विश्व पूर्व सर्दै छ

माघ १५, २०७३

बसन्त बस्नेत

दोस्रो विश्वयुद्धले संयुक्त राज्य अमेरिकालाई नयाँ विश्वव्यवस्थाको तालाचाबी सुम्पियो । कुनै बेला अमेरिकालाई कँज्याएको घाम नअस्ताउने बेलायती उपनिवेश त्यसयता निरन्तर उसकै वरिपरि सीमित छ ।

ठूला युद्धहरू र महत्त्वपूर्ण नीति निर्णयमा बेलायत आफैं महाशक्ति अमेरिकाको सहयोगीका रूपमा प्रस्तुत छ । फ्रान्स, पोर्चुगल, स्पेन अब उपनिवेशकर्ता रहेनन् । हिट्लरको पालामा कुरूप छवि बनाएको जर्मनीले चान्सलर एन्गेला मर्केलसम्म आइपुग्दा मानवीय अनुहार पाइसकेको छ । विश्वशक्तिको पश्चिमीकरणका कथा यस्तै छन् ।

त्यो अध्याय अब अन्त्य हुने संकेत एसियाली देशहरूले दिएका छन् । पछिल्ला आधा दर्जनभन्दा बढी अध्ययन निष्कर्षहरू यसै भन्छन् । 
एसिया, अफ्रिका र ल्याटिन अमेरिकासम्म छरिएका युरोपेली उपनिवेशले बितेका ६ दशकमा आफ्नो बाटो आफैं पहिल्याउने प्रयास गरे । तीमध्ये एसिया सिंगो पश्चिमलाई छाया पार्दै विश्वको ध्यान आफूतिर खिच्दै छ । विश्वशक्तिका रूपमा उदाउँदो चीन । क्षेत्रीय शक्ति भारतका थामिसक्नु आकांक्षा । आर्थिक उतारचढावबीच जापानको सदावहार शक्ति । पश्चिम एसिया खासगरी अरब विश्वमा अमेरिकाले चुकाएका मौकाहरू । दोस्रो विश्वयुद्ध सकिएपछि पनि ठूला–साना युद्धहरूमा अमेरिका र पश्चिमा राष्ट्रको निरन्तर सामरिक शक्ति खर्च । त्यसले सिर्जना गरेका आर्थिक उतारचढावहरू । यिनै आधारहरूमा अब विश्वशक्तिको नयाँ मानचित्र तयार हुने स्पष्ट भइसकेको छ । स्वयं अमेरिका आज सामरिक, कूटनीतिक र आर्थिक उचाइमा पुगेर पनि यो विश्वव्यवस्था एकछत्र हाँक्ने सामथ्र्य गुमाउँदै छ ।
के उसो भए विश्व व्यवस्था पूर्व सर्दै गएको हो त ? दोस्रो विश्वयुद्ध सकिएदेखि शीतयुद्ध अन्त्यसम्मको साढे चार दशक लामो समयरेखा, अनि त्यस यताका अढाई दशकको लेखाजोखासहित बेलायती लेखक, पत्रकार गाइडियन राचम्यान्ले यसै वर्ष ‘इस्टर्नाइजेसन : वार एन्ड पिस् इन् द एसियन सेन्चुरी’ पुस्तक लेखेका छन् । यो पुस्तकले अनगिन्ती तथ्यांकहरू राख्दै अमेरिका र युरोपले नेतृत्व गर्दै आएको पश्चिमा व्यवस्था अब पूर्व अर्थात् एसिया सरेको दाबी गरेको छ । 
इस्टर्नाइजेसन अर्थात्, पूर्वीकरण । रोचक के छ भने यो शब्द निर्माण गर्ने पश्चिमा पत्रकार हुन् । यसअघि ‘जिरो सम् वल्र्ड’ गैरआख्यान् लेखेर सुनाम कमाइसकेका राचम्यान ‘द फाइनान्सियल टाइम्स’ का प्रमुख विश्व मामिला स्तम्भकार हुन् । ‘द इकनोमिस्ट’ म्यागजिनका लागि वासिङ्टन, ब्रसेल्स र बैंककबाट १५ वर्ष लेखेका उनको यसै वर्ष सार्वजनिक ‘इस्टर्नाइजेसन’ ले छोटो अवधिमै चर्चा पाएको छ । चर्चा घनीभूत हुनुका पछाडि उनले एसियाको उदयबारे दिएका नयाँ तथ्य र तर्कहरू नै हुन् । राचम्यान् भन्छन् : दोस्रो विश्वयुद्धपछाडि उदय भएको पश्चिमा साम्राज्यको सुरुआत दुई शताब्दीअघि नै भइसकेको थियो, त्यो अब अन्त्य हुने चरणमा छ । विश्वको शक्ति सम्पूर्ण किसिमले एसियातिर सरिरहेको छ । त्यसैलाई उनले पूर्वीकरण नाम दिएका हुन् ।
‘पूर्वीकरण’ को शाब्दिक अवधारणा प्रस्टयाउनेमा राचम्यान अघिल्लो पंक्तिमा देखिए पनि यसअघि फ्रान्सिस फुकुयामा, किशोर महवुवानी, फरिद जकारिया, पंकज मिश्र आदिले यसबारे लेखिसकेका छन् । फुकुयामाले पोहोर जनवरीमा प्रोजेक्ट सिन्डिकेटमा ‘एक्स्पोर्टिङ द चाइनिज् मोडल’ लेखमार्फत चिनियाँ सर्वशक्तिमान राष्ट्रपति सी जिनपिङले ल्याएको ‘वन बेल्ट वन रोड’ अवधारणाले त्यो देश विश्वशक्ति दरिने आधारलाई झन् खुला गरेको लेखे । चीनले जुन स्केलमा पूर्वाधार निर्माण गरेको छ, त्यसको तुलनामा अमेरिका र समग्र पश्चिम नै पछि पर्दै गएकाले त्यो नै उदाउँदो चीनको प्रतिस्पर्धीविहीन आधार बन्न सक्ने उनको तर्क थियो । फुुकुयामा तिनै सिद्धान्तकार हुन्, जसले शीतयुद्ध सकिएको अर्को वर्ष सन् १९९२ मा ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ पुस्तक लेखी संसारभर हल्लीखल्ली मच्चाएका थिए । उनले शीतयुद्ध मात्रै होइन, कुनै पनि किसिमका वैचारिक संघर्षहरूको युग अब सकिने भन्दै कार्ल माक्र्सको विचार विपक्षमा उभिएका थिए । विश्वव्यवस्थालाई पश्चिमले उदार प्रजातन्त्रको मूल्यमा नेतृत्व गर्ने उनको दाबी त्यसमा थियो, जसलाई उनी आफैं पुनर्मूल्यांकन गर्ने चरणमा आइपुगेका छन् । 
फुुकुयामा अघि पंकज मिश्रले सन् २०१३ मा ‘फ्रम द रुइन्स अफ् इम्पायर् : द रिभोल्ट अगेन्स्ट द वेस्ट एन्ड द रिमेकिङ एसिया’ पुस्तक लेखी बितेका दुई शताब्दीमा एसियाले युरोपेली उपनिवेशको अंग बन्ने क्रममा थुप्रै राज्यहरू मात्रै होइन, बौद्धिक सांस्कृतिक सम्पदाहरूसमेत गुमाउन पुगेको टिप्पणी गरे । उनले अब त्यसको उत्खनन् गर्नुपर्ने, जुन शक्तिले आफूलाई विश्वकै पुरानो सभ्यताका रूपमा उठायो, त्यसतर्फ फर्केर सभ्यताको खोजी गर्नुपर्ने तर्क गरे ।
अर्का बेलायती लेखक मार्टिन ज्याक्सले सन् २००९ मा ‘ह्वेन चाइन रुल्स द वल्र्ड’ लेखी अमेरिका र युरोपले २ सय वर्षयता चलाइआएको संसार हल्लाउन चीन एक्लै पर्याप्त हुने भविष्यवाणी गरेका थिए । आधुनिक हुनु भनेको पश्चिमा जीवनशैली अनुसरण गर्नु हो भन्ने मान्यता अब खण्डित हुने, त्यसलाई चीनले भत्काउने उनको भनाइ अब पुष्टि हुने चरणमै छ । भारतीय इतिहासकार रामचन्द्र गुहाले गत वर्ष सम्पादन र सहलेखन गरेको ‘मेकर्स अफ मोडर्न एसिया’ ले अबको विश्व राजनीति, अर्थतन्त्र र सांस्कृतिक विरासतलाई भारत, चीन, जापान, सिंगापुर, पाकिस्तानले हाँक्ने भन्दै त्यसको जग बसाउने पात्रहरूको स्मरण गरे । पत्रकार जकारियाले सन् २००८ मा प्रकाशित ‘द पोस्ट अमेरिकन वल्र्ड’ मा पछिल्ला ५ सय वर्षको इतिहासलाई समीक्षा गर्दै अमेरिकी शक्तिमा निरन्तर क्षयीकरण भइरहेको, त्यो स्पेस लिनेमा एसियाली देशहरू देखिन थालेको आकलन गरेका थिए । उनले अमेरिकामा पुँजी र श्रमबीच अन्तर्विरोधी संकट देखिन थालेको, विश्वयुद्धपछि पनि अमेरिकाको ध्यान निरन्तर युद्धमै रहेको, अमेरिकी मूल्य मान्यतालाई टक्कर दिन कम्युनिस्ट चीनले शताब्दीऔं अघिको कन्फ्युसियन सभ्यता ब्युँझाउँदै त्यसैको आलोकमा आफूलाई तीव्र गतिमा दौडाउन थालेको, भारतको लोकतन्त्रलाई क्षेत्रीयतावादले सानातिना चुनौतीका बीच पनि विस्तार नै गरिरहेको जस्ता तर्क दिएका थिए । विश्व व्यवस्थाको एसियाकरणबारे लेख्ने अरू पनि थपिँदै छन् । तीमध्ये केही त लोकतन्त्रको पश्चिमा कलेवर नै उप्काइदिनुपर्ने दाबीमा पनि छन् ।
पूर्वी ध्रुवलाई नेतृत्व गर्दै पश्चिमा संसारलाई चुनौती दिनेमा चीन पक्कै अघिल्लो पंक्तिमा छ । यी सबै लेखकले भनेझैं खासगरी देङ स्याओ पिङदेखि ३८ वर्षयता चीनले गरेको असाधारण पूर्वाधार विकास र उदार अर्थनीति नै यसको मुख्य कारक हो । अरू एसियाली देशहरूले चीनको विकासबाट लाभांश पाउन थालेका छन् । जाकारियादेखि राचम्यानसम्म सबै लेखकले चीनभित्रको कुण्ठित अभिव्यक्ति स्वतन्त्रता र बहुल विचार निषेधका कारण कुनै पनि बेला असन्तुष्टिहरू अकल्पनीय रूपमा विस्फोट हुन सक्ने सम्भावना भने औंल्याउन छाडेका छैनन् । चीनले चर्को राष्ट्रवादी शैलीबाट नागरिकहरूमा विश्वशक्ति बन्ने सामूहिक भावना निर्माण गर्न खोजे पनि उदारवादीहरूमा असन्तुष्टिहरू देखिन थालेको उनीहरूको साझा दाबी छ । 
एक दशकअघि कुनै लेखकले भनेका थिए : हिजोआज अमेरिकी बजारमा नै चिनियाँ दबदबा यति धेरै छ कि ‘अमेरिका इज मेड इन चाइना’ भनी कसैले भन्यो भने अचम्म नमाने हुन्छ । कतिसम्म भने अमेरिकाको राष्ट्रिय झन्डा उत्पादन गर्नेमा चिनियाँ कम्पनीसमेत रहेछन् । आज युरोप, अमेरिका मात्रै होइन, अफ्रिका र अरू एसियाली देशको समेत ध्यान चीनले आफूतिर तानेको छ । पाश्चात्य मुलुकलाई यसरी आकर्षित गर्ने वा तर्साउनेमा चीन एक्लो भने होइन । राचम्यानले वर्षौंयता गरेको अध्ययनअनुसार यो सूचीमा जापान, कोरिया (उत्तर र दक्षिण दुवै), भारत र पाकिस्तान छन् । यो पुस्तक लेखिँदै गर्दा एकातिर पश्चिमा देशहरूमा लोकप्रियतावाद र आर्थिक अराजकता फैलिएको लेखक भनाइ छ । अनि पश्चिम एसिया, खासगरी अरब क्षेत्रमा पश्चिमा वर्चस्व तोड्दै रुस एकछत्र अघि बढेको छ ।
गिर्दो अमेरिकी अर्थतन्त्रबीच पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामाले महाशक्ति प्रमुखको शपथ लिएथे । आशाको नारा दिएर चारवर्षे पहिलो कार्यकाल बिताएका ओबामाले समेत अमेरिकी अर्थतन्त्रलाई उकालो लगाउन नसकेको विश्लेषण गर्दै विदेश मामिला लेखक रोबर्ट कागानले सन् २०१२ मा लेखे : अमेरिकाको यस्तै ताल रहिरहने, अनि चीनले यही गतिमा छलाङ हान्दै जाने हो भने अबको दुई दशकभित्र ऊ पहिलो शक्ति बन्ने पक्का छ । राचम्यान लेख्छन्— कागानले दुई दशक भने, तर चीन त दुई वर्षमै पहिलो शक्ति बन्यो, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को घोषणा अनुसार) । (पृष्ठ १४०) उदाउँदो चीनको चिन्ताले ओबामा कालभरि अमेरिकालाई नछाडेको मात्रै होइन, ५ सय वर्षभन्दा बढी अवधियता एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा कस्तो राजनीतिक व्यवस्था हुने, कस्तो मूल्य पद्धति अपनाउने भन्नेबारे अमेरिका र युरोपले प्रत्यक्ष परोक्ष भूमिका खेलिरहे । अहिले यो विश्वव्यवस्थालाई चीनले दिन प्रतिदिन आफूतिर सम्मोहित गरिरहेको पश्चिमा शक्तिराष्ट्रको बुझाइ छ । पछिल्लो ५० वर्षमा चीन र एसियाका अरू देशको तीव्रतम आर्थिक विकास, पूर्वाधार र प्रविधिको क्रान्ति नै यसको मूल कारक रहेको ठम्याइ छ । कतिसम्म भने सोभियत संघ बन्दासम्म पनि त्यसलाई युरोपकै वैकल्पिक व्यवस्थाका रूपमा बुझ्ने चलन स्वयं पश्चिममा रहे पनि अहिले एसियाली देशको चमत्कारअघि ढलेको सोभियत संघ अनि आज भ्लादिमिर पुटिनले हाँकिरहेको रुस फिका ठानियो । 
चीन, जापान, भारत, कोरियाले हाँकिरहेको एसियाली समृद्धिको यो नापोलाई देखाउने अर्को सूचक जनसंख्या पनि मानिएको छ । यसअघि जापान मात्रै एक्लै शक्तिशाली हुँदासम्म जनसंख्या मुख्य तत्त्वका रूपमा अघि आएको थिएन । तर जब चीन र भारत १ अर्बभन्दा बढी जनसंख्यासहित आए, बलियो बन्दै गएका राज्यहरूमुनि मानिसहरूको यो संख्या आफैंमा विश्व थर्काउन समर्थ रहेको राचम्यानको निष्कर्ष छ । सन् २०१२ सम्मको आकडा हेर्दा सैन्य शक्तिमा पनि एसियाका देशहरूले युरोपेली देशहरूलाई उछिनेको, सामरिक शक्ति र संख्यामा समेत अमेरिकाको वर्चस्वलाई चुनौती दिने हदसम्मलाई पछि पारेको पुस्तक बताउँछ । आर्थिक, सामरिक र सफ्ट पावर नै आजको विश्वमा महाशक्ति दरिने सूत्रहरू हुन्, जसमा चीनको उपस्थिति आक्रामक छ ।
तर एसियाको समृद्धिसँगै अन्तर्विरोधहरू पनि फैलिने क्रममा छन्, जुन पश्चिमी राष्ट्रहरूको विकासका क्रममा देखिएको थिएन । आजपर्यन्त जापानको भूमिकामाथि अरू एसियाली देश खासगरी चीन र कोरियाका प्रश्नहरू छन् । कार्यकारी प्रमुखहरू एक ठाउँमा भेट भएका बेला इतिहासमा बसेका खाटाहरू उप्काउने प्रयास भइरहेको छ । चीन र कोरियाको दाबी छ, ‘जापानले ब्रिटिस उपनिवेशविरुद्ध लडेर एसियाली देशहरूलाई रक्षा गरेको न्यारेटिभ असत्य हो । बरु बेलायती, फ्रेन्च र पोर्चुगिजजस्तै जापानी पनि आफैंमा अरू देशमाथि प्रभुत्व जमाउन उद्यत थिए ।’ जापानको यही रवैयाका कारण तत्तत् देशहरूमा राष्ट्रवादी लहर आजपर्यन्त बाकी रहेको पनि राचम्यान् ठहर्‍याउँछन् ।
यो राष्ट्रवादी लहर– जसले पश्चिमालाई सधैं शत्रुका रूपमा चित्रित गर्छ । के एसियाजस्तो अघिल्लो शताब्दीभरि पश्चिमा उपनिवेश भोगेको महादेशका लागि यो सम्पूर्ण सत्य होला त ? अझ चीनजस्तो साम्यवादी मुलुक, जसको शिक्षादीक्षामा नै पश्चिमाको नाम किटेर आलोचना भेटिन्छ । (भलै उस बेलाका साम्राज्यवादी जापानीको पनि आलोचना हुन्छ) । लेखक सांघाईमा तीन वर्षअघि एक छात्रासँग डिनर मिटिङ गर्दा छक्कै परेछन् । उनको जिज्ञासाको पूर्ति ती छात्राले यसरी गरिन्, ‘त्यस्तो हुँदै होइन । सन् १९४९ मा साम्यवादी व्यवस्था सुरु भएपछि हामीले जुन खालको निराशा र अपमान बेहोर्‍यौं, बरु त्यसको तुलनामा त १९२०–३० मा युरोपेलीहरूसँग हामीले बहुआयामिक ज्ञान र सीप सिकेका थियौं ।’
आफ्नै सरकारमाथि पनि आलोचनात्मक सोच राख्ने युवाहरू चीनमा बढ्दै गएकाले आज बिस्तारै राष्ट्रवादी खेमाभित्रै अर्को उदारवादी धारा जन्मन थालेको राचम्यानको अनुभव छ । त्यसले आफ्नो देशका समस्याहरूको दोष ‘युरोपेली साम्राज्यवादी’ तिर लगाएर पन्छिने सुबिस्ताजनक तर्कपद्धतिसँग असहमति राख्छ । देशभित्र मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था अझै चिन्ताजनक रहेको ठान्छ । त्यस्तै नरेन्द्र मोदीको उदयपछि भारतीय जनता पार्टीको राजनीतिले स्थापना गर्न खोजेको राष्ट्रवादी शत्रुकरण झन् स्थापित हुनुलाई राचम्यान अर्को चिन्ताका रूपमा अथ्र्याउँछन् । अंग्रेज राजले भारतमा धेरै थोक बिगारेकै हो । ऊ आज भारतमा छैन । तर आज भारतमा बसिरहेका १७ करोड मुस्लिमलाई अभारतीय ठान्ने मोदीको राजनीतिक अभीष्ट अंग्रेजलाई दोष लगाएर सफल हुँदैन भन्ने राचम्यानको ठहर हो । स्वाभाविक छ, एक बेलायती पत्रकार भएको हुनाले उनी एसियाप्रति आलोचनात्मक अनि युरोपप्रति केही नरम देखिएका हुन सक्छन् । तर उदाउँदो एसियाप्रति उनको आशावाद युरोप वा पश्चिमाकेन्द्री भने छैन ।
सन् ०१७ लागिसक्दासम्म पूर्वीकरणका पनि सीमाहरू विश्व भूराजनीतिक मानचित्रमा देखिन थालिसकेका छन् । तीमध्ये यो पुस्तकमा जोड दिएर उठाइएको विषय हो : निरंकुश शासन । निरंकुशताको यो लहर चीनजस्तो साम्यवादी व्यवस्था अपनाउने मुलुकमा मात्रै होइन, लोकतान्त्रिक पद्धतिबाट चुनिएका राज्य प्रमुखहरूमा समेत देखिएको छ । अर्को हो, जसरी पश्चिमा देशहरूको यो पाँच सयवर्षे उकालोमा सहकार्य र परस्पर भाइचारा मुख्य कारक देखियो, यता एसियाको विरासत भने त्यस्तो छैन । थुप्रै दृष्टान्तहरू राख्दै राचम्यान भन्छन् : परस्पर शत्रुता पहिलो चुनौती हो । दोस्रो चुनौतीचाहिं भ्रष्टाचार ।
सर्वाधिक ठूलो अर्थतन्त्र हुँदैमा महाशक्ति राष्ट्र बनिहालिन्छ भन्ने भ्रममा सायद चीन पनि छैन । अमेरिका सन् १८७१ मा पहिलोपल्ट विश्व अर्थतन्त्रको नेता बन्न पुगेको थियो । उसले आफ्नो सामरिक शक्ति, कूटनीतिक क्षमता र त्यहाँको लोकतन्त्रमार्फत विश्वभरि पश्चिमा मूल्य फैलाउन भने वर्षौं लगानी गर्नुपर्‍यो । अझै पनि अमेरिकाले नेतृत्व गरेको, युरोपले ‘पछयाएको’ पश्चिमा मूल्य त्यत्तिकै अवरोहण नहुने लेखक तर्क गर्छन् । चीन–जापान, जापान–कोरिया अनि चीनकै अन्य छिमेकीसँग उतारचढावपूर्ण सम्बन्ध र भारत–पाकिस्तानको अप्ठेरो नाता अबको एसियाको समृद्धि र शक्तिमा समस्यापूर्ण बन्न सक्ने अझै सम्भावना देखाउँछ यो पुस्तकले । 
राचम्यानको तर्क मान्ने हो भने अमेरिकाले सन् १८७१ देखि सन् २०१४ बीचमा विश्वलाई नेतृत्व र नियन्त्रण गर्‍यो । सात दशक चलेको सोभियत साम्यवाद ढलेपछि त अमेरिकाको विश्वव्यवस्थामा एकछत्र नै थियो भन्न सकिन्छ । सन् १९९१ यताका दुई दशकमा अमेरिकी शक्ति अकन्टक विस्तार भए पनि उसका आफ्नै सीमाहरू यसबीचमा प्रशस्त देखिए । साना देशहरूप्रति अनावश्यक चासो, सन् २००१ पछि पश्चिम एसियातिर युद्धमा बढी ध्यानजस्ता कारणले धर्मराउँदो अमेरिकी मूल्यमान्यतालाई ओबामाले मानवीय मूल्यसहित पुनर्जागृत गर्न खोजे पनि असफल भएको ठान्नेहरू पनि छन् । अनि अमेरिका र युरोप जतिसुकै सफल, समृद्ध भए पनि विगत ५० वर्षमा चीन, जापान, दक्षिण कोरिया, भारतले गरेको प्रगति अब पछयाएरै नभेटिने गतिमा अघि बढ्नुले पनि विश्व व्यवस्थाको स्वरूप बदलिएको लेखक विश्लेषण छ । यसअघि जाकारिया र मार्टिन ज्याक्सले पनि यस्तै दाबीलाई सघाउँदै लेखेथे ।
यी सबै दाबीहरूका बीच एउटा प्रश्न भने बाँकी नै छ— जतिसुकै आर्थिक अस्थिरताबीच पनि पश्चिमा देशहरूले निर्माण गरेको ‘मूल्य’ हल्लिएन । के एसियाली देशहरू भोलिको सम्भावित संकटका दिनहरूमा आफ्नो मूल्यमा अडिएलान् ? दुई दृष्टान्त पनि पुस्तकमा छन् : के चीन उदारवादतिर ढल्किँदै गएको साम्यवादको मूल्यमा अडिएला ? अनि भारत आन्तरिक समस्यासित जुध्ने क्रममा विश्वकै ठूलो लोकतन्त्रको राजनीतिक मूल्य रक्षा गर्न समर्थ होला ?
आशंका र आशा दुवैका झिल्काहरू राचम्यानको पुस्तकमा छन् । जस्तो कि, देङ स्याओ पिङले सूत्र छाडिगएकै छन्, ‘परिस्थितिको सूक्ष्म अवलोकन गर । शान्त भएर सामना गर । जहाँनेर छौ, आफ्नो पोजिसन् लिइहाल । सबैखाले संकेतहरू ठीक ढंगले बुझ । अनि सकिने जति उपलब्धि लिइहाल ।’ चीनको साम्यवादी राजनीतिक बाटो नपक्रे पनि अरू एसियाली देशहरूले देङको यो सिको गर्ने सम्भावना भने त्यत्तिकै बलियो छ । विश्वव्यवस्थाको ‘रिमोट कन्ट्रोल’ अब एसियाबाट चलाउने साझा स्वार्थ जो छ ।

बसन्त

Link copied successfully