक वर्षयता निरन्तर हात पारेको सफलतासँगै राष्ट्रिय टिमका खेलाडी आत्मविश्वासी भएका छन् । तर, टिमभित्र सफलताबीच पनि थुप्रै कमजोरी लुकेका छन् । मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई ती कमजोरीहरू सच्याउने चुनौती छ ।
बंगबन्धु, १२ औं साग र सोलिडारिटी कपमा नेपाली टिमको ‘आर्मब्यान्ड’ लगाएका विराज महर्जन अहिले करिअरकै सबभन्दा खराब लयमा छन् । तर उनको स्थान लिनसक्ने खेलाडी देखिंदैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना नगरेको तीन वर्ष भयो । राष्ट्रिय लिग दुई वर्षअघि एकपल्ट सञ्चालन गरे पनि त्यसलाई निरन्तरता दिइएन । लिग नहुँदा नयाँ खेलाडीले प्रतिभा देखाउने अवसर पाएका छैनन् । त्यसैले खेलाडी छनोटका लागि कोजीलाई धेरै खेलाडी उपलब्ध छैनन् ।
अहिलेको अवस्थामा नियमित प्रशिक्षण, माथिल्ला स्तरका टिमसँगको प्रतिस्पर्धाले नेपाली टिमलाई बलियो बनाउन सक्छ । साफ च्याम्पियन भारत, माल्दिभ्स, भुटानसँगै अफगानिस्तान (मध्यएसियामा सरेको भए पनि पछिल्लो साफ च्याम्पियनसिप खेलेको) एसियान कप छनोटमा रहेका दक्षिण एसियाली हुन् । माल्दिभ्स र भुटान ओमान र प्यालेस्टाइनको समूहमा परेका छन् । अफगानिस्तानले जोर्डन, भियतनाम र कम्बोडियासँग खेल्नेछ । भारतले किर्गिस्तान, म्यान्मार र मकाउको समूहमा प्रतिस्पर्धा गर्नेछ । यसर्थ फाइनल चरणमा छनोट हुने सम्भावना देखिएको दक्षिण एसियाली भारतलाई मान्नुपर्छ ।
दक्षिण एसियालीसँगको प्रतिस्पर्धामा मात्र रम्दै आएको नेपालका लागि एसियन कप छनोट आफ्नो स्तर मापनका लागि ‘वास्तविक परीक्षण’ को अवसर पनि हुनेछ । सन् २०१७ को अन्त्यमा बंगलादेशमा साफ च्याम्पियनसिप आयोजना हुनेछ । एसियन कप छनोटको अनुभव त्यस बेला काम लाग्न सक्छ । त्यसैले छनोटका तयारी राम्रोसँग गर्ने हो भने त्यसले पहिलोपल्ट साफ च्याम्पियन बन्ने बाटो पनि कोर्न सक्छ ।

राजु

Link copied successfully